Tuesday, April 17, 2018

डाँको डेरावालको

तपैंहरूलाई लाग्छ होला, पत्यारै नलाग्ने कुरा ओल्बाले मात्र गर्छन् । नसोचेको कुरा उनैले मात्र फेला पार्छन् । यो कुरामा फाइँफुट्टीराज पनि कम छैन । त्यस्तै अप्रत्याशित रूपमा फेला परेको एउटा बहुमूल्य कुराले केही दिनदेखि फाफुराको नाक फुलेर देशको शोधनान्तर घाटाभन्दा ठूलो भएको छ । यो सुन्दा तपैंहरूलाई लाग्यो होला फाफुरालाई ठूलै चिठ्ठा परेको होला र 'ह्वाट्सएप्' मार्फत त्यसको सन्देश पनि आइसकेको होला । भारतको कुनै बैंकमा अलिअलि सेवा शुल्क पठाएपछि त बजिया फाफुरा मालामाल हुने भयो । तपैंको मुखमा बियर र चिकन चिल्ली परोस् । त्यसो भइदिए त फाइँफुट्टी हाँक्ने विषय नपाएको बेला फाफुरा रत्नपार्क हैन, बेलायतको हाइड पार्कमा गएर टोपीले मुख छोपेर सुत्थ्यो । फाफुरा आशावादी छ । अरू सबैजसो नेपालीलाई परिसकेको त्यो लाखौं डलरको चिठ्ठा फाफुरालाई पनि कुनै दिन कसो नपर्ला र ? उसो भए 'त्यसरी चुम्रुक्चुम्रुक् परेर उफ्रन के भेटिस् त फाफुरो' भनेर सोध्नुहोला ।
फाफुरीले फाफुरी भेट्यो ।
हो, केही अघि नोदलालले ब्युँझाइदिएको सपनामा देखेको जस्तै चिटिक्क परेकी, राम्री फाफुरी । हुन त फाफुरालाई आफ्नो यो जुनी ब्रम्हचर्यमै बित्छ जस्तो लाग्थ्यो । किनभने अहिलेको जमानामा भौतिक र आर्थिकरूपमा केही ख्याँस्न नसक्नेलाई कसैले गन्दैनन् भन्ने फाफुराको अहिलेसम्मको अनुभव थियो । तर, हालसालै अनपेक्षितरूपमा कर्नालीको पानीमा मिनरल र वनस्पतिमा जडीबुटी फेला परेजसरी मनको सामु धनलाई बाल नदिने एउटी फाफुरी फेला परी । टाक्कटुक्क पारेर यहीपाली लगनगाँठो कसिहाल्ने सल्लाह पनि भयो । यसरी हेर्दाहेर्दै अचानक मिश्रजी एउटा 'पा' छोडेर अर्को 'पा' (पाउण्डबाट पार्टी) तिर लागेझैं फाफुरा पनि वीरगति प्राप्त गर्नेतर्फ अग्रसर भयो । त्यसमा एउटै समस्या थियो । उनलाई भोट पाइएला कि नाईँ भन्ने सुर्ता थियो होला, फाफुरालाई डेरा नपाइएला भन्ने पीर थियो । 
एक्लो फाफुरालाई त के थियो र ? घट्टेकुलोको साँघुरो गल्लीभित्रको अझै साँघुरो गल्लीभित्रको त्योभन्दा साँघुरो गल्लीभित्रको अर्को साँघु……रो गल्लीको एउटा चीसो र अँध्यारो घरको छिंडीमा झ्याल नभएको कोठामै ऊ सन्तुष्ट भएर बसिरहेकै थियो । उज्यालोको अनुहार कहिले नदेख्ने त्यस कोठाका कारण दिनभर रत्नपार्कमा सुतेर संगालेको भिटामिन डीले उसलाई रातभर पुगिरहेकै थियो । अब फाफुरी पनि हुने भएपछि कमसेकम दुई कोठाको साम्राज्य त खडा गर्नैपर्ने भयो । त्यसैले युगौँदेखि त्यहाँ बसेर घरपति बाको अंश दिनु नपर्ने छोरा भैसकेको फाफुरा भारी मनले त्यहाँबाट अन्त सर्न बाध्य हुने भयो । डेरा खोज्न हिंडेपछि पो फाफुरालाई थाहा भयो, बरू इमान भएको नेता खोजे त्यो भन्दा सजिलो हुन्थ्यो होला । 
काठमाडौंमा घर हुनेहरूलाई लाग्छ, उनीहरू कुनै साम्राज्यका सम्राट हुन् र डेरा खोज्न आउनेहरू भनेका कीराफट्याङ्ग्रा । डेरामा बस्नुपर्नेहरूलाई आफू यो राजखानीमा देशको दोस्रो दर्जाको नागरिक भएजस्तो लाग्छ । उसका बाबुबाजेले यो कचौरा बाहिर दुई चार फिटमात्रै पनि टाउको लुकाउने ठाउँ जोडिदिएका भए ऊ यहाँ निसास्सिएर बस्दैनथ्यो । बाबुबाजेले नसक्या कुरा फाफुराले झन् के सक्थ्यो र ? त्यसैले ऊ यहीँ रहन बाध्य छ । 'नन-अर्ग्यानिक' भन्छन् क्यारे फाफुरा जस्ता नकुहिने, नमासिने र ज्याद्रा पदार्थहरूलाई ।
फाफुराजस्ता सुकुम्वासीहरूको पीडाको लर्को लगाउन थाल्यो भने कालो बजारीको बेलामा पेट्रोल पम्पमा लाग्ने लाम पनि छोटो हुन्छ । तर, अहिले उसको सबैभन्दा ठूलो पीडा भनेको चाहिँ डेराको नै थियो । भीमसेन थापाले भन्थे रे - "पशुपतिको बाँदरसँग केरा लिनभन्दा काठमाडौंका घरपतिसँग डेरा लिन गाह्रो हुन्छ ।" यो राजखानीमा डेरामा बसेको मनिसले मात्र यसको सही अर्थ बुझ्नसक्छ । फाफुराले निकै दिन गोल्डस्टार खुइल्याउँदा पनि भनेको जस्तो डेरा पाउन सकेन । अलिकति गतिलो एउटा ठाउँमा उसले कोठा नपाएको त हैन तर त्यहाँको भाडा सुनेर फाफुरालाई भाउन्न भयो । ढोकाको खापा समातेर पनि आफूलाई सम्हाल्न नसकेको फाफुरालाई घरपतिले तालुमा पानी छ्याप्न परेको थियो । ट्यांकरबाट किनेको पानी हुनाले त्यसको हिसाब गरेर दस रूप्याँ छेराउँदै उनले भने - "दख्खिनको घाम नछेकिने भएर यहाँ दरभाउ महँगो छ भाइ ।" 
एकजना ठूलो भुँडी भएका अनुहार हेर्दै घुस्याहा भनेर थाहा हुने घरमालिकले भनेको कुरा सुनेर त फाफुरा ट्वाँ परेको थियो । पहिले त उनले फाफुराको सात पुस्ते नालीबेली खोतलेर रामापिथेकससम्म नै पुर्‌याए । अनि हनुमान ढोकामा समातेर ल्याएको चोरलाई पुलीसले केरकार गरेजसरी उसको वर्तमानको बारे सोधखोज गरे । त्यसपछि कान कोट्याएर अमलाजत्रो एक डल्लो कानेगुजी निकालेर औंलामा नचाउँदै उनले भने,
"ट्यांकरबाट पानी ल्याउनुपर्छ, तपैंले त्यसको आधा पैसा बेहोर्नुपर्छ । पछि किचकिच नहोस् पहिले नै भन्देको ।"
उनको घरमा आठ जनाको परिवार रहेछ । फाफुराले आफू त दुई जनामात्र हुने हुँदा किन बराबर तिर्नुपर्ने भन्ने प्रश्नको उत्तरमा गुच्चा खेलेजसरी त्यो कानेगुजी एकातिर हुर्याउँदै उनले संक्षिप्त उत्तर दिए,
"यहाँको नियम नै यस्तै छ ।"
हरेक घरमालिक आफूखुसी नियम बनाउन स्वतन्त्र हुन्छ । बस्नु अघि पनि बसिसकेपछि पनि । कुनै पनि बेला उनीहरूका नियमकानुन बिना कुनै पूर्वसूचना थप, परिवर्तन वा परिमार्जन हुन सक्छन् । सम्राटहरूको जायज नाजायज हरेक सर्त र सम्झौताहरू लुरुक्क परेर मानेन भने पाएको डेराबाट जुनै पनि बेला गर्धनमा अर्धचन्द्राकार लाग्न सक्छ । अनि कुन घरको कुन कोठामा पर्दा छैन भनेर खोज्न ठाडो घाँटी लगाएर गल्लीगल्ली चहार्न तयार हुनुपर्छ । किराना पसलेहरूसँग 'दाइ यता कतै कोठा वा फ्लयाट खाली होला?' भनेर बिहानदेखि बेलुकी खाली सिसी खोज्नेहरू सरह भौँतारिन तयार हुनै पर्छ । ट्रकहरूमा लेखेको बेलाबेलामा देख्नुभएकै होला नि, 'वान मिस्-गेम फिनिस्' । यो काठमाडौंमा डेरामा बस्नेहरूकै लागि जंगवहादुरले प्रादुर्भाव गरेको उक्ति हो । 
घरपतिको सानोभन्दा सानो 'इगो' मा आँच आयो भने चराले त्यसरी गुँड के सार्ला, बिचरो डेरावालले त्यसरी झिटिगुम्टा पोको पारेर भौँतारिनु पर्छ । डेरामा बस्नु भनेको त तरबारको धारमा हिँड्नुजस्तो हुन्छ । पहिलो नियम, घरपति सदैव सही हुन्छ । उसले भनेको कुरा डेरावालले मान्नेबाहेक अरू कुनै विकल्प छैन । दोस्रो नियम, कथंकदाचित घरपति गलत भएमा (जुन आजसम्म भएको इतिहास छैन), नियम नम्बर एक स्वत: लागु हुनेछ । 
सामान्यतया भाडामा कोठा लगाएर खान पल्केका सलहजस्ता परजीवीहरूको घरको छतमा पानीको ट‌यांकी एउटै भए पनि डेरावालको धारा बाथरुममा जाने पाइपको लाइन फरक हु्न्छ । डेरावाललाई कति पानी चाहिन्छ र कुनबेला चाहिन्छ भन्ने कुराको निर्क्योल घरपतिले नै गर्छ र माथिबाटै त्यसको नियन्त्रण तथा अनुगमन गर्छ । सौर्य ऊर्जाबाट तात्ने पानी पनि डेरावाललाई नदिन सक्ने उसको मौलिक अधिकार संविधानले सुरक्षित गरेको हुन्छ । मानौं सूर्यदेवसँग लिजमा लिएका हुन् त्यो घाम । आफूलाई डेरावालभन्दा उपल्लो प्रजातिको जन्तु भएको देखाउने उसको तन्तुले सँधै काम गरिरहेको हुन्छ । ढोका लगाउँदा झुक्केर ढ्याम्म आवाज आयो भने त घरपतिका लागि त्यो कुकुरलाई पटका पड्काए सरह हुन्छ ।

फाफुराका एक परिचितले घरपतिको पूर्व स्वीकृति नलिई इन्टरनेटको तार ल्याउँदा घरको शोभा बिग्रियो भनेर डेरा छोड्नु परेको थियो । अर्का एक डेरावालमित्रले पूर्वस्वीकृति नलिई किस्ताबन्दीमा भटभटे किन्दा सम्राटले थर्काएका थिए - "मसँग सल्लाह नगरी किन किन्या ? बाबुलाई कलेज जानको लागि म पनि भटभटे किन्ने विचारमा थिएँ । यहाँ दुईटा राख्ने ठाउँ कहाँ छ ?" ती डेरावालले अचम्म मान्दै भनेछन् - "बाबु त अहिले सात कक्षामा पढ्दै छ । कलेज जान त समय बाँकी छ नि ।" घरपतिसँग यसरी प्रतिवाद गर्दै 'मुख लागेको' परिणाम ती चोथाले डेरावालले दुई दिनपछि भोगे जब उनलाई गर्दी जारी भयो - "बाबुको बर्तमन गर्ने सल्लाह भएको छ । नातागोता भेला हुन्छन्, हामीलाई ठाउँ पुग्दैन। तपैँ अर्को बन्दोवस्त गर्नुहोला ।"
डेरावालले कुनै कुरामा चुइँक्कमात्र पनि प्रतिवाद गर्नासाथ छोराको बर्तमन, छोरीको बिहे, विदेशमा भएका आफन्तको स्वदेश आगमनजस्ता कुनै न कुनै आकस्मिक घटना हुने गर्छन् र डेरावाल गुँडबाट विस्थापित हुन्छ । महीना मर्न नपाई आफ्नो आम्दानीको मोटो भाग खनखनी बुझाउने डेरावालकै पैसाले कतिपय घरपति त आफ्नो र परिवारको मुखमा माड लगाइरहेका हुन्छन् । तापनि, आफ्नो अन्नदाताहरूलाई आफू बराबर मानिसै सरह व्यवहार गर्न ती परजीवीहरूको किन गानो जान्छ भन्ने कुरा फाफुराले आजसम्म बुझेको छैन । 
अब फाफुराको समस्या त खानेपानीले खनेर छोडेको सडकजस्तै मुख आँ……. गरेर नै बसिरहेको छ । हुनैहुनै लागेकी फाफुरीले उसलाई कडा उर्दी जारी गरेकी छ, यही वैशाखभित्र डेरा खोजेर घरजम गर्न नसक्ने हो भने, उसले केही कुराको ग्यारेन्टी लिन सक्दिन रे ! वैकल्पिक उमेदवारीका लागि तम्तयार भएर बसेका 'चिरकुट'हरूको कमी छैन रे । त्यसैले बरो फाफुराको घर बसेको हेर्न चाहनुहुन्छ भने यो सहरमा घामपानी, बाटोघाटो र यातायात भएको तर किच्चकजस्तो घरपति नभएको दुई कोठासम्मको सस्तोमा एउटा डेरा खोज्न सहयोग गर्नुहोला । अरू केही गर्न नसके पनि, बोल्न सक्ने हुनासाथ फाफुरा र हुनेवाला फाफुरी आफ्नो फुच्चे फाफुरा अथवा फुच्ची फाफुरीलाई लिएर तपैँको घरमै आएर उसको तोते बोलीमा तपैंलाई "थ्याङ्क यू अंकल" भन्न चाहिँ पक्कै लगाउनेछौँ । 

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...