"मिस्टर नोद लाल ?”
बल्लबल्ल घन्टी लागेर उताबाट कसैले फोन उठाएपछि फाइँफुट्टीराज यताबाट आफ्नो घोर अवरोहमा बोल्यो । उताबाट क्वाँ......स्वाँ.......किर्र.......फुँफुँ....फिस्फिस्...ट्याँ..प्याँ...को आवाज मात्रै आयो, अनि मौन ।
"हलो ।” फाफुरा यसपटक आवाज अलि ठूलो पार्दै मन्ध्रसप्तकमा बोल्यो । उताबाट कोही बोलेको हो कि जस्तो लाग्यो । तर, त्यो मानिसकै आवाज थियो वा कुनै जनावरको बोली भन्ने फाफुराले खुट्याउन सकेन । हाम्रो दूरसञ्चारको खास नाम झुरसञ्चार हुनुपर्ने हो ।
"हल्लो............” यसपटक हातेफोनमा बोल्ने आम नेपालीको गौरवशाली परम्पराको अनुसरण गर्दै त्यो यन्त्रको पिँधको भागलाई आफ्नो थुतुनोमै जोडेर फाफुरा तार सप्तकमा चिच्यायो । त्यो आवाजले रत्नपार्कको चौरमा अलि पर गुँडुल्किएर सुतिरहेको भुस्याहा कुकुरसमेत कुइँकुइँ गर्दै जुरुक्क उठ्यो, अनि सोझासाझा जनताको रकम लिएर सहकारीका सञ्चालक भागे जसरी कुलेलम ठोक्यो । बल्ल उताबाट बुझ्नसम्म सकिने आवाज आयो, “कसलाई खोज्या ?”
मोबाइलमा कुरा गर्नेबेला मानिस हाम्रो देशको सर्खार जस्तै धैर्यवान हुनसक्नु पर्छ । ठेकेदारलाई मुगलिङ-नारायणघाट सडक विस्तार कहिले सकिन्छ भनेर पटक-पटक सोधे जस्तो नगरी साध्य नै नलाग्ने । फाफुराले प्रश्न दोहोर्यायो - “मिस्टर नोद लाल ?”