नेपाल पत्रिकाको मेरो स्तम्भ "बायाँ फन्को" बाट, जेष्ठ १७, २०६६ प्रकाशित
एकजना पुराना परिचित हुन् तिनी। एक ताका दिनहुँ भने जस्तो भेट हुन्थे। केहीदिन भेट नभए पनि फोनमा कुरा हुन्थ्यो। त्यतिबेलाको कामको प्रवृत्तिले गर्दा पनि तिनीसंग सहकार्य भइरहने भएकोले तिनको आन्द्रा भुँडी नै थाहा थियो भन्दा पनि फरक पर्दैन। त्यसपछि विस्तारै विस्तारै भेटघाट र सम्पर्कको क्रम कम हुँदै गयो। अचानक केही समय अघि भेट हुँदा पुराना कुराहरु खोतलिने क्रममा थाहा भयो, तिनको त दिनचर्या, जीवनशैली, काम, घुलमिल गर्ने ईष्टमित्रहरुको मण्डली सबै कुरा अमूल परिवर्तन भइसकेको रहेछ। त्यसको कारण रहेछन् एकजना मान्छे, जसलाई उनी कलियुगमा देउताको रुप भनेर श्रद्धा गर्न थालेका रहेछन्।