Wednesday, June 19, 2019

किन हेर्नु सिनेमा खै.......

कहाँ ती दिन, कहाँ अहिलेको बेला । सम्झिंदा पनि क्वाँक्वाँ डाँको छाडेर रुन मन लाग्छ । हुन त डाँको भनेको के हो, कस्तो हुन्छ र रुने बेला त्यसलाई कहाँ, किन र कसरी छोडिन्छ भनेर चाहिँ म अज्ञानीलाई नसोध्नुहोला नि है । तर त्यो थाहा नपाए पनि बेलाबेला तपाईंहरु जस्तै म पनि त्यो थाहा नभएको डाँकोलाई छोडेर बेलाबेला रोएको छु । कहाँ छोडेको भनेर थाहा नपाए पनि त्यो विचरो डाँको अर्को पटक रुने बेलाको लागि फेरि कताबाट आएर हामीसंगै बसिसकेको हुँदो रहेछ । कस्तो अचम्म हैन त ?

जे सुकै होस्, अहिले मलाई कुन कुरा सम्झेर डाँको छोड्न मन लागेको हो भन्ने कुरा चाहिँ आज यहाँहरुसंग गर्न मन लागेको छ । कुरो सिनेमा र त्यसलाई हेर्ने अनुभवको हो । पहिले पहिलेको कुरा हो, सिनेमा हेर्नु भनेको आफैमा एउटा महोत्सब हुने गथ्र्यो, कुनै पर्व हुनेगथ्र्यो । किनभने एक त थोरै सिनेमा हलहरु थिए । तिनमा लाग्ने सिनेमा पनि थोरै हुन्थे । अनि सिनेमा हेर्ने भनेको भाँडहरुले हो भन्ने गौरवशाली मान्यताका कारण आँटी, हक्की र सामाजिक मान्यतालाई परिवर्तनकारी हाँक दिन सक्ने ह्याउ भएका क्रान्तिकारीहरुले धेरैजसो सिनेमा हेर्थे । तर आज सिनेमा नामक मायावी वस्तु दालभात खाए सरहको सामान्य कुरा भएको छ । सिनेमा हेर्ने थलो पनि कति हुन् कति । एउटै भवनमा तीनचार वटा सम्म सिनेमा देखाउने पर्दाहरु छन् भन्या । हद हुन्छ नि । त्यसरी वालछ्याल देखाएर सिनेमा भन्ने कुराको महत्व घटाउन हुन्छ त, तपाईं आफै भन्नुस् । आजकल त आठदश कक्षामा पढ्नेहरु पनि हूल बाँधेर सिनेमा हेर्न जान्छन् । कहाँ ती दिन थिए, कहाँ आजको यो दिन । त्यो समयको जुन आनन्द थियो, त्यो अब कहाँ सम्भव छ र ? एउटा पर्व र त्यसलाई मनाउने गौरवबाट विमुख भएका छौं हामी । म आज झलझली ती दिनहरु सम्झिंदै छु । सिनेमाको महानतामाथि समय र प्रविधिको यो मारले गर्दा आज यो बरो निरीह र दाँत फुक्लेको बाघ जस्तो भएको छ ।


मान्छेले सजिलोसंग पाएको कुराको महत्व बुझ्दैन रहेछ । कुनै कुराका लागि रात दिन कल्पेर त्यो पाउनु र बिना खासै कसरत त्यो भेट्टाउनुमा फरक हुन्छ । आफै विचार गर्नुहोस् त, एउटी रुपवती षोडशी तपाईलाई मन परी रे । उसलाई आफ्नो बनाउनका लागि तपाईले हप्तौं उसलाई पच्छ्याउनुभो, ऊ आउने बाटोमा कहिले उसको पदचाप पर्ला भनेर दिनभर कुर्नुभो, आँखा एकपटक कहिले जुध्ला भनेर तड्पिनुभो र महीनौंको अथक प्रयास पछि मात्र दुईचार वचन बोल्न पाउनुभो, अनि निकै लामो तपस्या पछि उसलाई आफ्नो बनाउन पाउनुभो । तब न त्यो रुपसीको मोल तपाईं बुझ्नुहुन्छ । बाटोमा जता हेरे पनि सुन्दरी छन्, आँखा जुध्नासाथ बिना कुनै कसरत ऊ तपाइंकी हुन्छे भने त्यति सजिलोसंग पाएको कुराको के महत्व ? आजकल सिनेमा हेर्नु त्यस्तै भएको छ ।

त्यति बेला नेपाली सिनेमा भनेको त बन्दा पनि बन्दैन थिए । चारपाँच वर्षमा एउटा बन्थ्यो । त्यो घोषणा भएको बेला देखि बनेर नचलुन्जेल मान्छेहरु त्यसको प्रतीक्षामा बस्थे । नेपाली सिनेमाका लागि मानिसहरु छटपटिन्थे । हिन्दी सिनेमा पनि पुरानो र थोत्रो भएपछि वर्षौं पछि मात्र यता आइपुग्थ्यो । झ्यार्झरयार् कोरिइसकेका रिलहरु चल्दा बीचबीचमा थरिथरिका धर्काधुर्की र एब्सट्रयाक्ट चित्रको मजा फोकटमा नै पाइन्थ्यो । प्रतीक्षाको त्यति मीठो फल आजकल त खान नपाएको कति भयो भन्नुस् त ? थोत्रा सिनेमा भवनहरुमा आवाजै राम्ररी नसुनिने सिनेमा हेर्दा कहिलेकहीं कलाकारको मुख चलेको भरमा र कहिले कथा बुझेको भरमा के भनिएको हो भनेर पत्ता लगाउनुपथ्र्यो । त्यसले तपाईं हाम्रो सिर्जनाशीलतालाई कति ठूलो कसरत गराउँथ्यो हो कि होइन ? आजकल त सङ्गलो पानी जस्तो स्पष्ट आवाज हुन्छ । हुँदाहुँदा फाइभ प्वाइण्ट वान सराउण्डका नाममा थरिथरि आवाजहरु हलका कुनाकुनाबाट सुनिन्छन् । खै सिर्जनाशीलता र कल्पनाशीलताको लागि कुनै ठाम ?

त्यतिबेला आक्कलभुक्कल बन्ने नेपाली सिनेमाहरुमा झल्याकझुलुक देखिने पात्रहरु पनि अमिट छाप बनेर हाम्रो मस्तिष्कमा छापिन्थे । जसले गर्दा ती कलाकार बर्सौंपछि देशभरको कुनै पनि ठाउँमा जाँदा समेत सम्मानित हुन्थे, सबैले चिन्थे, घरमा लगेर आदरसत्कार गर्थे । आजकल त कतिपय सिनेमाको हिरो हिरोइन पनि बाटामा लुखुरलुखुर हिंड्दा कसैले चिन्दैन । आफैले आफैलाई राष्ट्रका गहना भनेर विचराहरु घोक्रो सुकुन्जेल चिच्याउँछन् तर त्यो आर्तनादले आजकल अरुको कानको पर्दा हल्लाउन सक्दैन । आजकल त गहनाको कदर पनि गर्न छाडिसके भन्या क्या फसाद् ।
  
पहिले सिनेमाको टिकट लिनु पौरुषताको परिचायक हुन्थ्यो । सिनेमा जेसुकै र जस्तोसुकै किन नहोस्, मारामार भीड हुन्थ्यो । टिकट बाँड्ने प्वालमा एउटा हात मुश्कीलले छिराउन मिल्थ्यो । पछाडि को र कस्तो मान्छे बसेर टिकट दिन्थ्यो भन्ने इन्द्रको बाउ चन्द्रलाई पनि थाहा हुँदैनथ्यो । कति रहस्यमयी वातावरण । तर आजकल त छर्लंग देखिने ठूलो सफा ऐनाको पछाडि बसेकाहरुले टिकट दिन्छन् । रहस्य र रोमाञ्च भन्ने कुरा त कहाँ हरायो कहाँ । पहिले टिकट लिने लाइनमा यति धेरै मारामार हुन्थ्यो, त्यसको वर्णन नै गर्न सकिंदैन । मान्छेहरु घच्चमघच्ची मात्र हैन एकआर्काको काँध र टाउको माथिबाट हूलदंगा गर्दै टिकट प्वालमाथि आक्रमण गर्थे । जब कुनै मान्छे टिकट लिइसकेर आमाको गर्भबाट भन्दा बढी मेहेनत गरेर त्यो भीडबाट विजयी मुद्रामा बाहिर निस्कन्थ्यो, उसको मर्दानगीमा भर परेर सिनेमा हेर्ने चाहनामा बसेकाहरुले कत्रो जयजयकार गर्थे । खै त्यो मर्दानगी देखाउने अवसर आजकल ? आकल त न लाइन, न घच्चमघच्चा । कहाँ गएर देखाउने अब पुरुषार्थ भन्नुस् त ? अझ घरैबाट फोन गरेर टिकट बुक गर्न पनि पाइने रे, आफैले इण्टरनेटबाट टिकट डाउनलोड गरेर छापेर लगे त टिकट बेच्ने काउण्टरमा पनि जान नपर्ने रे । यस्तो पनि हुन्छ ? त्यतिबेला अलिकति मात्र टिकट प्वालबाट बाँडेर बाँकी ब्ल्याकमा बेच्न दियो भनेर चर्चरी बाझ्न गर्न पाइन्थ्यो । अब त एकएक टिकटमा नम्बर, टिकट प्वालमै कतिवटा टिकट बाँकी छ भनेर कम्प्यूटरमा स्पष्ट देख्न पाइन्छ । अब कोसंग बाझ्नु, किन बाझ्नु भन्नुस् त । बाझ्न पनि नपाइने रे अब । पहिले भित्र छिरेर पनि राम्रो सिटमा बस्नका लागि कुदाकुद गरेर जाँदा एक्सरसाइज हुन्थ्यो । आजकल त त्यो पनि हुँदैन । जहाँ भन्या छ त्यहीं मात्र गएर बस्न पाइने रे । त्यति महँगो टिकट काटेर पनि आफूले भनेको ठाउँमा बस्न नपाइने ? यो भन्दा ठूलो अन्याय र अत्याचार के हुन्छ भन्नुस् त आफै ?

पहिलेपहिले त्यति लामो प्रतीक्षा गरेर, त्यति मारामार गरेर टिकट लिएर हलमा छिरेपछि गन्हाउने शौचालयले पिनासको पुरानो रोग निको पार्न सहयोग हुन्थ्यो । अब त्यो मेडिकल सुविधा पनि छैन सिनेमा हलहरुमा । सिनेमा चलुन्जेल उखर्मौलो गर्मीले लुगा लफ्लफ् भिज्ने गरी खलखल्ती पसीना निस्कन्थ्यो । (यो शरीरबाट बाहिर निस्कने तरल पदार्थलाई निस्किना नभनेर किन पस्ने कुरालाई जस्तो पसीना भन्ने गरिन्छ भन्ने पनि मलाई नसोध्नुस् है ।) त्यसरी निस्केका पसीनाले चर्मका छिद्रछिद्रहरुलाई सफा बनाएर दर्शकहरुलाई स्वस्थ्य रहन सघाउँथे । आजकल त हलमा त वातानुकूलित यन्त्रका कारण न पसीना  न निस्किना केही हुँदैन, वाहियात् । त्यतिबेला सिनेमाको टिकटको पैसामा सित्तैंमा पाइने त्यो सुविधाका लागि त आजकल हजारौं खर्च गरेर साउनावाथ लिनु पर्छ ।

यति सबै मेहनेत र परिश्रमबाट विमुख भएर सिनेमा हेरेपछि त्यसको के महत्व ? अनि नेपाली चलचित्रको विकास भएन भनेर अरुअरु नै कुरालाई दोष दिएर बसेका छौं हामीहरु ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment