Translate

Sunday, December 18, 2011

आफ्नो लागि, अरुका लागि

बायाँ फन्को ७३

आजको विश्वमा प्रविधिको विकास पहिले कहिल्यै नसोचेको गतिमा भैरहेको छ । विशेष गरेर सूचना र संचारका सन्दर्भमा भन्ने हो भने त बीस वर्ष अघि गँजडीको गफ जस्तो लाग्ने कुराहरु आज सरल र सहज रुपमा हामीले उपभोग गर्न पाइरहेका छौं । त्यसले गर्दा हाम्रो जीवनशैली सरल भएको छ, कामकाज सहज भएको छ, हाम्रो समयको वचत भैरहेको छ । त्यो बचेको समयलाई हामीले अरु बढी उत्पादक कामहरुमा खर्चन पाइरहेका छौं । पहिले दशवटा विभिन्न कुराहरुले गर्ने काम आजकल एउटा हातेफोनले नै गर्न सकिन्छ । यो निश्चय नै पनि हाम्रा लागि सुखद परिवर्तन हो । तर प्रविधिको विकास संगसंगै हाम्रो आफ्नो नैतिकताको विकास पनि हुनु त्यति नै जरुरी छ । हाम्रो चेतनाको, हाम्रो ज्ञानको, हाम्रो वोधको विकास के प्रविधि संगसंगै भैरहेको छ त ? आजको विकासको गतिसंग हामीले आफूलाई नकुदाइ सुख्खै छैन, यसमा कुनै विवाद गर्ने ठाउँ छैन । प्रश्न यति मात्र हो, हामीले यो दौड भ्याइरहेका छौं कि छैनौं त ? आज कुनै प्रविधि हामीले राम्ररी प्रयोग गर्दा नगर्दै त्यसको परिस्कृत संस्करण बजारमा आइसकेको हुन्छ । हामी त्यो परिस्कृत संस्करणलाई भेट्न कुदिहाल्छौं । त्यसो गर्न सकेन भने हामी पछाडि पर्छौं । अनि त्यसलाई भेट्टाउँदा नभेट्टाउँदै अर्को संस्करण हाम्रो अघि परिसकेको हुन्छ । हामी आजकल यस्तो घोडा भएका छौं, जसको पीठमा प्रविधि सवार छ । उसले एउटा लामो लठ्ठीमा धागोले बाँधेर एउटा गाजर हाम्रो अघि झुण्ड्याइदिएको छ । हामी त्यो गाजर खानका लागि कुदिरहेका छौं । हामी जति कुद्छौं, गाजर त्यति नै हाम्रो पहुँचभन्दा अलिकति अगाडि नै रहिरहेको हुन्छ । प्रविधिलाई आफ्नो दास बनाउने दिग्भ्रममा चिप्ल्यो भने मानिस कुन बेला आफू त्यसको दास बन्यो, थाहा पनि हुँदैन ।

एउटा सानो उदाहरण यहाँ नेर उल्लेख्य हुन सक्छ । टाइपराइटर भन्ने कुराबाट इलेक्ट्रोनिक टाइपराइटर हुँदै कम्प्यूटरको विकासमा पुग्नलाई निकै लामो समय लागेको थियो । इलेक्ट्रोनिक टाइपराइटर चलाउन पाउने हुने बेलासम्म मानिस टाइपराइटर भन्ने यन्त्रसंग राम्ररी भिज्न भ्याइसकेको थियो । टाइपराइटर आफैमा त्यति धेरै जटिल पनि थिएन । तर आजकल प्रविधिले हजारौं गुना छिटो फड्का मारिरहेको हुन्छ । ती यन्त्रहरु, कम्प्यूटर र मोवाइल फोनहरु यति धेरै परिष्कृत छन्, तिनका कार्यक्षमता यति धेरै विस्तृत छन्, तिनका प्राविधिक संरचना यति धेरै जटिल छन्, ती सबै बुझ्न हामी सक्दैनौं । तर पनि राम्ररी तिनलार्ई चिन्नु अघि नै त्यसको अझ जटिल र परिमार्जित रुप तिर हामी झुम्मिनु परिरहेको छ । त्यसको अर्थ के हो भने, हामीले प्रयोग गर्ने प्रविधि र हामी बीचको दूरी र असमझदारी दिनप्रतिदिन बढ्दो छ । यसको कुनै नकारात्मक परिणाम नआओस् भन्ने कुरामा आजका मानिसहरु सचेत हुनु जरुरी छ । यो विस्तृत विषयको सबै हाँगाबिंगा केलाउन थाल्यो भने त सानो तिनो महाभारत नै लेद्यन सकिएला । त्यसैले यहाँ नेर अहिले एउटा पक्षको मात्र कुरा गरौं । कुनै पनि मानिस वा कुराको सूचना र जानकारी आजकल अति सरल रुपमा उपलव्ध हुनसक्छ । यसले गर्दा मानिस मानिस वीचको सम्पर्क सहज भएको त अवश्य नै छ तर उसको गोपनीयता पनि त्यति नै खतरामा परिरहेको छ । प्रविधिको विकासले गर्दा कुनै पनि कुराको दुरुपयोग पनि त्यति नै सहज हुँदै गइरहेको छ । यो निश्चय नै पनि द्रूत विकासको लागि हामीले चुकाउनु परेको मूल्य हो ।

सामाजिक संजाल मार्फत आज मानिस एकआर्कालाई नभेटी पनि एकआर्काको निकट हुन पाइरहेको छ । आफ्नो बारे बताइरहन पाएको छ, अरुका बारे थाहा पाइरहेको छ । त्यसको संगसंगै एकआर्कालाई त्यति नै सजिलोसंग विगार गर्न पनि सकिरहेको छ । त्यसले गर्दा आजको मान्छे एकआर्का संग सशंकित पनि त्यही मात्रामा हुन थालिरहेको छ । के प्रविधिले मानिस मानिस बीचको समन्वय र विश्वासको वातावरणलाई भाँडिरहेको त हैन ? बाबुआमालाई आफ्ना केटाकेटीहरुको बारे पहिलेको भन्दा बढी चिन्ता लागिरहेको हुन्छ । प्रेममा चोट खाएको वा असफल प्रेमीले कुनै युवतीका फोटा र विवरणहरुलाई गलत हिसाबले प्रयोग गरिरहेका घटनाहरुका प्रशस्त उदाहरणहरु देखिन थालेका छन् । कसैको कुनै पनि विवरण प्राप्त गर्नु र त्यसलाई निमेष भरमा नै संसारको माझ पु¥याउनु आज सजिलो बनाइदिएको छ प्रविधिको विकासले । यो निश्चय नै पनि सतर्क हुनुपर्ने कुरा हो । तर त्यसो भनेर प्रविधि र विकासलाई पच्छ्याउन छोड्नु यसको समाधान त पक्कै पनि हुन सक्दैन ।
तसर्थ आजको अवस्थामा सबै भन्दा ठूलो आवश्यकता हो, हामी आफैले आफ्ना लागि आचारसंहिताहरु तोक्नु र तिनको अनुशासित रुपमा पालना गर्नु ।

हो, मान्छेको स्वभावले नै गर्दा गर्न हुँदैन भनेको कामले उसलाई बढी आकर्षित गर्छ । आवेगमा आएको बेला अगाडि पछाडि नसोची बदलाको भावनाले अभिप्रेरित हुनु भनेको मान्छेको स्वभावीय कमजोरी हो । यहाँ नेर कसैले पनि बिर्सन नहुने कुरा के हो भने, छिमेकको गोठमा छिरेको बाघ भोलि आफ्नो घरमा पनि पल्किन सक्छ । त्यसैले आफू भित्र त्यस्ता बाघहरु जन्मिन वा हुर्कन दिनु हुँदैन । आफ्नो केही क्षणको रोमाञ्चक आवेगले अरुको पूरै जीवनलाई कतिसम्म हानि गर्न सक्छ भन्ने कुरालाई मनन गर्नुपर्छ । अरुलाई आफूले दिएको परपीडा भोलि आफैलाई कसैले दिएको अवस्थामा आफूलाई के हुन्छ भन्ने कुरा मानिसले कहिले पनि बिर्सनु हुँदैन । नियम कानून भनेको समय सापेक्ष रुपमा बनिरहेका कुरा हुन्, बनिरहन्छन् तर त्यसको डरले मात्र मान्छे नियन्त्रणमा हुने हो भने संसारमा दुराचार र अपराध उहिल्यै निमिट्यान्न भैसक्नु पर्ने हो । तर त्यसो भएको त छैन । मानिसले डर र करले हैन, स्वेच्छाले कुकर्मबाट आफूलाई टाढा राख्नुपर्छ । आफूले आफूलाई अनुशासनमा राख्ने हो र कुनै पनि दुराचारबाट टाढा राख्ने हो भने कुनै नियम कानून र तिनका डरको आवश्यकता नै रहँदैन । यो कुरा अरु हरेक क्षेत्रमा जस्तै सूचना र प्रविधिमा पनि लागू हुन्छ । हामीले अरुका लागि यो संसारलाई सुन्दर बनाउने हो भने त्यो हाम्रो आफ्नै लागि पनि त्यति नै सुन्दर हुन्छ ।

Wednesday, December 14, 2011

just because you are a foreigner.....

The incident took place when I was driving by Gwarko Chok. One Maruti gypsy was ahead of me. The traffic police signalled our side to stop and signaled the other side to move ahead. A motorcycle moved ahead. But to my horror, even after seing it, the gypsy moved ahead and crushed the front wheels of the motorcycle. The one driving and the pillion rider fell to the ground. A foreigner was driving the gypsy and instead of coming out to find what damage he had caused, without rolling down the window, he was shouting from inside. When the bike riders asked him what he was trying to do, he rolled the window down and started shouting,
"I do not understand Nepali."
I could not bear it and intervened,
"Do you understand English?"
He said yes.
I was so angry that I told him on his face then,
"You are a m....fu.....er. What the hell were you trying to do crushing the bike after the traffic cop asked you to stop?"
He was speechless. I felt bad afterwards for using the word but maybe some foreigners believe that they are free to do anything in Nepal.

Monday, December 5, 2011

bright dawn

Woke up with lot of energy and enthusiasm for life this morning. Although it is still dark outside, I feel that the sun has already come up and shining with its warmth. This is indeed a lovely morning. I was feeling low for some time. Suddenly it feels that some one has waved a magic band and brought me back to my old positive and energetic form. I have to keep up the mood and contribute for that. Good morning braZesh.

Sunday, December 4, 2011

सडक, हामी र ‘हुलुश’

बायाँ फन्को ७२

केही दिन अघिको कुरो हो । हुन त यो र यससंग मिल्दा जुल्दा प्रसंगहरु आजकलको बेला बखतमा साह्रै नौलो कुरा त होइन । तर पनि हामीले सहज रुपमा पचाइसकेका कुराहरुका पछाडि पनि केही सोच्नु पर्ने पक्षहरु हुन्छन् । केही कुराहरु यस्ता हुन्छन् जसलाई साधारण मानेर बेवास्ता गर्दै जाँदा पछि गएर त्यसले हाम्रो आचरण, व्यवहार र मानसिकतामा नै कुनै गम्भीर प्रभाव छोडिसकेको हुन सक्छ । त्यतिखेर त्यसलाई सुधार्न, छोड्न र परिमार्जन गर्न कठीन हुन सक्छ ।
काम विशेषले बिहानै हाँडी गाउँ तिर पुग्नु परेको हुनाले त्यस दिन काठमाण्डौंको चीसोलाई चुनौती दिंदै यो स्तम्भकार सखारै गुँडको न्यानो छोडेर निस्केको थियो । बिहान आठै बजे भन्दा अघिको समय भएकोले काठमाण्डौंको छिचोलिनसक्नुको ट्राफिकको कोपभाजनबाट बच्न सकिन्छ भन्ने सोच थियो । त्यसैले चीसो खाए पनि भीडभाड र अन्य सवारीसाधनका पेलाइबाट छलिंदै कालिकास्थानबाट डिल्लीबजार हुँदै त्यहाँबाट चारखाल तिर मोडिएर जान खोज्दा पहिलेदेखि नै त्यहाँ अस्वाभाविक अवस्थामा ट्राफिक जाम भएको देखियो । दुई पाङ्ग्रे ुवारी साधनमा भएका कारण अलिअलि अघि बढ्न सम्भव भएर चारखालको मोडमा पुगे पछि भने गतिमा पूर्ण विराम नै लाग्यो । त्यहाँको सम्पूर्ण आवागमन ठप्प हुनुको पछाडि एउटा धार्मिक ¥याली कारक तत्व बनिरहेको थियो । चारखाल तिरबाट असंख्य मानिसहरु एक धर्मगुरुको फोटो र उनका अमरवाणीहरु लेखिएका प्लाकार्डहरु लिएर लामवद्ध भएर आइरहेका थिए । उनीहरु पुतलीसडक तिर झर्दै थिए । केटाकेटी, तरुनातरुनी र वृद्धवृद्धाहरु सबै समान रुपमा त्यस ¥यालीमा सहभागी थिए । कोही भजनकीर्तन गर्दै थिए, कोही नारा लगाइरहेका थिए भने कोही नाचगान पनि गर्दै थिए । आस्था कसैको कुनै पनि हुन सक्छ, त्यस आस्थामाथि आफ्नो आस्था भए पनि नभए पनि अरुको आस्थाको सम्मान गर्नुपर्छ भन्ने यो स्तम्भकारको सँधै मान्यता रहआएको छ । उताबाट आएर त्यो लाम पुतलीसडक तिर अनवरत झरिरहँदा न त त्यता जाने सवारीसाधनहरु छिर्न पाएका थिए, न त उतातिर जाने । निकै बेर भइसकेकपछि पनि लाम सकिने कुनै संकेत नै थिएन  । त्यस अवस्थामा अब पछाडि डिल्लीवजार पीपलबोट, मैतीदेवीको चोक, पुल हुँदै बानेश्वरसम्म सवारी साधनहरु अलपत्र पर्न थालिसकेका थिए । त्यो भन्दा पारी के भएको होला भन्ने अनुमान लगाउन कुनै गाह्रो कुरा थिएन । एकै छिन त्यो लामलाई रोकेर ती सवारीसाधनहरुलाई जान दिने हो भने स्थिति निकै सहज हुन सक्थ्यो । छेवैमा उभिएका ट्राफिक प्रहरी भने उल्टै हर्न बजाइरहेका सवारी साधनहरुलाई रोक्ने ईशारा गर्दै जुलुसलाई पठाइरहेका थिए ।
त्यो पछाडिको जाममा अफीस समयमा पुग्न नपाउने मानिसहरु पनि अड्केका थिए, छोराछोरीलाई स्कूल पु¥याउन हतारिएका अभिभावकहरु पनि थिए । अलि पछाडि कुनै विरामी बोकेको एम्बुलेन्स पनि टिठ लाग्दो गरी कराइरहेको क्षीण आवाज पनि नसुनिएको होइन । लाममा आइरहेका मानिसहरु भने बर्खे भेलमा उर्लिएको खोलाको पानी जस्तो अविच्छिन्न, अनवरत र निरन्तर आइ नै रहेका थिए । निकै बेर पछि अलिकति खालि हुन लागेको जस्तो देखेर त्यस्तै कुनै हतार भएको मोटरसाइकल छिर्न खोज्यो । त्यति हुन सक्यो भने अर्को तिर खालि र सुनसान भैसकेको बाटोमा ऊ हुईँकिन पाउँथ्यो । तर उसलाई ¥याली अनुगमन गरिरहेका मध्ये एकजनाले झम्टेर रोक्यो ।
‘एक छिन कुर्न सक्नुहुन्न तपाईं ? तपाईंलाई मात्रै हतार छ ?’ ऊ बम्क्यो ।
आफ्नो आस्थाको लागि ¥यालीमा हिंड्नु र हिंडाउनु जति ती आयोजकहरुको अधिकार हो, मूलसडकमा निर्वाध आवागमन गर्न पाउनु अरुको पनि अधिकार हो । आफ्नो छोराछोरीलाई समयमा स्कूल पु¥याउन पाउनु, आफू समयमा कार्यालयमा जान पाउनु, विरामीलाई समयमा अस्पताल पु¥याउन पाउनु, भनेको ठाममा निश्चित समयमा पुग्न पाउनु अरु मानिसका पनि अधिकारको कुरा हो । तर आस्थाको त्यो ¥यालीले अरु धेरै मान्छेका अधिकारहरु हनन गरिरहेको थियो । एकै छिन रोकेर अरुलाई जान दिए हुन्थ्यो भन्ने यस स्तम्भकारको  अनुरोध पनि उनीहरुले सुनेनन् । हतार कै कुरा गर्ने हो भने ¥यालीलाई बरु आधाघण्टा ढीला भएर केही फरक नपर्नु पर्ने हो । तर होइन, त्यो नसकिउन्जेल कोही चुइँक्क पनि बोल्न पाएन । झण्डै आधाघण्टाको त्यो विशाल लाम सकिएपछि मात्र बाटो सर्वसाधारणका लागि खुल्यो । भनिरहनु नपर्ला त्यतिन्जेल सम्म पछाडि थुप्रेका सवारीसाधनहरुका कारण त्यो बाटो र त्यससंग जोडिएका अरु बाटोहरुको अस्तव्यस्ततालाई पन्छाउन कति समय लाग्यो होला ?
यसै पनि सडक, तिनका लम्बाइ र चौडाइले थेग्नै नसक्ने गरी राजधानीमा सवारीचाप छ । निर्वाध रुपमा कुनै एक ठाममा गाडी गुड्न नपाउनासाथ सिंगै काठमाण्डांैको ट्राफिक अस्तव्यस्त हुन्छ । तर पनि दिनहुँ हामी केही न केही बहानामा सडक ढाकेर यस्तै केही न केही गरिरहेका हुन्छौं । कहिले धर्मको नाममा, कहिले राजनीतिको नाममा, कहिले कुनै जायज वा नाजायज विरोधका लागि, कहिले केही सफलताको खुसियालीमा, कहिले असफलताको दुःखमा र कहिले बिहेको उत्सवमा हामी सडकहरु अवरुद्ध पारिरहेका हुन्छौं, जुलुशको नाममा ‘हुलुश’हरु निकालिरहेका हुन्छौं ।  आफ्नो काम नसकिउन्जेल हामी अर्काको लागि कुनै महत्व दिंदैनौं । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको हनन नहोस् भन्ने हामी कहिले पनि किन सोच्दैनौं ? ‘हुलुस’ र ¥याली मात्र होइन, सवारी चलाउँदा पनि आफू फसिन्छ भन्ने लाग्यो भने पछाडि आएका एम्बुलेन्सका लागि समेत छेउ नलाग्ने संस्कार हामीमा विकसित भएको छ । पेटीमाथि चढाएर मोटरसाइकल हुइंक्याउने, पेटी नभएका सडकमा दुई तीन जना हिंड्दा अघिपछि नभएर दायाँ वायाँ भएर हिंड्ने, पछाडिबाट कसैले हर्न बजायो भने त्यसैलाई उल्टो आँखा तर्ने, केही बोल्यो भने त्यसलाई ‘फलान्थोक’को उपाधिले विभूषित गर्ने र दोहोरो बोल्नेको बंगारा झार्न खोज्ने प्रवृत्ति हामीले अहिले नै त्याग्न सक्नुपर्छ ।
हुन त सार्वजनिक सवारी आवागमनमा अवरोध हुने गरी ‘हुलुश’ निकाल्न पाइँदैन भन्ने नियमकानून कतै उपेक्षित रुपमा लेखाइमा मात्र कुँजिएर नबसेको त छैन क्यार । तर आचरण र सोचले साथ नदिने हो भने नियम र कानूनका कुनै अर्थ हुँदैन । कडाइका साथ, बल प्रयोग गरेर अनुशासनमा ल्याउने भनेको विवेकहीन जनावरलाई हो, विवेक भएको मानिस भन्ने प्राणीलाई होइन । हामी मानिस हौं, हामीमा विवेक छ भन्ने कुरा हामीले नै प्रमाणित गरेर देखाउनु पर्छ । त्यो पनि कुराले होइन, कामले ।

Reasons Unknown

Although my creative writing has gained momentum in recent times, I still have not been able to wrap up the draft of my novel. I don't know the exact reason but something is distracting me. I have been keeping up with my regular column in Nepal weekly and regularly writing for Kantipur and Nagarik. Yet, when it comes to the completion of my novel, it's stuck where it was. Only a small portion is remaining and I have not been able to write it.

Sunday, November 20, 2011

हिउँ पर्ला त ?

बायाँ फन्को ७१

यस पटक त काठमाण्डौंमा पनि हिउँ पर्ला जस्तो छ । 

कार्तिक नसकिंदै ह्वात्त बढेको जाडोले गर्दा अहिले मानिसहरु उत्साहित भएर यो चर्चा गरिरहेका भेटिन्छन् । महीना पन्ध्र दिन पछि बाकस खोतलौंला भनेर बसेकाहरुले धमाधम न्यानो लुगाहरु झिकिसकेका छन् । मानिसहरु यस पटक काठमाण्डौमा मज्जाले हिउँ पर्ने भयो भनेर खुसी भएका छन् । धेरै जमघटमा यो चर्चा भएको पाइन्छ आजकल । यस पटक त कस्सो हिउँ नपर्ला त काठमाण्डौमा । अधिकांश मानिसहरुलाई हिऊँको प्रतीक्षा छ । केही समय अघि न्यू योर्कमा पनि अक्टोवर महीनामा नै हिउँ प¥यो । आफ्नो नियमित चक्रमा मात्रै हिंड्ने र भरपर्दो मानिएको प्रकृतिका नियमहरु समेत आजकल उटपट्यांग हुन थालेका छन् । जलवायु परिवर्तन वा अरु जेसुकैका कारण किन नहुन्, पहिलेको जस्तो छैन आजकल । नपर्ने बेलामा पानी पर्न सक्छ, नहुनेबेला जाडो हुन सक्छ । केही पनि हुन सक्छ । 

हो, सुन्दा बडो रोमाञ्चक लाग्छ हिउँ पर्ने कुरा । आकाशबाट फुसफुस सेता सुन्दर हिमकणहरु झरेको र आफ्नो वरिपरि सबै कुरा सेताम्य भएको दृश्य कल्पनामा कति सुन्दर लाग्छ । तर हामीले हेक्का नगरेको कुरा के हो भने, कुनै पनि अप्रत्याशित परिवर्तनका अरु पाटाहरु पनि हुन्छन् । ती सबै पाटाहरु सुखद र आनन्ददायक हुनै पर्छ भन्ने चाहिँ छैन । सुन्दा, तसवीरमा हेर्दा वा कल्पना गर्दा रमाइलो लाग्ने कुराहरु भोग्दा अर्कै पनि त हुन सक्छन् । त्यस्तै काठमाण्डौंमा हिऊँ पर्नुका पनि अरु पाटाहरु नभएका होइनन् । तर्कको कुरा गर्दा काठमाण्डौमा हिउँ नपर्नु पर्ने हो । हुन त आजकल मौसम अकल्पनीय हुन सक्छ । त्यसैले एकै छिनको लागि मानौं, काठमाण्डौमा यस पटक साँच्चै नै मज्जाले हिउँ परेछ रे । त्यो पनि एकदुई फीट । के हाम्रो कल्पनामा जति नै मनमोहक हुन्छ होला त त्यो अवस्था ? हिउँको काव्यात्मक सौन्दर्य पक्षलाई मात्र नहेरि त्यसको व्यावहारिक पक्षलाई पनि केलाउने हो भने मात्र थाहा हुन्छ, हामी भारी हिमपातका लागि तयार छैनौं । हाम्रा भौतिक संरचनाहरु त्यस अनुपातका छैनन् । अधिकांश घरहरुमा छड्के परेको भिरालो छानो छैन । समतल र समथर छानाहरुमा भारी मात्रामा हिऊँ जम्यो भने त्यसलाई खनेर फ्याल्नका लागि हामीसंग घरघरमा औजारहरु छैनन् किनभने त्यो हामीले नभोगेको अवस्था हो । त्यसको आवश्यकता हामीलाई अहिलेसम्म परेको छैन । बाटाघाटाका हिऊँ पन्छाउने कुनै उपाय हाम्रो नगरपालिकासंग छैन । सवारी साधनहरुमा त्यस्तो अवस्थामा सुरक्षित भएर गुड्ने टायरहरु पनि छैनन् । हिमपातबाट बच्ने आधारभूत उपायहरु नै नहुँदा पनि हामी हिऊँ परोस् भन्ने ‘रोमाण्टिसिज्म’ मा रमाउँछौं ।

हिउँको कुरा त एउटा उदाहरण मात्र हो । हामी हरेक अस्वाभाविक कुराहरुमा किन यति धेरै रमाउँछौं ? हुनु नपर्ने कुराहरु भैदिए हुन्थ्यो भन्ने हाम्रो चाहना किन यति बलियो छ ? केही समय अघि देखिको घटनाक्रमहरुलाई नियालेर हेर्ने हो भने र हाम्रो आम मानसिकताको सूक्ष्म अवलोकन गर्ने हो भने लाग्छ, हामी द्रूत र अस्वाभाविक परिवर्तनप्रेमी हौं । परिवर्तनको चाहना अस्वाभाविक कुरा हैन, सबैमा हुन्छ । परिवर्तन प्रकृतिको नियम हो । तर परिवर्तन केका लागि, कहिले र कस्तो भन्ने कुरा पनि सोच्नुपर्ने कुरा हो । परिवर्तनको पनि समय हुनुपर्छ । नवीनतामा रोमाञ्चको खोजी गरेर हामीले कतै स्थायित्व भन्ने कुरालाई चाहिँ पाखा लगाइरहेका त छैनौं ? हरेक कुरामा द्रुत परिवर्तन र तुरुन्त परिणाम खोज्नु हुँदैन । गर्भधारण गरेपछि पनि नौ महीना नकुरी त सन्तानप्राप्ति हुँदैन नि । त्यस्तै हरेक कुराका आआफ्नै अवधि हुन्छन् । त्यही अनुसार धैर्य त गर्नु नै पर्छ । सबै भन्दा बढी हामी राजनीतिक परिवर्तनमा उत्साहित हुने गरेका छौं । पछिल्लो केही समयमा कति सरकार बने, कति सरकार परिवर्तन भए ? आगामी दिनमा कति अरु परिवर्तन हुने छाँट छ ? एउटा सरकार बन्नासाथ अर्को कसको नेतृत्वमा कहिले र कसरी परिवर्तन गर्ने भन्ने कुराको समीकरणहरु सुरु हुन थाल्छन् । मानौं हामीले सभासदहरुलाई भोट नभै एउटा म्यूजिकल चेयर भन्ने खेल उपहार दिएका हौं र उनीहरुको त्यो खेल खेलेर हाम्रो मनोरञ्जन गरिरहेका छन्, हामी माथि कृपा गरिरहेका छन् । यही आलोपालोको नेतृत्व र प्रधानमन्त्रीको नामको लर्कोमा आफ्नो नाम राख्ने लोभमा आजसम्म ओथारोमा भएको सम्विधानका लागि कति परिवर्तनहरु भए ? तिनले गर्दा हाम्रो मुलुकको यात्राको गति कम भयो, योजनाहरु बन्न सकेनन्, नीतिनियमहरु लागू हुन सकेनन्, भएकाहरुको पनि प्रभावकारी कार्यान्वयन हुन सकेन । हरेक क्षेत्रलाई यो कछुवाचालले झन्झन् पछाडि पार्दै लग्यो । यी व्यर्थका रोमाञ्चले हामीलाई एउटै पनि दंग पर्ने कुरा दिएको छैन ।  आज कुनै पनि क्षेत्रमा विश्वको दाँजोमा हामी कहाँ छौं भनेर सोच्नुपर्ने अवस्थामा हामी पुगेका छौं । यसको पछाडि अरु कूटनीति र राजनीति त अवश्य छ तर हाम्रो द्रुत परिवर्तन, कुनै चीजबाट चाँडै अघाउने बानी र अस्थीर मानसिकता पनि त्यत्ति नै जिम्मेवार छ कि त ? लामो प्रतीक्षापछि जनताले सही समयमा पाएको एउटा परिवर्तनको रुखमा समय नै नदिई रातारात फल लाग्ने र पाक्ने आशा गरेका त छैनौं हामीले ? कतै हामीले आत्ममूल्याँकन गर्ने बेला भएको त हैन ? 

हिउँको उदाहरण जस्तै दूरगामी प्रभाव नकेलाइकनै हामी नयाँ कुराको रोमाञ्चमा अलमलिएका छौं । हो, प्रयोग र गलतीबाट पनि मानिसले संसारमा धेरै कुरा सिकेको छ तर त्यस्ता प्रयोग कुन कुरामा गर्ने वा नगर्ने भन्ने कुरा तर्कको तराजुमा पहिले राम्रोसंग तौलन सक्नु नै वुद्धिमत्ता हो । परिवर्तनको कुरा गर्ने हामीले सानासाना कुराहरुमा चाहिँ ध्यान दिएका छैनौं । सामाजिक परिवर्तन नभै सत्ता परिवर्तन मात्रले मुलुक उँभो लाग्न सक्दैन । सामाजिक परिवर्तनका लागि व्यक्तिगत परिवर्तन जरुरी हुन्छ । हाम्रो सोच, आनीबानी र मानसिकतामा पनि परिवर्तनको खाँचो छ । हामीले अझै बाटोमा थुक्न छोडेका छैनौं, ट्राफिक नियम पाएसम्म मिचेका नै छौं । बाटोमा लगेर घरको फोहोर हुत्याउन छोडेका छैनौं । भ्याट छल्न छोडेका छैनौं । फेला नपरी र वाध्य नभै आयकर पनि तिर्दैनौं । कतै लाममा लाग्नु हामीलाई इज्जत जानु हो भन्ने लाग्छ । नियमकानून भनेको कोही नभएकाहरुका लागि हो भन्ने सोच्छौं । घूसै खाएर अकूत सम्पत्ति जोड्नेलाई पनि कमजोर आर्थिक अवस्था भएको वुद्धिजीविलाई भन्दा बढी आदर गर्छौं । अनि हामी नै ठूलाठूला कुराहरु गर्छौं । मुलुकका कति जनता शिक्षा र स्वास्थ्य जस्ता कुराबाट वञ्चित छन्, कतिपय विकट जिल्लामा मानिसहरु वर्षका थुप्रै महीना अन्नको मुख देख्न पाउँदैनन् । तर हामी नेपाली सङ्गीतमा मोज्जार्ट जन्मेनन्, सिनेमाले स्कोर्सिज जस्ता निर्देशक जन्माएन, कलामा पिकासो पैदा भएन, मिस नेपालले यसपटक पनि ताज जित्न सकिनन्, खेलकूदमा संसार थर्काउन सकिएन, राजधानीमा मेट्रो रेल चलेन र नेताहरुले देश डुबाए भनेर चिन्ता गर्छौं । डुबाएकै हुन् भने पनि तिनलाई त्यो अधिकार, शक्ति र मौका हामीले नै दिएका हैनौं र ? 

आशा गरौं, यसपटक काठमाण्डौंमा हिमपात नहोस् ।

Sunday, November 6, 2011

नजीकको तीर्थ हेलाँ

बायाँ फन्को ७०

पिकासोको बारे एउटा रमाइलो घटना प्रचलित छ । एक पटक केही मान्छेहरु एउटा चित्रकला प्रदर्शनीका लागि उनको चित्र माग्न गएछन् । पिकासोले पनि आफ्नो कुनै एक चित्र दिएर पठाएछन् । अलि धेरै दिन चल्ने उक्त प्रदर्शनी सुरु भएको केही दिन पछि पिकासोको त्यो चित्रको बारेमा चर्चा परिचर्चाहरु हुन थालेछन् । पत्रपत्रिकाहरुमा कला समीक्षकहरुले त्यस चित्रका बारे बखान लेख्न थालेछन् । त्यो चित्र, त्यसको आयाम, त्यसमा कोरिएका धर्का, प्रयोग भएका रंगहरु, तिनका समायोजनका बारे थुप्रै लेखिएछ । तिनले के भन्न खोजेका हुन् भन्ने व्याख्या पनि ज्ञाताहरुले आआफ्नै ढंगबाट सशक्त रुपमा पेश गरेछन् । केही दिन पछि के सुर चढेर पिकासो त्यो प्रदर्शनी अवलोकन गर्न आफू पनि पुगेछन् । अरु चित्रहरु हेर्दैहेर्दै आफ्नो चित्रको अगाडि पुगेर पिकासो रोकिएछन्, केही बेर घोरिएर त्यसलाई हेरेपछि आयोजकलाई बोलाएर उनले भनेछन्,
“मेरो चित्र त उल्टो पो झुण्ड्याइएको रहेछ । कृपया यसलाई सुल्टो बनाउनुहोला ।”

अर्को एउटा यस्तै रमाइलो प्रसंग चार्ली च्याप्लिनसंग सम्वद्ध छ । च्याप्लिन चर्चा र प्रसिद्धिको चरम चुलीमा भएको बेला उनका प्रशंसकहरुका लागि एउटा प्रतियोगिताको आयोजना गरिएछ । त्यस प्रतियोगितामा चार्ली च्याप्लिनका डुप्लिकेटहरुले उनको नकल गर्नु पर्ने थियो । जो सबै भन्दा बढी हुबहु च्याप्लिन जस्तो देखिन्थ्यो र जसले बढी भन्दा बढी उनको नकल उतार्न सक्थ्यो, त्यसलाई विजेता घोषित गरेर पुस्कार दिइने व्यवस्था गरिएको रहेछ । च्याप्लिनका थुप्रै डुप्लिकेटहरुका लाइन लागेको रहेछ । रमाइलोको लागि कसैलाई केही नभनी सुटुक्क स्वयं च्याप्लिन पनि तिनका माझमा मिसिएर आफ्नो पालो कुर्न थालेछन् । च्याप्लिनको नकल गर्नु पर्ने त्यस प्रतियोगिताका निर्णायकहरुले अन्त्यमा स्वयं चार्ली च्याप्लिनलाई दोश्रो भएको घोषणा गरिदिएछन् । 

माथिका हाँसो लाग्दा दुइ प्रसंगहरुलाई अलि गहिरिएर हेर्ने हो भने त्यसले एउटा कुरा थाहा हुन्छ । कला, साहित्य र सिर्जनाको स्तर नाप्ने कुनै निश्चित फर्मूला वा यन्त्र हुँदैन । नराम्रो सिर्जनालाई नराम्रो भन्न सकिने धेरै आधारहरु भए ता पनि राम्रा मध्ये कुन बढी स्तरिय भन्ने कुरा निक्र्यौल गर्न चाहिँ असम्भव कुरा हो । बहुसंख्यक दर्शक, पाठक वा श्रोताले मन पराएको कुरालाई बाँकी सबैले पनि सहज रुपमा स्वीकार गरेका कारण कुनै सर्जक वा सिर्जना विशिष्ट हुने गर्दछ । तर सिर्जनाको मूल्याँकन गर्ने बेला हामी सबै त्यो श्रष्टाको नाम, ख्याति र चर्चा प्रति धेरै हदसम्म पूर्वाग्रही भइरहेका हुन्छौं । त्यो जानी जानी वा नजानिंदो तवरले पनि भै रहेको हुन सक्छ । थुप्रै पैसा खर्च गरेर बनाएको घरको भित्तामा कुनै केटाकेटीले आएर लतपतिएका बाङ्गाटिङ्गा धर्काहरु कोरिदियो भने रिस उठ्छ । हामी त्यसलाई भित्ता फोहोर पारेको भनेर मान्छौं । तर, त्यस्तै धर्का एम एफ हुसेन जस्ता कलाकारले कोरिदयो भने त्यही नै गर्वको कुरा हुन्छ र त्यसमाथि आजीवन अर्को रंग कसैले लगाउँदैन । नारायण गोपालको निधन पछि सार्वजनिक भएको एउटा गीतको बीचमा उनले खोकेको आवाज नै पनि विज्ञापन गर्ने कुरा भएको उदाहरण त हाम्रै माझमा पनि छ । त्यसैले राम्रो र नराम्रो भन्ने मानक अरु धेरै कुराहरुमा भर पर्ने गर्दछ । 

त्यति हुँदाहुँदै पनि केही निश्चित र ठोस आधारहरु हुन्छन् जसले कुनै सिर्जना वा श्रष्टाको विशिष्टतामा विवाद गर्ने ठाउँ दिएको हुँदैन । हाम्रो परिवेशमा कुरा गर्दा केही मानिसहरु नेपाल भित्रका नेपालीहरु र नेपाली मूलका प्रवासीहरुका सिर्जनाका बारे अनावश्यक तुलनाहरु गरिरहेका भेटिन्छन् । उताकाहरु आएर नसिंगारेको भए हाम्रो सङ्गीत आज यति धनी हुँदैन थियो भन्ने विवाद गर्नेहरु र त्यसो भन्नेहरुको पाखुरा सुर्केर खोइरो खन्नेहरुका प्रतिवादहरु बेलाबेला सुनिरहेको कुरा हो । यहाँ नेर बिर्सन नहुने कुरा के हो भने, यता नआइ उताकाहरुले जतिसुकै विशिष्ट भए पनि नाम र दाम कमाएका छैनन् । बढी भन्दा बढी पाठक, श्रोता वा दर्शक, नाम र दामको चाहना हरेक मान्छेमा हुनु स्वाभाविक हो । इटालियन मूलका रोवर्ट डि नेरो र अल पचिनो जस्ता अभिनेताहरु अमेरिकाको चलचित्रमा नभएका भए त्यति नै प्रख्यात हुन्थे कि हुन्नथे भन्ने आफ्नै प्रश्न हुन सक्छ । उदीतनारायण र मनीषा कोइरालाले पनि भारतमा गएर कमाएको प्रसिद्धि आलो कुरा नै हो । पाकिस्तानका नामूद गायकहरुका पनि भारतीय बजार पाएपछि सही मूल्याँकन भएको उदाहरणहरु छन् । त्यसैले सीमा पारीका श्रष्टाहरु काठमाण्डौं आउनु पनि यही क्रमको एउटा अत्यन्त स्वाभाविक कुरा हो ।  आदिम कालदेखि नै मान्छेले आफ्नो लागि बढी उर्वर भूमि खोज्न जानेका थियो र त्यो क्रम अझै कायम छ । यस स्वाभाविक प्रकृयाकोे विरोध गर्नु वा अनावश्यक चर्चा गर्नु यो लेखको आशय पटक्कै होइन । 

तर हालसालै पनि साहित्यको सन्दर्भमा भारतका नेपालीहरुको सिर्जना हाम्रा साहित्यकारहरुको भन्दा स्तरिय छ भन्ने महानवाणी कुनै एक महानुभावको मुखारविन्दबाट अभिव्यक्त भएको पाइयो । अचम्मको कुरा के भने माथि भनिए जस्तो साहित्यलाई कुन कसीमा घोटेर कुन आधारमा प्राप्त भएको ज्ञान होला त त्यो ? तुलनाको कुरा गर्नै पर्छ भने र हाम्रो नेपाली साहित्यको ईतिहास केलाएर हेर्ने हो भने भानुभक्त, मोतीराम, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, लेखनाथ पौडेल, रुद्रराज पाण्डे, गुरुप्रसाद मैनाली, शंकर लामिछाने, दौलतविक्रम विष्ट, ध. च. गोतामे, ध्रुवचन्द्र गौतम, गोविन्द गोठाले, विजय मल्ल जस्ता साहित्यकार र तिनका रचनाका सामु टिक्न सक्ने कुन चाहिँ भारतीय नेपाली साहित्यकार छन् भन्ने कुरा मेरो अल्पवुद्धिले चाहिँ फेला पार्न सकेको छैन । 

हुन त कसैकसैको आँखा कमजोर हुन्छ र उनीहरु नजीकको कुरा राम्ररी देख्न सक्दैनन् । त्यसको निराकरण गर्ने एउटा सजिलो उपाय छ । नेपाली साहित्य र सङ्गीत आफैमा उताको योगदान बिना अधूरो छ भन्ने कसैलाई लाग्छ भने प्लस पावर भएको चस्मा लगाउने बेला भएको हो, अरु केही होइन ।  

Sunday, October 16, 2011

विचरा हाम्रा सिनेमाहरु

बायाँ फन्को ६९ 
आजकल नेपाली चलचित्र क्षेत्रसंग सम्वन्धित जो कसैलाई भेटे पनि नून खाएको कुखुरा जस्तो झोक्राएका देखिन्छन् । निर्माताहरु रनभुल्ल परेर रन्थनिएका देखिन्छन् । कस्तो सिनेमा बनाउने हो, बनाउने पनि हो कि होइन भन्ने कुरामा उनीहरुलाई द्घिविधा मात्र हैन त्रिविधा वा चतुर्विदा नै भै रहेको भान हुन्छ । चलचित्रको व्यापार खस्क्यो भनेर उनीहरु आत्तिएका छन् । विगत लामो समय देखि एक पछि अर्को नेपाली सिनेमाहरु गोलखाडी गैरहेका छन् । सिनेमा बनाउन भन्दा चलाउन गाह्रो भयो भन्ने मान्यता व्याप्त भैरहेको पाइन्छ । पुराना घाग खेलाडिहरु पर्ख र हेर भन्ने मानसिकतामा बसेका छन् तर पनि नयाँ ‘मुर्गा’ (सिनेमाको भाषामा लगानीकर्ता) हरुको आगमन भने रोकिएको छैन । त्यसैले धडाधड बनिरहेका छन् र गुल्टिरहेका छन् नेपाली सिनेमाहरु ।

एकातिर नेपाली सिनेमा बजार अधोगति तिर उन्मुख छ भने छिमेकी देश भारतमा हेर्ने हो भने सिनेमा उद्योगले पहिले कहिले नदेखेको व्यापारिक उँचाइहरु नाघिरहेको छ । स्वदेशमा त उनीहरुको बजार विस्तार भैरहेकै छ, विदेशी बजारबाट पनि हिन्दी सिनेमाले प्रशस्त आर्यआर्जन गरिरहेको छ । प्राविधिक रुपमा उनीहरु अगाडि बढिरहेका छन् । त्यसो हो भने नेपाली सिनेमा चाहिँ किन उल्टो बाटो फर्किएको हो त भन्ने प्रश्न यहाँ नेर टड्कारो देखिन्छ । सर्सरी कारणहरु केलाएर हेर्ने हो भने केही निश्चित मोडहरु देखिन्छन् जहाँ हाम्रो चलचत्रिले बाटो बिराएको छ । सबै भन्दा महत्वपूर्ण पक्ष के हो भने, नेपाली चलचित्रको बनौट, आधारभूत संरचनाको सिद्धान्त नै गलत छ । सिमसिम राजाको पालोमा बी.एस. थापा र प्रकाश थापाले भित्र्याएका त्यतिबेलाका हिन्दी सिनेमाका सिद्धान्तरुपी गाडी यहाँ अहिलेसम्म पनि चलाउन  खोजिन्छ । त्यति पुरानो र खटारा गाडीमा यात्रा गर्ने हो भने कहिले पनि अघि बढ्न सकिन्न, गन्तव्यमा पुग्ने त कुरै नगरौं ।  

यो त भयो गाडीको कुरा, अब कुरा गरौं निर्देशकहरुको । अर्थात त्यो खटारा गाडीलाई चलाउने चालकहरुको । हाम्रा अधिकांश तथाकथित सिनेमा निर्देशकहरुलाइृ आफ्नो कामको बारे ज्ञान छैन । हचुवाको भरमा यहाँ थोकको भाउमा ब्रोइलर कुखुराका चल्ला जसरी निर्देशकहरु उत्पादन भएका छन् । यस्ता निर्देशकहरुलाई विश्व सिनेमाको बारे पटक्कै ज्ञान हुँदैन । वौद्धिक अभिव्यक्ति, समाजको चित्रण, कालखण्डको दस्तावेज, देशको साँस्कृतिक चिनारी जस्ता कुराहरु सिनेमा मार्फत हुन सक्छन् भन्ने कुरा यिनीहरुलाई भेउ पनि हुँदैन । त्यस्ता निर्देशकहरुलाई सिनेमाको बारेमा ज्ञानै नभएका निर्माताहरुले पत्याउनु नेपाली सिनेमाको अर्को विडम्वना हो । यस्ता निर्माताहरु सिनेमा बनाउनु बाहेक अरु सबै कारणले सिनेमा बनाउनका लागि हाम्फालेका हुन्छन् । कसैले अरु कुनै कामबाट सजिलोसंग बनाएको पैसा खत्याउँछन् किनभने दाम कामएपछि अब उनीहरुलाई नामको खाँचो भएको हुन्छ । यस्ता मानिसहरु फाट्टफुट्ट पत्रिका निकाल्ने वा टेलिभिजन चलाउने भनेर पनि डुब्छन् । सिनेमा निर्माता भनेपछि रातारात नाम कमाइन्छ भन्ने भ्रामक सपना उनीहरुले देखेका हुन्छन् । अघि भनिए जस्तै सम्भावित मुर्गाको खोजीमा चम्बू आँखा डुलाइरहेका केही सिकारीहरुले उनीहरुका त्यस्ता सपनाहरुलाई मलजल गरिदिन्छन् । केही पैसा भएर बुद्धि नभएकाहरुलाई चलचित्र उद्योगको चमकदमकले आकर्षित गर्छ । सिने उद्योग भनेको सुरा र सुन्दरीको वालछ्याल हुने क्षेत्र हो भन्ने भ्रमले पनि उनीहरुलाई यतातिर डोहो¥याउँछ । स्पष्ट कुरो हो, पैसा भनेको चोरेरै कमाएको भए पनि एउटा निश्चित संख्या भन्दा बढी सकिएपछि मान्छेलाई औडाहा हुन थाल्छ । कुन्नि के गरिसकेपछि देखेको दैलो जस्तो बन्छ उनीहरुका लागि चलचित्रको लगानी । त्यस्ता मानिसहरु दोहो¥याएर चलचित्र बनाउने त कुरै छोडौं, सिनेमा उद्योगलाई नै तथानाम गाली गर्न थाल्छन् । बिचरा सिनेमा उद्योग, अरुहरुका गलतीका लागि आफ्नो थाप्लोमा थोपरिएका दोषहरु सुनेर तुरुक्क आँसु चुहाउने बाहेक केही गर्न सक्दैन ।

अर्को प्रमुख कारण हो चलचित्रको लेखन । हलिवुडमा भनाइ छ,  चलचित्रको पटकथा समाप्त हुनु भनेको ७५ प्रतिशत सिनेमा बन्नु हो । एउटा राम्रो पटकथामाथि नराम्रो सिनेमा बनाउन सकिन्छ तर नराम्रो पटकथामाथि राम्रो सिनेमा बनाउन सकिंदैन भन्ने विश्वव्यापी मान्यताले हाम्रो सिनेमा उद्योगमा ठाउँ पाउन अझै बाँकी छ । नक्सा नै चौपट कोरेपछि त्यसमा जस्ता निर्माण सामाग्री प्रयोग गरे पनि बन्ने भवन अन्त्यमा कुरुप नै हुन्छ । त्यसैले सनिेमा कलाको रुपमा बन्दैन, खेलाँचीको रुपमा बन्छ । आफूले बनाएको खराब चीज बजारमा चलेन भने त्यसको दोष ग्राहकको थाप्लोमा थोपर्न सजिलो छ तर यस्ता आत्मरतिमा रमाउनु भन्दा आफूले कस्ता चीजहरु पस्किरहेका छौं भनेर चलचित्रकर्मीहरु घोत्लिनुपर्छ । एकपटि अर्का नाम मात्र फरक भएका तर उस्तैउस्तै बगम्फुसे चलचित्रहरु धमिरा लागेका घर भत्के जसरी भत्किरहँदा पनि अब दर्शकहरुलाई उल्लू बनाउने दिन गए भनेर नबुझ्ने हो भने सिनेमा बनाउनेहरुका घैंटामा कहिले घाम लाग्ने हो कुन्नि । अब फरक सिनेमा बन्नुपर्छ । यस्ता सिनेमा, जसको आफ्नै धार हुनुपर्छ। शैली हुनुपर्छ र नेपाली सिनेमाको रुपमा विश्व बजारमा तिनले आफ्नो छुट्टै ठाम ओगट्न सक्नुपर्छ । सामाजिक र साँस्कृतिक रुपमा यति धेरै विविधता छ हामीकहाँ, यो खानी वर्षौसम्म खोतले पनि रित्तिंदैन । तर यही क्रममा फरक बन्ने बनाउने नाममा तात्तो न छारोका सिनेमा बनाउनेहरुको पनि आजकल उदय भैरहेको छ । फरक हुनु भनेको राम्रोको लागि हो । नत्र भने त बाटोमा नाङ्गै हिंडे पनि फरक भइन्छ । बहुला पनि अरु भन्दा फरक नै हो नि । 

अहिलेको अर्को ज्वलन्त समस्या भनेको प्रदर्शनको पनि हो । आजकल चलचित्रहरु प्रदर्शकहरुको एकाधिकारका सिकार भैरहेका छन् । तर निर्माताहरु यसको समाधानका लागि एकजूट हुन सकिरहेका छैनन् । बनेको वर्षौंसम्म पनि कहिले के बहानामा, कहिले के बहानामा सिनेमा हलको मुख देख्न नपाएर थोत्रो भएका सिनेमाहरुको कथा र व्यथा आफ्नै ठाउँमा छ । मूल कुरो के हो भने, सिनेमालाई सस्तो मनोरञ्जनको एउटा माध्यममात्र मानेर हलुका रुपमा लिउन्जेलसम्म यो विधाको विकास हुन सक्दैन । यो कुरामा चलचित्रकर्मी मात्र नभै राज्य पनि त्यति नै दोषी छ ।  

Sunday, October 9, 2011

जीएस्, जलोटा र जुगलबन्दी

२०६८ आश्विन १४ कान्तिपुरको कोसेलीमा प्रकाशित मेरो संस्मरण

जीएस श्रीवास्तव

म बाघको खोरअघि उभिएको थिएँ । त्यहाँसम्म आइपुगेको पाँचदस मिनेट भइसकेको थियो तर भित्र छिर्ने आँट मलाई आइरहेको थिएन । ढोकामा टिलिक्क टल्केको पित्तलको पातोमा सुन्दर अक्षरले चहकिलो कालो रंगले कुँदिएको थियो, 'एक्ज्युकेटिभ डाइरेक्टर' । त्यो ढोका नबिल बैंकको कार्यकारी अधिकृत जीएस श्रीवास्तवको भव्य कार्यकक्षको थियो ।

कुरो ४५-४६ सालताकाको हो । त्यति बेला आईए को नतिजा कुर्दाकुर्दै म नबिल बैंकको जागिर खान थालेको थिएँ । नेपालमा खुलेको पहिलो अन्तर्राष्ट्रिय संयुक्त लगानीको नबिलमा जागिर खान पाउनु भनेको बलियो पुर्पुरोको द्योतक मानिन्थ्यो । नबिलमा हामीले खाने तलब जति हुन्थ्यो, बाहिर हल्ला त्यसको तेब्बर चौबर थियो । हामी पनि होइन भन्दैनथ्यौं । सफा र आकर्षक अफिस, बीचबीचमा बेलायती शैलीमा कुम उचाल्दै नेपाली बोल्दा पनि ७५ प्रतिशत अंग्रेजी मिसाउने टाई लगाएका कर्मचारीहरूका कारण नबिलको रबाफै बेग्लै थियो ।

Sunday, September 25, 2011

अन्न, अन्ना र अनशन

बायाँ फन्को ६८

बहुसंख्यक मानिसहरुका हक र हितका राजनैतिक वा सामाजिक कुराहरुमा राज्य प्रशासनलाई अरु कुनै पनि प्रकारका तरिकाले सहमत गराउन नसकिएपछि एक वा एक भन्दा बढी मानिसहरुले केही नखाई शान्तिपूर्ण तरिकाले गरिने विरोध र दिइने दवाव आमरण अनशन हो । साधारणतया अनशनकारीहरु पानी मात्र पिएर माग पूरा नहुन्जेल भोकै बस्छन् । अनशनको ईतिहास हेर्ने हो भने रामायणमा पनि त्यसको उल्लेख पाइन्छ । दशरथले रामलाई १४ वर्ष वनवास पठाउने आफ्नो कुरा नमाने पछि कोपगृहमा गएर कैकेयीले पनि अनशन नै त गरेकी थिइन् ।  राज्य त्याग गरेर वनवास गएका दाजु रामलाई फर्काउनका लागि भरतले जंगलमा उनका सामु आफूलाई पसारो पारेको पनि अनशनको पौराणिक उदाहरण हो । आधुनिक विश्वमा भने अनशनको प्रादुर्भाव क्रिस्चियन युगभन्दा अघि आयरल्याण्डबाट भएको इतिहासले बताउँछ । आमरण अनशन भन्नाले चाहिँ कि ज्यान जान्छ कि माग पूरा हुन्छ भन्ने आर कि पारको लडाईं हो । साधारणतया अधिकांश अनशनकारीहरुका माग पूरा भएको, राजीखुसी वा बलजफ्ती अनशन फिर्ता लिन लगाइएको नै पाइन्छ । तर अनशन कै कारण ज्यानै गएका केही उदाहरणहरु पनि अनशनको इतिहासमा नपाइने होइन । अलि नजीकैको उदाहरण हेर्दा आयरल्याण्डमा नै सन् १९८१ मा कैदीहरुले गरेको आमरण अनशनका क्रममा दश जनाले आफ्नो देह त्याग गरेका थिए । मान्छे केही नखाइ कति दिनसम्म बाँच्न सक्छ भन्ने कुरा निश्चित रुपमा भन्न सकिंदैन । तर, साधारणतया मानिसको शरीरिक अवस्था हेरेर ५२ देखि ७४ दिनसम्म टिकेर अनशनकारीहरुको निधन भएको पाइन्छ ।

हाम्रै देशमा पनि आमरण अनशनहरु बेलाबेलामा भैरहेका हुन्छन् । ती मध्ये कतिपय जायज कुराका लागि भएका हुन्छन् भने कतिपय चर्चा परिचर्चाका लागि गरिने पनि नभएका होइनन् । कतिले त रिले अनशन भनेर समेत पनि गरेका छन् जहाँ दिनभर भोकै बस्नेलाई रातभर पालो दिनका लागि घरबाट टन्न गोदेर अर्को खेलाडी पलेंटी मार्न आइपुग्छ । पालो छुटेको पनि त्यसपछि सत्तरीको स्पीडमा हुइँकिएर घर जान्छ र दिनभरको भोक शान्त पार्छ । अनशनको गम्भीरता र मूल भावना नै नबुझिएका यस्ता नौटंकी पनि बेलाबेला हामीले देखेका छौं । तर अनशन भनेको साङ्ला जस्तै चीरञ्जीवि भएर हाम्रो विश्वमा टिकेको कुरा हो । त्यसैले महात्मा गान्धीले अनशनलाई श्रृष्टिको पहिलो पुरुष जत्तिकै पुरातन हो भनेका थिए । 

हालसालै भारतमा भ्रष्टाचारको विरोध र त्यसलाई सम्वोधन गर्ने जनलोकपाल कानून लागू गराउनका लागि अन्ना हजारेले अनशन गरेका थिए । उनको त्यस अनशनले भारतीय राजनीतिमा ठूलै भुकम्प ल्याएको थियो । बाह्र दिनसम्म अविच्छिन्न चलेको आमरण अनशनको क्रममा हजारेसंग हजारौं मान्छेहरुले ऐक्यवद्धता जनाए । अन्ततः अन्ना हजारेको अनशन भ्रष्टाचार विरोधी कानूनमा आवश्यक सुधार गर्ने वाचावन्धन पछि समाप्त भएको थियो । प्राकृतिक, अप्राकृतिक, आपराधिक, राजनीतिक र सामाजिक रुपमा अनि कला साहित्य सिनेमा र सङ्गीत सम्ममा उता चलेको हावाले यता हाम्रा रुखहरु हल्लाउने र पातहरु उडाउने त हाम्रो गौरवशाली परम्परा नै भै हाल्यो । हजारेको सफल अनशनले त्यसको केही समय मात्र अघि “फ्लप” भएको रामदेवको अनशनलाई बिर्साइदिएको अवस्थामा हामीकहाँ पनि फेरि एकपटक अनशनको हुरी चल्नु अस्वाभाविक त पक्कै थिएन । प्रश्न यति मात्र थियो, यो सिजनमा कसले र केका लागि आमरण अनशन सुरु गर्ने हो भनेर घोत्लिरहेको बेला साहित्यकार मित्र नयनराज पाण्डेले साझा प्रकाशनसंग सम्वन्धित तीन माग राखेर अघिल्लो सोमवार देखि आमरण अनशन घोषणा गरे । उनका मागहरु पनि जायज र बहुसंख्यक साहित्य श्रष्टाहरुका लागि हितकर थिए । तसर्थ उनलाई पनि समर्थन र ऐक्यवद्धताको लर्को लागिहाल्यो । अनशन भन्ने कुरा सुन्दा एकदमै शान्त र सौम्य लाग्छ तर खै किन हो यसले शासनमा भएकाहरुलाई भूतले तर्साएको जस्तो तर्साउने गर्छ । सकेसम्म त्यसलाई भंग गर्न, नसके आश्वासन दिन र त्यतिले पनि नभए माग पूरा गर्न उनीहरु लागिहाल्छन् । रामदेवको अनशन पनि पहिलो विकल्पको उदाहरण बनेको थियो । हजारेको र पाण्डेको अनशन चाहिँ दोश्रो विकल्पमा दर्ता भएका छन् । 

यद्यपि पाण्डेको अनशनको भने पहिलो दिनमै प्रशासनले हस्तक्षेप गरेको थियो । पाण्डेले अनशन भंग गर्न नमानेपछि उनलाई च्याकुन्झ्याइँ पारेर लगेर अग्रज श्रष्टा खगेन्द्र संग्रौलाको घरमा थान्को लगाइएको थियो । तर हजारेलाई जस्तो पाण्डेलाई भने बाह्र दिन भोकभोकै सेल्टिन परेन । बुधबार यो स्तम्भ लेखिंदासम्म प्रधानमन्त्रीले गएर उनलाई जायज मागहरुमा सम्वोधन हुने आश्वासन घोलेको जूस खुवाइसकेका छन् । बिना कुनै पूर्व सूचना र वार्ताको पहल एकै चोटि आमरण अनशनमा बसेकोमा चाहिँ उनी त्यति सन्तुष्ट थिएनन् रे भन्ने कुरा अनशनलाई नजीकबाट हेरेका साझा बचाऊ आन्दोलनका संयोजक संग्रौलाले जानकारी दिएका छन् । वास्तवमै आमरण अनशन भनेको अन्तिम उपाय वा प्रयास हो भन्दा फरक पर्दैन । तर्क, वार्ता, वादविवाद र विवेक जस्ता कुराहरुले कसैलाई आश्वस्त गर्न नसकिएपछि मात्रै प्रयोग गर्नु पर्ने ब्रम्हास्त्रको रुपमा यसलाई लिइन्छ । गलती गर्नेहरुका लागि लज्जावोध हुने सबैभन्दा प्रभावकारी आन्दोलनका रुपमा आमरण अनशनलाई विश्व भरि नै स्वीकारिएको छ । यसलाई समाचार माध्यमहरुले पनि प्राथकिताका साथ प्रसार गर्ने भएको कारण आमरण अनशन भन्नासाथ राज्य प्रशासनको सातो जाने गर्छ । 

पाण्डेको अनशन अन्तिम अस्त्र थियो वा प्रारम्भिक रुपमै उनले त्यसलाई पड्काए भन्ने विवाद भन्दा महत्वपूर्ण कुरो चाहिँ के हो भने, साझालाई शिक्षा मन्त्रालय अन्तर्गत ल्याउने, महाप्रवन्धक र अध्यक्ष अलग मान्छेलाई बनाउने र महाप्रवन्धकको छनौट खुला प्रतिस्पर्धाबाट हुनु पर्ने मागहरुलाई प्रधानमन्त्रीले उचित सम्वोधन गर्ने वाचा गरेका छन् । त्यो वाचा पूरा भयो भने समग्रमा यसले लेखक साहित्यकारहरुको भलो नै गर्छ । त्यसमा दुइमत हुन चाहिँ मिल्दैन ।  

Sunday, September 11, 2011

डाक्साबको मुस्ताङ (आशाको त्यान्द्रो)

बायाँ फन्को ६७

डुब्न लागेकोलाई सिन्का पनि बडो महत्वपूर्ण हुन्छ भन्ने एउटा पुरानो भनाइ छ । हुन पनि हो, सबै कुरा ठीकठाक हुन्जेल त मान्छेलाई पानी जहाजको पनि महत्व थाहा हुँदैन । यो कुरा डुब्नु र उत्रनुमा मात्र नभै जिन्दगीका हरेक कुराहरुमा लागू हुन्छ । गुमाए पछि वा गुमाउने डर भएपछि मात्र मान्छेलाई आफूसंग भैरहेको कुराको महत्व थाहा हुने गर्छ । डुब्न लागेको बेलामा, हतास भएको बेलामा सिन्कै पनि ठूलो लाग्ने त्यही भएर हो । चूक घोप्ट्याएजस्तो अँध्यारोमा धिपधिपे मैनबत्ती पनि सूर्य भन्दा प्यारो हुन्छ । समस्याले आत्तिएको मान्छेले कुनै पनि कुरामा आफ्नो उद्धार खोज्नु स्वाभाविक हो ।

भर्खरै मात्र देशले ३५ औं प्रधानमन्त्री पायो । धेरै अघिदेखि “भएभए....., भएनन् भएनन्........हुनैपर्छ.......हुनुहुँदैन.....” भन्दाभन्दै आखिर डाक्टर बाबूराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्रीको रुपमा उदाएरै छाडे । यसपटक उनी प्रधानमन्त्री बन्दा पहिलेकाहरुको तुलनामा असहमत हुनेहरु न्यून भए । हुन त प्रधानमन्त्रीहरुको नामको लामो लर्कोमा एउटा अर्को धर्को थपिएको न हो भन्नेहरु नभएका त हैनन् तर अधिकांश मानिसहरु यसपटकको प्रधानमन्त्री चयन सही भएको र उनको कार्यकाल परिणाममुखी हुने कुरामा आश्वस्त देखिएका छन् । यसो हुनुको पछाडि नयाँ प्रधानमन्त्रीको क्षमता प्रति जनताको विश्वास हो कि डुब्न लागेकोलाई सिन्कोमा पनि आफ्नो समुन्द्र पार लाग्ने माध्यमको खोजी भएको हो भन्ने कुरा चाहिँ चामलमा घुन केलाए जस्तो केलाएरै हेर्नु पर्ने कुरा हो । सतही रुपमा सर्सर्ती हेर्दा भने अहिलेको परिप्रेक्ष्यमा उनी भन्दा अरु गतिला छनौट चाहिँ थिएनन् भनेर मान्नै पर्छ । तर आफू सिन्का मात्रै होइन, गतिलै फल्याक हूँ, डुंगा हूँ अथवा जहाजै हूँ भन्ने कुरा चाहिँ अब डाक्टरसाहबले आफै प्रमाणित गरेर देखाउनु पर्ने चुनौती उनका सामु तेर्सिएको छ । सम्विधान सभा भन्ने कुरासंग जनताको मोहभंग होलाहोला जस्तो भैसकेको अवस्थामा उनी प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री बन्नका कसैका लागि पनि यो निश्चय नै सबै भन्दा अप्ठ्यारो बेला हो । उनका हकमा अझ बढी अप्ठ्यारो किनभने उनीसंग जनताका अपेक्षाहरु छन् । त्यो नभैदिएको भए निश्चय नै पनि उनले फलामको च्यूरा चपाउनु पर्दैनथ्यो । तर फलामको च्यूरा चपाउने र त्यसलाई पचाउने क्षमता आफूमा छ भन्ने कुरा चाहिँ उनलाई थाहा छ र केही हदसम्म उनीमाथि आश लगाएर बसेकाहरुलाई पनि ।

प्रधानमन्त्री बन्नासाथ उनले करोडौं पर्ने विलासी गाडीको साटो बटुलबाटुल पारेर नेपालमै जोडिएको मुस्ताङ गाडी चढेर (यद्यपि अति उत्साहितहरुले यसलाई नेपालमा उत्पादित गाडी भनेर बढाइचढाइ पनि गरेका छन् ।) आफू अरु भन्दा फरक भएको र हुने संकेत दिइसकेका छन् । भोलिका प्रधानमन्त्रीहरुले यो नजीरलाई कुन रुपमा ग्रहण गर्छन् भन्ने कुरा चाहिँ हेर्न बाँकी नै छ । साइरन नबजाइ यात्रा गर्ने उनको अर्को निर्णयले पनि (यो लेखिंदासम्म अपुष्ट) उनी केही फरक गर्छन् भन्ने संकेत दिएका छन् । किनभने आजसम्म आचरणलाई भन्दा बढी आवरणलाई बढी प्राथमिकता दिने कार्यकारी प्रमुखहरु मात्रै हामीले देखेका थियौं । विचारका कारण भन्दा बढी व्यभिचारका कारण चर्चित हुने गरेका अगुवाहरुका भन्दा डाक्टरसाहबले साँच्चै नै फरक अनुहार देखाउन सके भने हामी सबैका लागि त्यो सुखद अनुभूति हुनेछ । हामीले उहाँबाट अपेक्ष गरेको कुरा पनि त्यही नै हो । उनका अहिलेका यी कुराहरु द्रुत चर्चापरिचर्चाका लागि रोचक मसलाहरु हुन् र तिनले अपेक्षित हलचल पनि पैदा गरिसकेका छन् । प्रधानमन्त्रीका यी क्रियाकलापहरु दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीले संकेत गर्छ भन्ने उखान बनोस्, पब्लिसिटी स्टंटमा मात्र सीमित नरहोस् । पार नलागेका कुराहरु उनको कार्यकालमा पार लागून् भन्ने जनचाहनामा खरो उत्रन उनका आगामी दिनका क्रियाकलापहरु गम्भीर र महत्वपूर्ण हुनेछन् ।

उता मुस्ताङ गाडीका निर्माताहरु भने त्यसलाई कसरी उनको योग्य बनाउने भन्ने कुरामा हतारिएर लागेका समाचारहरु आइरहेका छन् । त्यसमा कस्ता कस्ता सुविधाहरु थप्न सकिन्छ, त्यसको स्वरुपलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर इन्जिनियरहरु भारत तिर दौडिसके रे । दुई महीना देखि वर्ष दिनको म्याद तोकिएको छ मुस्ताङलाई परिवर्तन गरेर अन्य महँगा गाडीको बराबरमा ल्याउनका लागि । यहाँ नेर बुझ्नु पर्ने कुरा के हो भने त्यही गाडीलाई सम्पूर्ण रुपमा परिवर्तन गरेर, प्राडो पजेरो जन्य गाडीका सुविधाहरु त्यसैमा हालेर त्यसको नाम मात्र मुस्ताङ बाँकी राख्ने हो भने प्रधानमन्त्रीले जे गर्न खोजेका हुन्, जे सन्देश दिन खोजेका हुन्, त्यो मान्छेहरुले नबुझेका पो हुन् कि भन्ने भान हुन्छ ।  अहिले मुस्ताङ भन्दा देशको रुपरंग फेर्नु बढी जरुरी छ । प्रधानमन्त्रीले चढ्ने गाडीमा यति न्यूनतम आवश्यकता हुनुपर्छ भन्ने सायदै कुनै निश्चित मापदण्ड कतै उल्लेख होला । छ भने पनि विगतकोे मूल्याङ्गन गर्दा कतै  मुस्ताङ प्रधानमन्त्रीको लायक बनुन्जेलमा प्रधानमन्त्री नै फेरिइसकेका त हुने हैनन् भन्ने प्रश्न पनि जनमानसमा नउब्जेला भन्न सकिन्नं । यस्तो सोच आउनुका पछाडि एउटा रोचक तथ्यको पनि प्रमुख भूमिका छ ।

बेलायतमा पछिल्लो छ दशकमा बाह्र जना प्रधानमन्त्री भएका छन् । अमेरिकाको कुरा गर्ने हो भने त्यही अवधिमा एघार जना राष्ट्रपति बनेका छन् । भारतले त्यही समयभित्र चौध प्रधानमन्त्री देखेको छ । तर हामीले त्यत्ति नै अवधिमा उन्नाइस जना फरक मान्छेलाई प्रधानमन्त्रीको मेचमा राखिसेका छौं । एउटै मान्छे दुइ वा तीनपटक बनेको हिसाबले प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने हो भने त यो संख्या उनान्चालीस पुग्दो रहेछ । त्यसैले विगतको छ दशकलाई तुलनात्मक रुपमा हेर्दा हामी स्थायित्वको कुरामा पछाडि परेका छौं भन्ने कुरा देखिन्छ । देश भनेको दीर्घकालीन योजना र सोचले बन्ने कुरा हो । यसर्थ अहिलेका हाम्रा प्रधानमन्त्री त्यो स्थायित्व, दीर्घकालीन सोच र योजनाका लागि कटिवद्ध रहून् अनि बाँकी सबैले त्यो मूर्तरुप दिनका लागि उनलाई सघाउन् । एउटा आम नागरिकका रुपमा यो स्तम्भकारले अहिले आशा गरेको कुरा यत्ति नै हो ।

Sunday, August 28, 2011

बिरामी देशका डाक्टरहरु

बायाँ फन्को ६६

भूल नगर्ने मान्छे मान्छे हुँदैन । अरुको त कुरै छाडौं ईश्वरले पनि (यदि छ भने) बेलाबेला भूल गर्छ । भूल गर्नु भनेको नकारात्मक कुरा हो किनभने त्यसले कसैको भलो गर्दैन । जे हुनु पर्ने हो, त्यो हुँदैन र जे नहुनु पर्ने हो, त्यो हुन्छ मान्छेले भूल गरेपछि । मूलतः दुइ प्रकारका भूलहरु हुन्छन् । एउटा, जसले आफैलाई नोक्सान गर्छ भने अर्को जसले अरु मान्छे वा मान्छेहरुलाई नोक्सान गर्छ । आफूलाई हानि गर्ने भूल गरेर मान्छे उम्कन सक्छ तर बहुसंख्यक मान्छेलाई हानि गर्नेहरु भने उत्तरदायी हुनै पर्छ । मानिसले अरुलाई दुइ नै प्रकारले हानि गर्छ । जानीजानी अथवा अज्ञानतावश । अज्ञानतावश अरुको हानि गर्नेलाई माफी दिन सकिन्छ, सुध्रिने अवसर प्रदान गर्न सकिन्छ । किनभने संसारमा कुनै पनि मान्छेले सबैलाई खुसी पार्न सक्दैन । यो असम्भव कुराको प्रयत्न मात्र पनि कसैले ग¥यो भने ऊ आफैले आफैलाई संसारको सबै भन्दा दुःखी मान्छे बनाउन पुग्छ । कसैको लागि देउतातुल्य मानिस अरु कसैको लागि दानव हुन सक्छ । तर आफ्नो स्वार्थका लागि, आफ्नो फाइदाको लागि जानीजानी अरुलाई हानि हुने काम गर्ने मानिसहरुलाई भने माफी दिन सकिंदैन । अज्ञानतावश अथवा लापरवाहीका कारण भूल गर्न नपाइने केही पेशाहरु हुन्छन् । यस्ता सम्वेदनशील पेशामा भने कुनै बहाना बनाउन पाइँदैन । हेलचक्र्याइँ गर्ने मान्छेहरुले त्यस्ता काममा हात हाल्नु नै हुँदैन ।
शिक्षण पेशामा लाग्ने मान्छेले कुनै पनि कारण विद्यार्थीहरुलाई गलत कुरा पढाउन पाइँदैन । सुरक्षा निकायमा काम गर्नेहरुले आफ्नो जिम्मेवारीबाट पन्छिन पाइँदैन । अत्यावश्यक सेवा प्रदायकहरुले सेवा बन्द गर्न वा रोक्न पाइँदैन । अनि चिकित्सा क्षेत्रमा लागेकाहरुले पनि त्यस्ता कुनै गलती गर्न पाइँदैन । किनभने यी र यस्ता क्षेत्रमा भएका लापरवाही र भूलबाट पर्ने असरहरु घातक हुने गर्छन् । तिनलाई सुधार्ने मौका पाइँदैन । जति पनि देशहरुमा मृत्यु दण्डको कानून छैन, त्यसको पछाडि मान्यता के हो भने, गलतीवश कुनै निरपराध मान्छेलाई मृत्युदण्ड दिइयो र पछि मात्र त्यो थाहा भयो भने त्यो निर्णय फर्काउन सकिए पनि मरेको मान्छेलाई फर्काउन सकिंदैन । चिकित्सा पेशामा संलग्नहरुले उपचारको क्रममा गरेका  गम्भीर त्रुटि भनेको पनि मृत्युदण्ड बराबर हुन सक्छ । तर हाम्रो देशमा ती सबै सम्वदेदनशील पेशाहरुमा बेलाबेला गम्भीर त्रुटिहरु हुने गरेका छन् । सम्वेदनशीलता र अरु प्रतिको जिम्मेवारी वोध नभएका मान्छेहरु आफ्नो मात्र फाइदा हेर्छन् । त्यसको लागि अरुले कस्तो र कति मूल्य चुकाउनु परेको हुन्छ भन्ने उनीहरुलाई मतलब पनि हुँदैन । मानिसले आफ्नो नैतिक जिम्मेवारीलाई गहनतापूर्वक नलिएका कारण त्यसो हुने गरेको हो । दुःखको कुरा त के भने यस्ता लापरवाही गर्नेहरुका लागि कुनै गहन सजाय भएको चाहिँ कहिले पनि सुनिंदैन । व्यक्तिगत रुपमा पीडित पक्षले गर्ने धर्ना प्रदर्शन र आन्दोलन (जसले आमा जनतालाई कष्ट हुन्छ) र गुपचुप प्रदान गरिने क्षतिपूर्तिले भविष्यमा यस्ता गलती अरुले नदोहो¥याउन् भन्ने उद्देश्यलाई सम्वोधन गर्दैन ।
हालसालै मात्र पनि भरतपुर अस्पतालमा एउटा त्यस्तै घटना भयो । घाँटीको शल्य चिकित्सा गर्नु पर्ने एउटा बिरामीको भूलवश पाठेघरको शल्यक्रिया हुन पुग्यो । यो अविश्वसनीय र अत्यन्त गैर जिम्मेवारीपूर्ण दुर्घटनाको पछाडि कुनै पनि स्पष्टीकरण र कारण हुन सक्दैन । चिकित्साको क्षेत्रमा संसारमा अन्त पनि बेलाबेला सानाठूला गलतीहरु नहुने होइनन् । दायाँको साटो बायाँ अंगमा शल्यक्रिया भएका, शल्यक्रिया पश्चात कुनै सानोतिनो औजार शरीर भित्रै छुटेका घटनाहरु बेलाबेला सुन्नमा आइरहेका नै हुन्छन् । ती पढ्दा र सुन्दा नै आङ सिरिङ्ग हुने गर्दथे भने घाँटीको साटो पाठेघरको शल्यक्रिया भनेको त कसरी सम्भव हुन सक्छ भन्ने सोच्न पनि नसकिने कुरो हो । तर भनिन्छ नि, कहिलेकहीं सत्य भनेको कल्पना भन्दा बढी भयानक हुन सक्छ । यो पनि एउटा त्यस्तै घटना हो । मानिसको रोग पत्ता नलाग्नु दुर्भाग्यको कुरा हो । उपचार हुन नसक्नु दुःखको कुरा हो तर पत्तो लागेको रोगमा एकथोकको अर्को गलत उपचार हुनु भनेको त डरलाग्दो कुरो हो ।
बेलाबेलामा सञ्चोविसञ्चो भनेको प्राणीलाई मात्र होइन, समाजलाई पनि हुने कुरा हो । रोग मानव शरीरको मात्र होइन देशको पनि पत्तो लगाउनु पर्ने अवस्था आउँछ । यहाँ पनि त्यही कुरा लागू हुन्छ । अहिले हाम्रो देश पनि विसञ्चोको अवस्थामा रहेको छ । यो सबैलाई थाहा भएको कुरा हो । यहाँ नेर हामीले चनाखो भएर सोच्नुपर्ने कुरो के हो भने, देशको उपचारमा त्यस्ता जघन्य खेलाँची नहून् । रोग त पत्तो लागिसकेको छ, उपचारको क्रम पनि शुरु भैसकेको छ तर के त्यो उपचार सही दिशातिर उन्मुख छ ?
बेलाबेला एउटा शव्दको साटो अर्को बोलेर भए पनि बीचबीचमा अँग्रेजी शव्द घुसाएर नेपाली बोल्नु पर्ने एकजना विद्वानले हालै चिन्ता प्रकट गरेका थिए,
“खै, यो पालि पनि कन्स्टिपेसन (उनले भन्न खोजेको कन्स्टिच्यूसन) आउला जस्तो छैन ।”
तिनकै शैलीमा भन्ने हो भने, अहिलेको अवस्थामा हाम्रा नेताहरु पनि टन्सिललाई हाइड्रोसिल भन्ठानेर यो देशको रोग निदान गर्ने मूर्खतापूर्ण उपचारविधिमा लागि परेका हुन् भन्ने लाग्न थालेको छ ।

Friday, August 19, 2011

७९२ किलोहर्ज........

नरुले 'ताल्ची मव्या' भन्नुअघि नै म कराएँ । उसको गुच्चा अलि खाल्डोमा परेको थियो । अब उसले त्यो गुच्चालाई माथि राम्ररी देखिने गरी राखिदिनुपर्ने भयो । मेरो गुच्चाले उसको गुच्चालाई ढें गरेको -उसको भन्दा मेरो गुच्चा पर पुगेको) हुनाले उसको गुच्चालाई उडाउने पहिलो मौका मैले पाएको थिएँ । एघार बाह्र वर्ष पुगिसकेका हामी 'ठूला' भइसकेकाहरू ठूलै प्रकारको बाजी खेल्थ्यौं । मैले एक आँखा चिम्लेर

आफ्नो सिकारलाई ताकें । गुच्चा हान्ने मेरो माझी औंला खुम्चिएर पेस्तोलको टि्रगर जस्तो बनिसकेको थियो । ब्रुस लीले मुक्का हान्नुअघि सारा शरीरको शक्ति मुठ्ठीमा सारेर ल्याउँछ भन्ने सुनेको मैले पनि आफ्नो खुम्रे कीरोझैं घुमि्रएको औंलामा शक्ति सञ्चय गरें ।

छेवैमा काकाको घरमा ठूलो स्वरमा बजिरहेको रेडियोमा एउटा धुन बज्न सुरु भयो । 'रूपक' भनिने रेडियो नाटक सुरु हुन लागेको संकेत थियो त्यो धुन । 'पछि खेलौंला है, नाटक आउन लाग्यो ।'

Sunday, August 14, 2011

निरक्षर भावी र हाम्रो निधार

बायाँ फन्को ६५

यो हामी सबैले नै भोगेको कुुरा हो । साधारणतया केही समयको अन्तरालमा भेटिने साथीभाइ वा परिचितहरुका केही निश्चित प्रश्न हुने गर्दछन् । नयाँ नौलो के छ, आजकल केमा व्यस्त हुनुहुन्छ र नयाँ योजना के छ ? नियमित औपचारिकताका लागि सोधिने यस्ता प्रश्नहरुको नियमित नै उत्तरहरु हुने गर्दछन् । नयाँ नौलो के भन्ने प्रश्नको सही उत्तर दिने हो भने त्यो निकै लामो हुन सक्छ । किनभने यो संसार, हाम्रो समय र प्रत्येक निमेषनिमेषमा केही न केही नयाँ र नौलो नै भैरहेको हुन्छ । एक क्षण र अर्को क्षणको बीचमा नै कति नयाँ नौलो भैसकेको हुन्छ । त्याृ सबै न त हामीले हेक्का राख्न सक्छौं, न त त्यसको वखान गर्न सक्छौं । तै पनि हरेक मान्छे अर्को मान्छेलाई त्यही सोध्छ र उत्तर दिने मान्छे ओठ लेप्राएर भन्छ,
उही त हो नि, के नयाँ हुनु । 
अनि ऊ आफ्नो जुन जीवनशैली छ, त्यसको संक्षिप्त व्यहोरा पेश गरेर पन्छिन्छ । हामी सबैको आआफ्नै व्यक्तिगत जीवनचर्या छ, उद्देश्यहरु छन्, आकांक्षाहरु छन् अनि छन् भावी योजनाहरु । जीवनको एउटा नियमिततामा हामी सबै आआफ्नो ढंगले जेलिएका हुन्छौं । यो क्रममा हामी यति अभ्यस्त भैसकेका हुन्छौ, हामीलाई त्यसको बारेमा सोच्ने आवश्यकता पनि हुँदैन, फुर्सद पनि । हामी बिहानलाई दिन, दिनलाई साँझ र साँझलाई रात बनाइरहेका हुन्छौं । त्यही क्रममा हाम्रा हप्ता, महीना र वर्षहरु बिताइरहेका हुन्छौं । बेलाबेलामा यो नियमितताबाट केही बेर बिश्राम लिएको बेला हामी झल्याँस्स हुन्छौं, ओहो समय कति छिटो बितिसकेछ । कसैसंग प्रेम भएको, विछोड भएको, बिवाह भएको, जागीर खाएको, सन्तान लाभ भएको, कसैको निधन भएको, कतै घुम्न गएको, कुनै महत्वपूर्ण घटना दुर्घटना घटेको, कुनै उपलव्धि हासिल गरेको वा कुनै कुरामा असफल भएको दिनलाई सम्झेर हामी त्यसो भन्छौं । चाहे जेसुकै भएको होस्, आफैले आँखा चिम्लेर खुट्टा तनक्क तन्काएर अन्तिम सास नफेरुन्जेल मान्छेको जीवन एउटा नियमित गतिमा चलि नै रहन्छ । मान्छेले जिन्दगीमा हरेक कुरासंग सम्झौता गर्न सिक्छ । कसैले नयाँ योजना के छ भन्ने प्रश्न गर्दा दिनका लागि हामी सबैसंग केही न केही उत्तरहरु हुन्छन् । आफ्नो आफ्नो जीवनशैली, गच्छे, वा सोच अनुसार हामी केही न केही खाका कोरिदन्छौं । कहिलेकहीं आफ्ना पूरा हुन नसकेका सपना, गर्न पाए हुन्थ्यो भन्ने लागेको तर विविध कारणवश सम्भव नहुने भनेर थाहा भएका कुराहरु पनि हामी त्यस्तो बेला गरिदिन्छौं । एकै छिन आफूलाई भुलाउन यस्ता आशावादी सोचले क्षणिक रुपमा सघाउ नपु¥याउने पनि हैन ।
हामी सबैलाइ थाहा भएको कुरा हो, यस संसारमा कुनै पनि कुरा निश्चित हुँदैनन् । पाखण्डीहरुले जति नै फूर्ति लगाए पनि भविष्य भन्ने कुरा कसैले देख्न नसक्ने कुरा हो । अर्को मिनेट वा सेकेण्डमा के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । तर पनि हरेक मान्छे आफ्नै दीर्घकालीन योजनाहरुको तानाबाना बुनेर बाँचेको हुन्छ । जिन्दगीको यो भन्दा बढी उदेकलाग्दो र रोचक पक्ष हरु के हुन सक्छ र ? मान्छेको यही दीर्घकालीन योजना बनाउने, त्यसलाई पच्छ्याउने, एकोहोरिएर लाग्न सक्ने बानीका कारण नै ऊ श्रृष्टिका अन्य जनावरहरु भन्दा विशिष्ट, विकसित, सभ्य र सुसंस्कृत प्राणी बन्न सफल भएको हो । त्यसैकारण मान्छेले उदेकलाग्दा उपलव्धिहरु गरेको हो । त्यसैले त प्रकृतिले पखेटा नदिए पनि उड्न सक्छ मानिस । हावामा बाँच्ने प्रणालीको शारीरिक संरचना भए पनि महासागरहरका गहिराइमा डुव्न सक्छ मानिस । मानिस अन्तरिक्षमा बरालिन सक्छ, पृथ्वीको भूगर्भको खोजी गर्न सक्छ ।  हावामा भएका अदृश्य, स्पर्शबिहीन, गन्ध बिहीन र कुनै पनि इन्द्रियहरुले भेउ पाउन नसक्ने तरंगहरुलाई आफ्नो कव्जामा लिएर दूरसंचारका कल्पना पनि गर्न नसक्ने माध्यमहरुको विकास गर्न सक्छ मानिस । संसारका विकसित राज्यहरुको कुरा गर्ने हो भने यही दीर्घकालीन योजना बनाउन सक्ने र तिनलाई साकार बनाउन सक्ने खूबीका कारण नै ती राज्यहरु आजको स्थानमा छन् । खेलकूद, कला, भौतिक विकास, मानसिक विकास, शारीरिक विकास, औद्योगिक उपलव्धि, उन्नत प्रविधि, आर्थिक समुन्नति जस्ता कुराहरु उनीहरुले मानिसको यही क्षमताबाट नै आर्जेका हुन् । राष्ट्रले विभिन्न क्षेत्रका मानिसहरुका यही क्षमतालाई पहिल्याएर, मलजल गरेर, त्यसलाई फस्टाउने बातावरण सिर्जना गरेर त्यसको सामूहिक प्रतिफलका कारण आफूलाई अघि बढाउँछ, माथि पु¥याउँछ । तिनका लागि कुनै अर्को ग्रहबाट आएका जीवहरुले काम गरिदिने होइनन् । ती पनि हामी जस्तै मान्छेहरु नै हुन् ।
हाम्रो विडम्वना भनेको चाहिँ के भने आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्ने, तुरुन्तैका फाइदा बेफाइदालाई मात्र सर्वोपरि नठानी भावी दिनका लागि सोच्ने संस्कार भएकाहरु कहिले पनि यो देशको सारथी भएनन् । के त्यस्तो नेतृत्व यो माटोमा फल्नै नसक्ने हो त ? भनिन्छ मान्छेले इतिहासका गल्तीहरु केलाएर तिनबाट पाठ पढ्न सक्नुपर्छ । तर हामी अहिले इतिहासका गल्तीहरु मज्जासंग केलाइ त रहेका छौं, तिनका लागि कसलाई जिम्मेवार ठह¥याउने भनेर निरर्थक वादविवाद पनि गरिरहेका छौं परन्तु पाठ पढिरहेका छैनौं । हामी तिनै गल्तीहरुलाई अरु कुनै नयाँ रुप र नाम दिएर आफै पनि दोहो¥याइरहेका छौं । हामीसंग दश वर्षका त कुरै नगरौं दश महीनाका योजना पनि छैनन् । हामी त वर्षौं बितिसक्दा एउटा सम्विधान समेत बनाउन सकिरहेका छैनौं । अज्ञानीलाई सिकाउन सकिन्छ तर सबै थोक थाहा भएर पनि मूढको अभिनय गर्नेको कुनै ओखति बनेको छैन । समस्या नचिन्नेलाई समस्या यो हो भनेर देखाउन सकिन्छ तर जसले सबै कुरा देखेर पनि आफूलाई अन्धो बनाउँछ, त्यस्तालाई लगाउने कुनै चश्मा कहाँ पाइन्छ र ?
समस्या भनेको पन्छाउने कुरा होइन, सुल्झाउने कुरा हो भन्ने चेत नभएका मानिसहरुलाई हामीले कलम थमाएका छौं, भावीको दर्जामा ती अक्षर नचिन्नेहरुलाई राखेका छौं र तेस्र्याएका छौं तिनका सामु हाम्रो निधार । आज भनेको भोलिको इतिहास हो । यो भूल हामीले अहिले नै नसुधार्ने हो भने, आफूलाई झक्झकाएर नहेर्ने हो भने जसरी आज हामी हिजोका खलनायकहरुको टाउकामा दोष थोपरेर आफूलाई ढाँटिरहेका छौं, भोलिकाहरुले ती खलनायकहरुको सिंहासनमा हामीलाई पनि राख्नेछन् ।

Sunday, July 31, 2011

ऐना हेर्दा

बायाँ फन्को ६४

कुनै समयमा बाँकी संसारसंग नजोडिएको र विकासले नछोएको एउटा गाउँ थियो । त्यहाँका मानिसहरु आदिम युगमै भने जसो गरी बाँच्दथे । त्यो गाउँकाहरु पानीका लागि समेत धेरै टाढाको खोलामा पुग्नुपथ्र्यो ।  त्यो खोलामा जहिले पनि धमिलो पानी मात्र बग्थ्यो । त्यसैले त्यहाँका मानिसलाई सङ्लो पानी कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । त्यही भएर त्यहाँका मानिसहरुले आफ्नो अनुहार देख्न पाएका थिएनन् । एक दिन दिशा हराएको एउटा हवाइजहाज त्यो गाउँको माथिबाट जाँदा कुनै कारणवश जहाजबाट ऐनाको एउटा टुक्रा त्यहाँ खस्यो । गाउँको एउटा मान्छेले त्यो भेट्यो । कौतुहलतावश त्यो टिपेर ओल्टाइपल्टाइ हेर्दा उसले त्यसमा आफ्नै अनुहार देख्यो । तर ऐना भनेको के हो भन्ने नै थाहा नपाएको त्यो मान्छेलाई आफ्नो अनुहार कस्तो छ भन्ने थाहा नहुनु कुनै अस्वाभाविक कुरो थिएन । उसले आफूलाई चिन्न सकेन । उसलाई त्यो आफ्नो मरिसकेका बाबु हुन् भन्ने लाग्यो । कसैलाई केही नभनी घरमा उसले त्यो ऐनालाई लुकाएर राख्यो । रातिराति सबै सुतेपछि लुकाएको ठाउँबाट ऊ त्यो निकालेर नियालेर हेथ्र्यो । एक दिन उसकी श्रीमतीले त्यो चाल पाई । आफ्नो लोग्ने आधारातमा लुसुक्क उठेर के हेर्छ भन्ने उसलाई कौतुहलता भयो । भोलिपल्ट लोग्ने काममा गएपछि उसले लुकाएको ठाउँबाट ऐना निकालेर हेरी । त्यसमा एउटी स्वास्नीमान्छेको अनुहार देखेपछि उसले सोची,
“आजकल उसलाई मोहनी लगाउने बोक्सी यही पो रहिछ ।”
ऐना भएर पनि के गर्नु, मान्छेले आफूलाई नचिनेपछि, आफ्नो अनुहार कस्तो छ भन्ने थाहा नपाएपछि यस्तो भ्रम हुनु स्वाभाविक हो । तर हामी त विकसित समाजमा बाँच्ने मान्छेहरु हौं । हामीलाई आफ्नो अनुहारको बारेमा कुनै भ्रम छैन । हरेक दिन आफूलाई हामीले ऐनामा हेरेका हुन्छौं । हामीसंग आफ्ना तसवीरहरु हुन्छन्, आजकल त भिडियो पनि हुन्छ । अर्थात हामीले आफूलाई हरेक कोणबाट, हरेक अवस्थामा नियाल्न पाएका हुन्छौं । तर, के यति हुँदाहुँदै पनि हामीले आफूलाई चिनेका छौं त ? हामी सबैमा आफ्ना बारे केही न केही भ्रमहरु पालेर बसेका छौं आजका चेतनशील मान्छेहरु पनि । हामी अरुले त्यही गरुन् भन्ने अपेक्षा गर्छौं, जुन हामीलाई मन पर्छ, ठीक लाग्छ । हामी अरुले त्यही बोलेको सुन्न चाहन्छौं, जुन हामीलाई राम्रो लाग्छ । त्यसो भएन भने हामीलाई त्यो सह्य हुँदैन । हामी आफू कस्ता छौं भन्ने कुरा आफैले निर्धारण गरेर बसेका हुन्छौं । अरुले त्यसको विपरित केही पनि भनेको मान्दैनौं । हामी त्यो नहुन पनि सक्छौं, जे हामीले ठान्छौं । अरुले भनेको कुरालाई पनि बहिलेकहीं मनन गर्न जान्नुपर्छ हैन र मासनसले ? मानिसले ऐना हेरेर आफ्नो अनुहार त चिन्छ तर आफूलाई चिनेकै हुनुपर्छ भन्ने केही छैन ।
हामी विद्यालयमा गुरुहरुबाट, घरमा ठूलाबडाहरुबाट एकथोक पढ्दै, सुन्दै र सिक्दै हुर्कन्छौं तर व्यावहारिक जीवनमा प्रवेश गरेपछि ती सिकेका सबै कुरा त्यहाँ काम नलाग्ने रहेछ भनेर बुझ्दै जान्छौं । एउटा सानो उदाहरण हो, साँचो बोल्नू । स्पष्ट वक्ता सुखी भवेत् । तर के व्यावहारिक जीवनमा स्पष्ट वक्ता सुखी रहन सम्भव छ ? किन छैन भने हरेक मानिसलाई भ्रम प्यारो हुन्छ । त्यही मानवीय कमजोरीका कारण संसारमा ठूलाठूला तानाशाहहरुको उदय भयो र पतन पनि । तानाशाहहरु भनेका राजनीति र शासनमा मात्र हुँदैनन् । समाजका हरेक क्षेत्रमा हुन्छन् । घरमा आफूले भनेको बाहेक अरु कुरा स्वीकार्य नहुने घरमूली पारीवारिक तानाशाह हो । साहित्यमा आफूले लेखेका मात्रै उत्तम र त्यससंग सहमत नहुनेहरु मूर्ख हुन् भन्दै हुर्मत लिन खोज्ने मान्छे साहित्यिक तानाशाह हो । कार्यालयमा आफ्नो कमी कमजोरी स्वीकार्न नसक्ने हाकिम प्रशासकीय तानाशाह हो । अर्थात् हाम्रो समाज तानाशाहहरुले भरिएको समाज हो । हामी सबैमा त्यो कमजोरी धेरथोर मात्रामा रहेको हुन्छ । त्यसैले त परिवारमा, समाजमा, मित्रमण्डलीमा र कार्यालयमा, यो संसारमै कहीं पनि हामी स्पष्टवक्ता हुन सक्दैनौं ।
कुनै पनि क्षेत्रमा किन नहोस्, लाटो देशमा गाँडो तन्नेरी भएर बसेकाहरुलाई यदि अर्को मान्छेले झुक्केर पनि ऐना देखाइदियो भने त्यो उसलाई स्वीकार्य हुँदैन । यहाँ नेर हामीले बिर्सन नहुने कुरा के हो भने, जसले हाम्रो भूल औंल्याइदिन्छ, त्यो हाम्रो शुभचिन्तक हो । किन भने भूल नगर्ने मान्छे संसारमा हुँदैन । त्यो स्वीकार्न सक्यौं भने मात्र हामी त्यसलाई सुधार्न सक्छौं र कम भूल गर्ने मान्छे बन्न सक्छौं । हाम्रा हरेक जायज नाजायज कुरामा वाहवाह गर्नेहरु क्षणिक रुपमा बढी प्यारा लाग्छन् तर कालान्तरमा तिनले हामीलाई भँडखालोमा जाकिरहेका हुन्छन् भन्ने कुरा बुझ्नु नै चेतनशील मान्छे बन्नु हो । कमी कमजोरी भनेको मर्यादा पुरुष भनिएका भगवान राम देखि लिएर गौतम बुद्धमा समेत थिए र आलोचना भनेको तिनको पनि भएको थियो भन्ने थाहा हुँदाहुँदै पनि किन मानिस आफूलाई सर्वगुणसम्पन्न भएको भ्रान्ति पालेर बाँच्छ ? हुन त मान्छे भएपछि आफूलाई आफ्नो क्षेत्रमा विशिष्ट देखाउने मोह कसलाई हुँदैन र । यो त मानवीय गुण हो । यो गुण त्यतिबेला दुर्गुण बन्न पुग्छ जब हामी त्यसका लागि अरुलाई निकृष्ट बनाउन खोज्छौं, देखाउन खोज्छौं । आफ्नो उँचाइ कायम गर्ने दुइवटा उपाय हुन्छन् । पहिलो अरुलाई आफूभन्दा तल खँगार्न खोज्ने अनि दोश्रो आफू अरु भन्दा माथि उठ्न खोज्ने ।  एउटा भनाइ छ, थरिथरिका मान्छेहरु मिलेर संसार बन्छ ।
अर्को पटक ऐना हेर्दाखेरि हामीले आफूलाई नियालेर हे¥यौं भने, आफूलाई ढाँट्ने प्रयत्न गरेनौं भने हामी ती दुइथरि मध्ये कस्तो मान्छे बनेर आफ्नो विशिष्टता खोज्ने भन्ने कुराको निक्र्यौल गर्न अवश्य पनि सघाउ पुग्नेछ ।

Sunday, July 17, 2011

नयाँ भूतको हाउः

बायाँ फन्को ६३

फेरि एकपटक देशभरका पेट्रोल पम्पहरुमा एनाकोण्डा जस्ता लामहरु तनक्क तन्किएका छन् । सानाठूला गाडीहरु र मोटरसाइकलको यो लामले गर्दा वरिपरिका उसै त साँघुरा बाटाघाटाहरु झनै खुम्चिएका छन् । सम्हालिनसक्नुको जामले गर्दा जनजीवन अस्तव्यस्त बनेको छ । हप्तौं हुन लागिसक्यो यसपटकको अभाव पनि । पेट्रोलको अभाव हुने भनेको अब लौ त भनौं भने एउटा नियमित प्रकृया जस्तै भैसकेको छ । कहिले आयल निगमले वक्यौता तिर्न नसकेर भारतबाट आपूर्ति बन्द वा कम भएर अभाव सिर्जना हुन्छ भने कहिले व्यवसायीहरुका, कहिले ढुवानीकर्ताहरुका स्वार्थसिद्धि नभएका कारण आम नागरिकले नपाउनु पर्ने दुःख पाइरहेका हुन्छन् । पम्पवालाहरुले मिसावट गरेर जनताका गाडी र मोटरसाइकलका ईन्जिन ध्वस्त पारे भनेर अनुगमन वा जाँच गरे पम्पवालाहरुको आन्दोलन, ढुवानीका लागि ट्रकहरु थपे भैरहेकाहरुको आन्दोलन, भैगो नथप्ने भने थप्नु पर्नेहरुको आन्दोलन र एउटा संघसंग सहमति गरे अर्को संघको आन्दोलनले आम नागरिकहरुलाई थला पर्ने गरी लात हानिरहेको छ । हप्तौं दुःख पाएर दुइचार दिन अलि होलो भएको मात्र के हुन्छ, फेरि कुनै न कुनै बहानामा कसैले न कसैले गर्दा हाहाकार सुरु भैहाल्छ । जनता फेरि कहिले चर्को घाममा पुर्पुरो सेक्दै त कहिले झरीमा निथ्रुक्क भिज्दै कुनै पम्पको लाममा नबसी सुख पाउँदैनन् । उनीहरु गर्न पनि के गरुन् ? कसैलाई आफ्ना छोराछोरी विद्यालय पु¥याएर आफ्नो अफीस पुग्नु छ, कसैलाई आफ्नो दानापानीको सन्दर्भमा दौडधूप गर्नु छ । सार्वजनिक यातायातको कुनै भरपर्दो मापदण्ड र सरल सुविधा नभएको यो राजधानीमा निजी सवारी साधन भनेको विलासिता नभै अत्यावश्यक भैसकेको छ ।
अहिलेको कुरा गर्दा पहिले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन, त्यो सल्टाउनासाथै फेरि मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको आन्दोलनले गर्दा जनताले सन्तोषको लामो सास फेर्न पाएका छैनन् । संघले कारोवार ठप्प पार्ने धम्की दिएपछि महासंघ सरकारले सहयोग गरे आपूर्ति गरेरै छाड्ने दावी गर्न थालेको छ । पेट्रोलियम ढुवानी व्यवसायीहरुको गैर जिम्मेवारी र स्वार्थका कारण चरम अभाव सिर्जना भएको कारण वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सेवा ऐन लागू गर्न गृह मन्त्रालयलाई गुहारेको छ । यो ऐन लागू गर्ने निर्णय भयो भने ढुवानीमा अवरोध पु¥याउनेलाई गोली सम्म हान्न सकिन्छ रे । तर सर्वत्र के दण्डहीनताको पराकाष्ठा नाघेको बेला यो निर्णय होला र त्यसको कार्यान्वयन पनि होला भनेर हामी निर्धक्क हुन सक्छौं ? राज्यको उपस्थिति र विधिको शासन भन्ने कुरा कुन चराको नाम हो भन्ने समयमा बाँचिरहेका हामीले कुरा मात्र यति धेरै सुनिसक्यौं, हामीलाई केही पनि भने अनुसार हुन्छ भनेर विश्वास लाग्न छोडिसकेको छ । अप्ठ्यारोमा पारेपछि जे पनि गर्न सकिन्छ भन्ने गलत मानसिकता सर्वत्र व्याप्त भएको छ । ऐन भनेको सानातिनालाई मात्र हो र कुनै छाता ओढेका मानिसहरु जे गरेर पनि उम्कन सक्छन् भन्ने उदाहरणहरु कायम भैरहेको बेलामा आफ्नै नियति के हो भन्ने थाहा नभएको सरकार, कठपुतली जस्ता प्रधानमन्त्री (जो र जुन पार्टीका जहिले भए पनि) र कुहिरोमा हराएको काग जस्तो प्रशासनबाट जनताले केही पनि सकारात्मक कुराको आश गर्न सक्छन् त ? कूटनीतिक पासपोर्ट बेचेका सम्विधान सभा सदस्यहरु जमानतमा छुटेर छाती फुलाएर हिंड्छन् । अख्तियार लागेकाहरुको सामाजिक प्रतिष्ठा झनै बढ्छ । फौजदारी अभियोगमा प्रहरीले ‘खोजेका’ मान्छेहरु राजनैतिक संरक्षणमा पक्राउ हुन सक्दैनन् ।  अनेकौं भ्रष्टाचारमा मुछिएका विदेशी नागरिकहरु ईच्छा अनुसार आरामले देश छोडेर उड्न सक्छन् ।
गलत र अनैतिक काम गर्नेहरुको दुइवटा मात्र औषधि हुन्छ । पहिलो उसलाई गर्न हुने र नहुने काम आफ्नै विवेकले खुट्याउन सक्ने बनाउनु । त्यसो भयो भने सबै भन्दा राम्रो । त्यो नभएको खण्डमा उसलाई दण्डको डर देखाएर सही बाटोमा ल्याउनु । त्यति गर्दा पनि भएन भने दण्ड नै गरेर चेताउनु । ता कि उसलाई भएको दण्डका कारण अरु सम्भावित मानिसहरु हच्किउन् । तर के अहिलेको समयमा यी दुबै कुरा सम्भव छन् त ? हामीले देखेका छौं, गम्भीर भन्दा गम्भीर अपराध गर्नेहरु भरिसक्य फेला नै पर्दैनन्, फेला परेकाहरुलाई सजांय हुँदैन, भयो भने पनि अपराध वा दुराचारको  प्रकृतिको तुलनामा न्यूनतम मात्र हुन्छ ।
एउटा रमाइलो प्रसंग यहाँ नेर उल्लेख्य छ । एक पटक एउटा सूरो मान्छे मध्यरातमा गाडी चलाएर घर फर्कंदैथ्यो । एउटा हेर्दै माया लाग्दो लूरो र खिरिल्लो मान्छे बाटोमा लिफ्ट माग्दैथ्यो । कुरै कुरामा लूरोले आफू भूत हूँ भनेर परिचय दियो । सूरोलाई पत्यार लागेन र भूत भए तर्साएर देखा भनेर चुनौती दियो । लूरोले आफू भर्खर केही दिन अघि मरेर भूत बनेको हुनाले राम्ररी तर्साउन सिक्न नपाएको बताउँदै प्रयासम्म गर्छु भनेर सानो स्वरमा ‘हाउः’ भन्यो । सूरोले भूतले तर्साइसकेपछि कमसे कम इज्जत राखिदिनु पर्ला भनेर डराएको जस्तो गर्दै सानो स्वरमा ‘आब्बुइ’ भन्यो ।
हाम्रो अहिलेको राज्य व्यवस्था धेरै हदसम्म यस्तै भएको छ । हाम्रा ऐन कानून र दण्ड जरिवानाहरु त्यही नयाँ भूतको ‘हाउः’ जस्तो मात्र छ र दण्डका भागीहरु पनि इज्जत राख्नका लागि आब्बुइ मात्र भनिरहेका छन् । कुनै पनि समस्याको जड नखोजेर हामी हाँगाविंगाहरु मात्र छिमल्न पल्केका छौं । रावणको नाभिमा अग्निवाण नहानी हुँदैन भन्ने जानेर पनि हामी उसको टाउको काट्न मात्र हामी लागिपरेका छौं । पेट्रोलियम पदार्थको यो कहिले नटुंगिने किचलो पनि त्यसैको एउटा उदाहरण मात्र हो । 


Sunday, July 3, 2011

चेतको चस्मा

बायाँ फन्को ६२

एकजना मित्रले आफ्नी छोरी ३ कक्षा पढ्ने हुन्जेलसम्म उसको आँखा कमजोर रहेछ भन्ने कुरा थाहा पाएनन् । थाहा होस् पनि कसरी, किनभने एउटा बालकलाई आँखा कमजोर हुनु भनेको के हो भन्ने ज्ञान नै हुँदैन । त्यसो भएपछि उसले कुनै गुनासो गर्ने प्रश्न नै उठ्दैन । अरु सबै हिसाबले चनाखो ती छोरीले देखने बेलामा चाहिँ धमिलो देख्छे भन्ने कसैलाई शंका नहुनु स्वाभाविकै हो । किनभने एक जनाको आँखाले अर्को मानिसले संसार देख्न सक्दैन । अनि एउटा मान्छेले के देखिरहेको छ, कस्तो देखिरहेको छ वा के देखिरहेको छैन भन्ने कुरा अर्को मान्छेलाई थाहा हुँदैन । त्यसैले आफ्नी छोरीको आँखा कमजोर छ भन्ने उनीहरुलाई पनि थाहा भएन । अन्य सबै कुरामा तीक्ष्ण उनकी ती छोरी बेलाबेला हिसाबका प्रश्नहरु समाधान गर्ने बेलामा गलती गर्न थालिछ । उसका उत्तरहरुमा एउटा अचम्मको अनियमित नियमितता देखिन थालेछ । केही समय ऊ सबै समस्याका राम्ररी समाधान गर्थी भने केही समय उसबाट गलतीहरु हुन्थे । कक्षामा विद्यार्थीहरुलाई पालैपालो अगाडिपछाडि गरेर सारेर राख्ने चलन रहेछ त्यो विद्यालयमा । जबजब ऊ अगाडिका सिटहरुमा हुन्थी, उसका उत्तरहरु शतप्रतिशत ठीक हुन्थे तर पछाडि परेको बेला गडवड हुन्थ्यो किनभने कालोपाटीमा दिइएका प्रश्नहरु टिप्ने बेलामा नै ऊ कतै केही गलत टिप्दीरहिछ । त्यो हेक्का गरेर शिक्षकले एक दिन ती मित्रलाई आफ्नी छोरीको आँखा जँचाउन सल्लाह दिए । नभन्दै डाक्टरले पनि तिनको आँखा कमजोर भएको ठहर गरे । उनले ती बालिकाले टाढाको कुरा स्पष्ट नदेख्ने भएकाले माइनस पावरको चस्मा प्रयोग गर्न लगाउने सल्लाह दिए । उनीहरुले चस्मा बनाइदिए । जब पहिलोपटक छोरीले चस्मा लगाई, उसको भाव नै परिवर्तन भएछ । उसले चारैतिर जिल्ल र दंग पर्दै हेरिछ र उसको मुखबाट निस्केको एक मात्र शव्द थियो,
“आह....हा.....।”
आफ्नो वरिपरिका अहिलेसम्म देखिरहेका कुराहरुलाई उसले त्यस्तै नै रुपमा स्वीकारिरहेकी थिई । ती कुराहरु यति चहकिला र स्पष्ट पनि हुन सक्छन् भन्ने उसलाई त्यतिबेला सम्म थाहा नै पनि थिएन । त्यस दिनदेखि उसका उत्तरहरु कहिले पनि गलत भएनन् ।
स्पष्ट देख्नु भन्ने के हो भन्ने थाहा नभएको मानिसलाई धमिलो देख्नुले असर गर्दैन । अनि धमिलो देख्ने बानी लागेको मानिसलाई स्पष्ट देख्नुको अर्थ थाहा हुँदैन । त्यस्ता मान्छेहरुलाई स्पष्ट देख्न सक्नुको महत्व नै हुँदैन । तर आँखा जसको पनि जुनसुकै बेला कमजोर भइदिन सक्छ । त्यसो भयो भने कुनै पनि कुरा जुन रुपमा स्पष्टसंग देखिनु पर्ने हो, त्यो रुपमा देखिंदैन । त्यसो भयो भने मान्छेले एकथोकलाई अर्कै भन्ठान्न सक्छ । देखाइ गलत भएपछि बुझाइ गलत हुन सक्छ । बुझाइ गलत भएपछि उसको सोच, व्यवहार, काम गलत हुन सक्छ । कुनै पनि कुरालाई स्पष्ट देख्नुको महत्व नै अर्कै हुन्छ । आँखा कमजोर भयो भने साधारणतया चश्मा लगाउने गरिन्छ । आजकल प्रविधिको विकासले कन्ट्याक्ट लेन्स प्रयोग गर्ने वा शल्यक्रिया गरेर आँखाको पावर ठीक पार्ने पनि अवसरहरु छन् । भनाइको अर्थ के हो भने आँखाको कमजोरी समाधान गर्न सकिने कुरा हो । तर आँखाको हेराइ जस्तै महत्वपूर्ण हुन्छ चेतको हेराइ, दृष्टिकोणको हेराइ अनि विवेकको हेराइ । कसैकसैले त्यसलाई मनको आँखा पनि भन्छन् ।
आँखाको हेराइ जस्तै मानिसमा चेतको हेराइ पनि कमजोर हुनु नौलो कुरा हैन । त्यसमा पनि दुइ प्रकारका नै मान्छेहरु हुन्छन् । पहिलो वर्गमा जन्मजात चेत कमजोर भएकाहरु पर्दछन् ।  जन्मजात चेत नभएका मान्छेहरु अघि उल्लेख गरिएकी बालिका जस्तै हुन्, तिनलाई चेतना, ज्ञान र विवेक हुनुको अर्थ के हो भन्ने थाहा हुँदैन । त्यसैले त्यस्ता मान्छेहरुसंग कुनै गुनासो गर्नुको औचित्य छैन । किनभने जसले अँध्यारो भोगेको छैन त्यसले उज्यालोको सही महत्व कहिले पनि बुझ्न सक्दैन । दोश्रो थरि ती हुन्, जसले विविध कारणले गर्दा पछि गएर विवेक गुमाएका हुन्छन्, चेत हराएका हुन्छन् । अँध्यारोलाई जितेर उज्यालोमा आएका ती मान्छेहरु त्यही उज्यालोको चमकमा दिग्भ्रमित भएका हुन्छन् । ती बालिकाले जस्तै समस्या नै स्पष्टसंग नदेख्ने भएपछि यस्ता मानिसहरुले जति नै दत्तचित्त भएर, जति नै राम्रो नियतले खोजेका समाधानहरु पनि कतै न कतै केही न केही त्रुटिपूर्ण हुनु स्वाभाविक हो । त्यसैले चेतको हेराइ नै कमजोर भएका मान्छेले न आफ्नो भलो गर्छ, न अरुको । चेतको आँखा कमजोर भएको आत्ममूल्यांकन गर्न सके भने तिनलाई पनि चस्मा र कन्ट्याक्ट लेन्स लगाइदिन सकिन्छ । वा शल्यक्रिया गरेर सही देख्ने बनाउन सकिन्छ । तर रतन्धोले आफू राति केही देख्दिनं भन्ने कुरा नभन्नु भन्दा ठूलो अपराध त्यतिबेला हुन्छ, जतिबेला उसले अरुलाई अँध्यारोमा डोहोर्याउने धृष्टता गर्छ । आफै दिग्भ्रमित मानिसले अरुलाई बाटो देखाउन थाल्यो भने गन्तव्यमा पुग्ने त कुरै नगरौं, भँड्खालोमा लगेर जाक्ने बढी सम्भावना हुन्छ ।
अहिले सायद हामी त्यस्तै चेतको दृष्टि कमजोर भएका मानिसहरुलाई अघि लगाएर सुखद गन्तव्यमा पुग्ने सपना देखिरहेका छौं । त्यो भनेको तिनको भन्दा बढी हाम्रो पनि हेराइको कमजोरी हो । त्यसै कारण हामीलृ आफ्नो आत्ममूल्यांकन गर्ने बेला हो यो । अहिले हाम्रो सबै भन्दा ठूलो आवश्यकता हो, आफ्नो लागि, तिनका लागि र देशका लागि चस्मा खोज्ने ।
चेतको चस्मा ।

Sunday, June 19, 2011

पुस्तक र बौद्धिक क्षुधा

बायाँ फन्को ६१

बर्नाड श बेलाबेला पुरानो किताबको पसलमा गएर पनि पुस्तक किन्थे रे । एक दिन त्यस्तो पसलमा उनले आफ्नै एउटा पुस्तक पनि देखेछन् । कौतुहलतावश त्यो टिपेर पहिलो पाना पल्टाउँदा उनी एक छिन त दंग परेछन् । आफ्नो एकजना साथीलाई उनले शुभकामना सहित उनले हस्ताक्षर गरेर दिएको पुस्तक रहेछ त्यो । उनले त्यो किताब आधामोलमा किनेर ल्याएछन् । आफ्नो शुभकामनाको मुन्तिर “शुभकामना नवीकरण” भनेर लेखेछन्, फेरि हस्ताक्षर गरेर त्यही मित्रलाई फिर्ता पठाइदिएछन् ।
एक जना मित्रले समाजशास्त्रको कुनै एउटा किताब कौडीको मूल्यमा फेला पारेका छन् । त्यो पुस्तकमा विश्वेश्वरप्रसाद कोइरालाको दस्तखत पनि छ । विपीको अक्षर चिन्ने मानिसहरुलाई देखाएर उनले त्यसको विश्वशनियता पनि पक्कापक्की गरिसकेका छन् । त्यो पुस्तक उनले बडो जतनका साथ राखेका छन् । घरमा जाने आउने मान्छेहरुलाई बडो गर्वका साथ उनी त्यो देखाउँछन् ।
बेलाबेला म पनि ठमेलका पुरानो किताब पसलहरुमा छिरेको छु । फुटपाथमा फिंजारेका पुराना किताबहरुका ठेलीमा घोरिएको छु । कहिलेकहीं दुर्लभ पुस्तकहरु र रमाइला कुराहरु भेटिन्छन् त्यस्तो ठाउँमा । एउटा त्यस्तै पुस्तकमा कसैले लेखेको थियो, “पुस्तक मान्छेको सबै भन्दा राम्रो साथी हो । किनभने यसले तिमीलाई सूचना दिन्छ, ज्ञान दिन्छ, मनोरञ्जन दिन्छ अनि साथ दिन्छ । त्यो सबको साटो पुस्तकले तिमीबाट केही माग्दैन । अनि यो पुस्तकलाई अप्ठ्यारो परेको बेला बेच्न पनि सकिन्छ र यसले तिम्रो गर्जो पनि टार्छ ।” गर्जो टार्नका लागि आफ्नो संकलनको पुस्तकलाई आधा मोलमा बेच्नु अघि ती मान्छेले लेखेको कुरा कति गहिरो छ ।
पुस्तक मान्छेको बौद्धिक क्षुधा शान्त गर्ने भरपर्दो माध्यम हो । यो क्षुधा शान्त गर्नलाई सबैले पुस्तक किन्ने चाहिँ गर्दैनन् । अधिकांश मान्छेहरु अरुसंग उधारो मागेर आफ्नो ज्ञानचक्षु उघार्ने पनि गर्छन् । त्यसरी उधारो लगिएका पुस्तकहरु फर्कने सम्भावना चाहिँ न्यून हुन्छ । त्यसैले त कसैले पढ्न लगेको किताब फिर्ता भयो भने त्यसलाई संसारको आठौं आश्चर्य भनिदिए हुन्छ भन्ने एउटा प्रसिद्ध भनाइ छ । हुन पनि हो, हामी मध्ये धेरैका संकलनबाट कसै न कसैले पढ्नका लागि भनेर लगेका कतिपय किताबहरु संसारको आठौं आश्चर्य हुनबाट बञ्चित भएका होलान् । हामी मध्ये कतिले पनि त्यस्ता धेरै किताबलाई त्यो आश्चर्य हुने गौरव प्रदान नगरेको हुन सक्छ ।
तर पुस्तक किन्ने वा संकलन नै गर्ने मान्छेहरु पनि थरिथरिका हुन्छन् । केही मान्छेहरु यस्ता पनि हुन्छन्, जसले चाङका चाङ कितावहरु थुपारेका हुन्छन् । तिनको संकलनमा दर्शन, समाजशास्त्र, मानवशास्त्र, इतिहास, साहित्य, धर्मग्रन्थ लगायत आफैले नबुझ्ने भाषाका पुस्तकहरु पनि हुन्छन् । तर तिनले कुनै पनि पुस्तक पढेका भने हुँदैनन् । आफ्नो घरमा आउने पाहुनाहरुमा आफ्नो बौद्धिक छविको प्रभाव पार्नका लागि पुस्तक संकलन गर्नेहरुमा पर्छन् त्यस्ता मान्छेहरु । हुन त कलाको पारखी नभए पनि चित्रहरु खरीद गरेर सजाउन हुँदैन भन्ने त कतै लेखेको छैन । तर अध्ययनले मान्छेलाई सुसूचित र सुसँकृत बनाउँछ भन्ने कुरामा चाहिँ कुनै दुइमत छैन । सामान्यतया अध्ययन भन्नासाथ पाठ्यपुस्तकमा घोत्लिनुलाई मात्र बुझ्ने मानिसहरुको पनि वर्चस्व कायमै छ ।
कस्तो पुस्तक पढ्ने भन्ने मान्छेको आफ्नो रुचिको विषय हो । कुनै पनि विधामा राम्रा नराम्रा दुबै गरि पुस्तकहरु नपाइने होइनन् । केही मानिसहरु चाहिँ गह्रुँगो नाम र विषयका पुस्तक पढ्यो भने मात्र आफ्नो इज्जत हुनछ भन्ने भ्रमका सिकार पनि हुन्छन् । त्यस्ता मान्छेहरुले पढ्ने बेला जे पढे पनि कुराकानी गर्दा भने जटिल नाम गरेका लेखकहरुका अझै जटिल पुस्तकका सन्दर्भहरु बयान गरेर थाक्दैनन् । त्यो भन्दा पनि डरलाग्दो मानसिकता भएका बुद्धिजीविहरु ती हुन्, जसले यस्तो किताब र लेखकको सन्दर्भ जोडेर कुरा गर्छन्, जुन वास्तवमा कतै हुँदै पनि हुँदैन । संसारका सबै लेखक र पुस्तकका नाम कसलाई थाहा हुनछ र ? त्यसैले आफ्नो भनाइलाई उनीहरु कुनै काल्पनिक नाम गरेका विश्वप्रसिद्ध लेखकको चर्चित काल्पनिक पुस्तकबाट साभार गरेको भनेर सुनाउँछन् । विद्वता कायम गर्ने यो उनीहरुको रामवाण ओखति हुन्छ ।   
तर जे सुकै होस् खुसीको कुरा हो, आजकल हाम्रो समाजमा पुस्तकहरुका बारे चर्चा परिचर्चा बढी हुन थालेको छ । हाम्रो समाजमा पढ्ने बानीको विकास भैरहेको छ । यसको पछाडि पत्रपत्रिकाहरुले किताबहरुका लागि बढी स्थान उपलव्ध गराउनु, तिनका बारेमा बढी चर्चापरिचर्चा गर्नुले पनि महत्वपूर्ण भूमिका खेलेको छ । साहित्यमा खासै रुचि नराख्ने भनेर बदनाम र अझ विशेषत नेपाली साहित्य भनेपछि नाकमुख खुम्च्याउने भनिएको युवा पुस्ता पनि आजकल पाठकहरुको वर्गमा पर्न थालेका शुभलक्षणहरु देखिएका छन् । विगत केही समयमा नेपाली पुस्तक प्रकाशनले कार्ल लुविसमार्का फड्का मारेको देख्न पाउनु निश्चय नै पनि खुसीको कुरा हो । यसैको फलस्वरुप राष्ट्रिय रुपमा त छँदैछ, नेपाली लेखनले अन्तर्राष्ट्रिय बजारमा समेत पहिले कहिले नजनाएको उपस्थिति जनाउन सफल भएको छ ।
तर हरेक तसवीरको दुइटा पाटो हुन्छ भनेझैं यसको पनि अर्को पक्ष छ, जसको लागि बेलैमा सचेत हुनु आवश्यक छ । देखासिकी र आरिस गर्ने हाम्रो राष्ट्रिय चरित्रका कारण हामी अरु कसैले केही कुरामा उल्लेख्य उपलव्धि हासिल गरेको देख्नासाथ आफू पनि त्यही गर्न थाल्छौं । त्यसो गर्नु अघि त्यो कुरामा आफ्नो दक्षता छ कि छैन भन्ने हेर्दैनौं । विगतमा यसलाई पुष्टि गर्ने धेरै उदाहरणहरु नभएका होइनन् । त्यस्तै अहिले भने किताब लेख्ने लहड चलेको छ । जो हेरे पनि किताब लेखिरहेको नै भेटिन्छन् । मानौं किताब नलेख्ने लेखक लेखक नै होइन ।  एकताका लोकगीत चल्यो भनेर सबैले लोकगीतका नाममा कोठेगीतका एलवमहरु निकालेर श्रोताहरुलाई अमन हुने बनाएको जस्तो कतै पुस्तक लेखन र प्रकाशनमा नहोस् । त्यस्तो भएछ भने लेखक र किताबहरुको संख्या पाठकको भन्दा बढी हुन बेर लाग्दैन । प्रकाशकहरुले पनि के छाप्ने र कस्को र कस्तो छाप्ने भन्ने कुरामा सावधानी अपनाउनु आवश्यक हुन्छ । अन्यथा अस्वस्थ्य प्रतिस्पर्धाले नेपाली पुस्तक प्रकाशनको यो उदाउन लागेको घाममा खग्रास लगाउन सक्छ ।

Sunday, June 5, 2011

आउनुस्, ब्रम्हलूट गरौं

बायाँ फन्को ६०

उनी कुनै बेला मोफसलको एउटा एफ.एम. रेडियोमा हप्ताको एउटा आधा घण्टे कार्यक्रम चलाउँथे । कुनै गम्भीर वा विचार प्रधान कार्यक्रम पनि होइन । विशुद्ध मनोरञ्जनका नाममा उनी बजारबाट खरीद गरिएका सस्ता र गैरकानूनी सि.डी. हरु किनेर हिन्दी तथा अंग्रेजी गीतहरु बजाएर आफ्नो आधा घण्टाको कार्यक्रम टार्दथे । प्रतिलिपि अधिकार भन्ने पनि कुनै चरो हुन्छ भन्ने कुरा उनलाई र उनको स्टेसन दुबैलाई थाहा थिएन । भए पनि उनीहरुलाई त्यसको कुनै मतलब थिएन । श्रष्टाहरुको पछाडि आफू लाग्नुपर्छ भन्ने हैन आफ्नो पछाडि श्रष्टाहरु लाग्नुपर्छ भन्ने मान्यता राख्नेहरुमा पर्दथे उनी । यहाँ नेर मूल कुरा उनी कस्ता थिए भन्ने हैन, प्रसंगवश मात्र उनको कुरा गरिएको हो ।
केही समय अघि तिनै मानिस सपना र उपलव्धिको यो सहर काठमाण्डौंमा भेटिए । उनको चालढाल, व्यक्तित्व, लवाइखवाइमा निकै ठैलो परिवर्तन भैसकेको थियो । गतिलै रकम पर्ने चारपाङ्ग्रे सवारीबाट गजक्क परेर ओर्लिएका उनको हातमा दुइवटा मोबाइल फोन थियो । एउटा उनी उत्रिंदा पनि बजिरहेको थियो, अर्को उनी उत्रिसकेपछि बज्न थाल्यो । उनको पछाडिपछाडि एकजना अर्का सहायकजन्य मानिस ओर्लेका थिए जसलाई उनी छिनछिनमा एउटा फोन थमाउँथे, अर्कोमा कुरा गर्थे । सहायकजन्य प्राणी सानो स्वरमा सर अर्को फोनमा भएको कुरा जानकारी गराउँथे र पालैपालो उनीहरुलाई होल्डमा राख्दथे । ती मानिसले नाडी, औंला र गलामा बेरेका सुनहरु हेर्दा सुनको मूल्यले आकाश छोयो भन्नेहरु सब फटाहा हुन् भन्ने लाग्थ्यो । पचासपटक जति घडी हेर्दै पाँच मिनेट जति उनले भलाकुसारी गर्दा थाहा भयो, आजकल उनले केही अरु साथीहरुसंग मिलेर काठमाण्डौंमा एउटा इन्जिनियरिंग कलेज खोलेका रहेछन् । परमेश्वरको परम अनुकम्पाले कलेज बेस्मारी चलेको पनि रहेछ । जाँदाजाँदै उनले नयाँ सत्रका लागि आफ्नो उज्जवल भविष्यका लागि कटिवद्ध कोही इच्छुक विद्यार्थीहरु छन् भने उनको कलेजमा पठाइदिनू भन्दै आफ्नो कार्ड थमाए । पूरा कोर्सका लागि लाग्ने रकम कति हो भन्ने पनि सुनाए र प्रति विद्यार्थी कति छ्याकन दिने हो भन्ने प्रतिशत सुनाएर लोभ्याउन पनि भ्याए ।
उनलाई नचिन्नेहरुका लागि उनको यो नयाँ रुपको के अर्थ लाग्थ्यो त भन्न सकिन्न, तर चिन्नेहरुका लागि उनले कलेज चलाएका छन् भन्न् आश्चर्यको नै कुरा थियो ।  यही कुरामा घोत्लिंदै जाँदा उनी त आजका समयको एउटा प्रतिनिधि पात्र मात्र हुन् भन्ने लाग्न थाल्यो । किनभने हामीकहाँ जसले जे पनि गर्न पाउने गरि हामीलाई लोकतन्त्र आएको छ । जता हेरे पनि गर्मीको मौसममा लामखुट्टेका फूल जस्ता थोकका भाउमा विद्यालय, कलेज, अस्पताल र रिसर्च सेन्टरहरु उम्रिएका देखिन्छन् । यस्तो लाग्छ मानौ यहाँ कुनै पनि कुराका लागि कुनै मापदण्डको आवश्यकता छैन । विशेष गरेर शिक्षा र स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध भएका कुराहरुमा पनि कुनै न्यूनतम आधार, पूर्वाधार र मापदण्ड कायम गर्नुपर्छ भन्ने कसैलाई लाग्दैन । सलाइका बट्टा भन्न सुहाउने कोठाहरु भएका साँघुरो गल्ली भित्र दुइ आनामा बनेका घरहरुमा समेत ‘फलानोढिस्कानो इण्टरनेसनल स्कूल’हरु खुलेका हुन्छन् जहाँ कलिला कलिला बालबालिकाहरु खलखली पसीना काढ्दै दुइ एकान दुइ घोकिरहेका हुन्छन् । उदेक लाग्दो कुरा त के हो भने त्यस्ता स्कूलहरुका थाप्लोमा वीभत्स देखिने फ्लेक्समा गर्वसाथ पोतिएको हुन्छ, “बालबालिकाको सर्वाङ्गीण शारीरिक तथा वौद्धिक विकासका लागि ।” अधिकांश विद्यालयहरुका अवस्था हेर्ने हो भने त्यहाँ पढ्ने बुनै पनि बालबालिकाको विकासको त कुरै छोडौं, उल्टो हुनु पर्ने स्वाभाविक विकास पनि हुँदैन होला ।
फोहोरै फोहोरका चीरस्थायी डुङ्गुरहरुका छेउमा हावा खेल्ने समेत झ्याल नभएका घरहरुमा शिशु स्याहार केन्द्रहरु खुलेका हुन्छन् । फूड प्वाइजनिंगका कारण केही महीना वा वर्ष मात्र पुगेका बालबालिकाहरुलाई अस्पताल कुदाउन परेका केही घटनाहरु देख्दा सुन्दा पनि आँखा चिम्लन वाध्य छन् अभिभावकहरु । अस्पताल, नर्सिंग होम र अहिले नयाँ चलन अनुसार भनिने रिसर्च तथा डायग्नोस्टिक सेन्टरहरुको त झन् कुरा गरि साध्यै छैन । कुखुराको भाले बास्नु अघि देखि उल्लू कराउनु भन्दा पछिसम्म कानका जाली च्यात्लान् जस्ता थरिथरिका प्रेसर हर्न बजाउँदै हुइँकिने सवारी साधनहरुका कोलाहल र तिनले उडाउने कालोमुश्लोको नजीकै चक्रपथका विभिन्न चोकहरुका छेउछाउमा, सहरका अति व्यस्त व्यापारिक स्थानहरुमा समेत पनि यस्ता स्वास्थ्यसेवा प्रदायकहरु गर्व साथ हरेक दिन सय्यौं विरामीका उपचार गरिरहेका हुन्छन् । यो धमिलो अमिलो सपनाको महानगर काठमाण्डौंमा उन्नत भविष्य र सजिलो जीवन बाँच्न् रहर बोकेर आएका मानिसहरुका वाध्यताको नाजायज फाइदा उठाएर पैसा कमाउन पल्केकाहरुलाई अनुगमन र नियन्त्रण गर्नु कसको प्राथमिकताको विषय हो भन्ने पनि थाहा छैन ।
आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, कार्यालय क्षेत्र भनेर खुट्याउने भनेको त यो महानगरको संरचनामा असम्भवप्राय सपना भैसकेको छ । तर पनि कम से कम शिशु स्याहार, शिक्षा र स्वास्थ्य जस्ता कुरामा मानिसहरुलाई खुलेआम लूटपाट मच्चाउने छुट नदिन सकिंदैन र ? त्यस्ता काम गर्ने वा गर्न चाहनेहरुका ल्याकत, औकात, पृष्ठभूमि, क्षमता, भौतिक पूर्वाधार, उद्देश्य जस्ता कुराहरुमा अलि सम्वेदनशील नीति नियम र अनुगमनका उपायहरु खोज्न संिकंदैन होला र ?
हुन त देशको जिम्मा लिएकाहरु अहिले यस्तो फूलमाथि ओथारा बसेका छन्,  जसबाट कस्तो चल्ला कोरलिने हो, त्यो कस्तो रुप र चरित्र भएको हुनेछ अथवा त्यो ओथारामा नै तुहिने हो कि भन्ने कुरा तिनीहरुलाई नै पनि थाहा छैन । यस्तो अवस्थामा शिक्षा र स्वास्थ्यसंग राख्ने ‘झीनामसीना’ कुरामा उनीहरुलाई सोच्ने फुर्सद कहाँ हुन्छ र ?

