Tuesday, April 10, 2018

बाम कला


"बिन्ती लाग्ला, तपैंलाई पशुपतिनाथको कस्सम, आज त जसरी भए पनि मेरो उद्धार गरिदिनुस् है ?"
फाइँफुट्टीराज फोनमा पिलपिल गर्दै सकेजति मीठो र चाप्लूस स्वरमा यसरी बोल्यो, जसरी सरकारी कार्यालयमा आएको नयाँ हाकिमसंग कुनै पुरानो खरदार बोल्छ । त्यसमाथि नेपालीहरूको हर समस्याको रामवाण ओखति पशुपतिनाथको 'तडका' । अब त उताको प्राणी नपग्लिई सुख्खै छैन भन्ने कुरामा फाफुरालाई ओलीको बोलीमा नेपाली जनतालाई जति नै विश्वास थियो । तर, उसको सपनामा पानी खन्याउँदै त्यो नास्तिक, पापी र अधर्मी मानिसले भन्यो, "पशुपतिनाथ, दिलीपनाथ, विश्वनाथ, काशीनाथ, आलोकनाथ कसैको कस्सम दिए पनि म केही गर्न सक्दिनँ ।"

उसको त्यो क्रूर उत्तर सुनेर फाफुराका पहिले देखि नै रसाएका दुई आँखाबाट मेलम्चीको पानी भन्दा दुर्लभ आँशुका दुई थोपा तररर्र निस्किएर बगे । ती भुइँमा खसेर खेर जानु अघि फाफुराले हत्तनपत्त तिनलाई हत्केलामा थाप्यो र छेउको एउटा सानो शीशीमा सुरक्षित राख्यो जुन आधा जति भरिइसकेको थियो । फाफुराले पम्प व्यवसायीले पेट्रोलमा मट्टितेल मिसाए जसरी आफ्नो स्वरमा करूण रसको मात्रा मिसायो र त्यो मानिसलाई फकाउन थाल्यो,
"आज चार दिन भैसक्यो मैले यहाँलाई बिन्ती बिसाएको । मानवताको नाताले भए पनि त्यसो नभन्नुस् न ।"
"थाहा छ, तर मैले के गर्ने ? कसकसलाई मानवता देखाउनु म एकजनाले ? तै पनि तपैं पुरानो मुर्‍… मेरो मतलब 'कस्टमर' हो । दया त लाग्छ नि । त्यही भ'र हिजो एक डोज भए पनि कोटा सप्लाइ गरिदिन्छु भनेर आधा बाटोसम्म आएकै हूँ । तर तपैंको कर्मजस्तै तपैंको डेरातिर आउने बाटो पनि फोडेको रहेछ । अर्कोतिरबाट आउन ट्राफिक जाम हुन्छ, तीन घण्टा त्यसै खेर जान्छ । एक त त्यसै पनि 'माल' छैन आजकल, कस्तो सर्टेज छ ।"

आजकल वास्तवमै 'माल'को सर्टेज छ भन्ने कुरा फाफुरालाई थाहा नभएको त हैन । तर, त्यो 'माल' फाफुराले उपभोग गर्न नपाएको चार दिन भैसकेको थियो । इमर्जेन्सीको लागि अलिअलि रहल-पहल राखेको स्टक पनि उसले सकाइसकेको थियो । त्यसैले अब फाफुराको छटपटी र हुटहुटी खप्न सक्ने क्षमताभन्दा बाहिर गैसकेको थियो ।

तपैंहरूलाई यो वार्तालाप सुन्दा पक्कै पनि फाफुरा कुनै दुर्व्यसनी हुनुपर्छ र चरेश, गाँजा, खैरो चिनी वा नाम नखुलेको कुनै कालो पदार्थको सप्लायरसंग उसले अनुनय-विनय गरिरहेको रहेछ भन्ने लाग्यो होला । आंशिक रूपमा तपैंहरू सही हुनुहुन्छ । फाफुरा त्यो मालको दुर्व्यसनी पनि हो, चार दिनदेखि त्यो दुर्व्यसन गर्न नपाएर 'सिक्' भैसकेको पनि हो र सप्लायरसंग रोइकराइ गरिरहेको पनि हो । खालि त्यो लागू पदार्थको नाम मात्र तपैंहरूले अन्दाज गर्न सक्नु भएन ।

त्यसलाई पानी भन्छन् । हो हजूर, पानी । माउवादी बिना बरु चल्लावादी एमाले, केमाले, देमाले र लेमालेहरू टिक्न सक्लान्, तर पानी बिना मानिस कसरी टिक्नू ?
पीडा छ हजूर पीडा । यो देशमा सुघ्घरी हुने त वातावरण नै छैन ।

केही लाख मानिस मात्र धान्ने सक्ने यो काठमाण्डौ भनिने खाडल पचासौं लाख मानिसहरूको बोझले यसरी किच्चिएर निस्सासिएको छ, जसरी भाग पुर्याउनका लागि नयाँ-नयाँ मन्त्रालयको आविष्कार गरेर बनेको जम्बो मन्त्रीमण्डलको खर्च धान्दा गरीब नेपालीले तिरेको कर निस्सासिन्छ । राजधानीबाट राजखानी बनिसकेको यो शहरमा बिशेष गरेर यो मौसममा पानी नामक लागू पदार्थको ठूलो अभाव हुन्छ । तिनका व्यवसायीहरूले जुन बेला जति बढाएको पैसा तिरेर भए पनि कमसेकम पानी ल्याइदियो भनेर उसको जयजयकार गर्नु भनेको देशको राजखानीमा बस्नको लागि चुकाउने सानो मूल्य मात्र हो । यस्तो बेला पिउनका लागि 'मिनरल वाटर'का नाममा बेचिने तथाकथित जारको पानीले काम चलाउन सकिन्छ । नुहाउने भनेको त त्यस्तै हो । हात्ती दिनदिनै नुहाएर ठूलो भएको हैन । त्यसमाथि नुहाएको मानिसलाई छोएर "त्वम् स्नानम्-मम स्ननानम्" भन्ने मन्त्रोच्चारण गरेपछि त्यसलाई स्पर्श स्नान मानिनेछ र छुने मानिस पवित्र हुन्छ भन्ने कुरा त शास्त्र मै लेखेको छ । लुगा कपडा जति दिन नधोए पनि चल्छ । तर तपैंहरू सबै सरह यो फाफुराको पनि पृ्ष्ठ भागमा भगवानले एउटा यस्तो अंग टाँसेर पठाएको छ, जसलाई हरेक बिहान नधोई सुख्खै छैन ।
त्यसैले चार-चार दिनसम्म पानी नामक लागू पदार्थको सप्लायरले धोका दिएपछि फाफुराको के दुर्गति भयो होला भन्ने कुरा तपैंहरू सहजै अनुमान लगाउन सक्नुहुन्छ होला । यो मौसममा पानी व्यवसायीहरू कछुवा लुके जसरी लुक्छन् । उनीहरुको फोनमा 'सम्पर्क हुन सकेन' भन्दै झूर सञ्चारकी युवतीले मीठो स्वरमा माफी माग्छिन् । बल्ल-बल्ल लागेछ र उठेछ भने त्यस्तो दुर्लभ अवस्थामा मानिसले पानी व्यवसायीहरूलाई आफ्नी प्रेयसीलाई भन्दा बढी फकाउँछ, शत्रुलाई भन्दा बढी थर्काउँछ । रुने, कराउने, भावनात्मक शोषण गर्ने, मानवताको दुहाइ दिने, भगवानको किरिया खुवाउने, लम्पसार पर्ने जस्ता जाने जतिका 'टिडिक'हरू लगाउँछ । कसैको घरमा पानीको ट्यांकर आयो भने छरछिमेकले नजर सुरक्षा कवच नै झुण्ड्याउनुपर्ने गरी ईर्ष्यालु आँखाले हेर्छन् ।

हुन त नवनियुक्त खानेपानी मन्त्रीज्यूले दशैंसम्ममा भट्टराई माराज्को मेलम्ची नामक सपना पूरा गरिदिने आश्वासन प्रदान गरिसक्नु भएको छ । त्यो सुनेर काठमाण्डौका जनता द‌‌ंगदास छन् । दीपावली मात्र गर्न बाँकी छ । किनभने, हामी सबैलाई थाहा छ, यो संसारमा ढुक्क भएर विश्वास गर्न सकिने कुनै पनि कुरा छ भने त्यो नेपालका नेता र मन्त्रीहरूको बोली नै हो । त्यो भन्दा सत्य र सुन्दर कुरो शिवले पनि गर्न सक्दैनन् । तसर्थ मेलम्चीको पानी विक्री-वितरण गर्नका लागि जलश्रोत मन्त्रालयले कानमा औषधि हाल्ने ड्रपर खरीदको ग्लोबल टेण्डर आह्वान गर्दैछ भन्ने गोप्य सूचना पनि फाफुराको श्रोतले दिइसकेको छ । तै पनि चक्रपथ बाहिरका दोश्रो दर्जाका नागरिकहरूले त्यो अमृत सुँघ्न पाउने हैनन् । जलश्रोतको धनी भनेर कुर्लने देशको काकाकुल राजखानीबासीहरूको यो ठूलो 'बाम कला' हो ।
**
शीर्षकमा बाम कला भन्ने शव्द देख्नासाथ तपैंहरू पनि यूरोपियन यूनियन हाम्रो देशको बारे पुगेजस्तो सीधै निष्कर्षमा पुग्नुभो होला हैन त ? तपैंहरूलाई लाग्यो होला यो कला पनि बाम ए-कता, बाम गठबन्धन, बाम मन्त्रीमण्डल, बाम भाषण, बाम अर्थतन्त्र जस्तै अहिले बाममय भएको मुलुकसंग सम्बन्धित कुनै कला होला । बज्या फाफुरो पनि बाममय भयो भन्ने लाग्यो होला । त्यस्तो लागेको भए तपैंहरू पनि सर्वज्ञाता इयू जस्तै गलत हुनुहुन्छ । बाम कला अर्कै जिनिस हो । जनता-जनार्दन बाम कलाबाट पीडित हुनुको पछाडि अरू कलाका हात छन् । ती अरू कलाले गर्दा बाम कलाको अस्तित्व पैदा भएको हो् । त्यसैले पहिले अलिअलि तिनको कुरा गरौं ।

सार्वजनिक यातायातको के कुरा गर्नु हजुर, त्यहाँ छोरी-चेली छाम कलाबाट असुरक्षित छन् । यही छाम कलाका कारण यौनजन्य हिंसा र बलात्कारका घटनाहरू बढ्दा छन् । दिनहूँ बालिका, बृद्धा र मानसिक सन्तुलन गुमाएकहरू समेत बलात्कृत भएका घटनाहरू सुनिन्छन्, सेलाउँछन् । सबै कानमा तेल हालेर बस्छन् । प्रहरी थाम कलाबाट पीडित छ । गुण्डा बदमाश र अपराधीलाई छोए कि कुनै न कुनै राजनीतिक दलका नेता 'मसीहा' बनेर प्रकट हुन्छन् र तिनका हात थाम्छन् । इनकाउण्टर गर्यो भने मानउ धिक्कारकर्मीले खेद्छन् । त्यो सबको तोडमा ऊ बेला-बेला होटेलमा छापा मार्छ, प्रेमीप्रेमिकालाई समात्छ र आफ्नो निरिहताको भडास निकाल्छ । हरेक ठाउँमा राजनीतिक नियुक्ति र दाम कला हावी भएको छ । जसले शक्तिकेन्द्रहरूमा जति धेरै दाम चढाउन सक्छ, उसैको बोलाबाला हुन्छ । न्यायाधीश देखि मठाधीशसम्म, डन देखि डिनसम्म, महाप्रबन्धक देखि आइजीपीसम् र लाजदूत देखि राजदूतसम्मका नियुक्तिका लागि दाम कलाको लागि खाम कलाको बोलाबाला छ । ठेक्का-पट्टा र निर्माण आदि हाम कलाबाट पीडित छ । जसले जहाँ सक्यो, बीचमै हाम् गरिदिन्छ । त्यसैले निर्माणको स्तर धुस्नु र गति कछुवाको जस्तै तीब्र भैसकेको छ । ठेकेदारहरू खुला हाँक दिन्छन, "माथिदेखि तलसम्म छ्याकन बुझाउनु नपर्ने भए हामीले पनि बन्दाबन्दै नभत्कने पीच बनाउन जानेका छौं ।" हाम कलाका अम्मलीहरू नसुनेको जसरी बस्छन् । 

यस्तै बिभिन्न भाम कलाका कारण फाफुरा जस्ता रैतीहरू चाहिँ बाम कलाको शिकार भएका हुन् । त्यसैले यो देशमा बरू काम कला नजाने केही फरक पर्दैन, बाम कला नजाने तपैं बाँच्न सक्नुहुन्न । बाम कला एउटा यस्तो कला हो, जुन अहिले हामी सबै नेपालीको पुर्पुरो बनेको छ । चाहेर पनि नचाहेर पनि हामीले यो सिक्नै परेको छ । चार बिभिन्न विदेशी भाषाका एउटै अर्थ लाग्ने चार शव्दहरूबाट बनेको यो समावेशी कला आजको हाम्रो आवश्यकता हो । बाध्यताको बा, मजबूरीको म, कम्पल्सनको क र लाचारीको ला मिलेर बनेको यो बाम कला आज तपैं हाम्रो नियति हो । चारवटा विदेशी शव्द कसरी मिल्न सक्छ भनेर तपैंले प्रश्न गर्नुहोला । खाओवादी बन्नका लागि माओवादी राप्रपासंग र बेकाँको नेकाँ तपलोपासंग तेल र पानी जसरी मिल्न सक्ने यो महान मुलुकमा जाबो चार भाषाका शव्दहरू मिल्न नपाउनु ?

ठूला कुराहरू नेताहरूको भाषणमा मात्रै अटाउने यो देशमा हामी बराहरूले साना-साना कुरामा समेत बाम कलाले चित्त बुझाउनु परेको छ । तथाकथित 'भी आइ पी' का 'सवारी' का कारण सँधैजसो राजखानीका सडकहरूमा एनाकोण्डा जत्रो लामो गाडी र भटभटे पसारिन्छन् । तिनको बीचमा फसेर आर्तनाद गरिरहेको एम्बुलेन्समा छटपटाइरहेको सिकिस्त बिरामीलाई निरीह भएर हेरिरहनु पर्ने आफन्तको बाम कला कति पीडादायी होला, कल्पना गर्दा पनि हाम्रो आङ् जिरिङ्ग हुन्छ । तर, परपीडामा रमाउन पल्केकाहरूले यो बुझ्लान् भन्ने आशै नगरे हुन्छ ।

हामी बबूरा नागरिकहरूले सँधै बाम कला मै चित्त बुझाउनुपर्छ । बेला-बेला यो देशका प्रधानमन्त्रीहरू दुईवर्षमा नेपाल सिंगापुर बन्छ भन्छन् । तर त्यति कम समयमा कसरी सिंगापुरलाई नेपालको स्तरमा झार्न सम्भव छ भन्ने बारेमा चाहिँ केही पनि भन्दैनन् । देशका ठेकेदारहरूलाई रारा तालदेखि जुवाको खालसम्मबाट हामी रैतीहरूलाई सपना बेच्ने गर्छन् । हामी बाम कलाका साथ त्यो सुन्छौं अनि दुई खेमामा बाँडिन्छौं । एउटा खेमा त्यो फाइँफुट्टीराजको भन्दा ठूलो फाइँफुट्टी सुनेर पत्याउँछ, करतल थपडी बजाउँछ । अर्को खेमा त्यसको विरोधमा घोक्रो सुक्ने गरी गाली गर्छ । सामाजिक सञ्जालमा चिन्नु न जान्नुका नेपालीहरू एक-आर्काको हुर्मत लिन्छौं, आमाचकारी गालीगलौज गर्छौं र भडास पोखेर शान्त हुन्छौं । यो भन्दा ठूलो बाम कला अरू के हुनसक्छ ? यहाँ त यातायात सिण्डिकेटले समेत ठग्न पाइएन भनेर राजमार्ग नै बन्द गर्ने सक्छ । जिन्दगीका हरेक साना-ठूला कुरामा हामीले बाम कलाको कुशल अभ्यास नगरी सुख्खै छैन ।

त्यसैले यो कलाको अभ्यास गरेर अनुभवी भैसकेको फाफुरा एउटा बाम कला प्रशिक्षण केन्द्र खोल्ने सुरमा छ । 'फाफुरा बाम कला केन्द्र'मा तारानाथ अँग्रेजी प्रशिक्षण केन्द्रमा महीना दिन भित्रै भटटटटटटटटटटट अँग्रेजी बोल्ने कला सिकाए जसरी, कम्निस्ले सपना बेच्ने कला सिकाए जसरी, विवेकशील-साझा र काउँरेस्ले चुनाप् जित्ने कला सिकाए जसरी नै ग्यारेण्टीका साथ प्रभावकारी बाम कलाको अभ्यास गराइनेछ, सिकाइनेछ । त्यसैले यो सुनौलो अवसरको फाइदा उठाएर फाफुरासंग नि:शुल्क बाम कला सिक्न चाहनुहुन्छ भने शनिवार बाहेक अरू दिन दश बजेदेखि पाँच बजेसम्म रत्नपार्कमा आउनुहोला । ऊ तपैंहरूको प्रतीक्षामा त्यहाँ टोपीले मुख छोपेर घाम कलाको उपभोग गरेर सुतिरहेको हुनेछ ।
twitter: @brazeshk /

email: brazesh@gmail.com

'हराएको मानिस' The Story So Far

धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...