Translate

Saturday, August 16, 2014

पिकनिकको पाँच रुपैंया

२०७० श्रावण ३१ गते कान्तिपुरको कोसेलीमा प्रकाशित संस्मरण


“मलाई तिमीसंग, एउटा कुरा गर्नु थियो ।”

मुसुक्क हाँस्दै जुन किसिमको स्वरमा मेरी छोरी मसंग कुरा गर्न आई, त्यसबाटै मलाई थाहा भैसकेको तियो, उसलाई केही चाहिएको छ । संसारका हरेक बाबुआमाले आफ्ना सन्तानको त्यो भाव पहिले नै बुझ्दछन् ।

“तिम्रो फेसबुक र ट्विटरमा एउटा पेजको लिंक शेयर गरिदेऊ न प्लीज ।” 

मलाई सामाजिक संजालमा आउने त्यस्ता लिंकहरु देखेर वाक्क लाग्छ । हेक्का गर्नु भएको छ भने बेलाबेला ताइँ न तुइँका लिंक र खेलहरु मन पराइदिनका लागि लागि अनुरोधहरु आउँछन् । तपाईँलाई रमाइलो लाग्छ भने खेल्नुस् न भै हाल्यो नि । भएभरका सबैलाई किन तनाव दिनू ? नामै नसुनिएका मानिसहरुले आफूलाई सेलेब्रिटी भन्दै मन पराउनका लागि पनि हत्तु बनाउँछन् । आफ्ना लागि गज्जवका लागेका फोटाहरु अरुको टाइमलाइनमा टाँसिदिन्छन् । चाहिने नचाहिने उत्पादन, थरिथरिका आन्दोलन, बिभिन्न प्रकारका भगवान, आवश्यकता, चन्दा, परोपकार, समाजसुधार र अजीव प्रकारका प्रतिस्पर्धामा जित्नका लागि भोट मागेर पनि वाक्कै लगाउँछन् । अझ मानवीय समवेदनाका नाममा वीभत्स फोटाहरु हालिदिएर तपाईँको मूड, दिन वा रातै खराब बनाइदिनेहरुको पनि कहाँ कमी छ र ? म आफू त्यस्ता कामहरुबाट सकेसम्म बच्ने प्रयास गर्छु । 
त्यसैले मैले छोरीको बाँकी कुरै नसुनी उसको प्रस्तावलाई नकारिदिएँ । 

उसले अमीलो मुख लगाएर भनी,

“पहिले के हो भन्ने कुरा त बुझ ।”

Sunday, August 10, 2014

मन, मोदी र मगज

मोदी आए, मोदीले मन जिते, मोदी गए

सिनेमाको पटकथा लेखनको एउटा सर्वमान्य सिद्धान्त छ, दृश्य चल्न शुरु हुने बेलाका पहिलो केही समय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । दर्शकको ध्यान झ्याम्मै तपाईले तान्नसक्नुभएन भने सिनेमा डुब्ने सम्भावना अत्यन्त धेरै हुन्छ । अनि उत्कर्षका केही अन्तिम मिनेट पनि त्यस्तै हुन्छन् । बीचका भागहरुमा अलिअलि दायाँबायाँ भए पनि खासै फरक पर्दैन । यो कुरा सिनेमा मात्र नभै अरु कथा सुनाउने माध्यमहरुका लागि पनि त्यति नै आवश्यक हुन्छ । अनि अलि गहिरिएर सोच्ने हो भने जीवनका अरु धेरै पाटाहरुमा पनि यो त्यति नै लागू हुन्छ । अभिव्यक्त गर्ने माध्यमहरु जुनसुकै किन नहुन्, आफूलाई सही ढंगले प्रस्तुत गर्न सकिएन भने मनका भावना वा मगजले प्रवाह गरेका कुराहरु त्यही रुपमा अरुलाई तपाईं बुझाउन सक्नुहुन्न ।

Sunday, August 3, 2014

मानवता र विकास ***

बायाँ फन्को १३७

मान्छेको विशेषता भनेको नै विकासको महत्व बुझ्नु र आफूलाई समयानुकुल रुपमा विकसित गर्दै लैजानु हो । यो प्रकृया असाध्यै सुस्त गतिमा शुरु भएको थियो र यसले बिस्तारै गति लिएको हो । हामी जति विकसित हुँदै गयौं, त्यति नै विकासको गतिलाई तीब्र बनाउन पनि सिक्दै गयौं । त्यसैले हरेक युग र हरेक पुस्ताले अघिल्लो युग र पुस्तालाई यो गतिमा पछि पार्दै गएको हुनुपर्छ । मानव जीवनसंग सम्बन्धित हरेक कुरामा हामीले खोजीनीति र प्रयोगहरु गर्दै गयौं । त्यसको फस्वरुप नयाँनयाँ कुराहरु पत्ता लगाउँदै गयौं । हाम्रो जीवन अझ बढी सहज हुन थाल्यो, सरल हुन थाल्यो । विचार, मानसिकता, प्रविधि, औषधि, निर्माण, ज्ञान र विज्ञानको कुरामा पनि हामी परिस्कृत हुँदै गयौं । 

तर बेलाबेलामा हामी उपलव्धिको दम्भमा रमाएर विकासको नकारात्मक पक्षहरुलाई पनि अंगीकार गर्ने गर्छौं ।

आगोले हामीलाई निकै कुरा सिकायो । आगोबाटै मानिसले उज्यालो, इन्धन र ऊर्जाको महत्व बुझ्यो । त्यसका अरु परिस्कृत रुपहरु फेला पार्न प्रेरित भयो । त्यही आगाले अरुलाई डढाउन, पोल्न र विनाश गर्न पनि सिक्यो अर्काथरि मानिसले । हुन त बृहत बिनाशका हतियारहरुको निर्माण पनि विकासको ठूलै उपलव्धि हो नि । सानोतिनो सोच, समय, लगानी वा अभ्यासले कहाँ बन्छन् र ती ? तर त्यस्ता अनावश्यक विकास मानिस भित्रै रहने शैतानको उपज हो । एकातिर एउटा मानिस सयौं अरु मानिसलाई बोकेर सिमलको भुवा उडे जसरी तीसौं हजार फीट माथि आकाशमा उड्न सक्ने हजारौं टनको विमान बनाउन सक्छ । अर्को तिर त्यही विमानलाई भुँइबाटै ताकेर गुलेलीले चरा खसाले जस्तो खसाल्न सक्ने अस्त्र पनि मानिसले नै बनाउँछ । त्यस्ता संहारक अस्त्र बनाउने, आफ्नो स्वामित्वमा राख्ने र प्रयोग गर्नेहरुलाई त्यसको परिणाम देखेर कस्तो खुसी प्राप्त हुन्छ होला, हुन्छ वा हुँदैन होला ? हुँदाहुँदा यस्ता हतियारहरु बनाइसकेको छ मानिसले, जसको प्रयोग भयो भने त्यसको परिणाम के भयो भन्ने कुरा हेर्नका लागि कोही पनि बाँकी रहँदैनन् । त्यसका आविष्कार गर्नेहरु स्वयं पनि । के अर्थ र उपादेयता छ त्यस्तो विकासको, त्यस्ता आविष्कारको ? यो प्रश्नको उत्तर उनीहरुसंगै पनि छैन । 

सारा जीवन कुनै रोगको उपचारको लागि औषधि पत्ता लगाउनका लागि खर्च गर्ने पनि हामी मध्येकै कुनै मानिस हुन्छ । उसको टाउकोको वरिपरि कुनै आभापुञ्जको गोलो घेरा देखिंदैन । न उसका सेता प्वाँखहरु भएको कुनै पखेटा हुन्छ । अर्को तिर एकै पटकमा लाखौं मानिसको ज्यान लिन सक्ने संक्रामक भाइरस बनाउनका लागि पनि हामी जस्तै मानिस लागिरहेको हुन्छ । अनि उसको पनि अजंगको ज्यान, बाहिर निस्केको दाह्रा, लामालामा नङ्ग्रा, टाउकामा दुइवटा घुम्रेको सिङ र पुठ्ठोबाट झुण्डिएको पुच्छर हुँदैन । 

संसारका विपरित ध्रुवमा बस्ने आफूले नचिनेका र सम्भवतः कहिल्यै नभेट्ने अरु मानिसहरुका समूहगत हितका लागि आफ्नो सबैथोक दाउमा लगाउने मानिस पनि हामी माझै हुन्छन, हामी जस्तै हुन्छन् । तिनीहरु पनि उपलव्धिबाट पाइने सन्तुष्टिका लागि नै कटिवद्ध भैरहेका हुन्छन् । अनि हामीमाझै हुन्छन् आफ्नै वर्ग, समुदाय वा राज्यका मानिसहरुलाई फुटाएर, लडाएर र जुधाएर आफ्नो स्वार्थसिद्धि गर्नेहरु । यी दुबैका आत्मसन्तुष्टिमा आकाश पातालको फरक हुन्छ । 

एउटा महादेशमा बस्नेहरु भन्दा अर्को महादेशमा बस्नेहरु भिन्न छैनन् । आँखा सबैका दुइटै हुन्छन्, तिनले देख्ने कुरा पनि उही हुन्छन् । एसियामा बस्नेले देख्ने हिमाललाई यूरोपको मान्छेले पनि हिमालै देख्छ, मरुभूमि देख्दैन । गाजाको मान्छेले हेर्दा देख्ने बालक इजरायलीको आँखाले पनि तिनलाई बालकै देख्छ । बमको बिनाशले उडाएको धूलो आँखामा पर्दा सबैलाई उसै गरी पोल्छ । ट्विन टावर धराशायी हुँदा त्यसमा लागेको आगोका मुस्लाहरुले खरानी बनाउने बेला जात, धर्म, देश केही भन्यो र ? अविश्वसनीय रुपमा त्यो भत्कँदा त्यसका अनियन्त्रित बिशाल अवशेषहरुले आफ्नो मुनि पर्ने सबैलाई नै धूलोपीठो बनायो । हिरोसिमा र नागासाकीमा भारिएका फ्याट म्यान र लिटल ब्वाइहरुले त्यहाँ अरु देशका मानिस पनि भएका भए के जापानीलाई मात्र छानेर मार्थे ? 

हाम्रो आन्तरिक र बाह्य शारीरिक र जैविक बनौट उस्तै छ । अरु सबै कुरामा यति धेरै समानता भएको मानिस भन्ने प्राणीको मासकिता र बुझाइमा मात्रै किन यति धेरै फरक हुन्छ ? के यो सृष्टिले नै सिर्जना गरेको भिन्नता हो ? वा हामीले पछि आफूमा विकास गरेका हौं यसको ?

हामीमा विकासको कहिले पनि शान्त नहुने भोक छ । त्यसैले हामी आफू शान्त नहुन्जेल यो भोकलाई शान्त गर्ने क्रममा नै पूरा जीवन बिताइरहेका हुन्छौं । बेलाबेलामा हामीले बिर्सनै नहुने कुरा चाहिँ एउटै मात्र छ । विकास गर्नका लागि खर्च लाग्छ । पैसा, श्रोत, साधन र अथक परिश्रम माग्छ विकासले । लगानी माग्छ । अझ व्यक्तिगत मात्रै नभै सामूहिक प्रयास पनि माग्छ विकासले । तर मानवता भन्ने कुराको लागि लागि पैसा लाग्दैन, आफू एक्लैको मात्र प्रयासले पनि त्यो सकिन्छ । त्यसको लागि धेरै ठूलो मानसकि वा शारीरिक कसरत पनि गर्नु पर्दैन । यही सित्तैंमा प्राप्त हुन सकिने कुरा, मानवता नभै चाहिँ जति पैसा र परिश्रम खर्च गरे पनि सही अर्थमा विकसित हुन सकिंदैन । किनभने बिना मानवताको विकासका जहिले पनि अंध्यारा पाटाहरु रहिरहन्छन् । तिनलाई जित्ने भनेको मानवताले मात्र हो । मानवताको नकारात्मक पाटो हुँदैन, अँध्यारो पक्ष पनि हुँदैन । 

Sunday, July 27, 2014

मानवता र विकास

मान्छेको विशेषता भनेको नै विकासको महत्व बुझ्नु र आफूलाई समयानुकुल रुपमा विकसित गर्दै लैजानु हो । यो प्रकृया असाध्यै सुस्त गतिमा शुरु भएको थियो र यसले बिस्तारै गति लिएको हो । हामी जति विकसित हुँदै गयौं, त्यति नै विकासको गतिलाई तीब्र बनाउन पनि सिक्दै गयौं । त्यसैले हरेक युग र हरेक पुस्ताले अघिल्लो युग र पुस्तालाई यो गतिमा पछि पार्दै गएको हुनुपर्छ । मानव जीवनसंग सम्बन्धित हरेक कुरामा हामीले खोजीनीति र प्रयोगहरु गर्दै गयौं । त्यसको फस्वरुप नयाँनयाँ कुराहरु पत्ता लगाउँदै गयौं । हाम्रो जीवन अझ बढी सहज हुन थाल्यो, सरल हुन थाल्यो । विचार, मानसिकता, प्रविधि, औषधि, निर्माण, ज्ञान र विज्ञानको कुरामा पनि हामी परिस्कृत हुँदै गयौं । तर बेलाबेलामा हामी उपलव्धिको दम्भमा रमाएर विकासको नकारात्मक पक्षहरुलाई पनि अंगीकार गर्ने गर्छौं ।

Sunday, July 13, 2014

भकुण्डो र भावना

नेपाल साप्ताहिकको मेरो स्तम्भ 'बायाँ फन्को' मा प्रकाशित


चार वर्षमा एक पटक हुने भकुण्डोको यो प्रचिस्पर्धाको आफ्नै रमाइलो हुने गर्छ । अरु बेला भकुण्डाका क्लबका खेलहरुमा खासै रुचि नहुनेहरु पनि यो बेला समय कुसमय निन्द्रा मारेरै भए पनि खेलाहरु छुटाउँदैनन् । 

यतिखेर यो बायाँ फन्को पाठकहरुले पढिरहनुभएको बेला विश्व कप भकुण्डोको प्रतिस्पर्धा झण्डैझण्डै समाप्त हुने बेला भइरहेको हुनेछ । तेश्रो स्थानका लागि भएको खेलमा आयोजक ब्राजिललाई नेदरल्याण्ड्सले पाखा लगाइसकेको छ भने अर्जेण्टिना र जर्मनी बीच उपाधिको लागि भरे ज्यूज्यानको बाजी लाग्दैछ । 

सबैभन्दा रमाइलो कुरा के भने यतिबेला चारवर्षको एकपटक टोलबजार,कार्यालय वा जहाकहीं पनि भकुण्डाका विज्ञहरु च्याउ उम्रे सरह उम्रिन्छन् । उनीहरु कुन खेलाडीले कसरी खेल्यो अथवा खेल्नुपथ्र्यो, कुन टीमको कस्तो रणनीति हुनुपथ्र्यो भन्ने कुराहरु ठोकुवा गरेर भनिदिन्छन् । हारका कारणहरु के के थिए भन्ने बारेमा त्यस्ता मानिसहरु बोलिरहेका हुन्छन् जसलाई अफ साइड कसरी हुन्छ भन्ने कुराको पनि खासै ज्ञान नहुन सक्छ । भकुण्डोको यो नै एउटा यस्तो सुन्दर पक्ष हो जसले यो खेललाई विश्वकै सबैभन्दा लोकप्रिय खेल बनाइदिन्छ । हामीलाई यो चारवर्षे मेलाले आफ्नो बाल्यकालमा पनि फर्काइदिन्छ जहाँ हामीले भकुण्डो नपाए पनि मोजाका गुजुल्टाहरुलाई मच्चीमच्ची गुडाएका हुन्छौं, उडाएका हुन्छौं ।

Thursday, July 10, 2014

जंगलको राजा को?

ब्राजिलमा जारी विश्व कप भकुण्डो खेलाको फाइनल जर्मनी र अर्जेण्टिनाको बीच हुने भएको छ । यस सन्दर्भमा एउटा पुरानो चुट्किला सुनाउन मन लागेकोले यहाँ लेख्दैछु ।

एकपटक जंगलमा एउटा सिंह हिंडिरहेको थियो । उसले एउटा लोखर्केलाई भेटेछ, अनि ठूलो स्वरमा हकार्दै सोधेछ,
"लोखर्के, भन् जंगलको राजा को हो?"
लोखर्केले हात जोडेर भनेछ,
"सिंह हजुर, तपाईँ नै हो अरू को हुन सक्छ र?"
"स्याब्बास् ।"

सिंह दंग परेर अघि बढेछ । केही पर उसले एउटा बाँदर भेटेछ, त्यसै गरी ठूलो स्वरमा हकार्दै सोधेछ,
"ए बाँदर, ल भन् त जंगलको राजा को हो?"
बाँदरले पनि डराएर भनेछ,
"सिंह सर, तपाईँ बाहेक अरू को हुन सक्छ र ?"

यसै क्रममा सिंहले खरायो, स्याल, जरायो, मुसा जस्ता जनावरहरूलाई भेट्दै त्यही प्रश्न सोद्धै गएछ । सबको उत्तर त्यही हुन्थ्यो,
"हजुर बाहेक अरू को र?"

अन्त्यमा सिंहले एउटा विशाल र मत्त जंगली हात्ती भेटेछ र कुर्लिएछ,
"ए साले हात्ती, ल भन् त जंगलको राजा को हो ?"

हात्तीले केही नबोली सिंहलाई  सूँडले बेरेर हावामा फन्फनी घुमाएर फ्यालिदिएछ । भुइँमा पछारिएको सिंह सकीनसकी उठेछ, अनि ङिच्च हाँसेर भनेछ,
"एउटा सानो जनरल नलेजको प्रशन त सोध्या थिएँ नि, थाहा छैन भने छैन भने भै हाल्थ्यो नि । त्यस्सै कुटिहाल्नुपर्छ आर्कालाई?"