Translate

Saturday, April 26, 2014

खेलको झेल

बैशाख १३, २०७१को कान्तिपुर कोसेलीमा प्रकाशित


विकट परिस्थिति
प्रमोद धूवाँको मोसोले कालो बनाएको भान्छाको दलीनजस्तो अँध्यारो अनुहार लगाएर बसेको थियो । मैले केही भनिहाल्छु कि भने जस्तो ऊ घरिघरि पुलुक्क मलाई हेथ्र्यो । उसको आँखाको आर्द्रताको मात्रा हेर्दा अब केही बेरमै ऊ तुरुक्क रुन्छ भने जस्तो भैसकेको थियो । मेरो आफ्नै मगज हाकिम आउनु अघि नै विदाको फारम भरेर टाप ठोकेको सरकारी कर्मचारी जस्तो भैसकेको थियो, म के भन्न सक्थें । अनि ऊ निराश भएर घुटुक्क थुक निल्थ्यो । कोठाका झ्यालढोका हामीले डम्म थुनेका थियौं तर पनि बाहिर ठूल्ठूलो स्वरमा कराइरहेको प्रकाशको स्वर छिद्रछिद्रबाट छिरेर बम पड्केको आवाज सरह हाम्रा कानको जालीमा ठोक्किरहेको थियो । ऊ बोल्न हुने, नहुने, सुन्न सकिने नसकिने हरसम्भव अपशव्दहरु मिसाएर हामी दुइजनाको दोहोलो काढिरहेको थियो । हामीलाई बाहिर निस्कनका लागि निरन्तर हाँक दिइरहेको थियो ।

Wednesday, April 23, 2014

मैले चोरेको पुस्तक

आज २३ अप्रिल, विश्व पुस्तक दिवस । ७ कक्षामा पढ्ने बेला मैले चोरेको पुस्तकको कुरो, सान्दर्भिक होला कि त ? कान्तिपुरको कोसेलीमा केही समय अघि प्रकाशित संस्मरण


पुस्तक मेला, २०७०, भृकुटी मण्डप

परैबाट देखें, एजुकेसनल बुक हाउसका अञ्जन श्रेष्ठ आफ्नो स्टलको अगाडि उभिएर केही मान्छेहरुसंग गफ गरिरहेका थिए । अचानक मलाई बेलाबेला सम्झिने र बेलाबेला बिर्सने गरेको एउटा पुरानो कुरा सम्झना आयो । म मनमनै केही निर्णय गरेर उनी भए तिर लम्कें । मलाई आफू तिर आइरहेको देखेर उनी मुस्काए । उनले केही भन्नु अघि नै मैले खल्तीबाट एउटा सय रुप्याँको नोट निकालेर उनलाई दिंदै भने,
“अञ्जनजी, पैंसठ्ठी रुप्याँ फिर्ता दिनुस् ।”
उनी हक्कनबक्क परे । त्यो नोट नलिएर अचम्म मान्दै मलाई हेरेर सोधे,
“लौ, किन नि ?”
“लिनुस्न खुरुक्क अनि फिर्ता दिनुस् ?” मैले कर गरें ।
कुनै ठट्टा भन्ठान्दै उनले त्यो सय रुप्याँ खल्तीमा हालेर मलाई पैंसठ्ठी रुप्याँ फिर्ता दिएँ । उनी लगायत वरिपरि भएका अरु मानिसहरु पनि उत्सुक भएर मलाई हेरिरहेका थिए । ती उत्सुक आँखाहरु हेर्दै म चाहिँ कुनै टाइम मेसिनमा बसेझैं स्मृतिको गोरेटोमा निकै वर्ष अघि पुगें ।

Tuesday, April 22, 2014

भीमल

रातको अँध्यारो र  आत्महत्या, 
जेष्ठ १७, २०६९ को बिहान ।

भीमल मरेछ । 
बिहान खराब समाचार लिएर आयो । सबै स्तव्ध भए । भीमलले आत्महत्या गरेको भन्ने सुनेर त झन् सबै विस्मित भए । २५० वर्ष पुरानो बरको अजंगको रुखमा पासो लगाएर मरेछ ऊ । एक कान दुइ कान मैदान हुँदै यो समाचार जंगलमा डढेलो लागे जसरी फैलियो र सबै त्यतै दौडादौड गरेर आए । भीमलका सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो । फेदको गोलाई नै १७ मिटर भएको त्यो बरको रुखको विशालतामा उसको मृत शरीर त कति सा.......नो देखिएको । 

कसैले घाँटीको पासो काटिदिएपछि सँधै गर्वले उभिने उसको शरीर रित्तो बोरा जसरी भुईँमा पछारियो । ऊ लम्पसार परेको थियो, उत्तानो लडेको थियो डङ्ग्रङ्ग परेर । सँधै हाँसिरहने उसका आँखाहरु निस्तेज आकाश हेरेर टोलाइरहेका थिए । उसको अनुहारमा कुनै पनि भाव थिएन । मरेपछि कुनै भाव हुने पनि त कुरो भएन नि । न हर्ष, न विस्मात, न रिसराग, न इवी । घृणा, प्रेम, आशक्ति, अनुराग, पीडा, वैमनुष्यता, गर्व, सपना वा अरू कुनै पनि भाव भनेको ज्यूँदो हुन्जेल न हो, अन्तिम पटक तनक्क खुट्टो तन्काएर एक मुठ्ठी सास फेरेपछि केही पनि बाँकी रहँदैन । 

Sunday, April 20, 2014

प्रतापी क्षेत्रप्रताप

नेपाल साप्ताहिकको मेरो स्तम्भ 'बायाँ फन्को'बाट


“जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।”
यी गीतका हरफहरु लेख्ने कवि, गीतकार तथा प्रशासक क्षेत्रप्रताप अधिकारीका लागि अब त्यो मर्ने काम पनि बाँकी रहेन रे । परम्परागत मान्यता अनुसार भन्ने हो भने उनी मरे, अघिल्लो हप्ता । मृत्यु के हो भन्ने कुराको फरकफरक परिभाषाहरु हुन सक्छन् । विज्ञानले मृत्युलाई एकथोक भनेर व्याख्या गर्ला, दर्शनले अर्कैथोक । महाभारतमा युधिष्ठिर भन्छन्, मृत्यु त मिथ्या हो । जबसम्म सृष्टि र त्यसको रचयिताको अस्तित्व रहन्छ, कोही मर्दैन । गीता भन्छ, मृत्यु भनेको आत्माले चोला फेरेको मात्र हो । जुनसुकै मान्यतामा विश्वास गर्नेहरुले पनि काट्न नसक्ने तर्क चाहिँ के हो भने मृत्यु भनेको शरीर नष्ट हुनु मात्र हो ।

Sunday, April 6, 2014

व्यर्थका विवादहरु

नेपाल साप्ताहिकको मेरो स्तम्भ 'बायाँ फन्को'बाट

आजकल मलाई बेलाबेला हामीसंग स्कूलमा संगै पढ्ने एक जना साथीको सम्झना आइरहन्छ । हामी दुइ कक्षादेखि एसएलसी दिने बेलासम्म संगै पढ्यौं । ऊ पढाइमा अब्बल थियो त्यसैले हरेक पटकको परीक्षामा एक देखि चार भित्रमा पथ्र्यो । पढाइ बाहेकका अरु सबै कुरामा पनि ऊ राम्रै थियो । साथीहरुसंग मिलनसार र हँसिलो थियो । उसले कसैसंग नचाहिँदो वादविवाद वा झैझगडा गरेको मलाई हेक्का छैन । ऊ बेलाबेलामा अरुहरुको नक्कल गरेर हामीलाई हँसाउने पनि गथ्र्यो । एक पटक त्यस्तै मूडमा उसले हामीलाई भकभकाएर बोल्ने मानिसको नक्कल गरेर सुनायो । आलाकाँचा केटाकेटी हामी मरिमरि हाँस्यौं ।