गरुड पुराण
मुडुलो टाउको लिएर यो जाडोमापातलो सेतो धोती बेरेको
देश सिउसिउ गर्दै किरिया बसेको छ
माकटोपी लगाएका नेताहरू
गलबन्दी बेरेर सुनाइरहेछन् गरुड पुराण
र हामी दान गरिरहेछौं ठूला साना सपनाहरू
उनीहरूले भने,
तिमीहरूको पसिनाले तार्दैन वैतरिणी नदी
पत्यायौं र दियौं हामीले रगतको तर्पण
धर्मान्ध भएर हामीले दान गर्यौं
मतसंगै मति पनि
विवेक र तर्कको त दियो कलश गरेकै हौं
अब हामीसंग 'विद्वान'ले मात्र देख्ने
फगत एक जोर लुगा बाँकी छ
भोका त सँधै थियौं कुन ठूलो कुरो भो र
अब त आफ्नै अाँखामा
हामी नाङ्गै भइसकेका छौं
तर पनि, रोकिएको छैन गरुड पुराण
ए साँच्चि, कसैलाई थाहा छ?
कति लामो हुँदोरहेछ देशले बस्ने किरिया???
बिर्खे
समात्....साला चलमलायो
बोल्यो त्यो, थुत् त्यसको जिब्रो
पक्री, कोच्, ठोक् त्यसलाई
विरोध गर्यो त्यसले
यति पनि थाहा छैन त्यसलाई
कि म सही हूँ, कि त्यो गलत
तँ बोल् त्यति मात्र जे म सुन्न चाहन्छु
तँ हेर् त्यति मात्र जे म देखाउन चाहन्छु
तँ सुन् त्यति मात्र जे म सुनाउन चाहन्छु
तेरो स्वतन्त्रताको घेरो
मैले कोरेको शून्यभन्दा बाहिर छैन
साला कुवाको ब्याङ उफ्रिन्छस्?
तेरा गोडा लूलो नबनाइ भाछैन
तैंले अनुभूति त्यति मात्र गर्ने हो
जति म तँलाई गराउन चाहन्छु
तँलाई थाहा छ म को हूँ?
सरकार हूँ म सरकार, बिर्खे मेरो नाम
ए....
बिर्खेलाई चिन्छस्???
कंकालको हाँसो
साढे सात अरब छन् रे, मेरै वरिपरिमलाई तथ्याङ्कले ढाँट्छ
म कसरी पत्याऊँ?
नियालेर हेर्दा देख्छु जब
टुक्रा टुक्रा मानिसहरू
कसरी गनौं म सिंगो मान्छे भनेर
जो बाँचिरहेका छन्
आधा, पौने, अधूरो र अपूरो जिन्दगी
निदाइरहेका छन् जो आफ्नैआफ्नै
स्वार्थका नरम बिछ्यौनामा
घुरिरहेका छन्
लालसाको सिरानी हालेर
यी त बोल्न हिंड्न र आँखा झिम्काउन जानेका
सजिएका धजिएका र चिटिक्क परेका
फगत म्यानिक्विनहरू हुन्
जो बेलाबेला झुक्किएर फेर्छन् सास
आँखा भएर पनि नदेख्नेहरू
कान छ तर नसुन्नेहरू
मन नभएकाहरू
मन भए पनि भावना नभएकाहरू
छातीभित्र मुटु छ, ढुक ढुक पनि गर्छ
तर नमिलेको ताल, लय र मात्रामा
म ऐना हेर्छु, नियालेर अाफैलाई
उताबाट मलाई गिज्याउँछ
सम्झौताका खिया लागेकाे सिक्रीमा
छटपटिएको एउटा अस्थिपञ्जर
हो म पनि एउटा नरकंकाल हूँ
चाहेर पनि जो मुस्काउन सक्दैन
किनकि
बडो विद्रुप र भयावह हुन्छ
कंकालको हाँसो।
तन्त्र मन्त्र
कथा त्यही हो, भूमिका पनि उही होएउटै नाटकका एकै पात्रहरूसंग अमन भयो
एकैथरि अभिनय हेरेर वाक्क लाग्यो,
त्यसैले,
तमाशा अलि रोचक होला कि भनेर
थकित पात्रहरू फेरेको मात्र हो
नयाँ साजसज्जा सहित
पुरानै रङ्गमञ्चमा हामीले
उही थोत्रो नाटक हेरेको मात्र हो
दाह्रा अझै अरू तिखारिएका हुन्
बङ्गारा अझै बरू माझिएका हुन्
नङ्ग्रा अझै धेरै लामा र चुच्चा भएका हुन्
लुछिने, चपाइने र टोकिनेहरू आज पनि उही हुन्
लुछ्ने, टोक्ने र चपाउने चाहिँ फेरिएका हुन्
एउटो बरो अंकलाई ताछेर शून्यमा झारेको मात्र हो,
शिरपोश कसैको शिरबाट हटाएर
कतै लगेर थन्क्याएको मात्र हो,
टिकट लगाएर देखाउन
एउटा दरवारलाई बनाएर म्यूजियम
चिडियाखानाहरूलाई दरवार बनाएको मात्र हो
मन्त्र फेरिएको होइन, भ्रममा नपरे हुन्छ
तन्त्र पहिलेको जे थियो, अझै त्यही नै हो
भ्रममा नपर कुनै मेरो साथी
अगाडिको एक शव्द मेटेर
लोक र गण थपिएको मात्र हो
धैर्य
उमालौंला,मज्जाले पिउँला, ज्यान बनाउँला
जमाउँला, जुजु धौ बनाउँला
बाक्लो तर लाग्नेछ, बटुलौंला
मथेर नौनी निकालौंला
घ्यू निकालौंला, मोही पारौंला
पिँधमा जमेकोजति कोरेर
कुराउनी बनाएर खाउँला
फटाउँला,
थरिथरिका मिठाइ बनाउँला
यस्तै यस्तै आशा गरेर
धेरै भयो दूध आउला भनेर
हामी अनवरत दुहिरहेका छौं
थकित बूढा गोरूहरू
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment