Saturday, May 26, 2018

फाफुरा र सूट

यो बिचरो फाइँफुट्टीराजलाई पनि के के भाउँतो आइलाग्छ के के । हुन न फाफुरा एउटा यस्तो दुर्लभ प्रजाति हो, जसलाई कुनै पनि प्रकारका भिडभाड, समारोह र पार्टीहरुमा जाने भनेपछि पहिले नै ज्वरो आउँछ । सम्झेर नै गन्ने हो भने ऊ त्यस्तो समारोहमा त्यति पटक पनि पुगेको छैन जतिपटक कामीरिता शेर्पा सगरमाथाको टुप्पोमा पुगिसके । पख्नुस्–पख्नुस्, झरीको लिँड जसरी फुलेको रहेछ यो फाफुरो भन्ने चाहिँ नसोच्नुहोला । त्यसको मूल कारण अर्कै छ ।  त्यो सुन्नुभयो भने आयल निगमको ट्याँकरबाट बीचबाटैमा पेट्रोल चुहिएजसरी तपार्इँहरुको घुँडाबाट पनि आँसु चुहिन्छ । तर, सँधै आफूले चाहे अनुसार कहाँ हुन्छ र जीवनमा ? त्यसैले कहिलेकहीँ प्रचण्डलाई एमालेमा नगई नहुने बाध्यात्मक अवस्था आइपरे जसरी फाफुरालाई पनि कुनै समारोहमा नगई नहुने हुन्छ । त्यस्तो बेलामा हाम्रा नेताज्यूहरु मनले नमानी नमानी भए पनि विदेश भ्रमणमा ‘गइदिएको’ जसरी फाफुरा पनि त्यस्तो समारोहको शोभा बढाउन वाध्य हुन्छ । देश र जनताको बृहत् हितका लागि आफ्नो अडानबाट पछि पनि हट्नुपर्छ भन्ने कुरा नेताज्यूहरुले नै सिकाउनुभएको हो । अघिल्लो साता उसलाई एउटा औपचारिक कार्यक्रमको शोभामात्र नभई शान्ति र सरस्वती समेत बढाउन जानुपर्ने भयो ।
कार्यक्रम आयोजकलाई भने एउटा समस्या परेछ । फाफुरालाई फोनमा उताबाट एउटी कोकलेकण्ठीले सोधिन्, “हजुरको कार्ड कहाँ पठाउने होला ?” मोदी भ्रमणको बेला सुरक्षाको नाममा नेपाली भूमिमा भारतीय सेना किन आउनु पर्ने भन्ने प्रश्नको उत्तर दिन वाम सरकारलाई जति गाह्रो भएको थियो पाफुरालाई पनि उसको निम्तो कार्ड कहाँ पठाउने भन्ने प्रश्नको उत्तर दिन त्यति नै कठिन थियो ।  
फाफुराजस्ता सुकुम्वासी डेरावालको वासको त ठेगान हुने भएन । कहिले कहाँ कुन गल्लीको कस्तो कुनामा गुँड लगाएर बसेको हुन्छ ऊ । महानगरपालिकाका टोलका धेरैजसो ठाउँमा त कुनै घर नम्बर पनि हुँदैन । जसले जहाँजहाँ मन लाग्यो नयाँ गल्ली खोलेर विरुप बनाएको यो सहर न पर्‍यो । यहाँको सहरीकरण पनि अरु सबै कुराजस्तै बिना कुनै योजना पशुपतिनाथको भरमा नै भएको छ । बिहान जाँदा बाटो नभएको ठाउँमा बेलुका आउँदा कुनै नयाँ मार्ग बनिसकेको हुन्छ । छ आठजना मिलेर बनाएका त्यस्ता ‘पतली गल्ली’हरुका सञ्जालले काठमाडौंलाई पूरै निलिसकेको छ । अनि त्यहाँको कुनै टाठोबाठो अथवा शुरवीरले आफ्नो बाबु बाजेको नाम वा थरबाट त्यो बाटोको नामाकरण पनि गरिदिएको हुन्छ । त्यसैले बरु ब्रह्माण्डमा मानिस बस्न लायक अर्को ग्रह चाँडै भेटिएला तर काठमाडाैंका गल्लीहरुमा बस्ने अनाम नागरिकहरुलाई ठेगानाको भरमा खोज्न सकिन्न । फाफुराको सबैभन्दा भरपर्दो ठेगाना त रत्नपार्क हो । तर, ठूलै ठाउँको गतिलै कार्यक्रमको निम्तो दिएर रत्नपार्कमा पठाउनू फाफुरा त्यहाँ टोपीले मुख छोपेर सुतिरहेको हुन्छ भनेर कुन मुखले भन्नू । निकै बेर सोचेर फाफुराले प्रविधिमैत्री र ‘हाइ टेक’ उत्तर दियो, “निम्तो कार्डको फोटो खिचेर भाइवरमा पठाइदिनुस् न हुन्न ?” किनभने फाफुरालाई थाहा छ आजकल बरु मिर्गौला नभएको जनता र गिदी नभएको नेता भेट्टाउन सम्भव छ तर भाइवर नभएको मानिस भेट्टाउन गाह्रो छ । अनि फाफुरा अलि परको कफी सप अगाडिको डिकमा गएर उभियो । दुईचार दिनअघि कसैले उसलाई त्यहाँ कफी खुवाएको थियो । त्यस्ता कफी सप र रेष्टुराँमा जानासाथ आजकल सबैभन्दा पहिले मागिने कुरा उसले पनि मागेको थियो । वाइफाइको पासवर्ड । मोराहरुले त्यो फेरिसकेका नहुन् भन्ने कामना गर्‍यो । धन्य त्यही रहेछ र तिनीहरु एउटा सत्पुरुषको श्राप खानबाट बचे । अनि उसको फोनले टुइँक्क गरेर भाइवरमा केही आएको जनाउ दियो । फाफुराले ‘जय सी जिन पिङ’  भन्दै त्यो खोल्यो । चाइनी चतुरेहरुले सस्तोमा सुविधासम्पन्न सामानहरु बनाइदिएका हुनाले नै फाफुराले भाइवर, दाइवर, फेसबुक र ट्रेसबुकजस्ता अनेक जिनिसको दुरुपयोग गर्न पाएको छ । कार्यक्रमको मिति र समय भोलिपल्टको थियो । अनि सुरु भयो फाफुराको मूल तनाव । अघि नै भनेको थिएँ नि, फाफुरा पार्टीहरुमा नजाने कारण अर्कै छ । 
फाफुरासँग सुटै छैन । 
आम नेपालीले जीवनमा एकपटक सुट सिलाउँछ । शहीद दिवसको दिन । अर्थात्, उसले वीरगति पाएको बेला । त्यो बेला उसको ससुरालीले पनि एउटा सुट हालिदिएछ भने त दुई जोर भइहाल्यो । अनि मानिसले आजन्म त्यही दुइटा सुटले सबै औपचारिक समारोह र पार्टीहरु भ्याइदिन्छ । फाफुराजस्ता आम नेपालीको लागि सुटको सिजन पनि हुँदैन र फेसन पनि हुँदैन । हामीले आफ्नो सजिलोका लागि केही नियमहरु बनाएका छौँ । मासुको तरकारी भए बासी मानिदैन । नगन्हाउन्जेल खान मिल्छ । सुन अपवित्र हुँदैन । चर्पीमा खसे पनि त्यसको पवित्रतामा आँच आउँदैन । नोट रच्छयानबाटै टिपे पनि चोखो नै हुन्छ । सम्पत्ति भ्रष्टाचारै गरेर जोडे पनि शुद्ध हुन्छ । त्यसैले जुनसुकै खालको कपडाले बनेको सुट भएपनि त्यसैलाई जाडो, गर्मी, बर्सात्, आँधी हुरी सबै मौसममा प्रयोग गरिन्छ । मोटाएको बेला लामो सास फेर्दा टाँकै उछिट्टिने अवस्थामा पनि र दुब्लाएको बेला भित्तामा किल्लामा झुण्ड्याएको जस्तो देखिने बेला पनि त्यही सुट निर्धक्कसँग लगाउने हो । 
त्यसैले भनिन्छ, फाफुराजस्तो आम नेपालीको जीवनमा जन्म, मृत्यु, ब्रतवन्ध र सुट एकपटकमात्र आउँछ । 
तर, यसमा पनि फाफुराले मार खायो । फाफुरीसँग अचानक भएको भेट, रातारात पलाएको प्रेम र तात्तातै गरेको बिहेका कारण न उसले आफैँ सुट बनाउन सक्यो न उसका ससुराले हालिदिए । दुबईमा बसेर व्यापार गरिरहेका फाफुरीका बाले जब आ˚्नी एक्ली छोरीले त्यसरी बिहे गरेको थाहा पाए फोन गरेर भनेका थिए, “कत्रो सपना थियो । त्यत्रा भ्रष्टाचारी, घुस्याहा, मानव तस्करलगायतका सम्पन्न मानिसका छोराहरु थिए । कोही नपाएर एउटा फटिचर लेखकसँग बिहे गरेर तैंले आफ्नो पुर्पुरो फुटाइस् । ठीकै छ । आजदेखि तँ मेरा लागि ‘फलानो’को तेत्तीस किलो सुन र म तेरा लगि काउँरेसको कुर्सी भयौँ । अब हामीले एकआर्काको माया मार्‍यौँ ।”
यस्तो विषम परिस्थितिमा फाफुरालाई त्यो औपचारिक कार्यक्रममा जानुपर्ने हुँदा कति तनाव भयो होला तपाईँ आफै विचार गर्नुहोस् । भोलिपल्टको लागि सुट सिलाउनु सम्भव थिएन । हुन त आजकल सबैथोक रेडिमेड पाइन्छ क्यारे । तर, त्यसको लागि फाफुरासँग बजेट थिएन । अब उपाय “एउटै बाँकी त छ बैनी.......परिवार नियोजन” भनेझैँ फाफुरा आफ्ना एक परिचित ड्राइ क्लिनरको पसलतिर हान्नियो । त्यत्रा मानिसले धुन ल्याएर छोडेको सुटहरुमध्ये एउटा न एउटा त कस्सो नमिल्ला उसलाई । त्यसै पनि सुट जस्तो र जसरी लगाए पनि फरक पर्दैन भन्ने स्थापित मान्यताको कुरा त माथि नै भैसक्यो । फाफुराले ती परिचित ड्राइ क्लिनरलाई आफ्नो समस्या बताउनुअघि अलिअलि भूमिका बाँध्नमात्र के सुरु गरेथ्यो, उसले कुरा काट्दै भन्यो,
“जे भन्नु हो, सिधासिधा भन फाफुरा । किन बेकारमा सन्दीप लामिछानेले क्रिकेटको बल घुमाएकोजस्तो कुरा घुमाइरहेका ?”
रेल बनाइदिन्छु भनेर झेल गरेर चुनाव जितेको नेताले तेलसमेत दिन नसकेपछि पनि अर्को चुनावमा भोट माग्न जाँदा पचाएको लाजको सिको गर्दै फाफुराले एक साँझको लागि एउटा सुटको भिक्षा माग्यो । ड्राइ क्लिनरले गम्भीर भएर भन्यो,
“हेर, अब तिमीले मागिसकेपछि मैले कसरी नाइँ भन्नू । तर, एउटा कुरा विचार गर । मेरा ग्राहकहरु पनि अलि भीआईपी नै छन् । तिमीले लगाएर गएको सुट जसको हो त्यो पनि त्यहाँ रहेछ र उसले आफ्नो सुट चिनेर पोल खुल्यो भने मेरो धन्दा चौपट हुन्छ । त्यसो भएछ भने म तिमीले यो यहाँबाट चोरेर लगेको होला भन्दिन्छु नि, यो सकार्छौ ।”
मजबुरीको नाम माधवकुमार । फाफुरा हुन्न भन्ने अवस्थामा कहाँ थियो र ? बल्लबल्ल उसलाई मिल्ने एउटा सुट फेला पर्‍यो । कोट ह्याङ्गरमा झुण्ड्याएको जस्तो देखिन्थ्यो । आफ्नो कम्मर पेटीमा दुइटा जति नयाँ प्वाल बनाएर टुइँके फर्किने गरी कसेपछि त्यो फुत्केर झर्दैन भन्ने फाफुरालाई विश्वास थियो । कुखुरा चोरले चल्ला च्यापेजसरी काखीमुनि सुटको झोला च्यापेर फाफुरा पल्याकपुलुक चारैतिर हेर्दै ड्राइ क्लिनरको पसलबाट डेरातिर लाग्यो ।
त्यसको भोलिपल्ट समारोहको गरिमा बढाउन जानेबेला फाफुरा पशुपतिनाथ गुहार्दै थियो,
“यो सुट जसको हो, त्यो चाहिँ त्यही समारोहमा नआओस् है भोले बाबा ।”

'हराएको मानिस' The Story So Far

धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...