Translate

Friday, July 31, 2020

भविष्ययात्रा, गरिमा मासिकमा प्रकाशित पुरानो कथा

अनेकौं ग्रह र पिण्डहरु फुत्तफुत्त गरेर उसको यानको छेउबाट जाँदै थिए । हरेक चीजबाट बच्दै उसको यान पूर्ण गतिले आफ्नो स्वब्रम्हाण्ड तर्फ लाग्दै थियो । कुनै ब्रम्हाण्ड रातो, कुनै गुलाफी त कुनै इन्द्रेणी रंगका पनि थिए । आफ्नो सेतो ब्रम्हाण्डमा पसेपछि ऊ ज्यादै खुशी भएको थियो । अनौठो यात्राको समाप्तिपछि ऊ फर्कँदै छ । आफ्नो देश, आफ्नो घर, अझ विशेषत आफ्नो पृथ्वी । हो, यसै कारण उसको यात्रालाई अनौठो भनिएको हो । किनकि ऊ आफ्नो पृथ्वी फर्कँदैछ । अनन्त ब्रम्हाण्डको यात्रा द्रुतगामी रकेटजस्तै यानबाट गरेर, प्रकाशको गति भन्दा दश प्रकाशवर्ष छिटो हिंड्ने यानबाट एउटा ब्रम्हाण्डपछि अर्को ब्रम्हाण्ड, अर्को ब्रम्हाण्डपछि फेरि अर्को ब्रम्हाण्डहरु घुमेर अन्नत ऊ फर्किंदैछ । अनगिन्ती नयाँ ठाउँ, नयाँ ग्रह र पिण्डहरु घुम्यो ऊ । तर जति गए पनि उसले पार पाउन सकेन । आज उससंग ज्ञानको भण्डार छ, नयाँ ठाउँको नयाँ ग्रहको । उसले कति ठाउँमा जीवनको अस्तित्व पनि पायो । आफूभन्दा थुप्रै विकसित जीवहरु पनि भेट्यो । कतै ढुङ्गे युग देख्यो, कतै जीवनको भर्खर शुरुवात हुन लागेको पनि देख्यो । मान्छे बस्नका लागि पृथ्वीभन्दा उपयुक्त ठाउँहरु पनि पत्ता लगाएको छ उसले । अब उसको कति जयजयकार हुन्छ होला । उसको गुणगान गाइनेछ । मानव ईतिहासमा उसको नाम स्वर्णक्षरमा लेखिनेछ । लामो यात्रापछि घर फर्कँदा हुने खुशी उसले अनुभव गर्‍यो । बीस वर्षको अवधि भनेको निकै लामो त हो नि । हुन त पृथ्वी भन्दा निकै राम्रा–राम्रा ठाउँमा पनि ऊ पुगेको थियो । तर, आफ्नो पृथ्वी प्रतिको प्रेम ज्यूँ का त्यूँ नै रह्यो । मित्रहरु भेटिए कति ठाउँमा, स्वागत गर्ने । हमला गर्ने शत्रुहरु पनि भेटिए । यी सब ज्ञान र अनुभवको आधारमा मानवसमाजलाई थुप्रै चीज दिन पाउने हुनाले ऊ दङ्ग छ । 

स्क्रीनमा आकाशगंगा देखियो । अनि सौरमण्डल पनि । उसले यानको गति घटायो । यान बिस्तारै पृथ्वीतिर बढ्दै गयो । पहिले त अन्तरिक्षमा गएर भाररहित प्वाँख जस्तो भएको उसको शरीरलाई टनका टन फलामले थिचे जस्तो भयो । अनि बिस्तारै त्यो पनि सामान्य हुँदै गयो । स्क्रीनमा बिस्तारै पृथ्वीका दृश्यहरु देखिन थाले । तर..तर यो के ? कुनै चहलपहल किन छैन त्यहाँ ? उसको सोचाइ अनुसार त पहिलेको भन्दा दोब्बर तेब्बर चहलपहल हुनु पर्ने । ऊ अझ नजीक गयो ।  छैन...प्राणीको, जीवनको कुनै अस्तित्व नै छैन । ऊ अझ नजिकियो । हरियाली पनि छैन । जहाँजहाँ हरियाली र रुखपात हुनु पर्ने, त्यहाँत्यहाँ खालि खरानीका थुप्राहरु मात्र छन् । बेलाबेला हावा चल्दा बुङ्गबुङ्गती उड्छन् । घर, सडक, मोटर, मानिस, रुखविरुवा सब सखाप भएका रहेछन् । आणविक युद्ध भएर सबै मान्छे खतम भए भन्ने बुझ्न उसलाई बेर लागेन । तर त्यो कटु सत्य स्वीकार्न उसलाई ज्यादै गाह्रो लाग्यो । उसले एक ठाउँमा यान ओराल्यो । खरानी उड्नुसम्म उडे । ऊ ओल्र्यो । घुँडाघुँडासम्म खरानी थियो । आफूले हरियोपरियो र व्यस्त छोडेर गएको पृथ्वीको यो स्थिति देखेर ऊ डाको छोेडेर रोयो । रुनलाई कसको के लाज र अब ? जुन मान्छेहरुलाई ज्ञानको भण्डार सुम्पन ऊ आएको थियो, ती मान्छेहरु खोइ ? जुन मान्छेहरुलाई बसोबास गर्न उसले अझै राम्रा ठाउँहरु खोजेर आएको थियो, ती मान्छे खोइ ? ती मान्छेहरु त खतम भइसकेछन् ।  मरिसकेछन् । एक आपसमा युद्ध गरेर नाश भइसकेछन् । 
उसलाई उड्ने बेलामा बधाइ दिन, ऊ गएको हेर्न कत्रो भीड जम्मा भएको थियो । आँखाले अगाडि नै हेर्नेहरु, टेलिभिवनमा हेर्नेहरु, रेडियोमा सुन्नेहरु । ती सबै मान्छेहरु खोइ ? उसलाई ती सबैको मृत्युमा दुःख लाग्यो । आफ्नै तेह्र दिने दाजुभाइ मरेभन्दा बढी दुख लाग्यो उसलाई आफूले नसचनेका नदेखेका मान्छेहरुको मृत्युमा । ऊ दुःखले विह्वल भयो । 

एक महिनासम्म ऊ यान लिएर रुँदै पृथ्वीभरि घुम्यो । कोही ज्यूँदो मानिस भेट्न । आफ्नो कथा सुनाउन । अँगालो मारेर रुन । जीवको रुपमा मान्छेके त कुरै भएन एउटा कीरा पनि भेटेन उसले । एउटा उपियाँ मात्र देखे पनि ऊ कति खुशी हुन्थ्यो होला । तर जीवन भन्ने कुरा नाश भइसकेको थियो । उसले कतै कुनै बेला पढेको थियो, साङ्लाहरु आणविक विकिरण सहन सक्छन् र नाश हुँदैनन् । त्यसैले एउटा साङ्गलो नै मात्र भए पनि भेटिन्छ कि भनेर उसले खरानीका थुप्राहरु खोतलिरह्यो । तर त्यो पनि एउटा धैम रहेछ भन्ने उसलाई थाहा भयो । पृथ्वीमा एउटा साङ्गलो पनि थिएन ।  

अहिले पनि ऊ रुँदैछ । चारैतिर आँखा घुमाउँदै छ । कोही केही देखिन्छ कि भनेर । तर मान्छेले नै यसरी मर्नु अघि आफू ज्यूँदो हुँदै यस्तायस्ता हतियारहरु आविष्कार गरेको थियो, जसले गर्दा अहिले एउटै मान्छे ज्यूँदो छैन । के अर्थ त्यस्तो आविष्कारको जसको परिणम देख्ने पनि कोही रहँदैन ? के सार्थकता त्यो आविष्कारको ? ऊ सोध्न चाहन्थ्यो त्यो बनाउनेलाई, त्यसको प्रयोग गर्नेलाई । कोही ज्यूँदो भए पो । एक्लै यत्रो पृथ्वीमा, खरानीको थुप्रोमा ऊ कति दिन बाँचोस् ? उसलाई अब बाँचेर केही गर्नु पनि त थिएन । उसले एउटा बिखको क्याप्सुल झिक्यो । एक नजरफेरि आफ्नो आँखाले देख्न सक्नेसम्मको खरानीको थुप्रोहरु तिर लगायो । अनि क्याप्सूल मुखमा हाल्यो । त्यसलाई निल्नै लागेको बेला अचानक कतैबाट केही आवाज सुन्यो उसले । ऊ फरक्क त्यता तिर फर्कियो । अलि पर घरहरुको भग्नावशेषबाट तीन सुन्दरी युवतीहरु निस्केर उसतिरै दगुरेर आइरहेका थिए । उनीहरुको लुगा फाटेको र च्यातिएको थियो । तीनै जना उसलाई देखेर खुशी थिए । ऊ पनि जीवित मानिसहरु देखेर यति खुशी भयो, जति खुशी विश्वको हमलै मेटिएको ईतिहासमै कोही भएको थिएन होला । उसले बिखको क्याप्सुल ओकल्न खोज्यो तर त्यो भित्र गयो । निलियो । युवतीहरु उसको नजीकै आइसकेको थिए । उसले भन्यो, 
‘मैले बिखको क्याप्सुल निलिसकें । अब केही बेरमै म मर्ने छु ।’ 

यसो भन्दा दुःखी पनि ऊ त्यति नै भयो जति विश्वको ईतिहासमै कोही भएको थिएन होला । त्यो सुनेर युवतीहहरु पनि निराश भए ।  उनीहरुले खोक्रो आँखाले एक आर्कालाई हेरे । उसको आन्द्रामा आगो लागेको जस्तो हुन थालिसकेको थियो र त्यसको ज्वाला ज्वारभाटा जसरी माथितिर उम्लन थालेको थियो । मानौं कुनै ठूलो लाभाको शक्ति उसलाई चिरेर ज्वालमुखी भएर विष्फोट हुन आँटेको छ । एउटी युवतीले हतारिएको स्वरमा भनी, 
‘तिमी विश्वको अन्तिम पुरुष हौ । तिमी मर्न हुँदैन । तिमी बाँच्नै पर्छ ।’

उसलाई थाहा थियो, त्यो सम्भव थिएन । ऊ बेल्न खोज्यो तर सकेन । उसका गोडाहरु कमजोर भइसकेको थिए । फेदमा आरा चलाएको रुख जसरी ऊ डङ्ग्रङ्ग खरानीमा पछारियो । एउटी युवतीले हतारहतार उसको टाउको आफ्नो काखमा राखी । उसका आँखाका डिलहरु एकएक मनको फलाम जस्तै गह्रौं हुन थालेका थिए । उसको दृष्टि धूमिल । बन्द हुन लागेको उसको आँखालाई औंलाले तन्क्याउँदै अर्की युवती चिच्याई, 
‘केही गर, तिमी मर्दैछौ । तिमी गयौ भने सृष्टि पनि नाश हुनेछ । आफ्नो अस्तित्व छोडेर जाऊ । जीवनको निरन्तरता तिम्रो हातमा छ । संसारको लागि वीजारोपण गरेर जाऊ ।’

ऊ भए भरको आत्मबल लगाएर धर्मराउँदै उठ्यो । एउटी युवती खरानीमा लम्पसार परिसकेकी थिई र आफ्नो फाटेको लुगालाई शरीरको तल्लो भागबाट अलग गरिसकेकी थिई । अर्की दुइजनाले उसको परिधान हतारिंदै लुछेर एकातिर फ्यालिदिए । संसारको निरन्तरताका लागि जे गर्नु पर्ने हो, त्यसको लागि समय एकदमै कम थियो भन्ने उनीहरु सबैलाई थाहा थियो । तर बिख अझै प्रभावशाली हुँदै गइरहेको थियो । त्यसैले उसमा कुनै शारीरिक उत्तेजना थिएन । त्यो थाहा पाएर युवतीहरु उसलाई उत्योतजित बनाउने हर सम्भव प्रयास गर्न थाले । उनीहरू संसारलाई जोगाउन चाहन्थे । जीवन कायम राख्न चाहन्थे । तीन जनाको प्रयासले बिस्तारै ऊ तयार भयो । खरानीमा सुतेकी युवतीले उसलाई आफूमाथि तानेर जोडले अंगालो मारी । हातैले समातेर उसलाई पथप्रदर्शन गरेर आफूभित्र समाहित गर्न खोजी । तीनै जना एकै स्वरमा कराइरहेका थिए,
‘छिटो.....छिटो....’

आफ्नो लूलो हुन लागेको शरीरमा भएको अन्तिम शक्ति संचय गरेर उसले बल गर्‍यो । उसलाई आफू अथाह गहिराइमा भास्सिएको अनुभव भयो ।  युवतीहरु प्रसन्न भए । उनीहरु हतारिएको स्वरमा कराइरहेका थिए, ‘छिटो....छिटो....’

ऊ पनि सकेसम्म बल लगाएर त्यस युवतीलाई सम्भोग गरिरहेको थियो । तर, उनीहरु कसैमा पनि कुनै उत्तेजना वा कामवासनाको भावना थिएन । उनीहरु त होम गरिरहेका थिए । संसार सिर्जना गर्ने महान यज्ञ गरिरहेका थिए । यज्ञको होममा ऊ चरु हाल्न लागेको थियो । ऊ अब चरमोत्कर्ष तिर उन्मुख थियो । त्यस महान होमको साङ्गे हुने बेला भएको थियो । 

अचानक ऊ टक्क अड्यो । अचानक उसको मगजमा एउटा विचार बिजुली जसरी चम्कियो । ऊ जे गर्न लागेको थियो, त्यसको दूरगामी प्रभाव चलचित्रको पर्दामा चलेजसरी उसको आँखा अगाडि नाच्न थाल्यो । हो, उ, पृथ्वीको अन्तिम पुरुष थियो । ऊ आफ्नो चिनो छोडेर जान लागेको थियो । यस्तो चिनो, जसले सृष्टिलाई निरन्तरता दिन सक्थ्यो । त्यसको सम्भावना त थियो । तर त्यसको भविष्य के त ? फेरि मानव प्रजातिको निरन्तरता । फेरि विकास । पृथ्वीभरि फेरि मानवको साम्राज्य । यस्ता मानवहरु, जसले यो पृथ्वी आफ्नै मात्र हो भन्ने ठान्नेछन् । आफू फैलिनका लागि अरु जीवजन्तुको नाश गर्नेछन् । प्रकृतिको दोहन गर्नेछन् । आफूलाई अरु आफूजस्ता मानिसहरु भन्दा पनि उच्च कोटिको प्रमाणित गर्ने लालसामा कुनै समय कुनै एक जनाले फेरि यस्तै विनाशकारी अस्त्रको निर्माण गर्ने छ । अनि फेरि एकपटक यसै गरी अरबौं मानिसहरु मासिनेछन् । ती सबै उसका सन्तति हुनेछन् । तिनीहरुको हत्याको पाप उसको खातामा लेखिनेछ । 

ऊ निस्कृय भएको थाहा पाएर युवतीहरु आत्तिएर कराउन थाले, 
‘केही गर । केही त गर । किन रोकियौ तिमी ?’ 

ऊ सुनेको नसुन्यै गरिरह्यो । युवतीहरुको पुकार, आर्तनाद बिस्तारै मधुरो हुन थाल्यो र केही बेरमा ऊ साँच्चै केही नसुन्ने भयो । उसले अरबौं मानिसको, आफ्नै सन्तानको ज्यान बचायो । उसको निष्प्राण शरीर मुनि थिचिएकी युवती रुन थाली । अरु युवतीहरु पनि निराश भए । 

बेस्करी हावा चल्यो । खरानीको धूलो उड्यो । उडिरह्यो ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment