Translate

Thursday, April 11, 2024

शून्य

मलाई आजकल चुपचाप हराउन मन छ
मानिसहरूको भीडमा 
यस्तो अनुहार बन्ने मन छ, जुन हराओस् त्यही भीडमा,
बिलाओस् नदेखिने गरी मेरो अनुहार आकाशमा हावा जसरी
निर्गन्ध, रङ्गहीन -जसको कुनै अस्तित्वै नहोस्- कतै भएर पनि

कसैले नबोलाउन् मलाई -नखोजून् कसैले मलाई
म प्रयोजनहीन हुन चाहन्छु -म परिचय बिहीन बन्न चाहन्छु
न गाली गरून् कसैले मलाई- न कसैले गरून् मेरो प्रशंसा
यस्तो छ पनि नभनून् -त्यस्तो थियो पनि नभनून्
छ पनि नभनून्, छैन पनि नभनून्
नकारिदिउन् मेरो अस्तित्वलाई नै
म यतै कतै यसरी रहन चाहन्छु कतै नभए जसरी
ज्यूँदो रहँदा रहँदै पनि मानौं म निर्जीव हुन चाहन्छु
मलाई आजकल आवाजबिहीन रहन मन छ
यो संसारको हल्लाको बीचमा
यस्तो स्वर बन्ने मन छ, जुन मौन रहोस् यो कोलाहलमा
हराओस् मेरो बोली आकाशको नीर जसरी
देखियोस् तर होस् अप्राप्य
मलाई आजकल अदृश्य भएर हराउन मन छ
यतै कतै रहँदै पनि—क्षितिज जस्तै सबैको पहुँच भन्दा भर
तिम्रो स्मृतिबाट पनि बिलाउन चाहन्छु
त्यसरी—जसरी दिन चढ्दै जाँदा
उडेर बिलाउँछ बिहानीको शीतको बाफ
म सुरू र अन्तिम अध्याय च्यातिएको
एक अधूरो पुस्तक बन्न चाहन्छु
नपढोस् कसैले जसलाई, नगरोस् अर्थ्याउने यत्न
म किलोग्रामको दरमा बेचिने किनिने
पुराना कागजको थाकमा किचिएर हराउन चाहन्छु।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment