Translate

Sunday, September 11, 2011

डाक्साबको मुस्ताङ (आशाको त्यान्द्रो)

बायाँ फन्को ६७

डुब्न लागेकोलाई सिन्का पनि बडो महत्वपूर्ण हुन्छ भन्ने एउटा पुरानो भनाइ छ । हुन पनि हो, सबै कुरा ठीकठाक हुन्जेल त मान्छेलाई पानी जहाजको पनि महत्व थाहा हुँदैन । यो कुरा डुब्नु र उत्रनुमा मात्र नभै जिन्दगीका हरेक कुराहरुमा लागू हुन्छ । गुमाए पछि वा गुमाउने डर भएपछि मात्र मान्छेलाई आफूसंग भैरहेको कुराको महत्व थाहा हुने गर्छ । डुब्न लागेको बेलामा, हतास भएको बेलामा सिन्कै पनि ठूलो लाग्ने त्यही भएर हो । चूक घोप्ट्याएजस्तो अँध्यारोमा धिपधिपे मैनबत्ती पनि सूर्य भन्दा प्यारो हुन्छ । समस्याले आत्तिएको मान्छेले कुनै पनि कुरामा आफ्नो उद्धार खोज्नु स्वाभाविक हो ।

भर्खरै मात्र देशले ३५ औं प्रधानमन्त्री पायो । धेरै अघिदेखि “भएभए....., भएनन् भएनन्........हुनैपर्छ.......हुनुहुँदैन.....” भन्दाभन्दै आखिर डाक्टर बाबूराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्रीको रुपमा उदाएरै छाडे । यसपटक उनी प्रधानमन्त्री बन्दा पहिलेकाहरुको तुलनामा असहमत हुनेहरु न्यून भए । हुन त प्रधानमन्त्रीहरुको नामको लामो लर्कोमा एउटा अर्को धर्को थपिएको न हो भन्नेहरु नभएका त हैनन् तर अधिकांश मानिसहरु यसपटकको प्रधानमन्त्री चयन सही भएको र उनको कार्यकाल परिणाममुखी हुने कुरामा आश्वस्त देखिएका छन् । यसो हुनुको पछाडि नयाँ प्रधानमन्त्रीको क्षमता प्रति जनताको विश्वास हो कि डुब्न लागेकोलाई सिन्कोमा पनि आफ्नो समुन्द्र पार लाग्ने माध्यमको खोजी भएको हो भन्ने कुरा चाहिँ चामलमा घुन केलाए जस्तो केलाएरै हेर्नु पर्ने कुरा हो । सतही रुपमा सर्सर्ती हेर्दा भने अहिलेको परिप्रेक्ष्यमा उनी भन्दा अरु गतिला छनौट चाहिँ थिएनन् भनेर मान्नै पर्छ । तर आफू सिन्का मात्रै होइन, गतिलै फल्याक हूँ, डुंगा हूँ अथवा जहाजै हूँ भन्ने कुरा चाहिँ अब डाक्टरसाहबले आफै प्रमाणित गरेर देखाउनु पर्ने चुनौती उनका सामु तेर्सिएको छ । सम्विधान सभा भन्ने कुरासंग जनताको मोहभंग होलाहोला जस्तो भैसकेको अवस्थामा उनी प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री बन्नका कसैका लागि पनि यो निश्चय नै सबै भन्दा अप्ठ्यारो बेला हो । उनका हकमा अझ बढी अप्ठ्यारो किनभने उनीसंग जनताका अपेक्षाहरु छन् । त्यो नभैदिएको भए निश्चय नै पनि उनले फलामको च्यूरा चपाउनु पर्दैनथ्यो । तर फलामको च्यूरा चपाउने र त्यसलाई पचाउने क्षमता आफूमा छ भन्ने कुरा चाहिँ उनलाई थाहा छ र केही हदसम्म उनीमाथि आश लगाएर बसेकाहरुलाई पनि ।

प्रधानमन्त्री बन्नासाथ उनले करोडौं पर्ने विलासी गाडीको साटो बटुलबाटुल पारेर नेपालमै जोडिएको मुस्ताङ गाडी चढेर (यद्यपि अति उत्साहितहरुले यसलाई नेपालमा उत्पादित गाडी भनेर बढाइचढाइ पनि गरेका छन् ।) आफू अरु भन्दा फरक भएको र हुने संकेत दिइसकेका छन् । भोलिका प्रधानमन्त्रीहरुले यो नजीरलाई कुन रुपमा ग्रहण गर्छन् भन्ने कुरा चाहिँ हेर्न बाँकी नै छ । साइरन नबजाइ यात्रा गर्ने उनको अर्को निर्णयले पनि (यो लेखिंदासम्म अपुष्ट) उनी केही फरक गर्छन् भन्ने संकेत दिएका छन् । किनभने आजसम्म आचरणलाई भन्दा बढी आवरणलाई बढी प्राथमिकता दिने कार्यकारी प्रमुखहरु मात्रै हामीले देखेका थियौं । विचारका कारण भन्दा बढी व्यभिचारका कारण चर्चित हुने गरेका अगुवाहरुका भन्दा डाक्टरसाहबले साँच्चै नै फरक अनुहार देखाउन सके भने हामी सबैका लागि त्यो सुखद अनुभूति हुनेछ । हामीले उहाँबाट अपेक्ष गरेको कुरा पनि त्यही नै हो । उनका अहिलेका यी कुराहरु द्रुत चर्चापरिचर्चाका लागि रोचक मसलाहरु हुन् र तिनले अपेक्षित हलचल पनि पैदा गरिसकेका छन् । प्रधानमन्त्रीका यी क्रियाकलापहरु दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीले संकेत गर्छ भन्ने उखान बनोस्, पब्लिसिटी स्टंटमा मात्र सीमित नरहोस् । पार नलागेका कुराहरु उनको कार्यकालमा पार लागून् भन्ने जनचाहनामा खरो उत्रन उनका आगामी दिनका क्रियाकलापहरु गम्भीर र महत्वपूर्ण हुनेछन् ।

उता मुस्ताङ गाडीका निर्माताहरु भने त्यसलाई कसरी उनको योग्य बनाउने भन्ने कुरामा हतारिएर लागेका समाचारहरु आइरहेका छन् । त्यसमा कस्ता कस्ता सुविधाहरु थप्न सकिन्छ, त्यसको स्वरुपलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर इन्जिनियरहरु भारत तिर दौडिसके रे । दुई महीना देखि वर्ष दिनको म्याद तोकिएको छ मुस्ताङलाई परिवर्तन गरेर अन्य महँगा गाडीको बराबरमा ल्याउनका लागि । यहाँ नेर बुझ्नु पर्ने कुरा के हो भने त्यही गाडीलाई सम्पूर्ण रुपमा परिवर्तन गरेर, प्राडो पजेरो जन्य गाडीका सुविधाहरु त्यसैमा हालेर त्यसको नाम मात्र मुस्ताङ बाँकी राख्ने हो भने प्रधानमन्त्रीले जे गर्न खोजेका हुन्, जे सन्देश दिन खोजेका हुन्, त्यो मान्छेहरुले नबुझेका पो हुन् कि भन्ने भान हुन्छ ।  अहिले मुस्ताङ भन्दा देशको रुपरंग फेर्नु बढी जरुरी छ । प्रधानमन्त्रीले चढ्ने गाडीमा यति न्यूनतम आवश्यकता हुनुपर्छ भन्ने सायदै कुनै निश्चित मापदण्ड कतै उल्लेख होला । छ भने पनि विगतकोे मूल्याङ्गन गर्दा कतै  मुस्ताङ प्रधानमन्त्रीको लायक बनुन्जेलमा प्रधानमन्त्री नै फेरिइसकेका त हुने हैनन् भन्ने प्रश्न पनि जनमानसमा नउब्जेला भन्न सकिन्नं । यस्तो सोच आउनुका पछाडि एउटा रोचक तथ्यको पनि प्रमुख भूमिका छ ।

बेलायतमा पछिल्लो छ दशकमा बाह्र जना प्रधानमन्त्री भएका छन् । अमेरिकाको कुरा गर्ने हो भने त्यही अवधिमा एघार जना राष्ट्रपति बनेका छन् । भारतले त्यही समयभित्र चौध प्रधानमन्त्री देखेको छ । तर हामीले त्यत्ति नै अवधिमा उन्नाइस जना फरक मान्छेलाई प्रधानमन्त्रीको मेचमा राखिसेका छौं । एउटै मान्छे दुइ वा तीनपटक बनेको हिसाबले प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने हो भने त यो संख्या उनान्चालीस पुग्दो रहेछ । त्यसैले विगतको छ दशकलाई तुलनात्मक रुपमा हेर्दा हामी स्थायित्वको कुरामा पछाडि परेका छौं भन्ने कुरा देखिन्छ । देश भनेको दीर्घकालीन योजना र सोचले बन्ने कुरा हो । यसर्थ अहिलेका हाम्रा प्रधानमन्त्री त्यो स्थायित्व, दीर्घकालीन सोच र योजनाका लागि कटिवद्ध रहून् अनि बाँकी सबैले त्यो मूर्तरुप दिनका लागि उनलाई सघाउन् । एउटा आम नागरिकका रुपमा यो स्तम्भकारले अहिले आशा गरेको कुरा यत्ति नै हो ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment