Translate

Sunday, July 6, 2014

हाम्रो समाज

बायाँ फन्को १३५

मानिसले विकासको क्रममा घर बनाउन सिक्यो । घर बनाउन सिकेपछि उसले परिवार बनाउन सिक्यो । त्यसपछि मानिसले बिस्तारैबिस्तारै टोल, छिमेक, समाज, सहर हुँदै देश बनाउन सिक्यो । विकासको क्रममा धेरै नयाँ कुराहरु पत्ता लगाउँदै गयो मानिसले । ऊ विकसित हुुनुको साथसाथै परिमार्जित पनि हुँदै गयो । मौसम, भूगोल र अन्य थुपै्र कुराका परिवर्तनहरुसंग आफूलाई आत्माित गर्दै मानिस अहिलेको अवस्थामा आइपुगेको हो । मानव विकासका बारे थरिथरि मान्यताहरु पाइए पनि चुरो कुरो भनेका चाहिँ यही हो र कुनै पनि सिद्धान्तका पक्षपातीहरुको यसमा चाहिँ विवाद छैन भने हुन्छ ।  

हाम्रा पूर्वजहरुभन्दा हामी बढी र हामीभन्दा हाम्रा सन्ततिहरु बढी विवेकी हुनुपर्ने विकासको क्रमको नियम हो । भौतिक उपलव्धिका हिसाबले हेर्दा, भौतिक विकासको आँखाले हेर्दा यो कुरा साँचो पनि भएको छ । अरु विकाससंगै संयम, आत्म अनुशासन र मानसिक परिपक्वता जस्ता कुराहरु पनि संगसंगै अघि बढ्नु कुनै पनि समाज, सहर वा राष्ट्रका लागि अत्यन्त आवश्यक हुन्छ । तर, अहिलेको अवस्थामा हामीले ध्यान दिएर आफ्नो वरिपरि हेर्ने हो भने यो कुरामा हामी अधोगति तिर गइरहेका छौं । नैतिक मूल्य भन्ने कुरा हामीले बिस्तारै गुमाउँदै गइरहेका छौं । हामी आफ्नो क्षणिक सुविधा र फाइदाका लागि समग्रमा बहुसंख्यक मानिसहरुलाई अप्ठ्यारो पार्न पछि नपर्ने हुँदै गइरहेका छौं । सानासाना देखि लिएर ठूलाठूला कुराहरुमा यसको लक्षण देखिएको छ । तर पनि हामी त्यसलाई या त देखिरहेका छैनौं, हेनै चाहिरहेका छैनौं अथवा हुन सक्छ, वास्ता गरिरहेका छैनौं ।

ठूला कुराहरु नगरी सानातिना उदाहरणहरु नै हेरौं न । एउटा छिमेकी बिहानबिहान आफ्नो घर अघिको सडक समेत बढार्छ, तर अर्को कोही मान्छेले त्यही सडकमा फ्यात्त ल्याएर फोहोर फालिदिन्छ । केही दिन अघि पुल्चोकको एउटा डिपार्टमेण्टल स्टोर अघि पन्ध्र मिनेट बिताउँदा यस स्तम्भकारले बडो उदेक लाग्दो कुराहरु अवलोकन गर्न पाएको थियो । बाहिर ठेलाजन्य खानेकुराहरु बेच्ने ठाउँबाट ‘फास्ट फुड’ किनेर खानेहरुमा केही यस्ता थिए, जो खाइसकेपछि बोहोता र टपरी फोहोर फ्याल्ने ठाउँमा लगेर मिल्काउँथे भने कोही चारै तिर पल्याकपुलुक हेरेर खाएकै ठाउँमा छोडेर हिंड्थे । दुइ पाइला पर गएर त्यसलाई व्यवस्थित स्थानमा फ्याल्न ती मानिसहरुलाई किन त्यति गाह्रो लाग्ने हो भन्ने कुरा बुझिनसक्नुको छ । 

हामीलाई अनुशासन पालना गर्नु भनेको आफू सानो हुनु हो र नियम मिच्नु भनेको ठूलो मान्छे हुनु हो भन्ने किन लाग्न थालेको होला भन्ने कुरा उदेक लाग्दो छ । एक दिन भरी मात्र ध्यान दिएर हेर्ने हो भने अनुशासनहीनताका कति धेरै उदाहरणहरु देख्न पाइन्छ भन्ने कुरा कहिले हेक्का गर्नुभएको छ ? सडकको छेउमा पेटी हुँदाहुँदै पनि तेर्सो परेर हात समातेर आधा बाटो ढाकेर हिंड्ने वटुवाहरुले आफूलाई अलिकति पनि अनुशासति बनाउने हो भने कति समस्या टर्छ होला । त्यसै गरी ‘जेब्राक्रस’मा बाटो काट्न लागेकोलाई हुत्तिंदै आएर पेल्ने सवारी चालकहरुलाई त्यसले कस्तो आत्मसन्तुष्टि प्रदान गर्छ होला ? अनि चार पाइला पर भएको आकाशे पुल वा बाटो काट्ने ठाउँसम्म जान अल्छी मानेर बीचबाटै बाटो काट्ने बटुवाहरुले बचाएको त्यो समयबाट उनीहरुलाई कति र के उपलव्धि हुन्छ होला ?  हरियोबाट रातो भएको बत्तीलाई केही छिन त मिच्न हुन्छ भन्ने विश्वास भएका सवारी चालकहरु मुश्कीलले आधा मिनेट छिटो कतै पुगेर के पाउँछन् होला ? आफ्नो अघि एकैछिन अरु सवारी रोकिएको देख्न नसकेर गलत साइडबाट वा पेटीबाट भटभटे हुइँकाउने दक्ष व्यक्तिहरुका कारण ट्राफिक कति अस्तव्यस्त हुन्छ भन्ने कसैलाई किन मतलब नभएको होला ? यात्रु देख्नासाथ ठाम्को ठामै घ्याच्चै रोकिने बस, टेम्पो र माइक्रोहरुलाई आफ्नो पछिल्तिर आएर कोही जोतिएला भन्ने अलिकति पनि डर किन नलाग्ने होला ? आफूलाई ओर्लनु पर्ने ठाउँभन्दा एक इन्च पनि पर लग्यो भने मुड्कीले छानो र भित्तामा बजारेर चालकलाई आमाचकारी गाली गर्नेहरुले आफूलाई कति पराक्रमी ठान्छन् होला ? 

नियम कानून भनेको करबलले मात्र पालना गर्नुपर्छ, सकेसम्म छल्नुपर्छ भन्ने मान्यता हामीमा किन छ ? बाध्यताले पालना गर्दा पनि हामी त्यो अरुका लागि कृपा गरेको भन्ने सोच्छौं । हेलमेट हामीले ट्राफिक प्रहरीका लागि लगाउने हो । हामीले सिट बेल्ट बाँधेर सवारी चलाउँदा अरुहरुको परिवारले पुण्य कमाउने र तिनलाई बैतरिणी नदी तर्न सजिलो हुने हो भन्ने किन लाग्छ हामीलाई ? टेम्पो वा बसको ढोकामा तुर्लुङ्ग झुण्डिएर यात्रा गर्नू भनेको पौरखको परिचायक हो भन्ने सोच्छौं हामी । दुर्घटना भनेको सनयमित कुरा हैन, एकैै क्षणको लापरवाहीले आफ्नै खती हुनसक्छ भन्ने कुरा नपरुनजेल किन चेत्दैनौं हामी ? हामीलाई कनि यति धेरै थुक आउँछ ? हर्नका चर्का आवाजहरु किन हाम्रा लागि मधुरो सङ्गीत जस्तो कर्णप्रिय छ ? त्यसैले अगाडि ठाउँ नभए पनि हामी प्वाँकप्वाँक पारिरहन्छौं । एउटाको लयमा अर्कोले लय मिलाएर हर्नको अर्केष्ट्रा र सिम्फोनी बनाउँछौं हामी । जुन बाटोमा एकैछिन अड्कँदा हाम्रा कन्सिरीका रौंहरु ठाडा हुन्छन्, त्यही बाटोमा दिनको १४ देखि १६ घण्टा घामपानी नभनी खट्ने बिचरा प्रहरीले एकैछिन आफ्नो साइडकोलाई जान दिएन भने त झन् उसको कानको जाली फुटाउँला जसरी हर्न बजाउने हाम्रो बानी भैसकेको छ । 

ठूला सुधारहरु सानासाना कुराहरुको समष्टिगत प्रयासका प्रतिफलहरु हुन् । हामीले आफू एक जनाबाट मात्र सुधारहरु गरेर हेरौं न, आफूलाई मात्र अनुशासनमा राख्न थालौं न । सुधारहरु कसरी देखिन थाल्छन्, हामीलाई नै अचम्म लाग्नेछ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment