Tuesday, June 18, 2019

महिष मांसपिण्ड महिमा

‘ए  थाहा पाइस् एउटा नयाँ कुरा ?’
केही दिनअघि फोनमा मेरो एउटा साथीले सोध्यो । उसको स्वर निकै उत्तेजित थियो । पक्कै केही ठूलै समाचार हुनुपथ्र्यो । हुन त आजकाल हातैमा भएको फोन र त्यसमा भएका विभिन्न सामाजिक सञ्जालका कारण महत्वपूर्ण समाचार तुरुन्तै थाहा हुन्छ । तर, त्यतिवेला न मेरो ट्विटर, न फेसबुकको कुनै सन्देश टुँ–टुँ गरेको थियो । त्यसैले मैले अचम्म मान्दै सोधेँ, 
‘के भयो ?’
उसले एकै सासमा भट्यायो,
‘किरण दाइ छुट्टिएछन् नि ! नयाँ व्यापार सुरु गरे 
रे आफ्नै ।’
उसको स्वरमा भएको गम्भीरताको पुट सुन्दा यस्तो लाग्थ्यो, मानौँ अम्बानी दाजुभाइपछि कुनै ठूलो व्यापारिक घरानामा फुट आएको यही हो । उसै त रसातलमा पुगेको सेयरबजार अब त ध्वस्तै हुनेभयो भन्नेजस्तो गरी ऊ मलाई त्यो खबर सुनाइरहेको थियो । म अझै अलमल्ल परेँ र सोधेँ,
‘किरण दाइ, को किरण दाइ ?’
उसले लामो सास फेरेर भन्यो,
‘गौशाला ओरालोको मासांगल्ली ममचा पसलको किरण दाइ क्या । नारायणदाइको दाइको छोरा हो कि नाति । त्यहाँबाट छुट्टिएर पर मैतीदेवी जाने मोडअगाडि नयाँ पसल खोलेका छन् रे । त्यहाँको ममचा त झनै गज्जब छ रे । जाने हैन बजाउन ?’ तपाईंहरूलाई ‘ह्या...के–के न होला भनेका त ममचा पसलको पो कुरा रहेछ’ भन्ने लाग्यो होला । त्यसो हो भने, तपाईं ममचाको पारखी होइन, जुन सम्भावना निकै कम छ । किनभने बरू एउटा किड्नी नभएको नेपाली हुन सक्छ, ममचा र राजनीतिमा रुचि नभएको नेपाली पाउन दुईसिंगे गैँडाजत्तिकै दुर्लभ छ । हुन पनि हो– यो श्वेत, स्निग्ध, सुन्दर र स्वादिलो डल्ला हाम्रो जीवनको अभिन्न अंग भइसक्यो ।

ममचा खानुलाई हामी टेबुलटेनिस खेल्ने, स्नुकर हान्ने, डल्ला गुडाउने र महिष मांसपिण्ड सेवन गर्नेजस्ता थरीथरी नामले पनि चिन्छौँ । हामीमध्ये अधिकांशको खाजा त यही नै हो । हुँदा–हुँदा कतिसम्म भने कफीसप पनि ममचाको आइटम नराखी नचल्ने अवस्था आइसकेको छ । पहिले–पहिले सानातिना पसलमा मात्र हुने झोल ममचाचालाई आजकाल ठूला र गतिला रेस्टुरेन्टले समेत आफ्नो पहिचान बनाइसकेका छन् । ममचा खाना मात्र होइन, अरू धेरै कुरासँग गाँसिइसकेको छ । कसैले नयाँ ठाउँमा मीठो ममचाको वर्णन सुनायो भने त्यो जति टाढा भए पनि त्यसको नाममा आन्तरिक पर्यटन गर्न साथीभाइ तयार हुन्छन् । तपाईंले हेक्का गर्नुभएको छ, समूहमा कसैले कुनै एक ठाउँको ममचाको वर्णन ग-यो भने, कुनै न कुनैले भनेकै हुन्छ,‘ए, उसो भए तैँले फलानो–फलानो ठाउँको ममचा त चाखेकै रहेनछस् ।’
त्यो भन्ने मान्छेको स्वर सुन्दा यस्तो लाग्छ, मानौँ उसले भनेको ठाउँको ममचा नचाख्नेको आधा जिन्दगी त खेरै गएको हो । अनि त्यो फलानो ठाउँको ममचा भनेको महापाल र गाबहालको गल्लीभित्र एउटी साहुनीले बनाउने हुन सक्छ, काष्ठमण्डपबाट वसन्तपुर जाने सानो गल्लीमा एकजना बूढा मानिसले बनाउने हुन सक्छ, आकाशभैरवमुनिको गल्लीमा बाक्लो लेदो तिलको अचारसँग दिने हुन सक्छ, वा बौद्धको कुनै ‘होटेल’मा एक प्लेटमा चारवटा अटाउने ढड्डु ममचा हुन सक्छ । जुनै पनि टोलमा जस्तोसुकै ठाउँमा, जस्तोसुकै स्तरको ममचा पसल खोलेको भए पनि त्यहाँ कोही न कोही बसेर ममचा चपाइरहेकै हुन्छ ।
ग्राहक कुरेर बस्ने सम्भवतः कुनै ममचा पसल हुँदैन । मानिसहरू कहीँको खुला ममचा, कतैको झानेको ममचा, कहीँको फुराएको त कहीँको हरियो, रातो, बैजनी र पहेँलो रङको ममचाको बारे पनि जानकार हुन्छन् । बोसोरहित, बोसोसहित, गोलो, लाम्चो, तिनकुने, चारकुने र षट्कोणलगायतका कुनै आकार–प्रकार छैनन् जसलाई ममचामा प्रयोग गरिएको नहोस् । कोथे, फ्राइड, सी मःमः जे भने पनि खासमा त्यो ममचा नै हो । भनाइको अर्थ के हो भने, यो काठमाडाै‌ खाडलभित्र भएका अनगिन्ती त्यस्ता ममचा पसल, जसको आफ्नै केही विशिष्ट पहिचान वा स्वाद हुन्छ, एउटै मानिसले थाहा पाउने भनेको सम्भव नै हुँदैन । त्यसैले मजस्ता ममचा पारखी त हरेक दिन नभए पनि हरेक हप्ता एउटा नयाँ ममचा पसलको कोलम्बस बनिरहेका हुन्छौँ । ममचा र बालसखा हौँ । हाम्रो मित्रता निकै पुरानो हो । त्यसदिन साथीको त्यो नयाँ खोजले मलाई ममचासँगको पहिलो भेटको सम्झना गरायो जसलाई आजकाल प्रेमपूर्वक नाम छोट्याएर मःम मात्र भनिन्छ । 
०००
ममचाले काठमाडौंमा आफ्नो दह्रो उपस्थिति जनाउन थालेको थियो । त्यतिवेला मासांगल्ली भन्ने ठाउँ ममचाका लागि प्रख्यात भइरहेको थियो । ममचा कस्तो हुन्छ भन्ने त मलाई थाहा थिएन, तर मैले अरूबाट सुनेअनुसार, त्योभन्दा मीठो खाने कुरा अरू केही हुनै सक्दैनथ्यो । कस्तो होला त्यसको स्वाद भनेर म निकै कल्पिन्थेँ । तर पनि, मासांगल्ली गएर ममचा चाख्नु भनेको मेरा लागि एउटा स्वप्न मात्र थियो । किनभने म साह्रै केटाकेटी भएको हुनाले न मलाई त्यसरी मासांगल्ली जाने छुट थियो, न गोजीमा सुक्कोदाम हुन्थ्यो । एकदिन मभन्दा निकै ठूला एकजना दाइले के खुसियालीमा हो, मलाई ममचा चखाउँछु भनेर लगे । म उनको चोरऔँला समातेर दंगदास हुँदै सँगसँगै लागेँ । त्रिपुरेश्वरबाट सुन्धारा, खिचापोखरी, नयाँ सडक र इन्द्रचोक हुँदै उनले मलाई असनतिर डो-याइरहेका थिए । म उत्साहित भएर बुर्लुकबुर्लुक उफ्रिँदै हिँडिरहेको थिएँ । असन नपुग्दै बीचको एउटा गल्लीमा उनले बाँकटे हाने । अब हामी मासांगल्लीमा थियौँ । 
त्यो साँघुरो गल्लीको दाहिनेतिर एउटा पसल थियो । त्यहाँ ममचा खानेहरूको अपार भिड थियो । मैले देखेँ, एउटा अजंगको मट्टितेलको दम दिने स्टोभमाथि एउटा त्यत्तिकै अजंगको सिलभरको भाँडो बसालिएको छ । त्यसलाई त्यत्रै ढक्कनले छोपिएको छ । ढक्कनको चेपबाट तात्तातो बाफ उडिरहेको छ । सबै मानिस आफ्ना लोलुप आँखा त्यही भाँडोमा गाडेर घुटुघुटु थुक निलेर हेरिरहेका छन् । एकजना मान्छे वेलावेला साइकलमा हावा हाल्ने पम्पुले मच्चीमच्ची स्टोभमा दम दिइरहेको छ र आगोको भ्यारभ्यार आवाज निकै ठूलो सुनिइरहेको छ ।
यही आवाजबाट कालान्तरमा त्यस प्रकारका ममचालाई भ्यारभ्यारे भन्ने नामकरण भएको हो । म पनि अरूसरह चामत्कारिक भएर त्यो भाँडो हेर्न थालेँ । त्यहाँ ममचा भन्ने जिनिस पाकिरहेको छ भन्ने मैले बुझिसकेको थिएँ । म कुन वेला खान पाइएला भनेर -याल चुहाउन थालिसकेको थिएँ । दाइले पसले साहुजीलाई पैसा दिए । साहुजीले दाइलाई एउटा कागजको टुक्रा दिए । त्यसमा कुनै नम्बर लेखिएको थियो । दाइ मलाई आएकै बाटो घिच्याउँदै भन्न थाले,
‘ल हिँड् ।’
मैले जिल्ल पर्दै रुन्चे स्वरमा सोधेँ,
‘ममचा खाने भनेको हैन त दाइ ?’
उनले हाँस्दै भने,
‘हो हो, खाने हो । पैसा तिरेर कुपन लिएको देखिनस् ? भन्दाभन्दै कहाँ खान पाइन्छ र ? हाम्रो पालो आउन केही नभए पनि डेढ घन्टा लाग्छ । त्यतिन्जेल न्युरोड घुम्ने हो ।’
ओहो ! ममचा खान त्यत्रो बेर पो कुर्नुपर्ने रहेछ । तर, के गर्न सकिन्थ्यो र ! दाइले मलाई निरुद्देश्य असनदेखि न्युरोड घुमाइरहे । मेरो ध्यानचाहिँ ममचामै अड्केको थियो । त्यस्तो वेला घडीको सुई पनि निकै ढिलो घुम्दो रहेछ । 
बल्लबल्ल निकैबेर भौँतारिएर हामी फेरि मासांगल्ली पुग्यौँ । केही समयको प्रतीक्षापछि अन्ततः ढक्कन खुल्यो । सबैको अनुहार धपक्कै उज्यालो भयो । भाँडोबाट एकप्रकारको मीठो बास्ना हरर्र गर्दैे वातावरणमा फैलियो र हाम्रो नाकमा ठोक्कियो । मैले घाँटी तन्काएर, खुट्टा उचालेर हेरें । तातो बाफको बीचमा सेतासेता डल्ला बडो मनमोहक देखिए । यस्तो लाग्थ्यो घना कुहिरोको बीचबाट हिमालका थुम्का चिहाइरहेका हुन् । ती सेता डल्ला देख्दा मलाई कुनै कट्टर धर्मावलम्बीले लामो पदयात्रा गरेर कैलाश पर्वत देखेजस्तो भएको थियो ।
साहुजीले ठूलो आवाजमा पहिलो कुपन नम्बर कराए । भिडबाट एउटा मानिस बम्पर चिट्ठा जितेसरह ठूलो 
स्वरमा करायो,
‘मेरो.........।’ 
अनि ऊ अरूलाई कुहिनाले ठेल्दै अघि बढ्यो । म उसैलाई हेरिरहेको थिएँ । प्लेटभरि ममचा लिएपछि उसले कुनामा भएको ठूलो भाँडोबाट आफ्नो प्लेटमा टिलपिल पारेर झोल अचार खन्यायो, अनि एउटा कुनामा बसेर तातोतातो ममचाको डल्लो क्वाप्प मुखमा हाल्यो । उसलाई सायद तातोले पोल्यो क्यार, उसले मुुख खोलेर हा...हा... गरेर तातो वाफ बाहिर निकाल्यो । तर, उसको अनुहारमा परमसन्तुष्टिको भाव थियो । मलाई त्यो देखेर अझै हतार हुन थाल्यो । केहीबेरपछि हाम्रो कुपन नम्बर घोषणा भयो । दाइले गएर एउटा प्लेटमा दशवटा र अर्को प्लेटमा पाँचवटा ममचा हालेर ल्याए । उनले भने,‘तँ फुच्चे छस् । तँलाई हाफ प्लेट मात्र । पचाउन सक्दैनस् । छेरपाटी लाग्छ ।’
म दंग परेँ । आधै प्लेट सही, अन्ततोगत्वा मैले पनि ममचा खाने भएँ । अरू कसैले लुट्ला भनेझैँ हतार गर्दै मैले एउटा ममचा क्वाप्प मुखमा हालेँ । ममचाबाट एक किसिमको स्वादिलो पदार्थ पिच्च निस्क्यो । त्यसको तातोले मेरो मुखको माथिल्लो भागमा च्वास्स पोल्यो र त्यहाँको मिहिन छालामा पानीफोका उठायो । तर, पीठोमा बेरिएको मासुको डल्लाको त्यो तातो रसमा एउटा यस्तो गज्जबको स्वाद थियो, त्यसले गर्दा त्यो पोलाइमा कुनै ध्यानै गएन । मैले चौथो ममचा उग्र्याइरहँदा अभ्यस्त भइसकेका दाइले आफ्नो प्लेटको दशैवटा डल्ला निलिसकेका थिए । उनले चीलले चल्ला टिपेजसरी मेरो प्लेटको पाँचौ ममचालाई उठाएर आफ्नो मुखमा हाले ।
 फर्किने वेला उनले मलाई भने, ‘ममचा खाएको भनेर घरमा चाहिँ कसैलाई नभन्नू नि । हजुरआमाले थाहा पाउनुभयो भने हामीलाई जीवनभर भान्छामा छिर्न दिनुहुन्न ।’मैले निर्दोष पाराले सोधेँ, ‘किन र दाइ ?’‘किनभने यो ठूलो खसीको मासुले बनेको हुन्छ ।’मैले पहिलोपटक ठूलो खसी खाएको थिएँ । म घर फर्कंदा सोच्दै थिएँ, यति मीठो हुँदोरहेछ ठूलो खसी । हाम्रो घरमा किन खान नहुने भनेका होलान् ? जे होस्, त्यस दिन गाँसिएको मेरो र ममचाको सम्बन्ध क्रमशः घनिष्ट हुँदै गयो । अल्लारे उमेरमा पुग्दा समान रुचि राख्ने १६ जना ममचा पारखी साथीहरूको हाम्रो एउटा घिच्चक झुन्ड नै बनेको थियो । आठवटा भटभटेमा हामी बराल्लिन्थ्यौँ ।
महाराजगन्जमा हालको नारायणगोपाल चोकबाट बाँसबारीतिर जाने बाटोमा देब्रेपट्टि एउटा प्रख्यात ममचा पसल थियो । हप्ताको कम्तीमा दुई चक्कर त हाम्रो त्यहाँ लाग्थ्यो । सबै ढुंगा खाएर पचाउने उमेरका थियौँ । एकजनाले तीन प्लेट ममचा नेताहरूले कमिसन खाएको भन्दा सजिलोसँग खाएर पचाउन सक्थ्यौँ । तसर्थ हामी त्यहाँ गएर बस्नासाथ हाम्रो पहिलो अर्डर हुन्थ्यो, ‘साहुजी, ४८ प्लेट ।’
अलि भोकाएर गएको वेलामा त त्यो नम्बर ६४ पनि पुग्थ्यो । वरपरका मानिसहरू हामीलाई अचम्म मानेर हेर्थे । हामी छिरेपछि त्यो ममचा पसल सलह पसेको खेत र असार मसान्तको बजेटजस्तो हुन्थ्यो । त्यो पसल अहिले पनि त्यहीँ छ । तर, बाटो फराकिलो बनाउने क्रममा पटक–पटक ताछिएर एकपटकमा मुस्किलले सात–आठजना मात्र अटाउने भएको छ ।
अल्लारे उमेरमा समान रुचि राख्ने १६ जना ममचा पारखी साथीहरूको हाम्रो एउटा घिच्चक झुन्ड नै बनेको थियो । एकजनाले तीन प्लेट ममचा नेताहरूले कमिसन खाएभन्दा सजिलोसँग खाएर पचाउन सक्थ्यौँ । तसर्थ, हामी त्यहाँ गएर बस्नासाथ हाम्रो पहिलो अर्डर हुन्थ्यो, ‘साहुजी, ४८ प्लेट ।’ भोकाएर गएका वेला त्यो नम्बर ६४ पनि पुग्थ्यो ।

त्यसैले साथीबाट फोनमा किरण दाइको नयाँ ममचा पसलको कुरा सुन्नासाथ जिब्रोमुनि अवस्थित मेरा स्वादका ग्रन्थी ओभरटाइममा सक्रिय हुन थालिहाले । त्यही वेला मलाई झलक्क एउटा अर्को कुरा सम्झना भयो । मैले बफ खान छाडेको अलि समय भएको थियो । त्यसको एउटै कारण थियो, काठमाडांैमा राँगाको मासुको कटाइ र ढुवानीको अव्यवस्थित र असावधान तौरतरिका । हुन त राँगाका मासुलाई रिक्सामा, खेत जोत्ने ट्र्याक्टरमा, साइकलमा र खर्पनमा ओसार–पसार गरेको त केटाकेटी हुँदाखेरि नै पनि देखेको हो । तर, पनि ममचाको स्वादले अरू सबै कुरालाई यसरी जितेको हुन्थ्यो, त्यसलाई वास्ता गरिन्नथ्यो । 
हामी नेपालीको पाचनशक्ति संसारका अरू कुनै पनि मानिसको भन्दा तगडा छ, कुइरे पो आउँ मात्रै परे पनि मर्छ भनेर ठूलाबडाहरूले दिव्य ज्ञान दिएकै थिए । त्यत्रो आगोमा भ्यारभ्यार पारेर बफ्याएपछि कुनै किटाणु कहाँ ज्युँदो रहन सक्छ भनेर मन भुलाउनका लागि तर्क गर्दै जहाँ–जस्तो ठाउँमा भेटे पनि ममचा छोडिन्नथ्यो । तर, एकपटक कुनै टिभीमा स्याउँस्याउँ किरा सल्बलाएका बासी मासु ओसारपसारको दृश्य नै देखेपछि मनले नमानेर मैले बफ ममचा खान छाडेको थिएँ । तर, नढाँटी भन्नुपर्दा वेला–वेलामा केही विशेष स्थानका भ्यारभ्यारे ममचा सम्झिँदाचाहिँ बडो सकस हुन्थ्यो । अब किरण दाइको नयाँ ममचा पसलको कुरा सुनेपछि मेरो अडान भनेकोजति मन्त्री नपाएर गठबन्धनको सरकारलाई च्याँखे दलले दिएको समर्थनजस्तै धर्मराउन थाल्यो । मलाई दोधार हुन थाल्यो, स्थायित्व कायम राख्ने कि सरकार ढाल्ने त ?
आफूलाई कुनै कुरा गर्न मन लागेको छ भने त्यसका लागि सुहाउँदा तर्क खोज्न मानिस यसै पनि खप्पीस प्रजाति हो । म पनि त्यसै गर्न थालेँ । मैले आफूलाई सम्झाएँ, कुनै एक व्यवसायीले कुनै एक ठाउँमा हेलचेक्र्याइँ ग-यो भन्दैमा सबै बफ ममचालाई बहिष्कार गर्नु त आफैँमाथि अन्याय हो । हुन त बजारमा चिकन, मटन, पोर्क वा पनिर ममचाजस्ता विकल्प नभएका होइनन् । तर, विश्वास गर्नुस्, ममचाको असली स्वाद भनेको नै स्थानीय साधारण पसलका भ्यारभ्यारे बफ ममचामा नै हुन्छ । त्यसै त्यसले वर्षौंदेखि एकछत्र राज गरेको होइन । अरू ममचा खानु भनेको त औपचारिकता पूरा गरेजस्तो मात्र हो ।
सिंगल माल्ट ह्विस्कीमा गिलासको माथिसम्म पानी भरेर खाएसरह हो । अझ झनै भेज ममचा भनेको त अनुहार फेरेको समोसा हो । झनै किरण दाइका पुर्खा त मासांगल्लीबाट ममचाको ख्याति विस्तार गर्नेहरू थिए । महिष मांसपिण्डका लागि यति धेरै तर्क गरिसकेपछि अन्ततः मैले आफ्नो मनलाई जितेरै छाडेँ । अनि मुखमा आएको पानी घुटुक्क निलेर साथीलाई भनेँ, ‘शुभकार्यमा किन ढिला गर्नु ? आजै गएर बजाऊँ न त । कसो ?’

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment