Translate

Sunday, June 17, 2012

आफूलाई नपरेसम्म

बायाँ फन्को ८६

बिजुलीको खम्बामा चीम बलिरहेको थियो । हातैले भ्याउने उँचाइमा त्यसलाई बन्द गर्ने स्वीच थियो । तर पनि बिहानको साढे आठ बजेसम्म कसैले त्यसलाई निभाउने कष्ट गरेको रहेनछ । यो दृश्य काठमाण्डौको एउटा सार्वजनिक सडक छेउको हो । यस्ता दृश्यहरु आम हुन् । हामी सबैले बारम्बार यस्तो देखेका छौं । तर देखेको बेला गएर त्यो बत्ती निभाउने चाहिँ हामी मध्ये कति जनाले गरेका छौं त ?

हेर्दा सामान्य कुरा नै हो, तर कतै यसले हाम्रो संस्कारको पोल त खोलिरहेको त छैन ? हामी पनि अचम्मका मान्छेहरु हौं । यो मुलुकमा लोडशेडिंगले कहिले पनि नछोड्ने भो भनेर लौ त भनौं भने दिनको पचासौं पटक सत्तोसराप गर्छौं ।  लोडशेडिङ्गको यस्तो चर्को मारमा परेको बेला फत्फत् र गनगन गरे कहिल्यै पनि थाक्दैनौं । तर पनि खम्बामा दिउँसै बलिरहेको चीम देख्दा अलिकति हात लम्क्याएर बत्ती निभाउने जमर्को साधारणतया हामी गर्दैनौं । यसरी खेर गइरहेका खम्बाका बत्तीहरुले कति धेरै ऊर्जा नाश गरिरहेका होलान् भनेर हामी सोच्दैनौं किन भने हामीलाई थाहा छ त्यसको बिल हाम्रो मिटरमा चढ्दैन । आफूले इन्भर्टरको जोहो गर्ने ल्याकत छ भने हामीलाई लोडशेडिंगले चिन्तित गर्दैन । 

त्यस्तै कुनै सार्वजनिक धारामा खलखली पानी बगिरहेको पनि ठामठाममा हामीले देख्ने गरेका छौं । घरमा अनावश्यक रुपमा पानी खेर फ्याल्दा पनि यही सहरका कति मान्छेहरु अरु सार्वजनिक धारामा एक गाग्रोे पानीका लागि घण्टौं लाममा लागेर मारामार गरिरहेका छन् भन्ने कुरा बिर्सन्छौं हामी । आफ्नो घरमा डीप बोरिंगबाट वालछ्याल् पानी आउँछ भने हामी दङ्ग पर्छौं । अघिल्लो वर्षकोे आँकडा अनुसार काठमाण्डौंमा दिनको बाह्र करोड लिटर पानी भुईमुनिबाट तान्ने गरिन्थ्यो । अहिले तीब्र गतिमा भएका निर्माणका कारण थपिएका कलकारखाना र भवनहरुका कारण त्यो संख्या निकै नै बढिसकेको हुनुपर्छ । यसै कारण हामी उभिएको धरती मुनि पानीको सतह नै निकै तल पुगिसकेको छ । कुनै दिन त्यसले भयावह परिणाम ल्याउन सक्छ भनेर हामी सोच्न पनि चाहँदैनौं । आज आफ्नो घरमा टन्न पानी आउन्जेल हामी भोलिका लागि र अरुका लागि टाउको दुखाउन चाहँदैनौं । 

पानी र बत्तीका कुरामा मात्र होइन, हामी अरु बढी महत्वपूर्ण र सम्वेदनशील कुरामा पनि लघुकालीन समाधानमा मात्रै रमाएका हुन्छौं । आज, भोलि र हद से हद एक महीना सम्मका समस्या मात्रै हाम्रा लागि महत्वपूर्ण लाग्छन् । त्यो भन्दा पछि त के भयो र पशुपतिनाथ छँदैछन्, तिनैले सब ठीक पार्छन् । एक पटक ध्यानपूर्वक हाम्रा विगत केही समयका राजनैतिक, सामाजिक, अर्थिक कुराहरुलाई नियालेर हेरौं त, हामीले दीर्घकालीन योजना भनेको के हो भन्ने त बिर्सी पनि सकेका हौं कि भन्ने भान हुन्छ । 

आफ्नो चर्चित पुस्तक ‘इट, प्रे, लभ’ मा एलिजावेथ गिलवर्टले इटालियन र अमेरिकनको एउटा बानीका बारेमा रमाइलो कुरा लेखेकी छिन् । उनी भन्छिन्, एउटा अमेरिकनलाई अर्को हप्ताको बुधबार डिनरको लागि आमन्त्रण गर्दा उसले या त त्यो दिन ठीक छ भन्छ, या त्यसको साटो मंगलबार वा बिहीवार गरौं न भन्छ रे । त्यही आमन्त्रण कुनै इटालियनलाई गर्दा लामो सास फेरेर उसले भन्छ रे, “अर्को हप्ताको बुधबारसम्म खै के हुन्छ, कस्तो स्थिति हुन्छ अहिले देखि कसरी भन्न सकिन्छ र ?”

हामी पनि शायद आजकल यो सन्दर्भमा इटालियन भएका छौं । कसैले पनि कुनै दीर्घकालीन योजना बनाउन नसक्ने भएका छौं हामी । त्यसमाथि हरेक कुराका लागि हामीले कुरिरहेको सम्विधानले एकपटक फेरि हामीलाई अझ बढी अनिश्चित बनाएको छ । कुनै बेला भानुभक्तले अमरावती र स्वर्गसरी भनेर बखान गरेका यो कान्तिपुरी नगरी आज संसारकै सबैभन्दा बढी फोहोर, प्रदूषित र अव्यवस्थित सहरको सूचिमा परिसकेको छ । तै पनि अमेरिका यूरोप वा अन्य विकसित मुलुकका सुविधासम्पन्न सहरहरुको बराबर यहाँका घरजग्गाको भाउ पुगेको छ । त्यस्तो अमूल्य जग्गाका ईन्चईन्चका लागि छिमेकीसंग बाझ्दै, साँघुरो बाटाहरुका संजाल भित्र बनाइएका घरमा बस्दा, हामी सोच्नसम्म पनि सोच्दैनौं कुनै दिन कुनै भवितव्य परेको खण्डमा एम्बुलेन्स अथवा दमकल कहाँसम्म आउन सक्छ ? किन टाउको दुःखाउने, हाम्रो घरमा कोही बिरामी परेको छैन । 

हामी घरघरका फोहोरहरु सुटुक्क लगेर बाटोमा मिल्क्याएर नाकमुख कपडाले ढाकेर हिंड्छौं, कुन दिन यहाँ ठूलो महामारी फैलन्छ भनेर फतफत गर्दै ।  तर त्यति बेला जाजरकोट र रुकुमको महामारी हाम्रो लागि रेडियो वा टेलिभिजनले फलाक्ने फगत एक समाचार मात्र हुन्छ, मृतकका संख्याहरु अंकमात्र हुन्छन् ।  किनकि यो सहरमा महामारी फैलनबाट पशुपतिनाथले बचाइरहेका छन्, बचाइरहने छन् ।

एउटा पुरानो भनाइ छ, विवेकशील प्राणी त्यो हो, जो अरुको अनुभवबाट सिक्छ, अरुलाई परेको देखेर चेत्छ । साधारण मानिस भनेको चाहिँ त्यो हो रे, जो आफूलाई नपरुन्जेलसम्म चेत्दैन । विवेकहीन प्राणी भनेको चाहिँ आफूलाई परेर पनि चेत्दैन, आफ्नो भोगाइबाट पनि सिक्दैन रे । यस अर्थमा बुझ्ने हो र जन्मदेखि शारीरिक र मानसिक विकासको साधारण क्रमलाई मान्ने हो भने जीवनको यात्रामा हामी सबै विवेकहीन बाट साधारण हुँदै विवेकशील बन्ने गर्छौं । 

हाम्रो विकास र परिमार्जनको यात्राक्रम त्यस्तै हुनुपर्छ । किनभने बालक छँदा मान्छेलाई आगोले पोल्छ वा नाङ्गो तारले विजुलीको झट्कादिन्छ भन्ने कुरा थाहा हुँदैन । टाढाबाट हेर्दा त आगो सुन्दर देखिन्छ । परबाट रातो, उज्यालो र आकर्षक देखिने कुरा पनि त्यति छुच्चो, दुच्छर र पीडादायी हुन्छ भन्ने कुरा त्यसलाई छोएर मात्र मान्छेले जान्दछ । यस्तै अन्य थुप्रै आफ्ना अनुभवबाट सिकेर हुर्कंदै गएपछि हामी अरुको अनुभवबाट पनि सिक्न सक्ने बन्छौं । तर पनि जीवनमा, समाजमा र व्यावहारिकतामा हामी नयाँनयाँ मोडहरुमा छद्मभेष धारण गरेका थुप्रै अरु आगोहरु भेट्छौं । डाम्ने कुराहरु कुनै पनि रुपमा हाम्रो बाटो ढुकिरहेका हुन्छन् ।

आफूलाई परिसकेपछि मात्र कुनै कुराको समाधान खोज्ने हाम्रो बानीले कुनै दिन हामीलाई यस्तो स्थितिमा नपुराओस्, जुन दिन हामीसंग पछुताउने बाहेक अरु बाटो हुँदैन । एकजनाको मात्र प्रयासले कुनै पनि कुरा सम्भव हुँदैन । अनि हामीले बुझ्नै पर्ने अर्काे कुरा के हो भने, सानासाना कुराहरुबाट नै सुरु नगरी ठूला उपलब्धिहरु पनि सम्भव हुँदैनन् । पहिले आफूलाई नसुधारी समाज वा राष्ट्र सुध्रिंदैन ।  आफ्नो चरित्रलाई नयाँ रुप नदिई देशको चरित्र फेरिंदैन । 

त्यसैले चेत्नका लागि आफैलाई परोस् भनेर हामी प्रतीक्षा नगरौं । अरुको भोगाइबाट सिकौं । 

Monday, June 11, 2012

राई सर र जीवनको हिसाब

त्यतिबेला हामी पाँच छ कक्षामा पढ्थ्यौं । हाम्रो हिसाव कक्षामा अक्सर घोडाका टापका आवाजहरु गुञ्जिरहेका हुन्थे, टडडकटक.....टडडकटक....। लगाम तानेर जब काउब्वाय बनेको क्लिण्ट इस्टवुडले तिनलाई रोक्न खोज्थ्यो, घोडाहरु आफ्ना अगाडिका दुबै खुटहरु उचालेर जोरसंग हिनहिनाउँथे, हिंहिंहिंहिं......। पाश्र्वमा एकतमासको सङ्गीतले हामीलाई चारैतिरबाट छोप्थ्यो । अगाडि पाँचवट छ वटा घोडामा लामो कपाल पालेका, दाह्रीजुँगे हेर्दै डरलाग्दा अरु काउव्बायहरु दाँत कोट्याइरहेका हुन्थे । क्लिण्ट इस्टवुड सतर्क भएर घोडाबाट ओर्लन्थ्यो र बिजुलीको फूर्तिले आफ्नो पेस्तोल निकाल्थ्यो । ढिच्याँ...ढिच्याँ..ढिच्याँ....गर्दै उसको पेस्तोलले आगो ओकल्न थाल्थ्यो । हेर्दाहेर्दै सबै दुष्टात्माहरु भुइँमा पछारिएका हुन्थे । स्याँस्याँ गर्दै हावा चल्न थाल्थ्यो र बञ्जर जमीनबाट उडेको फुस्रो धूलोले वातावरण धमिलो हुन्थ्यो । तपाईहरुलाई हिसाबको कक्षामा यस्तो कसरी सम्भव छ भन्ने लाग्नु स्वाभाविक हो । किनभने तपाईंहरुलाई राई सरले हिसाब पढाएका थिएनन् । राई सर, अर्थात जब्बर राई । यो २०३४ साल तिरको कुरा हो ।

Sunday, June 3, 2012

काल खोज्दै ?? काल छल्दै !!

बायाँ फन्को ८५ 

जेठ १, २०६९
“के हो मित्र ? काल खोज्दै हिंडिएछ नि ।” 
बिहान मोबाइल फोन नयाँ सन्देश आएको सूचना दिँदै थर्थर कामेको थियो । हुन त हरेक सन्देशमा एउटै यान्त्रिक कृया हुन्छ त्यसको, तर त्यस बिहानको थर्काइ मानौं कुनै दुःखद समाचारको पूर्वसूचना दिनका लागि आफै पनि तर्सेको जस्तो थियो । सन्देश हेर्दा माथिको वाक्य देखियो, कुनै एकजना शुभचिन्तकले पठाएका । अनि त्यसको तल अर्को वाक्य थियो, 
“जोमसोममा अहिले भर्खर अग्नि एयरको विमान खस्यो रे ।” 

हतारहतार टेलिभिजनमा समाचार च्यानल लगाएँ, नभन्दै फ्ल्यास समाचारमा त्यही व्यहोराका अक्षरहरु तिर्मिराइरहेका थिए । थप विवरण आउन बाँकी । 

एक पटक मेरो आङ जिरिङ्ग भयो । एक दिन मात्र अघि त्यही विमानमा त्यही समयमा पोखराबाट जोमसोम, जोमसोमबाट पोखरा उडेको थिएँ । जोमसोमको उडानका चुनौतीहरुका बारे मेरो बालसखा क्याप्टेन रविन्द्र डंगोलसंग कुरा गर्दै, उसैले उडाएको डोनियर विमानमा । पहिलो पटक जोमसोमको हवाइयात्रा गर्दा हातैले छुन भ्याइएला जस्तो प्रत्यक्ष देखेको अजंगका पहाड, हिमाल र तिनको बीचको साँघुरो खोंचको बीचबाट गरेको यात्राको स्मरण सेलाउन भ्याएको पनि थिएन । तर उडानको बेला नलागेकोे डर त्यतिबेला लाग्न थाल्यो । समय कति महत्वपूर्ण कुरा हो । सही वा गलत समयमा कतै हुनुले कति धेरै फरक पार्छ भन्ने कुरा पनि मथिंगलमा फनफनी घुम्न थाल्यो । सातोपुत्लो उड्ने अर्को कारण पनि थियो । रविन्द्र त्यस दिन पनि पोखरा जोमसोम उडाउनु छ भन्दैथ्यो । म आत्तिंदै उसको नम्वर थिच्न थालें, पूरापूरा घण्टी जान्छ तर फोन उठ्दैन । झन् अत्यास लाग्न थाल्यो । शव्दसन्देश पठाएँ, निकै बेरसम्म त्यसको पनि कुनै उत्तर आएन । मनको एउटा भित्ताबाट आवाज आउँथ्यो, 
“उडानमा भएको भए त फोन बन्द हुन्थ्यो होला नि ।” 

तर अर्को भित्तोमा ठोकिएर प्रतिध्वनि आउँदा अर्कैथोक सुनिन्थ्यो । धेरै बेरपछि मात्र थप विवरण आयो, दुर्घटनाग्रस्त जहाजको पाइलट अरु नै कोही रहेछन् । एकातिर रविन्द्रका लागि ढुक्क भएको भान भयो । तर ती अर्का पाइलट पनि त अरु कसैका आफन्त हुन् नि । तै पनि आफ्नो मित्र सकुशल भएकोमा लागेको त्यो खुसी बडो नरमाइलोे थियो । खुसी पनि त्यति विरक्तलाग्दो हुन सक्दोरहेछ । एकै छिन पश्चात रविन्द्रको फोन आयो, आफू सकुशल रहेको र उद्धार उडानमा जान लागेको संक्षिप्त जानकारी दिएर उसले फोन काट्यो । म मोवाइलमा आएको सन्देश हेरेर एकोहोरो भइरहें, 
“के हो मित्र ? काल खोज्दै हिंडिएछ नि ।” 
उनले त्यसो भन्नुको अर्को एउटा कारण पनि थियो । 

सात दिन अघि
नभन्दै लगातार हप्ता दिनको फरकमा दुइवटा त्यस्ता घटनाहरुबाट म उम्केको थिएँ । यो दुर्घटना हुनु अघिको हप्तामा पनि बैशाख २३ गते पोखरामाथि भुजुंगखोला र खारापानीमा आएको अकल्पनीय प्राकृतिक विपत्तिका बेला म त्यही समयमा त्यहीं नै हुने कार्यक्रम थियो । एउटा छायाँकनका लागि त्यो स्थान उपयुक्त छ भन्ने सुनेको हुनाले त्यो हेर्नका लागि जाने कार्यक्रम बनेको थियो । शुक्रवार काठमाण्डौंबाट पोखरा पुग्ने, शनिवार बिहानै भुजुंगखोला जाने र आइतबार काठमाण्डौ फर्कने योजना थियो । अन्तिम अवस्थामा कार्यक्रम रद्द भएको हुनाले म पोखरा गइनं । त्यतिबेला पनि पोखराका मित्रले फोन गरेर भनेका थिए, हामी बाच्यौं ।

एक दिन अघि
अब भुजुंगखोला त छायाँकनका लागि उचित रहेन, अर्को कुनै स्थान खोज्नु पर्ला भनेर त्यसको एक हप्तापछि म पोखरा पुगेको थिएँ । हुन त म जाने दिनै बा्रम्हण क्षेत्री लगायतका अन्य समुदायले नेपाल वन्दको आयोजना गरेका थिए । एयरपोर्टसम्म भटभटे चलाएर जाँदा कतै अवरोध थिएन । काठमाण्डौंमा नै फाट्टफुट् गाडी चलिरहेको हुँदा तमुवान भनेर मागिएको क्षेत्रमा बाहुनक्षेत्रीको वन्दले कति नै प्रभाव पार्ला र भनेर म पोखरातिर उडेको थिएँ । तर ६० घण्टासम्म पोखरामा म विना अपराधको कैदी भएर थुनिएर बस्नु परेको थियो । पोखरा पूरै वन्द थियो । तेश्रो दिन वन्द फिर्ता भएपछि पोखराको काम हतारहतार सकाएर साँझ फर्कने तानबाना बुन्दै गर्दा रविन्द्रले फोन गरेको थियो । ऊ बिहानै जहाज उडाएर पोखरा आएको थियो । उसले मलाई लोभ्याएको थियो,
“जोमसोमको चार वटा फ्लाइट सकाएर आज म यतै बस्ने हो । आज नजा, रमाइलो गरौंला । भोलि पनि बिहानै जोमसोमको पाँचवटा फ्लाइट छ । बरु तं पनि हिंड् । जोमसोम सकेर काठमाण्डौ जाने बेला दुइ भाइ संगै फर्कौंला ।” 

जोमसोम मैले असाध्यै बखान सुनेको र पटकपटक योजना बनाउँदा पनि जान नपाएको ठाम भएकोले मैले पनि उत्साहित भएर उसको कुरा खाएँ । त्यस दिन मौसमका कारण उसको जोमसोम उडान भएन । त्यसको साटो काठमाण्डौ नै एक चक्कर लगाउन गयो ऊ । मैले पनि त्यही समयमा पोखराको आफ्नो काम भ्याएँ । दिउँसो ऊ पोखरा फर्केर आयो । लामो समय पछि दुइ पुराना स्कूले मित्रहरु बसेर खायौं, गफ चुट्यौं र घुम्यौं । 
भोलिपल्ट बिहान ऊ छ बजे नै पहिलो उडान लिएर जोमसोम जाने, नौ साढे नौ बजेसम्ममा पाँच चक्कर लगाउने कार्यक्रम थियो । म पनि छ बजे मेरा लागि नौलो ठाउँका लागि उडेको थिएँ । जोमसोमको यात्राले मलाई मन्त्रमुग्ध बनाएको थियो । पाँचौं उडानको ठेगान नहुने भएकोले चौथोमा म फर्कने भएको थिएँ । पैंतीस मिनेटमा पोखरा जोमसोमको एक फेरो लगाउनु पर्ने हुनाले चीलगाडीहरु रोकिनासाथ भटभट अर्को यात्रु हालेर हतारहतार उडिहाल्ने चलन रहेछ । रविन्द्र फेरि पोखरा तिर उडिसकेको थियो । 

कत्ति झर्को पनि नलाग्ने होला उसलाई, म सोच्दै थिएँ ।  सिजनका कारण भ्याइ नभ्याइ यात्रुहरु थिए दुबै तिर । जोमसोम एयरपोर्ट दक्षिण भारतीयहरुले खचाखच थियो । बालबालिका, तरुनातरुनी देखि हिंड्नै नसक्ने बूढाबुढीहरु सम्मका तीर्थालुहरु यत्रतत्र देखिन्थे । अचmे दक्षिण् भारतमा मुक्तिनाथ दर्शन नगरी वरत्रपरत्र नसुध्रने मान्यता छ रे, त्यसैले जोमसोम उडान दक्षिण भारतीयमय हुन्छ भन्ने कुरा रविन्द्रले सुनाएको थियो । जोमसोमको परिवेशमा निधारमा चन्दनको तीन लर्को घसेका, लुंगी र कुर्तामा बेरिएका लोग्नेमान्छेहरु अनि उतैका परिधानमा सजिएका स्वास्नीमान्छेहरु अनौठो फ्यूजन जस्ता देखिन्थे । मसंग फर्किनु अघि दुइ घण्टा चानचुन समय थियो तर पनि फर्कने उडान छुट्ला भन्ने डरले म धेरै टाढा जान सकेको थिइँन । दक्षिणतिर हिमाल हेरेर दंग पर्दै म बजार वपिरि नै घुमिरहें । विमानस्थल नजीकै उत्तर पट्टिको फुंग उडेर पनि सुन्दर देखिने डाँडाको फोटो खिच्नेबेला मलाइ के थाहा भोलिपल्ट त्यहीं गएर जहाज ठोक्किने छ र मानिसहरुले आफ्नो ज्यान गुमाउने छन् । डाँडा तृप्त भावमा पसारिएको थियो । त्यो भोको जस्तो त पटक्कै देखिएको थिएन । तै पनि त्यत्तिका मान्छेको ज्यान खायो ।
  
त्यस दिनको चौथो उडानबाट म पोखरा फर्कें । रविन्द्रको जहाज पोखरामा राम्ररी बस्दानबस्दै पाँचौं उडानका लागि आकाश तिर बत्तिइसकेको थियो । ऊ आएर काठमाण्डौं उड्नु अघि केही समय बाँकी थियो । म पोखरा विमानस्थल मै थिएँ । एक हूल दक्षिण भारतीयहरु वायुसेवाका कर्मचारीहरुसंग भिड्दै थिए । अघिल्लो दिन बन्दका कारण भैरहवामा रोकिन परेका कारण त्यस दिन बिहानको उनीहरुको फ्लाइट छुटेछ । अब अर्कोमा उडाइदेओ भन्दै उनीहरु हिन्ग्रेसीमा (हिन्दी, अँग्रेजी र मद्रासी मिश्रित) बाझिरहेका थिए । कर्मचारीहरु फ्लाइट छुट्नु आफ्नो दोष नभएको र अरु सबै भरिएको हुनाले प्रयास गर्ने तर केही भन्न नसक्ने वाध्यता सुनाउँदै थिए । एकजना दक्षिण भारतीय पाहुना भने हामी तिमी नेपालीहरु जस्तो अप्ठ्यारा मान्छे होइनौं तर परेको खण्डमा आफूले भारतीय राजदूतलाई एक फोन गरेर नेपालका पर्यटन मन्त्रीलाई समेत थर्काउन लगाएर भए पनि उडेरै छाड्ने धम्की दिंदै थिए । 

नेपालीलाई अप्ठ्यारा मानिसहरु भनेको सहन नसकेर म एकछिन ती पाहुनासंग भिडें । स्वर ठूलोठूलो पार्दै उनी आफूहरुले भोग्नु परेको समस्याका बारे बम्किन थाले । म त्यो भन्दा ठूलो स्वरमा अंगे्रजीमा बम्कें । उनको समस्या आफूले बुझेको, त्यसप्रति सहानुभूति पनि भएको तर त्यसो भन्दैमा नेपालीहरुलाई अप्ठ्यारो मान्छे नभन्न मैले चर्को स्वरमा गरेको आग्रह अन्ततः उनका एक अन्य मित्रले माने र त्यो आशय नभएको भन्दै माफी पनि मागे । म अर्को तिर लाग्दा उनीहरु भोलि त जहाज चार्टर नै गरेर भए पनि नगइ नछाड्ने कुरा गर्दै थिए । 

जेठ १, २०६९
मेरो मोवाइल फोनको सन्देश ज्यूँकात्यूँ थियो, 
“के हो मित्र ? काल खोज्दै हिंडिएछ नि ।” 

जोमसोममा खसेको विमान चार्टर फ्लाइट नै थियो भन्ने समाचार आउन थालिसकेको थियो । मेरो मन अमीलो भयो । एक हप्ताको अन्तरालमा दुइपटक कालको पञ्जाको नजीकनजीक आफू परेको र उम्केको कुराले सोच्न बाध्य बनायो । हाम्रो जीवनमरण भन्ने कुरा कति अनिश्चिित छ । कुनै पनि बेला कहीं पनि कसैको पनि यात्रामा पूर्णविराम लाग्न सक्छ । तै पनि किन हामी वैरभाव, उपलव्धि, निराशा, तेरोमेरो र इखका कुरा गर्छौं । म आफै पनि किन बेकारमा ती दक्षिण भारतीयसंग बाझें ? तिनले आवेगमा आएर अप्ठ्यारा भन्दैमा के हामी सबै नेपाली अप्ठ्यारा हुन्थ्यौं र ? चार्टर गरेरै भए पनि जाने भन्थे, के त्यो खस्ने विमानमा तिनी पनि परे होला ? मलाई चिन्दै नचिनेको र एक दिन अघि आफूले दाह्रा किटीकिटी झगडा गरेको ती दक्षिण भारतीयको पीर लाग्यो, माया लाग्यो र मैले तिनी त्यसमा नपरेका हुन् भनेर प्रार्थना गरें । तर ज्यान त तिनको नभए पनि, मेरो नभए पनि अरु कसैको पनि त गएको हो नि । 

मैले आफूलाई सन्देश पठाउने शुभचिन्तकलाई उत्तर पठाएँ,
भाग्यमानी रहेछु काल खोज्दै हैन मित्र, काल छल्दै चाहिँ हिंडेको हूँ । 
तर कसैले पनि सँधै काल छल्न सक्दैन । जिन्दगी अनिश्चिित छ, एकदमै अनिश्चित । यसलाई तेरो र मेरो भन्नका लागि, वैरभाव पाल्नका लागि किन खर्च गर्ने । जिन्दगीले हामी सबैलाई पटकपटक बुद्धत्व प्रदान गर्छ । तर हामी त्यसलाई देख्दैनौं, थाहा पाउँदैनौं र थाहा पाए पनि आफूसंग धेरै बेर राख्दैनौं ।