Tuesday, April 10, 2018

१२ बूँदे फाफुरावली

फाफुरावलीका बाह्र बूँदाहरू
१.
घरबाट निस्कँदा हरेक मानिसले कम्तीमा तीन लिटर पानी खाएको हुनुपर्नेछ ता कि उसलाई बाटोमा लघुशंकाले अनिवार्य च्यापोस् । त्यसरी बाटोमा पिसाब फेर्ने हरेक जिम्मेवार नागरिकलाई ड्यूटीमा खटिएका नगरप्रहरीले खदा ओढाएर सम्मानित गर्नेछन् ।  अझ कुनै वहादुरले बिष्ट्याउनै सक्यो भने उसलाई प्रमाणपत्र पनि प्रदान गरिनेछ । बाटोमा कम्तीमा एकपटक दैनिक  रूपमा मूत्रत्याग गर्न नसक्ने वा लाज मान्नेलाई दुई सय रुपैयाँ जरिवाना गराइनेछ । गोजीमा नगद नभएको अवस्थामा कान समातेर दश पटक उठवस गराइनेछ ।
२.
करोड पर्ने गाडी वा लाखौं पर्ने भटभटेबाट मन लागेको बेला पछाडि नहेरी पिच्च थुक्न पाउने मौलिक अधिकार सुनिश्चित गरिनेछ । अगाडि गैरहेकोले कुनै पनि बेला, केही पनि गर्न सक्छ, सावधान रहनु पर्छ । अग्रगामीहरू मानिसहरूले पछाडि हेर्दैनन्, त्यो ऊनीहरूलाई शोभा दिँदैन भन्ने कुरा बुझ्नुपर्छ । यदि त्यो थुकका छिटा अरू कसैलाई पर्छ भने त्यो थुकिनेको दोष मानिनेछ । आगामी दिनहरूमा सावधान रहन चेतस्वरूप थुक छल्न नसक्नेलाई हरेक पटक थुकिंदा नगद पचास रूप्याँ जरिवाना गरिनेछ । पैदल यात्रुले पनि हरेक पाँच मिनेटको अन्तरालमा कम्तीमा एकपटक बाटोमा थुक्नै पर्नेछ । यस गौरवशाली कार्यका लागि प्रोत्साहन स्वरूप हरेक पटक थुके वापत मोरू शून्य दशमलव पाँच अर्थात् पचास पैसा प्रोत्साहन भत्ता प्रदान गरिनेछ । खकार्न सक्नेले एक रूपैँया पाउनेछ ।
३.
कुनै पनि ट्याक्सी मिटरमा चलाउन पाइनेछैन । मिटरमा चलेको भेटिएमा त्यो ट्याक्सीको सवारी दर्ता तथा चालकको अनुमतिपत्र ठाउँको ठाउँमै रद्द गरिनेछ । कहाँ जाने वा नजाने भन्ने कुरामा चालकको निर्णयाधिकारलाई सम्बिधानले सु‍रक्षित गर्नेछ । जाने निर्णय गरेपछि पनि चालकले आफ्नो मानसिक अवस्था अनुसार जति पनि भाडा तोक्न सक्नेछ । यसमा यात्रुले कुनै विवाद गरेको खण्डमा उसलाई ६ महीनासम्म कैद, दश हजार जरिवाना वा दुबै हुन सक्नेछ ।
४.
सरकारी का्र्यालयमा भन्ने बेला जति भने पनि दैनिक चार घण्टा भन्दा बढी काम गर्न पाइने छैन । कसैले गरेमा बढी घण्टा बराबरको तलब कट्टी गरिनेछ । सरकारी, अर्ध सरकारी, गैर सरकारी, नीजि वा कुनै पनि कार्यालयहरूलाई अविलम्व 'पूर्णतया घूस तथा कमिशनयुक्त क्षेत्र' घोषणा गरिनेछ । बिना घूस वा कमिसनमा काम गर्ने कर्मचारीलाई कारवाही स्वरूप सेवा निवृत्त गरिनेछ । त्यस्ता कर्मचारीहरूको संचयकोष, अक्षयकोष, कल्याणकोष र अण्डकोष जस्ता सबै अन्य कोषहरू जफत गरिनेछ ।
५.
स्वास्थ्य, शिक्षा तथा सार्वजनिक यातायात पूर्णतया व्यक्तिगत सिण्डिकेटको स्वामित्वमा रहने छ । गुण्डा तथा डनहरूको सुरक्षाको जिम्मेवारी सरकारले लिनेछ । प्रहरीले त्यस्ता व्यक्तिहरूलाई आँखा उठाएर हेर्न निषेध गरिनेछ । रातो कुनामा राखिएका अपराधीहरूलाई अति विशिष्ट व्यक्तिको दर्जा प्रदान गरिनेछ । त्यस्ता अपराधीहरूसंग जम्काभेट भएको बखतमा सुरक्षाकर्मीले उनीहरूलाई बूट बजाएर सलाम ठोक्नु पर्नेछ । अन्यथा विभागीय कारवाही स्वरूप एक तह घटुवा गरी दुर्गममा सरूवा गरिनेछ ।
६.
सरकारी ठेक्कापट्टा र टेण्डर घोषणा तथा कार्यान्वयनमा खेर गइरहेको अमू्ल्य समय वचत गर्न नयाँ र प्रभावकारी नियम लगाइनेछ । यस अनुसार अब टेण्डर तथा ठेक्कापट्टा सोझै ग्याङ्ग फाइट खेलाएर विजेतालाई प्रदान गरिनेछ । त्यस्तो फाइटमा हातहतियार प्रयोग गर्न परे घुँडाभन्दा मुनि हिर्काउन पाइनेछ । सबै जनताको समान हकको उच्च सम्मान गर्दै खोला-नाला, बालुवा-गिट्टी, वन पैदावर लगायतका प्रकृति दोहन गर्न खुल्ला छुट हुनेछ । त्यसको विरोधमा कुनै सञ्चार माध्यमले रिपोर्टिंग गर्न पाउनेछैनन् । यसको अवज्ञा गरेर फिल्डमा जाने पत्रकारहरूको हातखुट्टाको सुरक्षाको जिम्मा श्री पशुपतिनाथले मात्रै लिनेछन् ।
७.
नेताहरूको खप्परको भित्री भागजस्तै रित्तो भएको देशको ढुकुटीका कारण जर्जर भएको अर्थतन्त्रलाई उकास्नका लागि मुद्रण व्यवसायलाई घरेलु तथा साना उद्योगको रूपमा वर्गीकरण गरिनेछ । सबै प्रिण्टिंग प्रेसलाई विशेष ग्राह्यता दिँदै पाँच, दश, बीस र पचाससम्मका नोटहरू छाप्न खुला छुट दिइनेछ । त्यसका लागि कुनै स्वीकृति लिनुपर्ने वा कतै दर्ता गर्नुपर्ने प्रावधान हुने छैन । तर गैंडा, बाघ र हात्ती जस्ता ठूला जनावरका चित्र अंकित नोट मुद्रणका लागि भने सरकारसंग स्वीकृति लिनुपर्ने छ । यस्ता स्वीकृति राजनीतिक दलका आसेपासे, भरौटे, कार्यकर्ताहरूलाई मात्र दिईनेछ । सोका लागि निवेदकले कम्तीमा पाँच-दशवटा हुलुश, धर्ना, दंगा र बन्दहरूमा ढुंगा हानेको, गाडी जलाएको वा सार्वजनिक संरचनाहरूमा क्षति पुर्याएको सबूत प्रमाण सहित निवेदन दिनुपर्ने छ ।
८.
त्यसबाहेक, सबैभन्दा ठुलो अर्को जनावरको चित्र सहितको पाँच हजारको नोट पनि निष्काशन गरिनेछ । त्यो जनावर कुन हुनेछ भन्नेमा चाहिँ सर्वदलीय वैठक बसेर पू्र्ण बहुमत प्राप्त गरेर दलहरूले आफ्नो जीवित वा दिवंगत कोही एक जना नेताको हाइ रेजुलेसन फोटो प्रस्तुत गर्नुपर्ने छ । मुद्रण व्यवसायको दोश्रो चरणमा विदेशी मुद्राहरूको छपाई शुरु गरेर बिभिन्न देशहरूमा निर्यात गरिने दीर्घकालीन योजनामा काम गरिनेछ । यसरी आगामी केही वर्षमा भारतीय र चीनी रेलको आगमनसंगै सरकारी थैली गह्रुङ्गो हुनेमा कुनै शंका रहनेछैन । विश्वास नलाग्नेले यो कुरा रजिष्टरमा टिपेर राखे हुन्छ ।
९.
धरहरा, भूकम्पमा भत्किएका साँस्कृतिक धरोहरहरू, अन्तर्राष्ट्रिय स्तरका क्रिकेट स्टेडियम, फूटबल तथा अन्य खेल मैदान लगायतका सार्वजनिक महत्वका सबै निर्माणकार्य हास्य कलाकारहरूले गर्नेछन् । चुनाव जितेका नेता, मन्त्री, प्रधानमन्त्री लगायत अरू प्रशासकहरूले चाहिँ दिनहुँ कमेडी बाहेक अरू केही पनि गर्ने छैनन् ।
१०.
प्रधानमन्त्रीको चयन 'राष्ट्रव्यापी हावादारी गफ प्रतियोगिता'को आधारमा हुनेछ । जसले सबैभन्दा हावादारी गफ हाँक्न सक्यो, उसैलाई सो पदका लागि चयन गरिनेछ । त्यसको विरोध गर्नेलाई देश निकालासम्म गर्न सकिनेछ । कुनै पनि सरकार र प्रधानमन्त्रीको अवधि बढीमा छ महीनाको मात्र हुनेछ । स्थायित्व, शान्ति, सुरक्षा जस्ता शव्दहरू शव्दकोषबाट हटाइनेछ र तिनको प्रयोगमा समेत प्रतिबन्ध लगाइनेछ । ती शव्दहरू लेख्नेको औंलो भाँच्ने, उच्चारण गर्नेको जिब्रो थुत्ने र श्रवण गर्नेको कानमा तातो झीर घोच्नेसम्मका सजायँ हुन सक्नेछ ।
११.
चुनिएका नयाँ प्रधानमन्त्री (जुन महीना पन्ध्र दिनमा बनिरहन्छन्) बन्नासाथ सबैभन्दा पहिले सिल्ली सरह दिल्ली दरबारमा मोहोर चढाउन जानै पर्ने छ । त्यस्ता मोहोरभेटमा गएको बेला देशको कुनै एक नदी बेच्न सकेमा उनलाई 'कुबिने'को गौरवशाली उपाधिले सम्मानित गरिनेछ र ईतिहासमा स्वर्णाक्षरमा निजको नाम दर्ता गरिनेछ । विषय वा प्रसंगले अर्को अर्थ नलागेसम्म 'कुबिने' भन्नाले 'कुशल बिक्रेता नेता' बुझ्नुपर्नेछ ।
१२‍.
कार्यकारी अधिकारबिहीन राष्ट्रपतिले हरेक दिन कुनै न कुनै बहानामा कम्तीमा एक औपचारिक सवारी चलाई काठमाण्डौंको जनजीवन अस्तव्यस्त पार्नै पर्नेछ । कुनै पसलको उद्घाटन, पुस्तकको विमोचन, लोकदोहोरी भिडियो छायाँकनको शुभारम्भ जस्ता महत्वपूर्ण कार्यहरू नभएको बेला मन्दिर दर्शन, सिनेमा अवलोकन, शपिंग जस्ता दैनिक जीवनका महत्वपूर्ण जिम्मेवारी वहन गरेर भए पनि सवारी चलाउनै पर्नेछ ।

त्यसैले जे नगर्नू भन्यो त्यही गर्नु पर्ने अनि जे गर्नू भन्यो त्यो मरेकाटे नगर्ने हामी वीर नेपालीहरूको मानसिकताको गहन, सूक्ष्म र व्याबहारिक अनुसन्धान पश्चात फाफुराले माथिका नियमहरू सहितको 'फाफुरावली' तयार पारेको हो । किनभने आम नेपाली सरह फाइँफुट्टीराजलाई पनि लघुशंकाको लागि न त खुट्टा उचाल्नु पर्छ, न खम्बा नै चाहिन्छ । झन्, 'यहाँ पिसाब नगर्नू होला' लेखेर कसैले पनि हामी वीर नेपालीलाई चुनौती दियो भने त्यहीं मुनि तुरुक्क पार्नैपर्ने महान गुण भगवानले फाफुरामा पनि खाँदीखाँदी हालिदिएका छन् । हुन त बाटोमा मुत्रत्याग गर्नु हाम्रो रहर र बाध्यता दुबै हो । तसर्थ, पल्याक-पुलुक चारैतिर हेरेर कुनै पनि सडक छेउ, पर्खालको ढेप वा कुनामा दुबै खुट्टा भुईँमै राखेर जलसिञ्चन गर्ने कलामा फाफुरा पनि अरू सरह पारंगत भैसकेको छ । अलि परबाट कुनै मानिस वा सवारी साधन आइरहेको छ भने, त्यसको गति, आफ्नो शरीरभित्रको तरल पदार्थको मात्रा र त्यसको निष्काशनको चापको अनुमानित हिसाबकिताब गरेर ती छेउमा आइपुग्नु अघि नै काम भ्याउने कलामा त हामीलाई झन कसैले जित्न सक्दैन होला ।

'यहाँ पिसाब नगर्नू होला' लेखेको देख्नासाथ हाम्रो अर्को एउटा ग्रन्थी पनि क्रिकेटको विकास गर्न क्यान सकृय भएजसरी सकृय भैहाल्छ । त्यसको प्रारम्भिक असर हाम्रो औंलोमा पर्छ । अनि कागजमा लेखिएको भए त्यो शव्दको अगाडिको 'न'लाई कोट्याएर, च्यातेर, वा पेनले कोरेर 'नगर्नुहोला' बाट 'गर्नुहोला' बनाएर त्यसको प्रारूपको क्रान्तिकारी परिवर्तन नगरून्जेल हाम्रो औंलोको चिलाई मर्दैन । ईनामेलले लेखेर टाँसेका पाताहरू पनि हाम्रो वीरताको सामु टिक्न सक्दैनन् । सुका, मोहोर वा रुप्याँको ढ्याकले भए पनि निकै मेहेनतका साथ हामी त्यसलाई खुर्किदिन्छौं । हुन त त्यस्ता डबलहरू आजकल पाटेबाघ जस्तै लोपन्मुख जिनिस हुन्, त्यति सुलभ रूपमा प्राप्य नहोलान् । तर, हामी 'जहाँ ईच्छा-त्यहाँ उपाय' भन्ने उक्तिमा अटल विश्वास गर्छौं । भटभटेको साँचो, नेल कटर, पेन ड्राईभ जस्ता एउटा न एउटा वैकल्पिक हतियार त हाम्रो खल्तीमा कहिले पनि टु्ट्दैन । तिनैको सहाराले हामी मेहेनतका साथ आफ्नो कार्य फत्ते गरेरै छाड्छौं । मूत्रत्यागको ला‍गि मात्र हैन, अरू जुनै ठाउँमा जे-जे 'नगर्नुहोला' भनेको हुन्छ, त्यसलाई 'गर्नुहोला' बनाएर हामी गौरवान्वित हुन्छौं । फोहोर नगर्नुहोला, हल्ला नगर्नुहोला, घाँसमा नटेक्नुहोला, हर्न नबजाउनुहोला लगायतका कुनै पनि 'न'हरू हाम्रो वक्रदृष्टिबाट उम्कन सक्दैनन् । अनि ती नगर्नुहोला भनेको काम गरेपछि हामीलाई आनन्द आउँछ । हाम्रो छाती गर्वले तनक्कै तन्किन्छ । हामीलाई नियम कानून मान्न मरेजस्तो लाग्छ । 

किन मान्नू ? महान नेपाली पो हौं त हामी । हामीसंग अनुशासनको कुरा गर्ने ? अरे यार, कम हौं हामी ? बुद्ध वाज बर्न इन नेपाल । 


सदियौंदेखि बन्देजमा बाँचेर वाक्क दिक्क प्याक्क छ्याक्क भैसकेका हामीले के फेरि नियमै मानेर बस्न ल्याएको हो र बिभिन्न किसिमका तन्त्रहरू ? अब त हामी उन्मुक्त प्राणी । हामीलाई जे मन लाग्छ त्यही गर्न पाउनुपर्छ । त्यसैले हामी आजकल साना देखि ठूला सबै कुराहरूमा जे-जे गर्न हुन्न भन्यो त्यही-त्यही गरेर रमाउँछौं । बल्लबल्ल पाएको स्वतन्त्रताको त्यति पनि उपभोग गर्न नपाए के अर्थ भो त हैन र ? राति सवारी चलाउँदा आफ्नो सवारीको बत्तीको हाइ बिम बाल्न हुन्न भन्ने हामीलाई थाहा छैन र ? उताबाट आउनेले त्यसै गरी आउँदा हाम्रो पनि त आँखा गुच्चा हैन, तिरमिराउँछ नि । तै पनि हामी उताबाट आउनेको आँखा चाहिँ गुच्चै हो भन्ने मान्छौं । एक छिन धैर्य नगरी विपरित लेनमा गाडी वा भटभटे छिराउँदा सबैलाई समस्या हुन्छ भन्ने कुन चाहिँ त्यस्तो गूढज्ञान हो जसलाई बुझ्न कुनै मानार्थ विद्यावरिधि चाहियोस् । तर, हामी अलि पर मामाहरू बसेर सवारी चालक अनुमति पत्र खोसिरहेका छन् भने मात्र नियम मान्छौं । नत्र त हामीलाई बालै फरर । मापसे पनि कंश मामाहरूले निकै कडा नगरेको भए हामी टेर्ने थिएनौं । आफ्नो पैसाले रक्सी खाने त वातावरण नै छैन यो देशमा ।

प्रस्तावित 'फाफुरावली' कडाइका साथ पालना गर्न सक्ने हो भने अबका केही वर्षमा नेपाल अवश्य पनि सिंगापोर बन्नेछ । यस कुरामा यदि तपैंहरू आश्वस्त हुनुहुन्छ र, यो अभियानमा फाफुरालाई साथ दिन चाहनुहुन्छ भने उसलाई विदाको दिन बाहेक अरूबेला रत्नपार्कमा टोपीले मुख छोपेर सुतिरहेको अवस्थामा भेट्न सक्नुहुनेछ ।


twitter: @brazeshk /

email: brazesh@gmail.com

'हराएको मानिस' The Story So Far

धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...