Translate

Saturday, April 22, 2017

सरकार

वैशाख ९, २०७४- कान्तिपुर कोसेलीमा प्रकाशित 

उसलाई लाज लाग्दैन, ऊ त सरकार हो
सरकारलाई न घामले पोल्छ,
न पानीले नै भिज्छ ऊ
उसलाई दु:ख लाग्दैन, ऊ सरकार हो
कहाँ लाग्छ र सरकारलाई अन्नको भोक
खानुपर्दैन उसलाई अरुलाई जसरी
चिन्ता हुँदैन उसलाई हातमुख जोर्ने
तै पनि खै कसरी हो कुन्नि
हर बिहान हाम्रो अघि, वरिपरि, चारैतिर
थुप्र्‍याउँछ ऊ थुप्रोथुप्रो विष्टाहरु
चपाइएका छन् जसको लागि, हाम्रा सपना, भविष्य र वर्तमान

सरकार, हामीलाई भूतका कुराहरु सुनाउँछ–चेताउँछ
भविष्यका भयावह परिणामको गर्छ सदृश्य वर्णन–तर्साउँछ
कहिलेकाहीं मृगमरीचिकाजस्तै सुन्दर सपनाहरु देखाउँछ,
कुदाउँछ हामीलाई शीतल भ्रम देखाएर
तबसम्म, जबसम्म
फत्रक्क भएर गोडा हामी, बालुवाको थुप्रोमा पछारिन्नौं
अनि हाम्रो निस्प्राण शरीरमा सरकार झण्डा ओढाउँछ,
कहिले कुनै दलको, कहिले चन्द्रसूर्यको
सरकार गोही हो, सिकार निल्ने बेला ऊ चुहाउँछ
दुई थोपा नुनिलो आँशु

उसका लागि हामी मात्र बूढीऔंला हौं
जसको नङमा बेला–बेला दलिनु पर्छ कालो,
जुन सर्छ हाम्रो निधारमा, पसीना पुछेको बेला
बग्छ पसीनास‍ंगै हाम्रो नाकमा
अनि ढाक्छ हाम्रो भविष्य
हामी फगत मुठ्ठी हौं,
उसलाई साकार बनाउनका लागि कस्सिनुपर्छ
ऊ बन्नका लागि हामी इँटाका टुक्रा भै फुटेर
यताबाट उता हुर्‍याइनुपर्छ
थोत्रा टायरहरु हौं हामी, उसका लागि बेला–बेला बल्नुपर्छ
उसको आँखा पीरो हुँदैन, सरकारको त आँखै हुँदैन
कहाँ निस्सासिन्छ र उसको सास, सरकारको त प्राणै हुँदैन

ऊ हामीलाई उडाउँछ धूलो बनाएर, नारा बनाएर घन्काउँछ
मतपत्र बनाएर छाप्छ ऊ हामीलाई, कुच्च्याएर बाकसमा कोच्छ
फेरि सम्याएर हामीलाई गन्छ
ऊ जित्छ हाम्रा हारहरुमा कुल्चेर, अनि गलामा भिर्छ हार नै बनाएर
हामीसँगै घोचिएर, घाइते हुन्छन् मालामा उनिएका फूलहरु
अलिअलि गरेर मर्छन् हामीसँगै, हामीजस्तै पीडादायी मृत्यु
हाम्रो मृत्यु उसलाई दुख्दैन, सरकारमा समवेदना हुँदैन
उसको चौडा काँध हुन्छ तर, बोकेर हिंड्दैन ऊ हामीलाई

सरकारसंग नखोज अभिभावकत्व
किनकि सरकार अपूतो हो
अपूतो सरकारको कुनै सन्तान हुँदैन
सन्तान नभएको सरकार नपुंसक हो

सरकार पिँध नभएको लोटा हो
कुनै पनि बेला जतासुकै पनि
पुल्टुङ्ग पल्टिन सक्छ
रगत उसको प्रिय पेय पदार्थ हो,
हर दिन लठ्ठ रहन्छ त्यै पिएर
बनेको छैन आजसम्म रगत सुँघ्ने मापसे यन्त्र,
त्यसैले, निस्फिक्री घुम्छ सहरका गल्लीगल्लीहरुमा
मातेको सरकार
मातेको सरकारलाई केही थाहै हुँदैन

Friday, April 21, 2017

पामुकको म्युजियम, केमलको ताजमहल

आश्विन २, २०७२- इस्तानबुल-टर्की

भूमिगत मेट्रोबाट ओर्लेर इस्तानबुलको ताक्सिम स्क्वायरमा उभिएको छु । गन्तव्य यहाँबाट दस बाह्र मिनेट पैदल दूरीमा छ । यहाँको पुरानो ट्रामको लिक गएको तिर चुकुरसिम्मा भन्ने ठाउँमा मलाई पुग्नु छ ।
गलाता टावरबाट इस्तानबुल शहरको दृश्य
गलाता टावरबाट इस्तानबुल शहरको दृश्य

अनि मैले फेला पार्नुछ, ओरान पामुकको अनौठो सिर्जना म्युजियम अफ इनोसेन्स । टर्कीका यी लेखकलाई सन् २००६मा साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको छ । तर एउटा समस्या छ । यहाँ अंग्रेजी बुझ्ने मानिस पाउनु भनेको जाउलाखेलको सदर चिडियाखानामा जिराफ पाउनुजत्तिकै दुर्लभ छ ।

‘डू यू स्पिक इङ्लिस ?’ भनेर सयजनालाई सोद्धा एकजनाले मात्र ‘लिटिललिटिल’ भन्छ । अनि उसको लिटिललिटिल पनि त्यही एउटा शब्द बुझ्ने र बोल्ने हुँदोरहेछ ।

Tuesday, November 29, 2016

...र फुलेनन् गुराँसहरु

मंसीर १२, २०७३ को नेपाल साप्ताहिकमा प्रकाशित


अलि पर, उतापट्टिबाट आइरहेका दुईजना केटीहरुमध्ये एकजनाले हामी सबैको ध्यान एकैपटक तानिन् ।

२६ वर्ष अघि, २०४७ साल तिरको कुरो हो । निर्देशक अरुणकुमार झा, अभिनेता सन्तोष पन्त, पत्रकार शैलेश आचार्य र म घण्टाघरबाट कमलादी स्थित वसन्त चौधरीको ग्रूप थ्री भन्ने एउटा विज्ञापन एजेन्सीको अफीस तिर गइरहेका थियौं । त्यतिबेला ग्रूप थ्रीले नै उर्वशी भन्ने सिने पत्रिका पनि निकाल्थ्यो जसको सम्पादक शैलेश दाइ थिए । हामी एउटा सिनेमा बनाउन लागिरहेका थियौं, “..र फुल्छन् गुराँसहहरु” । त्यसको लागि भेटघाट गर्ने थलो पनि उर्वशीको अफीस नै थियो ।

भर्खरभर्खर केही टेलिफिल्महरुमा अभिनय गरेको म, त्यस सिनेमाबाट ठूलो पर्दामा हाम्फाल्ने भएको थिएँ । त्यतिबेला सबैको आँखा लाग्ने नबिल बैंकको गतिलो जागीर पनि मैले सिनेमाको हीरो बन्नका लागि तिलाञ्जलि दिने मनस्थिति बनाइसकेको थिएँ । आफैले लेखेको कथामा पटकथा र सम्वाद तयार भैसकेको थियो । एउटा प्रेमकथामा आधारित त्यस चलचित्र आएपछि फर्केर हेर्नपर्दैन भन्ने लाग्थ्यो मलाई भर्खर बीस एक्काइस वर्षको उमेरमा । अरु सबै मुख्य भूमिकाहरु पनि कसले खेल्ने भन्ने लगभग टुंगो लागिसकेको थियो ।

Sunday, November 20, 2016

एक शुभेच्छु पाठकको प्रतिकृया

महेन्द्र आदर्श विद्याश्रमको पढाई सकिएनि सातदोबाटो जाने मेरो बानी सकिएको थिएन । मेरो जक्सन भएको थियो सातदोबाटो । बिहान या साँझ दिनको एक पटक नगै चित्त बुझदैनथ्यो  । केटाहरुसँग बस्यो चिया खायो । फर्कियो । <br>
<br>
एकदिन हामी महेन्द्र आदर्श विद्याश्रम अगाडिको चिया पसलमा बाहिरै बसेर चिया खाँदै थियौं । सडक तिरै फर्केर चियाका चुस्की लिइरहेका बेला उमेशले सडक तीर हेरेर उत्साहित हुदै भन्यो &quot;उ उ दाई त्यो गाडीमा ब्रजेश ।&quot; मैले नि पुलुक्क हेरें अखबारको पानामा देखे जस्तै एउटा अनुहार आफै गाडी चलाएर गोदावरी तिर जाँदै थियो । तर म ठोक्का गरेर भन्न सक्दिन त्यो ब्रजेश थियो या ब्रजेश जस्तै अरु कोई ।
त्यतिबेला म सातदोबाटोको दीपावली पुस्तकालयको सदस्य र नियमित पाठक थिएँ । ब्रजेशलाई नदेखे नचिनेको भए  पनि बेला बेला कान्तिपुर,नागरिक आदिमा आउने  ब्रजेशका लेखहरु चाहिँ म पढ़थ्ये । सायद त्यही भएर हुनुपर्छ उमेशले बाटोमा देखिएको ब्रजेश मलाई देखाएको ।

Wednesday, October 5, 2016

करेली नोट

नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को"बाट


केही दिन अघिको कुरो हो, एउटा पसलमा किनमेल गरेर पैसा तिर्न म पालो कुरिरहेको थिएँ । मेरो अघि एक जना पैसा तिर्दै थिए । साहूजीले उनको हिसाब गरेर बाँकी पैसा फिर्ता गरे । ग्राहकले आफ्नो हातमा परेका केही नोटहरु हेरेर अमीलो मुख लगाए । नाकमुख खुम्च्याउँदै उनले भने,  
“हरे साहूजी, कस्तो गन्हाउने र झुत्रो नोट दिनुभाको होला । छुन पनि घीन लाग्ने । अलि नयाँ र राम्रो नोट दिनुस् न ?” 
साहूजीले पनि हाँस्दै उत्तर दिए, 
“अब मैले नोट छाप्ने हैन क्यार । मैले पनि तपैंजस्तै अरु ग्राहकले जे ल्याएर दिए त्यही दिने त हो नि । यस्तै आउँछ म के गरुँ ?”

Saturday, May 14, 2016

‘डिजाइनर बन्न फिल्म लेखेको, टेलर बन्नुपर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याे'

लेखनकक्षमा ब्रजेश

समुन्द्र राज घिमिरे ललितपुर, जेठ १ (सेतोपाटीबाट साभार)


ब्रजेश पाँच कक्षा पढ्दा स्कुलको एउटा कार्यक्रममा साथीबाट कविता सुनेका थिए। पैसालाई विषयवस्तु बनाइएको त्यो कविता उनलाई साह्रै मन पर्यो। उनले त्यो कविता मागे।
त्यतिबेला उनका बाबुको छापाखाना थियो। त्यहाँबाट एउटा पत्रिका नियमित निस्कन्थ्यो। पत्रिकामा साथीले सुनाएको उक्त कविता छपाए। तर, साथीलाई थाहा भएन।
उनलाई यही कुराले पिरोल्न थाल्यो। जति समय बित्यो, उनमा पछुतोबोध त्यति नै बढ्दै जान्थ्यो। 
एकदिन पिकनिक जाँदा महिनौंदेखिको उकुसमुकुस पड्कियो। पिकनिक चल्दै गर्दा साथीलाई एक कुनामा लगेर सुनाए, ‘तैंले अस्ति नै सुनाएको कविता मेरो नाममा छापेँ। सरी यार।’
त्यसपछि साथी जोडले हाँसे। र, भने, ‘त्यो कविता मेरो त होइन। दाइले सुनाएको। दाइले पनि अरू कसैको भन्थ्यो।’