Translate

Thursday, April 26, 2018

आदेश मन्त्रीज्यूको

ढोकाको थाप्लोमा अग्राखको काठमाथि चमचम गर्ने पित्तलको पातोमा टिलिक्क टल्कने अक्षरमा लेखिएको थियो - 'फाइँफुट्टीराज - महाप्रबन्धक, नेपाल जटायु सेवा निगम' 
फाफुरा अचानक कसरी त्यत्रो पदमा पुग्यो भनेर तपैंहरूलाई विश्वास नलागेको भए एकपटक आफ्नो स्मरणशक्तिलाई ओभरटाइम काम गराएर सम्झनुस् त ! पछिल्ला दिनहरूमा यो मुलुकमा कस्ताकस्ता मानिसहरू हेर्दाहेर्दै कहाँकहाँ पुगेका छन् ? ल भैगो, ती त 'लाजनीति-लाजनीति' खेलेका मान्छेहरू थिए, च्याँखे दाउ लाग्यो, वरत्रपरत्र सुधारे, तैंले चाहिँ के ख्याँस्या थिइस् भनेर नसोध्नुस् । तेरो योग्यता के भनेर चोर औंला पनि नठढ्याउनुस् तपैंहरू । यो मुलुकमा आजकल को योग्यताले केही बनेको छ ? नालायकहरूको प्रगतिको गतिमा नेपालले सबै देशहरूलाई पछि पारिसकेको छ । ती सबको तुलनामा फाफुरो एउटा घाटामा चलिरहेको घिटघिट गरिरहेको विमान सेवा कम्पनीको जीएम हुनु कुन चैं ठूलो कुरो भयो र ? अब जीएमको अरू अर्थ के के लगाउन सक्नुहुन्छ भन्ने कुरो चैं यहाँहरूकै कल्पनाशीलताको लागि छोड्छ फाफुरा ।
जे होस्, फाफुरा जीएम बन्यो । फाफुरीले यसको जम्मै जस आफैँ लिई । उसले नाक फुलाउँदै भनी - "यो सब मेरै लच्छिनको कारण भएको हो देख्यौ ? मैले तिम्रो जिन्दगीमा आउनासाथ कीराबाट हीरा बनाइदिएँ तिमीलाई । हो कि येस्?" फाफुराले उसले दिएकी दुई विकल्पमध्ये एक उत्तर दियो । यसै पनि संसारमा कसले आफ्नी जोईको कुरा होइन भनेर ज्यान जोगाएको छ र ? उत्साहित हुँदै फाफुरीले उसलाई भनी - "अब खुरुक्क मलाई सल्लाहकारको पदमा नियुक्त गर ।"
जटायुसेवा निगममा त यस्तो पद नै छैन भन्ने कुरा उसले फाफुरीलाई बतायो । गोलागोला आँखा चम्काउँदै फाफुरीले भनी, "छैन भने सिर्जना गर । आफू ठाम्मा हुनासाथ श्रीमान्, श्रीमती, भाइ, भतिजा, सालो र ज्वाइँजन्य पदार्थहरूलाई भर्ना गर्ने यो देशको गौरवशाली परम्परा तिमीले तोड्न पाउँदैनौ फाफुरा ।" यो कुरामा पनि पर्तिकार गर्ने ठाउँ थिएन, त्यसैले फाफुराले घरै बसीबसी तलब खान पाउने एउटा पदमा फाफुरीको नियुक्ति गर्‌यो । हद से हद भए भोलि अख्तियारसख्तियार लाग्ला । त्यसो भए त झनै समाजमा प्रतिष्ठा बढ्ने न हो ।
फाफुरा जीएम हुनासाथ एउटा घाँडो आइलाग्यो । चीनबाट चीलगाडीहरू आएका रहेछन् । ती सबै थन्किएर बसेका थिए । कहिले चाइनिज पाइलट नभै हुन्न भनेर, कहिले टाढाबाट उडेर आएकोले जेट ल्याग भएर, कहिले काठमाडौंको प्रदूषणले उकुसमुकुस भएर ती राम्ररी सञ्चालनमा आएका रहेनछन् । नयाँ मन्त्रीज्यूले कडा आदेश जारी गरिदिए - "अरू कुरा थाहा छैन, सय दिनभित्र ती सबै सञ्चालनामा आउन् ।" अब परेन आपत ? सय दिनमा नै अनेक चटक गर्ने सुन्दर विद्या उसले कहाँ जानेको छ र ? 
यी मन्त्रीहरूलाई त के छ र मुखले भन्दिए भैहाल्यो । मानिसलाई नयाँ पदमा जानासाथ केही न केही क्रान्तिकारी काम गर्नुपर्छ भन्ने किन लाग्छ होला ? फाफुराका एक परिचित थिए पुलिसमा ठूला हाकिम । बढुवा भएर पोखरा सरूवा भएको बेला उनलाई पनि के गरम्केगरम् भयो । लौ खा त भनेर महेन्द्रपुलबाट पृथ्वीचोक जाने ६ लेनको बाटोलाई एकतर्फी बनाउने आदेश दिएका थिए । उनी हुन्जेल त्यो बाटो त्यस्तै रह्यो । उनी सरूवा भएपछि फेरि दुईतर्फी नै भयो । जति सनकपूर्ण आदेश, दियो त्यति धेरै गरिमा । नबुझ्ने सिनेमा वा जटिल र क्लिष्ट लेखाइलाई आर्ट भन्छन् नि, त्यस्तै हाम्रा हाकिम, नेता र मन्त्रीहरू पनि त्यस्ता आर्ट आदेश दिने गर्छन् । आफूले बुझेको वा नबुझेको कुरा भन्ने केही मतलब हुँदैन । त्यसैले त हरेक पार्टीले गफी उत्पादन गरेजसरी तराईमा गएर कफी उत्पादन गर्ने, नाम्चेमा आँप खेतीदेखि घरघरमा साँप खेती गर्नेसम्मका आर्ट आदेश दिन खप्पिस हुन्छन् । आदेशैले हुने भएदेखि अहिलेसम्म मेलम्चीको पानी आइसक्थ्यो, काठमाडौं धुलोमुक्त भैसक्थ्यो, मुगलिंग नारायणघाट, सीतापाइला-नौबीसे सुरुङमार्ग, बनिसक्थ्यो, भ्रष्टाचारमुक्त भैसक्थ्यो, स्याटेलाइटबाट बत्ती बिकिसक्थ्यो, अनि नेपाल स्विट्जरल्यान्ड सिंगापोर आदि उहिल्यै भैसक्थ्यो । 
तर, दोष उनीहरूको हैन, आफूले जितेमा खोला नभएको ठाउँमा पुल बनाउने, कपाल नभएको मानिसलाई काइँयो दिने, परिवार नियोजन गरिसकेकोलाई ढाल प्रदान गर्नेजस्ता वाचा गर्दा पनि पत्याएर लुतुलुतु भोट दिइरहने हामी नै हौँ क्यारे। के गर्नू ? ऋषिमुनिका सन्तान परेम्, मन सफा छ, जसले जे भने पनि पत्याइहाल्छौँ । मम र चाउमिनले अघायौँ होला भनेर मौका छोपेर बर्गर, सिज्लर र कटलेट बेच्न आउने व्यापारीहरूलाई पनि हामी नै दोकान खोल्न दिँदैनौ । अनि स्वाद फेरिएन भनेर पनि हामी नै कुर्लन्छौँ ।
जे होस् मन्त्रीज्यूको सय दिनभित्र  ६ वटा हवाइजहाज संचालनमा ल्याउने आदेश कसरी पूरा गरेर देखाउने भन्ने फाफुराको लागि गहन चिन्ताको विषय थियो । हुन त आदेश दिने भनेको एक औपचारिकता न हो, त्यो पालना हुन्छ वा गर्नुपर्छ भन्ने जरूरी छैन भन्ने फाफुरालाई थाहा नभएको कहाँ हो र ? तै पनि एकपटकलाई नहुने कुरा गरेर देखाएर सबैलाई जिल्लाराम बनाइदिऊँ न भन्ने उसको सोच थियो । वातानुकूलित कार्यालयको नरम कुर्सीमा उसका सातपुस्ता बसेका थिएनन्, त्यसैले त्यहाँ बसेर त उसको दिमागले काम गर्ने कुरै भएन । त्यसैले लखरलखर हिंड्दै फाफुरा रत्नपार्कतिर लाग्यो । 
एक माना बदाम र चारवटा सुन्तला खाएर ऊ टोपीले मुख छोपेर चौरमा लमतन्न परेर सुत्यो । जनप्रतिनिधिज्यूहरूलाई सदनको बैठकमा जस्तै उसलाई त्यहाँ पुग्नासाथ मस्त निन्द्रा लाग्यो । अरू बेला दुई घन्टाजति घ्वारघ्वार घुरेपछि अचानक मेलम्चीको पानी धारामा आएजसरी उसको दिमागमा आइडियाहरू ओभरफ्लो हुन थाल्थे । तर, यसपटक उसलाई केही फाइँफुट्टी फुरेन । साँझ डेरा पुग्दा उसको अनुहार चुनाव हारेको कांग्रेसीको जस्तो भएको थियो । त्यो देखेर फाफुरीले त्यसको कारण सोधी । फाफुराले आफ्नो समस्या बतायो । फाफुरीले नाक फुलाउँदै भनी - "मजस्ती सल्लाहकार हुँदाहुँदै यति नाथे कुरामा तिमी किन पीर गर्छौ फाफु ? भोलि बिहानसम्ममा म तिम्रो समस्या सुल्झाइदिन्छु । मन्त्रीज्यूले तिम्रो ढाड फुस्कने गरी धाप मारेर स्याब्बासी दिएनन् भने मलाई भन्नु ।" 
मन्त्रीज्यूले भन्दा पहिले आफैले झन्डै ढाड फुस्काइदिएर फाफुरीले नभन्दै भोलिपल्ट उसलाई गज्जबका आइडियाहरू सुझाइदिई । जुरुक्क उठेर फाफुरा जटायुसेवा निगमको कार्यालय तिर लम्क्यो । गर्नुपर्ने कुरा धेरै थिए । तर, फाफुरालाई विश्वास थियो, फाफुरीको सल्लाह अनुसार काम गर्ने हो भने चीनबाट आएका आधा दर्जन चीलगाडी सञ्चालन गर्न सय दिन हैन, एक महीना काफी हुन्छ । कार्यालय पुग्नासाथ उसले पनि सीतापाइला नौबिसे द्रूतमार्गमा यात्रा गरेजसरी द्रूत आदेशका झटारोहरू हिर्कायो । ६ वटा चिलगाडीलाई संचालनमा ल्याउने फाफुराको विलक्षण योजना सुनेर मातहतका कर्मचारीहरू नयाँ प्रधानमन्त्रीका योजना सुनेर उनका पार्टीका कार्यकर्ताहरू जसरी ट्वाँ परे ।  
१.
एयरपोर्टकै छेउमा खुलेको संग्रहालयको विस्तारमा टेवा पुग्ने गरी एउटा चीलगाडी लगेर राखिदिने । त्यसो भएपछि पाइलटको सिटमा बसेर सेल्फी खिच्नेहरूको अपार भीडलाई थाम्न अलिकति भए पनि सुबिस्ता हुने भयो । 
२.
यो सहरमा प्रेम गर्ने त वातावरणै छैन । प्रेमी प्रेमिकाहरूका लागि प्रेमक्रीडास्थल बनाइदिन्छु भन्ने एकजना मनकारी सन्त नेपाली 'भाले नताइन' थिए । तिनलाई समेत सतीले सरापेको देशमा कसैले देखिसहेनन् र डाँडा कटाइदिए । बिचरा अहिले कतै दूरदराजमा लोखर्के गनेर बसिरहेका छन् । त्यसैले उनको सपनालाई अलिअलि भए पनि साकार बनाउने क्रममा नजीकै अर्को जग्गा खोजेर दुईटा चीलगाडीलाई क्याबिन रेष्टूराँ बनाइदिने जहाँ ढोकैमा लेखिनेछ, 'यहाँ प्रहरीलाई छापा मार्न निषेध गरिएको छ ।' युगल जोडीहरूका लागि त्यो अनौठो र सुरक्षित स्थान हुनेछ ।  
३.
हामी आजकल संस्कृति मास्न पल्केका छौं । त्यसैले हाम्रा मौलिक र गौरवशाली परम्पराहरु क्रमश: लोप हुँदै गएका छन् । त्यस्तै एक लोप भैसकेको परम्परालाई पुनर्जीवित गर्न चौथो चीलगाडी प्रयोग हुनेछ । सुकुल तथा गुन्द्रीजस्ता मौलिक आसनहरू ओच्छ्याएर त्यो चीलगाडीलाई भिडियो हल बनाइनेछ जहाँ नयाँ सिनेमाहरूका गैरकानूनी प्रदर्शन गरिनेछ । 
४.
विमानस्थल बाहिर सार्वजनिक शौचालयको सुविधा नभएकोमा पनि व्यापक जन गुनासो छ । त्यसलाई सम्बोधन गर्दै पाँचौं विमानलाई घुम्ती शौचालयमा परिणत गरिनेछ । यो भन्दा महँगो र राम्रो शौचालय सम्भवत: संसारमा अन्त कतै नहोला । अनि विश्वले चिन्नेछ नेपाल । 
५.
अहिले ताछ्ने क्रिया राष्ट्रिय गौरव र प्राथमिकताको विषय बनेको छ । तसर्थ यो क्रमलाई निरन्तरता दिँदै छैटौं चीलगाडीको दुवैतिरका पखेटा ताछेर एरपोर्टदेखि रत्नपार्कसम्म त्यसलाई 'सटल सर्विस'को रूपमा चलाइनेछ । त्यहाँ ट्याक्सी भाडामा लुट भयो र सार्वजनिक यातायात सहज भएन भन्नेहरूलाई पनि यसले राम्रो जवाफ दिनेछ । 
यसरी मन्त्रीज्यूको चीलगाडी अविलम्ब संचालनमा ल्याउने भन्ने आदेशको अक्षरश: पालना हुनेछ । उडाउने आदेश थिएन क्यारे त !

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment