१६ माघ २०६७ मा प्रकाशित
हालसालै नेपालमा छायाँकन गर्न आएका इजरायली टेलिभिजन फिल्मका सदस्यहरु संग सहकार्य गर्ने जोहो जुरेको थियो । करीव बाह्र भागको उक्त श्रँृखलाको सम्पूर्ण छायाँकन नेपालमा नै हुने रहेछ । नेपाल भ्रमणमा आएकी एकजना इजरायली युवती लामो समयसम्म सम्पर्कमा नआएपछि उसकी बहिनी आफ्नी दिदीलाई खोज्न आउने कथावस्तुको वरिपरि सो टेलिफिल्म घुम्दो रहेछ भन्ने जानकारी उनीहरुबाट प्राप्त भएको थियो । तर वास्तविक कथावस्तु के हो र कसरी अगाडि बढ्छ भन्ने कुरा यही नै हो भनेर किटान गर्न सकिंदैन किनभने हिब्रू भाषामा लेखिएको उक्त फिल्मको पटकथा वा दृश्यहरुले के भन्छन् भन्ने थाहा छैन । सिनेमाको बारेमा कसैलाई भन्दा कुनै पनि पक्षलाई वा कुनै पनि पात्रलाई प्रमुखता दिन वा न्यून बनाएर प्रस्तुत गर्न सकिन्छ । समग्रमा छायाँकन र सम्पादन भैसके पछि मात्र खास कुरा के हो र कस्तो हो भन्ने थाहा हुन्छ । निर्देशकको यही अधिकार र विशेषताका कारण सिनेमालाई उसको माध्यम भन्ने गरिन्छ ।