Tuesday, June 18, 2019

सुयोगवीरबाट सिरियल किलर

माघ १०, २०७५ को चीसो दिन ।
म एउटा सिरियल किलर । आज मैले जिन्दगीको अन्तिम हत्या गर्नु छ । त्यो पनि लरतरो मानिसको होइन । प्राइम मिनिस्टरको । मेरो ज्यानमारा जीवनको अन्तिम असाइनमेन्ट । तर यो कुन कालखण्डको कुन देशको प्राइम मिनिस्टर हो ? मलाई ‘सुपारी दिने’ मानिस यस विषयमा मौन छ । कस्तो ढुक्कै । मैले आजसम्म कतिवटा हत्या गरिसकें भन्ने मलाई थाहा छैन । त्यो कुरा नगरकोटीलाई सोध्नुस् । उसैले राखेको होला हिसाबकिताब । उसलाई त के छ र, आदेश दिए पुगिहाल्यो । आज मेरो जन्मदिन । यसलाई ऊ प्राइम मिनिस्टरको मरण दिन बनाउन चाहन्छ । ऊ भन्छ, यो मेरो सेलेब्रेसन हो रे । केक पनि छ, क्यान्डल पनि छ । 
कुमार नगरकोटीको सिरियल किलर आज जन्मनेछ । 
मलाई हेर्नुहोस् त । के तपाईंलाई म कतै देखेको वा चिनेको जस्तो लागिरहेको छ ? के मेरो अनुहारमा कतै पुराना रगतका टाटाहरू त छैनन् नि ? हुन त म हरेक दिन साबुनले घोटीघोटी मुख धुन्छु । क्रिम पनि पोतर्छु । तर पनि बेलाबेला मलाई लाग्छ, मेरो अनुहारमा लागेका छिर्काहरू मेटिएका छैनन् । मेरो लुगामा पो कतै रगतका पुराना कटकटिएका दागहरू देखिन्छन् कि ? मैले हत्या गरेका मानिसहरूको रगत देखिएला भनेर मलाई भित्रभित्रै डर लागिरहन्छ । त्यसो नहोस् भनेरै म गाढा कलेजी रङको वस्त्र लगाउने गर्छु । तर के गाढा रङ लगाउँदैमा वा चोला फेर्दैमा ज्यानमारा ढुक्क हुन सक्छ होला ? मैले त कति नै मानिस मारें र, मभन्दा बढी ठूला ज्यानमाराहरू छन् । हजारौंहजारको संख्यामा थोकको भाउमा ज्यान मार्नेहरू । ती ज्यानमाराभित्र पनि मलाई भन्दा बढी डर होला नि । मलाई निद्रा लाग्दैन । कसरी निदाउँछन् होला ती ?
मेरो आँखामा आँखा भिडाएर चाहिँ नहेर्नुस् है, त्यहाँभित्रबाट एउटा ज्यानमाराले चियाएको देखेर तपाईंको आङ्ग जिरिङ्ग हुन सक्छ । चिहाउने नै हो भने अझै भित्रसम्म डुब्न सक्नेगरी चियाउनुस् । त्यसो भयो भने सम्भवतः तपाईंले त्यहाँ आफैसँग भयभीत कुनै मानिसको टिठलाग्दो अनुहार देख्न सक्नुहनेछ । तपाईंहरू त भाग्यमानी मानिस हो । तपाईंहरू निर्दोष र निस्कपट जन्मनुभएको थियो । समय परिस्थिति र भोगाइले तपाईंहरूलाई पछि जेसुकै पनि बनाएको हुन सक्छ । तर म त जन्मजात हत्यारा । मलाई लेखकले के बनायो के । तपाईंलाई मेरो जस्तो क्रूर सर्जकको पात्र हुनुपरेन । तपाईंलाई कर्ममा विश्वास लाग्छ ? मलाई लाग्छ । कर्मको चक्रमा मैले चाहेर नचाहेर गरेका सबै कुराको फल मैले स्वयं भोग्नुपर्छ, भोग्छु । त्यसैले महोदय, मेराबारे विचार नबनाउनुस् । म जे हुँ, त्यसैमा मलाई स्विकार्नुस् । सक्नुहुन्न भने बालै नदिनुस् । हामी कोही पनि कसैका लागि न्यायाधीश होइनौं । त्यो आत्मरतिमा नरमाउनुस् । जे होस्, नगरकोटीका शब्दहरूमा निस्सासिएर बाँचिरहेको यो विवादास्पद पात्र आज ब्युँतिन लागेको छ । अक्षर, शब्द र वाक्यले बनेको यो खै मायालाग्दो भनौं कि घिनलाग्दो पात्र अहिले हाड, रगत र मासुले बनेको जीवित मान्छे बनेर यता र उति घुमिरहेको छ । 
शिल्पी थियटरको चोकमा । 
म पूरै जन्मिइसकेको छैन नि ! तपाईंलाई अचम्म लाग्यो होला, म धतङ्गो कुरा गरिरहेको भन्ने ठान्नुहोला । जन्मिन बाँकी मानिस कसरी यता र उति सशरीर घुमिरहेको छ त ? मान्यवर, तपाईंको प्रश्न जायज हो । मेरो उत्तर पनि त्यति नै जायज छ । मान्नुस्, म केही बेरपछि जन्मिन्छु । मलाई थाहा छैन म नायक हुँ कि खलनायक । मलाई मानिसहरूले सहानुभूतिका आँखाले हेर्छन् कि घृणाले भन्ने पनि मलाई थाहा छैन । किनभने ‘बाथटब’ भन्ने नाटकको स्क्रिप्ट पढ्दा हरेकपटक म आफैं रनभुल्ल परेको छु । म सिरियल किलरलार्ई माया गरौं ? घृणा गरौं ? दया गरौं ? मैले कहिले पनि खुट्याउन सकिनँ । तर म आज आफैं उसको चोलामा छु । पछिल्लो बीस दिनदेखि भूत भौंतारिए जसरी यतैतिर घुमिरहेको सिरियल किलर अर्थात् म, आज विशेष छटपटीमा छु । 

गर्भकाल सकिएको छ, प्रसवकाल सुरु भएको छ अनि गर्भाशयको पटकपटक अल्ट्रासोनोग्राम पनि भइसकेको छ । त्यसको रिपोर्टले सबै सामान्य नै छ भनिसकेको छ । अब प्रसव वेदना तीव्र हुँदै गइरहेको छ । मैले थुप्रै चुरोटका धूवाँ उडाइसकेको छु । हुने भए रक्सी पनि खाइदिन्थें । तर आज मैले रक्सी खान मिल्दैन । म आफूमा आत्मविश्वासको कहिले पनि कमी छैन भन्ने मान्यता भएको मानिस हुँ । कहिलेकाहीं अतिआत्मविश्वासको सिकार पनि भएको छु भन्न मलाई पटक्कै धक लाग्दैन । मैले यही बानीका कारण फरकफरक कामहरू गरेको छु । एउटै कुरामा धेरै समय अडिग हुन नसक्ने दुर्गुणका कारण म ‘ज्याक अफ अल, मास्टर अफ नन्’ बनेको छु । त्यसमा गुनासो पनि छैन । कमसेकम म रहर मारेर त बाँचेको छैन । मलाई तपाईं अतिवादी पनि भन्न सक्नुहुन्छ । माया गर्दा सीमा नाघेर माया गरें, घृणा गरेको बेला फनि सक्ने जति घृणा गरें । मेरा आशक्ति र विरत्तिका कहिले कुनै सीमा नै भएनन् । परिणामको बारे कहिले पनि सोचिनँ । इम्पल्सिभ भन्छन् नि, म त्यही हुँ । त्यसैको प्रतिफल आज सिरियल किलरको चोलामा उभिएको छु, हत्यारा बनेर जन्मिन लागेको छु । डर भनेर डर होइन, तर मन अलिअलि तर्सेको छ । ऊ सबैलाई भित्र प्रेक्षालयमा जानका लागि संकेत दिंदै घण्टी बज्यो । 

टिङ टिङ टिङ । 
यो आवाज मेरा लागि नयाँ होइन । धेरैपटक यहीं उभिएर सुनेको छु । निरपेक्ष । आज पात्रको रूपमा जन्मिन लागेको छु । त्यसैले त्यही सानो मधुरो टिङटिङको आवाज आजचाहिँ मेरो कान, मन र मगजमा फूलपातीको बढाइँ गर्न टुँडिखेलमा लस्करै राखेर पड्काइएको तोपजसरी गर्जिरहेको छ । यति खेर म पर्दा पछाडि लुकेको छु । एकपटक एउटा कुना अलिकति पन्छाएर चियाएर हेर्छु । मानिसहरू धमाधम आइरहेका छन् । यी सबै मैले चिनेका अनुहारहरू हुन् । तिनमा मैले आदर गर्ने, मलाई आदर गर्ने, मैले स्नेह गर्ने, मलाई स्नेह गर्ने सबै उमेर र उपलब्धिका मानिसहरू छन् । अब यी सबैका सामु आज ‘बाथटब’ को गर्भाशयबाट सिरियल किलरको जन्म हुन्छ । 

मानौं म कुनै आदिम पात्र हुँ, सेक्सपियरले लेख्न बिर्सेको । वा कुनै आधुनिक पात्र, स्यामुअल वेकेटले लेखेर बाथ टवमा मिल्क्याएको विसंगत पात्र । हो, यही संवाद बोल्दै जन्मनु छ सिरियल किलरलाई । मलाई । उनीहरूले मलाई कुन रूपमा स्वीकार गर्ने हुन् ? वा नगर्ने हुन् मलाई थाहा छैन । अब मेरो हातमा केही पनि छैन सिवाय प्रतीक्षा । नगरकोटी, घिमिरे युवराज, म, टाइपिस्ट अनिद्राको रूपमा मैसँग जन्मिन लागेकी भूषिता वरिष्ठ र निःशब्दशमशेर राणा अर्थात् नीर शाह सबैले गर्न सक्ने जति मिहिनेत गरेका छौं । आज नाटकको पहिलो शो हुन लागेको छ ।
अग्निपरीक्षा ।
तपाईं तयार हुनुहुन्छ नि ?
पर्दा खुल्यो । 
अन्दाजी दुई वर्षअघि
मेरो उनीसँग त्यति घनिष्ठता त थिएन । बेलाबेला कतै सार्वजनिक सभा–समारोहमा भेट्दा शिष्टाचारपूर्वक नमस्तेका आदानप्रदान मात्र हुने गर्थ्यो । उनी नाट्य क्षेत्रमा समर्पित मानिस हुन् भन्नेचाहिँ थाहा नभएको होइन । युवराज घिमिरे, जो आफूलाई घियु भन्ने गर्थे, मलाई उनको यो प्रयोग बडो सिर्जनात्मक लाग्थ्यो । लेख्दा घियु लेखे पनि बोल्दा र सुन्दा त्यो घ्यूजस्तो लाग्थ्यो । म कहिलेकाहीं सोच्थें, के यी मानिस साँच्चै घ्यू नै होलान् ? एक दिन संयोगवश तिनै घियुसँग म्युजिक नेपालमा कुनै सन्दर्भवश भेट भयो । उनले कुरैकुरामा मलाई सोधे, ‘दाइ, के अब अभिनयलाई चट्टै माया मारेकै हो त ?’ 

के आफूले असाध्यै माया गरेको कुराको माया मार्न सकिन्छ ? माया लागेको वा गरेको, अथवा त्यसलाई मिस गरेको नदेखाउनु भिन्दै कुरा हो । तर माया भन्ने कुरा मार्न कहाँ सकिन्छ र ? घियुले मलाई गरेको प्रश्न मेरा लागि कुनै नौलो कुरो पटक्कै थिएन । त्यो मैले आफैंले आफैंलाई पटकपटक गरिरहने प्रश्न थियो । अनि त्यो बेलाबेलामा मलाई भेटेको बेला दर्शकहरूले पनि सोधिरहने प्रश्न थियो । ठूलो पर्दामा त मैले कुनै तोप पड्काउन सकिनँ । अथवा पाइनँ भनौं । केही चलचित्रमा अर्थहीन भूमिकामा (पछि गएर अर्थहीन बने वा बनाइए भन्ने कुरा यहाँ गर्नुको कुनै औचित्य छैन) अनुहार देखाएको कुरामा के फुईं लडाउनु र ? हुन त टेलिभिजनमा पनि मैले अभिनय गरेकामध्ये केही औंलामा गन्न सकिने ‘आफ्नो कमाइ’, ‘आँखा’ र ‘अपुताली’ जस्ता फिल्महरू मात्र छन् । तर ती सबैमा मलाई गर्व छ । किनभने, भनिन्छ टेलिभिजनको परिचय क्षणिक हुन्छ । 

काँचको पर्दामा देखिने अनुहारहरू ‘आउट अफ साइट–आउट अफ माइन्ड’ हुन्छन् रे । केही समय देखिएनन् भने कुहिरो फाटेझैं बिलाएर जान्छन् । तर झन्डै तीन दशकपछि पनि केही दर्शकहरू अभिनेताको रूपमा मलाई यी तीन टेलिचलचित्रका कारण आक्कलझुक्कल सम्झिरहन्छन् । यसलाई म उनीहरूको ठूलै स्नेह मान्ने गर्छु । अभिनयकै नशाले तानेर यो क्षेत्रमा आएको मान्छे किन अभिनयबाट टाढा हुनुपर्‍यो भन्ने कुराको नालीबेली त मेरो संस्मरण पुस्तक ‘साइडहिरो’ मा लगाइसकेको छु । यहाँ त्यसलाई दोहार्‍याउनुको कुनै अर्थ छैन । 

अभिनयका कीटाणु बडो शक्तिशाली हुन्छन् । एकपटक मानिसको शरीरमा पसे भने ज्यान जाला निस्कँदैनन् । मानिसले बरु कुनै दिन एचआईभीको तोड पत्ता लगाउला, अभिनयका कीटाणु मार्ने ओखती आविष्कार हुँदैन । किनभने यी कुनै माइक्रोस्कोपमा देखिंदैनन् । मन र मगजको कुन कुनामा गएर लुकेर बसेका हुन्छन् भन्ने पनि थाहा हुँदैन । तर अब आएर म पहिलेजस्तो अर्थहीन भूमिकाहरूमा अनुहारै मात्र देखाउनका लागि अभिनय गर्न चाहन्नथें । यस अर्थमा मभित्रका अभिनयका प्लान्कटनहरूले सम्भवतः चाहिने न्यानो पाएका थिएनन् होला । त्यसैले बीचबीचमा आएका केही प्रस्तावहरू मैले विनम्रतापूर्वक नकारेको थिएँ । 

घियुले प्वाक्क सोधे, ‘शिल्पीको कुनै एउटा नाटकको अभिनय गर्ने दाइ ?’
मैले गम्भीर पाराले रंगमञ्चमा कहिले पनि काम गरेको थिइनँ । केही छोटा प्रहसन र एउटा अलि लामो हास्य नाटक गरेको हुँ । त्यो पनि सिमसिम राजाको पालामा । थियटरमा केही सार्थक काम गरौं भन्ने सुषुप्त चाहना नभएको कहाँ हो र ? घियु नाटकको प्रवर्द्धनमा कति दत्तचित्त भएर लागेका छन् भन्ने मलाई थाहा थियो । मैले भनें, ‘ह्वाई नट् ? तर के ?’
उनले मलाई तलदेखि माथिसम्म अलि फरक आँखाले हेर्दै भने, ‘म पारिजातको उपन्यास ‘शिरीषको फूल’ को नाट्य रूपान्तरण गर्न खोजिरहेको छु । के तपाईं सुयोगवीर बन्ने हो ?’
मैले सोच्दैनसोची भनें, ‘डन ।’ 
हाल सालै...
दुई वर्षअघिको त्यो योजनाले कारण विशेषले मूर्तरूप लिन पाइरहेको थिएन । तर म मानसिक रूपमा सुयोगवीर बनिसकेको थिएँ । शिरीषको फूल फेरि दुई–तीन पटक पढिसकेको थिएँ । त्यस्तैमा केही दिनअघि एक दिन उनको फोन आयो । ‘दाइ, सकिन्छ भने आजै, अहिल्यै, नभए भोलि बिहानै भेटौं । एकदम जरुरी कुरो छ ।’ 

मलाई थाहा थियो, उनी कुमार नगरकोटीको नाटक बाथटबका लागि नीर शाह, हरिहर शर्मा र भूषिता वशिष्ठको साथमा अभ्यासमा जुटिरहेका थिए । बाथ टबकै लागि मञ्चमा नदेखिने, तर सुनिने एउटा आवाज पात्रको रूपमा मैले आफ्नो स्वर रेकर्ड गरिसकेको थिएँ । जरुरी कुरा के हुन सक्छ होला भनेर म सोच्न थालें । घियुको स्वर अलि हतास थियो । भोलपल्ट बिहान भेट्दा उनले सानोतिनो सुतली बम पड्काए ।
‘दाइ, तपाईं बाथटबमा सिरियल किलर बन्नुपर्‍यो ।’ 

सिरियल किलर ? त्यो त बाथटबमा हरिहर शर्माले अभ्यास गरिरहेको भूमिका । घोषणा पनि भइसकेको र प्रदर्शनको मिति पनि तोकिइसकेको । नाट्य कला प्रतिष्ठानको उपकुलपतिका रूपमा अनायास नियुक्त भएपछि हरिहर शर्मालाई नाटकका लागि समय दिन गाह्रो हुने भएछ । त्यसैले घियु अब त्यो भूमिकामा विकल्प खोज्न वाध्य भएछन् । मलाई दोधार भयो । म त सुयोगवीरको रूपमा अभिनयमा पुनरागमन गर्न मानसिक रूपमा तयार भएर बसेको थिएँ । फेरि झन्डै डेढ महिना उनीहरूले अभ्यास गरिसकेको थिए । बीचमा घुसेर मैले भेट्टाउनपर्ने हुन्थ्यो । के म त्यो गर्न सक्छु ? मलाई थाहा थिएन । अनि हरिहर शर्मा नेपालको नाट्य जगत्का वरिष्ठतम कलाकार । उनको भूमिकामा अभिनय गर्न पाउनु भनेको त आफैंमा एउटा उत्सवसरह हुन्छ । तर के उनले गर्ने भनेर घोषणा भइसकेको भूमिकामा मलाई दर्शकहरूले स्वीकार गर्लान् ? मैले आफ्नो दोमन स्पष्टसँग भनें । घियुले मलाई ढाडस दिँदै भने, ‘तपाईंले सक्नुहुन्छ । मज्जाले भ्याइन्छ । बाँकी कुरा मेरो जिम्मा ।’ 

एक दिन सोच्ने समय मागेर म बिदा भएँ । यो मेरा लागि आफ्नो ‘लिमिट’ जाँच्ने मौका पनि थियो । एक दुई शुभचिन्तकहरूसंग सल्लाह मागें । सबैले एकमत भएर गर्न उत्साह थपे, ऊर्जा प्रदान गरे । तसर्थ मैले सिरियल किलर बन्ने निर्णय गरें । भोलिपल्टदेखि म अभ्यासमा जान थालें । मैले आफूलाई आकारहीन माटोको डल्ला बनाएको थिएँ । घियुलाई भनें, ‘जस्तो आकार बनाउने हो, तपाईंको हातमा ।’ 

सुरुका केही दिन मेरा लागि तनावमा बिते । नीर शाह र भूषिता झन्डैझन्डै तयार भइसकेको थिए । म पाण्डुलिपिमा आँखा गाडेर अभ्यास गरिरहन्थें । बेलुका घर पुगेर सुत्ने बेला सोच्थें, ‘भ्याइन्न । यति छोटो समयमा केही गरे पनि भ्याइन्न । भोलि बिहानै घियुलाई भनिदिन्छु । अर्को विकल्प खोज्न ।’ अनि म निश्चिन्त भएर निदाउँथें । तर बिहान उठ्दा आफ्नै मनले आफैंलाई भन्थ्यो, ‘किन नभ्याउनु ? यति पनि गर्न नसक्ने ?’ अनि उत्साहले ओतप्रोत भएर शिल्पी पुग्थें । बाँकी दुई अभिनेता आउनुभन्दा केही घण्टा अघि । नीर शाह र भूषिता बनेर मलाई साथ दिन्थे घियु र असीम । नीर शाह र भूषिताले पनि मलाई हुन सक्ने जति सहयोग गरे, अभिप्रेरित गरे । बेलाबेला चनाको झ्याङमा पनि चढाउँथे । म चढी पनि दिन्थें । पाँच–सात दिन बितेपछि बल्ल म चरित्रभित्र छिर्न थालें, अथवा चरित्र मभिक्र छिर्न थाल्यो मलाई थाहा छैन । स्त्रिप्ट नहेरी संवादहरू बोल्न सक्ने हुँदै गएँ शनैःशनैः । अनि त मलाई पनि रमाइलो पो लाग्न थाल्यो ।
यसरी सुयोगवीर सिरियल किलर बन्यो । म ताकिरहेथें मुढो, घियुले ताकिदिए घुँडो । 
माघ १०–२८, २०७५ अग्निपरीक्षा
पर्दा खुलेपछि मेरो दिमाग शून्य भयो । दर्शक, स्टेज, निर्देशक र सहअभिनेता सबै गौण भए । अलप भए । सिरियल किलर बाहेक कोही बाँकी रहेन । त्यसपछि माघ २८ गतेसम्म सिरियल किलर आफ्नो निर्धारित जिन्दगी बाँच्न थाल्यो । हरेक दिन ऊ निःशब्दशमशेरसँग आफ्नो नियति बदल्न अनुरोध गरिरहन्थ्यो । लेखक मरेकाटे मान्दैनथ्यो— ऊ थर्काइरहन्थ्यो । त्यसको झोकमा अनिद्रालाई आफ्नो मुक्ति आफैं खोज भनेर भड्काइरहन्थ्यो । अनिद्रा पनि निःशब्दशमशेरको निधारमा जोडेर मैले उसको हातमा थमाएको पेस्तोल पड्काइरहन्थी । यता सिरियल किलर हरेक दिन प्राइम मिनिस्टरको मर्डर गरिरहन्थ्यो । भन्नलाई त उसको जीवनको अन्तिम हत्या भनिएको थियो तर एक्काइसौं पटक ऊ एउटै मानिसको हत्या गरिरह्यो, एउटै नियति बाँचिरह्यो । 

हरेक दिन एउटै नाटक, एउटै भूमिका, एउटै सम्वादमा अभिनय गर्नु केही दिनपछि झिंजो लाग्ने त हुँदैन ? मलाई शंका लाग्थ्यो । किनभने यसै पनि कुनै काम लगातार गरिरहन नसक्ने दुर्गुण आफूमा छ भन्ने मलाई राम्ररी थाहा थियो । तर त्यसो नहुँदो रहेछ । एउटै नाटक पनि हरेक दिन भिन्नै हुँदोरहेछ । कहिले सहअभिनेताले प्वाक्क केही थपिदिन्छ, कहिले आफैंले चुस्स केही नयाँ गरिदियो । बिनाकुनै पूर्वनिर्धारित योजना तत्क्षण बेलाबेला आउने त्यस्ता ‘इम्प्रोभाइजेसन’ हरू कुनै गतिला हुन्थे, निर्देशक दंग । कुनै तात्तो न छारोका, निर्देशक ठुस्स । कहिलेकाहीं कसैले कुनै संवादै पालेर खाइदिने, अनि अर्कोले चतुर्‍याइँपूर्वक सम्झाइदिने । दर्शकलाई थाहा नै नहुने गरी । रंगमञ्चको यस्तै विशेषताले जति प्रदर्शन भए पनि नौलो बनाइदिने रहेछ । 

पात्र भने हरेक दिन, हरेक पल मनमगजमा कब्जा गरेर बसिरहँदा मलाई यस्तो लाग्थ्यो, म ‘मल्टिपल साइकोलोजिकल डिसअर्डर’ को सिकार भएको छु । मभित्र म मात्रै हैन, सिरियल किलर पनि बाँचिरहेको छ । कुन बेला उसले मलाई गौण बनाउँछ, ममाथि हावी भैदिन्छ भन्ने थाहा पनि नहुने । यही दुई पात्र र चरित्रमा यता र यति गर्दागर्दै नाटकको प्रदर्शन सकिने दिन आयो ।
अन्तिम प्रदर्शन पनि सकियो । 
'एपिलोग’
भोलिपल्ट बिहान ब्युझँदा पनि सिरियल किलर मैसँग थियो । दिनभरि त ठीकै थियो, अपराह्नदेखि ऊ छटपटाउन थाल्यो । किनभने उसले मलाई टेक ओभर गर्ने समय भएको थियो । तर अब त शिल्पीको थियटर पनि थिएन, दर्शकहरू पनि थिएनन् । न निःशब्दशमशेर थियो, न अनिद्रा । ऊ, आक्रान्त हुन्थ्यो । उसको छटपटीले मलाई पनि बिथोल्न थाल्यो । ओहो, आफूभित्र पालेको अर्को चरित्र त कुनै असाध्य रोगको ब्याक्टेरियासरह पो हुँदोरहेछ । आफूले चाहेर त्यसलाई कहाँ हटाउन सकिँदो रहेछ ? म कुन डाक्टरकहाँ जाऊँ, के ओखती खाऊँ ? झन्डै महिना दिन यही अन्योलमा बित्यो । अनि मात्र सिरियल किलरको छटपटी बिस्तारैबिस्तारै कम हुन थाल्यो । ऊ कमजोर हुन थाल्यो । अनि बल्ल एक दिन सिरियल किलर हरायो । नढाँटी भनौं भने म बेलाबेला उसलाई सम्झिन्छु, मिस पनि गर्छु । तर ऊ सायद शून्यमा शून्यसरी बिलाइगयो । विराट शून्यमा ।
जोगी बन्न चाहन्थ्यो, कतै हिमालयतिर तपस्या पो गर्दै छ कि ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment