नयाँ पत्रिकामा मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को भाग ८
क्रोएसियाको दुब्रोभ्निख विमानस्थलतिर त्यो जहाज उडिरहेको थियो। एक हजार माइलभन्दा बढीको यात्रा सकिसकेको विमान केहीबेरमै अवतरण हुँदै छ भनेर एकैछिनअघि उद्घोषण भएको थियो। बिजनेस क्लासको आरामदायी सिटमा बसेको त्यस मानिसले झ्यालबाट पुलुक्क बाहिर हे-यो। मेडिटेरानियन समुन्द्रको नीलो पानीको बीच–बीचमा विभिन्न आकारका सानासाना जमिनका हरिया टुक्रा तैरिरहेका जस्ता देखिन्थे। दायाँपट्टिको एउटा टुक्रा कुनै जनावरको आँ गरेको मुखजस्तो देखिन्थ्यो र बायाँपट्टिको एउटा सानो गोलाकार टुक्रालाई निल्न गइरहेको जस्तो लाग्थ्यो। हवाईजहाज तलतल ओर्लंदै थियो। जमिन ठुल्ठूलो हुँदै थियो।
यो दृश्य उसका लागि नौलो थिएन। पन्ध्र महिनाअघि पनि ऊ यहाँ आएको थियो। तर, त्यतिवेला दुब्रोभ्निखको सुन्दरता उसले देखेको थिएन। मानिसको मन प्रसन्न नरहे कुनै पनि कुरा सुन्दर लाग्दैन। मन प्रसन्न भए रौरव नर्क पनि इन्द्र–वाटिकासरह हुन्छ। यसपटक ऊ एक्लै छ, तर प्रसन्न छ। पहिलोपटक एक्लै थिएन, उसको छोरा र उसका केही अत्यन्त विश्वासपात्र मानिस पनि थिए। एकजना डाक्टर, दुईजना अंगरक्षक। तर, ऊ दुःखी थियो।
लागुपदार्थको दुव्र्यसनका कारण ध्वस्त र जीर्ण भइसकेको आफ्नो एक मात्र छोरालाई लिएर ऊ आएको थियो। कसैले उसलाई त्यहाँको एउटा उपचारगृहका बारे बताएको थियो। त्यो उपचार केन्द्र राम्रो थियो, निकै महँगो थियो र सबैभन्दा मुख्य कुरा एकदमै गोप्य थियो। ऊ आफ्नो छोराको उपचार गोप्य राख्न चाहन्थ्यो। छोरालाई उपचार केन्द्रका कर्मचारीको जिम्मा लगाएर फर्कने वेला उसलाई आफ्नो मुटु, कलेजो त्यहीँ छाडेर फर्केकोजस्तो गाह्रो भएको थियो। विक्षिप्त छोराको करुण आर्तनाद उसको कानमा निकै दिनसम्म गुञ्जिरहेको थियो,
‘ड्याड, प्लिज। डन्ट लिभ मी हेयर। मलाई केही भएको छैन। आई प्रमिस अबदेखि म कुनै ड्रग्स छुन्न, ड्याड। म यहाँ बस्न चाहन्नँ ड्याड। आइ डन्ट वान्ट टु रट इन दिस फकिंग हेल् ड्याड।’
उसले लामो सास फे-यो र आफूलाई अतीतबाट फर्कायो। हवाईजहाज अझै तल ओर्लिसकेको थियो। केही छिनमै उसले आफ्नो देब्रेतिर दुब्रोभ्निखको ऐतिहासिक र सुन्दर सहरका दृश्य देख्न थाल्यो। सबैजसो घरका छानामा लगाइएको हल्का सुन्तला रंगले गर्दा माथि आकाशबाट कुनै पेन्टिङ हेरेजस्तो लाग्थ्यो। त्यहाँका मानिसहरू कुनै वेला जर्ज बर्नाड सले भनेको कुरा अझै सम्झन्छन्, ‘नमरी स्वर्ग देख्न मन छ भने दुब्रोभ्निख आउनू।’
बर्नाड सको भनाइ सही थियो। कुनै जादुगरले सिर्जना गरेको सहर जस्तो छ, दुब्रोभ्निख। त्यहाँका पुराना किल्लाहरू, पुरानो सहर, समुद्र किनारमाथि लगाइएको पर्खाललगायत संरचनाहरूलाई उनीहरूले यसरी कायम राखेका छन्, कुनै पनि मानिस त्यहाँ पुगेपछि फर्कनै नपरे हुन्थ्यो भन्ने सोच्न थाल्छ। तर, दुब्रोभ्निखको सुन्दरता ऊ यसपटक मात्र देखिरहेको छ।
केही दिनअघि सुधारगृहका डाक्टर एभान कोभाकिभाइकले उसलाई फोन गरेर संसारको सबैभन्दा मीठो संगीत सुनाएका थिए, ‘यो अर सन इज टोटल्ली क्लिन नाउ मिस्टर कोइराला।’
सर्वेश्वरका आँखाबाट हर्षका आँसुहरू बगेका थिए। उसले भनेको थियो, ‘आई एम टेकिङ द नेक्स्ट फ्लाइट डाक्टर। तपाईंलाई म कुन मुखले धन्यवाद भनौँ ?’ डाक्टर इभानले भनेको थियो, ‘वी डिड आवर जब मिस्टर कोइराला।’
हवाईजहाजको पाङ्ग्राले रनवेको जमिन छोएर जहाज एकपटक बेस्मारी थर्कियो। अब विमानस्थलबाट दुब्रोभ्निखसम्म करिब १२ माइलको दूरी पनि उडेरै काट्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो उसलाई।
***
इन्स्पेक्टर विनोद खड्काले आफ्नो सामु बसेको सर्वेश्वरराज कोइरालालाई नियालेर हेर्यो। उसको तालिमप्राप्त र अनुभवी आँखाले आजसम्म धेरै फटाहाहरू देखेको थियो, कानले धेरै फट्याइँ सुनेको थियो। त्यसका आधारमा ऊ मानिसले साँचो बोलिरहेको छ कि छैन भन्ने धेरै हदसम्म थाहा पाउँथ्यो। कनभने मान्छे जति धेरै झूट बोल्दै जान्छ, त्यति नै उसको कहीँ न कहीँ चिप्लने सम्भावना हुन्छ। तर, सर्वेश्वरराजका कुरा अहिलेसम्म कतै आपसमा बाझेका थिएनन्। के सर्वेश्वरराज सही छ त ? त्यसो हो भने बाँकी अरू फटाहा हुन् ? उसको मनमा कुराहरू खेल्न थाले। उसले सोच्यो, ‘पहिले सबैको कुरा सुनौँ। अनि त्यसपछि मात्र कुनै धारणा बनाउनुपर्ला। उसले सर्वेश्वरराजलाई सोध्यो, ‘तपाईंको छोरा लागुऔषधको दुव्र्यसनी कसरी भयो ?’
सर्वेश्वरले भन्यो, ‘लामो कथा छ।'
इन्सपेक्टरले बिनोदले भन्यो, 'मलाई पनि फुर्सद छ।'
सर्वेश्वर लामो सास फेरेर बोल्न थाल्यो,
'मेरो पुख्र्यौली घर पूर्व पहाडको दुर्गम जिल्लामा हो । मलाई पढ्ने–लेख्ने र संसार देख्ने चाहना थियो। त्यसैले म काठमाडौं आएँ। यहाँ कसैको घरमा भान्छे बाहुन लागेर पढ्न थालें । एसलसीसम्म पास गरेर म भारत गएँ। वनारसमा केही चिनेका मानिस थिए। त्यहाँ वनारस हिन्दू विश्वविद्यालयबाट स्नातकसम्म अध्ययन गरेर म भौंतारिँदै रुस पुगेँ। मास्टर्स गर्दागर्दै मेरो इरिनासँग भेट भयो। हामी सँगै पढ्थ्यौँ। उसका पिता भ्लादिमिर रुसका असाध्यै धनाढ्य मानिस थिए। इरिना उनकी एक्ली छोरी। खै, कसरी हो हामी नजिक भयौं र एकअर्कालाई माया गर्न थाल्यौँ। यो कुरा थाहा पाएर पहिले त उसका पिता एकदमै क्रुद्ध भए। उनले मेरो पछाडि गुन्डाहरू पनि लगाइदिएका थिए। एकपटक म मुस्किलले आफ्नो ज्यान बचाउन सफल भएको थिएँ। यो थाहा पाएर इरिनाले मलाई केही भयो भने ऊ पनि बाँच्दिनँ भनेर आफ्नो बाबुलाई धम्काई।
छोरीको मायामा लाचार भ्लादिमिरले हाम्रो सम्बन्धलाई स्वीकार गर्यो। हाम्रो बिहे भयो। त्यो वेला सोभियत संघ भटाभट टुक्रन थालेको थियो। त्यसको केही समयपछि नै राजनीतिक परिवर्तन र शक्ति सन्तुलनको तालमेल नमिलेका कारण भ्लादिमिरको सारा व्यवसाय चौपट बनाइयो। अनेक आरोपहरू लगाएर उसलाई वान्टेड सूचीमा राखियो। पक्राउ पर्नुअघि नै भ्लादिमिरले आत्महत्या ग-यो। सन् १९९१ मा म इरिनालाई लिएर लातभिया पुगेँ। लातभिया रुसबाट अलग स्वतन्त्र राज्य बनिसकेको थियो। हामीसँग भएका अलिअलि पैसा र सुनले मैले त्यहाँ आफ्नै सानो व्यवसाय सुरु गरेँ। इरिना गर्भवती थिई। केही महिनामा राजेश जन्म्यो। तर उसलाई जन्माउने वेला इरिनाले मेरो साथ छाडेर गई।’
अन्तिम वाक्य बोल्ने वेला सर्वेश्वरराज कोइरालाको स्वर थर्थर काम्यो। उसका आँखा रसाए। ऊ पर कतै हेरेर टोलाइरह्यो। विनोद खड्काले उसलाई कोट्याएन र सम्हालिने समय दियो। ऊ अघिदेखि नै एउटा नोटप्याडमा केही बुँदा टिपिरहेको थियो। सर्वेश्वरराजले भनेका कुराहरू सही हुन् वा हैनन् भनेर पत्ता लगाउन अहिले इन्टरनेट, सूचना र प्रविधिको युगमा त्यति गाह्रो काम थिएन। प्रविधिको विकासले पनि मानिसहरूलाई कम ढँटुवा बनाउँदै लगेको छ। खड्का सोच्दै थियो, सत्य युग आउँछ, जहाँ कसैले झुट बोल्दैन र बेइमानी गर्दैन भनेको त्यस्तै युगलाई होला। मान्छे पक्राउ पर्ने पक्का भएपछि डरैले अपराध गर्दैन। उसले जगमा भएको पानी एउटा गिलासमा खन्याएर सर्वेश्वरराजतिर सारिदियो। उसले कृतज्ञ भावले त्यो लियो र एकै घुट्कोमा पियो।
‘अनि…?’ विनोद खड्काले सर्वेश्वरराज कोइरालालाई प्रश्नवाचक भावले हे-यो।
सर्वेश्वर फेरि टोलायो र बोल्न थाल्यो,
‘मेरो व्यवसाय फस्टाउन थाल्यो। म झनै पैसाको पछि कुद्न थालेँ। वैभवको पनि आफ्नै नशा हुन्छ इन्स्पेक्टर साब। त्यसले दिने किक सबैभन्दा मात लाग्ने हुँदो रहेछ। जति भए पनि नपुग्ने। त्यो अन्धो दौडमा वरिपरिका कति कुरा गुमाउँदै गइयो भन्ने मानिसलाई थाहा पनि नहुने खतरनाक किक। राजेशलाई संसारका सबै सुखसुविधा, राम्रो शिक्षा दिइरहेको छु भनेर म दंग थिएँ। तर, आमाले जन्मँदै छाडेर गएको त्यो बालकको मैले बाबु पनि खोसिरहेको थिएँ भन्ने मलाई थाहै भएन। राजेश कहिले हुक्र्यो, कहिले जवान भयो भन्ने पनि मलाई हेक्का भएन। यता मेरो फोस्रो साम्राज्य खडा भइरहेको थियो, उता मेरो खास सम्पत्तिको जरा खोक्रो हुन थालिसकेको रहेछ। मनग्गे पैसा हुनु तर सही बाटो देखाउने मानिस नहुनुले मेरो राजेश खराब संगतमा परिसकेको थियो। उसले ड्रग्स सेवन गर्न थालिसकेको रहेछ।’
***
लातभियाको राजधानी रिगा अवस्थित लिभु स्क्वायर नाइटक्लब र महँगा रेस्टुराँहरूका लागि प्रख्यात छ। कहिले नसुत्ने ठाउँ भनेर मानिने त्यो स्क्वायर तन्नेरीहरूको अखडा मानिन्छ। राजेशले एकपटक फेरि घडी हेर्यो । रातको दुई बजेको थियो । लिभु स्क्वायरको मुन सफारी डान्स क्लबमा उसले राति साढे ११ बजेदेखि तीन घन्टा रमाएको अभिनय गरेर बिताइसकेको थियो। उससँग सर्लक्क परेकी लोनिजा नाम गरेकी युवती थिई। ऊ राजेशसँग लपक्कै टाँसिएर बसेकी थिई। राजेशले पनि उसलाई चपक्कै पारेर अँगालोमा बेरेको थियो। लोनिजाका आँखा पन्नाजस्ता थिए। नाक सुलुत्त परेको। पुक्क परेको ओठ, गोरो रंग। छिनेको कम्मर र लामो खुट्टा भएकी लोनिजा छोटो स्कर्ट र बाहुला नभएको खुला टपमा उत्पात देखिएकी थिई।
उनीहरू तीन दिनअघि मात्र कुनै पार्टीमा भेटिएका थिए र फोेन नम्बर आदान–प्रदान गरेका थिए। आज उनीहरूको पहिलो औपचारिक डेट थियो। लोनिजाले नै यो डान्स क्लब छानेकी थिई। तर, यहाँ उनीहरूजस्ता तन्नेरीभन्दा अलि पाका मानिसहरूको बढी भिड थियो। राजेशले बल्लबल्ल उसलाई त्यहाँबाट निस्केर कतै लामो ड्राइभमा जान तयार पारेको थियो। लोनिजाले टकिलाको पन्ध्रभन्दा बढी सट घुट्काइसकेकी थिई। उसलाई साथ दिंदा राजेशले पनि।
राजेश र लोनिजा लठारिँदै बाहिर निस्कँदा उसकोे बि एम डब्ल्यू सेभन सिरिजको कार क्लबको भ्यालेले अगाडि ल्याएर तयार राखिसकेको थियो। हुन त हरेक साँझ रात आकर्षक युवतीहरू देख्नु भ्यालेको लागि कुनै नौलो कुरा थिएन। उसलाई त्यसको बानी परिसकेको थियो । तर अाज उसले भए पनि आँखाभरि लोनिजाको सुन्दरता पान ग-यो। ऊ अरूभन्दा विशेष थिई। राजेशले भ्यालेलाई सय युरोको एउटा पत्ता टिप्स दियो। उसले भुइँको इटालियन मार्बल चर्केला जसरी बुट बजाएर सलाम ग-यो र तनक्क तन्केर उनीहरू दुवैका लागि पालैपालो ढोका खोलिदियो। लोनिजाका आँखामा टकिलाका गुलाबी धर्सा तैरिन थालिसकेका थिए। राजेश पनि होसमा थिएन। उसले क्लबमै शौचालय जाने बहानामा गएर एक्स्ट्यासीको एउटा गतिलो मात्रा सुँघिसकेको थियो।
अलि खुला बाटोमा जानासाथ राजेशले बि एम डब्लयुको गति ह्वात्तै बढाइदियो। गाडी अनियन्त्रित भएर बतासियो। तर, नशामा चुर भएका दुवैलाई त्यसको हेक्का भएन। लोनिजाले मस्त भएर आफूलाई राजेशतिर ढल्काई। उसलाई गम्रङ्ग अँगालो हालेर लोनिजाले आफ्ना अधरहरू उसतिर बढाई। राजेश बाटोतिर नहेरी उसतिर फर्कियो। दुवैका ओठहरू एकआर्कासंग जोडिए। उनीहरूका लागि मानौँ समय टक्कै अडेको थियो। दुवैलाई होस थिएन। कुनबेला गाडी अनियन्त्रित भई सडक छाडेर छेउको पेटीमा चढ्यो, कुनबेला बार भत्काउँदै गएर एउटा मोटो फेद भएको रुखमा वेगले ठोक्कियो भन्ने कुरा उनीहरूले थाहा पाउनै भ्याएनन्।
रातको निस्तब्धतामा रूखमा कार बजारिएको आवाजसँगै त्यसका सिसाहरू फुटेको र लोनिजाको चीत्कार मिस्सियो। अनि सबै शान्त भयो। बि एम डब्लयुको शक्तिशाली इन्जिन मात्र क्रुद्ध भएजसरी कराइरह्यो। त्यसको एकैछिनमा कतै टाढाबाट प्रहरीको गाडीको साइरन सुनियो। साइरन क्रमशः नजिक–नजिक र ठूलो–ठूलो हुन थाल्यो। अनि देखिए ती गाडीका थाप्लामा बलिरहेका पिलपिल गर्ने रातानीला बत्तीहरू।
त्यस दिन सम्भवतः पहिलोपटक आफ्नो छोरा कुन वेला घर आइपुग्ला भनेर सर्वेश्वरराज कोइराला उसलाई कुरेर बसेको थियो।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment