Monday, March 21, 2016

बाकस

सानो केटाकेटी,
दंग परेथें त्यसदिन
जुन दिन हाम्रो घरमा पनि आयो
एउटा हेर्दै राम्रो बाकस
भन्न मन लागेको थियो सबलाई
सुन्यौ?? 

हाम्रो घरमा नि आयो बाकस
नपत्याएको तिमीहरूले ?
सत्ते धरोधर्म बिद्यानाश
साँच्चै हाम्रो घरमा नि आयो बाकस
तिमीहरूले सानो कन्तूर भन्ठान्लाऊ फेरि
अजंगको अनि लामो बाकस आयो
सोच्थें अरूको घरमा आएको देख्दा,
हाम्रो घरमा पनि आए हुन्थ्यो
गाउँघरका बूढापाकाहरूको भीड
हाम्रो आँगनमा पनि धाए हुन्थ्यो
कुरा केही नबुझे पनि मलाई लाग्थ्यो
आठ दश जनाले बोकेर ठूलो बाकस
हाम्रो आँगनमा पनि ल्याए हुन्थ्यो
सुनेथें, बाकसमा केशरीका बा आएका थिए रे
अनि आएका थिए बेलाबेला
करीमका बा, दोर्जेका बा अस्कलालका बा
जन्मेकै साल पैसा कमाउन गएका मेरा बा
मैले सुनेको तर देख्न नपाएको मेरा बा
अरूका बा जस्तै चाँडै
बाकसमा फर्केर आए हुन्थ्यो नि
तर मलाई के थाहा
बाकसमा सुतेर आउने बा
फेरि कहिले नउठ्ने पो रैछन्
अनि ल्याउने रैनछन् तिनले
मेरा लागि नयाँ नाना खेलौना
तीतो वास्तविकता ल्याउने रहेछन्
मीठामीठा खानेकुरा हैन
बाकसमा एकपटक आए भने बा
फेरि फर्केर नआउने रहेछन्
बुझ्दा ढीलो भैसकेछ मैले
नत्र सोच्थें होला
बरू ढीलै आउन् मेरा बा
जति पछि नै आउन्
तर बाकसमा नआउन्
हाम्रो आँगनमा बाकस नआओस्
कसैको आँगनमा नआओस्
बाहिर चिल्लो
तर भित्र खस्रो यथार्थ बोकेको
बाहरू सुतेको बाकस

२०७२ चैत्र ८

SOUND AND NOISE

"Let us learn today, what our eyes, ears and mouth are for" Throughout our school, we chanted this song- clapping our hands-...