Translate

Friday, August 31, 2018

चारै जना एकै ठाउँ

अघिल्लो भागमा तपाईंले पढ्नुभयो

काठमाण्डौका चार प्रमुख दैनिक पत्रिकामा एकैदिन एउटै युवकका विभिन्न चार फोटा परिचयका साथ मानिस हराएको सूचना छापिन्छ त्यसले बजारमा ठूलै तरंग ल्याउँछ त्यस युवकलाई काठमाण्डौभन्दा निकै पर कुनै दुर्गम पहाडमा एउटा भरियाले अचेत गम्भीर घाइते अवस्थामा फेला पारेर स्वास्थ्यचौकी पु-याउँछ, जहाँ उसको उपचार सम्भव हुँदैन
संयोगवश सिनेमा छायांकनका लागि हेलिकोप्टर लिएर ठाउँ हेर्न आएका केही कुइरेहरू फर्किन लागेको हुनाले त्यस युवकलाई हेलिकोप्टरमा हालेर काठमाण्डौ पठाइन्छ डाक्टरले उसको शल्यक्रिया गरेर आन्तरिक रक्तस्राव रोकिदिन्छ प्रहरीले त्यस युवकको एउटा फोटोसहित विवरण वितरण गर्छ होसमा नआउँदै सर्वेश्वरराज कोइराला आफ्नो हराएको छोरा दाबी गर्न आइपुग्छ त्यसै वेला कामिनी विष्ट नामक युवती पनि त्यो युवक आफ्नो पति हो भन्दै आइपुग्छे

अबको कथा:

विनोद खड्काले आफ्नो अघिल्तिर उभिएकी सुन्दरी युवतीलाई हे-यो युवती आँखामा याचनाको भाव लिएर उसैलाई हेरिरहेकी थिई उसले प्रश्न -यो,

तपाईं को हो ?’
कामिनी विष्ट उहाँकी श्रीमती
इन्स्पेक्टर खड्काले आफ्ना आँखा चिम्सा पारेर युवतीमा फोकस गर्दै भन्यो,
एक मिनेट, तपाईंले पत्रिकामा आफ्ना श्रीमान् हराइरहेको भन्ने आशयको विज्ञापन छपाउँदा तपाईंको नाम छाया विष्ट थियो
हो इन्स्पेक्टर साहब मेरो खास नाम छाया हो सरकारी कागजपत्र सबैमा त्यही नाम तर, मलाई आफ्नो छाया भन्ने नाम मन पर्दैनथ्यो त्यो कुरा उहाँलाई थाहा थियो हाम्रो बिहेपछि उहाँले नै मायाले कामिनी भन्ने नाम दिनुभएको हो’ 
यति भन्दाभन्दै उसका ठुल्ठूला आँखाबाट मोतीका दानाजस्ता आँसुका केही थोपा टिलपिल गर्न थाले उनीहरूको कुरा सुनिरहेको सर्वेश्वरराज कोइराला अचानक बम्क्यो
ह्वाट् ननसेन्स
अनि लम्किँदै कामिनी विष्टतिर आयो कुर्लियो
त्यो मेरो छोरा हो राजेशराज कोइराला तिम्रो श्रीमान् भए तिमी मेरी बुहारी हुनुप-यो के तिम्रो ससुरा हुँ ?’
कामिनीले उसको आँखामा आँखा भिडाएर भनी
तपाईं को हो, चिन्दिनँ मलाई मतलब पनि छैन तपाईं किन मेरो श्रीमान्लाई आफ्नो छोरा भनिरहनुभएको भन्ने मलाई थाहा छैन

Tuesday, August 21, 2018

अन्धेर नगरी-चौपट राजा

फाफुराले समाचार सुन्ने र पढ्ने काम गर्दैन । न रेडियो, न टिभी अनि न पत्रपत्रिका । जति गरेपनि यो एउटा कुलत उसले लगाउनै सकेन के गर्नू ? यति सुन्नासाथ तपाईंहरुलाई अवश्य पनि लाग्यो होला फाफुराभन्दा बेकामको मानिस संसारमा मोबाइल फोनको बत्ती बालेर खोजे पनि पाइँदैन । किनभने समाचार नसुन्ने वा नपढ्ने नागरिक भनेको देशको लागि कलङ्क हो । त्यस्तो लागेको भए एकछिन फाफुराको अझ अर्को एउटा दुर्गुण पनि सुनिहाल्नुस् । उसलाई विशेषतः राजनीति र तिनका समाचारमा रुचि छैन । अब त तपाईंहरुलाई फाफुराको राष्ट्रियतामा नै शंका भयो होला । किनभने नेपाली हुनका लागि नागरिकतामात्र भएर पुग्दैन । राजनीतिमा अथाह रुचि हुनैपर्छ । चौबीसै घन्टा तिनै राजनीतिक गतिविधि, नेताहरुको भाषण, समर्थन, विरोध, गुणगान, गालीगलौज, देवत्वकरण वा दानवीकरण गरिएका समाचारमा भुल्ने, टीकाटिप्पणी गर्ने र आफ्नो विचार प्रकट गर्ने योग्यता पनि हुनुपर्छ । त्यति भएपछि मात्र आफूलाई पक्का नेपाली हूँ भन्न पाइन्छ ।

Monday, August 20, 2018

कामिनी विष्ट (हराएको मानिस भाग ६)

इन्सपेक्टर विनोद खड्काले गम्भीर मुद्रामा अस्पतालको बेडमा सुताइएको अचेत युवकलाई एकैछिन हेरिरह्यो । अनि छेउमा उभिएको डाक्टर धितालसँग सोध्यो,
‘केही पनि थाहा छैन यो मानिसको बारेमा ?’
ओठ लेप्य्राउँदै डाक्टर धितालले भन्यो,
‘नथिङ। उससँग आफ्नो परिचय खुल्ने केही कागजपत्र पनि थिएन। उसको अवस्था एकदमै खराब थियो। त्यसैले हामीले कुनै रिस्क लिन नसकेर तुरुन्तै अप्रेसन गर्यौं।’
अचेत र गम्भीर अवस्थामा अस्पताल ल्याइएको त्यस युवकको शल्यक्रिया सफल भएको थियो। डाक्टर धितालको लामो अनुभवका आधारमा उसलाई त्यस युवकको ज्यानचाहिँ बच्यो भन्ने लागिरहेको थियो। इन्सपेक्टर विनोदले डाक्टर धिताललाई पुलुक्क हेर्दै सोध्यो,
‘उसलाई कहिले होस आउला डाक्टर साहब ?’
‘ठ्याक्कै त म भन्न सक्दिनँ। तर सबै रिकभरी मैले सोचेअनुसार भयो भने सम्भवतः चाँडै।’
‘चाँडै भन्नाले ? कुनै टाइमफ्रेम ?’
‘बाह्र, चौबीस……छत्तीस वा अढ्चालीस घन्टा पनि हुन सक्छ। निश्चित त कसरी भन्नू।’

एम्बुलेन्स सेवा १०२ (हराएको मानिस भाग ५)

हेलिकोप्टर काठमाडौंतिर उडिरहेको थियो। पाइलटलाई मौसम बिग्रेला भन्ने डर थियो। यो वेला केही भन्न सकिन्न। तर, काठमाडाैं आइपुग्ने वेलासम्म मौसमले धोका दिएन। त्यो हेलिकोप्टरमा पाइलटबाहेक दुईजना कुइरे र एकजना कुइरी थिए।
अनि थियो, एउटा अचेत युवक। घोप्टेडाँडामा गाउँलेहरूले कतैबाट उद्धार गरेर ल्याइदिएको युवक। उसको अवस्था एकदमै नाजुक थियो। एउटा कुइरे किन्डलमा कुनै किताब पढिरहेको थियो भने अर्को बाहिर आकाश हेरेर टोलाइरहेको थियो। कुइरी वेलावेला सहानुभूतिपूर्ण आँखाले त्यस युवकलाई हेर्थी, मनमनै केही प्रार्थना गरेर छातीमा क्रस बनाउँथी।
‘सेभ हिम जिजस।’ 
उसको मुखबाट निस्क्यो। यात्रा अवधिभर कोही केही बोलेको थिएन। सबैको मन एकतमासको भइरहेको थियो। अब पाइलट हेलिकोप्टरमा भएको स्याटेलाइट फोनबाट १०२ नम्बरमा सम्पर्क गर्न खोजिरहेको थियो, निरन्तर। उसका एक विज्ञापन व्यवसायी मित्र रञ्जित आचार्यको पहलमा ‘नेपाल एम्बुलेन्स सेवा’ सञ्चालन भएको छ भन्ने उसलाई थाहा थियो।

Tuesday, August 14, 2018

गौरवगाथा

फाफुरा २४
तपाईंँहरुलाई झरी र बर्खा कस्तो लाग्छ ? फाफुरालाई त वर्षातको समय र यो झरीको मौसम भनेपछि कन्सिरी देखिका रौंहरु ठाडा भएर आउँछन् । ‘पानी परेको पनि मन नपराउने तँ फाफुरा कस्तो साइँदुवा होस्’ भनेर तपाईँहरु कुर्लिनु होला । खासमा झरी भनेको कारवाला, कवि, किसान र प्रेमीप्रेमिकाहरुका लागि मात्रै रमाइलो कुरो हो ।। उनीहरुका लागि मात्र यो मौसम प्रेरणदायी, उर्वर र उपलव्धिमूलक हो । फाफुराको लागि त वर्षा असाध्यै प्रत्युत्पादक हुन्छ । किनभने यो मौसममा रत्नपार्कको चौरमा टोपीले मुख छोपेर सुत्न सम्भव हुँदैन ।


आँपको रुखमा केरा फल्न सम्भव हुन  सक्छ, गूगल ब्वाइलाई गूगलले पेटेन्ट अधिकारका लागि करोडौं डलर ति¥यो भन्ने सम्भव होला । सगुन डटकमले फेसबुकलाई विस्थापित गर्न सम्भव होला । यो देश सम्बृद्ध हुनेछ भन्ने कुरा सम्भव होला । पानी जहाज र रेल चल्ने कुरा सम्भव होला । राष्ट्रपति सवारी हुँदा काठमाण्डौका सडक जाम हुन छाड्ने पनि सम्भव होला । अरु त अरु, बरु केपी ओलीले काँगे्रस प्रवेश गर्ने कुरा पनि सम्भव होला । तर रत्नपार्कमा टोपीले मुख छोपेर नसुती फाफुराको मगजमा कुनै फाईँफुट्टी फुर्ने सम्भव हुँदैन । त्यसैले फाफुरा यसपटक हाम्रो दैनिक आवत जावत र सवारीसंग सम्बन्धित काठमाण्डौ नरकपालिकाका केही विशिष्टताहरुका बारेमा भलाकुसारी गर्ने मूडमा छ । हाम्रो हिंडडुलको गौरवगाथा ।

काठमाण्डौे एउटा प्रजातान्त्रिक सहर हो । प्रजातन्त्रमा सबैलाई समान छुट हुनुपर्छ । त्यसैले यस नरकपालिकामा  बाटोमा हिंड्ने र गुड्नेहरुका बीच कुनै पनि भेदभाव हुँदैन । यहाँ फुटपाथबाट भटभटे गुडाउन पाइन्छ । त्यसको साटो फुटपाथ भएको वा नभएको ठाउँमा पनि पैदल यात्रीहरुलाई सडकको बीचमा मस्तसंग हिंड्न खुल्ला छुट प्रदान गरिएको छ । विदेशीहरुको हामी उच्च सम्मान गर्छाैं । त्यसैले दूतावासहरुलाई फूटपाथ ढाकेर पर्खाल लगाउन छूट दिइएको छ । सडक छेउमा पसल हुनेहरुले फुटपाथलाई आफ्नै बाउको बिर्ता सरह उपभोग गर्दै सामान फिंजाउन छुट दिइएको छ । सडकमा हिंड्दा दुई, तीन या चारजना पनि संगै हिंडेको भए बाटोतिर तेर्सो परेर हिंड्न पाइन्छ ।सैद्धान्तिक रुपमा हर्न बजाउन निषेध गरिएको भए पनि यस्तो अवस्थामा व्यावहारिक रुपमा कुनै बन्देज हुने छैन । मन लागिन्जेल प्वाँ प्वाँ गर्न पाइन्छ । त्यसको बदलामा बाटो ढाकेर हिंडिरहेका यात्रुहरुले सुनेको नसुन्यै गरेर हिंडिरहने,  फर्केर हेर्दै चालकलाई आँखा तर्ने,  माझी औंला देखाउने, आमाचकारी गाली गर्ने वा अवस्था हेरेर प्वाङपुङ बक्सिंग हान्नेसम्मका कारवाही गर्न पाउनेछन् ।

यहाँ सबै सवारी चालकहरुले नबिराइकन पालना गर्ने एउटै नियम छ । त्यसलाई ‘पपुटा’ नियम भनिन्छ । ‘पपुटा’ अर्थात् ‘पल्याक–पुलुक टाप’ । यहाँ कुनै पनि नियम भनेको ट्राफिक प्रहरीले देख्ने ठाममा मात्र पालना गर्ने कुरा हो । सजायँको डर नहुने ठाउँमा कसैले कुनै नियम मान्नुपर्ने कर छैन । सवारी चालकहरुले ‘पपुटा’ मान्छन् भने ट्राफिकहरु पनि अर्को नियम पालना गर्छन् भन्ने चाहिँ हेक्का राख्नुपर्छ । त्यसलाई ‘बपनि माजा’ भन्छन् । अर्थात ‘बल्ल प¥यो निरमाया माकुरी जालैमा’ । यो उनीहरुको प्रिय लोकगीतबाट लिइएको हो । उनीहरु पनि चालकहरुलाई नियम पालना गराउनभन्दा तिनीहरुलाई समात्न पाउनुमा बढी रमाइलो मान्छन् । त्यसैले उनीहरु बेलाबेलामा मौसम अनुसार फरकफरक कुरामा कडाइ गर्नेमा विश्वास गर्छन् । एउटा कुरामा कडाइ गर्ने अवधिमा अरु कुरामा मतलब गरिन्न । नम्बर प्लेटको अवस्था, सिट बेल्ट लगाए नलगाएको, लेन पेलेको, प्रदूषण पास गरेको नगरेको बारे जाँच गर्ने इत्यादि यो प्रवृत्तिको गौरवशाली उदाहरण हो । ‘बपनि माजा’ अन्तर्गत उनीहरु मोडमा, झाडीमा, अँध्यारो कुनामा, एकतर्फी बाटोको अन्तिम छेउमा माकुरीका लागि जाल बुनेर लुकेर बसेका हुन्छन् । हातमा चिटको प्याड र कलम हमेशा तयार अवस्थामा हुन्छ । यता जालमा सिकार प¥यो, उता उनीहरु बुर्लुक्क उफ्रेर चटक गरेजसरी उत्पत्ति भै हाल्छन् । त्यति थाहा पाएर पनि पुराना खेलाडीहरु ‘आज त म फेला पर्दिनँ’ होला भनेर ‘पपुटा–पपुटा’ खेलिहाल्छन् । बग्गीखाना जानुभयो भने त्यहाँ हरेक दिन जरिवाना तिरेर अनुमतिपत्र छुटाउन हुनेहरुको अपार भीड देख्नुहुन्छ । ती मध्ये कुनै महेन्द्र बाहुबली छाती फुलाएर भन्दै हुन्छ,
“यही महीनामा लेन पेलेर यहाँ आएको मेरो तेश्रो पटक हो ।”

लेन पेल्नेको भन्दा बढी इज्जत मापसे वालाको हुन्छ । मापसे कारवाहीमा परेर अनुमतिपत्रमा प्वाल पर्नु भनेको साथीभाईको बीचमा पौरुषताको बयान गर्ने कुरा हो । जसरी प्रहरीको काँधमा लाग्ने फुलीमा जति धेरै तारा लाग्दा ऊ त्यति नै ठूलो अधिकारी मानिन्छ, त्यसरी नै सवारी चालकहरुको अनुमतिपत्रमा जति धेरै प्वाल भयो, ऊ त्यति नै ठूलो ‘मर्द’ मानिन्छ । कुनै अमरेन्द्र बाहुबली अर्को सुरापानको पारखीलाई इख्याउँदै भनिरहेको हुनसक्छ,
“तपाईँको लाइसेन्समा जम्मा दुइटा प्वाल ? मेरोमा त चारवटा भैसक्यो ।”
सार्वजनिक यातानायातका सवारी चालकहरुको हकमा त यो सहर झनै बढी उदार र प्रजातान्त्रिक छ । अधिकांश त्यस्ता सिण्डिकेट ठूला नेता, तिनका आसेपासे वा तिनले पालेका डन भनिने गुण्डाहरुको हातमा हुने भएकाले तिनलाई जे गर्ने पनि छूट हुन्छ । त्यसैले सडकमा हिंड्दा वा सवारी चलाउँदा त्यस्ता सार्वजनिक सवारी साधनहरुसंग मानिस गोविन्द केसीको अनशन संग सरकार डराएभन्दा बढी डराउनुपर्छ ।

यो सहरमा जेब्रा क्रस र योग्य नेता दुबै उत्तिकै दुर्लभ वस्तु हुन् । हरेक स्थानमा बाटो काट्न जेब्रा क्रस बनाइदिन सम्बन्धित सरकारी निकाय कसैको बाबुको नोकर हैन । आवश्यकता हेरेर होइन, सडक विभागका कर्मचारीहरुले आफ्नो मूड अनुसार जनि गरेर कतैकतै त्यस्ता जेब्रा क्रस बनाइदिन सक्छन् । हुँदाहुँदा कतिसम्म त भने बाटोको दुबैतिर पर्खाल भएको ठाउँमा बनाइएका जेब्रा क्रसहरुका बारे समेत कसैले प्रश्न उठाउन पाउँदैन । कुनै दिन आकाशतिर फर्केको जेब्रा क्रस बनेछ भने पनि त्यसमा अचम्म नमाने हुन्छ । यदि तपाईँलाई हरेक बाटो काट्ने स्थानमा जेब्रा क्रसजन्य विलासिताको सोख छ भने बीस मिटरको कालो कपडामा सेतो धर्का पोतेर आफै काखी च्यापेर हिंड्नुहोला । जहाँ बाटो काट्नु छ, त्यहाँ फुकाएर पारीसम्म फैलाउनुस्, बाटो काट्नुस्, पारी पुगेर फेरि बेर्नुस् । आफ्नो जेब्रा क्रसको सुरक्षा आफै गर्नुहोला । जेब्रा क्रस भएको स्थानमा पनि त्यहींबाट बाटो काट्नुपर्छ भन्ने तानाशाही व्यवस्थाको काठमाण्डौ घोर भत्र्सना गर्छ । तपाईँको कारमा पो ब्रेक हुन्छ । ब्रम्हाले अझैसम्म ब्रेक हालेर मान्छे बनाएका छैनन् । मानिस अरु ठाउँबाट बाटो काट्न स्वतन्त्र छन् । त्यसै गरी सवारी चालकहरु पनि जेब्रा क्रसमा झनै गति बढाउन र बाटो काटिरहेकाहरुलाई पेल्न स्वतन्त्र छन् ।

कतैकतै जनि गरेर बनाइएका आकाशे पुलको सम्बन्धमा पनि लोकतान्त्रिक नियम लागू हुन्छ । तपाईँ हामीलाई अरु काम छैन र ? हाम्रो अमूल्य समय बीसौं खुड्किला चढ्न, पुल तर्न र फेरि त्यति नै खुड्किला ओर्लनमा खर्च गर्न थाल्यौं भने देश चाहिँ कसले बनाउँछ ? कहिले बनाउँछ ?  कसरी आउँछ सम्बृद्धि ? त्यसैले वटुवाहरु त्यस्ता पुललाई बहिष्कार गरेर सडकबाटै बाटो काट्न स्वतन्त्र छन् । हो, फुर्सद भएको बेला माथि चढेर तल गुडिरहेका गाडी हेर्न हामी त्यसको प्रयोग गर्न सक्छौं । नत्र त्यस्ता पुलहरु भनेको सामान फिंजाएर बेच्न बस्ने व्यापारीहरुका लागि सुरक्षित गरिएको मान्नुपर्छ । महानगरमा अर्को दुइटा कुराको पनि अभाव स्पष्ट अनुभव हुन्छ । एक, यहाँका मेयर । दुई सार्वजनिक शौचालय । त्यसैले आकाशे पुलका कुना च्यापेर लघुशंका गर्ने छुट पनि नागरिकहरुलाई दिइएको छ । साँझ बिहान घरका फोहोरहरु लगेर मिल्क्याउनका लागि पनि काठमाण्डौका सडक तथा खोलाहरु उपयुक्त स्थान हुन् । मन खोलेर यो सुविधाको उपयोग गर्न सकिनेछ ।

यहाँ गाडी किन्ने मानिसहरुले मात्र दुइवटा कुरा जाँच गर्ने चलन छ । हर्न बज्छ कि बज्दैन, अनि झ्यालको ऐना सजिलोसंग खुल्छ कि खुल्दैन । किनभने हाम्रो सबैभन्दा ठूलो आवश्यकता भनेको तारन्तार छिनछिनमा थुक्नु हो । पाँच या दश मिनेटमा एक पटक थुक्न पाएन भने हाम्रो गाथमा आराम हुँदैन । आफ्नो स्वास्थ्यको हेरचाह गर्नु हाम्रो अधिकार हो । त्यसैले पैदल यात्रु, मोटरसाइकल चालक वा चारपाँग्रे चालक सबैले कुनै पनि बेला दायाँ बायाँ नहेरी पिच्च पार्न सक्नेछन् । अगाडि गइरहेकोले त्यसरी थुक्दा तपाइँलाई प¥यो भने त्यो तपाईँको दोष मानिनेछ । किनभने त्यसलाई छल्ने पूर्वतयारी गर्न नसक्नु थुक्ने मानिसको दोष हैन । तपाईलाई त भगवानले अगाडि आँखा दिएकै छन् नि । उसको पछाडि आँखा छ र ? यसै गरी तपाईँ आफूले पनि थुकेर पछाडिको मानिसलाई पार्न सक्नुभयो भने हिसाबकिताब फच्या भएको मानिनेछ । सक्नु भएन भने तपाईको आफ्नो नालायकी हो । तसर्थ चाँडै नै ड्राइभिंग सिकाउने स्थानहरुमा थुक कसरी छल्ने भनेर पनि अभ्यास गराइने व्यवस्था हुँदै छ । भटभटे चलाउँदा चलाउँदै खल्तीबाट मोबाइल फोन निकाल्ने, गति कम नगरी चिम्सा आँखाले नम्बर हेर्ने र फोनलाई हेलमेटको चेपमा अडाएर आफ्नो अति महत्वपूर्ण वार्तालाप गर्ने अद्भूत कलाका लागि ओलम्पिकमा प्रतिस्पर्धा हुने हो भने स्वर्ण पदक नेपाली बाहेक अरुले चिहाउनै पर्दैन ।

राति सवारी चलाउँदा हाइ बिममै चलाउनु पर्छ । जसले जति माथि फर्काएको जति चहकिलो हेडलाइटल प्रयोग गर्न सक्यो, त्यो त्यति नै वहादुर मानिनेछ । उताबाट आउनेको आँखा तिरमिर पार्न सक्नु वीरताको द्योतक मानिनेछ । यसलाई नियन्त्रण गर्न खोज्दा वीर बत्ती बालकहरुको तर्क हुने गर्छ, ‘हरेक बाटोमा खम्बामा उज्यालो  बत्ती हाल्न सक्नुप¥यो नि त सरकारले ।’ यसलाई नजीर मानेर भोलिदेखि चोर र लुटेराहरुले प्रहरीले गस्ती नगरेका हरेक गल्लीमा चोरी र लूटपाट गर्न पाउने आफ्नो अधिकार पनि सुरक्षित गर्न सक्न्ेछन् ।

महानरकपालिकाका यी र यस्तै अरु विशिष्ट पहिचानहरुको बारे मनमनै गम्दै हिंडिरहेको फाफुराले मेलम्चीले खनेर छोडेको एउटा खाल्डो हेक्का गर्न सकेन । झरीको पानीले भरिएको खाल्टोमा च्यूँडोसम्म डुबेको फाफुरा सोच्दै थियो, संसारमा अरु कहाँ यस्तो प्राकृतिक ज्याकुज्जीको व्यवस्था भएको सहर होला र ? उसले मनको गहिराइदेखियहाँका नीतिनिर्माता, सम्बन्धित निकायहरु र विशेष गरी यस नरकपालिकाका सबैभन्दा ठूला पदाधिकारीलाई मुरीमुरी धन्यवाद दियो ।

Tuesday, August 7, 2018

तीर्थयात्री बिरालो

फाफुरा २३
फाइँफुट्टीराजको फाइँफुट्टीको खानी आजकल सुकेको छ । हुन त यो बर्सातको मौसम हो । यो बेलामा कुलेखानी समेत भरिन्छ । अरु त कुरै छाडौं, काठमाण्डौका बाटाघाटा समेत भैंसी खेल्ने आहाल हुन्छन् । ‘यस्तो सकारात्मक मौसममा तँ मुलाङ्खारे फाफुरोको चाहिँ खानी कसरी सुक्छ’ भन्नुहोला । फाफुरालाई नयाँनयाँ चिन्नुभएका विद्वानहरुले त्यसो भन्नु स्वाभाविकै हो । तर उसका पुराना पाठकहरुलाई थाहा छ, रत्नपार्कमा गएर टोपीले मुख छोपेर नसुती फाफुराको उर्वर मगज चल्दैन । विगत केही दिन देखि झरीले रोकिने नामै नलिएपछि फाफुराले वैकल्पिक उपाय नसोची कहाँ भयो र ? त्यसैले घोत्लिंदा घोत्लिंदै ऊ एक साँझ पशुपतिनाथ तिर पुग्यो । आर्यघाट पारीका खुड्किलाहरु चढेर फाफुरा माथि लाग्यो । त्यहाँ बस्नका लागि बनाइएका बेन्चीहरुमध्ये एउटामा उसले आफ्नो पुठ्ठो अडायो र ऊ पारीपट्टि मन्दिर हेर्न थाल्यो । ऊ गम्भीर चिन्तनमा मग्न भइरहेको थियो । उसको मगजमा कुनै उत्कृष्ट फाइँफुट्टी फुर्न मात्र के लागेथ्यो, छेउबाट एउटा सानो आवाज आयो र उसको ध्यान भंग भयो,
“म्याउँ.........”

फाफुराले पुलुक्क हे¥यो । एउटा बिरालो रहेछ । फाफुरालाई त्यससंग रिस उठ्यो । घूस खान टिक्क परेको कुनै खरदारले विशेष प्रहरीलाई देख्या जस्तै भयो । उसले छेउमा भएको एउटा छेस्का टिपेर त्यसलाई भगाउने ध्येयले हिर्कायो र भन्यो,
“भाग् फलान्थोक् बिरालो ।”
तर त्यो बिरालो भागेन । डराउन पनि पटक्कै डराएन । उल्टो मुसुक्क हाँस्यो र भन्यो,
“तिमी फाफुरा होइनौ ? म तिमीलाई चिन्छु नि । तिमीलाई यहाँ देखेर एक छिन कुरा गर्न आएको ।”
फाफुरा जिल्ल प¥यो । बोल्ने बिरालो पनि हुनसक्छ भन्ने कुरा उसले थाहा पाएको थिएन । हुन त फाफुराले वा तपाईँहरुले थाहा नपाएका कति कुरा हुन्छन् । दुई तिहाइ मत ल्याएर कम्निसले चुनाप जित्छ भन्ने कसलाई थाहा थियो ? त्यसरी जितेर बन्या सरकार पनि पाफुरा मात्रै हुन्छ, सिन्को भाँच्दैन र लूतो आएर खुइलिएको काउँरेस पार्टीले काम गर्न दिएन भनेर भन्छ भन्ने कसलाई थाहा थियो ? सय दिनमा काठमाण्डौको मुहार चम्काउँछु भन्ने मेयर सापले सयवटा खाल्टोसम्म पुर्न सक्दैनन् भन्ने थाहा थियो ? प्रधानमन्त्रीज्यूले ‘हाम्ले बना खाल्टो हो र हामीले पुर्ने ?’ भन्लान् भन्ने थाहा थियो ? त्यस्ता थाहा नभएका कुरा यस संसरामा कति छन् कति । त्यसैले आजकल फाफुरा केही देख्दा वा सुन्दा पनि अचम्ममा पर्दैन । उसले सहज रुपमा त्यस बोल्ने बिरालोलाई सोध्यो,
“यसरी बोल्न जान्ने बिरालो, को हौ तिमी ?”
बिरालोले छाती फुलायो र जुँगामा ताउ लगाउँदै भन्यो,
“बिरालो होइन फाफुरा, ध्यान दिएर हेर । म त म बाघ हूँ ।”
फाफुरा उसको कुरा सुनेर हाँस्यो । उसले त्यो बिरालोलाई भन्यो,
“हेर बिरालो भाइ, हुन त तिमी हेर्दा हृष्टपुष्ट नै देखिन्छौ । अझ भनौं भने तिमी आवश्यकताभन्दा बढी खाएको जस्तो डम्म परेका छौ । केही अघिको सोमालियातिरका मानिसले देख्या भए त तिमीलाई बाघै भन्ठान्थे होला । तर जति खाएर मोटाए पनि बिरालो त बिरालो नै हुन्छ । बाघ कहाँ हुन सक्छ र ? हो अलि मोटाएका अरु बिरालोलाई जस्तै तिमीलाई पनि आफू बाघ भएको भ्रम चाहिँ भएको हुनसक्छ । त्यो सुरमा तिमीले दुईचार दिन दुइचार जनालाई आफू बाघ हूँ भनेर झुक्याउन पनि सकेका थियौ होला । तर बिरालोले सँधै भरी सबै मान्छेलाई आफू बाघ हूँ भनेर कहाँ झुक्याउन सक्छ र ?”
फाफुराको तर्कशक्ति देखेर बिरालो कायल भयो । उसले ङिच्च हाँस्दै भन्यो,
“तिमीले ठीक भन्यौ फाफुरा । मोटोघाटो भए पनि म बिरालो नै हूँ । तर म साधारण बिरालो होइन बुझ्यौ ?”
फाफुराको दिमागमा एउटा आइडिया आयो । किन यसपटक यही असाधारण बिरालोको बहिर्वार्ता नलिनू ? उसले भन्यो,
“बिरालो भाइ, तिमीले भन्याथ्यौ, तिमी मलाई चिनेर कुरा गर्न आएका हौ । मलाई आफ्नो बारेमा केही भन न त । तिमी को हौ, यहाँ कसरी आइपुग्यौ ?”
बिरालो फुत्त उफ्रेर बेन्चीमा फाफुराको छेउमा बस्न आयो । लमतन्न परेर आङ तान्यो र बोल्न थाल्यो,
“म तीर्थ गर्न हिंडेको बिरालो हूँ फाफुरा । त्यही क्रममा आज पशुपतिनाथको दर्शन गर्न आएको हूँ ।”
फाफुरा झनै जिल्ल प¥यो । उसले सोध्यो,
“बिरालाहरु कहिले देखि तीर्थ यात्रा गर्न थाले हँ ?”
बिरालो धूर्त भावले हाँस्यो र भन्यो,
“मैले त तिमीलाई विद्वान भन्ठान्या थिएँ । तर तिमी पनि उही ड्याङको मूला रहेछौ कि क्या हो फाफुरा ? हरेक बिरालो मुसा खाएर अघाएपछि तीर्थ यात्रामा निस्कन्छ भन्ने कुरा तिमीलाई के तिमीलाई साँच्चै थाहा छैन ? कुन बिरालो कहिले अघाउँछ भन्ने मात्र फरक हो । कुनै जति खाए पनि अधाउँदैनन् । यो त संसारको पुरानै रीत हो नि । ”
उसको कुरा सुनेर फाफुरा साँच्चै गम्भीर भयो । हो त नि । एउटा निश्चित बिन्दुमा पुगेपछि सबै बिरालाहरु आफ्नो छवि सुधार्नेतिर लाग्छन् । किनभने बिरालाहरुलाई राम्रैसंग थाहा छ, हाम्रो स्मरणशक्ति छोटो छ । हाम्रो सहनशक्ति त्यति नै अपरम्पार छ । हामी जघन्य भन्दा जघन्य अपराध गर्ने जतिसुकै ठूला पापी र अपराधीहरुलाई पनि सहजै माफ गर्न सक्छौं । ठूलाभन्दा ठूला घाउ पनि सहन सक्छौं । जीवनभर घूस खाएर र भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको मानिसले एउटा सप्ताह लगायो भने ऊ चोखिन्छ । बेइमान भन्दा बेइमान व्यापारी पनि बिहानबिहान पशुपतिनाथ गएर ठूलो स्वरमा ‘जय शम्भो’ भनेर कराएपछि धर्मभीरु कहलाइन्छ । आफ्नो कार्यकालभरी गलत निर्णयहरु गरेर, व्यक्तिगत फाइदाका लागि काम गरेको कर्मचारी पनि अवकाश पछि एउटा आत्मकथा लेखाएर आफूलाई महान राष्ट्रसेवक भएको स्थापित गर्न सक्छ । फाफुराले बिरालोलाई सोध्यो,
“तिमीले अहिलेसम्म कतिवटा मुसा खायौ त बिरालो भाइ ?”
बिरालोले दाह्रा ङिच्चाउँदै भन्यो,
“ठ्याक्कै त कसरी भन्नू । कति खाइयो कति । हुन त म एक्लेलै खाएको होइन । अरु बिरालाहरु पनि मिलेरै खाएका हौं । तर हाराहारीमा म एक्लैले पनि नौ सयभन्दा कम त खाएको छैन ।”
“अनि तिमीलाई तीर्थयात्रामा हिंड्ने विचार चाहिँ कहाँबाट आयो त ?”
बिरालोले लामो सास फे¥यो र गम्भीर भएर भन्यो,
“हुन त मसंगका अरु बिरालाहरु अझै पनि सकृय छन् । उनीहरु भेष बदलेर अझै पनि मुसा खाइरहेका छन् । तर ममा अब पहिलेको जस्तो जोश र जाँगर छैन । एकदिन उनीहरुले मेरो घाँटीमा घण्टी बाँधिदिए । म छेउमा पुग्नु अघि नै घण्टीको टिङटिङ आवाज सुनेर मुसाहरु भाग्न थाले । त्यसैले मैले तीर्थयात्राको लागि यो भन्दा उचित अवसर अरु हुँदैन भन्ने निर्णय गरें ।”
“के आफ्ना पाप पखाल्नको लागि तिमीले तीर्थयात्रा शुरु गरेका हौ ?”
“हेर फाफुरा, पाप र पुण्यको बारे विवाद गर्न थाल्यो भने त त्यो अनन्त कालसम्म चलिरहन्छ । के पाप हो– के पुण्य ? तिमीले हेर्दा पाप भनेको कुरा मेरो लागि पुण्य हुनसक्छ । जहाँसम्म मुसाका कुरा हो, मैले नखाएको भए पनि त ती मुसाहरु चीरञ्जिीवि हुने थिएनन् । तिनीहरुको नियति नै त्यही थियो भन्ने बुझ । तर कुरा के भने, मेरा दाह्रा तथा नङ्ग्राहरु त ती मुसाका रगतले लतपतिएकै छन् । मैले जति पखालेर टिलिक्क पारे पनि मेरो अन्तरात्मामा त त्यसको रङ्ग त्यति नै गाढा छ । सुत्नेबेला म झलझली मैले खाएका मुसाहरुको अनुहार सम्झन्छु । ती मध्ये कतिका बाबु आमा थिए होलान्, कतिका लोग्ने थिए होलान्, कतिका छोरा थिए होलान् । भोकाएका साना छाउराहरुलाई दुलामा राखेर आहारा खोज्न निस्केका कतिपय बाबु मुसाहरुलाई मैले झम्टेर खाएँ होला । बाबुले आहारा ल्याउला र खाउँला भनेर कुरिरहेका तिनको बिचल्ली भयो होला । अहिले आफ्ना बच्चाहरु हेर्दा त्यो सबै सम्झेर म झसंग हुन्छु । हुन त हेर फाफुरा, म धर्म–कर्म, पाप–पुण्य, मन्दिर र तीर्थ जस्ता कुराहरुमा विश्वास गर्दैन थिएँ । अहिले पनि गर्दिन होला । तर अन्तरात्माको बोझले पिल्सिएपछि कहीं गए पनि, केही गरे पनि मन थाम्न नसकिने रहेछ । त्यसैले म तीर्थयात्रा गरेर हुन्छ कि के गरेर हुन्छ भनेर भौंतारिन थालेको हूँ । एउटा कुरा चाहिँ पक्का के हो भने फाफुरा, एक न एक दिन हरेक बिरालाहरुले मेरै नियति भोग्नेछन् । सबै बिराला कुनै न कुनै दिन तीर्थयात्रामा निस्कनेछन् ।”
फाफुराले उसको कुरा मनन गर्दै सोध्यो,
“के बिरालाले तीर्थयात्रा गरेपछि मुक्ति पाउँछन् त ? तिमी आफूलाई माफ गर्न सक्छौ त बिरालो भाइ ?”
बिरालोको अनुहारमा अन्यौलको भाव आयो । उसले भन्यो,
“मलाई थाहा छैन फाफुरा । तर अरु कुरामा जति विश्वास गरे पनि नगरे पनि कर्मको फल भोग्नुपर्छ भन्ने कुरामा चाहिँ विश्वास नगरी सुखै नहुने रहेछ । मैले पनि मेरो कर्मको फल यही जुनिमा भोग्नुपर्छ । त्यसैले म अत्तालिएको मनलाई सम्हाल्न हिंडेको हूँ । एउटा कुरा बुझिराख फाफुरा, जसले आफूलाई वहादुर देखाउन अरुको ज्यान मार्छ, त्योभन्दा ठूलो कातर अरु कोही हुँदैन । म आफ्नो कातरपनासंग डराएको छु । त्यसैले तीर्थयात्रामा निस्केको हूँ । यहाँका मठमन्दिर सबै भ्याएर म लुम्बिनी जान्छु । त्यहाँ गएर म मानवता, अहिंसा र शान्तिको सन्देश दिन शुरु गर्छु ।”
फाफुरा एकनास बिरालोलाई हेरिरह्यो । उससंग अब बिरालोलाई सोध्न कुनै प्रश्न बाँकी थिएन । बिरालो पनि एकतमासले पारी आर्यघाटमा खरानी भइरहेका दम्भहरुलाई हेरिरह्यो । एकदिन उसको र अरु सबैको नियति त्यही हो भन्ने उसलाई थाहा हुनुपर्छ । बिरालोले आङ्ग तन्क्यायो र भन्यो,
“ओके फाफुरा । इट वाज नाइस टल्किंग टु यू । थ्यान्क्स फर लिसनिंग ।”
बिरालो फुत्त बेन्चीबाट ओल्र्यो । एकपटक म्याउँ गरेर करायो । अनि नौ सय मुसाहरु खाएको अपराधले ग्रस्त बिरालो गह्रुँगो पाइलाहरु चाल्दै अँध्यारोमा बिलीन भयो ।



Sunday, August 5, 2018

कुइरेको जय होस् (हराएको मानिस भाग-४)

अन्ततः भरिया काइँलाले आफूभन्दा गह्रुँगो र अचेत मानिसलाई डोकोमा बोकेर त्यत्रो ठाडो र अजंगको पहाड चढ्यो। माथि पुग्दासम्म उसको फोक्सो त खलाँतीजस्तो भइसकेको थियो। उसका पिँडुला फत्रक्क भएर गलिसकेका थिए। माथि एउटा झ्याम्म परेको रुख थियो, जहाँ ऊ सधैँ सुस्ताउन रोकिन्थ्यो। तर, त्यस दिन उसले त्यो बिसौनी देखेन।
त्यसैको छेउमा कटुसको बोटको मुनि मूल फुटेको थियो। ऊ सधैँ त्यसको अमृतजस्तो मीठो र स्वादिलो पानी पिएर आफ्नो थकाइ माथ्र्यो। त्यस दिन त झन् उसलाई बेस्मारी तिर्खा लागेको थियो। तर, उसले त्यसको पनि वास्ता गरेन। किनभने उसलाई थाहा थियो, उसको डोकोमा भएको अचेत युवकको सास कुनै पनि वेला रोकिन सक्छ।

भरिया काइँला (हराएको मानिस भाग-३)

(‘हराएको मानिस’ शृंखलाको अघिल्लो दुई भागमा यहाँहरूले पढ्नुभयो, काठमाडाै‌बाट प्रकाशन हुने चारवटा विभिन्न प्रमुख पत्रिकाहरूमा एकै दिन चारवटा नाम र थर भएको एक युवक हराएको सूचना छापिन्छ । ती चारैवटा सूचनामा तस्बिरचाहिँ एउटै मानिसको हुन्छ । त्यसैकारण दिनभर त्यो चर्चा परिचर्चाको विषय बन्छ । सबैको जिज्ञासा एउटै हुन्छ । त्यो मानिस को हो ? एउटै मानिसको चारथरि फरक–फरक परिचय हुनु कसरी सम्भव छ ? त्यस्तो अनौठो मानिस एकैपटक किन हरायो ?
त्यसको पछाडि के रहस्य हुन सक्छ ? पक्कै पनि चारमध्ये तीन परिचय त गलत हुन् । उसको खास परिचय के हो त ? त्यो कुरा उसैले मात्र बताउन सक्छ । तर, ऊ त हराइरहेको छ । कहाँ होला त त्यो हराएको मानिस ? के ऊ ज्युँदै त छ ? भए के ऊ फेला पर्ला ?)

काठमाडाै‌बाट निकै टाढा कुनै एक दुर्गम पहाड ।
कोलाहलभन्दा निकै पर, सुन्दर प्रकृतिको काख । हेर्दा यस्तो लाग्छ, मानौँ स्वर्ग भनेकै यही हो । आकाश सफा छ, नीलो छ । विशाल आकाशमा विचरण गरिरहेका बादलका टुक्राहरू सिमलको भुवाजस्ता सेता, बेदाग र पवित्र देखिन्छन् । हरिया रुखहरू, अनेकौँ प्रकारका जंगली फूलहरू । आँखाले भ्याउन्जेल देखिने एउटा पहाडलाई ढाकेजस्ता अरू पहाडका पत्रहरू । चराहरूको चिरबिर । यस्तो लाग्छ मानौँ यहाँ कुनै समस्या नै छैन । तर, समस्या कहाँ हुँदैन र ?
एउटा अग्लोे पहाड र झ्याम्म परेका रुखहरूको बीचमा धागोजस्तो नागबेली बाटो देख्न सकिन्छ । त्यो पहाडको माथि पारिपट्टि सम्भवतः कुनै गाउँ हुनुपर्छ । बाटो कहिले घुमेर रुखहरूको बीचमा हराउँछ । अनि अचानक अलि तल फेरि प्रकट भएको देखिन्छ । विकट पहाडमा पनि मानिसले आफ्ना पाइलाहरू चाल्न कहाँ छोड्न सक्छ र ? त्यही बाटामा एउटा मानव आकृति देखिन्छ ।