Translate

Sunday, May 20, 2012

नानो मन

बायाँ फन्को ८४

विकासक्रममा मान्छेले उदेकलाग्दा उपलव्धिहरु गरेको छ । सोच्नै नसक्ने कुराहरुको विकास गरेको छ मानिसले । प्रविधि त झन् यस्तो भैसकेको छ, जसले गर्दा अब कुनै पनि कुरा असम्भव भन्न नसकिने भएको छ । हामी क्रमशः अभ्यस्त हुँदै गएकोले हेक्का नगरेको मात्र हो नत्र भने हामीले हातहातमा बोकेर हिंड्ने हातेफोन मात्र पनि कुनै मायावी वस्तु भन्दा कम छैन आजकल । सय वर्ष अघि कुनै अफीमचीले त्यसको तन्द्रामा पनि कल्पना गर्न नसक्ने कुराहरु आज वास्तविकता बनिसकेका छन् । हरेक क्षेत्रमा मान्छेले आफ्ना अघिल्ला उपलव्धिहरुलाई गौण बनाउने अर्को उपलव्धि दिनहुँ भनेजस्तो गरिरहेको छ । आजको समय द्रुत उपलव्धिको समय हो ।

यो क्रममा मानिसले गरेको चमत्कार भनेको हरेक चीजको आकारमा हो । माइक्रो चिप्स जस्ता आविष्कारका कारण सानो भन्दा सानो आकारका यन्त्रहरु सम्भव हुन थाले । आकारमा जति सानो भए पनि तिनको क्षमता भने झन् झन् बढी पनि सम्भव हुन थाल्यो । फलतः रेडियो, टेलिभिजन, कम्प्यूटर, चिकित्साका लागि प्रयोग हुने उपकरण, मेशिनरी जस्ता थुप्रै कुरा झन्झन् साना हुँदै गए । पहिले आविष्कार र विकासको क्रममा आइबीएमले बनाएको कम्प्यूटर राख्नका लागि मात्र एउटा ठूलै आकारको कोठा चाहिन्थ्यो रे । जबकि त्यसको क्षमता र उपादेयता अहिलेका काखे वा हाते कम्प्यूटरको एक छेउ पनि हुँदैनथ्यो । त्यतिबेला त्यस्तो भीमकाय र महँगो उपकरणको बजार कस्तो होला त भन्ने प्रश्न उठ्दा त्यसका आविष्कारकहरुले आशावादी हुँदै कम्प्यूटर केही नभए पनि विश्वभरमा पाँचसात वटा त कसो नबिक्ला भनेका थिए रे । कलपूर्जाका आकारहरु नघटेका भए र आजसम्म पनि त्यही अवस्थामा कम्प्युटर रहेको भए न त त्यो सर्वसुलभ हुन सक्थ्यो, न विकसित हुन सक्थ्यो । यही कुरा प्रविधि र विकासका अरु कुराहरुमा पनि लागू हुन्छन् ।

अब मान्छेको शरीरभित्र सूक्ष्मतम आकारका क्यामराहरु छिराएर त्यहाँ भित्रका रोगव्याध पत्ता लगाउन सकिने भयो । विकसित देशका वैज्ञानिकहरु अब लामखुट्टेको जस्तै रुपरंग र आकारको जासूसी यन्त्र बनाएर अरुका बारे खोतलखातल गर्न सक्ने भए । अनुसन्धान, अपराध नियन्त्रण जस्ता कुराहरु पनि पहिले हेरि निकै सहज हुन थाले । मानिस अब हरेक कुरामा सानोको खोजीमा लाग्न थाल्यो, सानैमा अभ्यस्त हुन थाल्यो ।

तर सबै कुरा सानो बनाउने क्रममा मान्छेको भौतिक जीवनलाई सहज र सरल बनाउने यो लागेको बानीले हाम्रो अरु सानो बनाउन नहुने कुराहरु पनि सानो बनाउँदै लगेको पनि छ । आजकल हाम्रो मन, चित्त, सहनशीलता, समवेदना र सद्भाव पनि त्यसरी नै सानो हुन थालेको छ । प्रविधिमा आएको सूक्ष्मताले फाइदा बढी गरे जस्तो मनमा आएको सूक्ष्मताले चाहिँ हानि बढी गरिरहेको छ मानिसलाई । कुनै बेला सुनिने, बोलिने र प्रचुर मात्रामा प्रयोग गरिने एउटा उक्ति ‘वसुधैवः कुटुम्वकं’ को आजको विश्वमा कति औचित्य बाँकी रहेको छ भनेर सोच्नुपर्ने बेला भएको छ । यसै भावलाई तथाकथित उत्तरआधुनिक रुप दिने हो भने गर्न त आजका मान्छेहरुले पनि ग्लोवल सिटिजन भन्ने शव्दको खूबै प्रयोग गर्ने गरेको पाइन्छ ।

संचार र प्रविधिका कारण विश्व खुम्चेर कोठामा अटाएको छ र त्यसले गर्दा संसारका सबै कुनाका मानिसहरुको भोगाई, सोचाई र विश्लेषणमा समानता आइरहेको छ भन्ने तर्क गर्नेहरु आफूलाई ग्लोवल सिटिजन भन्न रुचाउँछन् । तर व्यावहारिक रुपमा एउटा मुलुकको मान्छे अर्को मुलुकमा बिना भिसा जान पाउँदैन, अझ अमेरिकी तथा यूरोपेली मुलुकमा त चोर केरिएको जस्तो केरिनुपर्छ कम विकसित देशका मानिसहरुले भने यो मन भुलाउने रमाइलो शव्द बाहेक अरु केही हुन सक्दैन ।

मन साँच्चै नै सानो हुँदै गएको छ, माइक्रोचिप्स जस्तै । मन खिइँदै गए पछि सद्भाव पनि खिइन्छ । अनि तेरो र मेरो भन्ने भावना पनि बलियो हुन थाल्छ । त्यसैले त महादेश र देशका नाममा मात्र नभै एकै देशका मानिसहरु पनि आफूलाई जातपात, वर्ग समुदाय, संस्कृतिका नाममा टुक्राएर आफूलाई झन् झन् सानो बनाउन थालेका छन् । एकतामै छ सर्वशक्ति भन्ने कुरा मन सानो बन्दै गएपछि मान्छेले बिर्सन्छ । एउटा मानिस र अर्को मानिसलाई जोड्नका लागि मानिस हुनु एउटै कारण पर्याप्त हुन्छ । तर तिनैलाई अलग्याउनका लागि भने एक हजार कारणहरु सजिलै फेला पार्न सकिन्छ । यो कुराको ज्वलन्त उदाहरण त हामीले अहिले भोगेको र बाँचेको समय नै हो ।

हामीले के बुझ्नु परेको छ भने, मानिसहरुमाथि शासन गर्ने चाहना भएका अरु मानिसहरुले संसारमा प्रयोग गरेको सबैभन्दा पुरानो र अचुक अश्त्र हो, डिभाइड एण्ड रुल, अर्थात फुटाऊ र राज गर । हरेक कालखण्डमा कहिले धर्मको नाममा, कहिले जातको नाममा, कहिले वर्ग र समुदायको नाममा यो अश्त्र प्रयोग भएको छ । अहिले पनि शक्तिका उन्माद चढेकाहरु र खोजीमा लागेकाहरु त्यही नै गरिरहेका छन् ।

हामी सबै मानिस हुनु नै हाम्रो पहिचान हो । मानिसमानिसको बीचमा फरक खोज्ने काम हामीले किन गर्नु पर्छ र ? हामी सबै नेपाली मात्र हौं र त्यो भन्दा बढी सोचेर आफूलाई टुक्राउने काम गर्ने हो भने त्यसले हामीलाई नै कमजोर बनाउँछ अनि हामीलाई फुटाएर राज गर्ने जूकाहरुलाई मात्र मोटो बनाउँछ भन्ने साधारण कुरा हामीले सोच्न किन सक्दैनौं ?

प्रविधिले जे सुकैको आकार घटाओस्, हामी आफ्नो छातिको आकार नघटाऔं, मनको आकार नघटाऔं । नानो भनिने सानो बनाउने क्रमले आफ्नो भावनालाई छोप्न नदिऔं । सुन्दा मात्र पनि नानो उपकरण जति राम्रो सुनिन्छ, त्यति नै नराम्रो सुनिन्छ नानो मन ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment