Saturday, May 14, 2016

बाँकी १३५० ग्राम

कान्तिपुर कोसेलीमा प्रकाशित, जेष्ठ १, २०७३ गते

सुन्यौ ?
म फुटपाथको छेउमा फुलाएर घोक्रोको नसा
कराइरहेको छु एकतमास
रस्ते का माल सस्ते में, रस्ते का माल सस्ते में
आऊ बोली लगाऊ तिमी पनि
जिन्दगीको यो बजारमा आज मेरो बम्पर सेल लागेको छ
मेरा सक्षम हातहरु 
मोल्न, जोड्न, सलाम गर्न
मुठ्ठी कास्न, आगो बाल्न
भत्काउन, बिगार्न, ढुङ्गा हान्न
निकै बेर मोलमोलाइ गरेर 
भर्खर किनेर लग्नुभो मेरा नेताज्यूले 
त्यो हात, 
जसको एउटा बूढी औंलाको नङमा
अझै मेटिएको थिएन
मैले भोट हाल्दा लगाइएको कालो

मेरा आँखाहरु लगे धर्म र समाजका ठेकेदारहरुले
के काम तेरा ती आँखा जसले
देख्न सक्दैनन् परमेश्वरको विराट स्वरुप
त्यसको बदलामा टाँसिदिए मेरो ओठमा
केही भजन, केही स्तुति, 
अलिकति सिद्धान्त र अलिकति वाद
तिनले सुनेका र तिमीले मानेका, 
मानेर ठानेका सत्यहरू
त्यही रट्न थालेका मेरा एक जोर ओठ 
किनेर लग्यो एउटा तानाशाहले
केही आश्वासनहरू थमाएर 
भर्खर मरेको थियो रे, अहोरात्र गुणगान गाउने
उसको बूढो सुगा
तिमीले लग्यौ मुठ्ठीमा लुकाएर मेरो मुटु 
केही झूटा वाचा र कागजी मुस्कानहरू भिराएर 
साह्रै सुन्दर छ त्यो खेलौना
फ्रजाइल–ह्यान्डल विथ केयर
हुन त फुटाए पनि
चोट पुर्‍याउने छैनन् तिम्रा कोमल औंलाहरूलाई 
त्यसका टुक्राहरूले
बनाउने छैनन् कुनै घाउ अनि, 
सम्झाउनका लागि पछिसम्म
बस्न दिंदैनन् कुनै खत पनि
मेरा खुट्टाहरू
केही मित्र र आफन्तहरूले किनिदिए
अब बल्ल ढुक्क भो,
नत्र यो हिंड्थ्यो, कुद्थ्यो पुग्थ्यो निकै प....र
सायद हामीभन्दा अघि, हामीभन्दा धेरै पर
उनीहरूका साउती छिरे मेरा कानहरूबाट
त्यति नै बेला थुतेर लग्यो मेरा दुवै कान
एउटा कालो कागले 
बाँकी छैनन् मसँग त्यसको पछि कुद्न
मेरा खुट्टाहरू पनि
हर रात एक्लै उडाएर, वासनाको हवाइजहाज
आफ्नो पेट वक्ष र ढाडमा
क्र्यास ल्यान्डिङ गर्ने लोग्नेसँग आजित
एउटी अधबैंसे स्वास्नीमानिसले 
किनिन् मेरो पुरूषत्व
बैंककबाट मगाउँदा
वा खिचापोखरीको सेक्सटोय सपमा किन्दा
महँगो पर्‌थ्यो रे डिल्डो
अनि एउटा डाक्टर आयो, मेरो अवस्था देखेर डरायो
बोलाएर आफ्नो नर्सिङहोमको एम्बुलेन्स
लगेर अपरेसन टेबलमा सुतायो
उपचारपछि ल्याएर फेरि मलाई
उभ्याइदियो यही बजारको कुनामा
अब हरदिन १३० लिटर रगत
फिल्टर गर्दै छन् रे मेरा किड्नी
उसको एकजना सम्भ्रान्त पेसेन्टको 
सरकारलाई मोटो राजस्व तिर्छु भन्दै
मेरो फोक्सो लग्यो चुरोट कम्पनीले
मेरो कलेजो लगे दामासाहीमा
गल्लीका भट्टीहरूले
मएकनास कराइ नै रहें 
रस्ते का माल सस्ते में, रस्ते का माल सस्ते में, 
तबसम्म, 
जबसम्म बिकेनन् पालैपालो 
मेरा एकएक अवयवहरु
अब बाँकी छ बिक्न मात्र १३५० ग्राम
मेरो मगज, त्यसमा अटाएको मेरो चेत
म फेरि कराउन चाहन्छु, अन्तिमपटक
रस्ते का माल सस्ते में
तर आफूलाई फिंजाएर बेच्न बस्दा टुक्राटुक्रामा
यो बजारको भीडभाडमा, कुनै बेला सुटुक्क 
कसैले चोरेर लगिसकेछ मेरो आवाज
प्रकाशित: जेष्ठ १, २०७३

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...