प्रकाशनको छोटो समय मै साइड हिरोको दोश्रो संस्करण छापिन लागेको छ। शुभेच्छुक पाठकहरूलाई हृदयको गहिराइबाटै आभार व्यक्त गर्छु। साथै उपन्यास यायावरको पनि नयाँ कलेवरमा तेश्रो संस्करण संगसंगै आउने भएको छ।
वीरगन्जमा आयोजित 'साइड हिरो’ को विमर्श कार्यक्रममा सहभागी ब्रजेश खनाललगायत । तस्बिर : कान्तिपुर
मेरो ।
साइड हिरो बारे
नयाँ पत्रिकामा नयनराज पाण्डे, २०७५ मङ्सिर २९ शनिबार
समाज, राजनीति र जनजीवनमा सम्मानित ठानिएका तमाम वास्तविक हिरोहरू आफ्ना ढुलमुले स्वभाव, आदर्शविमुख चिन्तन र खराब नियतका चरित्रहरूको संगतले लगातार खलनायकमा रूपान्तरित हुँदै गएको यो घडीमा किताबको बजारमा हस्तक्षेप गर्न आइपुगेको छ–साइड हिरो । मुख्य चरित्रबाहेक पनि सिनेमामा कथानकलाई बढाउन अनेक चरित्र आवश्यक पर्छन् ।
तीमध्ये लगभग मुख्य चरित्रकै हाराहारीको तर कथानकको केन्द्रमा खासै नरहने भूमिकालाई एकताका साइड हिरो, साइड हिरोइन, चरित्र अभिनेता, चरित्र अभिनेत्रीजस्ता फुर्का जोडेर सम्बोधन गरिन्थ्यो । सिनेमामा लगभग सबै चरित्रलाई महत्व दिने परिपाटी सुरु भएसँगै अचेल चरित्रहरूको वर्गीकरण गर्ने क्रम केही कम हुँदै गएको देखिन्छ ।
यस्तोमा सिनेमा क्षेत्रकै अनेक विसंगतिको चिरफार गर्ने धारणासहित किताबी संसारमा आइपुगेको हो ब्रजेश खनालको साइड हिरो । शीर्षकबाटै स्पष्ट भइसक्छ, यो किताबका लेखकको आफू क्रियाशील रहेको कालखण्डको नेपाली सिनेमा क्षेत्रसित जोडिएका तीता–मिठा अनुभूतिहरूको अभिलेख हो ।
नेपालको सन्दर्भमा संस्मरण अचेल निकै फस्टाइरहेको विधा हो । किताब बजारका विश्लेषकहरूले संस्मरण, आत्मकथाजस्ता विधाहरू आख्यानपछि बिक्री हुने विधा मान्न थालेका छन् । लेखन क्षेत्रमा भर्खर कलम चलाउन थालेका लेखक पनि धमाधम संस्मरण लेखनमा लाग्न थालेका छन् । यो विधाको उन्नयनका लागि सुखद कुरा अवश्य हो ।
सर्सर्ती हेर्दा यो सजिलो विधा पनि हो । किनभने यसमा लेखकले कल्पनाशील भएर विषयवस्तुको खोजीमा मरिहत्ते गर्नु पर्दैन । कुनै गम्भीर अनुसन्धान पनि गर्नु पर्दैन । बस्, आफ्नो स्मृतिको पिँधमा जोगिएर बसेका घटनाक्रमलाई सम्झियो र सुन्दर भाषाशैलीमा भकाभक लेख्न थालिहाल्यो । त्यसैले बजारमा संस्मरण भनेर छापिने धेरैजसो लेखनीमा बाल्यकालमा पिताको गोजीबाट पैसा चोरेर सिनेमा हेर्न गएको, स्कुलमा साथीहरूसित अनेक छुल्याइँ गरेको, कुनै उटपट्यांग काम गर्दा आफूले दुःख पाएको जस्ता विषयवस्तु भरमार प्रस्तुत हुन थालेका छन् ।
त्यसैले बजारमा संस्मरण भनेर आउने कतिपय लेखनी एकांगी र कलाविहीन अभिव्यक्ति बनेका छन् । त्यो जोखिममा यो पंक्ति लेखिरहेको बबुरो लेखक पनि धेरैपटक फसेको छ । तर, हामीले बुझ्नुपर्ने कुरा के रहेछ भने यो विधाले आफूसँगै अनेक चुनौती पनि सँगै बोकेको छ । त्यसैले अबका संस्मरणले आफ्ना अनुभूतिलाई इमानदार भई प्रस्तुत गरेर मात्र पुग्दैन, ती अनुभूतिले तत्कालीन समाजको मनोदशालाई पनि प्रकट गरेको हुनुपर्छ ।
रचनाको पृष्ठभूमिमा कतै न कतै संस्मरणमा उल्लेख भएको कालखण्डको सामाजिक, आर्थिक, राजनीतिक या सांस्कृतिक पाटा उद्घाटित भएकै हुनुपर्छ । यसले नै संस्मरणलाई साहित्यको कोटीमा उकाल्छ र वाङ्मयमा सम्मानित स्थान उपलब्ध गराउँछ ।
यस मेसोमा ब्रजेश खनालको साइड हिरोले नेपाली सिनेमा क्षेत्रमा उनको उपस्थिति र सपनाको मात्र चर्चा नगरेर त्यस बखतको नेपाली सिनेक्षेत्रको अवस्था, त्यस क्षेत्रमा संलग्न व्यक्तित्वको मानसिकता र हविगत पनि प्रकट गर्दछ । पाठकले साइड हिरो पढेर लेखक ब्रजेशले सिनेमा क्षेत्रमा गरेको संघर्ष मात्र बुझ्दैन, नेपाली सिनेमा कुन बाटो र कस्ता घुम्ती पार गरेर आजको अवस्थासम्म आइपुगेको हो भनेर पनि बुझ्छ ।
यसरी बुझाउन सक्नु लेखक ब्रजेश खनालको सफलता हो । यही कारणले पनि साइड हिरो संस्मरण विधाको उल्लेखनीय कृतिको रूपमा चर्चा पाउन सफल भएको हो । साइड हिरो त्यस्तो चर्चाको हकदार पनि छ ।
करिब ३२० पृष्ठको साइड हिरोमा साना र मझौला काँटीका लगभग सात दर्जन संस्मरण समावेश छन् । यति धेरै अध्याय भएकाले यसमा विषय र अनुभूतिको प्रशस्त विविधता छ भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले सुरु गरेपछि पाठकले अल्छी मानेर किताब बन्द गर्ने स्थिति आउँदैन । ब्रजेश सजिलो भाषामा आफ्ना अनुभूतिलाई लेख्न माहिर छन् ।
समग्र किताबमा उनको हास्य र व्यंग्यचेत मोहक लाग्छ । यी सबै विशेषताले साइड हिरो संस्मरण विधाको एक अब्बल कृतिको रूपमा सम्झन लायक भएको छ ।
साइड हिरो पढिसकेपछि एउटा गजबको कथानक पनि पाठकको दिमागमा निर्माण भइसक्छ । सिनेमामा नायक भएर स्थापित हुने रहर पालेको एउटा युवक (ब्रजेश) आफूलाई स्थापित गराउन सक्ने गजब–गजबका पटकथा आफैँले तयार पार्छ ।
साइड हिरो पढिसकेपछि एउटा गजबको कथानक पनि पाठकको दिमागमा निर्माण भइसक्छ । सिनेमामा नायक भएर स्थापित हुने रहर पालेको एउटा युवक (ब्रजेश) आफूलाई स्थापित गराउन सक्ने गजब–गजबका पटकथा आफैँले तयार पार्छ ।
ब्रजेश पटकथा लेखनको क्षेत्रमा सुपर हिट हिरो नै हुन् । त्यसैले साइड हिरो शीर्षकमा हिरोले लेखेको किताब हो यो । यो किताबको समग्र पठनबाट हाम्रो स्मृतिको गहिराइमा निर्माण हुने कथानक यही हो र यो आफैँमा एउटा विशिष्ट कथानक हो ।
तर, आफैँले लेखेको पटकथामा उसको भागको भूमिका कहिले निर्देशकका कारण खोसिन्छ, कहिले निर्माताका कारण काटिन्छ । यति हुँदा पनि हिरो बन्ने सपनालाई छाड्दैन उसले । आफ्नो त्यही मादक सपना पूरा गर्न ऊ निरन्तर पटकथा लेखिरहन्छ । उसको यो हठले उसलाई हिरो नबनाए पनि नेपाली सिनेमाको पटकथा लेखनमा एकछत्र साम्राज्य स्थापित गर्ने एउटा लेखकचाहिँ बनाइदिन्छ ।
ब्रजेश पटकथा लेखनको क्षेत्रमा सुपर हिट हिरो नै हुन् । त्यसैले साइड हिरो शीर्षकमा हिरोले लेखेको किताब हो यो । यो किताबको समग्र पठनबाट हाम्रो स्मृतिको गहिराइमा निर्माण हुने कथानक यही हो र यो आफैँमा एउटा विशिष्ट कथानक हो । साधारणजस्तो लाग्ने लेखनीबाट यति विशिष्ट कथानकलाई आकार दिन सक्ने लेखक ब्रजेशको जादुमय तर स्वाभाविक लेखनीको त्यसैले पनि खुलेर प्रशंसा गर्न कर लाग्छ ।
संसारमा विशिष्ट दरिएका कृतिमा पनि खोजी पस्यो भने अनेक कमजोरी फेला पर्छन् । कुनै पनि किताब निर्विवाद या निर्विकल्प किसिमले विशिष्ट हुन सक्दैन । तर, किताबका कमजोरीले बहस पनि निम्त्याउँछन् र त्यसले लेखन क्षेत्रमा लाग्ने भावी पुस्तालाई निर्देशित पनि गर्छन् । त्यसैले यो संस्मरण कृतिलाई कमजोरी नै नभएको कृति भनेर अतिरञ्जित गर्नु ठीक हुनेछैन ।
यो किताबमा रहेका सबै अध्याय उत्तिकै रोचक अवश्य छन् । तर, कतिपय घटना एउटै किसिमले रिपिट भइरहन्छन् । लेखकले पटकथा तयार गरेको, त्यसमा उसको भूमिका पक्कापक्की भएको, तर विविध कारणले त्यो भूमिकाबाट हटेर अर्को सहायक भूमिकामा आबद्ध हुनुपरेको कुरा किताबका धेरै अध्यायमा दोहरिइरहन्छन् ।
त्यसैले पाठकले किताबको आधाउधी हिस्सा पढिसक्दा लेखकले प्रस्तुत गरेका अनुभूति लगभग एउटै परिधिमा चक्कर काटिरहेको अनुभूत गर्न सक्छन् । धेरै घटनाक्रमको यही खालको पटाक्षेपले पाठकलाई संस्मरणमा अब यस्तो हुनेछ भनेर अनुमान गर्ने बनाइदिन्छ ।
हुन त किताबमा जे लेखिएको छ, त्यहीभित्रै रहेर कृतिको समीक्षा गर्नु उपयुक्त हुन्छ । तर पनि अलिकति छुच्चो भएर भन्नुपर्दा के भन्न सकिन्छ भने, यस कृतिमा लेखकले प्रशस्त इमानदार भएर आफ्ना अनुभूति प्रस्तुत गरेको भए पनि आफ्नो व्यक्तित्वका अरू अँध्यारा वा विसंगत पाटाको उतिसारो चर्चा गरेका छैनन् । हिरो हुन चाहने उनको लडहले के कहिल्यै उनको परिवारमा खटपट भएन ?
के कहिल्यै कुनै नायिकालाई उनले कास्टिंग काउचको सिकार भएको देखेनन् ? के सिनेक्षेत्रमा लागेका थुप्रै लाइटब्वाय, स्पटब्वाय, क्यामेराम्यान, मेकअप आर्टिस्ट र ड्रेसम्यान आदिका कहालीलाग्दा समस्यासित उनको कहिल्यै कुनै जम्काभेट भएन ? नेपाली सिनेमा लामो समयसम्म बम्बैया सूत्रबद्ध लेखनबाट प्रभावित भइरह्यो, त्यसबाट बाहिर निस्कन नेपाली सिनेमा क्षेत्रमा किन बलियो प्रयास भएन ?
हाम्रो सिनेमा हाम्रो भाषामा त बन्यो, तर यसमा हाम्रो मौलिक कथानक किन समावेश भएन ? यी यावत् विषयमा हल्का स्पर्श त ब्रजेशले केही प्रसंगमा गरेका छन्, तर ती प्रश्नको जवाफ भने मुखर रूपमा उल्लेख गरिदिएका छैनन् ।
एउटा थिमभित्र बसेर लेख्दाको समस्या पनि होला यो । त्यसैले यी प्रश्नको जवाफ नदिँदा पनि साइड हिरो अहिलेको समयको महŒवपूर्ण संस्मरणात्मक कृति हो भन्न अप्ठ्यारो मान्नु पर्दैन । यो किताबका सबै अध्याय उत्तिकै महŒवपूर्ण नहुन सक्छन् । तर, किताबभित्रका केही प्रसंगले भने यसको गरिमा र गुणवत्तालाई ह्वात्तै उचालिदिएको छ ।
किताबभित्र उल्लेखित जमानाका विख्यात कलाकार गोपालराज मैनालीसित जोडिएको एउटा संक्षिप्त संस्मरण यस्तै एउटा उदाहरण हो, जसले यो किताबलाई सम्मानित बनाइदिएको छ ।
कुनै वेला म पनि सिनेमाको पटकथा लेखनमा छिपछिपे पाराले लागेको थिएँ । त्यतिवेला सिनेमा लेखनको क्षेत्रमा ब्रजेशको उपस्थितिप्रति ईर्ष्या गर्थेँ म । आज साइड हिरोमा उसले आफूलाई यति सहज, स्वाभाविक र इमानदार किसिमले अभिव्यक्त गरेको पाउँदा ऊप्रति सम्मान प्रकट गर्न मन लागेको छ ।
नेपाल साप्ताहिकमा सन्तोष आचार्य, प्रकाशित: माघ २, २०७५
‘हामी जीवनभर त्यो भूमिकामा अभिनय गरिरहन्छौँ, जुन खासमा अरु कसैको हुनुपर्ने थियो । हामीलाई लागिरहन्छ, अरु कसैले गरिरहेको भूमिका हाम्रो हुनुपथ्र्यो ।’ ब्रजेशको पुस्तक साइड हिरोको सार नै उपशीर्षक ‘कास्टिङ’ मा छ । खासमा साइड हिरो ब्रजेशको निजात्मक अनुभव शृंखला हो । तर उनको बठ्याइँले यो किताब नेपालका रेडियो, टेलिभिजन र समग्र चलचित्र क्षेत्रकै दर्पण बनिदियो । यी क्षेत्रका विकासक्रम र यसभित्रका पात्र र प्रवृत्तिलाई उनले आंशिक रुपमा उन्न खोजेका छन् । तीन दशक यिनै क्षेत्रमा रुमल्लिएका लेखकले आफूले भोगेको संसारबाट मनोरन्जन क्षेत्रलाई चियाउने प्रयास गरेका छन् । किताबमा शब्दहरु जीवित लाग्छन्, फिल्मी दृश्यजस्तै । हास्यचेतले उनलाई पाठकसँग जोड्न मद्दत गरेको छ ।
केही समय बैंकको जागिरे भए पनि रेडियो, टेलिभिजन र चलचित्र क्षेत्रको त्रिवेणीमा बग्नेबाहेक उनको प्राथमिकता अन्य कतै भएन । पछिल्लो समय भने उनी किताब लेखनमा तानिएका छन्, आखिर कुनै बेला टेलिफिल्म तथा फिल्मका चल्तीका लेखक जो परे । मनोरन्जनकै क्षेत्रमा रमाउने किरा उनको मगजमा यति सलबलायो कि जतिसुकै कठिन मोडमा पनि अन्य कुनै विकल्प खोजेनन्/चाहेनन् । त्रिपुरेश्वरको सनातनी ब्राह्मण परिवारसँग तालुक राख्ने लेखकका लागि मनोरन्जन क्षेत्रमा करिअर बनाउन उति सहज अवश्य थिएन । उनका अग्रज घरेलु मठाधीशहरु मनोरन्जनको क्षेत्र भनेको ‘भाँडहरुको कर्मक्षेत्र’ हो भन्थे । तर उनले यही क्षेत्र नै रोजे । उनका बुबा श्रीधर खनाल २० को दशकदेखि नै लेखन, अभिनय, निर्देशनमा सक्रिय थिए । नेपाली मनोरन्जन क्षेत्रको ख्यातनाम नै थिए । सम्भवत: ब्रजेशमा बुबाको ‘डीएनए’ ले असर पो गर्यो कि !
नेपालको पहिलो रंगीन फिल्म कुमारीबाट सुरु उनको यो किताब टेलिभिजन रियालिटी सो नेपाली तारामा आएर टुंगिएको छ । यसैले यो किताब नेपाली मनोरन्जन क्षेत्रको चार दशकको कहानी पनि हो । यसलाई ब्रजेशले भाषाको सौन्दर्य कायम राख्दै रोचक/घोचक शैलीमा लेखेका छन् । काँचको पर्दामा उनी हिरो थिए । तर लालसा ठूलो पर्दाको फिल्ममा हिरो हुने थियो । त्यो चाहना पूरा गर्न उनले हरेक मोडमा पाएको धोखालाई नियतिको खेल ठानेका छन् । उनले भोगेका हन्डर खासमा नेपाली फिल्मी क्षेत्रको समग्र चित्र पनि हो । आफैँले लेखेको पटकथामा आफ्नै भागको भूमिका कहिले निर्देशकले अपहरण गर्छन् त कहिले निर्माताले लोप्पा ख्वाइदिन्छन् । संघर्ष जारी रहन्छ । निरन्तर पटकथा लेखिरहन्छन् । तर साइड हिरोमै उनको फिल्मी यात्रा टुंगिन्छ । सपना भत्किन्छ ।
नेपाली फिल्मी क्षेत्रमा खासै अर्थपूर्ण भूमिका नहुनुलाई साइड हिरो भन्ने मान्यता छ अहिले पनि । मुख्य चरित्रबाहेक पनि फिल्ममा कथानक बलियो बनाउन अनेक चरित्रको आफ्नै महत्त्व हुन्छ । मुख्य चरित्रकै हाराहारीको तर कथानकको केन्द्रमा खासै नरहने भूमिकालाई एकताका साइड हिरो वा साइड हिरोइन यस्तै केही नामले बोलाइन्थ्यो । केन्द्रीय पात्रबाहेक अन्य पात्रलाई खासै वास्ता नगरिने कालखण्डमा ब्रजेशले साइड हिरोबाट हिरोमा उक्लन खोज्नु आफैँमा अस्वाभाविक पनि थिएन ।
ब्रजेशले यो संस्मरणमा मलामी गएका आफ्ना सपना र असफलताका कथा बोलेका छन् । उनले आफूलाई हिरोका रुपमा होइन, साइड हिरोकै रुपमा सीमित गरेका छन् । ब्रजेशको यो संस्मरणले तत्कालीन नेपाली समाजको मनोदशा पनि दर्साएको छ । फिल्मी क्षेत्रको अवस्था र यसमा संलग्न धरहरा व्यक्तित्वको मानसिकता पनि उजागर गरेको छ । नेपालको समग्र मनोरन्जन क्षेत्र कस्ता बाटा र घुम्तीमा लडिबुडी गर्दै आजको डिजिटल युगमा आइपुग्यो, ब्रजेशले बयान दिएका छन् ।
यथार्थ त्यस्तो पनि होइन । उनको अभिनय कौशलबाट कायल हुनेको ठूलो संख्या अहिले पनि भेटिन्छ । टेलिफिल्म होस् वा ठूलो पर्दाको फिल्म उनी महँगा र माग भएका लेखक थिए, लामो समय । नेपाली ताराजस्तो मौलिक नेपाली रियालिटी सोलाई जन्म दिने ब्रजेश कसरी साइड हिरो मात्र हुन सक्लान् ? मनोरन्जनको क्षेत्रमा तीन दशक उनले घाम ताप्दै बदाम छोडाएर बसेनन् । ठूला हस्ती भनिएकासँग सहकार्य गरेका छन् । सक्रियतामा निरन्तरता छ । आफूभित्रको लेखन किरालाई उनले अझै पनि निरन्तरता दिएकै छन् । यसअघि यायावर र जुनेली उपन्यास लेखिसकेका छन् । तेस्रो पुस्तक साइड हिरो पाठकसमक्ष ल्याउने साहस गरेर हिरोगिरी देखाइछाडेका छन्, ब्रजेशले ।
पोखरामा साइड हिरो
‘रहर एउटा किटाणु हो, यो एकपटक शरीरमा छिरेपछि छिर्यो,’ लेखक तथा पटकथाकार ब्रजेश खनालले भने, ‘फिल्ममा हिरो बन्ने सपना अझै पनि छ।’ मंगलबार पोखरामा ब्रजेशको नवीनतम कृति ‘साइड हिरो’ लोकार्पण गरियो। त्यसैबखत अर्का लेखक गनेस पौडेलसँगको संवादमा ब्रजेशले यस्तो विचार राखेका हुन्। पुस्तक साहित्यकार सरुभक्तले लोकार्पण गरे।
आफू रहरले पटकथाकार नभई सोखले भएको ब्रजेशले सुनाए। उनले भने, ‘पहिले सोखले लेखियो, पछि अभिनयलाई स्क्रिप्ट राइटिङले जित्दै गयो।’ उनले फिल्मको हिरो हुन नपाएपनि पटकथाकारबाटै हिरो भएको सुनाए। उनले फिल्ममा हिरोभन्दा स्क्रिप्ट राइटर भएरै माग बढी भएको बताए।
विमोचन कार्यक्रममा ब्रजेशले पहिलेभन्दा अहिले फिल्म क्षेत्र आशालाग्दो तरिकाले माथि आइरहेको दाबी गरे। ‘पहिले अधिकांश नेपाली फिल्महरु हिन्दी फिल्मबाट प्रभावित हुन्थे र स्क्रिप्ट पनि त्यही अनुसार लेखिन्थ्यो। तर, अहिले त्यस्तो छैन,’ उनले भने, ‘प्रविधिको प्रयोग गर्दै दुनियाँभरको फिल्मबारे सिक्न सकिन्छ। स्क्रिप्ट राइटिङमा पनि नयाँ अनुहार आइरहेका छन्।’ उनले फिल्म मुलधार र वैकल्पिक धारभन्दा पनि राम्रो र नराम्रो २ प्रकारका हुने तर्क गरे।
सरुभक्तले ‘साइड हिरो’ विमोचन गर्दै संस्मरण लेखनीमा नयाँ प्रयोग भएको बताए। ‘यो संस्मरणमात्रै होइन। औपन्यासिक संस्मरण हो,’ उनले भने। उनले संस्मरण एउटै प्रसंगलाई लम्ब्याएर लेख्ने दीर्घ सूत्रीय परम्परालाई तोड्दै यस पुस्तक छोटोरुपमा रोचक तरिकाले लेखिएको धारणा राखे।
साहित्यकार सरुभक्तले ब्रजेश बहुआयामिक व्यक्तित्व भएकोसमेत प्रतिक्रिया दिए। उनले ब्रजेशले हात हालेका सबै क्षेत्रमा सफल छाप छोड्न सफल भएको दाबी गरे। ‘समकालीन जीवनलाई प्रभाव पार्न सक्ने सबै विधामा ब्रजेशले आफ्नो छाप छोड्न सफल भएका छन्,’ उनको भनाइ थियो। सरुभक्तले संस्मरणमा आफूलाई पनि व्यंग्यात्मक रुपमा प्रस्तुत गरेर ब्रजेशले लेखकीय इमानदारिता पस्केको विचार पोखे।
अर्का लेखक गनेस पौडेलले पुस्तकबारे ब्रजेशसँग अन्तरंग कुराकानी गरेका थिए। संवादमा पुस्तक, फिल्म क्षेत्र र साहित्यलाई केन्द्रमा राखिएको थियो। गनेसले भने, ‘लेखकीय रुपमा साइड हिरो अन्य संस्मरणभन्दा फरक छ।’
३ दशकभन्दा बढी नेपाली फिल्म क्षेत्रमा क्रियाशील ब्रजेशका यसअघि ‘यायावर’ तथा ‘जुनेली’ पुस्तक प्रकाशित छन्। कुनै समय फिल्मको पटकथा तथा लेखनमा प्रभाव जमाएका उनको हालको कृति सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
नारायणघाटमा साइड हिरो
करिब तीन दशक सिने क्षेत्रको अनुभव सँगालेका लेखक ब्रजेश खनालद्वारा लिखित पुस्तक ‘साइड हिरो’लाई समालोचकहरुले नेपाली चलचित्र इतिहासकै मह¤वपूर्ण दस्तावेजका रुपमा लिएका छन् ।
कविडाँडा साहित्य समाजको आयोजनामा शनिबार नारायणगढमा भएको पुस्तकमाथिको चर्चाका क्रममा उनीहरुले नेपाली पुस्तक लेखनको भाषामा फरक विषयवस्तु समेटेर लेखिएको हुँदा सिने क्षेत्रसम्बन्धी चासो राख्ने र सिने क्षेत्रका नवप्रवेशीका लागि बलियो आधार बनेको बताएका हुन् ।
पुस्तकमाथि चर्चा गर्दै समालोचक उदय अधिकारीले भने, ‘सम्भवतः नेपाली भाषामा पहिलोपटक फिल्मी क्षेत्रबारे पुस्तक बजारमा आएको छ । विषयवस्तु नै फरक भएकोले पनि हुन सक्छ, यसअघि प्रकाशित ‘यायावर’ र ‘जूनेली’भन्दा नितान्त फरक छ । साँच्चै भन्ने हो भने समग्र नेपाली साहित्यमै फरक विषयवस्तु हो यो ।’
पुस्तकमार्फत आफ्नै कथा बताउने प्रयास गरिएको उनले बताए । ‘भाषामा एकदमै सौन्दर्य छ’, उनले भने, ‘नेपाली फिल्मी क्षेत्रमा राम्रोसँग भिजेकाले होला, यो पुस्तकको भाषाले दृश्य पनि छर्लंग देखाएको छ, त्यसैले भाषामा शक्ति छ ।’ तर, पटकथा लेखनमा अब्बल भएर पनि नेपाली सिने जगत्ले भनेजस्तो सफलता पाउन नसकेको उनले बताए । ‘यति सशक्त लेखक हुँदा पनि फिल्म क्षेत्र अझै किन कमजोर भइरहेको छ ? भन्ने पश्न उब्जिरहन्छ’, उनले भने ।
कवि एवम् निबन्धकार भूपिन खड्काले भने ब्रजेशले लेखनबाट नेपाली फिल्मी क्षेत्रलाई सशक्त बनाउनुपर्छ भन्ने सोचको विकास हुने दाबी गरे । कतिपय अवस्थामा मुख्य पात्रको भूमिका निभाउन सक्ने व्यक्ति पनि सहायक भूमिकामै थन्किनुपर्ने अवस्थालाई पुस्तकमा समेटिएको उनले बताए ।
लेखकले आफ्ना कमीकमजोरीलाई समेत खुलस्त पार्नु पुस्तकको सकारात्मक पाटो भएको उनको भनाइ थियो । ‘साइड हिरो’ व्यावसायिक जीवनको आत्मकथा भएकोले व्यक्तिगत जीवन खासै नदेखिएको अर्का समीक्षक सरोजराज अधिकारीले बताए ।
नयाँ पत्रिका दैनिकका सम्पादकसमेत रहेका समीक्षक अधिकारीले भने, ‘चलचित्र क्षेत्रमा बिताएको तीन दशक लामो संघर्षलाई पुस्तकमा उतारेका छन्, त्यसैले यो पुस्तक व्याावसायिक जीवनको आत्मकथा हो ।’ प्रायः संस्मरणमा सफलताको कथामात्रै पढ्ने गरेका नेपाली पाठकका लागि नयाँ स्वाद भएको उनले बताए ।
लेखक एवम् सिनेकर्मी खनालले भने इमानदारिताका साथ ‘साइड हिरो’को कथा लेखेको बताए । ‘मेन हिरो बन्न संघर्ष गर्दा त्यता सफल हुन सकिनँ’, उनले भने, ‘तर, नसोचेको ठाउँमा त सफल भएको छु नि ! पटकथा लेखन र साहित्य त्यति धेरै रूचिको विषय थिएन ।’ तर, कुनै एउटा विधामा पोख्त व्यक्ति एक्लैले चलचित्र बनाउँछु भनेर सोच्न नसकिने उनको बुझाइ छ ।
प्रविधिले गर्दा सिनेमा बनाउन पहिलेको तुलनामा अहिले धेरै सहज भएको उनको भनाइ छ । तर, आफ्ना सफलता या असफलताबारे कसैलाई दोष नदिइएको उनले बताए ।
कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले भने संस्मरण साहित्य हो कि होइन ? भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताए । ‘तर, जोकसैले संस्मरण लेख्दैछन् भने अरुको संस्मरण अनिवार्य पढ्नुपर्छ’, उनले भने । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा गजलकार धनराज गिरी, कवि विजय विश्वकर्मा, गणेश श्रमणलगायतले बोलेका थिए ।
मितिनी आमाको सहरमा “साइड हिरो”
पर्सा —
ब्रजेश खनालका लेख, रचनामा वीरगन्ज र यस वरपरका स्थान, पात्र, परिवेशको चर्चा बढी हुन्छन् । तुलनात्मक रूपमा तराईका अन्य सहरको भन्दा । यसको कारण आख्यानकार ध्रुवचन्द्र गौतमजस्तै उनको पनि पुर्ख्यौली थलो वीरगन्ज भने पक्कै होइन ।
यस पटक खनाल आफैंले यसको कारण बयान गरेका छन् आफ्नो नयाँ पुस्तक ‘साइड हिरो’ मा । मंगलबार साँझ वीरगन्जमा आयोजित विमर्श तथा संवाद कार्यक्रममा उनले भने, ‘थुप्रै टेलिशृंखला र चलचित्रमा अभिनय गर्ने क्रममा पटकपटक वीरगन्ज र यस वरपरका गाउँ आएको छु ।’
वीरगन्जको नजिकको गाउँ नकटुवामा ‘राप’ टेलिशृंखला छायांकन गर्दा भेटिएका स्थानीय बासिन्दा रामखेलावनलाई अझै पनि सम्झिरहेको उनले बताए । ‘यसबाहेक वीरगन्ज सहरमा मेरी मितिनी आमाको घर छ, त्यसैले मलाई वीरगन्ज प्यारो लाग्छ,’ उनले भने । आफ्नो नयाँ कृति ‘साइड हिरो’ मा पनि वीरगन्जको थुप्रै प्रसंग रहेको उनले सुनाए ।
टेलिफिल्म हुँदै फिल्ममा अभिनयको यात्रादेखि फिल्म र पुस्तक लेखनसम्मको यात्रामा आफूले गरेका संघर्षहरूको आफूले पुस्तकमा बयान गरेको उनले बताए । वीरगन्जेली साहित्यकार गणेश लाठले ‘साइड हिरो’ पढदा पाठकले आआफ्नो कथा पढेजस्तै अनुभव गर्ने बताए । ‘निरन्तर असफलताबीच हरेस नखाएर कर्म गरिरहे सफलता अवश्य पनि हात पर्छ भन्ने सकारात्मक सन्देश पनि किताबमा रहेको’ उनले बताए ।
पत्रकार गिरीश गिरीले आफूले बाल्यकालमै वीरगन्जमा पहिलो पटक खनाललाई भेटेको सुनाए । टेलिशृंखला ‘घैंटोमा घाम’ मा छायांकनको क्रममा वीरगन्ज आएका खनाललाई आफूले पहिलो पटक यतै भेटेको र कालान्तरमा खनालसँग आफ्नो मित्रता प्रगाढ भएको गिरीले बताए । खनालबाट फिल्म क्षेत्रका धेरै कुरो सुन्दा र उनका लेख रचना पढदा आफू रोमाञ्चित हुने गरेको पनि उनले दाबी गरे ।
‘साइड हिरो’ मा चर्चा गरिएका वीरगन्जकै अर्का पात्र कुर्बान हवारीले ३५ वर्षअघि खनाललाई आफूले वीरगन्जमा भेटेको स्मरण गरे । खनालको पुस्तकमा आफ्नो गीत फर्माइस गर्ने सोखले चर्चा पाउँदा आफू खुसी भएको पनि उनले बताए ।
मकवानपुर, हेटौंडामा साइड हिरो
रेडियो थाहासञ्चार परिसर हेटौँडामा शनिबार पुस्तक परिचर्चा कार्यक्रम भएको छ । कार्यक्रममा लेखक ब्रजेश खनालको पछिल्लो पुस्तक साइड हिरोको चर्चा परिचर्चा गरिएको थियो ।
लेखक ब्रजेश खनालको उपस्थित रहेको कार्यक्रममा अरुणराज सुमार्गीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुरे साहित्यकारहरु निमेष निखिल, घनश्याम घिमिरे, शान्ति प्रिय वन्दना लगायतले पुस्तकका बारेमा चर्चापरिचर्चा गरेका थिए ।
कार्यक्रममा अन्य थुप्रै मकवानपुरे साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रेडियो थाहासञ्चारकी सन्चालक अनिता सुमार्गी सुवेदीको सभाध्यक्षतामा भएको हो ।
साइड हिरोबाट:
यसो हेर्ने हो भने मानिसको जिन्दगी नै आफैंमा एउटा बृहत् र अनवरत चलचित्र हो । भनिन्छ, यहाँ सबैको भूमिका हुन्छ । सबै कलाकार हुन्, अभिनेता हुन् । आउँछन्, आ–आफ्नो भागको अभिनय गर्छन्, जान्छन् । ती सबैको भूमिका भएको चलचित्रको कथा र पटकथाचाहिँ कुनै अदृश्य शक्तिले लेख्छ । त्यो शक्तिलाई कसैले भावी भन्छन्, भगवान् भन्छन्, प्रकृति भन्छन् वा नियति भन्छन् । तर, जे भए पनि मानिसको प्रवेश त्यही बृहत् सिनेमाको पात्रको रुपमा नै हुन्छ । हिरो बन्ने लालसा कसलाई हुँदैन र ? चलचित्रको पर्दाको हिरो नभए पनि आ–आफ्नो जिन्दगीको हिरो बन्ने त हरेक मानिसको सपना हुन्छ । तर, जति चाहे पनि सबै मानिस कहाँ हिरो बन्न सक्छन् र ? हामीमध्ये धेरै त आफ्नै जिन्दगीको पनि हिरो बन्न सक्दैनौं । साइड हिरो बन्न पुग्छौं । अझ कसैकसैले त जिन्दगीको नाममा अर्थहीन, संवादविहीन अभिनेताको मात्र रोल पनि पाउँछौं । चलचित्रको भाषामा भन्नुपर्दा एक्स्ट्राको । त्यस्तो एक्स्ट्रा, जो हूलमूलमा देखिन्छ ।
सम्भावना हुँदाहुँदै पनि अवसर नपाएर गौण र अदृश्य भएर हराएका जिन्दगीका कति कलाकारहरु त तपाईं हाम्रै वरिपरि थिए, छन् । ध्यान दिएर सम्झिनुस् त एक पटक । चलचित्रमा भूमिका सुहाउँदो कलाकारहरु खोज्ने र छान्ने मान्छेलाई कास्टिङ डाइरेक्टर भन्छन् । जिन्दगीको चलचित्रका लागि अभिनेताहरु छान्ने कास्टिङ डाइरेक्टरचाहिँ, कहिलेकाहीं लाग्छ आफ्नो कामै जान्दैन होला । त्यसैले हामीमध्ये अधिकांशलाई अरु कसैको भूमिका दिएर पठाइएको हुन्छ । हामी जीवनभर त्यो भूमिकामा अभिनय गरिरहन्छौं, जुन खासमा अरु कसैको हुनुपर्ने थियो । हामीलाई लागिरहन्छ, अरु कसैले गरिरहेको भूमिका हाम्रो हुनुपथ्र्यो । अनि यसको उर्दी कति तानाशाही हुन्छ भने, बेलाबेलामा चाहेर पनि हाम्रो भूमिका साट्न वा फेर्न पाउँदैनौं । सुहाए पनि नसुहाए पनि तबसम्म त्यसैमा अभिनय गरिरहन्छौं, जबसम्म पर्दामा ठूलो अक्षरमा आउँदैन, ‘द एन्ड’ । अनि प्रोजेक्टर बन्द हुन्छ ।
खेल खत्तम–पैसा हजम ।
तर, यो संसार एउटा निकै ठूलो मल्टिप्लेक्स हो । यहाँ अथाह सिनेमाहरु एकै पटक चलिरहेका हुन्छन् । एउटा प्रोजेक्टर बन्द हुँदा नहुँदै अर्को प्रोजेक्टर चल्न थालिसकेको हुन्छ । आ..., छोडिदिऊँ यस्तो कुरा गर्न । बरू कुरो गरौं, ठूलो जिन्दगी र संसारभित्रको एउटा सानो चलचित्र उद्योगको । नेपाली चलचित्र उद्योग । अनि त्यहाँको चमकले तानिएर हिरो बन्न आएको एउटा अर्को पुतलीको ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment