Translate

Tuesday, December 5, 2017

जुम्मा चुम्मा दे दे...

मंसिर , २०७४-मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो, अझै पनि लाग्दैन तर त्यस दिन नयाँ दिल्लीको रिगल भन्ने सिनेमाहलको पानपसलको अगाडि वाजिद अली शाहको खनाति नै हुँ भनेजस्तो नवाबी सानका साथ उभिएको थिएँ

कामविशेषले दिल्ली पुगेको थिएँ काठमाडौंको माघे जाडो केही दिनको लागि भए पनि छल्न पाएकोमा रमाइलो लागिरहेको थियो काम सकाएर बिहीबारको दिउँसो कनाट प्लेसको रमझम हेर्दै बराल्लिइरहेको थिएँ अलि परको सिनेमाहलमा लगाइएको विशाल पोस्टरले मेरो आँखा तान्यो काठमाडौंमा सिनेमाका त्यत्रा बडेमानका ब्यानरहरू नदेखिने हुँदा त्यो आफंैमा तिलस्मी कुरा थियो झन् त्यसमाथि क्रुद्घ मुद्रामा उभिएको अमिताभ बच्चन उनको अँगालोमा मोहक मुस्कान छरेर क्यामरामा सीधा हेरिरहेकी किमी काटकर भएपछि के चाहियो ? ती दुईलाई नजिकबाट नियाल्ने मेरा आँखाहरूको मौन भाषा बुझेझैं मेरा पाइलाहरू स्वयं गतिशील भएर रिगल सिनेमाभवनतिर लम्के

Sunday, April 23, 2017

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित

बम्बै, २०......

गति रोधक पुढे आहे
सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगाडि स्पीड ब्रेकर छ ।

बम्बैको (त्यतिबेला सम्म शिव सेनाले मुम्बइ भनेर नामाकरण गरिसकेको थिएन) ट्रपिकल मौसम संधै जस्तै उच्च आर्द्र थियो । भतभती नपोले पनि ३२ ३४ डिग्री सेल्सियसको गर्मीमा पसीना भने खलखली आइरहेको थियो । शायद जुन उद्देश्यले हामी हिंडिरहेका थियौं, त्यो काम फत्ते होला कि नहोला भन्ने कुराको कौतुहलताले पनि अलि बढी पसीना आएको थियो कि? इण्डियन एक्सप्रेस पत्रिकाका एक जना परिचित पत्रकारले बन्दोवस्त गरिदिएको प्रिमियर पद्मिनीमा म, डा. सुबोधकुमार पोखरेल र भूपेन्द्र रायमाझी जुहु तारा रोडको म्यूजिसियन्स स्टूडियोबाट पश्चिम बम्बै, बान्द्राको पेरी क्रस रोड अवस्थित सन बीम भन्ने घर तिर लागिरहेका थियौं । म हामीले भेट्न जान लागेको मान्छेको बारेमा सोचिरहेको थिएँ । ती मान्छे मेरा लागि अपरिचित थिएनन् । उनका बारेमा मलाई निकै नै धेरै थाहा थियो । म उनको डाइ हार्ड फ्यान थिएँ ।

ती मान्छे थिए हिन्दी चलचित्रका प्रख्यात गायक तलत महमूद ।

महासंक्रामक भाइरस- रेशम (१६ वर्ष पहिलेको लेख)

२०५८ असोज २० गते कान्तिपुर दैनिकमा प्रकाशित

अहिले एउटा भाइरसको जगजगी छ। योरेडियोको तरंग, क्यासेट पसल र रेशम भाइरसग्रस्त मान्छेहरूको मुखबाट फैलिरहेको छ र यसले पहिले सीधै कानमा, अनि बिस्तारै मगज र मनमा असर गर्छ । यसबाट प्रभावित मान्छे रेशम गाऊन थाल्छ र गाएको गायै हुन्छ। कसरी र कहाँबाट शुरु भयो त यो महासंक्रामक भाइरस?

मिति:  बैशाख १, २०५८
स्थान:  स्वयम्भूको छेऊको एउटा साउण्डप्रूफ कोठा
पात्रहरू:अमृत गुरुङ, रत्नमान गुरुङ, नरेश थापा, ध्रुव लामा, माइकल भनिने महेश पुन (समटिष्मा भन्दा नेपथ्य समूह)

पाँचजना युवाहरू भेला भएर योजना बनाए। अब केही गर्ने बेला भेसकेको छ । चुपचाप लागेर बसेको धेरै भइसकेको छ। शुभचिन्तकहरू खोजीनीति गर्न थालिसके, बिगार चाहनेहरू काखी बजाउन थालिसके। तर यसपटक उनीहरू केही नयाँ गर्न चाहन्थे, पुरानै ढाँचामा अड्किन चाहँदैनथे। त्यसपछी ऊनीहरूले ५ महीना घुँडा धसेर आविष्कार गरे, एउटा महासंक्रामक भाइरस- रेशम। रेशमलाई म यसकारण भाइरस भन्दैछु किनभने यसले आफ्नो संसर्गमा आउने कुनै पनि कानलाई यति छिटो प्रभाव पार्छ, त्यो सुन्ने मान्छे ‘रेशम....रेशम’ भन्न थालिहाल्छ। कुनै पनि भाइरसभन्दा छिटो फैलिरहेको छ रेशम, सङ्गीतप्रमीहरूको बीचमा। यस तथ्यको ज्जवलन्त उदाहरणहरू मैले देखेको छु।

Saturday, April 22, 2017

सरकार

वैशाख ९, २०७४- कान्तिपुर कोसेलीमा प्रकाशित 

उसलाई लाज लाग्दैन, ऊ त सरकार हो
सरकारलाई न घामले पोल्छ,
न पानीले नै भिज्छ ऊ
उसलाई दु:ख लाग्दैन, ऊ सरकार हो
कहाँ लाग्छ र सरकारलाई अन्नको भोक
खानुपर्दैन उसलाई अरुलाई जसरी
चिन्ता हुँदैन उसलाई हातमुख जोर्ने
तै पनि खै कसरी हो कुन्नि
हर बिहान हाम्रो अघि, वरिपरि, चारैतिर
थुप्र्‍याउँछ ऊ थुप्रोथुप्रो विष्टाहरु
चपाइएका छन् जसको लागि, हाम्रा सपना, भविष्य र वर्तमान

सरकार, हामीलाई भूतका कुराहरु सुनाउँछ–चेताउँछ
भविष्यका भयावह परिणामको गर्छ सदृश्य वर्णन–तर्साउँछ
कहिलेकाहीं मृगमरीचिकाजस्तै सुन्दर सपनाहरु देखाउँछ,
कुदाउँछ हामीलाई शीतल भ्रम देखाएर
तबसम्म, जबसम्म
फत्रक्क भएर गोडा हामी, बालुवाको थुप्रोमा पछारिन्नौं
अनि हाम्रो निस्प्राण शरीरमा सरकार झण्डा ओढाउँछ,
कहिले कुनै दलको, कहिले चन्द्रसूर्यको
सरकार गोही हो, सिकार निल्ने बेला ऊ चुहाउँछ
दुई थोपा नुनिलो आँशु

उसका लागि हामी मात्र बूढीऔंला हौं
जसको नङमा बेला–बेला दलिनु पर्छ कालो,
जुन सर्छ हाम्रो निधारमा, पसीना पुछेको बेला
बग्छ पसीनास‍ंगै हाम्रो नाकमा
अनि ढाक्छ हाम्रो भविष्य
हामी फगत मुठ्ठी हौं,
उसलाई साकार बनाउनका लागि कस्सिनुपर्छ
ऊ बन्नका लागि हामी इँटाका टुक्रा भै फुटेर
यताबाट उता हुर्‍याइनुपर्छ
थोत्रा टायरहरु हौं हामी, उसका लागि बेला–बेला बल्नुपर्छ
उसको आँखा पीरो हुँदैन, सरकारको त आँखै हुँदैन
कहाँ निस्सासिन्छ र उसको सास, सरकारको त प्राणै हुँदैन

ऊ हामीलाई उडाउँछ धूलो बनाएर, नारा बनाएर घन्काउँछ
मतपत्र बनाएर छाप्छ ऊ हामीलाई, कुच्च्याएर बाकसमा कोच्छ
फेरि सम्याएर हामीलाई गन्छ
ऊ जित्छ हाम्रा हारहरुमा कुल्चेर, अनि गलामा भिर्छ हार नै बनाएर
हामीसँगै घोचिएर, घाइते हुन्छन् मालामा उनिएका फूलहरु
अलिअलि गरेर मर्छन् हामीसँगै, हामीजस्तै पीडादायी मृत्यु
हाम्रो मृत्यु उसलाई दुख्दैन, सरकारमा समवेदना हुँदैन
उसको चौडा काँध हुन्छ तर, बोकेर हिंड्दैन ऊ हामीलाई

सरकारसंग नखोज अभिभावकत्व
किनकि सरकार अपूतो हो
अपूतो सरकारको कुनै सन्तान हुँदैन
सन्तान नभएको सरकार नपुंसक हो

सरकार पिँध नभएको लोटा हो
कुनै पनि बेला जतासुकै पनि
पुल्टुङ्ग पल्टिन सक्छ
रगत उसको प्रिय पेय पदार्थ हो,
हर दिन लठ्ठ रहन्छ त्यै पिएर
बनेको छैन आजसम्म रगत सुँघ्ने मापसे यन्त्र,
त्यसैले, निस्फिक्री घुम्छ सहरका गल्लीगल्लीहरुमा
मातेको सरकार
मातेको सरकारलाई केही थाहै हुँदैन

Friday, April 21, 2017

पामुकको म्युजियम, केमलको ताजमहल

आश्विन २, २०७२- इस्तानबुल-टर्की

भूमिगत मेट्रोबाट ओर्लेर इस्तानबुलको ताक्सिम स्क्वायरमा उभिएको छु । गन्तव्य यहाँबाट दस बाह्र मिनेट पैदल दूरीमा छ । यहाँको पुरानो ट्रामको लिक गएको तिर चुकुरसिम्मा भन्ने ठाउँमा मलाई पुग्नु छ ।
गलाता टावरबाट इस्तानबुल शहरको दृश्य
गलाता टावरबाट इस्तानबुल शहरको दृश्य

अनि मैले फेला पार्नुछ, ओरान पामुकको अनौठो सिर्जना म्युजियम अफ इनोसेन्स । टर्कीका यी लेखकलाई सन् २००६मा साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको छ । तर एउटा समस्या छ । यहाँ अंग्रेजी बुझ्ने मानिस पाउनु भनेको जाउलाखेलको सदर चिडियाखानामा जिराफ पाउनुजत्तिकै दुर्लभ छ ।

‘डू यू स्पिक इङ्लिस ?’ भनेर सयजनालाई सोद्धा एकजनाले मात्र ‘लिटिललिटिल’ भन्छ । अनि उसको लिटिललिटिल पनि त्यही एउटा शब्द बुझ्ने र बोल्ने हुँदोरहेछ ।