Translate

Thursday, May 31, 2012

म त माटो न हूँ


म त माटो न हूँ
बोझहरूले थिचिदिए हुन्छ
पैंतालाले किचिदिए हुन्छ
म त माटो न हूँ ।

रापले सेकिन्छु म  - तापले सोसिन्छु
चिरिन्छु-चरक्क चर्किन्छु
यहाँदेखि त्यहाँसम्म म
तर पनि टुक्रिन्नं, छरिन्नं म
म त माटो न हूँ ।
बर्षाको स्नेहका केही छिटाहरू
खसे भने म माथि
दंग पर्दै फेरि जोडिन्छु
मगमगाउँछु, व्यूँतिन्छु, हाँस्छु
म त माटो न हूँ ।

मेरो छाती उधिने हुन्छ
मलाई खने पनि हुन्छ
रोपे हुन्छ म मा तिम्रा
चाहनाका वीजहरू
तिम्रा आकांक्षाहरु
तिम्रा आवश्यकताहरू
उमारिदिन्छु म तिनको अंकूर
मेरै छातीमाथि
हुर्काइदिन्छु त्यसको बोट
फलाइदिन्छु तिम्रा सपनाहरू
लैजाऊ टिपेर, काटेर, थुतेर, लुछेर
म कहिले पो रोएको छु र ?
प्रतिरोध कहिले गरेको छु र ?
म त माटो न हूँ ।

मुछे हुन्छ मलाई गजगजी-हिलाम्य पारेर
बनाए हुन्छ तिमीले चाहे जस्तै
तिमीले खोजे जस्तै
उस्तै-दुरुस्तै
तिमीलाई मन पर्ने जस्तो आकार
खेलौना बनाएर खेल
सजाऊ मूर्ति बनाएर
रंगाऊ आफूले खोजेका रंगहरूमा
मन नअघाउन्जेल मलाई सुमसुम्याए हुन्छ
मन अघाए मिल्क्याइदिए हुन्छ
टुक्राटुक्रामा फुटाएर
म चुपचाप बटुल्छु आफूलाई
जोडजाड पार्छु फेरि
म त माटो न हूँ ।

मट्यांग्रा बनाए हुन्छ मलाई
गुलेलीमा तन्क्याए हुन्छ
अर्कोलाई चोट पुय्राउन
मलाई हुर्र्याए हुन्छ
ढुंगा बनाएर अरूलाई फुटाए हुन्छ
म कराउँदिनं....म रून्नं.....म दुख्दिनं....
मेरो मौनता तिमीले नबुझे पनि
बुझेर बूझ पचाए पनि
म तिमीलाई केही भन्दिनं
म बोल्दिनं, लाटो न हूँ
म त माटो न हूँ ।

गाडिदिए हुन्छ ममा चिहान खनेर
तिम्रा सपनाका सिनुहरू
वा तिम्रा सम्बन्धका मुर्दाहरू
तिम्रा अवसादहरू छोपिदिए हुन्छ
तिम्रो भूत...वर्तमान...
तिम्रो पाप....गलती....दोषहरू
कोचकाच पारेर म भित्रै
पुरिदिए हुन्छ मलाई नै
म गन्हाउँछु मै भित्र
म निस्सासिन्छु आफ्नै साससंग
तर म मर्दिनं
म त माटो न हूँ ।


Wednesday, May 30, 2012

हेल्लो सेक्सी!!!

२०६९ जेष्ठ १४ गतेको नेपाल साप्ताहिकमा प्रकाशित


काठमाडौंमा खुलेका अत्याधुनिक मलहरूमध्ये एउटा मलको लुगा पसलमा बाबु-आमा र एउटी टिनएजर छोरी किनमेल गर्दै थिए। छोरीले मन पराएको लुगामा बाबुको आपत्ति थियो भने त्यसबाहेक अरूमा छोरीको आँखा लागेको थिएन। बाबुलाई त्यो लुगा बढी उदांगो लागेको थियो। छोरी भने आफ्ना सबै साथीले त्यस प्रकारका लुगा लगाउने तर्क दिएर बाबुलाई आश्वस्त पार्न खोजिरहेकी थिइन्। आमा दुई जनाको बीचमा मध्यस्थकर्ता बन्ने प्रयासमा प्रस्तुत भइन्। अन्ततः नयाँ पुस्ताका सामु पुरानो पुस्ताले घुँडा टेक्यो। छोरी कानदेखि कानसम्म हाँसिन्, बाबु ठुस्स परेर पैसा तिर्न थाले। 

Sunday, May 20, 2012

नानो मन

बायाँ फन्को ८४

विकासक्रममा मान्छेले उदेकलाग्दा उपलव्धिहरु गरेको छ । सोच्नै नसक्ने कुराहरुको विकास गरेको छ मानिसले । प्रविधि त झन् यस्तो भैसकेको छ, जसले गर्दा अब कुनै पनि कुरा असम्भव भन्न नसकिने भएको छ । हामी क्रमशः अभ्यस्त हुँदै गएकोले हेक्का नगरेको मात्र हो नत्र भने हामीले हातहातमा बोकेर हिंड्ने हातेफोन मात्र पनि कुनै मायावी वस्तु भन्दा कम छैन आजकल । सय वर्ष अघि कुनै अफीमचीले त्यसको तन्द्रामा पनि कल्पना गर्न नसक्ने कुराहरु आज वास्तविकता बनिसकेका छन् । हरेक क्षेत्रमा मान्छेले आफ्ना अघिल्ला उपलव्धिहरुलाई गौण बनाउने अर्को उपलव्धि दिनहुँ भनेजस्तो गरिरहेको छ । आजको समय द्रुत उपलव्धिको समय हो ।

यो क्रममा मानिसले गरेको चमत्कार भनेको हरेक चीजको आकारमा हो । माइक्रो चिप्स जस्ता आविष्कारका कारण सानो भन्दा सानो आकारका यन्त्रहरु सम्भव हुन थाले । आकारमा जति सानो भए पनि तिनको क्षमता भने झन् झन् बढी पनि सम्भव हुन थाल्यो । फलतः रेडियो, टेलिभिजन, कम्प्यूटर, चिकित्साका लागि प्रयोग हुने उपकरण, मेशिनरी जस्ता थुप्रै कुरा झन्झन् साना हुँदै गए । पहिले आविष्कार र विकासको क्रममा आइबीएमले बनाएको कम्प्यूटर राख्नका लागि मात्र एउटा ठूलै आकारको कोठा चाहिन्थ्यो रे । जबकि त्यसको क्षमता र उपादेयता अहिलेका काखे वा हाते कम्प्यूटरको एक छेउ पनि हुँदैनथ्यो । त्यतिबेला त्यस्तो भीमकाय र महँगो उपकरणको बजार कस्तो होला त भन्ने प्रश्न उठ्दा त्यसका आविष्कारकहरुले आशावादी हुँदै कम्प्यूटर केही नभए पनि विश्वभरमा पाँचसात वटा त कसो नबिक्ला भनेका थिए रे । कलपूर्जाका आकारहरु नघटेका भए र आजसम्म पनि त्यही अवस्थामा कम्प्युटर रहेको भए न त त्यो सर्वसुलभ हुन सक्थ्यो, न विकसित हुन सक्थ्यो । यही कुरा प्रविधि र विकासका अरु कुराहरुमा पनि लागू हुन्छन् ।

अब मान्छेको शरीरभित्र सूक्ष्मतम आकारका क्यामराहरु छिराएर त्यहाँ भित्रका रोगव्याध पत्ता लगाउन सकिने भयो । विकसित देशका वैज्ञानिकहरु अब लामखुट्टेको जस्तै रुपरंग र आकारको जासूसी यन्त्र बनाएर अरुका बारे खोतलखातल गर्न सक्ने भए । अनुसन्धान, अपराध नियन्त्रण जस्ता कुराहरु पनि पहिले हेरि निकै सहज हुन थाले । मानिस अब हरेक कुरामा सानोको खोजीमा लाग्न थाल्यो, सानैमा अभ्यस्त हुन थाल्यो ।

तर सबै कुरा सानो बनाउने क्रममा मान्छेको भौतिक जीवनलाई सहज र सरल बनाउने यो लागेको बानीले हाम्रो अरु सानो बनाउन नहुने कुराहरु पनि सानो बनाउँदै लगेको पनि छ । आजकल हाम्रो मन, चित्त, सहनशीलता, समवेदना र सद्भाव पनि त्यसरी नै सानो हुन थालेको छ । प्रविधिमा आएको सूक्ष्मताले फाइदा बढी गरे जस्तो मनमा आएको सूक्ष्मताले चाहिँ हानि बढी गरिरहेको छ मानिसलाई । कुनै बेला सुनिने, बोलिने र प्रचुर मात्रामा प्रयोग गरिने एउटा उक्ति ‘वसुधैवः कुटुम्वकं’ को आजको विश्वमा कति औचित्य बाँकी रहेको छ भनेर सोच्नुपर्ने बेला भएको छ । यसै भावलाई तथाकथित उत्तरआधुनिक रुप दिने हो भने गर्न त आजका मान्छेहरुले पनि ग्लोवल सिटिजन भन्ने शव्दको खूबै प्रयोग गर्ने गरेको पाइन्छ ।

संचार र प्रविधिका कारण विश्व खुम्चेर कोठामा अटाएको छ र त्यसले गर्दा संसारका सबै कुनाका मानिसहरुको भोगाई, सोचाई र विश्लेषणमा समानता आइरहेको छ भन्ने तर्क गर्नेहरु आफूलाई ग्लोवल सिटिजन भन्न रुचाउँछन् । तर व्यावहारिक रुपमा एउटा मुलुकको मान्छे अर्को मुलुकमा बिना भिसा जान पाउँदैन, अझ अमेरिकी तथा यूरोपेली मुलुकमा त चोर केरिएको जस्तो केरिनुपर्छ कम विकसित देशका मानिसहरुले भने यो मन भुलाउने रमाइलो शव्द बाहेक अरु केही हुन सक्दैन ।

मन साँच्चै नै सानो हुँदै गएको छ, माइक्रोचिप्स जस्तै । मन खिइँदै गए पछि सद्भाव पनि खिइन्छ । अनि तेरो र मेरो भन्ने भावना पनि बलियो हुन थाल्छ । त्यसैले त महादेश र देशका नाममा मात्र नभै एकै देशका मानिसहरु पनि आफूलाई जातपात, वर्ग समुदाय, संस्कृतिका नाममा टुक्राएर आफूलाई झन् झन् सानो बनाउन थालेका छन् । एकतामै छ सर्वशक्ति भन्ने कुरा मन सानो बन्दै गएपछि मान्छेले बिर्सन्छ । एउटा मानिस र अर्को मानिसलाई जोड्नका लागि मानिस हुनु एउटै कारण पर्याप्त हुन्छ । तर तिनैलाई अलग्याउनका लागि भने एक हजार कारणहरु सजिलै फेला पार्न सकिन्छ । यो कुराको ज्वलन्त उदाहरण त हामीले अहिले भोगेको र बाँचेको समय नै हो ।

हामीले के बुझ्नु परेको छ भने, मानिसहरुमाथि शासन गर्ने चाहना भएका अरु मानिसहरुले संसारमा प्रयोग गरेको सबैभन्दा पुरानो र अचुक अश्त्र हो, डिभाइड एण्ड रुल, अर्थात फुटाऊ र राज गर । हरेक कालखण्डमा कहिले धर्मको नाममा, कहिले जातको नाममा, कहिले वर्ग र समुदायको नाममा यो अश्त्र प्रयोग भएको छ । अहिले पनि शक्तिका उन्माद चढेकाहरु र खोजीमा लागेकाहरु त्यही नै गरिरहेका छन् ।

हामी सबै मानिस हुनु नै हाम्रो पहिचान हो । मानिसमानिसको बीचमा फरक खोज्ने काम हामीले किन गर्नु पर्छ र ? हामी सबै नेपाली मात्र हौं र त्यो भन्दा बढी सोचेर आफूलाई टुक्राउने काम गर्ने हो भने त्यसले हामीलाई नै कमजोर बनाउँछ अनि हामीलाई फुटाएर राज गर्ने जूकाहरुलाई मात्र मोटो बनाउँछ भन्ने साधारण कुरा हामीले सोच्न किन सक्दैनौं ?

प्रविधिले जे सुकैको आकार घटाओस्, हामी आफ्नो छातिको आकार नघटाऔं, मनको आकार नघटाऔं । नानो भनिने सानो बनाउने क्रमले आफ्नो भावनालाई छोप्न नदिऔं । सुन्दा मात्र पनि नानो उपकरण जति राम्रो सुनिन्छ, त्यति नै नराम्रो सुनिन्छ नानो मन ।

Sunday, May 6, 2012

हाँसको छोयला

बायाँ फन्को ८३

बरु पुरानो लुगा लगाऊ तर नयाँ पुस्तक किन्ने गर ।

हुन त यो उक्ति असाध्यै धेरै पटक धेरै जनाले सापटी लिएर धेरै ठाउँमा प्रयोग गरिसकेका छन्, तरै पनि यहाँ एकपटक फेरि त्यसलाई दोहो¥याउनै पर्ने भएकोले उल्लेख गरिएको हो । हुने बेलामा यो भनाइ १९औं शताव्दिका अमेरिकी लेखक तथा शिक्षाविद् अस्टिन फेल्प्सको हो । तर उनको यो चर्चित उक्तिलाई मानिसहरुले बेलाबेला जर्ज बर्नाड शको नाममा प्रयोग गर्ने गरेका छन् । केही मानिसहरुको एउटा सजिलो तरीका हुन्छ, साहित्यसंग सम्बन्धित कुनै उक्ति उल्लेख गनुृपर्दा कसको भनेर सम्झन सकेन भने शेक्सपियर वा बर्नड शको नाम उल्लेख गर्दिहाल्ने । विज्ञानको कुरोमा अल्वर्ट आइन्सटाइन, मनोविज्ञानका लागि फ्रायड, दर्शनको कुरोमा नित्से, भविष्यवाणीमा नस्त्रादामस र समाजशास्त्रको सन्दर्भमा माक्र्सको नाममा पनि यस्ता प्रयोगहरु हुने गर्दछन् । चर्चित भनाइहरुका सन्दर्भमा मात्र हैन, आफ्नै कुरालाई पनि बढी प्रभावकारी बनाउनका लागि यी नामहरुको प्रयोग (अथवा दुरुपयोग) गर्नेहरुको यस संसारमा कमी छैन । यी यस्ता नामहरु हुन् जसको काँधमा अडाएर मानिसहरु जुनसुकै बेला पनि आफ्नो विद्वताको बन्दूक पड्काउने गर्छन् ।

गाँठी कुरो यहाँ त्यो होइन । सन्दर्भ पुस्तकको हो । हाम्रो पुस्तक किन्ने वा पढ्ने संस्कारको हो । दुःखको कुरा के भने त्यो संस्कारको हामीकहाँ प्रादुर्भाव नै हुन बाँकी छ, विकासको कुरा त परै जाओस् । सापटी मागेर पढ्ने प्रथा अलिअलि भए पनि किनेर पढ्ने भन्ने चाहिँ लौ त भनौं भने नगण्य बराबर नै छ । त्यस्ता किन्नेहरुको अल्पसंख्यक मानिसहरुको प्राथमिकतामा पनि अझ नेपाली पुस्तकहरु त झनै कम पर्ने गर्छन् । नेपाली पुस्तक किन्नेहरुमा पनि एउटा रमाइलो गुटवन्दी छ । एकथरि गुटकाहरुले अर्को गुटका लेखकहरुका कृतिहरु पढ्दैनन् । अधिकांश अवस्थामा आफ्नो समूहका लेखकहरुको आफ्नै समूहमा वाहवाह गर्छन् र आफैआफै रमाउँछन् । कुनैकुनै अति नै चर्चित भएको अवस्थामा मात्र अरु समूहको पुस्तक किनेर, मागेर वा कुरेर पढ्ने प्रवृत्ति हामी माझमा छ । स्वीकार गर्नु नगर्नु आफ्नो ठाममा छ तर यो हाम्रो प्रवुद्ध वर्गहरुको संस्कार हो । घरमा हरेक दिन आउने पत्रपत्रिकाहरु पनि हदभन्दा हद भए दुइचारवटा हेडलाइनमा मात्र आँखा कुदाएर पन्छाइदिने थुप्रै मानिसहरु हाम्रै माझ छन् । आफूलाई लेखक, समालोचक र अध्ययनशील भनेर दावी गर्ने एक जना धुरन्धर र मूर्धन्य व्यक्तित्वले मलाई बायाँ फन्को लेख्न थालेको नै पनि दोश्रो वर्ष भैसकेपछि अचम्म पर्दै भनेका थिए, “ओहो, तपाईं पनि लेख्नुहुँदो रहेछ हगि ?”

केही समय अघि एक जना मित्रसंग मैले शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याज सापटी लिएको थिएँ । अहिले फर्काउने बेला घरभरि धुइंधुइंती खोज्दा पनि त्यो पाइएन । विचार ठूलो भए पनि आकार सानो भएको र थोरै पृष्ठहरु भएको त्यो पुस्तक कुन कुनामा लुकेर बसेको हो भन्ने थाहा भएन । मित्रलाई नयाँ पुस्तक किनेर फर्काउँछु भनेर म त्यसको खोजीमा हिंडे । प्रदर्शनी मार्ग अवस्थित साझाको विक्री कक्षसम्म पुगेपछि अरु पनि केही किनांैला भन्ने विचार थियो । त्यही मौकामा जमलतिर गएर अरविन्द अडिगाको नयाँ पुस्तक लास्ट म्यान इन टावर पनि किन्नुपर्ला भन्ने मनाशय बनाएर म निस्केको थिएँ । उनले आफ्नो पहिलो पुस्तक ह्वाइट टाइगरका लागि बुकर्स पुरस्कार जितेका थिए र मलाई उनको लेखनशैली मन परेको थियो ।

दुःखको कुरो, मैले साझाको विक्री भण्डारमा लामिछानेको पुस्तक पाइनं । उनीहरुका लागि अलि बढी एब्स्ट्रयाक्ट भएको हुनाले हो कि, भृकुटीमण्डपका कतिपय पुस्तक पसलेहरुले त त्यसको नाम पनि सुनेका थिएनन् । अन्ततोगत्वा भोटाहिटीको कुनै पसलमा मैले अरु मोटा पुस्तकहरुका बीचमा च्यापिएर निस्सासिरहेका शंकर लामिछानेलाई भेटें । जम्मा पैंतीस रुपैंयामा उपलव्ध रहेछ उनको त्यो कृति । त्यही बेलामा मैले अरु केही वरिष्ठ साहित्यकारहरुका त्यस्तै बहुचर्चित र कालजयी पुस्तकहरु किनें । ती सबै पैंतीस रुपयाँदेखि नब्बेका हाराहारीमा उपलव्ध भए । थोरै पैसामा धेरै पुस्तकहरु किन्न पाउँदा एकातिर खुसी नलागेको त हैन, तर हाम्रा आफ्ना साहित्यकारका कृतिहरु त्यति सस्तोमा उपलव्ध भएकोमा एक प्रकारले मन खिन्न पनि भयो । पैंतीस रुप्याँमा त वेदप्रकाश शर्मा, जेम्स हेडली चेज र सुरेन्द्रमोहन पाठकजन्य लेखकका (यदि ती लेखक हुन् भने) बगम्फुसे उपन्यास पनि पाइँदैनन् । अलि गतिला र नाम चलेका विदेशी लेखकका पुस्तक किन्नेहरुले त त्यो भन्दा निकै नै महँगोमा किन्छन् । तर नेपाली पुस्तकहरु भने त्यति सुलभ दरमा उपलव्ध हुँदा पनि किन कम किन्छौं ?

अहिले नेपाली पुस्तकका पाठकहरु बढेको अवस्थामा पनि पाँच वा दश हजार बिक्ने पुस्तक सर्वाधिक विक्री हुनेमा गनिन्छन् भने हामीले एकपटक गम्भीर भएर सोच्नुपर्छ । महँगो भनिएका नेपाली पुस्तकहरु पनि साधारणतया दुइ देखि चार सयका दरमा उपलव्ध हुन्छन् । तै पनि छातीमा हात राखेर सोचौं त हामी आफ्नो आवश्यक अनावश्यक खर्चको बजेटमा पुस्तकका लागि कति छुट्याउँछौं ? कुनै एक मित्रले धोबीचौरमा क्या गज्जवको हाँसको छोयला पाइँदो रहेछ भन्यो भने कहिले गएर त्यो चपाऊँ भन्ने हुटहुटी चल्न थाल्छ । त्यहाँ पुगेर दुइ सय रुप्याँ प्लेट पर्ने अतिप्रचारित त्यो छ्वेला नचप्काउन्जेल त्यो हुटहुटी शान्त हुँदैन । तर कसैले आफूले हालसालै पढेको कुनै पुस्तक साह्रै राम्रो रहेछ भन्यो भने त्यस्तो हुटहुटी किन हुँदैन ? हामी साहित्य र पुस्तकमा रुचि राख्ने रहेछौं भने त्यो मान्छेले त्यो पुस्तक कहिले पढिसक्छ र आफूलाई दिन्छ भनेर सम्म हामी साहित्य प्रति सदाशयता देखाउँछौं । कुनै लोकार्पणमा गएको बेला करबलले कुनै पुस्तक किन्नु पर्दा पनि साथीभाइसंग खाजा खाने जति पैसा खर्च भयो भने करंगको हाडसम्म चसक्क किन घोच्छ हामीलाई ? मानौं नेपाली साहित्य र पुस्तकहरु पढिदिएर हामी लेखक साहित्यकारहरुमाथि कुनै कृपा गरिदिन्छौं ।

मथिंगलमा यिनै कुराहरु खेलाउँदै म जमलको पुस्तक पसलमा पुगेको थिएँ । अरविन्द अडिगाको पुस्तकको मोल नेपाली एघार सय पर्दो रहेछ । मैले मनमनै सोचें,
“यत्रै सित्ती, यति महँगोमा म यो पुस्तक किन्दिनं । यो नपढेर म अज्ञानी हुन्छु भने, त्यही नै सही ।”

Wednesday, May 2, 2012

हिजोको मोती, आजको माटो

समयले कसरी कोल्टो फेर्छ भन्ने कुरा पनि अचम्मको छ । उत्थान र पतनको कुनै सीमा हुन्न । शक्ति र प्रभाव भन्ने कुरो पनि कहिले कसको त कहिले कसको । अनि जसको शक्ति, त्यसैको भक्ति । शक्तिशाली हुन्जेल त्यसैको हाइहाइ, जुनदिन त्यो भएन, त्यसदिनदेखि केही न केही । बडो निष्ठूरी छ यो संसार र त्यस्तै छौं यसमा बस्ने हामी मान्छेहरू । हिजो जे मोती, आज त्यही माटो अनि भोलि त्यही कौडी । यो क्रम निरन्तर, संधै यस्तै । कुनै बेला 'राष्ट्रपिता' भनिन्थे राजा त्रिभुवन ।  त्रिपुरेश्वरमा हामीले जन्मे हुर्के बेलादेखि गर्वसाथ ठाडो बसेको यो सालिक अहिले पनि त्यस्तै ठाडो, तर आज तिनकै सालिकको यो हविगत । सालिक चाहिन्न भने हटाऊ, राख्ने भए मर्मत गरेर राख । यसरी क्षतविक्षत बनाएर राख्नुको के औचित्य ? हेर्नुस् त कति बिभत्स देखिन्छ त्यो सालिक?