Wednesday, June 19, 2019

मुराकामी, प्याजका टुक्रा र बन्दाकोबी

Few years back, I had trans-created Haruki Murakami's interview in Nepali for Nagarik daily.

खास गरेर अमेरिकामा आएपछि मैले थुप्रै यस्ता मान्छेहरु भेटेको छु, जो भन्ने गर्छन्,
“मेरा भोगाइ र अनुभवहरु यति अद्भूत छन्, तिनका आधारमा एउटा गतिलो पुस्तक नै लेख्न सकिन्छ ।”

त्यसो भन्नेहरुमा धेरै जसो लामो समय यहाँ बसेका जापानीहरु हुन्छन् । हुन त आफ्नो मुलुक बाहिर बस्दा भोग्नु पर्ने चुनौतीहरु बेग्लै किसिमका हुन्छन् । नयाँ बातावरण र परिरवेशमा आफूलाई समाहित गर्नु भनेको कम चुनौतीपूर्ण काम कहाँ हो र ? त्यसका कारण उनीहरुले विविध अनुभवहरु संगाल्नु र त्यो अरुसंग बाँड्न चाहनु स्वाभाविक कुरा पनि हुन सक्छ । तर, त्यसो भन्नेहरु मध्ये कसैले कुनै दिन साँच्चै नै आफ्नो अनुभव वा त्यसमा आधारित उपन्यास लेख्न सक्छ कि सक्दैन भन्ने चाहिँ मलाई थाहा छैन । किनभने मेरो आफ्नो कुरा गर्ने हो भने थुप्रै उपन्यासहरु लेखिसकेको मान्छे भएर पनि मैले आफ्नो व्यक्तिगत जीवनमा त्यस्तो साँच्चै नै कुनै अद्भूत अनुभव भने गर्न पाएको छैन ।




हुन त म जीवनको चार दशक भन्दा लामो आयु काटिसकेको एउटा मान्छे हुनाले केही फरक कुराहरुको अनुभव नगरेको त भन्न मिल्दैन । मैले पनि बिभिन्न प्रकारका उदेक लाग्दा र रहस्यमय मानिसहरु भेटेको छु । हरेक मानिसको जस्तै मेरो जीवनमा पनि नियतिमा अनायास आउने परिवर्तनहरुका कारण बेलाबेला स्तव्ध पनि भएको छु । कतिपय मैले सार्वजनिक रुपमा बाँड्न नमिल्ने यस्ता सम्झनाहरु छन् जसले मलाई अनायास मुस्काउन वा झ्याउरे हुन वाध्य पनि बनाउँछन् । कतिपय त्यस्ता रोमाञ्चक कुरा र घटनाहरु पनि छन् जसले मलाई उत्साहित र उद्वेलित पनि बनाएका छन् । मेरो जीवनको जस्तै यस्तै मिल्दाजुल्दा अनुभवहरु तपाईहरुको जीवनमा पनि होलान् । मैले आजसम्म पनि यो विशाल संसारमा अरु कसैले नगरेको अविश्वसनीय अनुभव वा कसैले नभोगेको अनौठो नियति भएका मान्छे भेटेको छैन । त्यस अर्थमा भन्दा हरेक मानिसको जीवन फरक हुँदाहुँदै पनि तात्विक रुपमा तिनमा समानताहरु पनि त्यति नै हुन्छन् । तर त्यति हुँदाहुँदै पनि यदि कसैले मलाई मसंग आफ्नो अनुभवका खातहरुमा पुस्तक लेख्नका लागि रुचिकर अनुभवहरु छन् कि छैनन् भनेर सोध्यो भने मेरो उत्तर नकारात्मक हुन्छ । मेरो जीवनमा पनि विविधता पनि छ, उतार चढाव छ, घटनाहरु छन्, कथा, उपकथा, घुम्ती, परिवर्तन, आँसु, हाँसो, उपलव्धि, असफलता जस्ता उपन्यासमा हुनु पर्ने खुराकहरु छन् । नढाँटी भन्ने हो भने मेरो जीवन मेरा लागि आफ्नै पारामा रोचक छ, रोमाञ्चक पनि छ तर मेरो जीवनका भोगाइहरुमाथि आधारित भएर कुनै उपन्यास लेख्न म सक्दिनं । पुस्तक नै लेख्न मिल्ने जति अरुका लागि मेरो जीवन रोचक छैन ।

अरुको सबैको भन्दा पूर्ण रुपले फरक अनुभव भएका मानिसहरु संसारमा विरलै मात्र भेटिन्छन् । त्यसैले वाल्यकाल देखि नै मलाई त्यस्ता मान्छेहरुका कथा सुन्न मन लाग्थ्यो । अहिले पनि भेटिए भने सुन्न मन लाग्छ । कुनै दिन उनीहरुका भोगाइमा उपन्यास लेखौंला भन्ने सोचेर हैन, खाली सुन्न मन लाग्ने हुनाले म सुन्छु । एउटा त्यस्तो मान्छेको कथाभित्र हजारौं अरु कथाहरु हुन सक्छन् । कुनैले मन्त्रमुग्ध बनाउँछ भने कुनैले विचलित पनि बनाउँछ । कुनैले मरिमरि हँसाउँछ भने कुनै आङ्गै जिरिङ्ग बनाउने पनि हुन्छ । कुनै कुरा त यति चमत्कृत बनाउने हुन्छन्, म रातभरि नसुती पनि सुन्न सक्छु । हो, यथार्थ कल्पना भन्दा उदेकलाग्दो हुन सक्छ तर त्यस्ता यथार्थ भोगेको मान्छेले त्यही अनुपातमा त्यसलाई पुस्तकमा उतार्न सक्छ भन्ने कुरामा चाहिँ म विश्वास गर्दिनं । मैले थाहा पाएसम्म त्यो खूबी भएका एक मात्र लेखक छन् । अमेरिकी लेखक ज्याक लण्डन (सन् १८७६ देखि १९१६) आफ्ना यथेष्ट र असाधारण अनुभवहरुका आधारमा रोचक उपन्यासहरु लेख्न खप्पीस थिए । तर उनी जस्ता अरु कोही लेखकहरु भए जस्तो मलाई लाग्दैन ।

मेरो व्यक्तिगत विचारमा आफ्ना त्यस्ता विचित्रका अनुभवहरुका बारेमा लेख्ने प्रयास गर्दा मान्छे असहाय हुन्छ । आफूले जुन आवेगमा ती कुराहरुलाई भोगेको हो, अरुका लागि त्यति नै प्रभावकारी ढंगले तिनलाई शव्दमा उतार्नु भनेको असम्भवप्राय कुरा हो । मैले त्यस्तो चेष्टा गर्दा ती कुराहरुलाई एउटा निश्चित संवेगका साथ लेख्ने जति तीव्र चाहना ममा हुन्छ, आफूलाई त्यही ढंगले नै अभिव्यक्त गर्नु त्यो भन्दा हजारौ गुना कठीन हुने गर्छ । यो अनुभव कहिलेकहीं आफूले सपनामा स्पष्ट रुपमा देखेका कुरा अरु मान्छेलाई त्यति नै सूक्ष्म रुपमा बताउन नसक्दा हुने सकसक जस्तै हुन्छ । त्यस्तो बेलामा आफूलाई अभिव्यक्त गर्न शव्दहरु असक्षम हुन्छन् अनि तिनले म माथि छल गर्न थाल्छन् । तर कोहीकोही मान्छेहरु  भने आफूले अनुभव नै नगरेका कुराहरुलाई पनि विश्वसनीय र रंगीचंगी बनाएर प्रस्तुत गर्न सक्छन् । अरुका लागि साधारण लाग्ने घटनाहरुबाट पनि कुनै रुचिकर पाटो केलाएर त्यसलाई असाधारण बनाएर प्रस्तुत गर्न सक्ने क्षमता भएका यस्ता मान्छेहरुमा नै सफल लेखक बन्न सक्ने प्रचुर सम्भावना हुन्छ । मेरो जीवनमा त व्यक्तिगत रुपमा त्यस्तो कुनै अनुभव पनि छैन । जोह्न इर्भिङ्गले भनेका छन्,
“मैले मेरो व्यक्तिगत अनुभवका आधारमा पुस्तक लेख्ने हो भन पढ्ने मान्छे २० पानामा नै निदाउँछ ।”

मैले त अझ त्यसरी लेखें भने कोही २० पाना पनि टिक्न सक्दैन । हुन त लेखकहरुले आफ्ना अनुभवका वास्तविकताको वरिपरि नै लेखनको तानाबाना बुन्छन् भन्ने आम मानिसहरुको धारणा हुन्छ । यो कुरा मलाई आफ्नो पहिलो उपन्यास छापिए पछि भान भएको थियो । मेरो पहिलो उपन्यास प्रकाशित भएपछि मैले मेरा निकटका मानिसहरु मसंग सतर्क हुन थालेको र मसंग दूरी राख्न थालेको अनुभव गरेको थिएँ । पहिले त मैले त्यसको कारण के होला भनेर खुट्याउन सकिनं । त्यसलाई आफ्नो भ्रम हो कि भनेर पनि मैले कति समय ध्यान दिइनं । तर पछि त्यो अझ स्पष्ट रुपमा देखिन थालेपछि मलाई त्यसले खसखस भयो । त्यसैले मैले उनीहरुसंग कोट्याइकोट्याइ सोधे पछि पो थाहा भयो, ती मानिसहरुलाई कतै मैले अर्को उपन्यासमा उनीहरुलाई घुसाउँछु कि भन्ने पीर परेको रहेछ । त्यसैले उनीहरु पहिले जस्तो हिज रुपमा मसंग घुलमिल हुन छाडेका रहेछन् । जब मैले मेरो त्यस्तो उद्देश्य नभएको कुरामा उनीहरुलाई आश्वस्त पार्न सकें, त्यसपछि मात्र हाम्रो सम्बन्ध पुरानै लयमा फर्कन सकेको थियो ।

अमेरिका आएपछि मैले थुप्रै विश्वविद्यालयहरुमा गएर धेरै अमेरिकी विद्यार्थीहरुसंग प्रत्यक्ष कुरा गर्ने अवसर पाएँ । हुन त म ठूलाठूला भेलाहरुमा पनि वक्ता भएर गएको छु तर मलाई सानो कक्षामा एकार्कासंग उन्मुख भएर अनौपचारिक रुपमा कुराकानी गर्न बढी रमाइलो लाग्छ । कुनै कक्षा पछि हामी सबै कतै पवमा गएर वियर चुस्काउँदै गफ पनि गर्ने  गथ्र्याैं । त्यस्तो बेलामा अमेरिकी र जापानी विद्यार्थीको बीचमा कुनै भिन्नता हुँदैन थियो । कक्षामा रहुन्जेल वक्ताको  अगाडि उनीहरु एक प्रकारको कृत्रिम गम्भीरताको खोल ओढिरहेका हुन्थे जुन त्यहाँ गए पछि स्वतः फुक्लिन्थ्यो र उनीहरुको आँखामा सानासाना केटाकेटीको जस्तो चमक आउँथ्यो । उनीहरु अधिकांश जापानी साहित्यमा रुचि राख्ने विद्यार्थीहरु थिए । कतिले त पहिलो पटक कुनै उपन्यासकारलाई प्रत्यक्ष भेटेका थिए । तसर्थ लेखकको वास्तविकता बुझ्न उनीहरु लालयित हुन्थे । लेखक भनेको कस्तो किसिमको जन्तु हुन्छ, उसको सोच्ने तरिका आफू भन्दा कति भिन्न हुन्छ र उसको जीवनशैली कस्तो हुन्छ भन्ने यावत जिज्ञासाहरु उनीहरुमा हुन्थ्यो । ती मध्ये कतिपय आफू पनि उपन्यासकार बन्न चाहन्थे । लेख्न कसरी सुरु गर्ने वा लेखक कसरी बन्ने भन्ने कुरा उनीहरु जान्न चाहन्थे । उनीहरुसंग साधारणतया विद्यार्थी जीवनमा म के लेख्न चाहन्थें, मैले पहिलो उपन्यास कसरी प्रकाशन गरें, उपन्यास लेख्नका लागि आवश्यक आधारभूत कुराहरु के हुन् भन्ने प्रश्नहरुको पेटारो हुनथ्यो ।

लेखक भनेको यस्तो हुन्छ, उपन्यास लेख्ने तरिका यो हो वा यसरी तिमी लेखक बन्न सक्छौ भन्ने कुरा मलाई कहिले पनि बताउन आएन । न त मैले लेख्ने कुनै निश्चित उपाय र सुत्र नै बताउन जानेको छु । तसर्थ म आफ्नो उदाहरण दिएर आफू कस्तो छु भन्ने कुरा मात्रै बताउन सक्छु । म आफू कसरी लेखक बनें भन्ने कुरा मात्र बताउन सक्छु । नढााटी भन्ने हो भने त्यस्तो बेला मलाई भाग्यले लेखक बनाएको हो भन्ने लाग्छ । म आफू लेखक बन्न सकेकोमा कहिलेकहीं आफैलाई अनौठो पनि लाग्छ । तर मानिसहरु लेखक बन्नका लागि म बाट कुनै विस्तृत, जटिल, अमूर्त र लामो सूत्र अथवा पद्धतिको व्याख्याको अपेक्षा राख्छन् । विद्यार्थी जीवनमा त म सिनेमा लेख्न चाहन्थें । त्यसैले म वेसाडा विश्वविद्यालयको सिनेमा र नाटक कक्षामा भर्ना भएँ । आधाउधितिर पुगेपछि म त्यसको लागि योग्य हैन भन्ने लागेर छोडिदिएँ । त्यो बेला के लेख्ने र कस्तो लेख्ने भन्ने कुराको मलाई भुटिभाङ्ग्री केही भेउ थिएन । न म संग कुनै कथा वा विचार नै थियो । त्यस्तो मान्छेले सिनेमाको पटकथा वा अरु केही पनि लेख्न सक्दैन भन्ने कुराको प्रमाण थियो त्यो । तर मलाई सिनेमाको पटकथा पढ्ने रुचि थियो । त्यसैले कक्षामा नबसे पनि म पुस्तकालयमा गएर विभिन्न कालखण्डका पूर्वी तथा  पश्चिमी सिनेमाहरुका पाए जति पटकथा पढेर बस्थें । लेख्न चाहनेहरुका लागि मैले दिन सक्ने सल्लाह के हो भने, आफूले नसकीनसकी करबलले लेख्ने प्रयास गर्नु हुँदैन ।

मैले वेसाडाबाट स्नातक गरें, विवाह गरें र जागीर खान थालें । (सही क्रममा चाहिँ विवाह गरें, जागीर खान थालें र स्नातक गरें भन्नुपर्छ ।) व्यावहारिक जीवनको आवश्यकताहरु र तिनलाई पूरा गर्नका लागि बित्ने दैनिकीको पेलाइले गर्दा मेरो लेख्ने इच्छा पनि मैले बिर्सिसकेको थिएँ । आफ्ना खर्च धान्नका लागि म बिहानदेखि बेलुकीसम्म हलोमा नारिएको गोरु जस्तो परिश्रम गर्थें । यो क्रम सात वर्षसम्म चल्यो । म एउटा ज्याज बारमा काम गर्थें र त्यहाँ प्याज कोचिएको बन्दाकोबीको परिकार पाइन्थ्यो । तसर्थ बिहानभर बोराका बोरा प्याजहरुलाई सासानो टुक्रा पारेर काट्नु मेरो नित्यकर्म थियो ।  म अहिले पनि त्यो काममा दक्ष छु । मेरा हातका औंलाहरु अहिले पनि त्यतिबेला गरेको त्यो कामका लागि पोख्त नै छन् । त्यसैले बेलाबेला अहिले पनि म मेरा विद्यार्थीहरुलाई आँसु नआउने गरि प्याज काट्ने तरिका सिकाउँछु,
“आँखाबाट आँसु झर्नु अघि काटेर भ्याइसक्नू ।”

उनीहरु मरिमरि हाँस्छन् ।

म २९ वर्षको हुँदा एकदिन बेसबल खेल हेर्न गएको थिएँ । त्यो खेल हेर्दाहेर्दै अचानक मेरो मगजमा अब मैले उपन्यास लेखन सुरु गर्ने बेला भयो भन्ने विचार आयो । झट्ट सुन्दा अनपत्यारिलो लाग्न सक्छ तर उपन्यासकार बन्ने मेरो यात्राको थालनी त्यसरी नै भएको हो । त्यतिबेला रंगशालाको वातावरण, मैले चुस्की लगाइरहेको वियरको घुट्को र बेसबलको खेल सबैको सम्मिश्रणले म भित्र कुनै नजानिंदो तरंग उत्पन्न गरेर मलाई उपन्यास लेख्न अभिप्रेरित गरेको हुनुपर्छ । त्यस दिन बेसबल हेर्न नगएको भए के थाहा म उपन्यासकार नै हुन्थें कि हुन्नथें होला । हुनसक्छ म प्याज काटेरै ज्याज बारमा नै आफ्नो बाँकी जीवन बिताउँथे होला । तर धेरै हूलहाल नभएको रंगशालाको त्यो बातावरणमा मलाई मेरो पहिलो किताब ‘हेयर द विन्ड सिंग’ फु¥यो । यही नै मात्र मेरो जीवनको एकमात्र उदेकलाग्दो अनुभव होला । सबैको जीवनमा यही घटना हुन्छ भनेर त म ठोकुवा गर्न सक्दिनं तर यसैसंग मिल्दोजुल्दो गरी एकअर्कासंग आवद्ध नभएका धेरै कुराहरुका कारण अचानक मान्छेको नियमित जीवनमा अनियमितताको एउटा क्षण आउन सक्छ जसले एकतमाससंग हिंडिरहेको गारेटोेबाट उसलाई हुत्याएर अर्कै सुखद र अप्रत्याशित गन्तव्यको राजमार्गमा पु¥याइदिन्छ । यस्तो घटना आफ्नो जीवनमा पनि हुन्छ भन्ने कल्पना मात्र गर्दा पनि त जीवन अलि बढी रमाइलो हुन्छ नि हैन र ?

मान्छेले जीवनको हरेक पाटोबाट केही सिकेकै हुन्छ । केही अघि अमेरिकामा ‘अल आइ रियल्ली निड टु नो आइ लन्र्ड इन किण्डरगार्टन’ भन्ने एउटा पुस्तक निकै चर्चित भयो । मेरो सन्दर्भमा भन्दा मैले सिक्नुपर्ने जति सबै ज्याज बारमा काम गर्दा सिकें भने हुन्छ । मैले स्कूलमा पढेका कुनै पनि कुराले मलाई उपन्यास लेख्ने बेला सघाएनन् । स्कूलको पढाइ अर्थहीन हुन्छ भन्ने अर्थ चाहिँ नलागोस् तर म त्यतिबेलाको एउटा कुरा अहिले पनि सम्झन्छु । एक पटक मेरी आमैले भनेकी थिइन्,

“बाबु, अहिले पढाइमा बढी मेहेनत गरेनु् भने पछि तंलाई त्यसको पछुतो हुनेछ ।”

तर हुर्केपछि मलाई मैले त्यतिबेला पढाइमा बढी मेहेनत गनुपर्नेथ्यो भन्ने पछुतो कहिले पनि भएन । उमेरको दोश्रो दशकले मलाई जीवनका केही पाठहरु पढायो । त्यो समयमा म कठीन शारीरिक परिश्रमको काम गर्थें । त्यतिबेला मैले चाहेर पनि अरु केही सोच्न सक्दैनथें । त्यो परिश्रमले मलाई परपिक्व बनायो । त्यसैले त्यही नै मेरो सर्वाेत्तम गुरु र सही विश्वविद्यालय थियो भन्ने मलाई लाग्छ । उदाहरणका लागि, मैले सम्भालेको बारमा आउने दश जना मध्ये दशै जनालाई त्यो ठाउँ मन नपर्न सक्थ्यो । तर दुइ जनालाई मात्र मेरो काम मन परेको अवस्थामा पनि उनीहरु फेरि त्यहाँ त आउँथे नि । अहिले पनि त्यो गुरुमन्त्रले मलाई सकारात्मक बनाउन सहयोग गर्छ । चाहे जति नै मानिसहरुले मेरा उपन्यासहरुका बारेमा नकारात्मक कुरा गरुन्, दुइ प्रतिशतले मात्र पनि मैले लेखेका कुरा त्यही रुपमा बुझेर मन पराइदिए भने त्यतिले नै पनि मलाई प्रसन्न राख्न सक्छ । यो अमूल्य पाठ मैले नसिकेको भए उपन्यासकारका रुपमा मेरो जीवन बढी कठीन हुने थियो । खास गरी पूर्वाग्रही समीक्षा र टिप्पणीहरुलाई सहजतापूर्वक ग्रहण गर्न मलाई अहिले जस्तो सजिलो हुने थिएन र त्यसले मलाई विचलित बनाउँथ्यो होला ।

लेख्नका लागि मेरा विद्यार्थीहरुलाई सिकाउन मसंग लौ त भनौं भने केही पनि छैन । सबै भन्दा महत्वपूर्ण कुरा भनेको बाँच्नु हो । यदि मनको गहिरो कुनाबाट केही लेख्ने, अरुसंग केही बाँड्ने तीब्र आकांक्षा पलायो भने लेख्न सुरु गर्ने समय त्यही हो । त्यतिबेला राम्रो लेखें वा नराम्रो लेखें भन्ने कुरा गौण हुन्छ । त्यस्तो समय आएन, त्यस्तो आकांक्षा पलाएन भने के गर्ने भन्ने प्रश्न कसैले गरेको बेला चाहिँ म आर्सन वेलिसको सिटिजन केनबाट सापट लिएको एउटा छुद्र उत्तर दिने गर्छु,
“सबै मान्छेले गीत गाउन जानेका हुँदैनन् ।”

मैलै मेरो पहिलो उपन्यासका लागि गुन्जो पुरस्कार जितेको थिएँ । त्यतिबेला मैले उत्साहित भएर त्यो कुरा सुनाउँदा कतिपयले त पत्याएका पनि थिएनन् । ती मध्ये कतिलाई अझै पनि म उपन्यासकारको रुपमा चिनिनु आश्चर्यको विषय नै हुनुपर्छ । उनीहरुको आँखामा, मलाई लाग्छ, म अझै पनि लेखक नभएर अरु नै केही हूँ । आज ती दिनहरु भन्दा पर, जापान भन्दा पर, प्याजका टुक्रा र बन्दाकोबीभन्दा पर रहेर आफ्नो विगतलाई फर्केर हेर्दा मलाई लाग्छ, अद्भूत अनुभव भए पनि नभए पनि अथ्र्याउन असाध्यै कठीन कुरा केही हो भने त्यो हो मान्छेको जीवन ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment