Sunday, January 25, 2009

हाम्रो एकताको ऊर्जा

हुन त मलाई फेसबुकमा त्यति धेरै रुचि छैन। आफूलाई संसार सामु उदाङ्गो बनाउने त्यति धेरै रहर नभएर होला। त्यसै पनि म के गरिरहेको छु, कहाँ गएँ, कस्तो फोटो खिचें, कसलाई भेटें, के कुराले वाक्क भएँ, किन खुसी भएँ भन्ने कुरामा कसलाई के नै खाँचो भन्ने लागेर पनि होला। तर कहिलेकहीं यसो चिहाउने गर्छु त्यसमा। केही दिन अघिको कुरा हो, अलि धेरैपछि फेसबुक खोलेको थिएँ, खोल्नासाथ एउटा आह्वानले मेरो आँखा तान्यो।

भर्खर प्रदर्शन भएको एउटा हिन्दी चलचित्रलाई वहिष्कार गर्ने ऐक्यवद्धता जुटाउनका लागि थियो त्यो आह्वान। के भएछ फेरि र नेपालीहरुको स्वाभिमान जुर्मुराएछ भनेर कौतुहलता भयो। तर त्यसमा कारण चाहिँ खुलाइएको थिएन। शायद गोर्खे भनेर अपमानजनक रुपमा कुनै नेपाली पात्रलाई प्रस्तुत गरे होलान्। हिन्दी चलचित्र निर्माताहरुले नेपालीलाई एउटै रुपमा मात्र त चिनेका छन् र आफ्नो त्यही अल्पज्ञानमा नै उनीहरु रमाएर बस्ने गर्छन्। संसारभरका सबै कुरा बुझेका, जानेका, विकास र प्रविधिमा उन्नत भएको दावी गरेर हिंड्ने मुलुकका श्रव्यदृश्य र आमसंचारका व्यक्तित्वहरुले आरुनै वरिपरिका सफलतम मान्छेहरुलाई हेरे भने पनि नेपाली भनेको दरवान र चौकीदार मात्र होइन भनेर त देख्नै पर्ने हो। तर जानाजानी कुनै कुरालाई कसैले गलत व्याख्या गर्छ भने त भन्छन् नि, निदाएकोलाई पो व्यूँझाउन सकिन्छ, निदाए जस्तो गर्नेलाई कसरी व्यूँझाउने?

यही कुरामा घोत्लंदै जाँदा एउटा अलि पुरानो कुराको सम्झना भयो। एकताका त्यस्तै एउटा चलचित्रले नेपालीहरुको गलत छवि प्रस्तुत गरेको थियो। म एउटा एफ. एम. स्टेसनको जिम्मा लिएर बसेको थिएँ। त्यतिखेर अहिले जस्ता धेरै एफ. एम. स्टेशनहरु थिएनन् पनि। भएकाहरु हामी सबै मिलेर एउटा गतिलै विरोध अभियान चलायौं, त्यो चलचित्रको भिसीडी पिपलबोटमा जलायौं, भारतीय राजदूतावासमा विरोधपत्र बुझायौं। हाम्रो एफ. एम. चाहिँ अलि बढी नै आक्रोशित भएर हिन्दी गीतहरु नै बजाउन छोड्यौं जसको फलस्वरुप हामीले पाइरहेका विज्ञापन र सबै प्रायोजकहरु गुमायौं। त्यसले गर्दा स्टेशन नै घाटामा गयो। त्यतिखेर मन बडो अमीलो भएको थियो। कस्तो बिडम्वना, नेपालमा बसेर नेपाली गीतहरु मात्र बजाएर स्टेशन चलाउँछु भन्यो भने त प्रायोजक नै नपाइने पो रहेछ। दुइचार दिनपछि त्यो कुरा त्यसै सेलाएर गयो।

त्यसपछि पनि एकपटक एउटा अभिनेताले नेपालीहरुको बारे अपमानजनक अभिव्यक्ति दियो भन्ने उडन्ते हल्लाले एकदिन राजधानी नै अस्तव्यस्त बन्यो। एउटी शिखरमा रहेकी पढेलेखेकी अभिनेत्रीले त यहाँ आएर नेपाल भारतको एउटा प्रान्त भएको कुरा गरेर हाम्रो रगत अलिअलि उमालेकी थिइन्। त्यो उनको अज्ञानता थियो वा धृष्टता भन्ने कुरा बुझ्न बाँकी नै छ। किनभने माइक्रो बायोलोजीमा स्नातक ती अभिनेत्रीलाई आफ्नो छिमेको मुलुको सार्वभौमिकताको बारेमा त्यति ठूलो भ्रम त नहुनु पर्ने हो। त्यसबाहेक पनि कहिले कुनै समाचार च्यानलले भारतको नक्सामा नेपाललाई पनि मिसायो भनेर त कहिले सगरमाथा भारतको भन्यो भनेर हामीले बेलाबेलामा उफ्रनु परेको छ। अनि अहिले फेरि एउटा हिन्दी चलचित्रलाई बहिष्कार गर्ने अनुरोध फेसबुकमा देखियो। कारण केही समय नबित्दै थाहा पनि भयो। एकजना मित्रले पठाएको एसएमएस टुइँटुइँ गरेर करायो। त्यो चलचित्रमा बुद्ध भारतमा जन्मेका हुन् भनेर भनिएको रहेछ। त्यसैले सकेजति धेरैलाई एसएमएस हुत्याइदिनुहोला भन्ने अनुरोध पनि थियो।

हुन त पहिले पनि बेलाबेला भारतीय संचार माध्यमहरुले यो दावा नगरेका होइनन्। कपिलवस्तु नै भारतमा छ भन्ने प्रचार पनि हुने नगरेको होइन। इतिहासलाई नै एकातिर पन्छाएर कसैले केही दावी गर्छ भने त्यस्ता दावीहरुका विरोधमा उर्जा खर्चिरहनुपर्ने आवश्यकता छ त? कुनै हावा खुस्क्या मान्छेले मध्यदिनमा आकाशतिर हेरेर सूर्यलाई चन्द्रमा भन्यो भने के त्यसको विरोध गरिरहनुपर्छ र? विवेकशील मान्छे त ए हो र भनेर त्यसको अज्ञानतामा हाँसेर आरुनो बाटो लाग्छ नि हैन र? तर जे होस्, यसपटकको विरोध पहिलेको जस्तो फुस्स भने भएन। उक्त चलचित्र नेपाल अधिराज्यमा आधिकारिक रुपमा प्रतिवन्धित नै भएर छोड्यो, भलै प्रदर्शनको एक हप्ता पछि नै भए पनि।

हुन त मैले अघि नै भनें कुनै बेला म आफै पनि यस्ता कुराहरुबाट अलि बढी नै आहत हुने गर्थें। आहत अहिले पनि नहुने होइन तर प्रतिकृया कसरी व्यक्त गर्ने भन्ने कुरामा चाहिँ परिवर्तन आएको मात्र हो। शायद उमेरले, अनुभवले वा शायद पहिले र अहिलेको अवस्थामा भएको भिन्नताले मेरो भावनामा यो परिवर्तन ल्याएको होला। हामी भित्रको त्यो भावनालाई कहाँ खर्चने भन्ने कुराको प्राथमिकता म अहिले अर्के देख्न थालेको भएर पो हो कि?

तर यस किसिमका प्रतिकृयाहरु देख्दा खुसी मान्नु पर्ने कुरा चाहिँ के हो भने अझै पनि हामीमा त्यो एकताको भाव बाँकी रहेछ। त्यो बाँकी रहनु आफैमा एउटा ठूलो उपलव्धि हो। त्यसो भए हामीले त्यो भावनाको झिल्कोलाई अझ बढी महत्वपूर्ण कुरा तिर किन उन्मुख नगराउने त? सबैभन्दा पहिले त जात, धर्म, वर्ग वा सम्प्रदायको अत्यासलाग्दो गरि चौडा हुन थालेका धाँजाहरु पुर्नमा हामीले त्यो समय र शक्तिलाई खर्च गर्नु अहिलेको अवस्थामा बढी सान्दर्भिक र महत्वपूर्ण होइन र?

नागरिकको रुपमा पाउनुपर्ने अधिकारको लागि जुर्मुराउन र कराउन हामी आजकल खप्पीस भैसकेका छौं, तर अब आफ्नो कर्त्तव्यलाई पनि केलाएर हेर्ने, त्यसका लागि जागरुक हुनेमा पनि ऐक्यबद्धता देखाउन सिक्ने बेला भएको छ। अहिले परिवर्तनको यो सम्वेदनशील अवस्थामा हाम्रो सबैभन्दा ठूलो स्वार्थ भनेको देशलाई सही दिशा दिनु हो र यस्तो नाजुक बेलामा हाम्रो आचरण र व्यवहारका सानासाना कुराहरुले पनि ठूलो दूरगामी प्रभाव देखाउन सक्छ। कर्त्तव्यलाई भुलेर अधिकारको लागि मात्र हामी लड्न थाल्यौं भने त्यसले हामीलाई नै असर गर्छ। अलिअलि त्याग, अलिअलि संयम गर्न अनि अरुको आँखाबाट पनि कुराहरुलाई हेर्न सिक्नु पर्छ हामीले। त्यसैले हामी सबै भन्दा पहिले नेपाली हौं, अनि मात्र पहाडी, मधेसी, बाहुन, क्षेत्री, नेवार, राई, लिम्बू वा अरु केही हौं, भन्ने कुरालाई गुरुमन्त्र मानेर अगाडि बढ्ने ऐक्यवद्धता निर्माण गर्नका लागि पनि एसएमएस गरौं, फेसबूकमा अभियान चलाऔं, साथीभाइको भेलामा चर्चा गरौं।

बहिष्कार हामी भित्रका ती सोच र मानसिकतालाई गरौं, जसले हामीलाई कुनै पनि रुपमा विभाजनको खाल्डोतिर उन्मुख गर्न खोज्छ। प्रतिवन्ध लगाउने प्रयास ती बाह्य मानसकिताहरुलाई गरौं, जसले सोझै हाम्रो देशको नितान्त व्यक्तिगत निर्णयहरुमा हस्तक्षेप गर्न खोज्छन्। हामीमा अझै पनि सुसुप्त अवस्थामा रहेको हाम्रो भाइचारा र एकताको यो झिल्कोमा साह्रै ठूलो तागत छ, अत्यन्तै प्रखर ऊर्जा छ।

यो ऊर्जालाई सही दिशातिर मोड्ने हो भने हाम्रा धेरै समस्याहरु आफै समाधान भएर जानेछन्। थुप्रै लडाईंहरु हामीले हामी मध्ये कोही नहारिकनै जित्नेछौं।

२०६५ माघ २५ गते, नेपाल पत्रिकामा प्रकाशित मेरो पाक्षिक स्तम्भ "बायाँ फन्को" बाट

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...