Tuesday, June 18, 2019

जोर महादेवको जोर नचल्दा

काठमाडौँ —  सन् १९७५  । चलचित्र शोलेले भारतमा ‘धुम मच्चाएको’ थियो  ।


जापानी निर्देशक अकिरा कुरोसावाको ‘सेभन सामुराई’ बाट प्रभावित भए पनि ‘शोले’ ले भारतमा त्यतिबेला बनिरहेका सिनेमाहरूको धारलाई नयाँ दिशा दिन सफल भएको थियो । पहिले असफल भयो भन्ठानिएको ‘शोले’ ले बिस्तारै–बिस्तारै दर्शकहरूको मन जित्न थाल्यो । अन्नतः ‘शोले’ हिन्दी सिनेमामा एउटा विशिष्ट स्थान ओगट्न सफल भयो । 

त्यसपछि ‘शोले’ ले अनेकौं किंवदन्ती र विभिन्न मानकहरू स्थापना गर्न थाल्यो । अनि ती एक कान दुई कान मैदान हुँदै सन् ७७ सम्ममा त काठमाडौं पनि आइपुगेका थिए । अहिलेको जस्तो द्रुत सूचना र प्रविधि त्यतिबेला भएको भए रातारातै आइपुग्थे होला । ती उडन्ते हल्लाहरूमध्ये कति सही हुन्थे, कति अलिअलि फूलबुट्टा भरिएका भने कति त एउटाले अर्कोलाई सुनाउँदा आफ्नो उर्वर कल्पनाशीलताको प्रयोग गरी अर्कै बनाइएका हुन्थे । पाँच कक्षामा पढ्ने म भुरोलाई तिनले रोमाञ्चित बनाउनु नौलो कुरा कहाँ थियो र ? फलतः त्यतिबेला पेलेका किंवदन्तीजस्तै ‘शोले’ का पनि नयाँ–नयाँ र चामत्कारिक किस्साहरू सुन्न पाइन्थ्यो । 


हाम्रो घरअगाडि डेरा गरेर बस्ने एक भारतीय व्यापारीले त्यहीताका ‘शोले’ का संवादहरूको तीन भाग क्यासेट ल्याइदिएका थिए । म शोलेको क्यासेट सुन्दासुन्दा त्यसको पंखा मात्र नभई वातानूकूलित यन्त्र नै भइसकेको थिएँ । नेपाली चलचित्रहरू हेलीका पुच्छ्रेतारा हुने त्यो बेलामा काठमाडौंवासीहरूको तिर्खा हिन्दी सिनेमाले नै मेटाउँथे । तर यहाँ नयाँ चलचित्रहरू आउँदैनथे । शोले त झनै त्यतिबेलाको मेलम्ची नै भइहाल्यो । किनभने, धर्मेन्द्रले खेलेका सिनेमाहरू काठमाडौंमा अघोषित रूपमा प्रतिबन्धित थिए । 

कुनै बेला कतै उनले ‘नेपाली लोग कुत्ते हैं’ भन्ने अपमानजनक अभिव्यक्ति दिएका थिए रे ! त्यही हल्लाका कारण उनले अभिनय गरेका सिनेमा लगायो भने हल जलाइन्छ भनिन्थ्यो । हुन त त्यो अभिव्यक्ति कसैले सुनेको पनि थाहा थिएन । हल कसले जलाउने भन्ने पनि थाहा थिएन । तैपनि कसैले त्यसको व्यावहारिक जाँच गरेन किनभने त्यो तथ्य पत्ता लगाउन हलको जुवा खेल्ने कसैको हिम्मत थिएन । हाम्रो राष्ट्रवाद यति दोहोरो धरातलमा उभिएको थियो कि त्यतिबेला शोले रक्सौलमा लागेको बेला यहाँबाट जुझारु र देशभक्त युवाहरू बसमा मात्र हैन, ट्रक–ट्रकमा चढेर शोले हेर्न पुगेका थिए । हाम्रै घर छेउकी एक वृद्धा आफ्नो छोरा रक्सौल गएको थाहा पाएर मूर्च्छा परेकी थिइन् । फर्केर आएका ती शूरवीरहरूले सुनाएको शोले महिमा सुनेर हिम्मत नभएका लाछीहरू चुकचुक गर्थे । 

म पढ्ने विद्यालयका संस्थापक प्रधानाध्यापक श्री सत्यनारायणबहादुर श्रेष्ठ अलि घुमाउरो पाराले मेरी माताश्रीको माइतीतिरको नाताले मेरा ठूलाबा पर्थे रे । उनी निकै अनुशासनप्रिय र कडा प्रधानाध्यापक थिए । विद्यार्थीहरूका लागि कालान्तरमा त्यो अनुशासन फलदायी हुने भए पनि त्यतिबेला उनी सबैका लागि गब्बर सिंहभन्दा कम खतरनाक थिएनन् । उनले पढाउने अंग्रेजी कक्षामा सियो खसेको आवाज पनि ‘बाह्र बजेको तोपजस्तो’ सुनिन्थ्यो । उनको देब्रे हातको बाघझापु त्यतिबेला ‘वर्ल्ड फेमस’ थियो । बदमासी गर्ने विद्यार्थीको गालामा त्यो झापु अमेरिकाले लादेनका लागि गरेको सर्जिकल स्ट्राइकभन्दा गुप्त र द्रुत गतिमा बजारिन्थ्यो । त्यसैले उनलाई मुखेन्जिल सबै विद्यार्थीले डरले हेडसर तर ढाडपछाडि दाह्रा किटेर बूढा भन्थे । हेडसर विद्यालयको कम्पाउन्डमा कतै पनि रहुन्जेल सबै विद्यार्थी सतर्क रहन्थे । म पनि अरू विद्यार्थीसरह उनीसँग छुलछुल हुन्थें । उनले कहिल्यै पनि हाम्रो नाताको कारण अरूलाई भन्दा मलाई कुनै सहुलियत दिंदैनथे । उनी कुनै कामले आफ्नो फक्सवागन गाडीमा बाहिर गए भने उनी नफर्कुन्जेलको समय विद्यार्थीहरूको लागि २६ जनवरी हुन्थ्यो । 

त्यो साल जाडोको छुट्टीमा बनारस घुम्न जाने कार्यक्रम बन्दा ठूली आमाले मेरी माताश्रीलाई पनि सँगै जाने प्रस्ताव राखिछन् । म पनि पुच्छर लागेर जान पाउने भएँ । पहिलो पटक देशबाहिर जान पाउने कुराले म रोमाञ्चित भए पनि मलाई एक किसिमको डर लागिरहेको थियो । हेड सरजस्तो त्यति नीरस र कडा मान्छेसँग घुम्न जाँदा के रमाइलो होला र ! यात्रामा हिँडेपछि भने मैले हेडसरको अर्को रूपसँग साक्षात्कार गर्न पाएँ । उनी फरासिलो र मायालु पनि रहेछन् । चुट्किला सुनाउने र गीत गाउने हेडसरलाई भेट्दा मलाई बडो रमाइलो लागेको थियो । 

बनारसको अरू कुरा त मलाई खासै सम्झना छैन । एक दिन बिहान म होटलमा भएको एउटा दैनिक स्थानीय पत्रिका पल्टाउँदै थिएँ । अचानक मेरो आँखा विज्ञापनको पृष्ठको एउटा कुनामा अड्कियो । त्यहाँ छापिएको कुरा देखेर म खुसीले बुर्लुक्कै उफ्रिएँ । मलाई त अलीबाबाले चालीस चोरको खजानाको द्वार भेटेको जस्तै भयो । बनारसको कुनै एउटा सिनेमा भवनमा ‘शोले’ चलिरहेको रहेछ । यसरी बनारस जान जुर्नु र त्यहाँ ‘शोले’ चलिरहेको हुनुमा कुनै दैवी शक्तिकै चमत्कार हो भन्ने मैले ठहर गरेको थिएँ । मलाई आफ्नो भाग्यमा विश्वासै लागेन । क्यासेटमा आवाज मात्रै सुन्दा पनि त्यति रोमाञ्च हुने सिनेमा जीवनमा एक पटक जसरी भए पनि हेर्न पाऊ भनेर मैले मनमनै टोलको महादेवसँग धेरै पटक गुहार मागेको थिएँ । काशी पनि महादेवकै लागि प्रख्यात तीर्थ हो भन्ने मलाई थाहा थियो । मलाई लाग्यो, पक्कै पनि हाम्रो टोलका महादेवले बनारसका महादेवलाई मेरो सिफारिस गरिदिएको हुनुपर्छ । त्यसैले यो अवसर जुरेको हो । मैले दुवै महादेवलाई हृदयको गहिराइदेखि नै आभार व्यक्त गरें । 

एउटै समस्याचाहिँ के भने, हामीसँग बनारसमा त्यही एक दिन मात्र बाँकी थियो । त्यसैले मैले ठूलाबडाहरूसँग जसरी भए पनि ‘शोले’ हेरौं भन्ने अनुनय गरें । तर, मेरो सपनामाथि नसोचेको कुठाराघात भयो । दुई दुई महादेवले मिलेर जुराएको त्यस संयोगमा पनि केही आसुरिक तत्त्वहरूले बिघ्न उत्पन्न गरे । अहिरावण र महिरावण जसरी मेरो सपनामा कुठाराघात गर्ने दुई प्राणी थिए, राजेश खन्ना र मेरी माताश्री । राजेश खन्नाको नयाँ सिनेमा पनि बनारसमा चलिरहेको रहेछ । त्यसको नाम थियो ‘मेहबुबा’ । मेरी माताश्री राजेश खन्ना भनेपछि हुरुक्कै ! कतिसम्म भने कसैले राजेश खन्नाबारे केही नराम्रो टिप्पणी गर्‍यो भने उनी त्यससँग चर्चरी बाझ्नसमेत पछि पर्दैनथिइन् । उनलाई तकियामुनि राजेश खन्नाको तस्बिर राखेर निदाउँछिन् भनेरसम्म अरूले जिस्काएको मैले सुनेको थिएँ । त्यसैले माताश्रीको रोजाइमा पर्‍यो ‘मेहबुबा’ । 

अब त्यहाँ माता र पुत्रबीचमै द्वन्द्व हुने अवस्था सिर्जना भयो । उनी ‘मेहबुबा’ हेर्न लालायित, उनको सुपुत्र ‘शोले’ नहेरी नमान्ने । माता र पुत्रको बीचमा ठूलै शास्त्रार्थ भयो । आफ्नो त्यतिबेलाको तर्कशक्ति र विवेकले भ्याउनेसम्म मैले शोलेको वकालत गरें । त्यसको कुनै सकारात्मक परिणाम नआएपछि मैले रुने, कराउने, घुर्की लगाउने, गर्धन फुलाउने र मौन व्रत लिनेसम्मका हतियार प्रयोग गरें । अन्ततः म त्यस दिन बिहान खाना खाने बेलामा एक छाकका लागि गोविन्द केसी पनि बनें । मैले जानेसम्मका जति सबै साम, दाम, दण्ड, भेद लगाएँ । अनारकलीका लागि अकबर र सलिम के लडेका थिए होलान्, माता र पुत्रको त्योभन्दा ठूलो लडाइँ भयो । ओलीले सीके राउतलाई मूलधारमा ल्याउन त्यति प्रयास के गरे होला, जति प्रयास मैले त्यतिबेला आफ्नी माताश्रीलाई मेहबुबाको साटो शोले हेर्न राजी गराउन गरें । 

माताश्री राजेश खन्नालाई धोका दिन मरेकाटे तयार भइनन् । उनी कुनै दुई तिहाइको सरकार जसरी आफ्नो हठबाट डेग चलिनन् । केही नलागेपछि उनले हेड सरको सहारा लिइन् । हेडसरले आफ्नी सालीको पक्ष नलिने कुरै भएन । उनले ‘शोले’ चलेको हल निकै टाढा भएकाले जान सम्भव छैन भन्ने घैंटे हानेर मलाई चुप लगाए । मलाई थाहा थियो त्यो कुरा जनमत र जनअभिमत जत्तिकै विवादास्पद थियो तर उनको देब्रे हातको सर्जिकल स्ट्राइक सम्झेर म मौन रहें । आमाको जित भयो, छोरा हार्‍यो । 

अन्ततः म दसैंको बेला खाद्य संस्थानको च्याङ्ग्रा जसरी घिच्याइँदै बनारसको कुनै सिनेमा भवनमा ‘मेहबुबा’ हेर्न पुगें । मलाई त्यसबेलाको अरू कुरा राम्ररी हेक्का नभए पनि त्यो हलको माथि जाने भर्‍याङमा भएको काठको रेलिङ अझै सम्झना छ । भीडका कारण हामी निकै बेर त्यहाँ उभिन परेको थियो । त्यसबेला मैले कुनै साह्रो वस्तुले त्यो रेलिङको मुठमा आफ्नो नाम खोपिदिएको थिएँ । पछि कुनै दिन फेरि बनारस आइएछ भने आफ्नो त्यो अशोकस्तम्भ र कीर्ति कायम छ कि छैन हेर्नुपर्ला भन्ने मैले सोचेको थिएँ । त्यसपछि आजसम्म कहिले पनि बनारस जाने साइत जुरेको छैन । त्यो हल, जसको मलाई नामसमेत सम्झना छैन अब त के बाँकी होला ? 

निकै पछिसम्म पनि बनारस पुगेर पनि ‘शोले’ हेर्न नपाएको सम्झँदा मेरो मन अमिलो भइरहन्थ्यो । फुटबलको पारखीलाई ‘एल–क्लासिको’ हुने दिन बार्सिलोनामा भएर पनि खेल हेर्न पाएन भने कस्तो हुन्छ होला ? अथवा भनौं कुनै जुवाडे लस भेगासमा पुगेर पनि क्यासिनो देख्न पाएन भने उसलाई कस्तो हुन्छ होला ? त्यो छटपटी र हुटहुटीको बह शब्दमा वर्णन गर्न गाह्रो हुन्छ । उमेर, रुचि र परिपक्वताका आधारमा त्यो फरक हुन सक्छ । कसैका लागि संसारै पल्टिएको जस्तो लाग्ने कुरा अरू कसैका लागि अर्थहीन हुन सक्छ । 

जीवनमा सधैं आफूले चाहेको सबै कुरा पाउन सम्भव हुँदैन रहेछ भन्ने कुराको ज्ञान ढिलोचाँडो हरेक मानिसले पाउँछ । त्यसले नपाउनुको पीडा पनि उपलब्धिको मातजस्तै जीवनको अभिन्न अंग हो भन्ने शिक्षा दिन्छ । त्यो मैले पाँच कक्षामा पढ्ने बेला पाएको शिक्षा थियो जसको अर्थ धेरैपछि मात्र मैले लगाउन सकें । तर, त्यतिबेला मलाई त ‘शोले’ हेर्न नपाएको पीडाले भत्भती पोलिरहेको थियो । त्यसैले सिनेमा हेरुन्जेल मैले राजेश खन्ना, त्यो सिनेमा बनाउने मानिस र सिनेमा चलाउने हल साहुलाई मनमनै सरापेको थिएँ । महादेवको वरदानलाई समेत गोलखाडी खुवाउने कारक तत्त्व तिनै अधर्मी प्राणीहरू थिए । दुई–दुई महादेवको साँठगाँठसमेत उनीहरूका कारण असफल भएको थियो । त्यसैले तिनलाई मैले माफ गरे पनि महादेवले छोड्दैनन् भन्ने कुरामा चाहिँ म आश्वस्त थिएँ । 

नभन्दै ‘मेहबुबा’ भन्ने सिनेमा त्यतिबेलाको ठूलो फ्लपमा दरिन पुग्यो । भनिन्छ, राजेश खन्नाको करियर ओरालो लगाउने एउटा सिनेमा त्यो पनि थियो । मलाई आजसम्म पनि भ्रम छ, कलियुगै भए पनि निर्दोष बालकले मनैबाट दिएको सराप खेर जाँदैन रहेछ । महादेव रिसाए भने उत्पातै हुने रहेछ !

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment