उता नेपाललाई आईकाओ भन्ने कुनै संस्थाले कालो सूचीबाट हटायो रे भन्ने समाचार सुनेकै दिन यता फाफुरीले फाफुरालाई कालो सूचीमा हालिदिई । हुनसक्ने र उसको बूताले भ्याउने जति कुरामा उसले फाफुरालाई नाकाबन्दी पनि लगाइदिई । अनि उसले मौनव्रत पनि लिई । किनभने अघिल्लो पटकको फाइँफुट्टीमा उसको टाउको दुखेको कुरा गर्दा फाफुराले केही नभएको रित्तो ठाउँमा के र कसरी दुख्न सक्छ भन्ने प्रश्न उठाएको थियो । त्यही आशंका बरो फाफुराको लागि घातक हुन गयो । यो देशमा शंका गर्ने त वातावरणै छैन ।
गल्ती भयो नि त भनेर जति फकाउन खोज्दा पनि फाफुरी साउनको लिँड जसरी घुप्प फुलेर बसिरही । हुँदाहुँदा कतिसम्म त भने उसले अफिस जाँदा बाटोमा पर्ने गार्डन अफ ड्रिम्ससम्म फाफुरालाई स्कुटरमा दिने लिफ्ट पनि बन्द भयो । उता पूर्व विशिष्टहरूले नयाँनयाँ सुविधाहरू थपीथपी खाने दाउ गरिरहेको बेला बिचरा फाफुराको भने खाइपाई आइरहेको सुविधा पनि निर्दयतापूर्वक खोसियो । ठीकै छ भनेर मन बुझाएर फाफुरा फेरि आफ्नो पुरानै औकातमा फर्कियो र सार्वजनिक यातनायातमा कोच्चिन गयो ।
पानामाविरूद्ध बेलायतको भकुन्डो र सिन्डिकेटविरूद्ध सरकारको लडाइँमा के समानता छ थाहा छ ? खेल फरक भए पनि दुवैमा एउटै नतीजा आएको छ । अब सरकारसँग पेपे वा रामोस त छैनन् जसले गोल हान्न आउनेका नली खुट्टामा बाँसुरी बजाउन सकून् ! त्यसैले यता सरकारले एक गोल हान्दा उता सिन्डिकेटेहरूले ‘काउन्टर अट्याक्मा छ गोल बजाइदिए् । त्यही जितको विजयोन्मादले हर्षित सार्वजनिक यातनायातका चालक र सहचालकहरू चक्रवर्ती सम्राटजस्ता भएका रहेछन् । पहिले पैंतालीस यात्रु खाँद्ने माइक्रोहरू अब पचपन्न नखाँदी नमान्ने भएका रहेछन् । गुन्द्रुक खाँदिए जसरी खाँदिएर बल्लबल्ल निस्सासिँदै सहीदगेटसम्म पुग्दा फाफुराको सहनशक्तिले आत्मसमर्पण गर्यो । अब यो भन्दा पनि अघि गयो भने त बीचमै उसको आत्मा परमात्मासँग चिरमिलनका लागि अनन्तयात्रामा लाग्नेछ र रत्नपार्कमा उसको नश्वर शरीरमात्र माइक्रोबाट ओर्लनेछ भन्ने फाफुरालाई लाग्यो । त्यसैले ऊ त्यहीँ ओर्लियो । रत्नपार्कमा सिट पाइन्न भनेर सहीदगेटबाटै चढ्न कुरेका दूरद्रष्टाहरूको भित्र छिर्ने होडबाजीका कारण फाफुरालाई माइक्रोको गर्भबाट बाहिर निस्कन आमाको गर्भबाट संसारमा निस्कँदा भन्दा कठोर संघर्ष गर्नु पर्यो । केही बेर लामोलामो सास फेरेर आफूलाई नियन्त्रण गरेपछि ऊ फेरि उत्तरतिर लाग्यो । रत्नपार्कनिर पुगेर ऊ टक्क अड्यो ।