Translate

Sunday, September 28, 2014

ज्ञान र जानकारी

बायाँ फन्को १४१ 

सबै भन्दा बढी विद्वानहरु कहाँ भेटिन्छन् भनेर कसैले प्रश्न ग¥यो भने तपाइँ कहाँ भन्नुहुन्छ ? बौद्धिक जमघट, नयाँ सडकको पिपलबोट, साहित्यिक मेला, पुस्तकको विमोचन, प्राज्ञ सभा वा अन्य कुनै त्यस्तै ठाउँहरुको नाम तपाइँको दिमागमा झिलिक्क चम्किउ होला । अवश्य पनि ती ठाउँहरुमा तपाईहामीले विद्वानहरु भेट्छौं । तर, त्यो भन्दा बढी विद्वानहरु भेटिने अरु ठाउँहरु छन् । सार्वजनिक यातायात, बाटो, चियापसल अरु यस्ता ठाउँहरु हुन् जहाँ हरेक विषयका जानकारहरु भेटिन्छन् । साधारयातया त्यस्ता ठाउँहरुमा एक वा दुइ जना वक्ताहरु हुन्छन् र बाँकी श्रोताहरु । ती श्रोताहरु चमत्कृत भएर ती विद्वान वक्ताहरुका कुराहरु सुनिरहेका हुन्छन् । केही दिन अघि घर छेउको चिया पसलमा त्यस्तै एक ज्ञानी मानिसका कुराहरु सुन्न पाइयो । 

उनी मोदीको सरकार, भारतीय कूटनीति र नेपालको जलश्रोतका विषयमा आफ्नो असीमित ज्ञानको भण्डार खोलिरहेका थिए । अरु चारपाँच जना मन्त्रमुग्ध भएर टाउको हल्लाएर सुनिरहेका थिए । ती विद्वान भन्दै थिए, “एक पटक चीनसंग भारतले पानीको कुरामा जोरी खोज्यो । चीनले आफ्नो देशबाट बगेर भारत तिर जाने गंगा नदीको मुहानै मोडिदियो र आफ्नै देश तिर फर्कायो । आफ्ना मरुभूमिहरुमा त्यो पानी मोडेर हराभरा बनायो । उता भारतमा भने पानीको हाहाकार भएर हराभरा ठाउँहरु पनि मरुभूमिमा परिणत हुन थाले । अन्त्यमा हार खाएर भारतले चीनसंग माफी मागेपछि बल्ल फेरि चीनले गंगाजी उतातिर फर्काइदियो । हाम्रा नेताहरुले पनि बुद्धि जाने गर्नु पर्ने त्यही नै हो बुझ्नुभो ?”

ती विद्वानका श्रोताहरुले होमा हो मिलाए । स्तम्भकारको मगज रन्थनियो । त्यहाँ बसेर एक कप चिया खाउन्जेलमा ती महोदयले आफ्ना श्रोताहरुलाई गाजाको समस्याका बारे, चरीलाई कसले र किन अनि कसरी षडयन्त्र गरेर मा¥यो भन्ने बारे, अल कायदा आगामी दिनहरुमा कुन रुपमा उदाउँछ भन्ने बारे, नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात उनको घरमा श्वेता खड्काको सम्बन्ध र अवस्था बारे, सोभियत संघ टुक्रिनाको खास र अहिलेसम्म विश्वले थाहा नपाएका कारणहरु बारे अनि स्कटल्याण्डको मतदानको परिणाम के हुन्छ भन्ने बारेमा पनि ताजाताजा जानकारी प्रदान गरे ।

यी र यी भन्दा चर्का ज्ञाताहरु पनि हाम्रो समाजमा प्रशस्तै पाइन्छन् । हामी सम्भवतः संसारमै थोरै पाइनेहरु मध्येका प्रजाति हौं जसलाई सबै कुरा थाहा हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको त हामी सबै भन्दा ठूला विज्ञहरु हौं । हामीसंग हरेक कुराका समाधानहरु हुन्छन् । हामी ओबामाका गल्तीहरु र उनले गर्नुपर्ने कुराहरु यति बिश्वासका साथ देखाइदिन सक्छौं, भनेर साध्य नै छैन । भारतमा जनता पार्टीको जीत र काँग्रेसको हारका बारे उनीहरुलाई नै थाहा नभएका कुराहरु हामीलाई थाहा छ । कश्मीरका समस्या हुन् वा पाकिस्तानका आन्तरिक समस्या हामीलाई सोधेको भए ती उहिल्यै समाधान भैसक्थे । मानिसका व्यक्तिगत समस्या र घरका कुराहरु देखि लिएर अन्तरिक्षमा जीवन छ कि छैन, छ भने कसरी खोज्ने भन्नेसम्ममा हामीसंग भएका ज्ञानबाट न हामीले फाइदा लिन सक्यौं, न विश्वले । कत्रो दुर्भाग्य । 

हामी यस्ता विद्वान हौं, कुनै पनि विषयमा कसैलाई पनि सल्लाह दिन सक्छौं हामी । रोगव्याधको कुरामा त झनै हाम्रो अतुलनीय चिकित्सकीय ज्ञान छ । होमियोप्याथी, एलोप्याथी, योग, प्राकृतिक चिकित्सा, झारफूक, एक्यूपंचर लगायतका हरेक पद्धतिका बारे हामी सल्लाह दिन सक्छौं । सानो तिनो रोगको लागि त औषधि नै लेखिदिनसक्छौं हामी । संसारका कुनै पनि अरु मुलुकका मानिसहरुभन्दा हामी बढी ज्ञाता छौं । हामी हरेकलाई सिनेमा, साहित्य, चित्रकला, मूर्तिकला,  वा कुनै पनि सिर्जनात्मक कुराका बारे समीक्षा गर्न आउँछ । हरेक विषयमा जानकारी राख्ने मानिस अरु मुलुकमा विरलै मात्र भेटिन्छन् । 

अहिले त झन प्रविधिले सारा कुराको जानकारी औंलाको टुप्पोमा सीमित बनाइदिएको छ । यस्तो बेलामा पनि हामी विद्वान नभए कहिले हुने त ? तसर्थ हामीलाई हरेक कुराको जानकारी छ । विश्वको इतिहास हामीलाई कण्ठ छ । साम्यवादको विकास र पतनका बारे हामीलाई हरेक मिति कण्ठ छ । हिटलर कहाँ चुके, माओ कहाँ चिप्लिए, विश्वयुद्धहरु किन भए, चन्द्रमामा मान्छे पुगेको हो कि हैन, कन्स्पिरेसि थ्योरीहरु के के हुन्, ट्विनटावर खासमा भत्काउने को हो र त्यो असम्भव कार्य कसरी सम्भव बनाइयो, राजा वीरेन्द्रको वंश वास्तवमा कसले र कसरी नाश गरेको हो भनेर हामी मध्ये कसैलाई पनि सोध्नुस् त, कसैले यो विषयमा मलाई जानकारी छैन भनेको सुन्न पाउनुहुन्न तपाइँ ।

हो हामीलाई जानकारी पाउन आजकल साह्रै सजिलो भएको छ । त्यसैले हाम्रा रुचिहरु पनि त्यसरी नै बिस्तार भएर जानु अस्वाभाविक हैन । तर समस्या के भने तपाई एउटा विषयको बारे पढ्दापढ्दै तपाईको साथीले अर्को विषय भ्याइसक्छ । कतै हूलमूलमा उसले त्यो विषयमा बोलेको सुनेर तपाईलाई आफू पछि परेको भान हुन्छ । सतही जानकारी, एक दुइटा उदाहरण र एक दुइ वटा मिति घोकेर तपाइँ अर्को दुइटा विषयमा उसलाई उछिन्न कम्मर कस्नुहुन्छ । हामी जति धेरै जानकारी बटुल्छौं, त्यति धेरै ज्ञानबाट टाढा हुँदै जान्छौं । अध्ययन नगरौं भन्ने आशय हैन । के र कति भन्ने मात्र कुरा हो । 

किनभने जानकारी बटुल्ने तीब्रताले हामीलाई जानकारी र ज्ञान फरक कुरो हो भन्ने कुरा बुझ्ने फुर्सद पनि दिएको छैन ।

Sunday, September 7, 2014

सन्तानका बेष्ट फ्रेण्ड

बायाँ फन्को १४०

यो स्तम्भ पढिरहनुभएका सबै अभिभावकहरुलाई एउटा प्रश्न, तपाईका छोराछोरीको बेष्ट फ्रेण्ड को हुन् ? तपाईहरु सबैको दिमागमा केही नाम आए होलान् । ती नामहरुमध्ये तपाईंको आफ्नो नाम आयो कि आएन ? आएन भने तपाईंले एकपटक गम्भीर भएर सोच्नु पर्छ ।


परिवर्तनशील निर्विवाद र अकाट्य सत्य हो । नदेखिने गरी, थाहा नपाउने र सुस्त गतिमा सबै कुराहरु परिवर्तन भैरहन्छ । प्रकृति मात्र नभै समाज, राजनीति, मानसकिता, सोच, विचार, प्रविधि लगायत हाम्रा वरिपरिका सबै कुराहरु परिवर्तित भैरहेका हुन्छन् । श्रृष्टिको सुरुवात देखि अन्त्यसम्म चलिरहने परिवर्तनका हरेक क्रमलाई हामीले कतिसम्म आत्मसात गर्न सक्छौं, देख्न सक्छौं वा सक्दैनौं अनि त्यस अनुसार आफूलाई पनि परिवर्तन गर्दै जान सक्छौं कि सक्दैनौं भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । अपल्पनीय रुपमा हुने प्राकृतिक प्रकोप बाहेक अन्य सबै परिवर्तनका निश्चित संकेतहरु हुन्छन्, निश्चित गति हुन्छ । तर, परिवर्तन सँधै सकारात्मक वा राम्रैका लागि हुन्छ भन्ने जरुरी पनि त छैन नि ।