Wednesday, June 19, 2019

सोध्न नभ्याइएको प्रश्न

प्रकाशित : आश्विन १३, २०६९ ११:२२ कान्तिपुर, कोसेली

अघिल्लो हप्ता काठमाडौंमा एउटा साहित्य सम्मेलन सम्पन्न भयो । नेपाली लेखक र पाठकहरूका लागि चार दिनसम्म प्रज्ञा प्रतिष्ठानमा दसैंभन्दा अघि नै दसैं आएको जस्तै भएको थियो । लेखनका विभिन्न विषय र आयामहरूमा छलफल र माथापच्ची हुने क्रममा एक दिन पालो थियो, नेपाली चलचित्रको बारेमा । चलचित्र पनि साहित्य हो, यसको पनि विचार हुन्छ । हाम्रो देशमा पनि चलचित्रहरू बन्न थालेको निकै लामो समय भइसके पनि यो अझै वामे नै सर्दै छ भनिन्छ । त्यसो भए त्यो कुन क्याल्सियम हो जसको कमीले नेपाली चलचित्र दौड्ने त कुरै पर जाओस्, अहिलेसम्म दुई खुट्टामा दह्रोसँग उभिन पनि सकेको छैन । के यसलाई पोलियो थोपा खुवाएन कसैले ? के नेपाली चलचित्रलाई पोलियो नै लागेको हो ? नेपाली चलचित्र अब सधैं लुलो नै रहने हो त ? दर्शक किन नेपाली चलचित्र भन्नासाथ नाकमुख खुम्च्याउन थालेका हुन् ? बीचबीचमा एकाध चलचित्रले आशातीत व्यापार गरेर आशाका किरणहरू छर्न खोजे पनि तिनैका पछि लागेर बनाइने अरू चलचित्रहरूले फेरि नेपाली चलचित्रलाई भँड्खालोमा लगेर किन हाल्छन् ? 



यी र यस्ता प्रश्नका उत्तरहरू खोज्ला भनेर आशा गरिएको त्यो छलफल कार्यक्रममा एकजना निर्देशकले नेपाली चलचित्रको लेखनमा बौद्धिकता भएन, बौद्धिकता भएका लेखकहरू नेपाली चलचित्रले पाएन भन्ने आरोप लगाएर आफ्ना सारा कमजोरीलाई लेखकको थाप्लोमा हाले । अन्त्यमा उनले बोलेको यो कुराको सन्दर्भमा मसंग केही प्रश्न थिए । तर समय सकिइसकेको हुनाले ती प्रश्न सोध्न पाइएन, सोध्न भ्याइएन । 




पहिलो कुरा, नेपाली चलचित्रमा बौद्धिक लेखकहरू भएनन् भन्ने कुरा नै सरासर गलत कुरा हो । विभिन्न समयमा बौद्धिकता भएका, साहित्यिक र कलात्मक चेत भएका लेखकहरू नेपाली चलचित्रमा आएका थिए, आएका छन् । तर नेपाली चलचित्रले तिनलाई ग्रहण गर्न सकेन । उनीहरूको सिर्जनात्मकताका लागि यसले कुनै सानो कुना पनि दिन सकेन । अविनाश श्रेष्ठ र नयनराज पाण्डेजस्ता लेखकहरूलाई यहाँ सम्झनुपर्छ जसले साहित्यमा लेख्ने गहनता चलचित्रमा ल्याउन सकेनन् । किन ? प्रस्ट छ, उनीहरूको त्यो लेखाइका लागि नेपनली चलचित्रले ठाउँ दिन सकेन ।किनभने बीएस थापा र प्रकाश थापाले भित्राएका सिनेमाको प्रारूप नै यहाँ मानक भएर कायम भयो । 
उनीहरूले चालीसौं वर्ष पहिलेको हिन्दी सिनेमामा काम गरेर त्यही कुरा सिकेका थिए, त्यही कुरा यहाँ आएर सिकाए । तसर्थ नेपाली सिनेमाका कथावस्तु, प्रारूप, पटकथाको बुनौट, संवादको शैली त्यस्तै बन्न पुग्यो । सुरुसुरुमा केही वर्षको अन्तरालमा नेपाली सिनेमा बन्ने हुनाले जर्जर हिन्दी शैलीमा बनेका सिनेमाहरू पनि दर्शकहरूले सस्नेह ग्रहण गरे । त्यसले गर्दा नेपाली सिनेमामा फरक र मौलिक धार वा शैलीको खोजी गर्नुपर्ने आवश्यकता नै कसैले देखेन ।



तसर्थ धडाधड नेपाली सिनेमाहरू त्यही शैलीमा बनिरहे । बी एस थापा र प्रकाश थापापछि आएका निर्देशकहरू पनि उनीहरूलाई नै गुरु थापेर एकलव्यजस्तो भएर आफ्नो धनुमा उही ढर्राका वाणहरू चढाएर साधना गरिरहे । त्यतिबेला केशवराज पिँडाली, विजय मल्ल र ध्रुवचन्द्र गौतमजस्ता साहित्यिक हस्तीका कृतिहरूलाई पनि सिनेमाको पटकथाको नाममा बिरूप पारियो । नेपाली चलचित्रको बोहोनी नै खराब भयो । त्यसपछि पनि जति पनि नेपाली सिनेमा बने, तिनका अधिकांश पटकथा र संवाद देबु सेन नामका एकजना बंगाली लेखकले लेख्थे । उनी आफैं बम्बईमा संघर्ष गरिरहेका लेखक थिए । हाम्रा निर्देशकहरू उनले हिन्दीमा लेखेका कुरालाई नेपालीमा उल्था गर्थे । 



सिनेमाको लेखनको आफ्नै भाषा हुन्छ, आफ्नै व्याकरण हुन्छ । त्यसैले एउटा राम्रो साहित्यकार त्यति नै राम्रो सिनेमा लेखक हुनुपर्छ भनेर ठोकुवा गर्न सकिंदैन । किनभने कथाले मात्र सिनेमा बन्दैन । त्यसका लागि पटकथा लेखिनुपर्छ । सामान्यतया कथाकारलाई नै सिनेमाको लेखक भन्ने ठान्दछन् दर्शकहरू । पटकथा भनेको प्राविधिक कुरा भएको हुनाले सामान्य दर्शकलाई सिनेमामा त्यसको महत्व के हो भन्ने थाहा हुँदैन । सिनेमाको कथा चार लाइनको विचार मात्रै हुन सक्छ वा चार सय पृष्ठको उपन्यास । त्यसलाई सामान्य सिनेमाको लम्बाइमा अटाउने दृश्यको क्रममा बाँध्ने काम पटकथाको हुन्छ । त्यसले गर्दा पढिने वा सुनिने कथालाई त्यसको मर्म कायम राखेर लामो वा छोटो बनाएर सिनेमामा हेर्ने कथाको रूपमा ल्याउने काम सिनेमाको पटकथा लेखन हो । निर्देशकले सही कथावस्तु र सही पटकथाको आधारमा सिनेमा बनाउँछ ।


कथा त्यसको पुस्तक लेखकको माध्यम हो भने सिनेमा निर्देशकको माध्यम हो । सिनेमाको लागि सबैभन्दा महत्त्वपूर्ण निर्देशक मानिन्छ । तर किन ? एकपटक सोच्नुहोस् त, एउटा राम्रो कथामाथि सिनेमा निर्माण गर्नका लागि गतिलो लगानीकर्ता तयार भयो । मागेका हरेक कुरा बिनाकुनै कन्जुस्याइँ उपलब्ध गराउनका लागि उसले कुवेरको ढुकुटी नै खोलिदियो । त्यो कथामा कुनै पटकथा लेखकले उत्कृष्ट पटकथामा बुनिदियो, अर्कोले सटीक र प्रभावकारी संवाद लेखिदियो । गीतकारले कथालाई सुहाउँदो गीत लेखिदियो जसलाई एउटा कुशल सङ्गीतकारले सुमधुर सङ्गीतले सिंगारिदियो । त्यो धुनमा गायक गायिकाले मीठो गीत गाइदिए । अभिनेताहरूले चरित्र अनुसारको जीवन्त अभिनय गरे, छायांकन गर्ने मानिसले उत्कृष्ट रूपमा त्यसलाई खिचिदियो, सम्पादन गर्नेले दक्षताका साथ आफ्नो काम गरिदियो । कुनै राम्रो प्रविधिशालामा त्यसको बाँकी कामहरू भयो र सुविधा सम्पन्न सिनेमा हलमा त्यसको प्रदर्शन भयो । सिनेमाको सुरुदेखि अन्त्य सम्मको यो सबै क्रममा निर्देशकको भूमिका कहाँ छ त ? हुन त चलचित्रलाई दर्शकको रूपमा मात्र चिन्नेहरूलाई निर्देशकले अभिनेताहरूलाई अभिनय गर्न सिकाउँछ भन्ने भ्रम पनि नभएको होइन । तर निर्देशकको काम त्यो होइन । 



त्यसो भए कुनै काम नै नदेखिने निर्देशकलाई जहाजको कप्तान किन भनिन्छ ? किन सिनेमालाई निर्देशकको माध्यम भनिन्छ त ? किनभने उसले आफ्नो दृष्टिकोण, सोच र विचारलाई पटकथा, सम्वाद, -कहिलेकाहीं मौनता) अभिनय, भाव, गीत, पाश्र्व सङ्गीत र दृश्यहरूका छायांकनको सहयोगले पर्दामा प्रस्तुत गर्दछ । सिनेमाको पछाडिको यो अदृश्य संयोजन र विचार नै निर्देशकको काम हो । त्यस अर्थमा भन्नुपर्दा एउटा निर्देशकले आफ्नो आँखाले दर्शकहरूलाई कथा देखाइरहेको हुन्छ । आफ्नो विचार र दृष्टिकोण पस्किरहेको हुन्छ ।



हाम्रो दुर्भाग्य नै के हो भने हामीकहाँ त्यो वैचारिक क्षमता भएका निर्देशकहरूको अभाव भयो । त्यसैले उनीहरू नेपाली सिनेमा नचल्नुको दोष अरूलाई लगाएर उम्किने गर्छन् । कहिले प्रविधिलाई, कहिले बजेटलाई र कहिले दर्शकलाई । राम्रो सिनेमा कहिले पनि बजेट र प्रविधिको तामझाममा भर पर्दैन । इरानी निदेशक माजिद माजिदीका चिल्ड्रेन अफ हेभन लगायतका सिनेमा त्यसको ज्वलन्त उदाहरण हो । 


तसर्थ कस्तो कच्चा पदार्थ चाहिन्छ भन्ने कुराको ज्ञान नै नभएको मानिसले कुनै वस्तु उत्पादन गर्न खोजेको जस्तो हुन गयो नेपनली चलचित्र । चलचित्र निर्माण वा निर्देशन गर्नु भनेको त्यसप्रतिको समर्पण र साधना हो । त्यो र बौद्धिक चेत भएका निर्माता र निर्देशकहरूको कमी भएपछि स्वतः नेपाली चलचित्रले बौद्धिक लेखनलाई न्याय गर्न सकेन । त्यस्ता विषय र लेखकहरूलाई स्विकार्न सकेन । सक्षम लेखकहरू कि त पलायन भए, कि निर्माता निर्देशकहरूले दर्शकको चाहनाको भन्ने भ्रामक मान्यताले खोजेका कुरा मात्रै लेखेर व्यावसायिकताको नाममा सम्झौता गरेर बस्ने बाध्यता आयो । त्यसले गर्दा अरू विदेशी चलचित्रको फोटोकपी उतार्न थाले अधिकांश निर्देशकहरू । पृष्ठभूमिमा नाच्नेहरूको लुगाफाटोमा पैसा खर्च गर्न सक्नेहरूले लेखकको पारिश्रमिक सुन्दा औंला टोक्नु र लेखिएका कुरालाई पर्दामा सही ढंगले उतार्न नसक्नु नेपाली चलचित्रको कमजोरी हो न कि यसको लेखन ।



त्यसैले अझै पनि नेपाली चलचित्र कि त कलाको नाममा सम्राटको अदृश्य लुगा सिलाउने कि भने व्यावसायिकता र दर्शकको मागको नाममा थोत्रो फर्मुला पस्किने दुई अजंगका पाटाहरूको बीचमा पिस्सिइएर आफ्नो मौलिक पहिचान खोजिरहेको छ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment