Translate

Monday, May 11, 2009

ज्वालामुखी

छरपष्ट हुन उद्यत
सानो छिद्रा पाए पनि
उष्ण आवेगहरुसंग
उम्लिरहेका आगोका मूलहरु
च्यातचुत अनि
छताछुल्ल बनाउन
वरिपरिका सारा कुराहरु
भत्काउन - विनाश गर्न
तातिरहेका
अग्नि समुन्द्रका ज्वारभाटाहरु
लाभाहरु ज्वालामुखीका

म,
ज्वालामुखीको टुप्पोलाई
आफ्नो अस्तित्वले छोपेर
थुन्ने प्रयास गर्दै

डढेलोहरु म भित्रै पनि
सल्किरहेका छन् - फैलिरहेका छन्
म भित्रै पालिएर
मलाई नै पोलिरहेका छन्
अलिअलि गर्दै
मलाई नै आहार बनाउँदैछन्
यी परजीविहरु

म,
आफूभित्रको दनदन खप्दै
ज्वालामुखीको चिरालाई
थुन्दैछु - छेक्दैछु - रोक्दैछु

लाभाहरु म भित्रै पनि
उम्लिरहेका छन् दनदनी

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment