Translate

Wednesday, May 21, 2014

डक्टरका अक्षर

 'बायाँ फन्को' १३२

एकपटक एक जना डाक्टर आफ्नो साथीलाई बेलुकी खानाका लागि निम्तो दिन उनको घर पुगेछ। साथी घरमा नभएकाले उसले सन्देश एउटा कागजमा लेखेर ढोकामा अड्क्याएर छाडेछ। 'एक सातादेखि समय मिलाउन खोजिरहेको थिएँ। फलानो मितिमा फलानो समयमा मेरो घरमा खाना खानका लागि आउनू।'


साथीले बेलुकी सन्देश पढ्न खोजेछ। तर, डाक्टरको अक्षर न पर्‍यो, बिचरोले निकै प्रयत्न गर्दा पनि त्यसको छेउटुप्पो केही फेला पार्न सकेनछ। उसको दिमागमा एउटा जुक्ति फुरेछ। डाक्टरको अक्षर सबैभन्दा राम्ररी बुझ्न सक्ने कला भनेको त औषधी पसलेहरूसँग हुन्छ। उनीहरूले त अवश्य बुझ्छन् भनेर ऊ आफ्नो घरनजिकको औषधी पसलमा गएर त्यो कागज देखाएछ।



'साहूजी, यो के लेखेको हेरििदनुस् त!'



पसलेले त्यसलाई ध्यानपूर्वक हेरेछ, ती मान्छेलाई एकैछिन पर्खन भन्दै भित्र गएछ। आउँदा उसको हातमा दुईथरी औषधी थिए। औषधी पसलेले भनेछ, 'यो खानाअघि र यो खानापछि दुई-दुई चक्की सात दिनसम्म खानू।'

Tuesday, May 6, 2014

फराकिला बाटाहरु

बायाँ फन्को १३१


उपलव्धिहरु र तिनले दिने खुसी भनेको पनि अचम्मकै कुरा हो । कतै केही राम्रो नभइरहेको बेलामा सानातिना उपलव्धिहरुले पनि हामीलाई कहिलेकहीं निकै ठूला खुसीहरु प्रदान गर्छन् । ठूला उपलव्धिहरु भैरहने हो भने चाहिँ तिनै सानातिनाहरु ओझेलमा पर्छन्, महत्वहीन लाग्छन् । काठमाण्डौमा बाटाघाटाहरु चौडा भैरहेका छन् । यसैले पनि हामीलाई दंंगदास बनाएको छ । हुन त हेर्ने हो भने महानगर भनिएको सहरमा चौडा बाटाहरु हुनु कुनै प्रफुल्लित नै हुनुपर्ने कुरा त कहाँ हो र ? तर पनि लामो समयदेखि कच्याक्कुचुक्क परेका सडकहरुमा अटेसमटेस र ठेलम्ठेल गरेर हिंडिरहेका, गुडिरहेका हामीलाई अचानक के के न भए जस्तो लाग्नु स्वाभाविकै हो नि । ठूलाठालूहरुको बाहुल्य भएको र यहाँ त कसले छुन सक्छ भनेर गर्व गरेर सडक मिचेर बसेका तथाकथित ‘भीआइपी एरिया’हरुले समेत बुल्डोजरका दाँतहरुको स्वाद पाए । केही नाम चलेका नेताहरुले स्थानीय जनसमर्थन पाउने लोभमा बाटो ठूलो पार्न नदिन आन्दोलन गरेका थिए । तर पनि उनीहरुको केही लागेन । मान्नै पर्छ, काठमाण्डौको मुहार कमसेकम बाटाघाटाको कुरामा फेरिंदै छ । वैकल्पिक मार्गहरुले एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै सहज बनाएका छन् ।

Saturday, May 3, 2014

चक्करघिन्नी

नागरिक  शनिवारको 'अक्षर' मा प्रकाशित कथा

उदय निदाइसकेको छ। एकै छिनअघि उनीहरूबीचमा भएको त्यो मादक र प्रेमपूर्ण एकाकारले सन्तुष्ट उदयको अनुहार अबोध छ। सन्तुष्ट त सम्वृद्धि पनि नभएकी हैन। शारीरिक रूपले पूर्ण सन्तुष्ट हुँदाहुँदै पनि मानसिक रूपमा कुनै कुराले उसलाई आज पनि छोडेको छैन। शरीरको कुनै भागमा बिझेको सानो र हेर्दा नदेखिने काँडाले खासै दुःख नदिए पनि बेलाबेला झिँजोलाग्दो गरी चस्चस् गर्छ नि। त्यस्तै नदुख्ने तर बिथोलिरहने काँडा मनमा कतै घोपिएको भान भएको छ उसलाई।