Translate

Sunday, September 1, 2013

कोलाहल

बायाँ फन्को ११५

केही समयअघि एक विदेशी मित्रले भनेको कुरा त्यतिबेला मनमा चसक्क पसेको थियो । त्यो कुरा बेलाबेला सम्झन्छु । अथवा भनौं सम्झन बाध्य बनाइन्छु र त्यसले अझै बेलाबेला घोचिरहन्छ । त्यो कुरा नै यस्तो थियो जसमा साँढे स्वाभिमान जोडेर भए पनि अरु कुरामा जस्तै आफूलाई प्रतिरक्षात्मक रुपमा प्रस्तुत गर्न सकिन्नथ्यो । तर्कको त कुरै छोडौं, कुतर्कले समेत बचाउ गर्न नसकिने भएकोले म चुइँक्क नबोली बसेको थिएँ । 
गाडीको सन्दर्भ निस्कँदा ती मित्रले भनेका थिए, ‘मलाई लाग्छ, नेपालमा गाडी किन्नु अघि मानिसहरु दुइटा कुराहरु मात्र जाँच्छन् । पहिलो, झ्यालको ऐना सजिलै खुल्छ कि खुल्दैन ता कि पिच्चपिच्च थुक्न कठीन नहोस्, अनि दोस्रो कुरो– हर्न बज्छ कि बज्दैन ।’
हुन त उनले नराम्रो आशयले नभै ठट्टाको रुपमा भनेका थिए त्यो कुरा । तर, त्यसले मलाई निकै दिनसम्म रन्थनाइरह्यो । हुन पनि हो, हामीलाई जति हर्न बजाउन र बाटोमा थुक्न शायदै अरु कसैलाई पर्ला । किन होला ? हामीले ती दुबै कुरालाई यति सहज रुपमा लइ सकेको छौं, ती हाम्रा लागि हेक्का राख्नु पर्ने वा चर्चा गर्नु पर्ने विषय नै होइनन् । तर, गहिरिएर सोच्ने हो भने हामीलाई साधारण लाग्ने कुराले पनि अरुका अघि हाम्रो कस्तो छवि बनाइरहेको रहेछ त ?
हरेक दिन यात्राको क्रममा अगाडिका वाहनबाट चालक अथवा यात्रुले बर्साएको थुकको बाछिटाले शरीर सिञ्चित नगरोस् भनेर  चनाखो रहनुपर्छ । त्यही कुरामा वादविवाद र मुक्कामुक्की भएका उदाहरणहरु प्रशस्तै छन् । तारन्तार हर्न बजाउँदा हामीलाई किन मनोरञ्जन प्राप्त हुन्छ भन्ने कुरा मैले आजसम्म बुझेको छैन । मार्नौ हर्न कुनै रोचक र चमत्कारी आविष्कार हो । हर्न पनि भाँतीभाँतीका हुन्छन् । प्रेसर हर्न भन्ने त भइहाल्यो, त्यस बाहेक पनि कुनै कानको जाली नै फुटाउलान् जस्ता, कुनै तारसप्तकमा तीखो भएर बज्ने, कुनै एकपटक थिचेपछि आधा मिनेटसम्म चिच्याइरहने, कुनै कमजोर मुटु भएको मानिसको त हर्टफेल नै गराउलान् जस्ता, कुनै रुघा लागेर सुकेको स्वर जस्ता अनि कुनै बाघको गर्जन जस्ता । हुँदाहुँदा हिन्दी सिनेमाका ‘आइटम गीत’का टुक्राहरु तीखो स्वरमा बज्ने हर्न पनि निर्धक्क प्रयोग गर्न पाइन्छ । हाम्रो मुलुकमा हरेक प्रजातिका हर्न शहरबजारमा, मानव बस्तीमा, अस्पताल अघि र विद्यालयको वरिपरि निर्वाध रुपमा बजाउन पाइन्छ । सवारी चालकहरु यो स्वतन्त्रताको मन खोलेर, पेट नअघाउन्जेल उपभोग गर्छन् ।
हामी किन यति धेरै अधैर्य छौं भन्ने कुरा कहिल्यै सोच्नुभएको छ ? अगाडिको कुनै एउटा सवारी साधन कारणवश एक सेकेण्ड मात्रै पनि रोकियो भने पछाडिबाट बेसुरा हनैहरुको ताल नमिलेको कर्णकटु अर्केष्ट्रा बज्न थालिहाल्छ । धूलो र धूँवाको बीचमा खलखली पसीना काढेर हात हल्लाइहल्लाइ अव्यवस्थित सवारी चापलाई नियन्त्रण गर्न बसेको बबुरो ट्राफिक प्रहरीले एकातिरका सवारी साधनलाई आउने इशारा गरेको १० सेकेण्ड नबित्दै अर्कोतिर लाम लागेका सवारी साधनका चालकहरु दाह्रा किटेर एकतमास हर्न बजाउन थालिहाल्छन् । बाटो खाली भएको बेला वायुवेगमा हुँइकिने सवारी साधन पनि प्वाँ.... गरेरै कुदिरहेका हुन्छन् । आफूभन्दा अगाडिका साधन अघि बढ्ने बाटो नै नभएको जानकारी हुँदाहुँदै पनि पछाडिकाहरु ध्वनि प्रदूषण फैलाउन थालिहाल्छन् । मानौं हर्न बजाएपछि सारा समस्याको समाधान स्वतः भइहाल्छ ।
निश्चित मात्राभन्दा बढी ध्वनि प्रदूषण गर्ने हर्न प्रयोग गर्न नपाउने नियमको पो शायद हामीलाई खाँचो छ । हुन त नियम कानून र सजाँयको डर देखाएर अनुशासनमा राख्ने भनेको विवेकशील मानिसलाई होइन । यहाँको भन्दा बढी सवारी साधन गुड्ने विकसित र नागरिक चेत भएका मुलुकहरुमा हप्तौंसम्म पनि तपाईँ कसैले प्वाँक्क हर्न बजाएको सुन्न पाउनुहुन्न । तै पनि सहज रुपमा आवतजावत भइरहेको हुन्छ ।
हामीमा कोलाहलप्रति आशक्ति भएको देखिन्छ । सप्ताह, नवाहजस्ता धार्मिक अनुष्ठान गर्दा पनि हामी कति कोकोहोलो मच्चाइरहेका हुन्छौं । आफूले लगाएको सप्ताहको विज्ञापनको रुपमा घरको कौसीमा चारवटा माइक चार दिशामा फर्काएर राखेर बिहान कुखुरा बास्ने बेला देखि राति उल्लू कराउने बेलासम्म भजनकीर्तन गरेर पुण्य कमाउँछौँ । छरछिमेकमा बिरामी होलान्, विद्यार्थी होलान् पुण्य कमाउनेहरुलाई त्यसको कुनै मतलबै हुँदैन । अनि धर्म गर्नेको विरोध पनि गर्न मिलेन । पापी कहलाइने डरले हामी त्यस्ता धार्मिक आतंक पनि सहन बाध्य हुन्छौं । 
मेरा एक मित्रले कुनै बेला उनलाई अनुप जलोटाको स्वर सुन्दा पनि रिस उठ्छ भनेको बेला म चकित परेको थिएँ । त्यति मधुर स्वरका धनी गाउकको स्वर सुन्दा पनि कसैलाई रिस उठ्न सक्छ र ? कारण बडो रमाइलो रहेछ । कुनै समय उनी डेरा गरेर बसेको ठाउँ नजीक एउटा मन्दिर रहेछ । त्यहाँ बिहानदेखि बेलुकासम्म खराब ध्वनि यन्त्रमा ठूलो स्वरमा अनुप जलोटा बज्थे रे । कालान्तरमा त्यसले मानसिक तनाव नै हुन थालेपछि उनले डेरा नै सर्नु परेको रहेछ ।
वरिपरिको कोलाहलले हामीलाई अकल्पनीय र दीर्घकालीन रुपमा कति असर गर्छ भन्ने बारेमा सोच्नु र कतै स्वयं पनि कोलाहलको कारण बनेका त छैनौं भन्ने कुरामा हामी सबै चनाखो बन्नु जरुरी छ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment