Translate

Sunday, March 31, 2013

काकरभित्तामा तीन दिन

बायाँ फन्को १०४ 

अघिल्लो हप्ता एउटा उपलव्धिमूलक समयको रुपमा व्यतीत भयो । त्यसका लागि रिडर्स झापाका केही उत्साही युवाहरुलाई धन्यवाद नदिइ रहन सक्दिनं । उनीहरुले काकरभित्तामा एउटा गज्जवको साहित्यिक महोत्सवको आयोजना गरेर देखाइदिए । कला साहित्य उत्सव नाम दिइएको तीन दिने उक्त महोत्सवमा सहभागी हुनु आफैमा एउटा रोचक अनुभव हुन पुग्यो । काठमाण्डौ जस्तो सबै सुविधा भएको सहरमा पनि मानिसहरुले पचासपटक रोच्नु पर्ने यति वृहत कार्यक्रम पूर्वको त्यो कुनामा गर्नका लागि लरतरो आँटले पुग्ने कुरा होइन । 

अघिल्लो वर्ष काठमाण्डौमा पनि दुइवटा साहित्यिक महोत्सव भएका थिए । ती मध्ये एउटाले यस वर्ष पनि निरनतरता पायो भने अर्को ऐन मौकामा आएर स्थगित हुन पुग्यो । यस किसिमका महोत्सवहरु आयोजना गर्नु फलामको च्यूरा चपाए भन्दा कम हुँदैन भन्ने कुरा त्यसैले नै पनि प्रमाणित गर्छ । यस्तो अवस्थामा काठमाण्डौ भन्दा त्यति पर हुन लागेको कला साहित्य उत्सवका बारेमा केही मानिसहरुलाई सुरुमा अन्योल हुनु अस्वाभाविक मान्न सकिंदैन । आयोजकहरुकै भनाइमा पनि सुरुसुरुमा स्थानीय तवरमा नै पनि उत्सव भनेको कविगोष्ठी मात्र हैन भनेर बुझाउनका लागि निकै कसरत गर्नु परेको थियो रे ।

मेचीपारीका श्रष्टाहरु र काठमाण्डौ लगायत देशका अन्य स्थानका साहित्यकर्मीलाई भेला गरेर तीन दिनसम्म उत्सवलाई सम्पन्न गर्नुलाई रिडर्स झापाको सफलता मान्नुपर्छ । अहिलेको अवस्थामा नेपाली साहित्य प्रति मानिसहरुको बढ्दो रुचिलाई सकारात्मक रुपमा लिनुपर्छ । सायदै यस अघि नेपाली साहित्य क्षेत्रमा यस किसिमको चहलपहल देखिएको होला । पढ्ने संस्कारको जुन उत्साहजनक वृद्धि अहिले देखिएको छ, त्यस अवस्थामा साहित्यिक महोत्सवहरुले त्यसलाई मलजल गर्न अवश्य पनि सहयोग गरिरहेका हुन्छन् । काकरभित्ताको महोत्सव एउटा सुखद अनुभव रह्यो । किनभने यहाँबाट जानु अघि सोचेको भन्दा निकै नै बढी भव्य आयोजनाको अनुभव गर्न पाइयो । एक दुइवटा झीनामसीना कमजोरी नदेखिएका हैनन् तर समग्र रुपमा हेर्दा तिनले कुनै असर गरेनन् भन्ने मलाई लाग्छ । 

सत्रका सहजकर्ताहरुले तोकिएको समय सीमा भित्र वक्ताहरुलाई समेट्न नसक्दा त्यसपछिका कार्यक्रमहरु प्रभावित हुन पुगेका थिए । त्यो कुरालाई आयोजकहरुले अर्को पटक अवश्य पनि ध्यानमा राख्नेछन् । हुन त यहाँ सहजकर्ताहरुको मात्र नभै वक्ताहरुको पनि त्यति नै हात हुन्छ । माइक हातमा परेपछि र श्रोताको विशाल समूह अगाडि पाएपछि धेरै बोल्न खोज्नु मानवीय त्रुटि नै हो । धेरै कम मात्र यस्ता अवसरहरु पाइने भएकाले पनि वक्ताहरुलाई सके जति कुराहरु पोख्न मन लाग्नु स्वाभाविक हो । तर वक्ताहरुले पनि ध्यानमा राख्नु पर्ने साधारण कुरा के हो भने, अभिव्यक्ति भनेको शव्दका पखाला र विचारको कव्जियत हुनु हुँदैन । कतिपय वक्ताहरुले समय सकिइसकेपछि पनि अरुलाई सोधिएका प्रश्नमा आफूले जवर्जस्ती उत्तर समेत दिने गरेका थिए । अनि यस्ता सत्रमा श्रोताहरुले पनि विचार पु¥याउनु पर्ने अर्को कुरा ठड्कारो देखिन्छ । 

वहस सकिएपछि श्रोतादीर्घामा प्रश्नहरुका लागि माइक दिने गरिन्छ । यस्तो बेलामा अधिकांश श्रोताहरुले जिज्ञासा भन्दा बढी आफ्नो भनाइ र भूमिकामा समय खर्चेको देखिन्छ । यो काकरभित्तामा मात्र हैन, काठमाण्डौंका धेरै कार्यक्रमहरुमा पनि मैले देखेको कुरा हो । कहिलेकहीं त निकै लामो समय श्रोताले बोलिसकेपछि पनि प्रश्न चैं के हो भन्ने कुरा नै थाहा हुँदैन । वक्ता, सहजकर्ता र श्रोताहरु सबैले यी कुराहरुमा ध्यान दिए भने यस्ता कार्यक्रमहरु अझ बढी सार्थक र सबैका लागि उपादेयतापूर्ण हुन्छन् भन्ने कुरामा संका छैन । 

झापालाई राजनैतिक र साहित्यिक चेतका लागि अग्रणी मानिन्छ । त्यो कुरा धेरै हदसम्म सत्य हो भन्ने कुरा मलाई यसपटक व्यक्तिगत रुपमा पनि मान्न करै लाग्यो । बायाँ फन्को स्तम्भका पनि मैले कल्पनै नगरेका उमेर समूहका नियमित पाठकहरु भेट्नु सुखद अनुभव रहेको थियो । उमेरले भर्खर बीस नाघेका त्यस्तै एक युवाले मलाई रन्थनाइदिएका थिए । उनको प्रश्न थियो, “तपाईंको स्तम्भको नाम बायाँ फन्को, तर तपाईको त्यसमा छापिने तसवीर चाहिँ किन दायाँ पट्टि फन्केको छ ?” राजधानीका पाठकहरु सायद त्यति धेरै प्रतिकृया दिने गर्दैनन् । तर झापाका पाठकहरु त्यसको दाँजोमा बढी ‘इन्टरएक्टिभ’ भएका मैले अनुभव गरें । 

झापाको यो भ्रमण अरु रुपमा पनि लाभदायी भयो । काठमाण्डौबाट संगै गएका समकालीन मित्रहरु लगायत आफूभन्दा अग्रज श्रष्टाहरुसंग दिनरात उठबस गर्न पाउनु पनि रोचक अनुभव थियो । औपचारिक कार्यक्रम पाँच बजे सकिएपछि सुरु हुने अनौपचारिक कार्यक्रमहरु कहिलेकहीं त भोलिपल्ट बिहानको तीन बजेसम्म पनि चल्थे । ती कार्यक्रम रोचक हुन्थे, मनोरञ्जक हुन्थे । कसैकसैलाई हेरेर के गर्नुपर्छ भन्ने सिकियो भने कसैकसैले के गर्नु हुन्न भन्ने ज्ञान पनि दिए । त्यही अनौपचारिक सत्रहरुमा अरु मानिसहरु कस्ता हुन् भन्ने मेले चिन्ने मौका पाएँ र म कस्तो भनेर शायद उहाँहरुले चिन्न पाउनुभयो होला । यो पनि यस्ता कायक्रमहरुका एउटा विशेषता हुनुपर्छ भन्ने मलाई लाग्यो । 

मोफसलका श्रष्टाहरुसंगको भेटघाट अर्को महत्वपूर्ण पक्ष थियो । वास्तवमै काठमाण्डौमा बस्नेहरुको भन्दा उहाँहरुको साहित्यिक यात्रा दुष्कर छ । तर पनि उत्साहमा कमी आउन नदिएर उहाँहरु निरन्तर लागिरहनु भएको छ । त्यसका लागि उहाँहरुलाई सलाम ठोक्नैपर्छ । प्रेमपूर्वक उहाँहरुले प्रदान गर्नुभएका कृतिहरु बहुमुल्य थिए । विशेष गरेर म गण्डकीपुत्रका कविताहरुले मोहित भएँ । 

कला साहित्य उत्सव जस्ता कार्यक्रमहरु देशका अन्य भागहरुमा पनि आयोजना होउन् । यस किसिमका भव्य गतिविधिहरुका लागि राजधानीको मात्रै मुख ताक्नु पर्दैन भन्ने कुरा देखाइ दिएकोमा रिडर्स झापालाई आभार व्यक्त गर्न कञ्जुस्याइँ गर्नु पर्दैन । 

Sunday, March 24, 2013

यायावरको यात्रा


मेरो उपन्यास यायावरको एक अपरिचित पाठक नरेन्द्र पराशरको समीक्षा

मुग्लिङदेखि नौबिसेबीचको कुनै स्थानमा रहेको प्रहरी कार्यालयको इन्स्पेक्टर प्रताप उपन्यास यायावरको पहिलो पात्र हो । पहिलो पात्रको पहिलो वाक्य नै अपशब्दसहित उपन्यास अगाडि बढ्छ । राजमार्गमा बेफिक्री गुडिरहेका अनेक प्रकारका गाडीहरू, तिनको हर्न र इन्जिनको कर्कश आवाजले प्रताडित भइरहने प्रतापले राति कार्यालय परिसर छेउछाउ भयानक आवाज सुन्छ र बस खसेको ठहर गर्छ । अनि ऊ उद्धारका लागि आफ्ना मातहतका जवानहरू लिएर पिचमा टायर घस्रिएको संकेत हेर्दै त्रिशूली नदीतिर लाग्छ । अँध्यारोमा छामछुम गर्दै निकै दुःख गरेर वीभत्सरूपले बस पल्टिएको ठाउँसम्म पुग्ने क्रममा उसले एउटा झोला भेटाउँछ र यसो खोलेर हेर्छ । त्यसमा नोटका बिटा दखेर ऊ त्यस झोलालाई राम्ररी काँधमा भिर्छ र जवानहरूलाई राम्ररी खट्ने आदेश गरेर स्वयं ऊ भने निवासतिर उकालो लाग्छ । उसले निकै सजग र सतर्क भएर उक्त झोला खोल्छ । त्यसमा वैकुण्ठ नामको नागरिकता, तीन लाख रूपैयाँका अतिरिक्त एउटा पेन ड्राइभ पनि फेला पर्छ । कम्प्युटरमा खासै ज्ञान नभएको प्रताप स.इ राजारामको सहयोगले पेन ड्राइभ खोल्छ । जम्मा जम्मी दुईवटा फोल्डर भएको पेन ड्राइभमा एउटामा बच्चुकैलाशका गीतहरूको सङ्कलन हुन्छ भने अर्कोमा ‘गोप्य’ लेखिएको हुन्छ । यही ‘गोप्य’ लेखिएको फायल फन्टको समस्याका कारण आफैँ खोल्न नसकेकोले प्रतापले फायल खोल्न स.इ. राजारामको सहयोग लिन पुगेको हुन्छ । अब प्रताप त्यही गोप्य फायल गोप्य तरिकाले पढ्न थाल्छ र सुरू हुन्छ उपन्यास यायावरको मूल यात्रा ।

Sunday, March 17, 2013

चेतन भगत र चोरिएको आइप्याड

बायाँ फन्को १०३

जीमेलको स्प्याम अक्सर हेर्दैनहेरी एकमुष्ट उडाइदिने मेरो बानी छ । फेब्रुअरी २०१३ को दोश्रो साता खै किन हो फोल्डर खोलेर सबै स्प्यामहरु सर्र हेर्दै थिएँ, एप्पलबाट ६ महीना अघि आएको एउटा मेलमा आँखा देखेें । कसैले मेरो एप्पल आइडी प्रयोग गरेर चेतन भगतको किताब डाउनलोड गर्न खोजेको थियो । म रोमाञ्चित भएँ । 

नौ महीना अगाडि मेरो आइप्याड घरैबाट चोरी भएको थियो । कसले चोरेको भन्ने थाहा त थियो तर बिना कुनै ठोस प्रमाण कसैलाई चोर दोष लगाउन नमिल्ने हुनाले र आर्थिक अवस्था कमजोर भएका कारण दुःखजिलो गरेर आफ्ना सानासाना सन्तानको लालनपालन गर्ने ती मानिसलाई पुलीस केस गर्न मनले मानेन । हराएको आइप्याडको स्थान देखाउने सेटिंग मिलाउन भ्याइएको थिएन । आइइएमइ नम्बरबाट कतै इण्टरनेट चल्छ कि भनेर केही दिनसम्म त अवलोकन गरियो । तर त्यसको केही सुराक नपाइएपछि आश मारिसकेको थिएँ । तर एप्पलको इमेलले आशा जगायो ।

प्रहरीको सहयोगमा पुनः आइइएमइ अनुगमन गर्दा एउटा नम्बरको सिम कार्डबाट नेट चलिरहेको थाहा भयो । त्यो नम्बरमा फोन गर्दा त्यो अफ मात्र हुन्थ्यो । सिम लिंदा बुझाएको नागरिकताका अनुसार काठमाण्डौ बाहिर स्थायी ठेगाना र अस्थायी ठेगाना ललितपुरको कुनै गाविस उल्लेख थियो । कल विवरण निकाल्दा त झनै निराशा हात लाग्यो । किन भने २०१० मा क वहादुर भन्ने मानिसले (तिनको गोप्यताका लागि नाम नलेखौं होला) लिएको त्यो नम्बरमा ३ वर्षसम्म न कुनै फोन आएकोथ्यो, न गरिएको थियो । तै पनि त्यो नम्बरमा क वहादुरका लागि कुरयिर आएको हुनाले कहाँ पु¥याउने हो भन्ने व्यहोराको एउटा एसएमएस पठाइयो । सम्भावना त कमै थियो तर उसले कुनै बेला त्यो नम्बर अन गरेको खण्डमा सन्देश देखेर कौतुहलतावश फोन गरि पो हाल्छ कि ? तर दुई दिनसम्म त्यसको पनि जवाफ आएन । त्यो मान्छेको नाममा अर्को मोबाइल कम्पनीमा कुनै फोन छ कि भनेर रेकर्ड हेर्दा त्यही नामथरका ३–४ सय मानिस भेटिए । तर नागरिकता र ठेगाना मिल्दो कुनै पनि रहेनछ । 

एकपटक त्यो अस्थायी ठेगाना उल्लेख भएको गाविस तिर रेकी गर्न जानु पर्ला भन्ने बिचार आयो । त्यो अति नै दुर्गम भन्न मिल्ने झण्डै काठमाण्डौको उपत्यकाको अन्त्य तिरको गाविस रहेछ । पहाडैपहाड, अनकण्टार त्यो गाविसका केही घर कुनै डाँडामा, केही घर खोल्सामा छरिएका थिए । उकालो चढें, ओरालो झरें, झोलुंगे पुल तरें, चिया पसल र अलि चल्तीका जस्ता देखिने किराना पसलहरुमा सोधखोज गरें, तर कसैले पनि क वहादुरलाई चिनेका थिएनन् । सेतो रंगको आइप्याड बोकेर हिंड्छ भनेर भन्दा पनि सुराक भेटिएन । अब लाग्यो, त्यो मान्छेले अस्थायी ठेगाना नै गलत लेखाएको हुन सक्छ । नजीकै पुगेर हराउने मृगमरिचिकाको छाँट देखियो आइप्याडको ।

पछिल्लो केही महीनादेखि पटकपटक ललितपुरकै कुनै अर्को स्थानबाट नेट चलेको देखिन्थ्यो । एउटा अर्को नम्बरबाट पनि आइप्याडमा नेट चलेको पत्ता लाग्यो । ख कुमार नामक अर्को मान्छेको त्यो नम्बर पनि ललितपुरकै तेश्रो स्थानमा थियो । अचानक शुक्रवार राति क वहादुरले केही अरु नम्बरहरुमा फोन गरेको देखियो । ती मध्ये एउटा ख कुमारको थियो जसबाट पनि आइप्याड चलेको थियो । उसले फोन गरेको अर्को ग प्रसादको नम्बर पनि त्यही ठाउँको देखियो जहाँबाट ख कुमारले आइप्याड चलाएको थियो । 

एकजना परिचित इन्सपेक्टर मित्रलाई गुहारेपछि उनले ग प्रसादलाई फोन गरेर एउटा जानकारीका लगि सहयोग गर्नु प¥यो भने । ग प्रसादले त्यही ठाउँमा रहेछ, जुन हामीलाई पहिले नै थाहा थियो । त्यहाँको बसस्टपमा भेट्ने कुरा भएर हामी जाँदा ग प्रसाद एउटा २५–२६ वर्षको केटा भेटियो । हामीले उसलाई दुइ दिन अघि बेलुका फोन गर्ने क वहादुर को हो र कहाँ भेटिन्छ भनेर सोध्यौं । उसले क वहादुर भन्ने कोही मान्छे नचिनेको तर त्यो नम्बरबाट आफूलाई फलानोदाइले फोन गरेको बतायो । 

फलानो दाइको काठमाण्डौको कुनै एक स्थानमा मोबाइल विक्री तथा मर्मत गर्ने पसलमा ग प्रसाद काम गर्दो रहेछ । फलानो दाइलाई फोन गर्दा उसले क वहादुरका बारे थाहा नभएको र कुनै ग्राहकले बनाउन ल्याएर छोडेको फोनमा त्यो सिम थियो भन्ने बतायो । आफू परिवारसंग काठमाण्डौ भन्दा अलि परै भएको हुनाले भोलिपल्ट दशै बजे पसलमा आउनू भन्दै आफ्नो पसलको ठेगाना पनि दियो । 

मलाई कसैलाई मुद्दामामिलामा फसाउनु र लम्ब्याउनु भन्दा पनि मेहेनतको पैसाले किनिएको सामान फिर्ता लिनुमा बढी रुचि थियो । किन भने लहरो तान्दै जाँदा पहरो कहाँ गजिन्र्छ भन्ने कुरा थाहा थियो । तर मैले अघि नै भनें नि, आर्थिक अवस्था राम्रो नभएर दुःखजिलो गरेरसानासाना सन्तानको लालनपालन गर्ने मानिसलाई पुलीसको चक्करमा फसाउने म थिएन । हुन त त्यसो भन्दैमा कसैले चोरी गर्नुलाई सहज मान्न पनि मिल्दैन । त्यो मानिसलाई आइन्दा अरुको घरमा त्यसो नगर्नू, अपराध लुक्दैन सबै मानिसले मैले जस्तै सदाशयता नदेखाउन सक्छन् भनेर चेतावनी मात्र दिने मेरो मनाशय थियो । त्यसपछि त्यो मान्छे डरैले पनि अन्त चोरीचकारी गर्दैन होला ।

भोलिपल्ट फलानो दाइलाई प्रहरीले आफ्नो कार्यालयमा बोलायो । साधारण सोधपूछमा नै उसले आइप्याड आफूले चलाइरहेको कुरा स्वीकार ग¥यो । उसका अनुसार विश्वासको मान्छेले आफ्नो भाइ भनेर ल्याएको एउटा मान्छेले बेलायतबाट आउँदा ल्याएको तर आफूलाई काम नलागेको भनेर सस्तोमा दिने भएर उसले त्यो किनेको रहेछ । प्रहरीको आदेशमा फलानो दाइले गएर दस मिनेटमा आइप्याड लिएर आयो । मेरो आइप्याडको आइइएमआइ नम्बर, सिरियल नम्बर र हंगकंगमा किनेको पसलको बिलका आधारमा नौ महीना पहिले चोरिएर यायावर बनेको ग्याजेट मैले पुनः फिर्ता पाएँ । चेतन भगतलाई पनि धन्यवाद ।

यसबाट सबैले सिक्नै पर्ने पाठ के हो भने आजको प्रविधिको संसारमा चोरीका ग्याजेट वा अरु सामान लुक्न सक्दैन । ढीलाचाँडो फेला पर्छपर्छ । त्यसैले विश्वासकै मान्छेले ल्याए पनि बिना कागजपत्रको सामान किन्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । 

सबैलाई चेतना भया ।

मैले किन मु* भनिनं ?


ट्विटरमा एकजना मित्रको प्रश्न छ मलाई, मैले आफ्नो उपन्यासको विमोचनको बेला पाठ गरेको अध्यायमा प्रयोग भएको मुजी भन्ने शव्द किन आफै उच्चारण गरिनं । यसको उत्तर ट्विटरको १४० शव्दको बन्देजभित्र अटाउन नसक्ने हुनाले यहाँ दिने प्रयत्न गरेको छु । त्यो अध्यायमा मुजी यसरी प्रयोग भएको छ,
भैरे ट्याक्सी चलाउन थालेको थियो । एकदिन उसले मलाई भन्यो, “पन्ध्र दिनमा सिकाइदिन्छु तँलाई पनि । अनि हाम्रै साहुको एउटा गाडी चलाउन मिलाइदिन्छु । के भन्छस् ?”
मलाई ड्राइभर बन्ने रहर थिएन । मैले उसलाई भनेँ, “मलाई थाहा छ, मैले कति समय देखि भाडा तिर्न आफ्नो भाग पनि दिन सक्या छैन । म तँमाथि बोझ भएर बस्न चाहन्नँ । म जान्छु ।”
आँखाभरी आँसु गरेर भैरेले भन्यो, “मार्दिन्छु मुजीलाई अनि थाहा पाउँछ । तँ जाँदैमा चाहिँ को आएर मलाई पैसा दिन्छ ? मैले कहिले केही भनेको छु तँलाई ?”
मेरो पनि गह भरियो । मैले सोचेँ, “पैसा त मूर्ति उखेल्ने नि कमाउँछ नि । तर भैरे जस्तो साथी कमाउन गाह्रो हुन्छ ।”
मलाई आफू सम्पन्न भएको जस्ता लाग्यो ।
उक्त प्रसंगमा प्रयोग भएको त्यो शव्दले आत्मीयता देखाउँछ । तर पनि मैले विमोचनमा त्यसलाई उच्चारण गरिनं । किनभने त्यहाँ म भन्दा निकै वरिष्ठ र मैले आदर गर्ने मानिसहरु पनि हुनुहुन्थ्यो । हामी साथीभाइसंग जमघटमा त्यो शव्द सजिलैसंग प्रयोग गरिरहेका हुन्छौं । तर घरमा आफ्ना बाबुआमाको अगाडि जति नै सहज भए पनि त्यो बोल्दैनौं । मैले विमोचनमा त्यही भएर उक्त शव्द नबोलेको हूँ । पात्र र परिस्थितिले माग्छन् भने कुनै पनि शव्दहरु लेख्न हुन्छ भन्ने मेरो मान्यता हो । हामी अंग्रेजी साहित्य र सिनेमामा कुनै पनि शव्दलाई सजिलैसंग पचाउन सक्छौं भने नेपालीमा मात्र त्यो आपत्तिजनक वा छाडा किन लाग्छ हामीलाई ?

Sunday, March 3, 2013

नपाउनुपर्ने कुरा पाउँदा

ऋतु फेरनि लागेको बेलाको रमाइलो अर्कै हुन्छ। अहिले पनि शरद् सकिएर वसन्तको आगमन हुँदै छ। यस्तो बेलामा वातावरण नै उल्लासमय हुन्छ। हावा पनि मीठो हुन्छ। अरू बेला घ्राणशक्तिले ग्रहण गर्न नपाउने एक किसिमको सुगन्धले हरेक मानिसलाई बाबा रामदेवको चेला बन्न मन लाग्ने बनाउँछ। म पनि त्यस दिन बिहान थैव चोकमा त्यही मीठो बास्ना अनुभव गर्दै थिएँ। ललितपुर सातदोबाटोबाट गोदावरी जाने बाटोमा भएको पुरानो बजार हो, थैव। थैव पूर्ण रूपमा पुरानो पनि छैन, पूरै आधुनिक भइसकेको पनि छैन। एउटा अनौठो जीवनशैली र वातावरणको सम्मिश्रण पाइन्छ त्यहाँ। थैव मात्र होइन, काठमाडाँैवरिपरिका पहिलेका गाउँ भनिने अरू पनि धेरै स्थान परविर्तनको यही क्रमबाट हिँडिरहेका छन्। वसन्तको प्रारम्भले मानिसको अनुहारमा उत्साह र चमक ल्याएको देखिन्छ। देशको राजनीतिक भविष्य रसातलतिर तीव्र गतिमा भासिरहेका बेलामा मानिसहरू खुसी हुन अनेकन् बहाना खोजिरहेका छन्। तर, अचेल सबै कुरा मूल्यसूचीका साथ आउँछन्। खुसीको पनि आफ्नै मूल्य छ। चाहेर वा नचाहेर पनि त्यो चुकाउनैपर्छ।