Tuesday, May 8, 2018

कठै यातनायात व्यवसायी

हाम्रो सरकारलाई पनि बेलाबेला खसखस लागिरहन्छ । त्यस्तो बेला उसलाई के गरौँ के गरौँ हुन्छ र त्यो चिलाइ मार्न उसले कहिले कता कहिले कता क्वारक्वार कन्याउन थाल्छ । अघिल्लो साता त्यस्तै कन्याउने क्रममा यो सरकारले फाफुराको बल्लबल्ल बसेको घर झन्डै उजाडिदिएको थियो । त्यो पनि हुँदो न खाँदोसँग 'बिचरा' यातनायात व्यवसायीहरूमाथि खनिएर । फाफुराको कुरा सुनेर तपैँहरूलाई अचम्म लाग्यो होला । यातनायात व्यवसायीको ठगीसँग फाफुराको दाम्पत्य जीवनको के मेल भनेर । तर मान्यवर, के पिलिओ र मष्क पुकलको बीचमा सम्बन्ध हुनसक्ने देशमा जेको जेसँग पनि सम्बन्ध हुनसक्छ । हुन त, यस्तो बगम्फुसे कुरा गर्दा यो देशमा बचेखुचेका औँलामा गन्न सकिने बुद्धिजीवीमध्ये एक फाफुरा पनि झापाको बंगाली बाघजस्तै लोपोन्मुख हुन थाल्यो कि भनेर तपाईँहरू चिन्तित हुनु स्वाभाविकै हो । तर सुर्ता नगर्नुस्, फाफुरा झापाली नभए पनि उसको सुपर मगज अझै पनि देशको ढुकुटीजस्तै भरिभराउ नै छ । तर्क वाचस्पतिको पनाति हो फाफुरा । भनिन्छ, बोलेका हरेक वाक्यको तीनवटा अर्थ लाग्ने गरी बोल्नसक्न्ने भएकाले उनको त्यो नाम रहन गएको थियो रे । त्यसैले फाफुराको कुराको पनि कमसेकम डेढ ओटा अर्थ त अवश्यै लाग्नुपर्छ भन्ने हामीलाई लाइराख' ।
सरकार र यातनायात व्यवसायीको तानातानको घानमा फाफुराको दाम्पत्य जीवन कसरी झन्डै पिस्सिएको भन्ने कुरा सुनाउँछु है त ? त्यसदिन बिचराहरूले ठगेर खाइरहन नदिए सार्वजनिक यातायात ठप्प पार्ने आफ्नो बोलीमा खरो भएर देखाए । नभन्दै सार्वजनिक सवारी साधन चलेन । यसको सबैभन्दा ठूलो मार चाहिँ बिचरी फाफुरीलाई पर्‍यो । किनभने उसले बल्लबल्ल एउटा आईएनजीओमा जागिर पाएकी थिई । आईएनजीओको नाममा यहाँ आउने कुइरेहरू अरू केही नगरे पनि समयको कुरामा चाहिँ कट्टर हुन्छन् । फाफुरीलाई नौ बजे अफिस नपुगी नहुने थियो । त्यसैले बिहान साढे सातै बजे ऊ घरबाट निस्की । फाफुरा चाहिँ टोलको चिया पसलतिर लाग्यो । देश विदेशका गम्भीर प्रवृत्तिका र अरू कसैले सुल्झाउन नसक्ने समस्याको समाधान निकालिने गर्छ त्यहाँ । हरेक समस्याको रामवाण ओखती पाइने ठाउँ हो टोलको चिया पसल । यहाँ हरेक विषयका एकसे एक विशेषज्ञ भेटिन्छन् ।
तपाईँहरूलाई थाहा छैन होला, हालसालै कोरियातिरका 'मोटु–पतलु' को पानी बाराबार भंग हुनुमा पनि सबैभन्दा ठूलो योगदान फाफुरा र उसकै टोलको चिया पसलको हो । भलै त्यसको जस माधप् काउँरेट्ले लैजानु भयो । त्योभन्दा अलि अघि हिलारीको हार र टडम माड्सापको जितको खाका पनि फाफुराकै टोलको चिया पसलमा कोरिएको थियो । भलै त्यसको जस पनि रुसीहरुले लगे । फेसबुकको डेटा चुहिनेदेखि वाम ए-कताको फेटा तुहिनेसम्मका खतराहरूको निराकरण यस्तै चियासलका बुद्धिजीवीले खोज्छन् । सरकारले त्यो बुद्धिको खानी चिनेर, त्यहीँबाट ट्यालेन्ट सर्च गरेर योजना आयोग, मन्त्रालय वा अरु महत्त्वपूर्ण स्थानमा नियुक्ति गर्ने हो भने यो देश एक महीनामै सिंगापोर बन्छ  । त्यस दिन पनि त्यहाँ सिरियाको समस्या समाधान कसरी गर्ने भन्ने गम्भीर छलफल गरेर हल निकाल्ने योजना थियो । भनिरहनु त के पर्ला र, त्यो फाफुराकै अध्यक्षतामा हुने थियो । फलतः फाफुराले दर्जनौ कप चियाका साथ मध्यदिनसम्म माथापच्ची र गहन छलफल पश्चात् संसारकै दुखाइ बनिरहेको त्यो पिलो फोरिदियो । हाम्रा राजनीतिक पार्टीहरूको कार्यालय र सदनजस्तो महीनौ छलफल गर्दा पनि हल ननिस्कने ठाउँ हैन नि टोलको चिया पसल । फाफुराले पुटिन, टडम र टेरिसा मेलगायतका सरोकारवाला नेतालाई पठाउने सुझावको मस्यौदा तयार पारेर, सहमति जुटाएर, छेउको साइवरमा गएर ईमेल पठायो । यो गहन जिम्मेवारी पूरा गरेर डेरा फर्कँदा चार बज्न लागिसकेको थियो ।

उसले फाफुरीको प्रतीक्षामा साँझ पर्‍यो । हिँडेरै आए पनि छ बजेसम्म त ऊ आइपुग्नु पर्थ्यो । तर साँढे छ बजुन्जेल उसको केही अत्तोपत्तो थिएन । उसको मोबाइलमा फोन गर्दा हरेकपटक दूरसञ्चारकी कोकिलकण्ठी युवतीले माफीमात्र मागीरही । फाफुरा सारसले जसरी घिच्रो तानीतानी बाटोमा परसम्म हेर्न थाल्यो । आफ्नी 'ब्रान्ड न्यू' श्रीमतीको पीरले ऊ आधा मासु भयो । अँध्यारो हुनेहुने बेला फाफुरी कुनै मानिसको भटभटेमा लिफ्ट लिएर बल्लबल्ल आइपुगी । डेराको झ्यालको चिराबाट फाफुरा उसलाई हेर्दै थियो । बुलेट मोटरसाइकलमा सवार, छालाको ज्याकेट लगाएको, कानमा कुण्डल झुण्ड्याएको, कन्चटतिरको रौँ खुर्केको त्यो ठिटो फाफुराभन्दा लमाइ चौडाइमा डेढ गुणा विशाल थियो । फाफुरीले मुसुक्क हाँसेर उसलाई केही भनी । धन्यवाद दिएकी हुनुपर्छ । त्यसले पनि आफ्ना बयालीसवटै दाँत देखाएर हाँस्दै फाफुरीसँग हात मिलायो । फाफुरालाई कलेजोमा भुत्ते छुरी रोपेजस्तो भयो । उनीहरुले दुई वाक्य जति फेरि कुरा गरे । फाफुरा भुक्लुक् भुक्लुक् उम्लिनमात्र बाँकी थियो । फाफुरी कोठाभित्र आई । फाफुराले थुतुनो फुलाउँदै सोध्यो -
"कुन चाहिँ सुकुलगुण्डोको भटभटेमा बसेर आयौ फाफुरी ?"
फाफुरीले लामो सुस्केरा फ्याल्दै भनी -
"उफ्…….फाफु, तिमी पनि । त्यसै सुकुलगुण्डो नभन त बिचरालाई । गाडी नचलेर कस्तो हैरान मान्छेलाई । कसो मैले भलादमी मानिस फेला पारेँ लिफ्ट लिनलाई भन न । बाटोमा उसले जम्मा तीन पटकमात्र घ्याच्चघ्याच् ब्रेक लगायो । सिटमा वाक्स पनि धेरै दलेको थिएन उसले । आजकल त्यस्ता सोझा मानिस कहाँ पाइनु भन त ?"
फाफुरा घोक्रो फुलाएर बसिरह्यो । त्यसबाट अनभिज्ञ फाफुरी बोलीरही -
"मोन्टी इज सो क्युट । उसले मलाई फेसबुकमा पनि एड् गर्नुस् न भनेर गएको छ । हाम्रो बाटो पनि एउटै पर्ने रहेछ । यो हडताल चलुन्जेल मानिसहरूले आआफ्ना साधनमा अरूलाई लिफ्ट दिने योजना चलाएका छन् ।"
फाफुराको सातोपुत्लो उड्यो । ओहो, के यो हडताल चलुन्जेल फाफुरी हरेक दिन त्यो मोन्टी नामक हरामखोरसँग जानेआउने भई त ? उसको पिरलोबाट अनभिज्ञ फाफुरी चवालीस दन्ते मोन्टी भन्ने सुकुलगुण्डोलाई एड् गर्न फेसबुकमा खोज्न थाली । फाफुरा मनमनै सरकारलाई बेस्मारी सराप्न थाल्यो । 
यिनले कडिकडाउ नगरेको भए बिचरा खुरुखुरु ठगेर खान पाइरहेकाहरूले किन गाडी थन्काउँथे होलान् र ? यी नेताहरूको कुरो पनि बुझेर साध्यै छैन । आफूहरू चाहिँ जघन्य र फौजदारी अपराधमा मुद्दा परे पनि पदमुक्त नहुने नियम बनाएर पास गर्न खोज्छन् । अरूलाई चाहिँ अलिअलि ठगेर खान पनि दिँदैनन् । यिनका कारणले लिफ्ट र सिफ्ट भन्ने कुसंस्कार पलाउन थाल्यो र त्यही निहुँमा फाफुरीलाई कसैले दौडायो भने ? यातनायातका सिन्डिकेटलाई जिस्काउँदा फाफुराजस्ता कति मानिसको दाम्पत्य जीवन दाउमा लाग्छ भन्ने यो सरकारलाई के थाहा छैन ? 
तै पनि मानिसहरू कुरै नबुझी ठिक्क पर्‍यो भनेर उफ्रिएको देख्दा फाफुरा जिल्ल परेको छ । ए बाबा, यातनायात व्यवसायीले दिएको सुविधा पनि हेर्नु नि । जहाँ मन लाग्यो त्यहीं हात उठाएको भरमा गाडी रोकिन्छ । घरको ढोका नेरै ढ्वाङ्ग टिन ठटायो भने रोकिदिन्छ । सबैभन्दा ठूलो कुरो त आजकल अनेकौं बहानामा ध्रुवीकरण भएर नेपाली दाजुभाइ एकर्काबाट टाढा भइरहेका छन् । तर, त्यही यातनायात चढुन्जेलमात्र उनीहरू एकआर्काको मुटुको स्पन्दनसमेत सुन्न सकिने गरी अत्यन्तै निकट आउन पाउँछन् । सम्पूर्ण नेपालीलाई एकताको डोरीमा यसरी कस्ने यो महान् योगदानलाई नबुझेर त्यसै खाँद्यो भन्छन् । खाँद्ने र बाँध्ने भनेको त तराईबाट राँगाभैंसी ल्याउँदा पो हो त । उनीहरूले यात्रुलाई जबर्जस्ती सडकको छेउबाट टिपेर खाँदेको हो र ? यात्रु आफैँ  खाँदिन गएको हैन र ? अनि आफ्नो कर्मको लागि बिचरालाई दोष दिने यो कहाँको न्याय हो ?
विचरालाई लखेट्ने बहाना पनि कस्ताकस्ता हेर्नुस् त ? पुरानो गाडी चलायो रे ! विदेशतिर पुरानो गाडीको कत्रो महत्त्व हुन्छ । 'भिन्टेज' गाडी भनेर त्यसको मोल नै करोडौं डलर हुन्छ । ठूलाठूला खर्बपति धनीहरूले मात्र त्यो किन्न वा चढ्न सक्छन् । हामीलाई त यातनायात व्यवसायीले जाबो पन्ध्रबीस रुपैयाँमै त्यस्ता भिन्टेज गाडीहरू चढ्ने सुअवसर दिइरहेका छन् । त्यत्रो ठूलो गुनको लागि खासमा त उनीहरूलाई जस दिएर जयजयकार गर्नुपर्छ । तर, नाकाबन्दी गर्नेलाई नागरिक अभिनन्दन अनि चाकाबन्दी गर्नेलाई लखेट्ने कस्तो चाला हो यो सरकारको ?  (सार्वजनिक यातायातमा यात्रा गर्दा यसरी खाँदिएका हुन्छन् यात्रु, चाहेर पनि आफ्नो पुठ्ठो हल्लाउन नसक्ने हुनाले चाकाबन्दी भनिएको हो है ?) नागरिक अभिवादन त यातनायात व्यवसायीहरूको पो गर्नुपर्छ । बालुवा बोक्ने ट्रकमा हालेर नगर परिक्रमा त ती महान् यातनायात व्यवसायीलाई पो गराइनु पर्छ ।  त्यसको उल्टो सतीले सरापेको देशमा बिचरा समाजसेवीलाई कारबाही गर्ने र उनीहरूकै रुट अनुमति खारेज गर्ने भनेर थर्काउने ? त्यस्ता ज्ञानीगुणीहरूलाई नचिनेर उल्टै पक्रीपक्री थुन्ने ? यो त साह्रै ठूलो अत्याचार भयो । यातनायात व्यवसायीको बसहरूमा हुने त्यो भिडका कारण पालिएका पाकेटमारको परिवारलाई के भोकभोकै पार्ने ? उनीहरूको कदर नभएको देख्दा फाफुराको घुँडाबाट तप्तप् आँसु बग्यो ।
तर सबै त्यस्ता पेटमा हरि नभएका पनि हुँदैन रहेछन् । नाम अरूकै विवेकशील भए पनि खासमा विवेक भएको चाहिँ एउटा काउँरेस पार्टीमात्र रहेछ । उसले मात्र यातनायात व्यवसायीले हामीमाथि लगाइदिएका गुन बुझेको रहेछ । त्यसैले उसले मात्र यो सिन्डिकेट विरोधी गरिबमारा सरकारको विरोध गर्ने ह्याउ देखायो । काउँरेसलाई त्यसै काउँरेस भनेको हैन रहेछ भनेर फाफुराले यसपटक राम्ररी बुझ्यो । स्याब्बास्, यस्तै अडान लिइरहनुपर्छ महोदयहरू । न्यायको पक्षमा उभिँदा जसले जे भने पनि गोडा नकमाउनुस् । त्यसो गर्दा हदसे हद भए के होला र ? यो चुनाव हारिएको मात्र थियो, अर्को चुनावमा अबुझहरूले तपाईहरूको जमानतै जफत गराउलान् । तर, कालान्तरमा तपाईँहरूको मूल्याङ्कन यो देशको इतिहासले गर्नेछ । फाफुराजस्ता बुद्धिजीवीहरूको समर्थन सदैव रहनेछ यहाँहरुलाई । जय नेपाल ।
तर, यो देशमा न्यायको पक्षमा लड्ने र अड्ने त वातावरण नै छैन । बिचरा यातनायात व्यवसायीहरूले यस कलियुगको महाभारतको दोस्रो दिनै हार स्वीकार गरे । सार्वजनिक यातायात भोलिपल्टैदेखि चल्ने भयो । नेपाली एकता कमजोर हुन पाएन । फाफुरालाई पनि हाइसञ्चो भयो । कुनै सुकुलगुण्डोसँग फाफुरीले लिफ्ट माग्नु नपर्ने भयो । यही खुसीमा अर्को दिन फाफुरी अफिस जाने बेला फाफुरा पनि उससँगै रत्नपार्कसम्म यातनायात व्यवसायीको सवारीमा गयो । फाफुरी त्यहाँबाट आफ्नो अफिसतिर लागी, फाफुरा रत्नपार्कतिर लम्क्यो। त्यहाँ चौरमा टोपीले मुख छोपेर सुतेपछि अरूबेला भन्दा आज मस्तसँग निन्द्रा लाग्छ भन्ने कुरा फाफुरालाई थाहा थियो ।

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...