Wednesday, June 19, 2019

अभागी कर्नेल कि अभागी मार्खेज ?

एकपटक कतै एउटा टेम्पोमा लेखिएको एउटा मुक्तक र त्यसको अनुवाद जीवनभर बिर्सन सक्दिनँ, 
“प्रेम गर तर धोका नदेऊ ।” अनि त्यसैको तलपट्टि अंग्रेजीमा अनुवाद पनि थियो,
“लभ डू बट डू नट गिभ फ्रड ।”
अनुवादको त्यो चरम उदाहरणले अनुवाद भन्ने कुरा कति गाह्रो हुन सक्छ र शाव्दिक अनुवाद गर्दा नजानीनजानी मूल रुपको कतिसम्म हूर्मत लिन सकिन्छ भन्ने कुरा छर्लंग बनाएको थियो । 

१९८२ मा साहित्यका लागि नोबल पुरस्कार प्रदान गरिएका कोलम्वियाका प्रख्यात लेखक ग्याब्रियल गार्र्सिया मार्खेजको स्पेनिसबाट अंग्रेजीमा अनुवाद भएको पुस्तक नो वान राइट्स टू द कर्नल र त्यसको पनि नेपाली अनुवाद अभागी कर्नल अघिल्लो साता जुम्ल्याहा दाजुभाइ सरह एकैसाथ प्राप्त भए । पहिले कुन पढौं भन्ने निक्र्यौल गर्न गाह्रो लागेपछि अलिकति अंग्रेजी र अलिकति नेपाली गर्दै पालैपालो पढें । नेपाली अनुवादको पहिलो हरफको दोश्रो वाक्यमा नै एकथोकको अर्कोथोक अनुवाद भएको देख्दा कुनै स्वादिलो परिकार खान बस्दा पहिलो गाँसमा नै ढुङ्गा चपाए जस्तो भयो । 

The colonel took the top off the coffee can and saw that there was only one little spoonful left. He removed the pot from the fire, poured half the water onto the earthen floor, and scraped the inside of the can with a knife until the last scrapings of the ground coffee, mixed with bits of rust, fell into the pot."  
भन्ने वाक्यलाई “कफीको बट्टाको बिर्को खोलेर हेर्दा कर्नेलले एक चम्चाजति मात्रै कफीको धूलो बाँकी रहेको देख्यो । अनि चुल्होमाथि तताइरहेको भाँडो भुईंमा उतारेर त्यस भाँडोमा आधा पानी हाल्यो” भनेर अनुवाद गरिएको छ । नेपाली अनुवाद मात्रै पढ्ने हो भने त्यो हेक्का हुने कुरो पनि हैन । हुन त कफी थोरै देखेर उमाल्न लागेको पानी बढी हुन्छ भनेर त्यो पात्रले भुईंमा आधा पानी खनायो भन्ने गार्सियाको भनाइलाई  “भाँडो भुईंमा उतारेर त्यस भाँडोमा आधा पानी हाल्यो” भन्दा उपन्यासको कथावस्तु वा अरु कुनै पनि कुरालाई केही फरक त पर्ने पनि अवश्य नै हैन । मैले चाहिँ दुबै पालैपालो पढेको हुनाले म अब कति ठाउँमा एकथोकको अर्को थोक आउने हो त भन्ने कुरामा सुरुमै रनभुल्ल परें ।


गार्सियाले सन् १९५६, ५७ मा लेखेका यस उपन्यास एक जना सेवा निवृत्त कर्नलमा केन्द्रित छ जो पन्ध्र वर्ष अघि प्रदान गरिने भनिएको पेन्सन आउला कि भन्ने आशमा आफ्नी दमले ग्रस्त श्रीमती र एउटा लडाकू कुखुरोको साथमा चरम अभावग्रस्त जिन्दगी बिताइरहेका छन् । यो पात्र उनको आफ्नै हजुरबा बाट प्रभावित भएको कुरा गार्सियाले एउटा अन्तर्वार्तामा खुलाएका पनि थिए, जो कर्नेलबाट रिटायर्ड भए तर कहिले पनि पेन्सन पाएनन् । कर्नलले आफ्नो छोरा पनि आन्दोलनको क्रममा गुमाइसकेको छ । कोलम्वियाको स्थानीय र राष्ट्रिय तहको भ्रष्टाचार, त्यहाँको दुइ गूट बीचको शक्तियुद्ध र त्यसका परिणामहरु निकै हदसम्म हाम्रो अहिलेको अवस्थासंग मिल्दोजुल्दो छ । आफ्नो छोराको त्यो कुखुरो लडाएर केही आर्थिक राहत प्राप्त होला भन्ने आशमा आफ्नो पेट काटेर पनि ऊ त्यसको हेरचाह गर्छ । लडाकु कुखुरोको दुर्गति र रिटायर्ड कर्नलको  परिणतिमा बडो सूक्ष्म र प्रभावशाली समानता प्रस्तुत गरेका छन् गार्सियाले । कुनै बेला आफै लडाकूका रुपमा युद्धमा होमिएको, नेतृत्व चाहिँ सहमतिमा पुगेर उनीहरुका लागि वाचा गरिएका कुराहरु भने वर्षौसम्म पनि त्रिशंकु मात्रै भैरहेको अवस्थामा त्यो कुखुरोले कर्नल र योद्धाहरुको प्रतिनिधित्व गरेको छ । उनीहरुको नियतिमा केही पनि भिन्नता नभएको गहिरो सोच गार्सियाको चमत्कारी लेखनको उदाहरण हो । साथै यहाँ नेर युद्ध लडेर पाएको उपलव्धि कसका लागि र किन भन्ने सूक्ष्म प्रश्न पनि उनले व्यक्त गर्न खोजेको भान हुन्छ । युद्धमा होमिंदाको एउटा निकै सटीक घटनाको वर्णन छ, जब कर्नेल माकाण्डो क्षेत्रको क्रान्तिको कोषाध्यक्ष हुन्छ । उसले गृहयुद्धको लागि खच्चडमा दुइ बाकस पैसा हप्तौंको कठीन यात्रा गरेर निल्र्याण्डियाको शिविरमा पुर्याएको हुन्छ । गार्सिया त्यहाँ निर लेख्छन्, सन्धी हुनु आधा घण्टा अघि त्यो खच्चर भने भोकले मरेको थियो । जनताको भोक र खच्चरको नियतिलाई पनि उनले सटीक हिसाबले युद्धमा होमिएका लडाकूहरुसंग जोडेका छन् । तर यो भाव बुझाउन नेपाली अनुवाद चुकेका छन् । 

त्यस बाहेक पनि शाव्दिक अनुवादका कारण र जटिल साहित्यिक संरचना गर्ने क्रममा कतिपय वाक्यहरु पढ्दा तिनले के भन्न खोजेका हुन् भन्ने पाठकले बुझ्न सक्दैन । उदाहरणका लागि 
“संधैझैं त्यो आइमाई शरीरको ऊर्जामाथिको धावाबाट बचेकी थिई ।”
“कर्नेलले उसको यस्तो व्यवहारमा एक प्रकारको अवस्तुवादिता र अयाथार्थिकता देख्यो ।”
“नोभेम्वरको उत्तराद्र्धमा त्यो जीव मकै खान नपाएर दुई दिनभित्रै काल कलवित हुन्छ ।”
“उष्ण कटीबन्धीय भूमिले फलाउन सक्ने भएभरका प्राकृतिक खाद्यवस्तु ।”

स्पेनिस र अँग्रेजी नबुझ्नेहरुले एउटा राम्रो साहित्य नेपालीमा पढ्नबाट बञ्चित नहुन् भन्ने आशयले गरिने अनुवादहरुलाई किन यति धेरै क्लिष्ट बनाइन्छ भन्ने मलाई चाहिँ थाहा भएन । “समशीतोष्ण प्रदेश उत्पादित दुग्धशर्करा मिश्रित अति मनोरम चुस्तीस्फूर्ति प्रदायक उष्णउष्ण पेय पदार्थ” भने पनि “चिया” भने पनि कुरा त एउटै हो नि । त्यो त लौ लेखकको ज्ञान हो,  भएको ज्ञान प्रदर्शन गर्नु आफ्नो अधिकारको कुरो हो रे, तर शुरुकै अनुच्छेदमा जस्तै अरु ठाममा पनि अनुवाद गर्दा एकथोकलाई अर्कै भनिएको उदाहरण छ । थोत्रा कपडाका टुक्राहरु जोडजाड पारेर कर्नलकी स्वास्नीले उसका लागि लुगा बनाएको कुरा गर्दा अँग्रेजीमा लेखिएको छ, 
"She held out a shirt made of three different colors of material except for the collars and cuffs, which were of same color."  
यसको अर्थ हुन्छ, कमिजको कफ र घाँटी एउटै रंगका थिए, ती बाहेक अरु भाग तीनथरि भिन्न रंगका थिए । तर यसलाई अनुवादकले यसो भनेका छन्,
“उसले आफूले बनाएको मोहोरी र कलर नभएको बहुरंगी कमीज निकाली । मोहोरी र कलर एउटै रंगका थिए ।” 
अघिल्लो वाक्यमा कमीजको मोहोरी र कलर नै थिएन भन्दै तुरुन्तै अर्को वाक्यमा मोहोरी र कलर एउटै रंगका थिए भनेर मूल कुरा नै अपभ्रंश बनाएका छन् अनुवादकले । उनले collar र color  को भिन्नता थाहा नपाएर, अलमलिएर वा हेलचक्र्याईं गरेर लेखेका त्यो वाक्यको के अर्थ लगाउने भनेर पाठकलाई रिंगटा लाग्नु अस्वाभाविक होइन । अर्को एक ठाममा उनले  eyelids turned purple लाई “परेलाको रङ्ग प्याजी रङ्गमा बदलियो” भनिदिएका छन् ।

उपन्यासको अन्त्यमा उनीहरु खान समेत नपाउने अवस्थामा छन् । कर्नल चवालीस दिन पछि हुने भालेभीडन्तमा आफ्नो कुखुरोले जितेर पैसा कमाउँछ भन्ने आशमा छ । त्यहाँ उसकी सहनशील पत्नी समेत आफ्नो धैर्यको सीमा नाघेपछि कर्नलको अतिआशावादिताबाट आजित भएर उसको कठालो समातेर कुर्लन्छे, 
“त्यतिन्जेल चाहिँ हामी के खाएर बाँच्ने ?”
यहाँ नेर कर्नलका सारा हिम्मत र आशाहरु परास्त हुन्छन् । उसको सबैभन्दा ठूलो भरोसा नै उसकी स्वास्नीको आड थियो । जीवनको पचहत्तर वर्ष आफूले बेकारमा खेर फालेछु भन्ने लाग्छ उसलाई र उसको “शिट्” भनेपछि उपन्यास अन्त्य गरेका छन् गार्सियाले । त्यो “शिट्” ले हरे, अथवा हत्तेरि भन्ने भाव बोकेको छ तर त्यो कुरालाई अनुवादक लेख्छन्, 
उसले जवाफमा यत्ति मात्र भन्न सक्यो,
“थुक्क रन्...।”

यसले कर्नलको मनोदशा, उसमा अचानक छर्लंग भएको वास्तविकता र आफ्नो जीवनभरको विश्वास डगमगाएको मानसिकतालाई पूरै अपभ्रंश र उल्टो बनाइदिएको छ । अनुवाद मात्र पढ्ने हो भने अर्थको अनर्थ लाग्छ र त्यो अनर्थ पाठकले थाहा पाउँदैन । त्यही अनर्थ बुझ्छ ।

श्यामल, जसले यो कृतिको अनुवाद गरेका छन्, लेखकीय क्षमता, साहित्यिक चेत र अंग्रेजीको ज्ञानको बारेमा खप्पीस भनिएका लेखक हुन् । त्यस्ता सिद्धहस्त मानिएका मान्छेको अनुवादमा लाग्ने यस्ता ठेसका कारण चाहिँ के होलान् भनेर सोच्न बाध्य बनाउँछ । अनुवाद भन्ने कुरा असाध्य अप्ठ्यारो र अपजसे काम हो । अरुको भाषा, अरुको विचार र अरुको कृतिलाई बुझेर त्यसलाई आफ्नो भाषामा प्रकट गर्नु भनेको वास्तवमै अत्यन्त कठीन काम हो । त्यसैले अनुवाद गर्नु भनेको मौलिक सिर्जना गर्नुभन्दा दुस्कर कार्य हो भनिन्छ । अनुवाद गर्नेहरु अपजस खानका लागि मानसिक रुपमा तयार भएरै त्यसमा लाग्नुपर्छ, लागेका हुन्छन् । अभिव्यक्ति सिर्जनाका अन्य माध्यमहरु जस्तै चित्रकला, मूर्तिकला र सङ्गीतको अनुवाद भन्ने कुरा हुँदैन । तर साहित्य एउटा यस्तो कुरा हो, जुन संसारका कुनै पनि भाषामा अनुवाद हुन सक्छ र विश्वका कुनै पनि कुनामा बस्ने पाठकका लागि त्यो त्यत्तिकै रुचिकर हुन सक्छ । अहिलेको सूचना र प्रविधिको विकासले संसारलाई खुम्च्याइदिएको बेला त साहित्यको विश्वव्यापीकरण झनै सहज भएको छ । तर अनुवाद कस्तो भन्ने कुरा महत्वपूर्ण हो । अनुवाद गर्ने मान्छेले कुनै पनि कारणले मूल कृतिको सुन्दरतालाई आफ्नो भाषामा पस्कन सकेन भने त्यसले कृतिमाथि ठूलो अन्याय गर्छ ।  किनभने अनुवाद पढ्ने भनेको सामान्यतया र धेरैजसो मूलकृति लेखिएको भाषा नबुझ्ने भएकोले नै हो । अनुवाद पढ्ने पाठकले त्यसलाई त्यही नै रुपमा मूल्याँकन गर्छ, जुन उसले पढिरहेको हुन्छ । आम पाठकलाई कुनै कुरा मन परेन भने अनुवादका कारण त्यसो भएको हो कि भन्ने थाहा नहुन सक्छ । 

साधारणतया हाम्रा अनुवादकहरुले शाव्दिक अनुवाद गरेको पाइन्छ । त्यसो हुँदा हलुवामा बालुवा हुन जानु स्वाभाविक हो । किनभने हरेक भाषाका आफ्नै विशेषताहरु हुन्छन् र तिनलाई ठाडो उल्था गर्न सकिंदैन, सके पनि हुँदैन । अनुवाद गर्नेले मूल कृति पढेर, त्यसले भन्न खोजेको कुरा बुझेर त्यसलाई आफ्नो हिसाबले अभिव्यक्त गर्नुपर्दछ । उसको त्यो अभिव्यक्तिले मूल कृतिको भावलाई अझ सुन्दर बनाउन पनि सक्छ, विरुप पार्न पनि सक्छ । त्यो भनेको वेग्लै कुरा हो र अनुवाद गर्ने मान्छेको खूवी पनि हो । त्यसै कारण अनुवाद गर्ने भनेको पनि छुट्टै रचना गरे सरह, अझ त्यो भन्दा बढी कठीन काम हो । 

यहाँ नेर एउटा प्रसंग उल्लेखनीय हुन सक्छ । एउटा सिकारी एक रात जंगलमा हराएछ । बल्लबल्ल  भना जंगलमा एउटा झुप्रो भेटेर ऊ त्यहाँ बास बसेछ । उसलाई झुप्रोमा बस्ने मान्छेले बडो प्रेमपूर्वक मृगको सुकुटी खुवाएछ । फर्केर आएर सिकारीले त्यो सुकुटीको निकै बयान गरेछ । त्यो सुनेर उसको साथी पनि त्यही झुप्रो खोज्दै गएछ र आफू सिकारीको साथी भएको बताएर सुकुटी खान आएको कुरा गरेछ । झुप्रोमा बस्ने मान्छिेले उसलाई सुकुटी त खुवाएछ, तर जंगली भैंसीको । त्यो पनि कम स्वादिलो त थिएन । सिकारीको साथीले आएर यो कुरा सुनाएपछि उसको पनि अर्को साथी त्यहाँ पुगेछ र सिकारीको साथीको साथीको रुपमा आफ्नो परिचय दिएछ । यसपटक उसलाई प्रेमपूर्वक, आदरका साथ गुन्द्रुकले स्वागत गरिएछ । त्यसको कारण जान्न खोज्दा झुप्रोमा बस्नेले भनेछ,
“महाशय, जसरी तपाईं सिकारीको साथीको साथी हुनुहुन्छ, त्यसरी नै यो मृगको सुकुटीको सुकुटी हो ।”

एउटा भाषाबाट अर्कोमा अनूदित कृतिलाई फेरि नेपालीमा गरिएको अनुवाद पढ्नु भनेको पनि लौ त भन्ने हो भने  सिकारीको साथीको साथीले मृगको सुकुटीको सुकुटी खाएको जस्तै हो । धेरै पटक अनूदित साहित्यहरु पढ्दा मैले मृगको सुकुटी भन्दै गुन्द्रुक खाएको अनुभव गरेको छु । 

तर कुनै पनि अनुवादकलाई मात्र दोष लगाउनु भनेको उसमाथि अन्याय हुन जान्छ । किनभने हामा प्रकाशकहरु सकेसम्म न्यून पारिश्रमिकमा अनुवाद होस् भन्ने चाहन्छन् । यो यस्तो मुलुक हो जहाँ एनजीओजन्य विकासे कामका प्रतिवेदनहरु अनुवाद गर्नेहरुले लाखौं रुपैंया कुम्ल्याउन पाउँछन् तर साहित्य जस्तो कुराको अनुवाद कौडीको भाउमा खोजिन्छ । त्यस्तो अवस्थामा कतिपय व्यक्तिगत सम्बन्धका कारण हार्न नसकेर पनि मूर्धन्य हस्तीहरु समेत टापटिपे अनुवाद गर्ने वाध्यताको माखेसाङ्लामा जेलिन पुग्छन् ।  त्यसो भएपछि अनुवादका लागि जति दिनुपर्ने हो, जति अध्ययन र अनुसन्धान गर्नुपर्ने हो, अनुवादकले चाहेर पनि त्यो गर्न सक्दैन । त्यति सब हुँदाहुँदै पनि विश्व साहित्य वा अन्य पुस्तक नेपालीमा अनुवाद गर्नेहरुले यो अपजसे काम गरेर अरु भाषा नबुझ्नेलाई पनि ती कृतिहरु पढ्ने अवसर जुराइदिएकोमा तिनलाई धन्यवाद त दिनै पर्छ तर पाठकहरुको तर्फबाट भन्ने हो भने चाहिँ, राम्रो अनुवाद पढ्न नपाउने हो भने बरु त्यो कृति नपढ्नु नै कम हानिकारक हुन्छ । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment