Monday, May 7, 2018

हनिमून इन सिक्किम

अब भनौं भने फूईँ लडा'जस्तो होला तर अघिल्लो साता यो फाइँफुट्टीराजले विदेश भ्रमण गर्‍यो । त्यो पनि एक्लै हो र ?  फाफुरीको साथमा । तपाईँहरू सोच्दै हुनुहोला, जटायु सेवा निगमको महाप्रबन्धक बनेको बेला यो बज्या फाफुराले पनि देशको गौरवशाली परम्परामा इँटा थप्दै सरकारी पैसामा सपरिवार विदेश घुम्ने रहर पुर्‍यायो होला । त्यसो सोच्नु स्वाभाविक हो तर………
****

अघिल्लो साता चाइनीज चीलगाडी सञ्चालनमा ल्याउने आदेशमा फाफुराले सुझाएका उपाय सुनेपछि मन्त्रीज्यूले फाफुरालाई तुरुन्तै मन्त्रालयमा झिकाए । अनि गम्भीर भएर एउटा खाम हस्तान्तरण गरे । आफ्ना आइडियाहरूबाट खुसी भएर नगद पुरस्कारले सम्मान गरियो भन्ने सोच्दै फाफुराले नाक फुलायो र भन्यो -
“यसको के आवश्यकता थियो र मन्त्रीज्यू ?  आफ्नो कामै गरेको त हूँ नि ।”
मन्त्रीज्यूले गम्भीर भएर भने -
“तिमीलाई मैले त्यति नै दिएको छु, जति तिमी डिजर्भ गर्छौ । खोलेर त हेर ।” 
मन्त्रीजस्तो मानिसले दिइसकेपछि छ अंकभन्दा कमको चेक त पक्कै होइन होला भन्दै फाफुराले कानदेखि कानसम्मका मांसपेसी तन्क्याएर बत्तीसैवटा दाँत देखाउँदै खाम च्यात्यो । तर, त्यसभित्र भएको कुरा देखेर उसको च्यातिएको मांसपेसी अचानक मट्याङ्ग्रा फुस्केपछि ठाउँमा आएको गुलेलीको रबर जस्तै चाउरियो । त्यो हेर्दै उसले रुन्चे स्वरमा सोध्यो -
“खोसुवा पूर्जी ?”
“अनि के त ? यस्तै आइडिया दिनलाई हो मैले तिमीलाई जी एम बनाएको हो फाइँफुट्टीराज ?  त्यसका लागि हाम्रा पार्टीका अध्यक्ष छैनन् र ?”
यसरी फाफुराको नियुक्ति अचेलका प्रधानमन्त्रीहरुको भन्दा पनि छोटो हुन पुग्यो । जागीरमात्र खोसेका भए पनि लौ ठीकै छ भन्नु तर मन्त्रीज्यूले फाफुरालाई एक घनटा कुखुरा बनाए, अर्को एक घन्टा सुगन्धित शौचालयमा थुने र जाने बेला कान समातेर बीसपटक उठबस पनि गर्न लगाए । त्यही तोडमा फाफुरा रत्नपार्क गयो र दिनभर टोपीले मुख छोपेर सुत्यो । साँझपख लोप्रे कान लगाएर डेराको कोठामा फर्किएर उसले फाफुरीलाई ऊ जीएम्नी साप्नी रहिन भन्ने हृदयविदारक समाचार भाँच्यो । धन्न ! फाफुरीकै सल्लाह मानेर जागीर फुस्केको हुनाले फाफुराको ज्यानसम्म चाहिँ बच्यो । फाफुरीले मायालु पाराले उसको कपाल मुसार्दै भनी -
“छाडिदेऊ फाफु, यो सतीले सराप्या देश हो । यहाँ तिमीहामीजस्ता गतिला मानिसलाई माथि जाला भनेर केही गर्ने अवसर नै दिँदैनन् ।” 
जागीर खुस्केको तोडमा परेको शोकलाई शक्तिमा बदल्नुपर्छ भन्दै मसक्क मस्किँदै फाफुरीले भनी - 
“हामी यसै पनि त हनीमुनमा जानु नै थियो नि हैन र फाफु ?” 
उसले थपी-
“के गर्नु, तिमी अर्को एक महीना जीएममा टिकेको भए म हनीमुनको लागि स्विट्जरल्यान्डै जाने जोहो गरिसक्थेँ तर ठीकै छ सिक्किमसम्म जान सकिन्छ । त्यो पनि स्विट्जरल्यान्डजस्तै छ रे ।” 
यसरी फाफुरीकै अर्को महान् सल्लाहलाई शिरोपर गर्दै उनीहरू विदेश भ्रमणमा जाने योजना बनेको थियो ।
***
विमानघाट जाने भन्नासाथ मानौ त्यहाँ सुनै टिप्न जाने भन्ने सोचेर होला काठमाडौंका सबै ट्याक्सीवालाको मिटर स्वयं बिग्रने गर्छ र उनीहरुले मिर्गौले दर लगाइहाल्छन् । छातीमा मुड्कीले हानेर ट्याक्सी भाडा तिरेर झोलीतुम्बा बोकेर उत्रनासाथ फाफुरी आफ्नो चाइनिज मोबाइलमा केही गर्न थाली । 
“आफ्नो परम्परा र संस्कृति कहिले पनि बिर्सनुहुन्न । एयरलाइन्सको काउन्टरमा भन्दा पहिले फेसबुकमा चेक इन गर्ने नेपालीहरुको मौलिक र महान् परम्परा हो । यसलाई मैले पनि निर्वाह गरेँ ।”
उसले फोन फाफुरालाई देखाउँदै भनी । नभन्दै त्यहाँ देखियो - “फाफुरी इज ट्राभेलिंग टु भद्रपुर फ्रम काठमाण्डु ।”
अहिलेसम्म पनि लेख्न बस्दा फुलस्केप कागज र पेन प्रयोग गर्ने पुरातनपन्थी फाफुरा यस्ती प्रविधिमैत्री श्रीमती पाएकोमा दंग पर्‍यो । हवाइजहाजको भनेको र उड्ने समयबीचको अन्तरालमा फाफुरीले फोनमै एकता कपुरको कुनै सिरियलका भए जति पूरै भाग हेरेर सकाउन भ्याई । त्यो क्रममा त्यहाँको चिया पसलमा उनीहरूले खाएको छ–आठ कप चियाको पैसाले लौ त भनौं भने झापातिर एक धुरसम्मको सानोतिनो चिया बगान नै किन्न पुग्थ्यो होला । तर, सिक्किमको चीसो पहाडमा बिताउने न्याना दिनहरूको कल्पनामा मग्न फाफुरा दम्पतीलाई त्यसको कुनै वास्ता नहुनु स्वाभाविकै थियो । प्लेन चढ्नुअघि अर्को परम्परा नबिर्सी फाफुरीले सेल्फी खिच्न पनि भ्याई । उसले फाफुरालाई पनि सँगै उभिएर थुतुनो चुच्चो बनाउन लगाई । दुवै जर्ज अरवेलको एनिमल फार्मका नायकनायिकाजस्ता देखिए । फाफुरीले त्यसलाई पनि फेसबुकमा हाल्न भ्याइहाली । 
***
चन्द्रगढी विमानस्थलबाट करिब पैंतीस किलोमिटर कारकभित्ताको दूरी पनि हजार बाह्र धुर्बे नचिलाई कुनै सवारीले नलैजाने रहेछन् । चीलगाडी चढ्ने हरेक मानिस सामन्ती हुन्छ वा उसले गाडधन भेट्टाएको हुनुपर्छ भन्ने मानसिकताबाट हाम्रा यातायात व्यवसायीले कहिले मुक्ति पाउने हुन् कुन्नि ? अझै त्यहाँबाट गान्तोक जाने गाडीको भाडाले गानो नै जालाजस्तो हुनेरहेछ । जे होस्, हनीमुनमा आएको बेला के दुईचार हजारमा किरन्टोकी हुनु भनेर फाफुराले आफ्नो अन्तरमनको पीडालाई जगदीश घिमिरेले जसरी नै पचायो । 
सिलगिुडीमा उनीहरूबाट एउटा जघन्य अपराध हुन गयो । भोकको सुरमा एउटा कुनै रेस्टुराँमा उनीहरूले चाइनिज खाना मगाए । गरम मसलाहरूको अत्याधिक प्रयोग भएको त्यो खानामा चाइनिजको चबाहेक अरू सबै कुरा थियो । लौका हालेको साम्बरको झोलजस्तो चिकेन मन्चुरियन र आलुपराठाजस्तो मटन स्प्रिंगरोल चपाउँदा फाफुरा सोच्दै थियो - “सन् १९६२मा भारत र चीनको लडाईँ भएको बेला चीनीहरूले जे गरे, त्यसको बदला अहिलेसम्म पनि किन बिचरो चाइनिज खानासँग लिइरहेका होलान् ।”
बाटोमा फाफुरीको फोटो सेसनका लागि रोक्दै जाँदा फाफुरा दम्पती रातको नौ बजेमात्र गान्तोकको होटलमा बास बस्न पुग्यो । उनीहरू थकानको कारण हनी एकातिर र मुन अर्कोतिर फर्केर फ्वाँफ्वाँ निदाए । रातभर प्रेसर कूकरको सिठ्ठी लागेजसरी फाफुरी सुरिलो आवाजमा घुरिरही । फाफुरा त्यसैलाई लोरी मानेर निदायो । 
***
भोलिपल्ट बिहान फेसबुक चलाउन नपाएर फाफुरी उसैको भाषामा भन्दा 'सिक' भई । किनभने होटलको वाइफाई देखाउँथ्यो तर केही पनि चल्दैनथ्यो । चिया मगाउनुअघि रिसेप्सनमा फोन गरेर वाइफाईको माग गर्न फाफुरी बाध्य भई । फेसबुक, ट्विटर, इन्स्टाग्राम वा स्न्यापच्याटको तलतल लागेको अम्मलीले आफ्नो महत्त्व देखाउन यस्तो बेला बनाउने अन्तर्राष्ट्रिय बहाना नै फाफुरीले पनि बनाई - “मेरो एउटा जरुरी इमेल आउनेवाला छ । लौन भाइ, केही गरौँ ।” 
उसको स्वरको गम्भीरता सुन्दा यस्तो लाग्थ्यो मानौ कुनै करोडौं डलरको व्यापार उसको हातबाट फुस्किन लागेको छ र त्यसको क्षतिपूर्ति कतै वाइफाई नचल्ने होटलले तिर्न नपरोस् । त्यही डरले छुलछुल हुँदै रिसेप्सनिस्टले भन्यो -“म पाँच मिनेटभित्रै हाम्रो आईटीको मान्छेलाई पठाइदिन्छु म्या'म ।”
नभन्दै चार मिनेट एकचालीस सेकेन्डमा नै आईटीवाला आइपुग्यो । निकै बेर यता र उति चलेपछि उसले भन्यो, -“तपैंहरू राति ढोका लगाएर सुत्नुभाथ्यो ?”
लडाइँ खेल्न गएको सिपाहीलाई ढाल लैजानुभाथ्यो भनेर सोधेजस्तै हनीमुन मनाउन आएकाहरूलाई सोध्ने त्यो सबैभन्दा वाहियात प्रश्न थियो । तै पनि फाफुराले हो भन्यो ।
“चुकुल पनि लगाउनुभाथ्यो ?”
फाफुराले फेरि पनि सहमति जनायो । आईटी वालाले पानपराग खाएर बिग्रेको 'मिलेका ती दाँतका पंक्ति’को दर्शन गराउँदै गुलाम अलीको जस्तो स्वरमा भन्यो - “त्यही भएर सिग्नलभित्र छिर्न पाएन । ढोका खोलै राख्नुभयो भने समस्या हुँदैन । अहिले त यी चलिराछ ।”
गान्तोकको वाइफाई भन्या चोरजस्तो हुँदोरहेछ । ढोका र चुकुल लगायो भने पस्नै नसक्ने । फाफुरालाई पीर पर्‍यो । अब कि त उसले हनीमुन मनाउन पाउने भो कि फाफुरीले फेसबुक चलाउन । अघिल्लो दिन फाफुरीले विमानको अघि खिचेर हालेकी उनीहरूको युगल चुच्चेथुतुने फोटामा सयजना जतिले कमेन्ट ठोक्न भ्याइसकेका रहेछन् । महादेव र पार्वतीको जोडी भन्नेसम्मका झुटहरू कसैले लेखेका थिए । गान्तोक बसुन्जेल होटलमा फाफुरीले ढोका वा चुकुल लगाउन दिइन । 
तीन दिन सिक्किममा 'हनीमुन' मनाएर बैरंग फर्किने बेला फाफुरी एमजी रोड, छंगु लेक, रुम्तेक गुम्बा, टिस्टा र रंगिट किनाराका फोटाहरुले आफ्नो फेसबुकलाई धनी बनाएकोमा दंग थिई भने फाफुरो चाहिँ मनमनै मुरलीधरको गीत गाइरहेको थियो -
“उडायो.......सपना सबै हुरीले ।”

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...