Saturday, May 26, 2018

फाफुरीको स्कूटी

तपाईँहरू र्शीर्षक देखेर एक छिन रनभुल्ल पर्नुभो होला । हुन पनि हो, फाफुरा वा फाफुरीको स्कुटीसँगको नाता पर्नु भनेको त्यति नै सम्भाव्य हुनुपर्छ जति महाथीर मोहम्मदको महावीर पुनसँग नाता हुनसक्छ । यो कुरामा फाफुरा पनि सहमत छ । त्यसो भए बफ मम बनाउने मासु प्रशोधनशालामा कीरा सल्बलाएझैँ ऊ किन स्कुटीको कुरा गर्दैछ भनेर तपाईँहरुको मगजमा पनि प्रश्न सल्बलाउनु स्वस्थ्य प्रक्रिया नै हो । हुन पनि हो, एघार नम्बरको गाडीमा लखरलखर हिँड्ने फाफुराजस्ता सुकुम्वासीहरुले आफ्नो सवारी साधनको सपना त देख्न सक्छन् तर त्यो सपना भनेको काठमाडाैंमा रेल चल्ने सपनाजस्तै हुन्छ । देख्न मज्जा आउने तर साकार हुने कुनै ग्यारेन्टी नभएको । तैपनि यो संसारमा तपाईँ हामीले कल्पना नगरेको धेरै कुरा हुने गर्छन् । कुनबेला कसको तालुमा आलु फल्छ र कसको डन्डामा झन्डा हल्लिन्छ भन्ने कुरा कसैले भन्न सक्दैन । नपत्याए तपाईँहरु अहिले मन्त्री भएका दुईचार जनालाई सोध्नुस् त !
फाफुरीले जागीर खान थालेको कुरा त यहाँहरुलाई थाहा भैसकेको छ । अघिल्लो साता उसले अफिस जान आउन गाह्रो भयो भनेर एउटा स्कुटी किन्ने प्रस्ताव राखी । अब यो बरो फाफुराको अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने त अहिलेसम्ममा तपाईँँहरूलाई पक्कै थाहा भइसकेको हुनुपर्छ । हो, यो देशको भन्दा खासै फरक छैन । केही दिनअघि बाटोमा हिँड्दा एउटा अचम्मको घटना भएको थियो । सडकमा आठ दस पाइला पर फाफुराले एउटा कागजको खोस्टो देख्यो । उसलाई कताकता त्यो खोस्टो परिचित र कतै पहिले पनि देखेजस्तो लागिरहेको थियो । तर, ठ्याक्कै कहिले र कहाँ देखेको भनेर चाहिँ फाफुराको सुपर मगजले समेत खुट्याउन सकिरहेको थिएन । ऊ मगजमा जोर लगाउँदै नजिकै पुग्दा पनि अहँ, केही सम्झन सकेन । आफ्नो स्मरणशक्ति किन यसरी चुनाव जितेपछिको नेताको जस्तो भयो होला भनेर ऊ हैरान भैरहेको थियो । त्यही बेल उताबाट एउटा भिखारी आइरहेको थियो । भिखारीको पनि आँखा त्यसमा प¥यो । उसले अचानक दंग पर्दै त्यो टिप्यो र प्रशन्न भएर चिच्यायो – “वाह भाइ, हजारको नोट भेटियो ।” फाफुराले त्यो हात्तीछाप कागजको टुक्रो नदेखेको निकै भैसकेको हुनाले देख्नासाथ सम्झन पनि नसकेको रहेछ । अब यो भन्दा बढी के भन्नू, तपाईँहरु आफै जानिफकार हुनुहुन्छ । 
त्यसैले फ्रुटी किन्नुअघि त पचासपटक सोच्नुपर्ने फाफुरालार्ई फाफुरीले स्कुटी किन्ने कुरा गर्दा कस्तो भयो होला तपाईँ आफैँ कल्पना गर्नुस् । सडक विभागले कोटेश्वर कलंकी रिंगरोड बनाए जसरी आरामसँग समयको कुनै पाबन्दी नहुने गरी स्कुटी किन्न भनेकी भए पनि एउटा कुरा । पटकौंपटकको खर्चालु चुनाव र संविधान सभाले किस्ताबन्दीमा संविधान लेखे जसरी बिस्तारै टायर, ट्युब, एकापट्टिको कभर, अर्कोपट्टिको कभर, सीट, ह्यान्डल र इन्जिन गर्दै पञ्चवर्षीय योजनामा स्कुटी जोड्ने भनेको भए पनि लौ क्या हो क्या हो । तर, यस्तो लामो समय र सुविधा त कि सरकारले पाउँछ कि उसले पत्याएको ठेकेदारले । जनताले हैन । जनता बबुरोले त समयमा कुनै पनि कर नतिरे नवीकरण फेल हुन्छ । बत्तीको बिल तिर्न ढिला भयो भने जरीवाना लाग्छ, उस्तै परे लाइन पनि काटिन्छ । अनि बरु भ्यासेक्टोमी गर्दा काटिएको नसा सजिलोसँग फेरि जोडिएला, बत्तीको काटिएको लाइन जोड्न त्योभन्दा गाह्रो हुन्छ । कुनै जरिवाना नलाग्ने, कुनै म्याद नहुने र कसैप्रति जिम्मेवार हुनु नपर्ने त सरकार र सरकारका अंगहरुमात्रै हुन् । रैतीहरुलाई त न हिजो कुनै सुविधा, न आज ।
त्यसैले फाफुराले उसलाई निरुत्साहित पार्नेबाहेक अरु बाटो देखेन । उसले फाफुरीको हात आफ्नो हातमा लिएर मायालु पाराले सुम्सुम्याउँदै भन्यो  “हेर प्यारी फाफुरी, तिमीले भन्यौ भने म आफ्नो कलेजो निकालेर तिम्रो अघि राखिदिन तयार छु । तर, मेरोअगाडि यो स्कुटी भन्ने कुराको नामै नलिऊ । काठमाडाैंको बाटो ‘मौतका कुवा‘ बराबर हो । यहाँ विशेष गरेर तिमीजस्ती सुन्दरीले स्कुटी चलाएको देख्यो भने उरन्ठेउला ठिटाहरु र माइक्रोलगायतका सार्वजनिक सवारीका चालकहरु चीलले परेवाको बच्चा देख्या जसरी लालायित हुन्छन् । अस्ति भर्खर मैले चिनेकै एक त्यस्तै युवतीलाई छ पाङ्ग्रे ट्रकले ठोक्देर अस्पतालै पुर्‍याइदियो । बल्लबल्ल ठीक भएकी छिन् । त्यसैले ९० प्रतिशत चालकलाई ट्राफिक नियम थाहा नभएको अनि १० प्रतिशतले थाहा पाएर पनि नटेर्ने यो सहरमा स्कुटी चलाउँछु भन्ने कुरा नगर ।”
फाफुराको करुणरसले भरिएको यो कुराको उसमा पटक्कै असर भएन । उसले सुरो अनुहार लगाएर भनी, “त्यस्तो लाछी कुरा गरेर पनि हुन्छ फाफु ? दशा लाग्यो भने त कसको के लाग्छ र ? तनहुँबाट रामचन्द्र पौडेल त चुनाव हार्न सक्छन् । अरु कुराको के भर छ र ? हेर, सार्वजनिक यातायातमा जागीर खान जाँदा तिम्री फाफुरीको कस्तो बिजोग हुन्छ । कस्ताकस्ता मान्छे ढेप्पिन आउँछन्, कहाँकहाँ हात पुर्‍याउँछन् । तिमी त्यो सहन सक्छौ ?”
यो ब्रम्हास्त्रले फाफुरा रन्थनियो । उसको पुरुषार्थमा ठाडै प्रहार भयो । बोल्ने बाटै रहेन । तर, घुमिफिरी कुरा आयो अर्थतन्त्रको । फाफुराले एकपटक फेरि प्रयास ग¥यो –
“स्कुटी किन्नेबाहेक अरु केही उपाय छैन र ?”
फाफुरीले पच्चीस वाटको चिम जसरी आँखा चम्काउँदै भनी –
“छ, एउटा उपाय ।”
फाफुराले पनि पचास वाटको आँखा चम्काउँदै सोध्यो –
“के उपाय छ भन त ।”
यसपटक फाफुरीले सुतली बम नै प्रहार गरी –
“मोन्टी । अस्ति मलाई हडतालमा लिफ्ट दिने युवक । उसले मलाई लैजाने र ल्याउने गरिदिन्छ । हुन्छ ?”
त्यो बयालीस दन्ते सुकुलगुन्डोको नामै सुनेर फाफुराका शरीरभरका रौंहरु एकैपटक ठाडा भए । उसलाई यो कुरा कुनै हालतमा मान्य हुँदैन भन्ने बुझेरै फाफुराले त्यसो भनेकी हो भन्ने पनि उसले बुझ्यो । फाफुरी स्कुटी नभई नमान्ने भई भनेर थाहा पाएर उसले आत्मसमर्पण गर्दै भन्यो –
“ल भैगो, यसपटक पनि विवादमा तिम्रै जित भयो फाफुरी । तर ढेवाको बन्दोबस्त गर्न केही समय देऊ न त मलाई । तुरुन्तै आवश्यकता भएको, मेरै ब्लड ग्रुपको र मिर्गौला पनि म्याच गर्ने मानिस खोज्न केही नभए पनि महिना पन्ध्र दिन त लागिहाल्ला ।”
उसको यो कुरा सुनेर फाफुरीको हरिणका जस्ता आँखाहरुबाट झापाको पानी इन्द्रावती हुँदै मेलम्ची पुगेर काठमाडौंका धाराहबाट झरे जसरी तररररर गरेर आँसु बनेर बगे । उसले भनी –
“त्यस्तो नचाहिने कुरा नगर त फाफु । जाबो स्कुटी किन्नको लागि म तिम्रो मिर्गौला खर्च गरुँला ? यस्तो कुरा सोच्न पनि कसरी सक्या निर्मोही ?”
ऊ सलको फेरले आँसु पुछ्न थाली । फाफुरालाई पनि बेक्कारमा उसको मन दुख्ने कुरा गरेकोमा पछुतो भयो । फाफुरीले सुँक्कसुँक्क गर्दै रुन्चे स्वरमा भनी –
“तिम्रो मिर्गौला बेचेर म स्कुटी चढ्छु होला त ? भोलिपर्सी गाडी किन्न परेछ भने के गर्ने नि ?”
फाफुरा उसको आफूप्रतिको यो अगाध स्नेह देखेर गद्गद् भयो । फाफुरीले भनी –
“नाथे स्कुटीको लागि मेरो अफिसले नै ऋण दिन्छु भनेको छ । चारवर्ष किस्ताबन्दीमा काट्ने गरी ।”
यसरी युरोपियन युनियनले अरु जहाँजहाँ खुराफात गर्‍यो भनेर जसले गाली गरे पनि फाफुरा र फाफुरीलाई भने स्कुटर चढ्न सक्ने हैसियतका बुर्जुवा बनाइदिएकोमा जोइपोइ मिलेर उनीहरुको जयजयकार गरे । 
नभन्दै त्यसको केही दिनमै एउटा चमचम गर्ने स्कुटी उनीहरुको डेराको आँगनको शोभा बढाउन आइपुग्यो । शोरुमबाट डेरासम्म त्यसलाई कुदाएर ल्याउने गौरवशाली अवसर फाफुरालाई प्राप्त भयो । धन्य घरमालिककोे आँगनमा अर्को दुईचारवटा स्कुटी ठड्याउन मिल्ने ठाउँ थियो । त्यसैले उनले केही नभनी एकपटक त्यसलाई बक्रदृष्टि लगाएर हेरेमात्र । त्यस साँझ दरबारमार्ग तिर रोमान्टिक डेटमा जाने उनीहरुको योजना थियो । तर, वैशाखे झरीका कारण त्यसमा तुषारापात भयो । फाफुरा दम्पती आफ्नो नयाँ स्कुटीमा हिलो लगाउन चाहँदैनथे । त्यस रात दुवै निदाएनन् । दुईदुई घन्टामा कतै चोरले आएर लग्न त लगेन भनेर पालैपालो स्कुटीको चियो गरिरहे उनीहरुले । 
भोलिपल्ट फाफुरी अफिस जान तयार भई । अनि पो उसले झ्वाट्ट केही सम्झेझैँ गरेर महादेवलाई कुल्चने बेलाको कालीले जसरी जिब्रो निकाली । फाफुराले मायालु पाराले सोध्यो –
“के भयो फाफुरी ?”
रुँला जस्तो अनुहार लगाएर फाफुरीले भनी –
“स्कुटी किन्ने उत्साहमा एउटा कुरा त भुसुक्कै बिर्सिछु फाफु ।”
फाफुराले प्रश्नवाचक भावले उसलाई हेर्‍यो । फाफुरीले अँध्यारो मुख लगाएर भनी –
“मलाई त साइकलै चलाउन आउँदैन ।”

'हराएको मानिस' The Story So Far

धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...