Translate

Sunday, December 22, 2013

आफ्नै आङको डायनोसर

१२१ 

एउटा उखान छ नि, नाच्न जान्दैन आँगन टेढो । 
यसको सान्दर्भिकता जहिले जुन युगमा पनि त्यत्ति नै थियो र आज पनि छ । हामी मानिसहरुको एउटा अनौठो प्रवृत्ति हुन्छ, सकेसम्म आफ्नो जिम्मेवारीबाट पन्छिन मात्रै खोज्ने । कुनै कुरा राम्रो भयो भने त्यसको जस पाएसम्म आफूले लिने । बिग्रेका भत्केका कुराहरुको दोष जाति चाहिँ सकेसम्म आर्काको थाप्लोमा हालिदिने । कस्तो हाइसञ्चो हैन त ? यो कुरा व्यक्तिगत सम्बन्धदेखि लिएर सिंगो मुलुकलाई नै असर गर्ने कुराहरुमा पनि त्यत्तिकै लागू हुने गर्छ । सामान्यतया परिवारमा पनि कुरा गर्दा हामीले हेक्का गरेका छौं, सन्तानले कुनै राम्रो काम गरेको बेला बाबुआमाले भन्ने गर्छन्, “देखिस्, मेरो छोरा (छोरी) को काम ?” अनि त्यही सन्तानले कुनै नराम्रो काम गरेको बेला त्यो भनाई परिवर्तन भएर “हेर तेरो छोरा (छोरी)को कर्तूत ।” 

यो मानसिकता बडो अचम्मको हुन्छ । व्यक्तिगत सम्बन्धहरु बिग्रेका बेलामा आजसम्म तपाईंले कसैले मेरा यीयस्ता कमजोरीहरुका कारण यस्तो हुन गयो भनेर आत्मआलोचना गरेको विरलै मात्र देख्नुभएको होला । जहिले पनि बिगारका लागि अरुहरुका दोष मात्रै केलाउने गर्छन् मानिसहरु हैन र ? प्रेमीप्रेमिका, लोग्नेस्वास्नी, अभिभावक र सन्तान,  दाजुभाई, दिदीबहिनी, देउरानी जेठानी, देवर भाउजु वा साथीसाथी जो सुकै हुन् । हरेकसंग बिग्रेका कुराहरुका कारण प्रशस्तै हुन्छन् र ती अधिकांश अरुकै हुन्छन् । हरेक मानिसलाई आफू महान लाग्छ, असल लाग्छ । आफूले प्राप्त गर्न नसकेका उपलव्धिहरुका लागि अरु कोही पाएन भने कर्म, भाग्य, दशा र भगवानलाई समेत दोष लगाएर पन्छिन्छ मानिस । 

उसलाई यो पनि थाहा छ, आफैले आफैलाई कहिले पनि ढाँट्न सकिन्न । तै पनि त्यो असम्भव कुरा गर्ने एकोहोरो लिंडेढिपी मानिसले छोड्दैन । ऊ अरुलाई छलेको भ्रममा आफैलाई छलेर बाँचिरहन्छ । त्यसैमा मानिस खुसी पनि रहन्छ, रमाउँछ पनि । तर जति रमाए पनि भ्रमले उसलाई अन्ततोगत्वा त हानि नै गरिरहेको हुन्छ । उसका उन्नति र प्रगतिका बाटाहरु बन्द गरिरहेको हुन्छ । जबसम्म मानिसले आफ्नो आङको भैंसी नदेखेर अरुहरुको आङका जुम्राहरु खोजिरहन्छ, ऊ कहिले पनि उँभो लाग्दैन । अझ आजकलका मानिसहरु त आफ्नो आङको डायनोसर नदेखेर अरुहरुका आङको व्याक्टेरिया देखिरहेको हुन्छ । अनि उसलाई लाग्छ आफ्नो दृष्टि कति तीक्ष्ण छ ।

हाम्रो जीवनका हरेक पक्षहरुमा, हरेक ठाउँमा यही मान्यताले काम गर्छ । कार्यालयमा पस्रा गर्न नसकिएका कामहरु, समयमा बनाउन नसकिएका निर्णयहरु, सही समयमा बनाउन नसकिएका नीति नियमहरु, बेलामा पूरा गर्न नसकिएका योजना र निर्माणहरु सबैका लागि सम्बन्धित मानिस कहिले पनि जिम्मेवारीवोध गर्दैन । सरकारमा बसेकाले प्रतिपक्षीका दोषहरु देख्छन्, प्रतिपक्षीहरु सरकारको नालायकी केलाउँछन् । पछिल्ला केही वर्षहरुलाई केलाएर हेर्नुस् त, यो प्रवृत्तिका बग्रेल्ती उदाहरणहरु सुरसाको मुख जसरी आँ... गरेर हाम्रो सामु पसारएिका छन् । सँिवधान किन बनेन ? राजनैतिक स्थिरता किन हुन सकेन ? निर्माणका कामहरु किन अलमलमा परे ? भ्रष्टाचार किन नियन्त्रण हुन सकेन ? शान्तिसुरक्षा किन झन्झन् बिग्रेर गयो ? जो कसैलाई पनि यो प्रश्न गर्नुस्, उनीहरुसंग त्यसका लागि दोष लगाउनका लागि अरु मासनसहरु हुन्छन्, अरु कुराहरु हुन्छन् । तर जिम्मेवारीवहन भनेको कुन चराको नाम हो भन्ने हामीलाई थाहा छैन, कहिले पनि भएन । सानातिना देखि लिएर ठूला कुराहरुसम्ममा यही देखिन्छ । 

बाटोमा थुक्न हुन्न भन्ने कसलाई थाहा छैन ? घरको फोहोर सडकमा मिल्काउन हुन्न भन्ने कसले बुझेको छैन ? सवारीचाप भएको बेला गलत लेनबाट छिनै हुन्न, हर्न बजाउन हुन्न भन्ने कसलाई थाहा छैन ? बिसौनीमा बाहेक अन्त यात्रुवाहक गाडीहरु रोक्ने, चढाउने वा ओराल्ने गर्न हुन्न भन्ने कसले बुझेको छैन ? तर पनि विरामी बोकेको एम्बुलेन्सलाई समेत पेलेर वा रोकेर आफू अघि बढ्न थालेका छौं हाजकल हामी । हामीले यो क्रममा एउटा असाध्यै साधारण कुरा बिर्सिसेकेका छौं । एउटा एकदमै सजिलो कुरा गर्न छाडेका छौं । त्यो हो, आत्ममूल्याङ्कन ।

सोचेर हेर्नुस् त, आफूले आफैलाई नियाल्न जति सजिलो अरु केही छ त ? छैन, किनभने आफैले आफूलाई जति नजीकबाट अरु कसैलाई वा अरु कसैले चिन्न सक्दैन । मानिसले आफ्नो कमी कमजोरी केलाएन भने ऊ कहिले पनि परिष्कृत हुन सक्दैन । बामे सर्न सिकेपछि हिंड्न खोज्दा लड्ने बालकले आफू लड्नु अरुका कारणले हो भन्ने सोच्न थाल्यो भने ऊ कहिले पनि हिंड्न सक्दैन । जाँचमा फेल हुने बिद्यार्थीले त्यो गुरुको षडयन्त्र हो भन्ने ठान्यो भने यसले कहिले पनि विद्या आर्जन गर्न सक्दैन । कुनै टोलीले खेल हार्नुको कारण रेफ्रीको दोष हो भन्ने सोच्यो भने त्यसले कहिले पनि जित्न सक्दैन । चुनावमा हार्ने दलले त्यो हारको कारण देख्नै नचाहने हो र अरुका कारण मात्र आफू हारेको हो भन्ने ठान्यो भने त्यसले फेरि कहिले पनि जित्न सक्दैन । कमी नभएका मानिस, वर्ग, समुदाय, वाद, चिन्तन केही पनि हुँदैन । त्यसलाई ठम्याउनै सकिएन भने हटाउने कुरा नै आँउदैन । 

त्यसैले हामी सबैले आफ्नो उत्तरदायित्व के हो भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यसो भयो भने मात्र हामी आत्ममूल्याँकन गर्न सक्छौं,  जिम्मेवारी वोध गर्न सक्छौं अनि भूलसुधार गर्न सक्छौं । तर हैन, हरेक हुन नसकेका कुराहरु अरुलाई मात्रै दोष थोपर्ने, वास्तविकताबाट सके जति पर मात्र भाग्ने प्रवृत्ति आफू भित्र पाल्यौं भने, त्यसले हामीलाई नै हानि गर्छ, अरुलाई हैन ।

Sunday, December 8, 2013

विश्वकप - हामी आउँदैछौं

बायाँ फन्को १२० 

अन्ततः हामी समस्त नेपालीको साझा सपना साकार भएरै छाड्यो । नेपालले ट्वेण्टीट्वेण्टी क्रिकेटको विश्व कप खेल्ने नै भयो । यो एउटा यस्तो सपना थियो, जसमा कुनै शर्त र सम्झौता थिएनन् । जसमा कुनै जाति, वर्ग, समुदाय, वाद वा कुनै पनि पूर्वाग्रहको अंश पनि थिएन । समस्त नेपालीले उकमुष्ट, एकसाथ र एक मनले देखेको सपना र गरेको प्रार्थना थियो । हाम्रो क्रिकेट खेलाडीहरुले त्यो पूरा गरिदिएर हामी माथि तिरिनसक्नुको रिन र बिर्सिनसक्नुको गुन लगाइदिएका छन् । तुलनात्मक रुपमा हामीभन्दा निकै सम्पन्न र सक्षम राष्ट्रहरुले प्राप्त गर्न नसकेको यो उपलव्धि सजिलोसंग कहाँ प्राप्त भएको हो र ? त्यसका लागि हामी मैदानमा उत्रेर विजयी भएका हाम्रा खेलाडीहरु प्रति नतमस्तक हुनु पर्छ, भएका पनि छौं ।

अचानक सबै क्रिकेटको कुरा गर्न थाले । साराका सारा कुराहरु मानौं क्रिकेटसंग जोडिन थाले । यसका क्रममा केही उल्लू कुराहरु समेत भए । एउटा टेलिभिजन च्यानलले त मूर्खताको सीमा पनि नाघ्यो । उसका अनुसार नेपाल केही समय देखि कीर्तिमानहरु कायम गर्न थालेको छ रे । भर्खर सम्विधान सभाको दोश्रो चुनाव सम्पन्न भएर एउटा कीर्तमान बनेको हो रे । किनभने संसारमा एउटा सम्विधान सभा असफल भएर लगत्तै अर्को चुनाव भएको सम्भभवत यो पहिलो रेकर्ड हो रे । त्यससंगै विश्वकप क्रिकेटमा छानिएर मुलुकले अर्को कीर्तिमान कायम गरेको छ रे । कसरी त्यो लज्जास्पद असफलता र यो गौरवमय सफलता एकआर्कासंग सम्बद्ध भएर समाचार बन्न सक्यो भन्ने कुरा मैले चाहिँ बुझ्न सकिनं । 

लामो समय देखि राजनीतिक अन्यौल र अस्थिरताका कारण देश ओरालो लागेको टुलुटुलु हेरिरहेका आम्रा आँखाहरुमा एउटा ठूलो उपलव्धिको चमक आएको छ । हाम्रा वरिपरिका हरेक कुराहरुमा अवन्नति बाहेक केही देखिएको थिएन । देश चलाउँछु भन्नेहरु सबै आआफ्नो स्वार्थ र आआफ्नै फलिफापका लागि मात्र केन्द्रित भएका कारण जनताले चाहेका कुराहरु सम्भाव्यताको घेराभन्दा क्रमशः परपर हुँदै गएका थिए । सम्विधान निर्माणका लागि खन्याइएको विपुल धनराशि वालुवामा खन्याएको पानी सरह भएको थियो । अझ यसमा समय र सपनाको पनि हिसाब गर्ने हो भने त त्यसको कुनै लेखाजोखा नै गर्न सकिन्न । हामीले खेर फालेको समयको मोला कति हो ? हाम्रा सपनाका भाउ लगाउन सक्छ कसैले ? पछिल्लो लामो समय देखि हामी भित्रैबाट प्रसन्न हुन पाएका थिएनौं । हाम्रो त्यो अभावलाई पूरा गरिदिएको छ क्रिकेटको यस उपलव्धिले । नकारात्मक कुराका लागि मात्रै अन्तर्राष्ट्रिय समाचारमा स्थान पाइरहेका हामीलाई अचानक सुखद कारणका लागि चर्चित बनाएको छ नेपालको विश्वकपको छनौटले । 

गम्भीर रुपमा सरकारी निकायहरु नलाग्दानलाग्दै, सीमित श्रोत र साधनहरुका तगारोहरु पन्छाउँदै, आवश्यक भौतिक पूर्वाधाहरु नहुँदानहुँदै पनि प्राप्त भएको यो सफलताका लागि अब जस लिनेहरुको लर्को लाग्ला । क्यानको भूमिका र श्रीलंकाली प्रशिक्षकको लगन आफ्नो ठाउँमा छँदैछ, तर सत्य कुरा त के हो भने यो सबै हाम्रा खेलाडीहरुको आत्मविश्वास र आम नेपाली जनताहरुको कामनाका कारण सम्भव भएको हो । विश्वकपमा त पुग्यौं, तर त्यहाँँभन्दा तल नझर्नका लागि, अझ अघि बढ्नका लागि हाम्रा सामु थुप्रै चुनौतीहरु छन् । अबको समय भनेको त्यसमा गम्भीरतापूर्वक सोच्ने हो । असम्भव केही पनि छैन भन्ने कुरा हाम्रा क्रिकेटरहरुले छर्लङ्ग बनाइदिएका छन् । उनीहरुको यो होस्टेमा अब हैंसे थप्नका लागि राज्यपक्ष गम्भीर हुनैपर्छ । मुखले शुभकामना दिने भन्दा पनि बढी कामले गरेर देखाउने बेला भएको छ । यो लेखुन्जेलमा राष्ट्रिय खेलकूद परिषदले खेलाडीहरुलाई प्रति व्यक्ति दश लाख पुरस्कार प्रदान गर्नका लागि सरकार समक्ष प्रस्ताव पेश गरिसकेको छ । यसलाई सकारात्मक रुपमा लिएर पहिलो पाइला मान्नस पर्छ ।

हामीले अनुत्पादक कामहरुमा थुप्रै रकम खर्च गरिसकेको छौं । त्यो रकमको थोरै मात्र प्रतिशत पनि क्रिकेटका लागि खर्चिने हो भने यसले हामीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा गौरव र सफलता दिन्छ भन्ने कुरामा कुनै दुईमत नै हुन सक्दैन । सबै भन्दा महत्वपूर्ण अर्को कुरा के हो भने, क्रिकेटलाई राजनीतिबाट टाढा राख्नुपर्छ । 

यहाँ नेर एउटा प्रसंग सान्दर्भिक हुन्छ । दश वर्ष जति अघिको कुरो हो । मैले चिनेजानेका एकजनाका छोराले क्षेत्रिय स्तरको केही प्रतिस्पर्धामा क्रिकेट खेलेको हेर्ने अवसर पाएको थिएँ । हुन त म क्रिकेटको विशेषज्ञ हैन तर उसको खेल, गति र कौशल हेर्दा कसैले पनि ऊ अरु भन्दा भिन्न र सशक्त भएको कुरा बुझ्न सक्थ्यो । नभन्दै उसको प्रदर्शनहरुबाट प्रभावित भएर पन्ध्रवर्ष मुनिका खेलाडीहरुका लागि क्रिकेट संघले उसलाई छानेको पनि थियो । उसमा पनि क्रिकेट प्रति अथाह लगाव थियो । तर उसले त्यसलाई निरन्तरता दिन पाएन ।  उसका अभिभावकले उसलाई क्रिकेट खेल्न दिएनन् । अहिले ऊ कुनै विदेशी मुलुकमा इन्जिनियरिंगको पढाइ गरिरहेको छ । 

तसर्थ क्रिकेटको पूर्वाधार र निरन्तरताका लागि नीति बन्नु पर्छ, विद्यालय जीवनबाटै खेलाडीहरुलाई अभिप्रेरित गरेर नयाँ प्रतिभाहरु जन्मने वातावरण बनाउनुपर्छ । त्यसो भयो भन अभिभावकहरुलाई पनि डाक्टर इन्जिनियरवा अरु कमाउ पेशा बाहेक क्रिकेटर भन्ने पनि सम्मानजनक कार्य हो भन्ने बिश्वास दिन सक्नुपर्छ ।

निस्सन्देह अहिलेको हाम्रो टीम सबैभन्दा उत्कृष्ट लयमा छ । तर हामीले स्पष्ट देखेका छौं, हाम्रा कमीकमजोरीहरु के के हुन् । उपलव्ध सुविधाको तुलनमा ती नगण्य हुन् । तर यसभन्दा अघि बढ्न हामीले ती कमजोरीहरु सुधार्नुपर्छ । त्यसमा लागि सम्वन्धित सबैले यस खेललाई गम्भीरतापूर्वक लिनुपर्छ । यस कुरामा कुनै राजनीति नहोस् र भावी पुस्ता पनि यो राष्ट्रिय गौरवको कुरामा होम्मिने वातावरण बनोस् । अहिलेको लागि हाम्रो प्रमुख प्राथमिकतामा यो खेल परोस् । 

Sunday, November 24, 2013

कलियुगका कालिदासहरु

बायाँ फन्को ११९

कालिदासको कथा तपाईहामी सबैलाई थाहा नै छ । त्यसैले त्यो दोहो¥याएर तपाईहरुको समय खेर किन फ्याल्नु ? तर यहाँ आज कालिदासलाई सम्झिनु पर्ने कारण चाहिँ अर्कै छ । कालिदास कथा र किम्बदन्तीमामा मात्रै सीमित रहेनन् । रगतको थोपाथोपाबाट एकएक वटा अर्को दानव जन्मिने रक्तवीज जस्तै आजको हाम्रो समयमा पनि कालिदासहरु छ्याप्छ्याप्ती जन्मिएका छन् र हाम्रो वरिपरि देखिएका छन् । फरक कति मात्र हो भने, त्यो युगको कलिदास अज्ञानताका कारण आफू बसेकै रुखको हाँगो काट्थ्यो भने आजका कालिदासहरु जानीजानीकनै आफ्नो हाँगो काटिरहेका छन् । यो चाहिँ बडो उदेकलाग्दो कुरो हो । किन यसो गरिरहेका छन् त कलियुगका कालिदासहरु ? 

आजका कालिदासहरु ज्ञान विवेक र सूचनाको प्रचुर विकास भएको युगमा बाँच्छन् । उनीहरुलाई कुन कुरा सही र कुन कुरा गलत हो भन्ने राम्रैसंग थाहा छ । तर त्यति हुँदाहुँदै पनि जेजे कुराहरु गर्न हुँदैन, उनीहरु त्यहीत्यही कुराहरु गरिरहेका छन् । लिंडेढिप्पीको कुरामा यिनलाई जित्न सक्ने कोही छैन । कलियुगका कालिदासहरु अरुको कुरा सुन्दैनन्, स्पष्ट देखिएको कुरालाई पनि नकार्छन् र विवेकहीनताको नयाँ मापदण्ड कायम गर्न कटिवद्ध रहन्छन् । आफ्नो कुकर्मले अरु कथि मानिसहरुलाई प्रभाव पारेको छ भन्ने कुराहरुप्रति यिनीहरुलाई पटक्कै पनि चासो हुँदैन । दिग्भ्रमको सिकार भएर शक्तिले मैमत्त हुन्छन् कलियुगका कालिदासहरु । 

यस क्रममा उनीहरुको चर्चा हुन्छ र त्यो चर्चामा उनीहरु रमाउँछन् । उनीहरुले के बिर्सन्छन् भने, चर्चा देउताको जत्ति नै दानवको पनि हुन्छ । एउटा मानिसको विचार वा आचरणले अरु ठूलो वर्ग र जमातलाई प्रभाव पार्ने गर्दछ भने त्यसको चर्चा हुनु स्वाभाविक हो । तर त्यो प्रभाव सकारात्मक हो कि नकारात्मक भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ र विवके भएको मानिसले त्यसको हेक्का गर्नुपर्छ । कलियुगका कालिदासहरुलाई चाहिँ चर्चा भए पुग्छ । उ आफ्नो भ्रमकै घेरामा यसरी रुमल्लिएको हुन्छ, उसले ती दुइको बीचको भिन्नता देख्दैन, बुझ्दैन ।

दुर्भाग्यको कुरा के हो भने, हाम्रो वर्तमान त्यस्तै कलिदासहरुले भरिएको छ । जतात्यतै उनीहरुको बाहुल्य छ । कुनै एउटा क्षेत्रमात्रै हैन । तर ती सबैलाई छोडेर अहिलेको राजनैतिक परिप्रेक्ष्यमा कुरा गर्दा चाहिँ सबैभन्दा ठूला कालिदासहरु त्यहीं छन् कि भन्ने लाग्छ । तिनीहरु मध्ये पनि अहिले कुरा गर्दा बन्दको नाममा आम मानिसहरुको जीवन कष्टकर बनाउनेहरुलाई सम्झिनुपर्ने हुन्छ । जुनसुकै कारण् देखाएर, जेसुकैका लागि भनिए पनि यस्ता बन्द आह्वान गर्नेहरुले जनताको सराप मात्रै खाइरहेका हुन्छन् । त्यसले उनीहरुको भएको जति लोकप्रियतालाई पनि धमिरा लगाइरहेको हुन्छ । उनीहरु प्रति सहानुभूति राख्न्ोहरु पनि वाध्य भएर उनीहरुका विरोधी बन्न पुगिरहेका हुन्छन् । कोही प्रत्यक्ष वा कोही अप्रत्यक्ष होलान्, फरक त्यति मात्रै हो । विद्यार्थीहरु स्कूल कलेज जान नपाउँदा, कर्मचारी कार्यालय जान नपाउँदा, व्यवसायीहरु काममा हिंड्न नपाउँदा, विरामी अस्पताल जान नपाउँदा र दैनिक मजदूरी गरेर पेट पाल्नुपर्नेहरुको आय बन्द हुँदा कुन समस्याको समाधान हुन्छ भन्ने उनीहरुले बताउन सक्छन् ? किन आम मानिसको स्वतन्त्रतापूर्वक हिंडडुल गर्ने हकमाथि अंकुस लगाउन चाहन्छन् उनीहरु ? राज्यले कर्फयू लगाउँदा त्यो तानाशाही हुन्छ भने कुनै पनि राजनीतिक दलले घोषणा गर्ने बन्द, जर्बस्ती, आगजनी र तोडफोड चाहिँ प्रजातान्त्रिक अभ्यास कसरी हुन सक्छ ? आफूलाई प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक वा अरु केही भन्न चाहनेहरुले आफ्नो अधिकार उपभोग गर्दा अरुको अधिकार किन कुण्ठित गर्छन् ? बन्द घोषणा गर्न उनीहरु स्वतन्त्र छन् भने त्यसलाई टेर्न वा नटेर्न जनता स्वतन्त्र हुन नपाउने ? आफ्नो बन्दलाई नटेर्नेलाई सहिष्णुतापूर्वक लिएर सम्मान गर्न सक्ने हो भने तिनलाई जनताले नतमस्तक भएर अभिभवादन गर्नेछन् । 

हो समस्या देख्न सक्नुपर्छ तब न त्यसको समाधान सम्भव हुन्छ । तर रोग चिन्दैमा कुनै चिकित्सक राम्रो हुँदैन । अझ झन् रोग चिनेर गलत उपचार गर्न खोज्ने चिकित्सक त झनै डरलाग्दो हुन्छ । त्यस्तै समस्या देखाएर त्यसको साधान भन्दै अझ बढी समस्या निम्त्याउने अर्थहीन उपाय सुझाउने र जबर्जस्ती अरुलाई त्यो अवलम्वन गर्न लगाउन खोज्नेहरुलाई के भन्नू ? 

तर चारतिरबाट उनीहरुको यो क्रियाकलापको विरोध र भत्र्सना हुँदा पनि जानीजानी आफूलाई किन कोही अलोकप्रिय बनाउन खोज्छ ? त्यसको पछाडि के कारण हुन सक्छ ? जनताको लागि राजनीति गर्छु भन्ने तर जनताकै जीवन कष्टकर बनाउने कार्य कसैले गछनर्् भने हामीले के बुझ्ने हो ? के उनीहरुलाई जनताको कुनै मतलब छैन ? उनीहरु राजनीतिको नाममा अरु नै केही गरिरहेका छन् ? त्यो कारण के हुनसक्छ भन्ने कुरा केलाउने काम चाहिँ विज्ञ पाठकहरुकै हातमा सुम्पिन चाहन्छु । जसको हितका लागि भनेर उनीहरु डुक्रिन्छन्, तिनैलाई मारमा पारेर आत्मरतिमा रमाउँछन् भने हामीले बे बुझ्ने ? उनीहरुले हामीलाई बुझाउन खोजेको कुरो के हो ? दिन खोजेको स्पष्ट संकेत के हो ? के उनीहरुलाई जनता चाहिँदैन, जनताको समर्थन पनि चाहिँदैन ? जनताको बीचमा आफ्नो छवि के बनिरहेको छ भन्ने कुरासंग उनीहरुलाई वास्ता छैन ? आफैले काटिरहेको हाँगा उनीहरुको पनि टेको अडाउने ठाउँ हैन र ? त्यो हाँगा काटिएर खस्यो भने उनीहरु पनि भुईंमा खस्छन् भन्ने उनीहरुलाई थाहाह छैन र ? हैन त्यो सबै उनीहरुले बुझेका छन् र पनि यस्तो क्रियाकलाप गर्छन् भने उनीहरु भन्दा ठूलो को होलान् त कलियुका कालिदासहरु ?  

Tuesday, November 12, 2013

बन्द छ रे

अलि पहिले जनआन्दोलनको बेला कर्फ्यु लागेको भोलिपल्ट अप्रिल ८, २००६ कान्तिपुर दैनिकमा प्रकाशित कविताको केही अंश अहिलेको बन्दको लागि पनि मिल्दो हुने रहेछ । कर्फ्युलाई बन्द मात्र बनाउँदा यस्तो हुनेरैछ।


निकै दिनदेखि
नै
बन्द हुन्छ रे भन्थे
तर खै त
पहाडले धेरै बेर छेक्न सकेन
कालो आकाशलाई च्यातेर
उज्यालोको किरण छरेर
घाम त उदाएरै छोड्यो।
बन्दले घामलाई  छेक्न नसक्ने रैछ।
 
भन्नेहरूले त बन्द छ रे,
ननिक्लनु है भन्थे
तर खै त चराहरु त
चिरविर चिरविर गर्दे
झुण्ड झुण्डमा
चारो खोज्न उडेरै छोडे
बन्दले भोको पेटको उडानलाई
रोक्न नसक्ने रहेछ। 

Sunday, November 3, 2013

आशाको अंश

११८

केही समयअघिको एउटा रमाइलो प्रसंग छ। एक जना मित्र घरको खोजीमा भौँतारएि। त्यस क्रममा उनले निकै घर हेरे पनि। त्यही क्रममा एउटा घर हेर्न उनीसँग म पनि पुगेको थिएँ। धापाखेलको नयाँबस्तीमा बनेको त्यो घर ललितपुरतिरका शाक्यजीले बनाएका रहेछन्। घर देखाउने क्रममा उनले निष्कपटता र सरलताको अचेल हतपती देख्न नपाइने उदाहरण पनि देखाए। त्यो अनुभव मेरा लागि निकै सुखद रह्यो।

Monday, October 28, 2013

दिल्ली डायरी

पशुपतिको जात्रा सिद्राको व्यापार

यसपटकको दशैं दिल्लीमा बित्यो । गएको अक्टोवर ६ देखि १५ सम्म म भारतको राजधानी नयाँ दिल्लीमा थिएँ । म राजनीतिसंग गोरु बेचेको नाता पनि नभएको मान्छे भएर मात्र हो, नत्र चुनावको हल्लाको बेला दिल्ली भ्रमणको अर्कै अर्थ लाग्थ्यो होला । म त उपचारको लागि गएको थिएँ । हुन त राजनैतिक तीर्थयात्रा, दर्शन र आशीर्वादका लागि जाने हाम्रा नेताहरु पनि भन्नेबेला त उपचारै भनेर जाने गर्छन् क्यारे । तर म भने रहरले भन्दा पनि बढी बाध्यताले उता हान्निएको थिएँ । पछिल्लो नौ महीनादेखि कहिले अलि कम र कहिले बढी दुखेर मलाई सताइरहेको घुँडाको उपचारका लागि । 


अक्टोबर ६, २०१३

त्रिभुवन विमानस्थलमा दिल्ली जानका लागि हवाइजहाज चढ्न कुर्नेहरुमा अधिकांश नेपालीहरु देखिए । तिनमा पनि अधिकांश स्वास्थ्य उपचारका लागि नै जानेहरु हुँदा रहेछन् । दुई नेपाली परिवारको बीचमा बडो रमाइलो सम्वाद सुन्न पाइयो,

दिल्ली ?

हजूर ।

ए... कुन अस्पताल ?

मानौं उपचारका लागि नै दिल्ली जाने हो भन्ने कुरा स्थापित सत्य हो । अकिकति जटिल समस्या हुनासाथै हामी दिल्ली नै जानु पर्ने हाम्रो नियति देखेर नरमाइलो लाग्यो । म जस्तै ती अरु मानिसहरु पनि रहरले नभै वाध्यताले दिल्ली जान लागेका थिए होलान् ।

मैले काठमाण्डौबाट नै अपोलो र मेदान्तमा इमेल गरेको थिएँ । आफ्नो समस्या, नाम, उमेर, लिंग सबै कुरा खुलाएर । अनि यहाँका रिपोर्टहरुले भनेका कुराहरु पनि टाँसिदिएको थिएँ । दुबै ठाउँबाट त्यसको जवाफ आएको थियो । मेदान्तका मानिसले मलाई डियर म्याडम भनेर सम्वोधन गरेका थिए । अनि बाह्र वर्ष रामायण पढायो, सीता कसकी जोई भने झैं तपाईंको समस्या विस्तृत रुपमा लेखेर पठाउनुहोला भन्ने अनुरोध पनि थियो । त्यसैले मैले मेदान्तको नाम हटाइदिएँ । जहाँका मानिसले मेरो सबै वर्णन भएको इमेल हेरेर मलाई म्याडम भन्छन्, अनि समस्या के हो भनेर सोध्छन्, तिनकहाँ उपचार गराउन मलाई ईच्छा नै लागेन ।

तसर्थ मेरो गन्तव्य सरिता बिहार स्थित इन्द्रप्रस्थ अपोलो थियो । त्यहाँकी रेखा नायर नामक सम्पर्क अधिकृतसंग फोनमा पनि कुराकानी भैसकेको थियो । उनले त्यसै दिनका लागि अर्थोपेडिक डाक्टरसंग समय मिलाइदिएको र बस्नका लागि पनि अस्पतालको ठ्याक्कै अगाडि सेवा सदन भन्ने ठाउँमा बन्दोवस्त भएको बताएकी थिइन् । नभन्दै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानघाटमा अपोलो अस्पतालका मान्छे हामीलाई लिन आएका थिए । उनी नेपाली नै रहेछन् । तर अचम्मको कुरा के भने आफूलाई पोखराको भन्ने तिनलाई नेपाली भाषामा चाहिँ कुरा गर्न चैं आउँदैन रे । उनका साथमा अरु दुइ जना गैर नेपालीहरु पनि थिए । उनले हामीलाई निकै बेर कुराएपछि मैले रेखा नायरसंग कुरा गर्न चाहें । उनले आफ्नो मोबाइलमा सम्पर्क गराए । लौ जा, अब रेखा नायरले डाक्टरसंग भोलिपल्ट मात्र समय भएकोले त्यस दिन होटलमा जान भनिन् । ती नेपाली कर्मचारीले सेवासदनमा कोठा नभएकोले अर्कै कुनै होटलमा लैजान भनेर बल्लबल्ल एउटा भाडाको गाडी मिलाएर हामीलाई चढाए । अनि आफू पछि उतै आउँछु भनेर आफ्ना साथीहरुसंग अर्को गाडी चढे । मसंग मेरा दुइ छोरीहरु पनि थिए । सिआइडी र क्राइम पेट्रोल हेरेर तर्सिएको दिमाग न पर्‍यो, मैले ड्राइभरलाई सेवा सदन नै लैजान भनें ।

सेवा सदन अधिकांश उपचारार्थ आउने नेपालीहरुले नै भरिएको हुँदोरहेछ । सफा, सुग्घर र सस्तो हुनाले कोठा पाउन चाहिँ गाह्रो । नाम लेखायो भने पनि दुइतीन दिन पछि पालो आउन सक्ने । उपचारका लागि अपोलो आएका बाहेक अरुलाई चाहिँ बस्न दिंदैनरहेछन् त्यहाँ । जाँडरक्सी वा मापसे त पूर्ण रुपले वर्जित । हामीले साँच्चै त्यहाँ त्यसदिन बास पाएनौं । रेखाले खै किन हो त्यहाँ केही भनेकी नै थिइन रहेछ । वेटिंग लिष्टमा नाम लेखाएर उनीहरुले नै सुझाएको अर्को होटल तिर लाग्यौं । त्यो चाहिँ अपोलोबाट २ किमी जति टाढा रहेछ । सेवा सदनमै गाडी लिएर लिन आए । होटलबाट अस्पताल पनि बिहान उनीहरुले नै पुर्‍याइदिने रे । शुल्क चाहिँ सेवा सदन भन्दा निकै बढी । यस्तो बेलाका लागि उनीहरुकै भाषामा एउटा भनाइ छ नि,

मरता क्या न करता ?

काम केही नभएकोले साँझ इण्डिया गेट तिर बरालिएपछि मैले दिल्लीमा बस्ने मेरी मित्र पमी सिंहलाई फोन गरें । कलेजमा संगै पढेका हामी लामो अवधिपछि फेसबुकले भेटाएर नजीक भएका थियौं । बेलुका उनले बोलाएको होटल ताजमहलमा हामी भेट्यौं । खानपीन पछि उनको घरमा बस्न जाने आग्रहलाई विनम्रतापूर्वक अस्वीकारेर हामी छुट्टियौं । उनैले हामीलाई हाम्रो गुँडसम्म पुर्‍याइदिइन् ।

अक्टोबर ७, २०१३

“बेटा, ये कहाँ से लिया तुम नें ?”

अनुहारभरी हजारौं चाउरीका मुजाहरु थिए ती बृद्ध महिलाका । सिन्का जस्ती थिइन् उनी । पहिले त मैले उनले के भनेकी हुन् भनेर बुझिनं तर उनका उदास आँखाहरु मैले टेकेका बैशाखीहरुमा गडेका देखे पछि उनले तिनै बैशाखीका बारेमा सोधेकी हुन् भनेर बुझें ।

बिहान पाँच बजे उठ्नासाथै चिया खानु पर्ने बानीको तलतलले म चायवाला ठेला खोज्न निस्केको थिएँ । उताबाट आइरहेकी ती बृद्धा भेटिएकी थिइन् ।

मैले उनलाई त्यो बैशाखी नेपालबाटै लिएर आएको कुरा बताएँ । उनले लामो सास फेरेरे भनिन्,

“मेरो छोरोको दुर्घटनामा परेर खुट्टा नराम्ररी भाँचिएको छ । उसलाई पनि यस्तै चाहिन्छ भनेका छन् । धेरै महँगो हुँदो रहेछ । मेरो औकातले किन्न भ्याउँदैन ।”

मेरो मन अमीलो भयो । तर मैले सहानुभूति भन्दा बढी उनलाई केही दिन सकिनं ।

“कोइ बात नहीं बेटा ।”

उनी आफ्नो बाटो लागिन् । त्यतिबेला मलाई भोलिपल्ट डाक्टर जँचाएर दुइ चक्की ओखती खानासाथ मेरो नौ महीनाको दुखाई चटक गरे जसरी बिसेक हुन्छ भन्ने कुरा के थाहा । त्यसको अलिकति पनि पूर्वानुमान भएको भए म त्यो बैशाखी उनलाई दिएर पठाउँथे ।

त्यस दिन बिहान नौ बजे फोन गर्दा छिनछिनमा फरकफरक कुरा गर्ने रेखा नायरको चालादेखि वाक्क भइयो । अब आफ्नै सुरमा लाग्नु पर्ला भनेर अस्पताल गयौं । अपोलोमा विदेशी विरामीहरु पनि निकै नै आएका हुँदा रहेछन् । विशेष गरी नाइजेरियाका विरामीहरु । कतिसम्म त भने उनीहरुले एउटा नाइजेरियनलाई त जागीरै दिएर राखेका रहेछन् ।

म खुरुक्क नाम दर्ता गरेर डाक्टर भेट्न गएँ । डाक्टर टण्डन भन्ने वरिष्ठ हाडजोर्नी विशेषज्ञ मेरो भागमा परेका थिए । वा उनको भागमा म परेको थिएँ । अपेक्षित नै थियो, उनले सबै कुरा सुनेर एमआरआइ, पिसाब र रगतका टेष्टहरु गरेर भेट्न आउन भने । अनि तीन दिनका लागि भनेर बिहानबेलुका खान एउटा ओखति लेखिदिए । मैले उनलाई के त्यो एण्टी इन्फ्लेमेटरी ओखती हो भनेर सोधें । उनले समर्थन जनाए पछि मैले भनें, “मैले काठमाण्डौमा थुप्रै त्यस्ता ओखति खाइसकें र केही पनि फरक पर्दैन त्यसले ।”

उनले मुसुमुसु हाँस्दै भने, “एकपटक यो पनि खाएर हेर्नुस् न । थोरै मात्राको लेख्द्या छु ।”

एमआरआइको लागि त्यस दिन समय मिलेन । कि त कोही समय लिएर आएनन् भने घुसौंला भनेर कुरेर बस्नुपर्ने भो, कि अर्को दिन । हामी नकुर्ने भयौं । डाक्टर टण्डनले दिएको ओखति भने मैले किनेर खाएँ । त्यसको एक घण्टामै चमत्कार गरे सरह मेरो घुँडो दुख्न छोड्यो । म नौ महीनामा पहिलोपटक बिना पीडा आरामले हिंड्न थालेको थिएँ । कस्तो अचम्म । अनि हामीले आगरा र जयपुर बरालिने निर्णय ग¥यौं । कनट सर्कलमा एउटा पहिले चिनेको ट्राभल एजेन्सी खोज्न हिंडेको, मरे भेटिएन । पन्ध्र वर्ष अघिको कुरा थियो, के थाहा बन्द नै भैसकेको पो हो कि ? एउटा अर्को एजेन्सीसंग कुरा मिलाइयो । उसले एउटा गाडी र त्यहाँ लोकल गाइडहरु पनि उपलव्ध गराउने भयो । ड्राइभरलाई फर्केपछि स्वेच्छाले दिने टिप र खानपीन बाहेक अरु सबै खर्चको एकमुष्ट हिसाब भयो । आगरा र जयपुरमा एकएक रात चार देखि पाँच तारे होटलमा राख्ने बन्दोवस्त पनि त्यसमा थियो । उसले गाडी पनि देखायो, राम्रो थियो । भोलिपल्ट हामीलाई टिप्ने ठाउँ बताएर हामी फेरि होटल फक्र्यौं ।

अक्टोबर ८, २०१३

बिहान भनेको समय भन्दा ढीला गरेर गाडी आयो । उही कम्पनीको उही मोडल भए पनि देखाएको भन्दा अलि थोत्रो थियो त्यो गाडी । यस्ता सानातिना कुराहरुमा चाहिँ तलमाथि गर्ने उताकाहरुको पुरानै बानी हुन्छ । हुन त पाएसम्म उताकाहरुलाई पनि यता आएको बेला लटरपटर पार्ने त दुइ देशको गौरवशाली परम्परा नै हो । डाक्टर टण्डनलाई पनि नेपनल आएको बेला मनकामना घुमाउने बेला यहाँको कुनै एजेन्सीले राम्रैसंग ‘चुना’ लगाएको थियो रे भन्दैथे ।

नयाँ बनेको यमुना एक्सप्रेस हाइवेबाट गएको भए १६५ किलोमिटरको बाटो दुइ तीन घण्टामा पुगिने आगरा हामीलाई मथुरा र कृष्ण भगवान जन्मेको स्थान देखाउने भन्दै पुरानो बाटोबाट लगेका कारण पाँच घण्टा बढी लाग्यो । शशि पाल नाम गरेको ड्राइभर चाहिँ ज्ञानी मान्छे थियो । म उससंग कुराकानी गर्दै बाटो कटाउन थालें । आगरामा हामीलाई गाइड कुरिरहेको थियो । टेप रेकर्डर चलेको जसरी घोकेका कुराहरु सुनाउँदै उसले हामीलाई पहिले लालकिला घुमायो । हामी थाकेका थियौं । ताजमहल जानु अघि होटलमा गएर नुहाइधुवाइ गर्न भ्याइन्छ कि भन्ने जिज्ञासामा उसले ढुक्क हुँदै भन्यो, “साढे ६ बजेसम्म ताजमहलको ढोका खुल्छ । चिन्ता नै नगर्नुस् ।”

तर जब हामी त्यहाँ ६ बजे पुग्यौं, थाहा भयो, टिकट बिक्री साढे ५ बजे नै बन्द हुने रहेछ । गाइडले घैंटे हान्यो, “टिकट बिक्रीको समय दिनदिनै फरक हुन्छ । हिजोसम्म साढे ६ थियो ।”

मैले उसको हूर्मत लिएँ, “हामीलाई घाँस खाने भन्ठान्या ? थाहा थिएन, झुक्किएँ भने भै हाल्यो नि । किन गफ लगाउनू ?”

उसले ङिच्च हाँस्दै खीस निपोर्‍यो । उनीहरुको भाषामा त्यसलाई खीसें निपोरना भन्छन् ।

अक्टोबर ९, २०१३

भोलिपल्ट बिहान सखारै हामी ताज महल पुग्यौं । थोत्रो टेपरेकर्डर फेरि चल्न थाल्यो । मुमताज महलको बारेमा उसले भन्यो, “ह्वेन शी वाज डाइड, शी क्लोज्ड हर आइज फाँर एभर एण्ड शी वाज वान्ली थर्टी टू ।”

एक हिसाबले राम्रै भयो । ताजमहल कि त बिहान सूर्योदयमा कि सूर्यास्तमा हेर्नु सबैभन्दा राम्रो मानिन्छ । धेरै वर्ष पहिले ताजमहल मध्यान्हमा हेरिएको थियो । यसपटक बिहानीका किरणहरुले ताजमहल चुमेको दृश्य हेर्दा साँच्चै अनुपम नै पो हुँदोरहेछ । त्यसपछि ताजमहल र आगरासंग विदा माग्दै जयपुर तिर लागियो । हामी हिंड्ने बेला गाइड कानदेखि कानसम्म ङिच्च हाँस्दै कपाल कन्याउन थाल्यो, “सर आइ एक्सपैक्ट साँम टिप ।”

मेरा त कन्सिरीका रौं ठाडा भए । यति तोर्पे थियो त्यो गाइड, जसलाई ताजमहलको ढोका कतिबजे बन्द हुन्छ भन्नेसम्म थाहा थिएन । मैले उसको सबै कुरा ट्राभल एजेन्सीसंगै मिलाइसकेको छ भनेर कन्चीदाम झारिनं । टिप भनेको उसको कामबाट सन्तुष्ट भए पो दिने कुरा हो ।

त्यहाँबाट हिंडेपछि हाम्रो ड्राइभर त चुइँक्क बोल्नै छाड्यो । कालो मुख लगाएर गाडी हाँकिरह्यो । मैले कुरो बुझिहालें । दिल्लीको गाइडलाई सुक्को नझारेको हुनाले उ निराश भएको हुनुपर्छ । कस्तो मख्खीचूसको फेला परियो भनेर उसको मूड खराब भएको हुनुपर्छ । उसको टिप बाहेक अरु सबै कुरा एजेन्सीलाई दिएको छ भन्ने कुरा मैले उसलाई सुनाएँ । अचानक उसको अनुहार फेरि उज्यालो भयो र बाटोभरी उसले ट्राभल एजेन्सीको मालिकको कुरा काट्यो । कसरी थोरै पैसामा धेरै दलाउँछ भनेर मनभरीका भडास निकाल्यो उसले ।

“मेरो टिप पनि उसैले हिसाबमा नहालेको राम्रो भयो । नत्र उसले तपाईंसंग लिएकोमध्ये आधाको आधा पनि मलाई दिन्न्थ्यो । के गर्नुू, ड्राइभरहरुको कम्पिटिसन छ, मैले केही भने कि अर्को मान्छे पाइहाल्छ । तपाईं आफै विचार गर्नुस् यो महँगो सहरमा तीन हजारको तलबले म कसरी बाँच्छु होला ।”

उसले मलाई चनाको झ्याङमा चढाउन खोज्दै सोध्यो, “तपाईंको आफ्नो सहरमा त बिएमडब्ल्यू गाडी छ होला हगि सर ?”

म केही बोलिनं, नसुनेझैं गरेर टारें ।

जयपुरको गाइड चाहिँ अलि गतिलो थियो । इतिहासमा एमएसम्म पढेको जेके सिंह नामक त्यो गाइडले हामीलाई त्यस साँझ निकै रमाइलोसंग त्यहाँको प्रख्यात हवा महल, मानसिंह सवाइले बनाएको अमेर किल्ला र जलमहल आदि घुमायो । जयपुरको सुन्दरता र भव्यताले वास्तवमै मन्त्रमुग्ध बनायो । अमेर किल्ला भएको पहाडको वरिपरि मानसिंहले आफ्नो सुरक्षाका लागि विशाल पर्खाल बनाएका रहेछन् । गाइडले छाति फुलाउँदै भन्यो, “दिस इज द ग्रेट वाल अफ जाप्पुर ।”

त्यहाँका स्थानीयहरु जयपुरलाई जाप्पुर भन्दा रहेछन् ।

साँझ उसैको सल्लाहमा राजस्थानी लोकगीतका साथ स्थानीय खाना खाने एउटा रेष्टूराँमा गएर खाइयो । गायक स्थानीय गीतहरु गाउँदै थिए । मैले केसरिया बालम भन्ने राजस्थानको लोकगीत फर्माइस गरें, जसलाई उनले बडो मीठोसंग सुनाए । त्यहाँको प्रख्यात लोकगीत त्यहींको वातावरणमा सुन्नुको आनन्द नै अर्कै थियो । हाम्रो गाइडलाई बरु केसरिया बालमको कथा थाहा रहेनछ । मैले अलिअलि सम्झेको भरमा र अलिअलि फुलबुट्टा भरेर उसलाई त्यो सुनाइदिएँ ।

बाल्यकालमा आगोले पोलेर अनुहारको एउटा भाग बिग्रेकी गरीव परिवारकी रुक्मी अत्यन्तै सुन्दर युवती हुन्छे । तर ऊ आफ्नो अनुहारको जलेको भाग सँधै घुम्टो भित्र लुकाउँछे । सम्पन्न परिवारको एउटा चित्रकार रनवीरले कल्पनाको भरमा बनाएको सुन्दर युवतीको चित्र ठ्याक्कै रुक्मी जस्तो छ । एक दिन उसले रुक्मीलाई देख्छ र अचम्म पर्छ । ऊ रुक्मीलाई मन पराउन थाल्छ र उनीहरुको बिहे हुन्छ । बिहे अघि रुक्मीले आफ्नो वास्तविकता बताएर लेखेको पत्र कसैले रनवीरको हात पर्न दिएको हुन्न । सुहागरातमा उसको जलेको अनुहार देखेपछि रनवीर आफूमाथि धोका भएको ठान्छ । यसैको सेरोफेरोको यो कथा सुनेर गाइड पनि दंग प¥यो ।

त्यहाँबाट होटल फर्कने बेला रात परिसकेको थियो । एउटा चोकमा ट्राफिकले हाम्रो गाडी रोक्यो । ड्राइभरले हाइ बीम बालेको रहेछ । जयपुर सहरमा राती हाइबीम बालेर गाडी चलाउन नपाइने रहेछ । हामीकहाँ त हाइबीमको त कुरै छोडौं, एउटा साइडको बत्ती नबल्ने पनि आरामसंग चलाउन पाइन्छ । उसले ड्राइभरलाई ओराल्यो । उनीहरुको बीचमा लेनदेनको मोलमोलाइ हुन थाल्यो । एकै छिनपछि आएर शशि पालले खुइय गर्दै भन्यो, ”दो सौ रुपये खा गया ।”

उसको गल्तीले त्यो पैसा गयो भन्दा उसलाई नोक्सानी हुन्छ रे । त्यसैले उसले योजना बनायो, “म एजेन्सीको मालिकलाई ड्राइभरको यूनिफर्म र नामपातो नभएको भनेर तिरायो भन्छु । तपाईंलाई सोध्यो भने हो भन्दिनुहोला है सर ?”

मैले हुन्छ भनें । बिचरा होटलको पैसा बचाउनका लागि रातभरि गाडीमै सुत्दोरहेछ भन्ने मैले थाहा पाइसकेको थिएँ । एजेन्सीको मालिक भनाउँदो मानिस चाहिँ बेस्मारी रगत चुसेर पट्ट फुट्न लाग्या लामखुट्टे जस्तो थियो । अनुहारका कणकणमा फट्याँइ प्रष्टै देख्न सकिने ।

अक्टोबर १०, २०१३

बिहानै जयपुरका पूर्वराजाको दरवार घुमेर सकाएपछि हामी दिल्ली फक्र्यौं । हामी काठमाण्डौका एक जना परिचितले सुझाएर पठाएको करोल बागको एउटा होटलमा बास बस्यौं । यत्रो दौडधूप गर्दा पनि मेरो घुँडा पटक्कै दुखेको थिएन । नौ महीनामा बल्ल दुखाइ मुक्त हुनुको आनन्द म बयानै गर्न सक्दिनथें । त्यो दुइ चक्की औषधि र त्यो दिने डाक्टर टण्डनलाई मैले धेरै पटक मनमनै साधुवाद भनें । भोलिपल्ट अपोलो गएर एमआरआइ र अरु टेष्टहरु गर्ने निधो भयो ।

अक्टोबर ११, २०१३

बिहानै देखि घनघोर मेघ गर्जनका साथ ठूलो पानी पर्‍यो । आफ्नो पुरानो बानी अनुसार बिहान झिसमिसेमा म फेरि त्यहाँको चोकमा चायवाला ठेला खोज्न निस्कें । होटलबाट अलि पर मूल सडकमा एउटा बूढा मान्छे तात्तातो चिया बनाइरहेको थियो । दिल्ली पुलीसको एउटा जीप रोकिएको थियो र एक जना भूँडे मोटे सब इन्सपेक्टर चिया खाँदै थियो । मैले पनि चिया मागें । सब इन्सपेक्टरले आफूले चिया खाइसकेर जीपमा भएको केतलीमा पनि चार पाँच कप चिया भर्न लगायो र गयो । भनिरहनु नपर्ला, न बूढाले पैसा माग्यो, न उसले नै दियो ।

मैले चिया खाइसकेर खल्तीमा हात घुसारें । लौ जा, मसंग त भारु रहेनछ । अब के गर्नु ? मैले अप्ठ्यारो मानेर उसलाई त्यो कुरा भनें । नजीकैको आफू बसेको होटलको नाम पनि लिएँ । उसले निस्फिक्री भएर भन्यो, “कोइ बात नहीं साहब । बाद में आ कर दे देना ।”

म उधारो चिया खाएर होटल फर्कें । पानी झन्झन् दर्कन थाल्यो, बेस्मारी मेघ गर्जिरहेको थियो । त्यस दिनका लागि सब काम थाँती राखेर दिन होटलमै बिताइयो । बंगालको खाडी माथि झण्डै आधा भारतको आकारको आँधीका कारण मौसम अप्रत्यासित रुपमा खराब भएको हुनाले दिल्लीमा बेमौसमी पानी पर्न थालेको थियो । त्यही आँधी सरेर नेपाल तिर छिरेका कारण यहाँ हिले दशैं भएको थियो । त्यस दिन साँझ पमीले आफ्नो घरमा खाना खान बोलाएकी थिइन् । हामी करोलवागबाट मेट्रो चढेर कनटप्लेसको राजीव चोकमा र त्यहाँबाट फेरि सेक्रेटरियाटमा स्टेसन बदल्दै जंगपूरा अवस्थित उनको घर गयौं ।

दिल्लीको मेट्रो मैले कल्पना गरेको भन्दा राम्रो थियो । अरु कुरामा जे भए पनि त्यसलाई चाहिँ अहिलेसम्म चिटिक्कै पारेर राखेका रहेछन् । चढ्ने ओर्लने ठाममा घच्चमघच्चा गर्ने बानी छोड्न नसके पनि अरु कुरामा भने मेट्रो राम्रो थियो । त्यसमा र त्यसको स्टेसनमा थुक्नेहरुलाई सीधै २०० रुप्याँ जरिवाना हुने कारणले होला, भारत भ्रमणमा  जतात्यतै देखिने पानका थुकहरु देखिएनन् मेट्रोमा । हामीले यहाँ पनि जथाभावी थुक्नेहरुलाई जरिवाना गर्ने हो भने त थुप्रै रावश्व उठ्छ होला ।  मेट्रोमा जति नै भीड र धक्कामुक्की भए पनि मेरो बैसाखी देख्नासाथ मानिसहरू सीट खालि गराएर बस्न दिइहाल्थे । यो कुरामा उनीहरू सभ्य र सुसंस्कृत रहेछन् । आरामले बस्न पाउँदा रमाइलो लागे पनि सिटमा 'केवल विकलाङ्गों के लिये' लेखेको देख्दा नरमाइलो लाग्थ्यो । एउटै कुराले पनि रमाइलो र नरमाइलो दुबै हुन सक्दोरहेछ कहिलेकहीं ।

पमीका पति इन्दरजीत सिंह, छोरी गुञ्जन र छोरा अभिराजले हामीलाई प्रदान गरेको आत्मीयताको बयान गर्ने कुनै शव्द नै छैन । हुँदाहुँदा पढ्नका लागि लण्डनमा बसेकी उनकी अर्की छोरी तेजल पनि स्काइपमा हामीसंग अत्यन्त नजीक हुन पुगिन्, एकदमै छोटो समयमा । उनीहरुको आतिथ्यले गर्दा विरानो सहर पनि अचानक आफ्नै घर जस्तो पो लाग्न थाल्यो ।

हामीलाई पनि त्यहीं राख्न कर गरिरहेका थिए उनीहरु । तर मेरो अस्पतालका कागजहरु सबै होटलमा भएका कारण हामी होटल जानै पथ्र्यो । भोलिपल्ट अस्पतालमा दिन बित्ने हुनाले पमीले हाम्रा छोरीहरुलाई भने उनकै घरमा राखिन् ।

“यिनीहरुको जिम्मा मेरो ।”

पमी र इन्दरजीत आधा रातमा हामीलाई होटल पुर्‍याउन आए । त्यतिमात्र हैन पमीले भोलिपल्ट अस्पतालबाट फर्केर होटल जान नपाइने र उनकै घरमा बस्नु पर्ने उर्दी पनि बडो स्नेहका साथ सुनाइन् । त्यति धेरै आत्मीयतालाई नकार्न सकिने सम्भावना नै रहेन । पैसा जसले पनि कमाउन सक्छ, तर धनी त्यो हो जसले सम्वन्धहरु कमाएको हुन्छ भन्ने मेरो मान्यता अझै बलियो भयो । अचम्मको कुरा त के भने, इन्दरजीत बच्चुकैलाशका फ्यान रहेछन् । गीतसङ्गीतका पारखी र शौखिन पनि । बच्चुकैलाशको टाढाटाढा जानु छ साथी भन्ने गीत त आफ्नो गाडीमा हरदम बजाउने गर्दा रहेछन् । उनी भन्दै थिए,

“मैले यति ओजपूर्ण, मीठो र सधिएको स्वर कि मन्ना डेको सुन्या छु कि बच्चुकैलाशको ।”

बच्चुकैलाशले गाउन छोडेको धेरै भयो भन्ने कुरा मैले सुनाएँ । खिन्न भएर उनले भने,

“तपाईंले उनलाई भेट्नु भो भने त्यसो नगर्न भन्नुहोला । बच्चुकैलाशले यदि एउटा मात्र हिन्दी गीत गाए भने पनि पूरै भारत पिटेर खान्छन् । उनी चाहन्छन् भने म उनको हिन्दी गीत रेकर्डिंगको सम्पूणै जिम्मेवारी लिन तयार छु ।”

त्यसो भयो भने क्या रमाइलो होला भन्ने सोच्दासोच्दै मैले सम्झें, बच्चुकैलाश कति जिद्दी छन् । उनले अब आएर, त्यो पनि हिन्दी गीत त गाएको गायै भयो ।

मैले आफूसंग भएका बच्चुकैलाशका सबै गीतहरु उनलाई पठाइदिने वाचा गरें । उनको आँखामा मन पर्ने खेलौना पाइने कुरा सुनेर आउने जस्तो वालसुलभ चमक आयो ।

अक्टोबर १२, २०१३

बिहानै मेट्रो चढेर अपोलो गइयो । चार घण्टा कुरेर एमआरआइ र ब्लड टेष्टको लागि दिएर हामी फक्यौं । रिपोर्ट भोलिपल्ट मात्र पाइने भयो ।

अक्टोबर १३, २०१३

दिन पमीको परिवारले लगाएको तिर्नै नसक्ने गुनहरुका साथ बिते । स्कूलमा संगै पढेका साथी इरफान खान पनि नयाँ दिल्लीमा नै बस्छन् भन्ने थाहा थियो । म त्यता जाने कुरा थाहा पाएर उनले मलाई फेसबुकमा आफ्नो नम्बर दिएका थिए । हाम्रो सम्पर्क भयो । उनी पनि जंगपुरा नै आए मलाई भेट्न । त्यसदिन पमीको परिवारसंगै हामी कुतुब मीनार हेर्न गयौं । इरफानले हँसाए, “एउटा कुरा थाहा छ ? म दिल्ली बसेको २५ वर्ष भैसक्यो । आज म पहिलो पटक कुतुब मीनार देख्दैछु ।”

अक्टोबर १४, २०१३

एमआरआइ र टेष्टका अरु परिणामहरु आएपछि डाक्टर टण्डनले भने,

“मेरो विचारमा अब हामीले फेरि भेट्नु पर्ने आवश्यकता छैन ।”

मलाई दुख्न छोडेको केही दिन भैसकेको थियो । तर मलाई अझै अचम्म लागिरहेको थियो । नौ महीनाको मेरो यो किचकिचे पीडा के जम्मा ६५ रुप्याँको ओखतिको भरमा नै ठीक हुने रहेछ ? म अझै पनि यसलाई कुन रुपमा व्याख्या गर्ने भन्न सक्दिनं ।

अक्टोबर १५, २०१३

काठमाण्डौ फर्कने दिन । पमीले एयरपोर्टसम्म पु¥याउने बन्दोवस्त गरिन् । हामीले १००० र ५०० का भारु बिर्सेका थियौं । नेपालमा ती नोटहरु प्रतिवन्धित छन् । जम्माजम्मी दश हजार जतिका ती नोट बाँकी रहेका थिए । त्यहाँका एयरलाइन्सका मानिसहरुले त्यो थाहा पाउनासाथ भित्र सुरक्षा जाँचसम्म त्यसको सुइँको दिने चलन हुँदो रहेछ । अनि त्यहाँका कुनै बैंकका काउण्टरले पनि ती नोटहरु नसाटिदिंदा रहेछन् । यो मिलीमतोको दह्रो नेटवर्क रहेछ । मैले पमीलाई फोन गरें । नेरु साट्न नमिलेको कुरा बाताएर ड्राइभर बाटैमा छ भने फर्काउन अनुरोध गरें । बरु म ती नोटहरु उसकहाँ फर्काउँछु, विमानस्थलका कर्मचारीहरुलाई किन खुवाउनु । तर हामी भित्र छिर्ने बेलासम्म पनि उनको ड्राइभर आउन भ्याएनन् । पमीलाई फोन गरेर बेकारमा दुख धयो, भैगो अब म भित्र जानु पर्ने भयो भनेर जानकारी गराएँ । दिमागमा एउटा आइडिया फु¥यो । कुनै पसलमा गएर चीसो, कुनैमा स्याण्डवीच, कुनैमा कफी, कुनैमा पुस्तकहरु किन्दै हजारका नोटहरुको खुद्रा गर्न थाल्यौं ।

सुरक्षा जाँच काटेर हवाइजहाज भित्र बसेर सीट बेल्ट बाँधिसकेको थिएँ, एक जना कर्मचारी मेरो नाम लिंदै मलाई खोज्न आए ।

“तपाईं एकपटक प्लेनको ढोकासम्म आउनुस् न ।”

म जिल्ल पर्दै उसको साथ लागेर गएँ । एयरपोर्ट सुरक्षाका एक जान मान्छे त्यहाँ एउटा खाम लिएर उभिएका थिए,

“मिसेज सिहंले पठाउनुभएको, तपाईंलाई दिनु भनेर ।”

आएर खोलेर हेर्छु त खाममा त सोह्र हजार नेरु पो छ । फोनमा पमीले कुरा राम्ररी बुझिनछिन् । उनले भन्ठानिछन्, मलाई दश हजार भारु को नेपाली रुपियाँको आवश्यकता परेको हो । त्यति कम समयमा नेरु खोजेर कसकसलाई सोर्स लगाएर उड्ने बेला हुन लागेको हवाइजहाजसम्मै उनले त्यो पु¥याइछिन् । पछि मैले भनें, “कसो प्लेन उड्न भ्याएको रहेनछ । तत्र तिमीले त्यसलाई फेरि फर्काएर ओराल्ने रहिछौ ।”

हामी हाँस्यौं ।

काठमाण्डौ आइपुग्दा पनि एउटै कुराले मन अलि खिन्न भैरहेको थियो । मलाई तिनै बूढी आमाको झझल्को आइरहेको थियो । मलाई अब आवश्यक नभएको त्यो बैशाखी उनको छोराका लागि दिन पाएको भए कति जाति हुन्थ्यो । 

Sunday, October 6, 2013

कुरा त सानै हो

११७ 

यो संसारमा साधारणतया दुई थरिका मानिसहरु हुन्छन् । एक, अरुको खुसीमा पनि रमाउन सक्ने । अर्को अरुको दुखमा रमाउन चाहने । पहिलो किसिमका मानिसहरु अरुका उपलव्धिमा पनि गर्व गर्छन् । उनीहरु त्यसबाट अभिप्रेरित हुन्छन् र आफू पनि त्यस्तै वा त्यो भन्दा बढी सफल हुन वा अझै बढी उपलव्धिमूलक काम गर्नका लागि कम्मर कस्छन् । दोश्रो वर्गकाहरु चाहिँ अरुको उपलव्धिमा कहाँ खोट लगाउन सकिन्छ भनेर घोत्लिन्छन्, दुःखी हुन्छन् र आफ्नो वरिपरिका अरु सबैलाई दिक्क लगाउँछन् । पहिलो वर्गका मानिसहरु अरुभन्दा आफू माथि उठ्ने प्रयत्नमा हुन्छन् भने दोश्रो थरिकाहरु जहिले पनि अरुलाई आफूभन्दा तल कसरी खँगार्ने भन्नेमा मात्र केन्द्रित हुन्छन् । यस्ता मानसिकता हुनेहरु गाईले गोबर दिन्छ भन्ने सोच्छन्, दूध हैन । समग्रमा भन्ने हो भने मान्छेका सकारात्मक र नकारात्मक दुई वर्ग हुन्छन् ।
  
अरुलाई होच्याउनुमा आफ्नो विशिष्टता देख्नेहरुको कमी कहाँ छ र समाजमा ? त्यस्ता मानिसहरु अरुका सिर्जनात्मक आलोचना भन्दा बढी व्यक्तिगत गालीगलौजमा रमाउने गर्छन् । आफूलाई अतिमूल्याङ्कन गर्नेहरु साधारणतया भित्र हीनभावनाले ग्रस्त मानसिक विकारका सिकार हुने गर्छन् । आफ्नो त्यो हीनता लुकाउनका लागि अरुलाई न्यून मूल्याङ्कन गरेर रमाउने व्थर्थको प्रयत्न गर्छन् । त्यस्ता मानिसहरु राजनीति, साहित्य, कला, पत्रकारिता, प्रहरी, प्रशासन, टोल छिमेक र परिवार जतात्यतै भेटिन्छन् । आफ्नो विचारभन्दा फरक विचार राख्नेहरु र आफ्नो रुचिभन्दा पृथक रुचि राख्नेहरुलाई मूर्ख भन्नु भन्दा ठूलो मूर्खता अरु केही हुन सक्दैन । अरुको आफ्नोपनलाई सम्मान गर्न नसकुन्जेल मानिस कहिले पनि सही अर्थमा मानिस हुन सक्दैन । 

मानिस जीवनमा सँधै, सबै कुरामा कहाँ सफल हुन सक्छ र ? हरेक मानिस बेलाबेला आफ्नो उद्देश्यमा कहीं न कहीं चिप्लिरहेको हुन्छ । यो साधारण कुरा हो । पहिलो खालका मानिस त्यस्तो बेलामा आफू कहाँ चुकेको रहेछु भनेर आत्ममूल्याङ्कन गर्न थाल्छ भने दोश्रो खालकोले चाहिँ आफ्ना असफलताहरुको दोष अरुको थाप्लोमा हाल्छ । ऊ सँधै फलानोले फलान्थोक नगरेको हुनाले आफूले कुनै काम गर्न नसकेको भन्दै उम्किन खोज्छ । 

एउटा चिकित्सक कुनै विरामीको रोगको निदान गर्न नसक्दा त्यसबाट कति बिथोलिनु पर्छ होला ? रोग, चाहे सानो होस् वा ठूलो, त्यो कुनै न कुनै रुपमा कष्टकर हुन्छ । कान दुख्नेलाई घाँटी दुख्नेको पीडा कम लाग्न सक्छ, खुट्टा नचल्दा बरु हात नचले कमसे कम हिंड्न त पाउनेथिएँ भन्ने लाग्छ होला । तर हरेक रोगका आफ्नै पीडा हुन्छन् । के चिकित्सकले त्यो अनूभूत गर्न सक्छ ? सक्नुपर्छ कि पर्दैन होला ? एउटा वकीलले आफूले हातमा लिएको मुद्दा हार्नुलाई पेशागत उथुलपुथुल मात्रै मानेर पन्छिन मिल्छ कि मिल्दैन ? उसको लागि मात्र एउटा मुद्दा अरुका लागि सम्पूर्ण जीवनलाई असर गर्ने कुरा हुन सक्छ । आफूले पढाएका विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुँदा आफ्नो पढाउने शैलीमा कुनै कमजोरी त छैन भनेर कति शिक्षक घोत्लिन्छन् होला ? एउटा प्रेम वा मित्रतामा कटुता आउँदा त्यसमा मेरो कति दोष थियो भनेर कति प्रेमी र मित्र चिन्तामग्न हुन्छन् होला ? एउटा पारपाचुके हुँदा त्यसका लागि आफू कति जिम्मेवार थिएँ भनेर कति पति वा पत्नीले आत्ममूल्याङ्कन गर्छन् होला ? घर छोडेर हिंड्ने छोरा वा उसलाई घरबाट निष्कासन गर्ने बाबु दुबै मध्ये कतिले आफ्ना गल्ती केलाउँछन् होला ?

कुनै पनि वर्ग, समुदाय, समाज, सहर वा राष्ट्रको समग्र उन्नति वा अवन्नति त्यहाँ कुन खालका मानिसहरु बढी छन् भन्ने कुरामा भर पर्छ । हामीले आफ्नो वरिपरि नियालेर हेर्ने हो भने कसको बाहुल्य भएको पाउँछौं त ? विगतको एउटा लामो पाटो हाम्रा राजनीतिज्ञहरुले खेर फालेका छन् । के त्यसको नैतिक जिम्मेवारी कसैले स्वीकार गरेको छ ? हरेकले अर्कोलाई वा परिस्थितिलाई दोष दिएर आफू चोखिन खोजेका बाहेक हामीले अरु केही सुनेका छैनौं । हो, परिस्थिति असामान्य हो, ठूलो परिवर्तनको संघारमा उभिएको राज्यका आफ्नै जटिलताहरु हुन्छन् । त्यही जटिलताबाट समाजलाई मुक्त गराउन र सही बाटोमा हिंडाउनका लागि नै त सरकार चाहिएको हो, राज्य संयन्त्र चाहिएको हो, सम्विधानसभा चाहिएको हो, मन्त्रीमण्डल चाहिएको हो र तिनका लागि योग्य मान्छे चाहिएका हुन् । उनीहरुको कामै त्यही हो । नत्र हरेक नागरिक आफैमा नीतिनियम, आफैमा कानून, आफैमा सरकार भए भै हाल्यो नि । जिम्मेवारी वहन गर्न नसक्नेले, अरुको आशामा खरो उभिन नसक्नेले असफलता स्वीकार्न सकेन भने कहिले पनि कमजोरी मुक्त हुन सक्दैन, आफूलाई परिमार्जित गर्न सक्दैन । 

अरुको मात्र कुरा नगरौं, त्यो त सजिलो हुन्छ । आफैले आफै भित्र पनि चिहाएर हेर्न पो गाह्रो त । आफू भित्र हेर्ने हो भने हामी त्यहाँ कुन मान्छे बसेको देख्छौं त ? आफूले आफूलाई नै देख्न सजिलो छ ? देख्नु र चिन्नु फेरि अलग कुरा हो । त्यसैले देखे पनि आफैले आफैलाई चिन्न सकिन्छ ? चिने पनि के आफूले आफ्नो मूल्याङ्कन गर्न सकिन्छ ? सकिएछ भने त्यसलाई स्वीकार्न कति सम्भव होला ? नस्वीकारिकन त आफूलाई परिमार्जन गर्ने कुनै सम्भावना नै हुँदैन नि हैन र ? त्यसो भएन भने मानिसले आफैमाथि अन्याय गरिरहेको हुन्छ । आफैमाथि न्याय गर्न नसक्नेले अरुको के भलो गर्न सक्छ ?

मान्छे नकारात्मक मात्र नभैदिने हो भने यो संसारका सानातिना देखि लिएर ठूलाठूला समस्याहरु सुल्झिने थिए । ईतिहासमा कलंक बनेर रहेका कतिपय दुर्घटनाहरु घट्दै घट्दैनथिए होला । तर दुःखको कुरो त के भने आफूलाई सबैथोक थाहा भएको दम्भ गर्ने मानिसहरु यति साधारण कुरामा चाहिँ आँखा चिम्लेर बाँच्छन् । किन होला कुन्नि ?

Friday, October 4, 2013

एउटा भेडासंग फोनवार्ता

सात महीना र तीन डक्टरको शरण पछि पनि ठीक नभएको घुँडोको उपचारका लागि केही दिनका लागि दिल्ली जानु पर्ने भयो । घरमा पालेको कुकुर जख्खूलाई हेर्ने मान्छे कोही नभएकोले कुनै राम्रो हेरचाह गर्ने केनेल क्लबमा राख्नु पर्ने भयो । एक जना परिचित दाइले जाउलाखेलको एउटा भेट क्लिनिकको नाम सुझाए । त्यहाँ गएर कुरा गर्दा त्यहाँका कर्मचारीले प्रतिदिन रु ५०० लिएर जख्खूलाई राखिदिने कुरा गरे । बाँकी कुरा चाहिँ हाम्रो डाक्टरसाबसंगै गर्नुहोला, राख्ने ठाउँ चाहिँ यहाँ हैन अलि पर छ भन्ने जानकारी पनि दिए । ढुक्क भइयो र अरु तयारीमा लागियो । आइतबार आफू उड्नु पर्ने भएकोले शनिवार त जख्खूलाई त्यहाँ पु¥याउन पर्ने थियो । त्यसैले डाक्टरसापलाई फोन गरियो । उनले फोन उठाएपछि भएको वार्तालाप यस प्रकार छ ।

डाक्टरसापः
(हकारेको र रुखो स्वरमा) हलो

मः
(फोनलाई कानबाट टाढा लैजाँदै) डाक्टर फलानो बोल्नुभएको हो ?

डाक्टरसापः
(अझै ठूलो स्वरमा) हो के भो ?

मः
(नम्र हुँदै) मलाई एकजना दाइले तपाईको रेफरेन्स दिनुभएको हो । केही दिनका लागि बाहिर जानु पर्ने छ र मेरो कुकुरलाई तपाईको केनल.......

डाक्टरसापः
(कुरा काट्दै अझै रुखै स्वरमा) दिनको हजार रुप्याँ लाग्छ । ल्याउने लौजाने तपाईंको काम ।

मः
तर मैले तपाइंको अफीसमा गएर कुरा गर्दा त्यहाँको मान्छेले त ५०० भन्याथ्यो ।

डाक्टरसापः
त्यो अरु बेलाको कुरा हो । दशैंको बेलामा हजार रुप्याँ लाग्छ ।

मः
डाक्टरसाप, मैले पहिले पनि एक पटक रोयल केनल क्लबमा राख्दा त अझ ४०० मात्र लिएको थियो ।

डाक्टरसापः
(हकार्दै) त्यहीं लगेर राख्न लैजानु नि त, मलाई किन फोन गरेको ?

अब मेरो पनि मगज तात्छ ।

मः
(उनकै जस्तो स्वर र भोल्यूममा) सबैभन्दा पहिले तपाईं मान्छेसंग कुरा गर्ने तरिका सिक्नुस् । जनावरको संगत धेरै भएर तपाईं पनि जनावर बनिसक्नुभएको रहेछ ।

डाक्टरसाप मौन हुन्छन् । म फोन काट्छु । कुनै बेला एउटा प्रहसनमा महले भेटेरेनरी डाक्टरलाई छोटकरीमा भेडा भनेको सम्झना हुन्छ ।

Wednesday, September 25, 2013

हाँसको छोयला, मेरो बायाँ फन्को र सुधीर शर्माको पुस्तक प्रयोगशाला


बरु पुरानो लुगा लगाऊ तर नयाँ पुस्तक किन्ने गर । 
हुन त यो उक्ति असाध्यै धेरै पटक धेरै जनाले सापटी लिएर धेरै ठाउँमा प्रयोग गरिसकेका छन्, तरै पनि यहाँ एकपटक फेरि त्यसलाई दोहो¥याउनै पर्ने भएकोले उल्लेख गरिएको हो । हुने बेलामा यो भनाइ १९औं शताव्दिका अमेरिकी लेखक तथा शिक्षाविद् अस्टिन फेल्प्सको हो । तर उनको यो चर्चित उक्तिलाई मानिसहरुले बेलाबेला जर्ज बर्नाड शको नाममा प्रयोग गर्ने गरेका छन् । केही मानिसहरुको एउटा सजिलो तरीका हुन्छ, साहित्यसंग सम्बन्धित कुनै उक्ति उल्लेख गनुृपर्दा कसको भनेर सम्झन सकेन भने शेक्सपियर वा बर्नड शको नाम उल्लेख गर्दिहाल्ने । विज्ञानको कुरोमा अल्वर्ट आइन्सटाइन, मनोविज्ञानका लागि फ्रायड, दर्शनको कुरोमा नित्से, भविष्यवाणीमा नस्त्रादामस र समाजशास्त्रको सन्दर्भमा माक्र्सको नाममा पनि यस्ता प्रयोगहरु हुने गर्दछन् । चर्चित भनाइहरुका सन्दर्भमा मात्र हैन, आफ्नै कुरालाई पनि बढी प्रभावकारी बनाउनका लागि यी नामहरुको प्रयोग (अथवा दुरुपयोग) गर्नेहरुको यस संसारमा कमी छैन । यी यस्ता नामहरु हुन् जसको काँधमा अडाएर मानिसहरु जुनसुकै बेला पनि आफ्नो विद्वताको बन्दूक पड्काउने गर्छन् ।

Sunday, September 22, 2013

कुरो भकुण्डोको

बायाँ फन्को ११६

यसपालि देशलाई भकुण्डोमा जिताउनका लागि ठूलै कसरत गरिएको हो । खेलाडीहरुले सकूज्नेल खेलेका नै हुन्, एन्फाले पनि पञ्चबली दिने, रंगशालाको नाग छोप्ने, पशुपतिनाथ भाक्ने जस्ता आफूले जाने जति सबै गरेकै हो । अपार्टमेण्ट र आजीवन भत्ता दिने भनेर लोभ्याएको सम्म पनि हो । हामी जनताले पनि पूर्ण रुपले ऐक्यवद्धता देखाएकै हौं । बिहानैदेखि लाममा कुरेर टिकट काटेकै हौं, खेल सुरु हुनु भन्दा घण्टौं अघिदेखि रंगशाला ढुकेकै हौं । टिकट नपाएर एन्फालाई मुर्दावाद भनेर नारा लगाउँदै घरमा गएर टिभीमा हेरेकै हौं अनि बत्ती निभायो भनेर बिजुली अड्डामा ढुंगामुढा समेत गरेकै हौं ।  तै पनि, जित्ला भन्ने लाग्दालाग्दै अन्ततः नेपाल हा¥यो । भकुण्डोमा हारेको हो । खेलमा एउटाले जित्छ, एउटा हार्छ । तर यसपटकको हारजीत किन यति ठूलो आशा र निराशाको विषय बन्यो ?

अफगानिस्तानसंग सेमी फाइनलमा हार्नु किन यति पीडादायी भयो ? भारतलाई जित्नासाथ हामीलाई किन लाग्यो, अब कुनै प्रतिस्पर्धा नै छैन र ट्रफी हाम्रै हो ? अनि किन त्यसो नहुनु अविश्वसनीय र पीडादायी भयो हामीलाई ? मलाई लाग्छ हामीले भकुण्डोको बहानामा अरु नै खेल हे¥यौं, अथवा हेर्न खोज्यौं । राजनीतिक, आर्थिक र सामाजिक लगायत अन्य सबै कुरामा लामो समयदेखि हामीले भोगेका चरम निराशा, छटपटी र उकुसमुकुसको समग्रमा एकमुष्ठ समाधानको रुपमा खेललाई हे¥यौं । बबुरा खेल र खेलाडीहरुको काँधमा अनावश्यक र थेग्नै नसक्ने सपनाका भारीहरु बोकायौं । तिनले त्यो थेग्न सकेनन्, थचक्क बसे भनेर आक्रोशित भयौं । दोष कसको ? 

हो हामीलाई हर्षित हुन मन लागेको छ । निकै भयो भित्रैदेखि खुसी हुन नपाएको र निकै बाँकी छ जस्तो लाग्छ हामीलाई प्रफुल्ल हुनका लागि । त्यस्तोमा हाम्रा लागि दक्षिण एसियाली स्तरको उपाधि जित्ने कल्पना रोमाञ्चक लाग्नु अस्वाभाविक हैन । विजयले हामीलाई हामीले चाहेको उल्लास प्रदान गथ्र्यो । तर हामीले त सारा कुरा त्यहीं लगेर जोड्यौं । मानौं त्यो पेनाल्टी छिरेको भए दलहरु सहमतिमा आउँथे, भ्रष्टाचार बन्द हुन्थ्यो, व्यापारीले कर छल्न छोड्थे, कर्मचारीले घूस खाँदैनथे, सम्विधान बन्थ्यो, डलरको भाउ घट्थ्यो, भारतले बुद्ध यता जन्म्या भन्न छोड्थ्यो, धारामा पानी आउँथ्यो, लोडसेडिग हुन्नथ्यो, बाटोका खाल्डाहरु पुरन्थिे । सबै नहुने भयो अब । परेन आपत ? के हाम्रा सारा समस्याको समाधानलाई भकुण्डोसंग जोडेर खुसी हुन चाहनु जायज कुरा थियो ? त्यही अतिआशावादले हामी हार्दा बढी आक्रान्त भएका हैनौं र ? 

अरबौं रुप्याँ कमाउने मेस्सी जस्ता भकुण्डोका जादूगरले पनि हान्या जति सबै पेनाल्टी गोल भएको छैन । बिचरा रोहित चन्द, के गोल गर्दिन भनेर हानेका हुन् र उनले ? ओलिभर काह्न र क्यासियस जस्ता किपरले पनि नपत्याउँदो बल फुत्काएका छन् । के किरण चेमजोंगले जानीजानी गोल छिर्न दिएका हुन् र ? तरै पनि विशेष गरी यी दुइ खेलाडीप्रति मानिसहरु आक्रोशित भए, यिनको थाप्लोमा हारको जिम्मेवारी हाल्न खोजे । समग्र समस्याबाट आफूले खोजेको क्षणिक मुक्ति नपाएकोमा उनीहरुलाई दोष दिनु पटक्कै युक्तिसंगत कुरा हैन । संसारमा कुनै मानिसले, कुनै पनि काममा शतप्रतिशत सफलताको कुनै कीर्तिमान राखेको उदाहरण छैन । हाम्रा खेलाडीहरु पनि मानिस नै हुन्, हामी जस्तै मानिस । सुपरम्यान व्याटम्यान वा चलचित्रका तिलस्मी नायक हैनन् । 

हामीले पहिलेको भन्दा राम्रो खेल खेल्यौं, आफूभन्दा बलिया भनेका टीमहरुलाई जित्यौं, सेमीफाइनलमा पुग्यौं । खुसी हुनका लागि पर्याप्त छैन र ? संसार ध्वस्त हुन लाग्या छैन, अर्को पटक जितौंला नि । तर पाएको सफलतालाई बिर्सेर असफलता सम्झेर दुःखी किन हुनु प¥यो हामीलाई ? हामी सामान किस्तावन्दीमा खोज्छौं, उपलव्धि र हर्ष चाहिँ एकमुष्ठै चाहिन्छ, तुरुन्तै चाहिन्छ, आजै अहिल्यै चाहिन्छ हामीलाई । 

खेललाई युद्धको रुपमा किन लिन थाल्यौं हामी ? आवतजावतको सहजता, भाषा र संस्कृतिको समानताका कारण हाम्रो सिनेमा, साहित्य, सङ्गीत, राजनीति भ्रमण, हेराई बुझाइ र भोगाई सँधै छिमेकबाट प्रभावित भएको छ । हामीले जे पनि धेरैजसो उतैबाट सिक्ने गरेका छौं । खेललाई युद्ध, महाभारत र समरका रुपमा प्रस्तुत गर्ने उताका संचारमाध्यमका आक्रामक शैलीले हामीलाई पनि त्यस्तै बन्न प्रेरित गरेको छ । हाम्रा संचारमाध्यमहरुले पनि त्यही सिकेका छन् । हामी त्यही बाटो हिंडिरहेका छौं । यो आफू र खेलाडी दुबैमाथि अन्याय हो ।

आँखा र कानले, यो हाम्रो मुखले केके गर्ने हो ?, 
यी सब सिकौं, हामीले सिकौं अब हामीले

धेरै अघिको कुरा हो, विद्यालय जीवनमा हुँदाखेरिको । पाँच कक्षाभन्दा माथिका विद्यार्थीहरु राणाहरुले बनाएका दरवारको बीचको चोकमा लाममा उभिएका हुन्थ्यौं र थपडी बजाइबजाइ यो गीत गाइरहेका हुन्थ्यौं । सत्यनारायणवहादुर श्रेष्ठले लेखेका यो गीतले भन्थ्यो, संसारमा आँखाले हेर्न र देख्नका लागि, कानले सुन्नका लागि र मुखले बोल्नका लागि सबै कुरा छन् । राम्रा पनि त्यत्ति नै, नराम्रा पनि त्यत्तिनै । तर हामीले विवेकको प्रयोग गरेर राम्रा कुरा मात्र देख्न सक्नुपर्छ, सुन्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ । 

माथि उल्लेख भएका कारणले छिमेकको प्रभाव मुक्त हुन सक्दैनौं भने त्यहाँबाट सिक्न सक्ने राम्रा कुराहरु देख्न सिकौं, सुन्न सिकौं र बोल्न सिकौं । यो कुरा खेलमा मात्र हैन राजनीति, संचार र मानसिकतामा पनि त्यत्ति नै लागू हुन्छ । 

सिकौं अब हामीले........ 

Wednesday, September 18, 2013

फलामको पेट भएको मान्छे

सातदोबाटोबाट गोदावरी तिर लाग्दा खुमलटार मोडिने चोकमा एउटा पसलमा म चीसो खाँदै थिएँ । अचानक मेरो आँखा एउटा अचम्मको मानिसमा पर्‍यो । ३१ डिग्रीको उखर्मौलौ गर्मीमा पनि त्यो मानिस हिमाल चढ्न जानेजस्तो बाक्लो, तर मैलो र थोत्रो लुगाहरू लगाएर सडकमा हिंडिरहेको थियो । ऊ अलि परै भए पनि मैले उसको ज्याकेटको बाहुला फाटेको देखिसकेको थिएँ । त्यो भन्दा पनि अचम्म के भने उसले काँधमा थुप्रै जिन्सका थोत्रा पुराना मैला पाइण्टहरूको खात पनि भिरेको थियो । मैले उसको फोटो त्यहींबाट खिचें । त्यो देखेर पसलका साहूजीले भने,
"यो ओरिजिनल पंक हो । केही नभए पनि १२-१५ वटा पाइण्ट सँधै बोकेर हिंड्छ । कतै राख्यो भने हराउला भनेर संधै यसरी नै बोकेर हिंड्छ ।"

Monday, September 16, 2013

एउटा नगाइएको गीत


आदरणीय भीम विरागले मेरो यो गीतको सङ्गीत कम्पोज गर्नु भएकोथ्यो । कसले गाउने भन्ने निधो नै हुन पाएन। भिम विराग बितेर जानु भयो । आज कम्प्यूटरमा पुराना फाइलहरू खोतल्ने क्रममा अचानक यो गीत फेला पर्‍यो । अनि सम्झनाका एउटा पाटो जीवन्त भयो । उहाँ बुध्दनगरमा बस्नुहुन्थ्यो, म पनि । भेटघाट भइ्हन्थ्यो । उहाँलाई खसीको पक्कु कवाफ खान मन पर्छ भन्ने थाहा भएपछि म कहिलेकहीं उहाँलाई निम्तो गर्थें । उहाँ स्वीकारे आइदिनिहुन्थ्यो र मलाई आभारी बनउनुहुन्थ्यो । उहाँ छोरीज्वाईँसंग बस्नुहुन्थ्यो । बेलाबेला मलाई पनि बोलाउनुहुन्थ्यो । 

म शान्तिनगर सरेपछि अलि पातलो भयो भेटघाट ।  त्यहाँ शनिवार भाग लगाएको खसीको मासु बेच्ने पसल थियो । मैले एकपटक उहाँलाई बोलाएको बेला कुरैकुरामा मेरा केही गीतहरू सुनाएँ । यो एउटा गीत उहाँले मागेर लैजानु भयो । केही दिन पछि फोन गरेर भन्नु भयो, "मैले तपाइँको गीत कम्पोज गरेको छु ।"

मेरा लागि त त्यो गज्जपको कुरो भैहाल्यो । केटाकेटीदेखि सुनेका लेखक सङ्गीतकारले त्यसो भन्नु मेरा लागि गर्वको कुरो थियो । मैले सोधें, "म कहिले सुन्न आऊँ ?" उहाँले समय दिनासाथ म गएँ । हार्मोनियममा आफ्ना औंलाहरू चलाउँदै उहाँले आफूले रचेको धुन सुनाउनु भएको हिजै मात्र हो जस्तो लाग्छ ।

तर त्यो गीत कसले गाउने वा कहिले गाउने भन्ने कुरा भएन । त्यत्तिकै रहेको त्यो नगाइएको गीत यस्तो छ:

सुन्ने कोही नभैदिंदा बोल्ने पनि लाटो हुन्छ
संगै बग्ने नदीको पनि दुइटा भिन्दै पाटो हुन्छ 

उठाउने कोही नभएपछि ठेस लागि लडे पनि
कहीं पनि पुगिन्न रैछ एक्लै जति हिंडे पनि
साथै हिंड्ने एउटै गोरेटो पनि दोबाटो हुन्छ
संगै बग्ने नदीको पनि दुइटा भिन्दै पाटो हुन्छ

नसकेपछि बुझ्न कसैले भावनाको मूल्य यहाँ
खन्याए पनि मुटु निचोरि पुग्दो रैछ र कहाँ
मोती भनेर साँचेको माया पनि माटो हुन्छ
संगै बग्ने नदीको पनि दुइटा भिन्दै पाटो हुन्छ

Sunday, September 15, 2013

कुरो भकुण्डोको

यसपालि देशलाई भकुण्डोमा जिताउनका लागि ठूलै कसरत गरिएको हो । खेलाडीहरुले सकूज्नेल खेलेका नै हुन्, एन्फाले पनि पञ्चबली दिने, रंगशालाको नाग छोप्ने, पशुपतिनाथ भाक्ने जस्ता आफूले जाने जति सबै गरेकै हो । अपार्टमेण्ट र आजीवन भत्ता दिने भनेर लोभ्याएको सम्म पनि हो । हामी जनताले पनि पूर्ण रुपले ऐक्यवद्धता देखाएकै हौं । बिहानैदेखि लाममा कुरेर टिकट काटेकै हौं, खेल सुरु हुनु भन्दा घण्टौं अघिदेखि रंगशाला ढुकेकै हौं । टिकट नपाएर एन्फालाई मुर्दावाद भनेर नारा लगाउँदै घरमा गएर टिभीमा हेरेकै हौं अनि बत्ती निभायो भनेर बिजुली अड्डामा ढुंगामुढा समेत गरेकै हौं ।  तै पनि, जित्ला भन्ने लाग्दालाग्दै अन्ततः नेपाल हा¥यो । भकुण्डोमा हारेको हो । खेलमा एउटाले जित्छ, एउटा हार्छ । तर यसपटकको हारजीत किन यति ठूलो आशा र निराशाको विषय बन्यो ?

अफगानिस्तानसंग सेमी फाइनलमा हार्नु किन यति पीडादायी भयो ? भारतलाई जित्नासाथ हामीलाई किन लाग्यो, अब कुनै प्रतिस्पर्धा नै छैन र ट्रफी हाम्रै हो ? अनि किन त्यसो नहुनु अविश्वसनीय र पीडादायी भयो हामीलाई ? मलाई लाग्छ हामीले भकुण्डोको बहानामा अरु नै खेल हे¥यौं, अथवा हेर्न खोज्यौं । राजनीतिक, आर्थिक र सामाजिक लगायत अन्य सबै कुरामा लामो समयदेखि हामीले भोगेका चरम निराशा, छटपटी र उकुसमुकुसको समग्रमा एकमुष्ठ समाधानको रुपमा खेललाई हे¥यौं । बबुरा खेल र खेलाडीहरुको काँधमा अनावश्यक र थेग्नै नसक्ने सपनाका भारीहरु बोकायौं । तिनले त्यो थेग्न सकेनन्, थचक्क बसे भनेर आक्रोशित भयौं । दोष कसको ? 

हो हामीलाई हर्षित हुन मन लागेको छ । निकै भयो भित्रैदेखि खुसी हुन नपाएको र निकै बाँकी छ जस्तो लाग्छ हामीलाई प्रफुल्ल हुनका लागि । त्यस्तोमा हाम्रा लागि दक्षिण एसियाली स्तरको उपाधि जित्ने कल्पना रोमाञ्चक लाग्नु अस्वाभाविक हैन । विजयले हामीलाई हामीले चाहेको उल्लास प्रदान गथ्र्यो । तर हामीले त सारा कुरा त्यहीं लगेर जोड्यौं । मानौं त्यो पेनाल्टी छिरेको भए दलहरु सहमतिमा आउँथे, भ्रष्टाचार बन्द हुन्थ्यो, व्यापारीले कर छल्न छोड्थे, कर्मचारीले घूस खाँदैनथे, सम्विधान बन्थ्यो, डलरको भाउ घट्थ्यो, भारतले बुद्ध यता जन्म्या भन्न छोड्थ्यो, धारामा पानी आउँथ्यो, लोडसेडिग हुन्नथ्यो, बाटोका खाल्डाहरु पुरन्थिे । सबै नहुने भयो अब । परेन आपत ? के हाम्रा सारा समस्याको समाधानलाई भकुण्डोसंग जोडेर खुसी हुन चाहनु जायज कुरा थियो ? त्यही अतिआशावादले हामी हार्दा बढी आक्रान्त भएका हैनौं र ?

अरबौं रुप्याँ कमाउने मेस्सी जस्ता भकुण्डोका जादूगरले पनि हान्या जति सबै पेनाल्टी गोल भएको छैन । बिचरा रोहित चन्द, के गोल गर्दिन भनेर हानेका हुन् र उनले ? ओलिभर काह्न र क्यासियस जस्ता किपरले पनि नपत्याउँदो बल फुत्काएका छन् । के किरण चेमजोंगले जानीजानी गोल छिर्न दिएका हुन् र ? तरै पनि विशेष गरी यी दुइ खेलाडीप्रति मानिसहरु आक्रोशित भए, यिनको थाप्लोमा हारको जिम्मेवारी हाल्न खोजे । समग्र समस्याबाट आफूले खोजेको क्षणिक मुक्ति नपाएकोमा उनीहरुलाई दोष दिनु पटक्कै युक्तिसंगत कुरा हैन । संसारमा कुनै मानिसले, कुनै पनि काममा शतप्रतिशत सफलताको कुनै कीर्तिमान राखेको उदाहरण छैन । हाम्रा खेलाडीहरु पनि मानिस नै हुन्, हामी जस्तै मानिस । सुपरम्यान व्याटम्यान वा चलचित्रका तिलस्मी नायक हैनन् ।

हामीले पहिलेको भन्दा राम्रो खेल खेल्यौं, आफूभन्दा बलिया भनेका टीमहरुलाई जित्यौं, सेमीफाइनलमा पुग्यौं । खुसी हुनका लागि पर्याप्त छैन र ? संसार ध्वस्त हुन लाग्या छैन, अर्को पटक जितौंला नि । तर पाएको सफलतालाई बिर्सेर असफलता सम्झेर दुःखी किन हुनु प¥यो हामीलाई ? हामी सामान किस्तावन्दीमा खोज्छौं, उपलव्धि र हर्ष चाहिँ एकमुष्ठै चाहिन्छ, तुरुन्तै चाहिन्छ, आजै अहिल्यै चाहिन्छ हामीलाई । 

खेललाई युद्धको रुपमा किन लिन थाल्यौं हामी ? आवतजावतको सहजता, भाषा र संस्कृतिको समानताका कारण हाम्रो सिनेमा, साहित्य, सङ्गीत, राजनीति भ्रमण, हेराई बुझाइ र भोगाई सँधै छिमेकबाट प्रभावित भएको छ । हामीले जे पनि धेरैजसो उतैबाट सिक्ने गरेका छौं । खेललाई युद्ध, महाभारत र समरका रुपमा प्रस्तुत गर्ने उताका संचारमाध्यमका आक्रामक शैलीले हामीलाई पनि त्यस्तै बन्न प्रेरित गरेको छ । हाम्रा संचारमाध्यमहरुले पनि त्यही सिकेका छन् । हामी त्यही बाटो हिंडिरहेका छौं । यो आफू र खेलाडी दुबैमाथि अन्याय हो ।

"आँखा र कानले, यो हाम्रो मुखले केके गर्ने हो ?
यी सब सिकौं, हामीले सिकौं अब हामीले"
धेरै अघिको कुरा हो, विद्यालय जीवनमा हुँदाखेरिको । पाँच कक्षाभन्दा माथिका विद्यार्थीहरु राणाहरुले बनाएका दरवारको बीचको चोकमा लाममा उभिएका हुन्थ्यौं र थपडी बजाइबजाइ यो गीत गाइरहेका हुन्थ्यौं । सत्यनारायणवहादुर श्रेष्ठले लेखेका यो गीतले भन्थ्यो, संसारमा आँखाले हेर्न र देख्नका लागि, कानले सुन्नका लागि र मुखले बोल्नका लागि सबै कुरा छन् । राम्रा पनि त्यत्ति नै, नराम्रा पनि त्यत्तिनै । तर हामीले विवेकको प्रयोग गरेर राम्रा कुरा मात्र देख्न सक्नुपर्छ, सुन्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ । 
माथि उल्लेख भएका कारणले छिमेकको प्रभाव मुक्त हुन सक्दैनौं भने त्यहाँबाट सिक्न सक्ने राम्रा कुराहरु देख्न सिकौं, सुन्न सिकौं र बोल्न सिकौं । यो कुरा खेलमा मात्र हैन राजनीति, संचार र मानसिकतामा पनि त्यत्ति नै लागू हुन्छ । 

"सिकौं अब हामीले........ "

Sunday, September 1, 2013

कोलाहल

बायाँ फन्को ११५

केही समयअघि एक विदेशी मित्रले भनेको कुरा त्यतिबेला मनमा चसक्क पसेको थियो । त्यो कुरा बेलाबेला सम्झन्छु । अथवा भनौं सम्झन बाध्य बनाइन्छु र त्यसले अझै बेलाबेला घोचिरहन्छ । त्यो कुरा नै यस्तो थियो जसमा साँढे स्वाभिमान जोडेर भए पनि अरु कुरामा जस्तै आफूलाई प्रतिरक्षात्मक रुपमा प्रस्तुत गर्न सकिन्नथ्यो । तर्कको त कुरै छोडौं, कुतर्कले समेत बचाउ गर्न नसकिने भएकोले म चुइँक्क नबोली बसेको थिएँ । 
गाडीको सन्दर्भ निस्कँदा ती मित्रले भनेका थिए, ‘मलाई लाग्छ, नेपालमा गाडी किन्नु अघि मानिसहरु दुइटा कुराहरु मात्र जाँच्छन् । पहिलो, झ्यालको ऐना सजिलै खुल्छ कि खुल्दैन ता कि पिच्चपिच्च थुक्न कठीन नहोस्, अनि दोस्रो कुरो– हर्न बज्छ कि बज्दैन ।’
हुन त उनले नराम्रो आशयले नभै ठट्टाको रुपमा भनेका थिए त्यो कुरा । तर, त्यसले मलाई निकै दिनसम्म रन्थनाइरह्यो । हुन पनि हो, हामीलाई जति हर्न बजाउन र बाटोमा थुक्न शायदै अरु कसैलाई पर्ला । किन होला ? हामीले ती दुबै कुरालाई यति सहज रुपमा लइ सकेको छौं, ती हाम्रा लागि हेक्का राख्नु पर्ने वा चर्चा गर्नु पर्ने विषय नै होइनन् । तर, गहिरिएर सोच्ने हो भने हामीलाई साधारण लाग्ने कुराले पनि अरुका अघि हाम्रो कस्तो छवि बनाइरहेको रहेछ त ?
हरेक दिन यात्राको क्रममा अगाडिका वाहनबाट चालक अथवा यात्रुले बर्साएको थुकको बाछिटाले शरीर सिञ्चित नगरोस् भनेर  चनाखो रहनुपर्छ । त्यही कुरामा वादविवाद र मुक्कामुक्की भएका उदाहरणहरु प्रशस्तै छन् । तारन्तार हर्न बजाउँदा हामीलाई किन मनोरञ्जन प्राप्त हुन्छ भन्ने कुरा मैले आजसम्म बुझेको छैन । मार्नौ हर्न कुनै रोचक र चमत्कारी आविष्कार हो । हर्न पनि भाँतीभाँतीका हुन्छन् । प्रेसर हर्न भन्ने त भइहाल्यो, त्यस बाहेक पनि कुनै कानको जाली नै फुटाउलान् जस्ता, कुनै तारसप्तकमा तीखो भएर बज्ने, कुनै एकपटक थिचेपछि आधा मिनेटसम्म चिच्याइरहने, कुनै कमजोर मुटु भएको मानिसको त हर्टफेल नै गराउलान् जस्ता, कुनै रुघा लागेर सुकेको स्वर जस्ता अनि कुनै बाघको गर्जन जस्ता । हुँदाहुँदा हिन्दी सिनेमाका ‘आइटम गीत’का टुक्राहरु तीखो स्वरमा बज्ने हर्न पनि निर्धक्क प्रयोग गर्न पाइन्छ । हाम्रो मुलुकमा हरेक प्रजातिका हर्न शहरबजारमा, मानव बस्तीमा, अस्पताल अघि र विद्यालयको वरिपरि निर्वाध रुपमा बजाउन पाइन्छ । सवारी चालकहरु यो स्वतन्त्रताको मन खोलेर, पेट नअघाउन्जेल उपभोग गर्छन् ।
हामी किन यति धेरै अधैर्य छौं भन्ने कुरा कहिल्यै सोच्नुभएको छ ? अगाडिको कुनै एउटा सवारी साधन कारणवश एक सेकेण्ड मात्रै पनि रोकियो भने पछाडिबाट बेसुरा हनैहरुको ताल नमिलेको कर्णकटु अर्केष्ट्रा बज्न थालिहाल्छ । धूलो र धूँवाको बीचमा खलखली पसीना काढेर हात हल्लाइहल्लाइ अव्यवस्थित सवारी चापलाई नियन्त्रण गर्न बसेको बबुरो ट्राफिक प्रहरीले एकातिरका सवारी साधनलाई आउने इशारा गरेको १० सेकेण्ड नबित्दै अर्कोतिर लाम लागेका सवारी साधनका चालकहरु दाह्रा किटेर एकतमास हर्न बजाउन थालिहाल्छन् । बाटो खाली भएको बेला वायुवेगमा हुँइकिने सवारी साधन पनि प्वाँ.... गरेरै कुदिरहेका हुन्छन् । आफूभन्दा अगाडिका साधन अघि बढ्ने बाटो नै नभएको जानकारी हुँदाहुँदै पनि पछाडिकाहरु ध्वनि प्रदूषण फैलाउन थालिहाल्छन् । मानौं हर्न बजाएपछि सारा समस्याको समाधान स्वतः भइहाल्छ ।
निश्चित मात्राभन्दा बढी ध्वनि प्रदूषण गर्ने हर्न प्रयोग गर्न नपाउने नियमको पो शायद हामीलाई खाँचो छ । हुन त नियम कानून र सजाँयको डर देखाएर अनुशासनमा राख्ने भनेको विवेकशील मानिसलाई होइन । यहाँको भन्दा बढी सवारी साधन गुड्ने विकसित र नागरिक चेत भएका मुलुकहरुमा हप्तौंसम्म पनि तपाईँ कसैले प्वाँक्क हर्न बजाएको सुन्न पाउनुहुन्न । तै पनि सहज रुपमा आवतजावत भइरहेको हुन्छ ।
हामीमा कोलाहलप्रति आशक्ति भएको देखिन्छ । सप्ताह, नवाहजस्ता धार्मिक अनुष्ठान गर्दा पनि हामी कति कोकोहोलो मच्चाइरहेका हुन्छौं । आफूले लगाएको सप्ताहको विज्ञापनको रुपमा घरको कौसीमा चारवटा माइक चार दिशामा फर्काएर राखेर बिहान कुखुरा बास्ने बेला देखि राति उल्लू कराउने बेलासम्म भजनकीर्तन गरेर पुण्य कमाउँछौँ । छरछिमेकमा बिरामी होलान्, विद्यार्थी होलान् पुण्य कमाउनेहरुलाई त्यसको कुनै मतलबै हुँदैन । अनि धर्म गर्नेको विरोध पनि गर्न मिलेन । पापी कहलाइने डरले हामी त्यस्ता धार्मिक आतंक पनि सहन बाध्य हुन्छौं । 
मेरा एक मित्रले कुनै बेला उनलाई अनुप जलोटाको स्वर सुन्दा पनि रिस उठ्छ भनेको बेला म चकित परेको थिएँ । त्यति मधुर स्वरका धनी गाउकको स्वर सुन्दा पनि कसैलाई रिस उठ्न सक्छ र ? कारण बडो रमाइलो रहेछ । कुनै समय उनी डेरा गरेर बसेको ठाउँ नजीक एउटा मन्दिर रहेछ । त्यहाँ बिहानदेखि बेलुकासम्म खराब ध्वनि यन्त्रमा ठूलो स्वरमा अनुप जलोटा बज्थे रे । कालान्तरमा त्यसले मानसिक तनाव नै हुन थालेपछि उनले डेरा नै सर्नु परेको रहेछ ।
वरिपरिको कोलाहलले हामीलाई अकल्पनीय र दीर्घकालीन रुपमा कति असर गर्छ भन्ने बारेमा सोच्नु र कतै स्वयं पनि कोलाहलको कारण बनेका त छैनौं भन्ने कुरामा हामी सबै चनाखो बन्नु जरुरी छ ।

Tuesday, August 27, 2013

भगवानको पनि कपी-पेष्ट हुन्छ

एउटा रमाइलो कुरो थाहा भयो आज । भगवानको पनि कपी-पेष्ट हुँदो रहेछ । 
ललितपुरको ठैब गाबिसमा दोलखा भीमसेनको मन्दिर स्थापना भएको छ । पाटनका कारीगरले दोलखा भीमसेनको दुरूस्तै अर्को मू्र्ति कुँदेका हुन् । ठैबका हरेक घर भने जसोबाट प्रतिनिधित्व हुने गरी ११ बस मानिसहरू दोलखा गएर विधिपू्र्वक पूजाआजा सकेर मूल दोलखा भीमसेनलाई त्यो मूर्तिमा कपी-पेष्ट गरेपछि त्यो मूर्तिले पनि औपचारिक रूपमा दोलखा भीमसेनको मान्यता प्राप्त गरेको हो । दोलखाबाट सो मूर्ति ठैब ल्याएर भीमसेनलाई यहाँ बनाइएको नयाँ मन्दिरमा स्थापना गरिएको छ ।

भाद्र १४ गतेका दिन ठुलो भीमसेन जात्रा मनाइने योजना छ ।
अब दोलखाको चरिकोटसम्म पुग्न नसक्नेहरूले पनि यहीं नजीकै दोलखा भीमसेनको पूजा गर्न सक्नेछन् ।

मेरो मनमा उब्जेको एउटा प्रश्न चाहिँ, देशमा विपत्ति आउन लाग्यो भने दोलखा भीमसेनलाई पसीना आउँछ भन्ने गरिन्छ । अब त्यस्तो बेला के दुबै मूर्तिमा पसीना आउला त ? 

Sunday, August 18, 2013

चानचुन चप्काउनेहरु

बायाँ फन्को ११४ 

हुन त आजकल प्रविधिको संसार हो । पहिले घण्टौं समय खर्चेर गर्नु पर्ने अधिकांश कामहरु घरमै बसीबसी औंलोले थिचथाच् गरेको भरमा पनि गर्न नसकिने होइन । तर यस्ता प्रविधिमा अझै पनि सबैको पहुँच भैसकेको छैन । भएकाहरु पनि आँखा चिम्लेर भर पर्न सकिने नभैसकेकाले गर्दा जंगवहादुरकै पालाका तरिकाहरुमा भर पर्नु पर्ने केही कुराहरु छन् । त्यसमध्ये केही हुन्, घरको बत्ती, धारो र फोनको बिल तिर्न जानु । यस्ता सरकारी र अर्धसरकारी ठाममा जानु भनेको धेरै हिसाबले दुःखदायी अनुभव हुने गर्दछ । त्यहाँको अव्यवस्था र कर्मचारीको रुखोसुखो व्यवहारको बारेमा मैले केही भनिरहनु नै पर्दैन । हामी सबैले भोग्ने मासिक पीडा भनिदिए हुन्छ त्यसलाई । 

अघिल्लो हप्ता त्यसरी नै बत्तीको बिल तिर्न जानु पर्दा केही प्रश्नहरु फेरि मनमा उठे । एक त सवा दश बजे पुग्दा पनि त्यहाँ काउण्टरमा कोही आएको थिएन । लामो लाइन लागिसकेको थियो । त्यो लाइनमा अफीस पुग्नुपर्ने, स्कूल कलेज पुग्नुपर्नेहरु पनि घडी हेर्दै व्याकुल भएर बसिसकेका थिए । साढे दशको हाराहारीमा बल्लबल्ल जंगलमा सिंह हिंडेजस्तो चालले गजक्क पर्दै ती कर्मचारी आए र आजकल त कम्प्यूटर हुन्छ, त्यसलाई खोल्न हालेर उनी आङ् तन्काउन थाले । सरकारी अफीसको कम्प्यूटर न हो, किन हतार मान्थ्यो र ? उसले पनि आफ्नै मस्त समय लियो खुल्नलाई । अनि बल्ल शुरु भयो पैसा बुझ्ने काम । म भन्दा अगाडिका चार जना मध्ये तीन जना पैसा तिरिसकेर पनि एक छेउ लागेर बसेको थिए । किनभने फिर्ता गर्नका लागि चानचुन थिएन । पैसा तिर्न आउनेहरुलाई खुद्रा पैसा मिलाएर नल्याएकोमा हुने भए ती कर्मचारीले पिट्थे नै होला । फिर्ता दिनका लागि दुई देखि दश रुप्याँसम्म थिएन । कुर्नेहरुमध्ये मैले हेर्दाहेर्दै दुइजनाले भैगो होस् भनेर केही पैसा छोडेरै रसीद लिएर गए । उनीहरुलाई हतार थियो आफ्नो काममा पुग्नका लागि ।

हेर्दा साधारण जस्तो लागे पनि उदेकलाग्दो कुरा के भने ती ठाम्मा किन कहिले पनि चानचुन पैसा हुँदैन । बिलको रकम अनुसारका नोट र सिक्काहरु ठ्याक्कै मिलाएर लैजानुभएको छैन भने तपाईं अलिकति नचुँडिने भन्ने कुरा नै हुँदैन । पाँच रुप्याँ भन्दा कम त जन्मसिद्ध अधिकार सरह नै चप्काउँछन् काउण्टरमा बस्ने कर्मचारी महोदयहरुले । हामी पनि चाँइचुँइ नगरी लोप्रे कान लगाएर आफ्नो मेहेनत पसीनाको कमाइको एक भाग त्यहाँ चढाएर फर्कन्छौं । हरेक दिन मानिसहरु पैसा तिर्न आउँछन् भनेर थाहा भएको ठाममा किन चानचुनको बन्दोवस्त गरेर बस्न सकिंदैन ? न यो प्रश्न हाम्रो मनमा कहिल्यै उब्जन्छ, न हामी कसैसंग यसको उत्तर नै माग्छौं ।  टक्सार विभागले सिक्काहरु र राष्ट्र बैंकले साना नोटहरुको आवश्यकता अनुसार आपूर्ति गर्न नसकेको भनौं भने डिपार्टमेण्टल स्टोरहरुमा तपाईं हामीलाई कहिल्यै त्यस्तो अभाव भोग्नु पर्दैन । तर यस्ता कार्यालयहरुमा त खाइपाइ आएको सुविधा सरह मान्यता पाइसकेको छ यो चानचुन खाने प्रवृत्तिले । केही हदसम्म ट्याक्सीमा र सानातिना पसलहरुमा पनि यो समस्या भोग्नुपर्छ । तै पनि पसलेहरुले तपाईंलाई चुविंगगम वा चकलेटसम्म त भिडाउँछन् । छोड्ने मानिसले हेर्दा दुइ पाँच वा सात रुप्याँको मात्रै कुरा भए पनि पाउने मान्छेका लागि दिनभरमा त राम्रै आम्दानी हुन्छ त्यस्ता चानचुनले । महीनामा त कति हुँदो हो ? हामी एकएक जनाले त्यसरी छोड्न वाध्य बनाइएका चानचुनको हिसाब गर्ने हो भने देशभरमा कतिको अपचलन हुन्छ होला ?

केही वर्ष अघि मुम्बइ सहरको एउटा सानो प्रसंग सम्झना भयो । ट्याक्सीबाट ओर्लंदा त्यस्तै चानचुनको अभाव भएको थियो । गौरवशाली नेपाली परम्परामा अभ्यस्त मेरा लागि त्यो नाथे कुन ठूलो कुरो थियो र ? वाजिद अली शाह जस्तै सानसंग म फिर्ता आउनुपर्ने दुइ रुप्याँ उसैलाई राख भन्दै ओर्लें । तर ट्याक्सी चालकले मलाई रोक्यो र अचम्म मान्दै भन्यो,
दुई रुप्याँ त्यसै छोडेर जानुहुन्छ? के कुरा गरेको, पख्नुस् ।

अनि ऊ आफै ओर्लेर गएर नजीकको पान पसलबाट चानचुन साटेर आयो र फिर्ता दियो । 

तर हामी थोरै पैसाको महत्व गर्दैनौं । यहाँ नेर कुरा पैसा कति भन्ने हैन, मानसिकताको हो । यो कुरामा सबै दोष खानेको मात्र हैन, खुवाउने हाम्रो पनि हो । हामी सानो तिनो पैसालाई महत्वहीन ठान्छौं । आत्मा साक्षी राखेर सोच्नुस् त तपाईहरु मध्ये कतिजना बाटोमा देखेको एक रुप्याँको ढ्याक टिप्न निहुरिनुहुन्छ ? त्यही सानातिना चानचुनले नै ठूलो रकम बन्छ भन्ने कुरा बिर्सन्छौं । पैसाको मात्र किन कुरा गर्नु, सानो तिनो अरु कुरालाई पनि हेपेर ठूलो कुराको मात्रै चाहना राख्ने हाम्रो बानी नै भैसकेको छ ।

हामीले बाटोमा थुक्न छोडेका छैनौं, गाडीको झ्यालबाट फलफूलका खोस्टा र अरु फोहोर सडकमा मिल्क्याउन छोडेका छैनौं । कुनै पनि कुरामा नियमकानून मान्न सिकेका छैनौं, छ्याकन खान पाउने हो भने सय पचास रुप्याँमा नैतिकतालाई बेच्न छोडेका छैनौं । तर हामी सबैलाई घरि नयाँ, घरि एसियाली मापदण्डको, घरि सिंगापुर जस्तो नेपाल चाहिएको छ । हामीमाथि रजाईँ गर्नेहरुले त्यो कसरी बनाउने भन्ने सपना बेचेर हामीलाई  फन्फनी घुमाइरहेका छन् । अनि हामी चाहिँ आफूलाई फिटिक्कै परिवर्तन नगरी समाज र मुलुक परिवर्तन हुने आशामा झुण्डिएर बसेका छौं । त्यो भएन भनेर कुर्लिएको कुर्लियै छौं ।  

Sunday, August 4, 2013

संस्कार कि आडम्वर ?

बायाँ फन्को ११३

पछिल्लो हप्ता एउटा गज्जबको अनुभव भयो । एउटा सार्थक परिवर्तनका लागि समाजका तथाकथित पण्डितहरुसंग जुध्ने परिवारको अदम्य साहसको प्रत्यक्षदर्शी बन्न पाइयो । परम्पराका नाममा लादिएका अनावश्यक बोझ बोक्न अस्वीकार गर्नेहरु र संस्कारको नाममा ठड्याइएका अल्गा र विरुप पर्खालहरु भत्काउनका लागि प्रयत्न गर्नेहरुलाई देख्दा वास्तवमै प्रसन्नता भएको थियो । तर के कुसंस्कार र अन्धविश्वासको जालो च्यातचुत पार्न भने जति नै सजिलो छ त ? अहँ, पटक्कै छैन । त्यसैले शायद मनले एकथोक भने पनि मानिसहरु तिनका सामु समर्पण गरिदिन्छन् । अरु कसैले त्यो सबको सुरुवात गरिदिए हुन्थ्यो भन्ने चाहना राखेर मौन बस्छन् । खोलाको वेगको उल्टो पट्टि पौडी खेल्न गाह्रो हुन्छ । तर बेलाबेला यस्ता अघि लाग्नहरु फेला पर्छन् । तिनलाई पच्छ्याालै मात्र पनि आँट चाहिन्छ ।

८० वर्ष नाघेका एकजना आफन्त थिए उनी । पहिलेदेखि नै सँधै आफ्ना छोराहरु र श्रीमतीलाई आफू मरेपछि किरियाको नाममा नौटंकी नगर्नू भन्ने गर्थे । उनलाई लाग्थ्यो, त्यो सब गरेर केही फाइदा छैन । तेहै दिनसम्म हरेक पल दुःख पाएर, अरुलाई देखाउनका लागि गरिने नाटकमाथि उनी पटक्कै विश्वास गर्दैन थिए । त्यसैले उनको चाहना थियो, दाह संस्कार गरेर फर्केपछि सबैले आफ्नो नियमित जीवनशैली अपनाउन् । छोराहरुले कपाल खौरेर, सेतो कपडा बेरेर, परालमा सुतेर, तेह्र दिनसम्म अलिनो नखाउन् । श्रीमतीले सेतो वस्त्र धारण नगरुन्, चुरा नफुटाउन्, पोते नछिनालून् । आफू जाने केही दिन अघि पनि उनले यही कुरा दोहो¥याएका थिए रे । समाजको करकापमा परेर अरुका लागि मात्र भए पनि तिमीहरुले त्यो सब गरेछौ भने मलाई चाहिँ खुसी लाग्ने छैन भनेर उनले स्पष्ट शव्दमा भनेका रहेछन् । उनको निधन भएपछि खवर पाएर घरमा आएका आफन्तहरुलाई छोराहरुले त्यही कुरा सुनाए ।

त्यसपछि सुरु भयो केही तथाकथित आफन्तहरुको नौटंकी । संख्यामा निकै कम भए पनि उनीहरु कुनै हालतमा त्यो स्वीकार्न तयार भएनन् । उदेकलाग्दो कुरा त के भने अरु बेला कहिले कतै कुनै कुरामा वास्ता नगर्नेहरु नै त्यतिबेला सबैभन्दा बढी चम्किरहेका थिए । परम्परा र संस्कृति भाँड्न हुँदैन, पाइँदैन भनेर उनीहरु त्यो कठीन पललाई झनै बढी जटिल बनाइरहेका थिए । जब जाने मान्छेको इच्छा नै थिएन भने त्यो सब किन गर्नुपर्छ भन्ने कुराको उनीहरुसंग तर्क थिएन तर उनीहरु लिंडेढिपी छोड्न तयार थिएनन् । मृतकको परिवारलाई त्यो विपतको बेला झनै अन्यौलग्रस्त र मानसिक रुपमा बिथोल्न उनीहरु पछि परेनन् ।
आफन्तको दायित्व भनेको के हो भन्ने प्रश्न यहाँ नेर बडो सान्दर्भिक हुन्छ । आफन्त, शुभचिन्तक र नातागोता भनेको अप्ठ्यारोमा चाहिन्छन् । उनीहरुको काम भनेको त्यस्तो अप्ठ्यारो परिस्थितिमा साथ दिनु हो । विपत परेकाहरु जसरी आफ्नो त्यो दुखद घडीमा सहज हुन्छन्, त्यसलाई सघाउनु र समर्थन गर्नु हो । 

तर त्यसको विपरित त्यहाँ आफन्त भनिनेहरु अझै बढी कष्टकर वातावरण बनाउन तम्सिएका थिए । चलिआएको परम्परा यसरी तोड्न कहाँ पाइन्छ भन्दै उनीहरु चुरा फुटाउने ढुंगा खोज्न थालेका थिए । आफ्नो बाबुले जीवनभर जुन कुराको विरोध गरे, जानु अघि पनि जुन कुरा नगर्न भनेर दोहो¥याए, त्यसको कदर नगरी अरुको करमा किन ती सब निरर्थक संस्कारहरु गर्नु भन्ने तर्कको उनीहरुमा कुनै असर परिरहेको थिएन ।

उनीहरु त्यहाँको वातावरणलाई थप बोझिल बनाउन अचम्मका तर्कहरु गर्न थालेका थिए । मर्ने मान्छेले जे भनेको भए पनि त्यसको अर्थ हुँदैन र जीवित नातागोताको इच्छाको कदर गर्नुपर्छ भन्ने उनीहरुको तर्क थियो । आफूहरु त्यहँ आइदिए पछि मन राख्न भए पनि सबै गर्नुपर्छ भन्ने ढीठ गर्दै थिए ।

आज यो संस्कार नगरे भोलि परिवारमा विपत्ति आइपर्दा यसैको कारणले हो भनेर पछुताउनु भन्दा चलिआएको चलन गर्नुपर्छ भन्ने कुतर्क गरेर आशंकित र त्रस्त बनाउने सम्मको हदमा उनीहरु ओर्लिसकेका थिए । सबैभन्दा बढी मानसिक रुपमा मान्छे त्यो बेला आक्रान्त हुन्छ, जतिबेला उसको परिवारमा कुनै प्रियजनको निधन भएको हुन्छ । त्यही बेला आघात पु¥याउने दाउमा किन रहन्छन् नातागोता भनाउँदाहरु ? साधारण अवस्थामा अरुको जीवनलाई नियन्त्रण गर्न सकिन्न, आफूले चाहेको गराउन सकिन्न तर यस्तो कमजोर क्षणमा मात्र आफ्ना कुराहरु मनाउन सकिन्छ भनेर ?

अधिकांश अरु नातागोताहरु भने त्यो परिवारको कुरामा सहमत पनि थिए । निकै बेरको माथापच्ची पनि जब उनीहरुले आफ्नो पिताको आज्ञा विपरित ढकोसला नगर्ने नै निर्णय गरे, कुसंस्कारका पक्षधरहरुले अन्तत समर्पण गर्न वाध्य हुनै प¥यो । तर आर्यघाटमा दाहसंस्कार सकिएपछि पनि उनीहरु आफ्नो कुरा मनाउनका लागि प्रयत्न गरिरहेका नै थिए । कतिसम्म भने, हुक्का पानी बाराबार गर्ने धम्की समेत पनि उनीहरुले अन्तिम अस्त्रको रुपमा प्रयोग गरे । के त्यस्तो सम्वेदनशील अवस्थामा कसैलाई त्यसरी ब्ल्याकमेल गर्नु आफन्त र नातागोतालाई शोभा दिन्छ ? कसैले स्वेच्छाले संस्कारका नाममा आजसम्म पालिएका औपचारिकता र आडम्वरलाई तिलाञ्जलि दिन चाहन्छ भने त्यसलाई समर्थन गर्नुको साटो तर्साउने र दुरुत्साहित गर्ने काम गर्नु कसैलाई शोभा दिंदैन । आफन्त र परिवारलाई त झनै होइन ।