Tuesday, June 18, 2019

सर्जिकल स्ट्राइक

कुमारीपाटी मूलसडकबाट मानभवनतिर भित्र जाने बाटो सुनसान थियो  । चकमन्न रात परिसकेको थियो  ।


चाँडै रात पर्ने बेला भएकाले साढे आठ नौ बजेको समय भनेको काठमाडौंवासीहरू सबै जना खाइपिईवरी सुत्ने समय थियो । रातको अँध्यारोलाई टायरमा डाइनामोको टुप्पो घस्रेर बलेको चिमको मधुरो बत्तीले अलिअलि पन्छाइरहेको थियो । डाइनामोको प्रकाश त साइकल जति मन्द चल्यो त्यति मधुरो हुन्छ । उकालो परेको बाटो काटेर आएको हुनाले साइकलको गति मन्द थियो । मुस्किलले अघिल्तिर देखिने पहेंलो–मधुरो प्रकाश पनि हामीलाई कुनै स्टेडियमको ‘फ्लड लाइट’ जस्तै चहकिलो लागिरहेको थियो । अनि रातको निस्तब्धतालाई भंग पारिरहेको एउटै मिहिन आवाज थियो— चुई...चुई...चुई...। 

त्यो आवाज मेरो साइकलको जञ्जिरको थियो । मैले सोचें, ‘दिउँसै याद गर्नुपर्ने रहेछ । तेल हालेर आवाज नआउने बनाउनुपर्ने थियो, तयारी अलि राम्रो भएन ।’ बीएसए कम्पनीको मेरो थोत्रो नीलो साइकलमा म मात्रै सवार थिएँ । डाइनामोको बत्ती मेरो अर्को साथीको साइकलको थियो । हर्क्युलस कम्पनीको त्यो ठूलो साइकलमा डबल लोड थियो । मेरा दुई अरू साथी । हिरो र साइड हिरो । म त त्यस दृश्यको एक्स्ट्रा थिएँ । हिरो वास्तवमै निकै नै ह्यान्डसम थियो । हामीभन्दा झन्डै एक हात अग्लो। अनुहार र जीउडाल सिनेमाको चिटिक्क परेको चक्लेटी नायकको जस्तो । उसको अनुहारमा सधैंभरि एउटा घातक मुस्कान हुन्थ्यो । भुतुक्कै बनाउने । त्यतिबेला भने उसको त्यो मुस्कान कतै भागेको थियो । ऊ गम्भीर थियो, हामी आत्तिएका थियौं । डराइरहेका थियौं । हिरो डराएको थिएन । ऊ त वास्तवमै हाम्रो हिरो थियो । हिरो कहाँ डराउँछ र ? हामी उकालै उकालो आएको हुनाले हाम्रो सास पनि तेज चलिरहेको थियो । हामी सर्जिकल स्ट्राइक गर्न हिँडेका योद्धाहरू थियौं । आफूलाई त्यस्तै मानेका थियौं । त्यसको रोमाञ्च र उत्तेजनाले हाम्रो श्वासप्रश्वासलाई खलातीजस्तो बनाइरहेको हुनुपर्छ । हाम्रो ‘टार्गेट’ अब धेरै पर थिएन । मैले एक पटक चारैतिर हेरें । टाढाटाढासम्म चरो मुसो कोही थिएन । 

त्यही बेला हावामा केही गन्ध आयो । मैले सुँसुँ गरेर भेउ पाउन खोजें । साइड हिरोले पनि त्यो थाहा पाइसकेको रहेछ । ऊ पनि हावामा नाक उठाएर सुँघ्न थाल्यो । हिरोले घ्याच्च ब्रेक हान्यो । साइकल रोकिनासाथ डाइनामोको चिम पनि झ्याप्पै निदायो । अचानक कालो अँध्यारोले हामीलाई सुरसाको जत्रो मुख बनाएर क्वाप्पै निल्यो । आँखा अभ्यस्त हुँदा–नहुँदै हिरोले भन्यो, ‘पेट्रोल चुहिएको हो कि क्या हो ।’ हामीले साइकलको ह्यान्डलमा दुवैतिर एकएक गरेर चारवटा सिसीमा पेट्रोल बोकेका थियौं । नियालेर हेर्न थाल्यौं । लौ जा, मैले झुन्ड्याएको एउटा सिसीको बिर्को टम्म लागेको रहेनछ । साइकल जोल्टिनमा हल्लिँदा छचल्केर पेट्रोल पोखिन थालेछ । मैले अँध्यारोमा आँखा च्यातेर हेरें । एउटा सिसी त झन्डै रित्तो भइसकेको रहेछ । 

साइड हिरो मसँग झोक्कियो। गाली गर्‍यो, ‘अलि राम्ररी बन्द गर्नु पर्दैन ? कस्तो फलान्थोक रहेछ ।’ मैले पुलुक्क हिरोलाई हेरें । अनि डराई–डराई सोधें, ‘पुग्छ त बस जलाउन ?’ त्यस रात हामी आफ्नो स्कुलको बसमा आगो लगाउन हिँडेका थियौं ।


केही महिनाअघि...
‘अब हडताल गर्नेबाहेक अरू केही बाटो छैन ।’ एउटा साथी मुठ्ठी कसेर हावामा हल्लाउँदै बडो क्रान्तिकारी स्वरमा कुर्लियो । उसको भावभंगिमा हेर्दा यस्तो लाग्थ्यो मानौं चे ग्वेभाराको साक्षात् आत्मा उसमा छिरेको छ। उसको जोसले सबैलाई उत्तेजित बनायो । उनीहरू पनि कुनै ठूलै नेताका विवेक बन्धकी राखेका अन्धभक्त कार्यकर्ताहरूसरह कुर्लिए, ‘हो हडतालै गर्नुपर्छ ।’ हामी दस कक्षामा थियौं। सबै स्कुलको मूल गेटबाहिर अलि पर एउटा खुला चौरमा थियौं । म केही नबोली उनीहरूको कुरा सुनिरहेको थिएँ । दस कक्षा टेक्नासाथ हामीमा अनौठा मानसिक परिवर्तनहरू आउन थालेका थिए । त्यतिबेलाको शिक्षा पद्धति, सामाजिक र पारिवारिक मान्यताका अनुसार हामी आफ्नो जीवनको सबभन्दा ठूलो लडाइँमा होमिने वर्ष थियो त्यो । हाम्रो भविष्य दाउमा लागेको वर्ष । हो, एसएलसी भन्ने परीक्षालाई सबै मिलेर यति ठूलो हाउगुजी बनाइएको हुन्थ्यो कि त्यसमा असफल हुनु भनेको सबैभन्दा ठूलो पराजय हो । 
एसएलसीमा अनुत्तीर्ण हुनेहरूका लागि जिन्दगीमा केही पनि बाँकी रहँदैन । जसरी भए नि त्यसमा पास हुनैपर्छ । पास मात्रै भएर पनि हुँदैन, राम्रो श्रेणीमा, राम्रो अंक ल्याएरै पास हुनुपर्छ । नत्र भनेको कलेजमा भनेको विषय पढ्न पाइन्न । आफ्नो मात्र नभएर परिवारको र स्कुलको समेत प्रतिष्ठाको भारी बबुरा बालबालिकाको काँधमा भिराइएको हुन्छ । त्यसैले त हरेक परीक्षाफल निस्केपछि दुई–चार जना जीवनसँग हारेका योद्धाहरू आत्महत्यासम्म गर्ने गरी निराश हुन्थे । कहिले कोही रानीपोखरीमा तैरिरहेको भेटिन्थ्यो भने रूखमा वा कोठामा गलामा पासो लगाएर झुन्डिएका हुन्थे कोही । 

एसएलसीको हरेक पटक नतिजा प्रकाशन हुने सिजनमा गोरखापत्रमा कुनै समाचार हुन्थ्यो, फलानो ठाउँका ढिस्कानाले चौध, पन्ध्र वा सत्र पटकमा फलामे ढोका नाघेर देखाए । त्यो पढ्दा मलाई लाग्थ्यो, तिनको कीर्तिमान भंग गर्ने म हुनेछु । अरू विषयमा मलाई समस्या थिएन तर एउटा हिसाबको कारण म कहिले पनि सम्भवतः एसएलसी पार गर्न सक्दिनँ होला । पास मार्क कटाउन मलाई हमेसा फलामको च्युरा चपाएजस्तो हुन्थ्यो । 

हामी क्रान्तिकारी मनस्थितिसम्म आइपुग्नुको कारण भने अरू नै केही थियो । दस कक्षामा पहिलो र दोस्रो त्रैमासिक परीक्षापछि एसएलसीका लागि सेन्टअप भनिने परीक्षा त पार गर्नुपर्थ्यो । त्यही मानसिक तनावमा हाम्रा दिनहरू कति छिटो बिते भन्ने थाहा पनि भएन । दोस्रो त्रैमासिक सकिएपछि अब सेन्ट अपको पालो आउन लागेका थियो । राजनीतिक चेत उच्च भएको एउटा साथी कराउँदै थियो, ‘अत्याचार सहनुहुन्न । जुन विषय सेन्टअप र एसएलसीमा हुँदैन, त्यो विषयको थर्ड टर्ममा किन जाँच दिने ? त्यसमा फेल भयो भने सेन्टअप दिन नपाउने रे । यस्तो हिट्लरशाही उर्दीलाई मान्नु हुँदैन ।’ 

हाम्रो विद्यालयका संस्थापक प्रधानाध्यापक सत्यनारायणबहादुर श्रेष्ठ जसलाई छोटकरीमा एसएन सर भनिन्थ्यो विद्यालयको साख र विद्यार्थीहरूको पढाइका लागि निकै गम्भीर रहन्थे । सरकारी पाठ्यक्रममा रहेको माई इंगलिस बुकबाहेक आठ कक्षादेखि हामीले अंग्रेजीको थप एउटा विषय पढ्नुपर्थ्यो । विशेषगरेर व्याकरण र भाषा राम्रो होस् भन्ने हेतुले उनले आफैंले लेखेका पुस्तकहरू पढाइन्थे ।
त्यतिबेला नाम चलेका चार–पाँच विद्यालयहरूका बीच कसले बोर्डमा धेरै स्थान ल्याउने, कसको प्रथम श्रेणीमा कति प्रतिशत विद्यार्थी आए, कति कम वा कोही फेल भएनन् भन्ने कुरामा जुँगाको लडाइँ हुन्थ्यो । त्यसैले होला, हाम्रो विद्यालयले सेन्ट अपभन्दा पहिले तेस्रो परीक्षा पनि लिने निर्णय गर्‍यो । त्यसमा साह्रै कमजोर नतिजा ल्याउनेहरूलाई बरु एक वर्ष अझ मेहनत गराएर मात्र सेन्ट अप दिन लगाउने निर्णय भएको थियो । त्यसमा पनि इंगलिस सेकेन्ड पेपरको परीक्षा समावेश भएको थियो । त्यो देख्नासाथ केही साथीहरू उत्तेजित भएका थिए । किनभने अंग्रेजी अलि धेरै नै कमजोर भएकाहरू बल्ल त्यो विषयबाट मुक्ति पाइने भयो भनेर दंग परेका थिए । त्यस दिन त्यही विषयको परीक्षाको तालिका थियो । त्यसैले आन्दोलनकारीहरूले स्कुलको मूल गेटमै बसेर विद्यार्थीहरूलाई बाहिरै रोकिरहेका थिए । 

‘एसएनबी मुर्दावाद,’ दाह्रा किट्दै हाम्रो चे चिच्यायो ।
‘मुर्दावाद मुर्दावाद,’ अरू सबैले करतल ध्वनिले साथ दिए ।
‘दादागिरी चल्दैन ।’
‘चल्दैन चल्दैन ।’
‘विद्यार्थीको भविष्यसँग खेलवाड गर्न....’
‘पाइँदैन पाइँदैन ।’
जोस अलि शान्त भएपछि एउटाले भन्यो, ‘हडताल भनेपछि मागहरू स्पष्ट राख्नुपर्छ ।’
चेले उसलाई खाउँला जसरी हेर्दै भन्यो, ‘माग यही हो । सेन्ट अप र एसएलसीमा नआउने इंगलिस सेकेन्ड पेपरको जाँच राख्नुहुन्न ।’
‘हो । तर एउटै मात्र माग हुँदा हडताल कमजोर हुन्छ । चार–पाँचवटा अरू बुँदा थप्नुपर्छ । सम्झौता गर्ने बेला एउटा दुइटा छोड्न काम लाग्छ ।’ दूरदर्शी राजनीतिक चेत भएको त्यो साथीको कुरा सबैले मनन गरे । चे एक छिन गम्भीर भयो । उसले खल्तीमा दोबारेर राखेको एउटा बत्तीस पाने कापी निकाल्यो र एउटा पाना ध्यार्र पारेर च्यात्यो । उसले सबैलाई हेर्दै भन्यो, ‘ल थपौं अरू चार–पाँचवटा । तिमीहरू भन्न थाल म लेख्छु । मूल माग लास्टमा राखौंला ।’सब बढीचढी मागहरू के–के हुन सक्छन् भनेर महान् क्रान्तिमा योगदान दिन थाले । केही बेरको छलफल, वादविवाद र चर्काचर्की भयो । अन्ततः हाम्रो मागको लिस्ट तयार भयो । 

१. शौचालयको दुर्गन्धले पढाइमा ध्यान नजाने भएकाले सफाइमा ध्यान दिइयोस् ।
२. पिउने पानी सफा नभएकाले विद्यार्थीहरू बिरामी पर्ने गरेका छन् । हाम्रो स्वास्थ्यसँग खेलबाड बन्द होस् ।
२. पुस्तकालयमा कर्नल रञ्जित र गुलसन नन्दाका जासुसी र रोमान्टिक उपन्यासहरू पनि राखियोस् ।
४. एसएलसीमा नआउने भएकाले अंग्रेजी दोस्रो पेपरको जाँच खारेज गरियोस् ।
माग टुंगो लाग्दै थियो, भित्र स्कुलबाट खबर आयो– एसएन सरले कक्षा दसका आन्दोलनकारीहरूलाई कमन हलमा उच्चस्तरीय वार्ताका लागि आह्वान गरेका छन् । सबै जुझारु योद्धाहरू जंगलबाट शान्तिवार्तामा आएका सशस्त्र विद्रोही जसरी गर्वले छाती फुलाउँदै कमन हलतिर लाग्यौं । एसएन सर आइपुगेका थिएनन् । चेले मागहरू लेखिएको चिर्कटो लगेर स्टेजको टेबलमा राखिदियो । अनि सबै प्रतीक्षा गर्न थाल्यौं । हाम्रो मुटु ढुकढुक गरिरहेको थियो । केही बेरमा आफ्नो चिरपरिचित फुर्तिलो शैलीमा लामालामा पाइला चाल्दै दुब्ला पातला र अग्ला एसएन सरको प्रवेश भयो । उनको अनुशासन र कडाइका कारण सबै विद्यार्थीहरू उनीसँग डराउँथे । 

यता ढोकाबाट उनी छिरे, उता हामीभित्रका चे, लेनिन, स्टालिन, लालबहादुर शास्त्री, धर्मभक्त, थिरबम मल्ल र केआई सिंहहरू लुसुक्क झ्यालबाट निस्केर गायब भए । हामी घुटुघुटु थुक निलेर हथौडा बजेजस्तो आफ्नै मुटुले ठोकेको ढ्याङ्ग्रोको आवाज सुनेर बसिरह्यौं । हलमा सियो खसेको पनि सुनिने निस्तब्धता कायम भयो । एसएन सरको आँखा टेबुलमा भएको चिर्कटोमा परेको थिएन । उनी खाउँलाजस्तो आँखाले हामीलाई स्क्यान गरिरहेका थिए । अनि उनले अंग्रेजीमा चिसो स्वरमा भने, ‘आई बिलिभ यू स्काउन्ड्रल्स ह्याभ कल्ड फर अ स्ट्राइक । मे आई नो द पर्पस अफ दिस इन द मिडल अफ द एक्जाम्स ?’ 

बिरालोको घाँटीमा घन्टी झुन्ड्याउने योजना बनाउने मुसाहरूको कथा तपाईंहरूले पढ्नुभएकै होला । हामी मुसाहरू थियौं । एसएन सर नामक ढाडे बिरालोको घाँटीमा घन्टी बाँधेर आफ्नो शहादत अर्पण गर्ने ह्याउ कसैमा थिएन । उनी फेरि कड्किए, ‘स्पिक अप् यू स्वाइन्स । ह्वाट् इज दिस ननसेन्स ? ह्वाट आर युअर ब्लडी डिमान्ड्स ?’
कोही केही बोलेन । मेरो पछाडिपट्टि बसेको भूतपूर्व चे मेरो पुठ्ठोमा चिमोट्न थाल्यो । म दोमनमा परें । 

खासमा म दुई पटक जति कक्षा फड्को मारेको विद्यार्थी थिएँ । तसर्थ म अरूभन्दा जहिले पनि फुच्चेमा नै गनिन्थें । केही साथीहरू यस्ता थिए, जसले मलाई कहिले पनि आफूसरह व्यवहार गर्ने वा स्विकार्ने गरेनन् । कुनै कुरामा मलाई तर्कले जित्न सकेनन् भने नकरा फुच्चे, तँ हामीभन्दा जुनियर होस् भनेर चुप लगाउँथे । हुन पनि स्कुलमा एक कक्षा मात्र तलमाथि हुँदा दाइ भनेर मान्ने वा भाइ भनेर पेल्ने चलन हुन्छ । त्यस्ता सम्बन्धहरू कालान्तरमा गएर भेटिँदा पनि त्यस्तै रहन्छन् । पछि जिन्दगीमा आफूभन्दा चौध वर्ष जेठो कान्छो मानिस पनि साथी बन्न सक्छ । त्यसैले मलाई त्यतिबेला साथीहरूलाई आफू पनि उनीहरूकै बराबरीको हुँ भन्ने प्रमाणित गर्न गाह्रो हुन्थ्यो । उनीहरूले मलाई आफूसरह स्विकारुन् भनेर म जे पनि गर्न तयार हुन्थें । 

अर्को एउटा कारण पनि थियो । एसएन सरसँग मेरो मावलीपट्टिबाट केही बेचेको नाता पर्थ्यो । त्यसकारण मेरा केही साथीहरू मलाई संशयको आँखाले हेर्थे । मलाई उनीहरूले बूढाको जासुससम्मको उपाधिले विभूषित गरेका थिए । त्यसको फाइदा र बेफाइदा दुवै थियो । फाइदा के भने, अरू शिक्षकहरू मप्रति अलि नरम हुन्थे । अरू विद्यार्थीको कन्चटको रौं उखेल्ने बदमासी पनि मबाट भयो भने मौखिक चेतावनीमै उम्कन पाइन्थ्यो । तर, मलाई भने बेफाइदा बढी लाग्थ्यो । किनभने बेलाबेला खासखुस केही योजना बनेको ठाउँमा म पुग्दा साथीहरू मौन हुन्थे । मानौं म हरिराम नाइ हुँ जो ‘आग्रेजों के जमाने का जेलर’ कहाँ खबर पुर्‍याउन पुिगहाल्छु । यद्यपि मैले कहिले कुनै चुक्ली लगाउने काम गरिनँ । मैले त उठ्ने–बस्ने, समय बिताउने, खेल्ने कुद्ने मेरै सहपाठीहरूसँग हो । मेरा लागि उनीहरू नै प्रिय थिए । तर माथिका दुई कारणले म कहिले पनि उनीहरूको अरू विद्यार्थीजस्तो इष्ट हुन सकिनँ । 

त्यसैले अहिले भूतपूर्व चेले पुठ्ठोमा बारम्बार चिमोट्दा त्यतिबेलाको मेरो अल्लारे मगजले त्यसलाई एउटा मौकाको रूपमा लिन भनिरहेको थियो । के साथीहरूको आँखामा हिरो बन्ने अवसर मैले छोड्नुहुन्न ? फेरि अर्कोतिर एसएन सरको कोपभाजनमा परिने डर थियो । म दोमनमा थिएँ, एसएन सर भन्दै थिए, ‘ओह आई फर्गट । यू डन्किज कान्ट स्पिक इन इङ्लिस ।’ अनि उनले एकदमै व्यङ्ग्यात्मक स्वरमा नेपालीमा भने, ‘किन हडताल गरेको ? तिमीहरूको माग के हो ?’
मलाई उनको त्यो अवहेलना असह्य भयो । यता चे अब त सुम्लो उठ्ला जसरी मेरो पुठ्ठोमा चिमोट्दै थियो । म जुरुक्क उठें र अंग्रेजीमा कड्किएँ, ‘सर, प्लिज फोकस युअर आइज अन त टेबल, यू विल सी द्याट वी ह्याभ लिस्टेड आवर डिमान्ड्स फर युर काइन्ड पेरुजल ।’
साथीहरूले थपडी बजाए । म अचानक उनीहरूको हिरो भएँ । मैले सकीनसकी आफ्नो छाती दुई इन्ची जति फुलाएँ । एसएन सर आग्नेय नेत्रले मलाई हेरिरहेका थिए । उनले खतरनाक स्वरमा भने, ‘ओह आई सी... सो यू आर द लिडर...’
मैले पनि जोसमा आएर भनिदिएँ, ‘यस सर, आई एम् ।’
उनी केही बेर मलाई निलुँला जसरी हेर्दै टेबलतिर फर्किए । टेबलमा भएको चिर्कटो उठाएर चिम्सा आँखाले पढ्न थाले । शौचालय र पानीको मागसम्म त उनी ठीकै थिए तर तीन नम्बरमा जब कर्नल रञ्जित र गुलसन नन्दाले उनको स्वागत गरे, उनको धैर्यले साथ छोड्यो । उनी दुर्वाशा ऋषिमा परिणत भए । उनको आँखा रातो भयो, नाकको पोहोरा फुलेर सराद्धेको फुलौराजस्तो भयो । चौथो र मूल माग पढ्दै नपढी उनले त्यस चिर्कटोलाई धुजाधुजा पारेर च्यात्दै कुर्लिए, ‘ननसेन्स्.... रब्बिस्...’
अनि उनी हामीलाई मारुँलाजस्तो आँखाले हेर्दै आएकोभन्दा दोहोरो गतिमा कमन हलको ढोकाबाट बाहिर निस्के । क्रान्तिकारीहरू फेरि फुत्तफुत्त झ्यालबाट भित्र छिरे । हामी फेरि बाहिर चौरतिर लाग्यौं । यस पटक मेरा साथीहरूले मलाई अघिअघि लगाए । म पनि दंग परें ।
‘अब के हुन्छ ?’ 

चेले प्रश्न गर्‍यो । त्यसको उत्तर कसैसँग थिएन । निकै बेरपछि ब्रेकको समयमा अरू कक्षाका विद्यार्थीहरू बाहिर निस्के । उनीहरूले ल्याएको खबर सुनेर मेरो सातोपुत्लो उड्यो । नोटिस बोर्डमा मलगायत केही अरू साथीहरूलाई विद्यालयबाट निष्कासन गरिएको सूचना टाँसिएको थियो रे । म कुदेर स्कुलभित्र लागें । अरू साथीहरू पनि पछि लागे । नोटिस बोर्ड भएको ठाउँमा राम्रै भीड थियो । म ठेलम्ठेल गरेर त्यसको छेउमा जाँदा अरू साना कक्षाका विद्यार्थीहरू मलाई अनौठो आँखाले हेरिरहेका थिए । तीमध्ये कसैको आँखामा सहानुभूति थियो, कसैको आँखामा सम्मान । मैले नोटिस बोर्डमा आँखा पुर्‍याएँ । नभन्दै म र अरू चार जना साथीहरूलाई घोक्रेठ्याक् लगाइएको रहेछ । अझ मेरो नामको पछाडि कोष्ठमा ‘रिंग लिडर’ भन्ने उपमा पनि जोडिएको थियो । 

त्यो त्यही नोटिस बोर्ड थियो, जसमा बेलाबेला मैले लेखेका कथा वा कविताहरू टाँसिएका हुन्थे । मैले बनाएका चित्रहरू टाँगिएका हुन्थे । मैले अमोददेव भट्टराई र उमा शर्मासँग मिलेर प्रकाशन गर्ने भित्ते पत्रिका ‘टुसा’ त्यहाँ प्रकाशित हुन्थ्यो । आज त्यही नोटिस बोर्डमा मलाई स्कुलबाट निष्कासन गरिएको सूचना टाँसिएको थियो । मेरा आँखा रसाए । आफूले गर्दै नगरेको कर्मको मैले फल भोगेको थिएँ ।
म हडतालीहरूको प्रवक्ता बनेर उनको सामु उभिए पनि म लिडर थिइनँ । मलाई साथीहरूले भिराएको बूढाको चम्चा भन्ने पदवी दस वर्षसम्म बोकेर हिँड्न कति गाह्रो भएको थियो होला ? म बूढाको चम्चा थिइनँ । मैले साथीहरूलाई म पनि उनीहरूजस्तै हुँ भन्ने प्रमाणित गर्न पाएको मौकाको सदुपयोग मात्र गरेको थिएँ । त्यो कुरा उनले बुझ्नुपर्थ्यो । कमसेकम मलाई एक पटक बोलाएर सोध्नुपर्थ्यो । एक पटक कुरै नसुनी उनले गरेको त्यो अन्यायपूर्ण निर्णयले मलाई आहत बनाएको थियो । एक वर्ष खेर गएर पनि आकाश त खस्ने थिएन तापनि मैले किरिया खाएँ, ‘न मेरो एक वर्ष खेर जान्छ, न त्यो स्कुलले निकाल्दैमा म फेल हुन्छु । देखाउँछु म ।’ 

ऐच्छिकमा मेरो विषय अंग्रेजी थियो । किनभने गणित र विज्ञान मेरा लागि राहु र केतु बराबर थिए । अब सेन्ट अप आउनै लागेको बेलामा नाम चलेको कुनै विद्यालयले मलाई भर्ना लिने सम्भावना थिएन । तसर्थ काठमाडौं र पाटनका विद्यालयहरूको चक्कर काट्नेमा केही दिनहरू बिते । अन्ततः एउटा विद्यालयले मलाई भर्ना लिन स्वीकार गर्‍यो । तर मैले ऐच्छिकमा ग्रामीण अर्थशास्त्र भन्ने विषय लिन पर्‍यो । त्यो विद्यालयको दस कक्षाको पढाइ सकिनै लागेको थियो । तसर्थ मैले एसएलसी दिने बेलासम्म ग्रामीण अर्थशास्त्रको पुस्तक किनेर घरैमा पढ्नुपर्‍यो । त्यहाँ भर्ना भइसकेपछि मेरा लागि एउटै मात्र चुनौती थियो— हिसाब । मलाई फलामे ढोका जसरी भए पनि भत्काउनु थियो । 

न्हैकन्तला भन्ने ठाउँमा एक जना हिसाबको ट्युसन पढाउने सरको कीर्ति चारैतिर फैलिएको थियो— गौरी सर । भनिन्थ्यो, उनले पढाएपछि गधाले समेत हिसाब सिक्छ रे । म त मान्छे नै थिएँ । म र मसँग सहिद भएकाहरूमध्येका अरू दुई जना त्यहाँ साँझ ट्युसन पढ्न थाल्यौं । हिरो र साइड हिरो । ट्युसनपछि साँझ अबेरसम्म हामी असन इन्द्रचोक र झोंछेका गल्लीहरूमा बरालिन्थ्यौं । हिरो सम्पन्न परिवारको थियो । एक दिन हामी कुनै रेस्टुरेन्टमा थियौं । विद्यालयबाट निकालिएको चोट अझै आलो थियो । हिरोले भन्यो, ‘यत्तिकै त छोड्न हुँदैन बुझिस् ?’
मैले कुम उचालेर भनें, ‘हामीले के गर्न सक्छौं र ?’
हामी आफ्नो अपमानको बदला लिन चाहन्थ्यौं । त्यो उमेरै त्यस्तै अराजक थियो । निकै बेर छलफल गरेपछि हामी स्कुलको बस जलाउने निर्णयमा पुग्यौं । म पनि सुरिएँ । हामी कुन दिन र कसरी बस जलाउने भन्ने प्लान बनाउन थाल्यौं ।

चकमन्न अँध्यारोमा हामी तीन भाइ मौन थियौं । मैले फेरि प्रश्न दोहोर्‍याएँ, ‘पुग्छ त बस जलाउन ?’ हिरोले मनमनै अन्दाज गरेर भन्यो, ‘पुग्ला ।’ हामी फेरि साइकलमा सवार भयौं । डाइनामो घिस्रिएपछि फेरि मधुरो बत्तीले हामीलाई डोहोर्‍याउन थाल्यो । स्कुलको कम्पाउन्डभन्दा अलि वरै हामी रोकियौं । हिरोले भन्यो, ‘यसको साइकलले धेरै आवाज निकालिरहेको छ । थाहा पाउन सक्छन् ।’
साइकल अलि वरै पर्खालमा अडाएर बाँकी दूरी पैदल जाने निर्णय भयो । हामी हातमा पेट्रोल बोकेर बिरालाको चालले अँध्यारोमा अघि बढ्यौं । हामी स्कुलको हाताभित्र प्रवेश गरिसकेका थियौं । हिरोले हामीलाई एक छिन रोकिन इसारा गर्‍यो र आफू जेम्स बन्ड जसरी सतर्क हुँदै अघि गयो । हेर्दाहेर्दै ऊ अँध्यारोमा अगाडिको मोडमा हरायो । एकै छिनमा ऊ फेरि चाल मार्दै आयो र साउती गर्‍यो, ‘मैले हेरेर आएँ । कोही पनि छैन ।’ 

‘सलाई कोसँग छ ?’ साइड हिरोले कानेखुसी गर्‍यो ।
‘मसँग छ,’ हिरोले भन्यो ‘तँहरू दुई जनाले वरिपरि घुमेर पेट्रोल छर्की, म आगो लगाउँछु अनि हामी टाप दिने बुझिस् ?’
हामीले मुन्टो हल्लायौं र अघि बढ्यौं । एक मोड काट्नासाथ लहरै बसहरू राखेको ठाउँ देखियो । सबैभन्दा पछाडि ३६९ रोकिएको थियो । हिरोले इसारा गरेर देखायो, सिकार त्यही हो । ३६९ एउटा पहेंलो रंगको मर्सिडिज बेन्जको मिनिबस थियो । त्यही बसमा आठ कक्षादेखि म स्कुल जाने आउने गरेको थिएँ । मलाई कताकता ३६९ को माया लाग्यो । आज त्यो खरानी हुन आँटेको थियो । हामी सतर्क भएर त्यसको नजिक पुग्यौं । गोडा लगलग कामिरहेका थिए। साइड हिरो एउटा सिसीको बिर्को खोलेर ३६९ को टायरमा खन्याउन थालिसकेको थियो । हिरो मलाई माथि साइडमा पेट्रोल छर्कन इसारा गर्दै थियो । उसले सलाईको बट्टा खल्तीबाट निकालिसकेको थियो । ऊ एउटा काँटी झिकेर मसलामा कोर्न तयार मुद्रामा आइसकेको थियो । म बिर्को खोल्न थालें । त्यही बेला अँध्यारोमा कतैबाट एउटा ठूलो आवाज आयो, ‘ए....क्व ट्याँ ?’ 

नेवारी लवजको त्यो धोत्रो स्वर रामबहादुर दाइको थियो । रामबहादुर दाइ ३६९ को सहचालक थिए । चौडा काँध र छाती भएका रामबहादुर दाइ सानासाना विद्यार्थीहरूलाई त हत्केलामा खुट्टाले टेक्न लगाएर रुवो जसरी उचालेर खेलाउँथे । त्यति बेला धर्मश्री प्रतियोगिता हुने भइदिएको भए पहिलो पुरस्कार उनकै हुन्थ्यो होला । त्यही रामबहादुर दाइले भेट्टाए भने हाम्रो हविगत के होला भन्ने सम्झेरै हाम्रो सातो एकै पटक उड्यो । हामी तीनै जना मिलेर पनि उनलाई जित्न सक्दैनथ्यौं भने हामीलाई राम्ररी थाहा थियो । त्यही बेला पर कतैबाट एउटा टर्च बल्यो र त्यसको प्रकाश यताउति हल्लिन थाल्यो । त्यसको प्रकाशले हामीलाई भेट्टाउनुअघि नै हिरो करायो, ‘भाग्...’
ऊ कराउनुअघि नै म त सुइँकुच्चा ठोकिसकेको थिएँ । साइड हिरो मेरो पछि कुद्न थाल्यो । मलाई प्यान्टमै पिसाब चुहिएलाजस्तो भइसकेको थियो । अँध्यारोमा आँखा नदेखे पनि म वायु वेगमा कुदेर स्कुलको कम्पाउन्डबाट निस्कें र साइकल अडाएको ठाउँमा पुगें । कसरी जम्प मारेर त्यसमा सवार भएँ र कुन गतिले पेडल मार्दै म एकैचोटि कुमारीपाटी जाउलाखेलको मूल सडकमा पुगें भन्ने पनि मलाई थाहा भएन । छाती फुट्लाजस्तो भएपछि मैले साइकल रोकें । सँगसँगै भनेजस्तो हर्कुलस कुदाउँदै साइड हिरो आइपुग्यो । हाम्रो जोस, आँट र वीरता सबै कता भागिसकेको थियो र क्षणभरमै आफ्नो कुमतिका लागि हामी आफूलाई सरापिरहेका थियौं । के सोचेर त्यस्तो नकाम गर्न हिंडिएछ भनेर थक्कथक्क लागिरहेको थियो । हामी आतंकित भएका थियौं । 

हिरोको अत्तोपत्तो थिएन । के हिरो रामबहादुर दाइको फेला पर्‍यो ? त्यो कल्पना मात्रै पनि भयानक थियो । हामी आफैं पनि समातिएका भए के हुन्थ्यो ? दुवै जना केही बोल्न सकिरहेका थिएनौं । अझै सास व्यवस्थित भएको थिएन । त्यही बेला सत्तरीको स्पिडमा कुद्दै हिरो आइपुग्यो । उसको ज्याकेट उसको जीउमा थिएन । उसले स्याँस्याँ गर्दै हामीलाई हकार्‍यो, ‘दुउटै साइकल लिएर भाग्ने हो फलान्थोकहरू ? मलाई रामेले समात्या भए के हुन्थ्यो ?’
हामी केही बोल्न सकेनौं । रामबहादुर दाइले लखेटेर उसको कठालो समातिसकेका रहेछन् । उसले बेलैमा बुद्धि पुर्‍याएर ज्याकेटको फँस्नर खोलेछ र त्यसबाट निस्केर भागेछ । निकै परसम्म तैपनि रामबहादुर दाइले खेदेका थिए रे । 

‘मेरो दाइले बैंककबाट ल्याइदिएको ज्याकेट..,’ हिरोले मुसाको स्वरमा शोक मनायो । उसको हिरोगिरी कतै भागिसकेको थियो । हिरो पनि मजस्तै जिरो देखिएको थियो । जमानत जफत भएको उम्मेदवारले दुई तिहाइ ल्याउनेलाई सत्ता सुम्पेको जस्तो निन्याउरो मुख लगाएर साइड हिरोले उसलाई साइकलको ह्यान्डल हस्तान्तरण गर्‍यो । हिरो केही नबोली साइकल चलाउन थाल्यो । दुई चार पाइला पछिपछि कुदेर साइड हिरो बाँदर उफ्रे जसरी फुत्त पछाडिको क्यारियरमा चढ्यो । म पनि मच्चीमच्ची पेडल चालेर पछि लागें । तेल नपुगेको जञ्जिर अझै ठूलो स्वरमा हामीलाई गिज्याउन थाल्यो, ‘चुई... चुई... चुई...’
त्रिपुरेश्वर आएर हामी केही नबोली आआफ्नो घरतिर लाग्यौं । हामीले सात दिनको योजना बुनेर गरेको सर्जिकल स्ट्राइक असफल भएको थियो । 

म त्यस रात निकै बेर आतंकित भएर सुत्न सकिनँ । बल्लबल्ल निदाएको बेला सपनामा आफूलाई रामबहादुर दाइले कर्‍याक् कुरुक् पारेर आठ्याएको देखें । उनको बलशाली पाँसुलामा च्यापिएर मेरा करंगहरू पिटिक्पिटिक् गर्दै चर्कन थालेका थिए । म आत्तिएर ब्युँझिएँ । त्यसपछि त मरे निद्रा लागेन । के रामबहादुर दाइले हामीलाई चिनेका थिए ? चिनेको भए हाम्रोबारेमा बताए होलान् ? बताएका भए के अब हामीलाई भोलि बिहान पुलिसले समात्न आउँछ ? समात्यो भने कस्तो सजाय हुन्छ होला ? मलाई त्यति डर जीवनमा कहिले पनि लागेको थिएन । आफ्नो त्यो अल्लारे र अराजक निर्णयका लागि मनमनै आफैंलाई गाली गर्दै डराईडराई मैले त्यो रात काटें । 

त्यसपछिका मेरा निकै दिनहरू आतंकको छायामा बिते । बाटोमा अलि परबाट कुनै प्रहरी देख्दा मलाई नै समात्न आएका हुन् भन्ने डरले म त्राहिमाम हुन्थें । त्यसै पनि पछाडिबाट कसैले कठालो समात्न लाग्यो भन्ने लागिरहन्थ्यो । त्यो आतंकबाट मुक्त हुन मलाई हप्तौं लाग्यो । त्यतिन्जेलमा पनि केही भएन । मैले हामी बस जलाउन असफल भएकोमा मनमनै ईश्वरलाई धन्यवाद दिएँ । हाम्रो बीचमा त्यसपछि स्कुललाई पाठ पढाउनेबारेमा कुनै कुरा भएन । पाठ त हामीले पढेका थियौं । हामी चेत बाबा काशी भइसकेको थियौं । अहिले त मर्सिडिज बेन्जका त्यस्ता मिनिबसहरू विस्थापित भइसकेका छन् । तर त्यतिबेला निकै पछिसम्म पनि बेलाबेला त्यो पहेंलो रङको ३६९ बाटोमा देख्दा मलाई भित्रैसम्म चिसो हुन्थ्यो । 
प्रकाशित : जेष्ठ १८, २०७६ ११:२५

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment