Saturday, April 27, 2013

मन नपरेका साथीहरू


२०७० वैशाख १४ कान्तिपुर कोसेलीमा प्रकाशित

हामी आमाबाबु छान्न सक्दैनौं, दाजुभाइ वा अरू नातागोता छान्न सक्दैनौं । रमाइलो मेलामा हात खाली नजाने चिठ्ठा खेल्दा पुरस्कारको रूपमा जेजस्तो सामान परे पनि चुइँक्क बोल्न नपाएको जस्तो हुन्छ नातागोता । साथीहरू भनेको मात्र यस्ता हुन्, जो तपाईं आफ्नो मनले बनाउन पाउनुहुन्छ । तर नचाहँदा नचाहँदै पनि, फुट्या आँखाले देख्न नसकिनेहरूलाई साथी बनाउनुपर्ने अवस्था आयो भने कस्तो हुन्छ होला ? सुन्दाखेरी तपाईँहरूलाई पत्यार लाग्दैन होला । म पनि अरूले भनेको भए पत्याउन्नथिएँ होला । 

तर केही दिन भयो, अचेल मेरा दुईजना नचाहेको साथीहरू बनेका छन् । तिनीहरूसँग मेरो पूरै समय बितिरहेको छ । ती जुम्ल्याहा दाजुभाइहरूलाई राम्ररी चिन्ने प्रयासमा छु म । ठ्याक्कै एउटै अनुहारका छन् ती दुवै । काटीकुटी उस्तै, दुरुस्तै । यी दाजुभाइ यस्ता हुन्, अहिलेको मेरोजस्तो अवस्थामा तिनको साथ नभई मान्छेलाई सुख्खै छैन । तर पनि हरेक मान्छेको चाहना हुन्छ, तिनको संगत गर्नु नपरोस् । कुनै दिन तिनको भर पर्नुपर्ला भनेर मैले त चिताएको पनि थिइनँ । तर अचानक ती मेरो जिन्दगीमा आए । म चाहन्छु, चाँडोभन्दा चाँडो ती जसरी आएका थिए, त्यसरी नै भागून् । ती मेरा नयाँ साथीहरूको सहाराबिना आजकल म हिँड्न पनि सक्दिनँ । समयभन्दा अघि हिँड्नुपर्छ भन्ने मेरो अहिलेसम्मका मान्यताहरू यतिबेला चकनाचुर भएका छन् । म त समयसँगै पनि हैन त्योभन्दा धेरै पछि परिसकेको छु जस्तो लाग्न थालेको छ आजकल । ती साथीहरूले सहारा नदिने पनि हैनन् । तर त्यो सहारा लिएर मलाई पटक्कै खुसी लाग्दैन ।

Friday, April 19, 2013

यायावर : पुस्तक समीक्षा


akhijhyal.com बाट तानिएको

‘बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस, यी हातले संधै-संधै नेपाल लेख्न पाइयोस।’ अजङ्गको कपाल, चस्मेलु हेराइ, हातमा पेन्ट ब्रस, नाम थाहा नभएपनि यी म्युजिक भिडियोका पेन्टरलाइ मैले दशक पहिलेनै याद गरिसकेको थिएँ। समयको क्रमसंगै यिनलाई टेलिभिजनको पर्दामा देखिने क्रम निरन्तर रह्यो, घरि गीतको भिडियोमा नाचिरहेका, घरि कुनै कार्यक्रममा उद्घोषण गरिरहेका। विस्तारै फिल्म क्षेत्रसंग सम्बन्धित  खबरमा पनि यिनी देखिन थाले। राष्ट्रिय साप्ताहिकमा फन्को मारिरहेको अवस्थामा पनि यिनलाई धेरै भेटियो। विभिन्न रुपमार्फत समाजको गहिराइ नाप्न सफल यिनै बहुमुखी प्रतिभाका धनिले हालै आफ्नो अलग रुपको दर्शन गराए, ब्रजेश खनाल – याज अ नोभलिस्ट।
“पैसा त जसले जसरि पनि कमाउन सक्छ, धनि त त्यो हो जसले सम्बन्धहरु कमाउन सक्छ।” यायावरलाइ यिनै सम्बन्धका पाटा केलाइएको अभिव्यक्तिका रुपमा चित्रण गर्न सकिन्छ। उपन्यासको मुलपात्र वैकुण्ठ र उसकी श्रीमती जुनेलीबिच वैचारिक अभिव्यक्ति विहिन सम्बन्ध रहेको छ। किशोरावस्था देखिनै परिचित रहेता पनि घटना र परिस्थितिले उनीहरुलाई एकआपसमा अन्जान बनाएको छ। जीवनकालमा भोगेको एक बज्रपातबाट माथि उठ्न नसकेका यी दुइलाइ दशवर्षे द्वन्दका क्रममा हिंशा भोगेका वा परिवारजन गुमाएको शोकमा अझै मानसिक रुपमा छट्पटाइरहेका नेपालीहरुको प्रतिनिधि पात्रका रुपमा लिन सकिन्छ।
कालो राम पात्र समाजमा रहेका खबर चलन, व्यवहार र कुसंस्कारको उपज हो। हाम्रो समाजका ‘गब्बर सिंह’ वर्गको प्रतिनिधिका रुपमा उसलाई उभ्याइएको छ। विशेषत: अशिक्षा र अज्ञानतामा पिल्सिएको ग्रामिण समाजमा उ र उजस्तै पात्रहरुले आफ्नो धाक धक्कु प्रयोग गरेर निमुखा गाउँलेको नाजायज फाइदा उठाउने गरेका छन्। वैकुण्ठ-कालो राम भिडन्तलाइ अन्यायको पराकाष्ठा सहन नसकी प्रतिकारमा होमिएका शोषित वर्गहरुको आक्रोसको उपजका रुपमा चित्रण गरिएको छ।

नयाँ वर्ष

नयाँ शीशीमा खन्याएर पुरानै रक्सी
फेरि आएको छ नयाँ वर्ष
चियर्स भनेर गिलास जुधाउन
म बिर्सेर उसका पुराना आनीबानी
घुट्क्याइदिन्छु उसको सगुन
चररररररर गर्दै घाँटीदेखि पेटसम्म पोलेर जाने
उसका पुरानै वाचाहरू
अलिअलि रमरम बनाउँछ
अलिअलि झमझम बनाउँछ
अनि आशावादी म सोच्न थाल्छु
यसपालि त सुध्रेको जस्तो छ
नयाँ वर्षको अनुहार टाँसेर
कस्मेटिक सर्जरी गरेर आएको
यो पुरानै ढँटुवा

Tuesday, April 16, 2013

कहिले हीरो-कहिले भिलेन

A review by Janak Raj Sapkota published in Nepal New Magazine of April 14, 2013


रुसी साहित्यकार भ्लादिमिर नाभेकोभको उपन्यास लोलितामा प्रमुख पात्र छ, हम्बर्ट। अधबैँसे हम्बर्ट हरदम बचेखुचेको बैँस अनि ताकत यौन सन्तुष्टिमा खर्चिन्छ। तैपनि, उसको तिर्सना कहिल्यै मेटिँदैन। ब्रजेशको उपन्यास यायावरमा प्रमुख पात्र छ, बैकुण्ठे। उसको केटौले, जवानी र अधबैँसै उमेर यौनको अतृप्त कुण्ठामा बित्छ। चरम मनोरोगको सिकार भएको मुख्य पात्र बैकुण्ठेका अनुभूति, संवेग र आवेगहरू नै उपन्यासको कथा हो। मुख्य पात्रसँग फिल्मका कथामा झैँ अनेकन् पात्रहरू ठोक्किन आइपुग्छन्। हँुइकिरहेको बसको झ्यालबाट स्वाट्ट देखिने र हराई जाने दृश्यजस्तै पात्रहरू पनि उपन्यासमा देखा पर्छन्। उपन्यासको धागो भने बैकुण्ठेको मनभित्र गुम्सिएको अतृप्त यौन कुण्ठासँगै अगाडि बढेको छ। हम्बर्ट र बैकुण्ठे विपरीत धु्रवका पात्र हुन्। एउटा यौनका निम्ति मरमिेट्ने, अर्को यौनबाट पलायन हुने।

Monday, April 1, 2013

हामीले टाइ भिरेका छौं


एउटा पासो भिरेर आफ्नै गलामा
ऐना हेरेर गमक्क परेका छौं
हामीले टाइ भिरेका छौं
टाइले हामीलाई लाग्छ,
विशिष्ट बनाएको छ
टाइले हाम्रो व्यक्तित्वलाई
केही पत्र माथि चढाएको छ
त्यसैले त
टाइ लगाउनका लागि नसिलाइएका
कुच्चमुच्च परेका,
कलर नमिलेका कमेजमाथि नै पनि
करबलले गाँठो कस्द
हामीले टाइ भिरेका छौं ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...