Sunday, May 22, 2011

सूडान, अमेलिया र हामी

बायाँ फन्को ५९

हामी अहिले बाँचिरहेको समय बडो अचम्मको, अप्ठ्यारो र अत्यासलाग्दो बेला हो । नियमित रुपले चलिरहेका हाम्रा दिनहरु भित्र यति धेरै अनियमितताहरु मिस्सिएका छन्, तिनलाई गनेर  साध्यै छैन । यो पुस्ताका मान्छेहरुले जति धेरै परिवर्तन, विकास, विनाश, अपचलन सायदै कुनै अरु पुीताकाले देखेका होलान् । प्रविधि, समाज, रहनसहन, विचार, सम्वन्ध, मानसिकता र अरु सबै कुरामा परिवर्तनहरु भएका छन् । राम्रा पनि त्यत्तिकै र नराम्रा पनि त्यत्तिकै । यो समय असन्तुष्टिको समय हो । किनभने मान्छेले उत्तरहरु खोज्नका लागि सल्वलाएको समय हो यो । चेतनाको वृद्धि, संसारसंग नजिकिन सजिलो भएको प्रविधिले मान्छेलाई जिज्ञासु बनाएको छ । जति धेरै प्रश्नका उत्तरहरु मान्छेले भेट्दै गएको छ, त्यति नै धेरै मान्छे दिग्भ्रमित पनि हुँदै गएको छ आजको समयमा । किन भने आजका मान्छेलाई विश्वस्त बनाउन, चित्त बुझाउन पहिले जस्तो सजिलो छैन । त्यसैले हामी असन्तुष्ट छौं ।
हाम्रो देशको कुरा गर्दा यहाँ संसारका नयाँ भन्दा नयाँ प्रविधि तुरुन्तै भित्रिने गर्छ । तर त्यो सात महिना पनि राम्ररी गर्भ नरही जन्मेको शिशु जस्तो भएर आउने गर्छ । त्यसैले हामी सबै थोक संग परिचित भएर पनि त्यसबाट पाउनु पर्ने शतप्रतिशत लाभ चाहिँ पाउँदैनौं । आधुनिक, उन्नत र विकसित देशका मान्छेहरुले उपभोग गर्ने सबै सुविधा यहाँ उपलव्ध छन् । तर तिनमा नियमितता भने छैन । सानो कुरा देखिबाटै सुरु गर्दा, पिंध काटेर जोडिएका गाँसका सिलिण्डर देखि दूरसंचारका सबैभन्दा पछिल्ला विकसित थ्रीजी सम्ममा ठगिन्छन् उपभोक्ताहरु । द्रूत गतिको इण्टरनेट भनेर तपाई हामीले लिने सेवाहरुमा गति मात्रै हुन्छन्, द्रुत हुँदैन । तै पनि निर्वाध नयाँ नयाँ ग्राहकहरु बनाएर धन कुम्ल्याउन पाइरहेका छन् त्यस्ता  सेवा प्रदायकहरु । हालै चोरीका सिलिण्डरमा आफ्नो कम्पनीको नाम भएका पिंध जोडेर भन्दा चलाइरहेका एक जना ठूलै मान्छे फेला परे । हरेक जनताको घरमा बम पठाए सरह हो त्यो काम भनेर जनताको सातो हर्ने समाचार त आयो तर त्यो बिधिको उत्पात गर्ने मान्छेलाई त्यही सरहको कारवाही गर्ने उपाय भने हामीसंग रहेनछ । गुणस्तरिय शिक्षाको नाममा नीजि विद्यालयहरुले अनेकौं नाममा अभिभावकहरुसंग ठटाएको शुल्क अनुसारको सुविधा नदिए पनि त्यसका लागि रोइकराइ गर्ने कुनै ठाउँ छैन ।
त्यसबाहेक पनि हाम्रो वरिपरि हेर्दा एउटा कुनै पनि ठाउँ देखिंदैन जुन हेरेर आजको मान्छे अलि आनन्दको लामो सास फेर्न सकोस् । गाउँ विकासको भागबाट लुटेर पेट्रोल किन्न अरबौंको अनुदानरुपी रिन सरकारले बालुवामा पानी दनाए जस्तो खनाउँदा पनि उपभोक्ताहरुले टण्टलापुर घाममा पुर्पुरो नसेकी पेट्रोल डिजेल पाएका छैनन् । आधा दिनको लोडशेडिंग त हामीले पचाइसकेको कुरा भैसक्यो । व्यापारीहरुले भ्याट छल्छन्, वित्तीय संस्थाका प्रमुखहरुले अपचलन गरी संस्था डुबाउँछन्, मन्त्रीहरु श्रोत खुलाउन नसक्ने गरी अकूत सम्पत्ति कमाउँछन्, साँसदहरु कूटनैतिक राहदानी बेच्छन् । गर्नु पर्ने काम कसैले गर्दैनन्, नगर्नुपर्ने काम सबैले गर्छन् । राजनैतिक परिवर्तनहरु भएका छन् तर अरु केही पनि भएको छैन । सम्विधान बन्ला भन्ने कुरामा क्रमशः सबैको विश्वास गुम्दै गइरहेको छ । भयावह परिणाम आउँछ भनेर अत्याउने बाहेक अरु केही काम देश हाँक्नेहरुले गरेका छैनन् । यो अवस्थामा आजको बेलामा बाँच्नेहरु असन्तुष्ट भए भने तयसमा उदेक मान्ने कुरा केही छैन । तर, असन्तुष्टिले कुनै समस्या समाधान गर्दैन । मानिसलाई अझ बढी निराशाको कालोमा तान्न थाल्छ । यसै पनि अलिअलि गरेर हामीले गुजुल्टो पारेको समस्याको गाँठो छु मन्तर भन्दैमा फुकाउन त सकिंदैन । अरु थप गाँठाहरु नपरुन् भन्नेमा चनाखो हुने र एकएक गर्दै भएका गाँठाहरु खोल्ने बाहेक अरु के नै विकल्प छ त हामीसंग ? सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी भनेर सानो हुँदा विद्यालयमा गुरुहरुले पढाएका थिए । मान्छेले आफूसंग भएका कुराहरुको महत्व नबुझेर नभएका चीजहरुको कल्पनामा पिरोलिन थालयो भने ऊ कहिले पनि खुसी रहन सक्दैन भन्ने यो सरल तर गुढ ज्ञान हामीलाई सानै देखि घोटीघोटी पियाएको छ । तर पनि हामी सन्तोषी हुन किन प्रयास गर्दैनौं ? चाहेको कुरा पाइएन भने पाएको कुरालाई चाहन सक्नुपर्छ ।
केही दिन अघि सामाजिक संजाल मार्फत सूडानकी एउटी एक्काइस वर्षीय युवती अमेलियासंग भेट भयो । सूडानमा चलिरहेको जातीय हिंसामा आमाबाबू र नजीकका नातेदारहरु मारिएपछि विश्वविद्यालयमा डाक्टरी पहिलो वर्ष पढिरहेकी ती युवती अरु थुप्रै सरह भागेर अहिले सेनेगलको एउटा चर्चमा शरणार्थी जीवन बिताइरहेकी छ । जहाँ आजकल ऊ बाँचिरहेकी छ, त्यहाँ पिउने पानी, शौचालय र ओखतीमूलोको पनि बन्दोवस्त छैन । ऊ भन्छे,
“कुरा गर्न, सल्लाह माग्न र बाटो देखाउनका लागि पनि कोही नभएको हुनाले म आफूलाई नितान्त एक्लो र असहाय पाउँछु । पासपोर्ट र अन्य कागजपत्र केही साथमा नभएकोले यूरोपको कुनै मुलुकमा गएर सुरक्षित बातावरणमा पढ्न चाहने मेरो सपना अब सम्भवत कहिले पनि पूरा हुने छैन ।”
मलाई एउटा पुरानो कथा सम्झना भयो ।
एउटा मान्छेलाई जुत्ताको असाध्यै धेरै सोख थियो । उसलाई हरेक दिन नयाँनयाँ जुत्ता लगाएर हिंड्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । तर उसको त्यो इच्छा पूरा गर्ने आर्थिक हविगत भने उससंग थिएन । त्यसैले त्यो मान्छे सँधै दुःखी रहन्थ्यो । बाटोमा हिंड्दा, कतै भेला समारोहमा जाँदा पनि उसका आँखाहरु अरुहरुका जुत्ताहरुमा मात्रै परिरहन्थे । ऊ भगवानलाई मनमनै सराप्थ्यो । एक दिन नयाँ जुत्ता लगाउन नपाएको दुःख चरममा भएर त्यसै गरि भगवानलाई गाली गर्दै हिंडेको बेला उसका आँखा एउटा मान्छेमा परे । अगाडिबाट बैशाखी टेकेर आइरहेको त्यो मान्छेका दुबै खुट्टा थिएनन् । त्यस दिन देखि त्यो मान्छेले ईश्वरलाई सराप्न पनि छोड्यो, आफूले जुत्ता फेर्न नपाएकोमा दुःख मनाउ गर्न पनि छोड्यो ।
अमेलियाको इमेल पढेपछि मलाई पनि त्यस्तै भएको छ । 

Sunday, May 8, 2011

हामी यन्त्रमानवहरु

बायाँ फन्को ५८

अलि अघिकै कुरा हो, एक जना मित्रले त्यस्तै सन्दर्भमा भनेका थिए,
“एक हप्तामा मैले एउटा न्वारान, एउटा व्रतवन्ध, एउटा बिहे, एउटा सम्बन्ध विच्छेद र एउटा मृत्युको घटनामा सहभागी हुनु प¥यो । अर्थात्, मान्छेका जीवनमा हुने सबै महत्वपूर्ण घटनाहरु ।”
त्यतिबेला साधारण रुपमा लिएर पन्छाएको त्यो टिप्पणी त्यसको निकै समय पश्चात् अनायासै सम्झनुको पछाडि एउटा कारण छ । केही दिन अघि अप्रत्याशित रुपमा एउटा दुखद समाचार सुन्नु परेको थियो । अहिलेको समयमा भेटघाट, भलाकुसारी र उठवस नभए पनि कुनै बेला अत्यन्त नजीकबाट संगत गरेको एक जना सहकर्मीको निधन भयो । खवर सुनेर अस्पताल पुग्दा त्यहाँ थुप्रै मानिसहरुको भीडभाड लागिसकेको थियो । यस्तो भीडमा संधै दुइ गरि मानिसहरु देखिन्छन् । एक थरि मानिसहरु, जसलाई साँच्चै नै दुःख लागेको हुन्छ । अर्का थरि मानिसहरु, जसलाई खासै केही पनि फरक परेको हुँदैन । मात्र अनुहार देखाउन र आफ्नो उपस्थिति जनाउनका लागि मात्र त्यहाँ पुगेका हुन्छन् ती दोश्रो वर्गका मान्छेहरु । ती मानिसहरुलाई आफूले त्यहाँ कस्तो व्यवहार गर्नुपर्छ भन्ने पनि मतलब हुँदैन । उनीहरु त्यहाँ मानौं जनसम्पर्क कायम गर्नका लागि र अरु बेला नभेटिने मान्छेहरुसंग म्याद गुज्रन लागेका सम्बन्धहरु नवीकरण गर्नका लागि आएका हुन्छन् । कान देखि कानसम्म टन्सिलै देखिने गरी हाँस्दै आएर त्यस्ता मानिसहरु तपाइंसंग जोशिएर हात मिलाउँछन्, तपाइं आजकल के गर्दै हुनुहुन्छ भन्ने जानकारी चाहन्छन् । कोहीकोही त ख्यालठट्टा समेत गरिरहेका पनि देखिन्छन् । त्यस्ता मान्छेहरु ‘के गर्नु, खवर सुनेपछि आइदिनै प¥यो’ भन्न समेत पछि पर्दैनन् । मानौं त्यहाँ आइदिएर उनीहरुले मृतक र उनका परिवार प्रति कुनै ठूलो गुन लगाएका हुन् । यस्तो भान हुन्छ, कतै ती मानिस नआएका भए मृतकको आत्माले वैतरणी नदी पार गर्न सक्ने थिएन ।
पशुपतिको जात्रामा सिद्राको व्यापार भने जस्तो आडम्वरको आडमा मान्छेहरु आफ्ना अन्य गुह्य कारणका लागि जहाँ पनि पुग्नु पर्ने यो कस्तो वाध्यता हो ? स्वर सम्राट नारायणगोपालको निधन भएको बेलाको एउटा त्यस्तै स्मरण यहाँ नेर उल्लेख गर्न मन लागेको छ । प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आयोजित शोक सभामा एक जना ‘वरिष्ठ’ (हामीकहाँ वरिष्ठ भन्नाले कसले कति उल्लेख्य काम गरेको छ भन्दा पनि कसले कति उमेर त्यो पेशामा बिताएको छ भन्नेले त्यसको निर्भारण गर्ने चलन छ) अभिनेत्री नारायणगोपालको सालिक बनाउनु पर्छ भनेर आक्रामक हिसाबले प्रस्तुत भएकी थिइन् । उनको त्यो भनाइबाट प्रभावित भएर उनी प्रति आदर भाव जागृत हुन थालेको थियो । तर अर्को वाक्यमा सालिक बनाउनु पर्ने जुन कारण उनले खोलिन्, त्यसले गर्दा त्यो शिशु आदर निर्माण मापदण्ड पूरा नभएको कुनै घर भूइँचालोमा ढले जस्तो धराशायी हुन गएको थियो । कलाकारको सालिक बनाउने प्रथाको सुरुवात भयो भने भोलि आफू मरेपछि आफ्नो पनि सालिक बन्छ भनेर उनले भनेकी थिइन् । नारायणगोपाल प्रतिको श्रद्धा नभै उनको आफ्नो स्वार्थ बोलेको थियो त्यतिबेला ।
अघि उल्लेख गरेको दिन पनि भीडमा यो वर्गका महान र परोपकारी मानिस थिए । एक जना त्यस्ता स्वनामधन्य मानिस एउटा सानोतिनो हूल आफ्नो वरिपरि राखेर भाषण गर्ने शैलीमा फलाकिरहेका थिए । न मृतक र तिनका आफन्तहरुसंग उनको कुनै निकट नाता वा सम्वन्ध थियो । तै पनि उनी अब मृतकका पति टुहुरो भएको भन्दै सहानुभूति प्रकट गर्दै थिए । बेलाबेला उनी आफ्नो गला रुग्ण बनाउने जमर्को पनि गरिरहेका थिए । त्यसको केही बेरमै उनी लामो समय पछि भेटिएका कुनै परिचितसंग ख्यालठट्टा गरिरहेको देखिए । औपचारिकताका नाममा अभिनय गर्न वाध्य आजका मानिसहरुको तिनी प्रतिनिधि पात्र थिए सायद ।
त्यही दिन साँझ एउटा कुनै संस्थाले आफ्नो उपलव्धिको हर्ष बाँड्नका लागि आयोजना गरेको एउटा ककटेल पार्टीमा जानु पर्ने थियो । काठमाण्डौमा परिचित मानिसहरुको घेरा त्यति ठूलो छैन, त्यसैले हरेका जमघट र समारोहमा केही न केही नियमित अनुहारहरु एक आपसमा ठोक्किने गर्छन् । त्यो पार्टीमा पनि बिहान अस्पतालमा देखिएका केही साझा अनुहारहरु नदेखिने त कुरै भएन । ती अनुहार र यो स्तम्भकार आफै पनि त्यतिबेला फरक भूमिकामा भएकोले सोही अनुसार प्रसन्न हुनु पर्ने थियो । तर त्यो प्रसन्नताको पछाडि बिहानको पीडा पनि टाँसिएर रहेको थियो । एकै दिन दुइ विपरित अवस्थामा आफूलाई ढाल्नु पर्दा मगजमा एउटा कुराले खल्वल्याइरह्यो ।
यो आधुनिक समाजमा, आजको प्रतिस्पर्धात्मक युगमा मानिस जनसम्र्पक बिना टिक्न सक्दैन । जति बढी हाम्रो चिनजान, भेटघाट र सम्पर्क, त्यति नै धेरै अवसरका सम्भावनाहरु हुन्छन् । अनि जति धेरै अवसरहरु, त्यति नै धेरै उपलव्धिका ढोकाहरु पनि हाम्रो सामु खुल्छन् । उपलव्धिका साथै तिनले आफूसंग फेरि अरु सम्पर्क र सम्वन्धहरु ल्याउँछन् । मानिस आफ्नो दिनको चौवीस घण्टालाई भाग लगाउँदा लगाउँदा मिनेटमिनेटमा आफ्नो समयलाई टुक्रा बनाउन थालेको छ आजकल । मान्छे भनेको व्याट्रीबाट चल्ने खेलौना होइन । भनेको बेला भनेको जस्तो भावना जागृत गर्न उसले सक्दैन । तर आजकल हामी कुनै पनि मनस्थितिमा टिक्न भ्याउँदैनौं । अहिलेको समाज र जीवनशैलीले कतै हामीलाई कुशल तर सम्वेदनाहीन अभिनेता त बनाइरहेको छैन ? के यसले हामीलाई मानिसबाट यन्त्र बनाउँदै लगिरहेको त छैन ?
आधुनिक र प्रतिस्पर्धात्मक समयका हामी यन्त्रमानवहरु ।

Wednesday, April 27, 2011

किन बिक्छन् भगत ?


केही समय अघि किताबको बारेमा कुरा हुँदा एक जना परिचितले मलाई चेतन भगतको टू स्टेट्सको बारेमा मेरो धारणा सोधेका थिए । मैले त्यो पढेको छैन भन्दा उनले मलाई यसरी हेरेका थिए मानौं एउटा कट्टर पण्डितको छोरोले गायत्री मन्त्र पढेको छैन भनिरहेको छ ।
फाइन प्रिन्टको पुस्तक मेलामा के किनौं भनेर घोत्लिंदै गर्दा चेतन भगतका किताबहरुमा आँखा परे । थ्री मिस्टेक्स अफ माइ लाइफ भन्ने किताब उठाएर यसो पल्टाएको, त्यो सन्तानब्बेऔं पुनर्मुद्रण रहेछ । अनि त्यही संगै उनैको टू स्टेट्स थियो । त्यो पनि त्रिहत्तरौं पुनर्मुद्रण रहेछ । मलाई अचम्म लाग्यो, अलिअलि आरिस पनि । कति धेरै बिक्न सकेको होला ? त्यसको साथै किन यति धेरै बिक्छन् भगत भन्ने कुराको मनमा खुल्दुली उत्पन्न भयो ।
मैले चेतन भगतको चर्चा सुनेको अलि धेरै नै भैसकेकोथ्यो । आफ्नो फेरि एउटा कस्तो अडबांगे बानी छ भने, कुनै कुराको अति चर्चा भयो भने त्यो कुरामा रौसै बस्दैन । त्यही कारणले कतिपय सिनेमा मैले हेरेको छैन, कतिपय किताब पढ्न छुटाएको छु । अनि त्यही बानीले गर्दा कतिपय सम्राटका नयाँ लुगाजन्य सिनेमा र साहित्य झेल्ने पीडाबाट मुक्ति पनि पाएको छु । चेतन भगतका किताब नपढेको पनि त्यही कारणले नै थियो । तर त्यस दिन मैले ती लेखकका त्यहाँ उपलव्ध दुबै किताब किनेर लगें । आखिर केही न केही त हुनै पर्छ जसले चेतनलाई यति धेरै बिकाउँछ होला । मलाई पत्ता लगाउन मन लाग्यो । तिनका बिक्रीका कीर्तिमान पनि कम थिएन । एक मुद्रणमा हाम्रो जस्तै दशै हजार प्रति मात्र छापिएका भए पनि उनका ती दुइ किताब सात लाख तीस हजार र नौ लाख सत्तरी हजार प्रति बिकेका छन् भन्ने कुराले पनि मलाई सायद त्यस दिन उक्स्याएको हुन सक्छ । तर, धेरै बिक्दैमा त्यो राम्रो नै हुन्छ र थोरै बिकेका वा नबिकेका किताब नराम्रा हुन्छन् भन्ने मेरो आशय चाहिं पटक्कै हैन ।
मैले टू स्टेट्सबाट सुरु गरें । दुइ भिन्न संस्कृति र रहनसहनसहन भएका उत्तरी र दक्षिणी भारतका युवक र युवतीको बीचमा असमानताले आकर्षित गरेर खोजिएको समानता, त्यसको परिणतिले जन्माएको प्रेम कथा, आआफ्नो परिवारलाई मनाउनका लागि गर्नु परेको संघर्ष, केही समयको विछोड र अन्त्यमा हठ र रुढीवादको आत्मसमर्पण संगै प्रेमको जीत, मिलन अनि अन्त्यमा बिहे । बस्, विषयवस्तुको कुरा गर्ने हो भने कुरो यति नै मात्र हो । हजारौं पटक मूलधारका हिन्दी सिनेमाहरुले भजाएर खाइसकेको चेक जस्तो कथावस्तु । हो, ठ्याक्कै कुनै हिन्दी फर्मूला सिनेमा हेरे जस्तो थियो उनको किताब । कति सम्म त भने प्रेमिकासंग वियोग भएको बेला युवकलाई झुसझुस दाह्री समेत पाल्न लगाउँछन् भगत ।
लेखकका बारेमा किताबमा दिइएको संक्षिप्त परिचय पढेपछि धेरै हदसम्म यो उनको आत्मकथा नै पो हो कि भन्ने पनि भान हुन्छ । किनभने उनको आफ्नै पनि अन्र्तप्रदेशीय बिवाह हो । किताबका नायक भरपर्दो र कमाउ बैंकिंग पेशा त्यागेर कुनै दिन सफल लेखक बन्न चाहन्छ । उनले पनि त्यही गरेका रहेछन् । जुम्ल्याहा सन्तानको जन्म पछि टू स्टेट्स सकिन्छ । भगतका पनि जुम्ल्याहा सन्तान छन् । तर आत्मकथा यति धेरै फिल्मी हुन सक्दैन । उनले पुस्तकलाई जीवन दिन त्यसलाई आधार मानेर त्यही मेरुदण्डमा मसला फिल्मी शैलीमा छालामासु बेरेर प्राण भरेका सम्म चाहिँ हुनसक्छ भन्ने मैले ठहर गरें ।
उनको अर्को किताब ‘थ्री मिस्टेक्स अफ माइ लाइफ’ पनि त्यस्तै नै फिल्मी कथा हो । सुखद संयोगरुपी चमत्कारहरुको भरपूर प्रयोग यसमा पनि छ । केही साधारण केटाहरु जसरी आफूलाई ठूलो व्यापारी भनेर ढाँट्दै अष्ट्रेलियाका क्रिकेट खेलाडीहरु भेट्न रंगशालामा छिर्छन्, त्यो कुनै हिन्दी सिनेमामा मात्र सम्भव हुने कुरा हो । कतिसम्म त भने साम्प्रदायिक दंगाको वीभत्स रुपलाई पनि उनी फिल्मी लेप लगाएर प्रस्तुत गर्छन् । अली नामक एक जना बालकलाई बली चढाउन आएका अतिवादीहरुहरु संग तीन जना केटाहरुको संघर्षको बेला पाठकहरुको आङ्ग जिरिङ्ग हुनुपर्ने हो । तर भविष्यमा भूतो न भविष्यति क्रिकेट खेलाडि हुनसक्ने सम्भावना भएको त्यो बालकमाथि आइपरेको परिस्थिति भयावह हुँदाहुँदै पनि पाठकलाई लागिरहन्छ, आ......केही हुँदैन । सबै ठीक हुन्छ । भगतको यस किताबले पनि आम मानिसलाई रमाइलो सपना देखाउने र अन्त्यमा सबै भलो हुने हिन्दी फिल्मी आशावादको वकालत गर्छ ।
उसो भए किन बिक्छन् भगत ? यी दुबै किताबमा नयाँ र आकर्षक कुरा के छ त जसले चेतनलाई चेतन बनाउँछ ?
कञ्जुस्याँइ नगरी भन्ने हो भने भोको पेटमा घुट्क्याएको ऐलाले समाते जस्तो सुरुका केही पानाहरु पल्टाउना साथै मलाई उनको लेखनशैलीले चाहिँ झ्याप्पै समातिसकेको थियो । अद्योपान्त पढिसक्दा कुनै नवीन कुरा नभए पनि हरेक पाना र हरफमा भने जस्तो उनको शव्दहरुका छनौट, वाक्यहरुका सरल तर असरदार वनौट, विवेक र ह्यूमरले मलाई कुनै पुरानै कुरा पढिरहेको छु भन्ने भान हुन दिएन । चेतन भगतको सबै भन्दा ठूलो विशेषता मलाई त्यही नै लाग्यो । लेखनलाई आफ्नो हरेक सम्वन्धित अम्विन्धित कुण्ठाहरुको बदला लिन समर खेल्ने भूमि मान्ने प्रवृत्ति केही लेखकहरुमा हुने गर्दछ । त्यस्ता लेखकहरुले आफ्ना शव्दहरुलाई गोलावारुद, कलमलाई तोप र बन्दूक मानेर क्लिष्टतम शव्द छान्ने गर्छन्, जटिल भन्दा जटिल विम्व, गह्रौं भन्दा गह्रौं दर्शनहरुलाई त्यसमा बटार्छन् र पाठकहरुलाई हिर्काउँछन् । उनीहरु पाठकलाई आफ्नो शत्रु मानेर परपीडा दिने गर्छन् । त्यो कुकर्मलाई उनीहरु आफ्नो ज्ञानको विज्ञापन भन्ने सोच्दछन् । त्यस्ता लेखकहरुका भने लागि भगतको लेखाइ तोरीको फूल देखिने बाघझापु हो ।
टु स्टेट्समा उत्तर भारतको पञ्जाव र दक्षिण भारतको चेन्नइका मानिसहरुका आनीवानी, रहनसहन र संस्कृतिका बीचका भिन्नतालाई ‘उडाउने’ हिसावले प्रस्तुत गरेका छन् उनले । मद्रासीको वैठक कोठामा पस्दा ‘चोर पसेर लुटेर भागेको कुनै पञ्जावीको वैठक जस्तो’ लागेको विम्व प्रयोग गर्नु भनेको लरतरो आँट होइन । यस्तै किसिमका तुलनात्मक प्रसंगहरुमा उनले कतै उत्तर भारतकाहरु भन्दा दक्षिण भारतकाहरु बढी सुसंस्कृत हुने कुरा पनि लेखेका छन् । दक्षिण भारत भन्दा उत्तरमा बढी आडम्वर र देखावट भएको कुरा त हास्यव्यंग्यात्मक पाराले थुप्रै ठाउँमा लेख्छन् उनी । यस्ता उडाइको सन्तुलन कायम राख्ने कुरामा उनी सम्वेदनशील नै देखिएका छन् । तै पनि त्यसरी कुनै समुदाय विशेषका कुरा गर्दा उनीहरुको भावनामा ठेस पुग्ने ठूलो खतरा हुन्छ । तर उनको लेखाइमा जुन विनोद, निष्कपटता र बालसुलभ निर्दोषपना छ, त्यसले उनी त्यो ल्याण्डमाइनमा टेकेर पनि सकुशल उम्केका छन् । असल लेखनको सबैभन्दा ठूलो विशेषता भनेको नै त्यही हो र चलाखी पनि । चेन्नइमा गएर मद्रासी केटीसंग त्यहींको परम्परा अनुसार बिहे गर्न लागेको पञ्जाबी केटोको एउटा प्रसंग यहाँ नेर उल्लेख गर्नै पर्ने हुन्छ । जग्गेमा धोती लगाएर बस्नु पर्ने र उसमा धोती लगाउने कला नभएकोले चलन अनुसार केटीका बाउ उसलाई सघाउनका लागि अर्को कोठामा लिएर जान्छन् । धोतीलाई घुसाउनु पर्ने अन्तर कुन्तरमा ससुराका हातहरु सल्बलाउन थाल्दा युवक सोच्दछ, यो चलन पक्कै पनि ससुराहरुलाई आफ्नो हुनेवाला ज्वाईंको औजार सही छ कि छैन भन्ने निक्र्यौल गर्नका लागि चलाइएको हुनुपर्छ ।
मैले पढेका उनका दुबै किताबलाई औसत हुनबाट उनको लेखनशैली नै बचाएको छ । हरेक पृष्ठमा बीचबीचमा पाठकहरुका लागि काठमाण्डौंका लोकल मम चपाउँदा सर्र मुखमा आउने रस जस्तो स्वाद छर्कन्छन् उनी । त्यति हुँदाहुँदै पनि केही कुरामा भने भगत दोहोरिएको भान पनि हुन्छ । दुइवटा किताब लगालग पढेको भएर यस्ता कुराहरु अझ बढी टड्कारो संग अनुभूत भएका पनि हुन् । दुबै किताब आत्मपरक शैलीमा नै लेखिएका छन् । फरक वातावरण र परिवेशका दुबै पुस्तकका युवतीहरुका पहिरनको वर्णन गर्दा भगत एकै किसिमले गर्छन् । कुर्ताको सलको फेदमा जडिएका साना साना घण्टीहरु दुबै हिंड्दा टिंगटिंग आवाज गर्छन् भनेर उनले चित्रण गरेका छन् । दुवै युवतीहरु ‘बोल्ड र व्युटिफूल’ छन्, केटा भन्दा फरासिला छन् । दुबै सामाजिक रुढीवादी मान्यता भत्काउन लागिपरेका हक्की स्वभावका छन् । दुबै किताबमा फरकफरक बाबुहरु कठोर, निर्दयी, सम्वेदनाहीन देखिन्छन् । दुबैका आमाहरु पीडित, दुःखी र अति भावुक छन् ।
अर्थशास्त्रको सुन्तला सिद्धान्त किताब पढ्दा पनि लागू हुँदो रहेछ क्यार । मलाइ भने बढी बिक्री भएको र बढी चलेको भनिएको थ्री मिस्टेक्स अफ माइ लाइफ चाहिँ टू स्टेट्स भन्दा अलि बढी फिल्मी लाग्यो । त्यसैले होला उनका किताबहरुमाथि सिनेमाहरु बनिसकेका छन्, बनिरहेका छन् । कालजयी साहित्यका रुपमा भगतका किताबहरु भलै दर्ता नहोलान् तर केही समयका लागि भने उनको लेखाइको शैलीले उनलाई अवश्य पनि विक्री र चर्चाको शिखरमा राखिरहने छ । थ्री मिस्टेक्स अफ माइ लाइफ मा उनको एक प्रमुख पात्र एउटा असफल क्रिकेट खेलाडी हुन्छ । ऊ आफ्नो अधूरो सपना अली नामक एउटा दैवी दैन भएको बालक मार्फत पूरा भएको हेर्न चाहन्छ । खेलमा आउनासाथ भटाभट आक्रामक हिसाबले रन बनाउने खेलाडीको पनि खेल जिताउन त्यत्तिकै योगदान हुन्छ जति सुस्तसुस्त अन्त्य सम्म टिक्नेको ।  त्यही कुरा उनको लेखनमा शत प्रतिशत लागू हुन्छ । चेतन अहिले त द्रुत गतिमा रन बनाइ रहेका छन् । भोलिका दिनहरुमा टिक्ने व्याटिंग पनि गर्न सिकून् । किनभने उनको जस्तो शैली भएका लेखकहरुले गहकिलो विषय र विचारयुक्त किताबहरु पनि लेखे भने पाठकका लागि गतिलो उपहार हुनसक्छ । हैन भने पनि एउटा यस्तो बिकाउ लेखकले प्रकाशकहरुलाई अरु दश जना टिकाउ लेखकहरुका कृति छाप्ने आर्थिक ह्याउ प्रदान गर्छ ।
अहिले कै कुरा गर्ने हो भने भगतका किताबहरुका व्यावसायिक सफलताले दुइटा कुरा प्रमाणित गरेको छ । एक, जसरी लय मीठो छ भने शव्द र गायन औसत भएका गीतहरु पनि मानिसलाई मन पर्छ, त्यसरी नै शव्दहरुका लय मिलाउन जान्ने हो भने पुस्तकको पनि सङ्गीत हुन्छ । लेखनमा नयाँपन हुने हो, भाषा रोचक हुने हो अनि विवेक र विनोद नामका जुम्ल्याहा दाजुभाइलाई आफ्नो लेखनमा सही प्रयोग गर्न जान्ने हो भने विषय र विचार गहकिलो नभए पनि किताब चल्छ, बिक्छ । दुइ, मानिस सपना देख्न चाहन्छ । परीकथाको जस्तो जीवन हरेक आम मान्छेको आदिम चाहना हो । आफ्नो जीवनमा नभएका, हुन नसक्ने रोचकता, रोमान्स, परिकल्पना, सफलता र उपलव्धि पुस्तकमा पढेर अथवा सिनेमामा हेरेर भुल्न चाहन्छ आम मानिस । त्यो सपनाको बजार एउटा यस्तो बजार हो, जुन कहिले पनि ओरालो लाग्दैन । जसले त्यो सपना बेच्न जानेको छ, त्यसले सिनेमा वा पुस्तक लेखेर अकूत कमाउन सक्छ । नाम पनि, दाम पनि । एकै छिनका लागि आम मान्छेलाई जिन्दगीका कटुताहरुबाट अल्मल्याएर र भुल्याएर एक किसिमले गुन नै लगाउँछन् त्यस्ता सपनाका व्यापारीहरु । भगत पनि एउटा अर्को सफल कडी हुन् यो सपनाको व्यापारको ।
त्यसैले बिक्छन् भगत ।

Sunday, April 24, 2011

आफ्ना कुरा -अरुका कुरा

बायाँ फन्को ५७

हालसालकै मात्र कुरा हो, एक जना परिचित मानिस विलखवन्दमा परे । भएछ के भने अलि लामो समय पछि भेट भएका एक जना परिचितले उनलाई देख्नासाथै विस्मयपूर्ण भावमा उनी दुब्लाएर खल्र्याप्खुर्लुक्कै भएको प्रतिकृया दिएछन् । त्यति मात्रै नभएर उनी कुनै रोगव्याधको सिकार भएका हुन् कि अथवा भर्खरै टाइफाइड बाट तङ्ग्रेका त हैनन् भन्ने प्रश्न पनि गरेछन् । ती परिचितलाई पर्नुसम्म पीर परेछ । पक्कै पनि हेर्दै थाहा हुने गरेर आफ्नो कान्तिक्षय भएको वा तेजोवध भएको हुनुपर्छ भन्ने उनलाई लागेछ । निकै दिनसम्म कसैसंग राम्रोसंग बोल्न पनि बोलेनछन् । घरपरिवारमा पनि झोक्राएर बस्न थालेछन् । उनी ऐना अगाडि उभिएर आफूलाई नियाल्दा रहेछन् र झन्झन् चिन्तित हुन थालेछन् । केही दिन पछि अर्का एक परिचित भेट भएछन् । ती परिचितले भने उनलाई देख्नासाथै उनी क्या मोटोघाटो र डम्म परेको प्रतिकृया दिएछन् । मान्छे सफल र सन्तुष्ट नभै त्यस्तो पोटिलो र उज्यालो देखिंदैन भन्ने ठहरका साथ त्यसको कारण पनि जान्न चाहेछन् । त्यसदिन घरमा गएर ऐना अगाडि उभिंदा ती मानिसलाई आफू कतै रातारात परिवर्तन भएको हो कि भन्ने पनि लागेछ । तर ती दुइ मान्छे मध्ये कसको कुरा सही हो र को गलत हो भन्ने चाहिँ उनले छुट्याउन सकेनछन् । एक छिन उनलाई आफू दुब्लाएको जस्तो लाग्थ्यो, एकै छिन पछि मोटाएको जस्तो ।
हुन पनि हो, हामी मध्ये अधिकांशको बानी नै हुन्छ, कसैलाई भेट्नासाथै सबैभन्दा पहिलो प्रतिकृया नै ऊ दुब्लाएको वा मोटाएको व्यक्त गर्ने । अनि त्यसपछि पनि अरुका व्यक्तिगत कुराहरुमा मात्रै केन्द्रित रहने हाम्रो बानी हुन्छ । कपाल किन लामो पालेको वा छोटो काटेको ? किन यस्तो खालको लुगा लगाएको ? मोटरसाइकल खै त, किन हिंडेको । यो रंग तपाइंलाई सुहाएन । औपचारिकताका लागि मुसुमुसु हाँसेर अर्को मान्छेले जति उत्तर दिंदै गयो, खोजीनीतिको बुल्डोजर अझ बढी गहिरो खोतल्न थाल्छ, घरमा कसकसको हालखवर कस्तो छ ? कसको बिहे भयो, कहाँ दिएको वा कसकी छोरी भित्र्याएको जस्ता प्रश्नहरु बर्सिन थाल्छन् । नभएको भए किन भएन भन्ने जिज्ञासा पनि व्यक्त हुन थाल्छ । जति उत्तर दियो, प्रश्नहरु अझ सुरसाको मुख जस्ता हुन थाल्छन् । हामीलाई अरुका व्यक्तिगत कुराहरुमा किन यति धेरै चासो लाग्छ कुन्नि । अरुका व्यक्तिगत जीवन र तिनका पाटाहरु किन हाम्रो लागि रोचक विषयवस्तु हुन्छन् ? एउटा अर्को उदाहरण हो, कसैको घरमा पाहुना भएर गएको बेला मानिसहरु फोटाका एल्वम हेर्ने ईच्छा प्रकट गर्छन् । अथवा सबैभन्दा पहिले एल्वम निकालेर नै अघि राखिदिने चलन हुन्छ । त्यसपछि हरेक फोटो हेर्दै तिनमा अनुहार देखिने ती मानिसका परिवार, नातागोता र ईष्टमित्रका परिचय लिने दिने काम हुन्छ । चिन्नु न जान्नुका मान्छेहरुका बारेमा पनि घण्टौंसम्म जानकारी लिन हामीलाई किञ्चित पनि झर्को लाग्दैन ।
कसैको छोरा वा छोरीलाई देख्नासाथ तिनको अनुहार काटीकुटी बाबु वा आमासंग मिल्ने ठोकुवा गर्ने पनि हाम्रो आम बानी हुन्छ । यहाँ नेर रमाइलो कुरा त के हो भने एक जनाले दुरुस्तै बाबु जस्तो भनेको सन्तानलाई अर्को मान्छेले आमा हेरेपछि हेर्नै नपर्ने भनेर किटान गरिदिन्छ । यो क्रम हरेक नयाँ मान्छे भेट्दा चलि रहन्छ । हुँदाहुँदा पछि केही समयपछि ती विचराहरुलाई आफू बाबु जस्तो हो वा आमा जस्तो भन्ने कुरामा नै असमञ्जस हुन थाल्छ । त्यस बाहेक पनि हाम्रो एउटा अर्को रमाइलो बानी हुन्छ । चिनापर्ची हुनासाथै नाता लगाइहाल्ने । दाइ, भाइ, काका, बुवा, आमा, भाउजु भन्ने चलन पनि गज्जवको चलन हो । हरेक नातासंग त्यसको आफ्नोपन हुन्छ, अधिकार हुन्छ अनि कत्र्तव्य पनि हुन्छ । ती सबै नहुने हुन् भने नातागोताको कुनै अर्थ हुँदैन तर हामी सहजै कसैलाई बाबुबाजे बनाउन सक्छौं ।
छरछिमेकमा आएका पाहुनाको बारेमा हामीलाई असाध्यै चासो हुन्छ । अरुको घरमा को आयो, कस्तो मान्छे आयो, कति बेर बस्यो, के मा आयो, कसरी आयो, किन आयो भन्ने कुरामा सबैलाई रुचि हुन्छ । कोही चिहाएरै मात्र सनतुष्ट हुन्छन् भने कोही त पाहुना गइसके पछि तिनको ईतिवृतान्तै जान्नका लागि खोजीनीति गर्न थालिहाल्छन् । यी त भए लौ प्रत्यक्ष रुपमा आफूले कुनै न कुनै रुपमा चिनेका मान्छेहरुका कुरा । उदेक लाग्दो कुरा त के भने हामीलाई चिन्नु न जान्नुका मान्छेको बारेमा पनि जिज्ञासा हुन्छ । ट्राफिकले कुनै मोटरसाइकल चालकको लाइसेन्स खोस्ने बेला वरिपरि जम्मा हुने भीड त्यसको एउटा उदाहरण हो ।
एउटा भनाइ छ, उत्कृष्ट स्तरका दिमाग हुनेहरु विचारका कुरा गर्छन्, विचार माथि बहस गर्छन्, विचार मथ्छन् । मध्यम दर्जाका दिमाग हुनेहरु घटनामा केन्द्रित हुन्छन् । तर निम्न कोटिका दिमाग हुनेहरु मान्छेका बारे बहस गर्छन्, मान्छेका कुरामा मात्र केन्द्रित हुन्छन् । त्यसैले हामीले आफ्नो दिमाग र समयलाई व्यर्थका कुराहरुमा खर्च गर्नुको साटो उपलव्धिमूलक कुराहरु तिर केन्द्रित गर्न सक्यौं भने व्यक्तिगत रुपमा हामी आफैलाई त्यसले फाइदा गर्छ । 

Thursday, April 14, 2011

नयाँ वर्ष

आयो, आयो भन्दाभन्दै आयो र गयो नयाँ वर्षको साँझ पनि । के के न होला, केही त होला, केही न केही त कस्सो नहोला भन्दाभन्दै केही पनि नभै आयो र गयो नयाँ वर्षको साँझ पनि ।

Sunday, April 10, 2011

काम गर्ने कालू-मकै खाने भालु

बायाँ फन्को ५६

एकएक वटा फूल चहारीचहारी मौरीले आफ्नो चाकामा मह बनाउँछ । जंगली भालुले त्यो चाकामा हमला गरेर विचरा मौरीको मेहेनत खाइदिन्छ । त्यसैलाई उदाहरण बनाएर कसैले गरेको मेहेनतको अरु नै कसैले आरामले बसेर फाइदा उठाउनेहरुका लागि हाम्रा पितापुर्खाले एउटा उखान बनाएका थिए, काम गर्ने कालू ( मकै खाने भालु । अहिलेको समाजमा पनि चारैतिर ध्यान दिएर हेर्ने हो भने यस्ता भालुहरुको कमी देखिंदैन । हरेक क्षेत्रमा अरुको मेहेनतको मह चाट्नेहरु छ्याप्छ्याप्ती पाइन्छन् । हुन पनि हो, दुखै नगरी गर्जो टर्छ भने किन टाउको दुखाउने ? नैतिक रुपमा आफूलाई यो प्रश्न गर्न छोडिदिने हो भने मकै खाने भालु बन्न गाह्रो पनि त छैन नि ।
अर्काको घरजग्गालाई आफ्नो भन्न सकिन्न, त्यसका लागि स्पष्ट ऐन कानून हुन्छन् । तिनलाई काट्न सकिन्न । त्यस बाहेकका अरुका अन्य भौतिक सम्पत्तिलाई पनि आफ्नो भन्न पाइन्न, भोगचलन गर्न पाइन्न । तर वौद्धिक सम्पत्ति भनेर भनिने कला, साहित्य र सङ्गीत जस्ता सिर्जनाको कुरामा भने निश्चित नियम कानून नभएका कारण र भएका पनि विवादास्पद हुनाले मकै खाने भालुहरुका लागि सकारात्मक वातावरण बनेको देखिन्छ । बेलाबेला दुइ थरि श्रष्टाहरु भिडिरहेका समाचारहरु यसैको प्रतिफल हामीले सुन्न पढ्न पाउने गरेका हौं । कसैको बौद्धिक सम्पत्ति संरक्षणका लागि प्रतिलिपि अधिकार भन्ने कुराको व्यवस्था गरिएको हुन्छ । विश्वका विकसित मुलुकहरुमा यो अधिकार दह्रोसंग स्थापित भैसकेको छ भने हाम्रो देशमा बल्ल यसको लागि पहल हुन थालेको छ । प्रतिलिपि अधिकारको कुरामा जनचेतना फैलाउनका लागि सर्जकहरु आमसंचारका माध्यमहरुबाट निकै ठूलो आशा राखेर बसेका हुन्छन् । तर, तिनै आमसंचारका केही माध्यमहरुलाई कालू बनाएर अरु आमसंचारका भालुहरु मकै खाइरहेका छन् । रमाइलो कुरा त के भने अरुको बौद्धिक सम्पत्तिको दुरुपयोग हुन नदिनका लागि सचेत यी माध्यमहरु आफ्नै बौद्धिक सम्पत्ति हिनामिना भएको थाहा नपाएर अथवा थाहा पाए पनि आँखा चिम्लेर, कान थुनेर र मुखमा ताल्चा लगाएर बसेका छन् ।
गर्मीको मौसममा पानीको आहालमा फस्टाएका लामखुट्टेका फूलजस्ता एफ. एम. र टेलिभिजन च्यानलहरुमध्ये केही आजकल मकै खाने भालु बनेका छन् । एकाबिहानै झिसमिसेमा नै यिनले बजारमा आएका जति पत्रपत्रिका बटुलेर तिनमा छापिएका प्रमुख अनि रोचक समाचारहरु अक्षरश पढेर सुनाइदिने गर्छन् । त्यति मात्र कहाँ हो र ? बिना कुनै संकोच उनीहरु आज फलानोफलानो पत्रिकामा यसो भनेर छापिएको छ भन्ने घोषणा पनि गर्वका  साथ गरिदिन्छन् । यहाँ नेर सोच्नु पर्ने कुरा के हो भने के पत्रपत्रिकामा छापिएका समाचार सामाग्रीहरुमाथि तिनका प्रकाशन गृहहरुको कुनै अधिकार हुन्छ कि हुँदैन ? कुनै पनि समाचार छापिनु पछाडि त्यसमा कति मेहेनत परेको हुन्छ ? कुनै स्ट्रिंगर वा समाचारदाताहरुले त्यो समाचार संकलन गर्न, लेख्न र सम्प्रेषण गर्नका लागि शारीरिक तथा मानसिक परिश्रम गरेका  हुन्छन् । त्यसपछि त्यसलाई पढ्ने, सम्पादन गर्ने र परिमार्जन गर्नेहरुले परिश्रम गरेका हुन्छन् । अनि पत्रिकाको पानाको आकारप्रकारमा त्यसलाई अटाउनका लागि सजाउने डिजाइनरहरुले परिश्रम गरेका हुन्छन् । हिज्जे, व्याकरण र शुद्धाशुद्धि हेर्नेहरुले परिश्रम गरेका हुन्छन् । त्यसपछि छाप्ने मान्छेले, छापिएर आएपछि त्यसलाई घरघरमा, बजारबजारमा पु¥याउनेहरुले परिश्रम गरेका हुन्छन् । अनि मात्र पाठकहरुले तातोतातो चियाको सुर्को संग ती पत्रिका र तिनमा छापिएका समाचार सामाग्रीहरु पढ्न पाउँछन् । ती सबै परिश्रम गर्ने मानिसहरुलाई प्रकाशकले तलव खुवाएको हुन्छ । त्यो खर्चको लगानी उसले पत्रपत्रिकाको विक्री र विज्ञापनहरुबाट उठाउने हो ।
आम मानिसहरुका लागि आजको युगमा विहान पत्रिका पढ्ने भनेको आवश्यकता, बानी, अझ भनौं भने लत भैसकेको हुन्छ । सूचना र ज्ञानका लागि हाम्रो अभिन्न खुराक बनिसकेका छन् पत्रपत्रिकाहरु । यहाँ नेर सोच्नुपर्ने कुरा के हो भने, एउटा रेडियो वा टिभी स्टेशनबाटै सबै पत्रपत्रिकाका प्रमुख र रोचक समाचारहरु आँखा खोल्न नपाउँदै सुन्न र बिछ्यौनाबाट ओर्लन नपाउँदै हेर्न पाइन्छ भने त्यसपछि गएर पसलमा त्यो पत्रिका किन किन्ने ? घरमै पत्रिका आउनका लागि पनि तपाईं ग्राहक किन बन्ने ? के यसले विक्रीमा असर गर्दैन होला ? त्यसो भयो भने विज्ञापनमा असर गर्दैन होला ? त्यो सब नगरे पनि के कसैको हक अरु कसैले उपभोग गर्न पाउँछ ?
रेडियो टिभीले समाचार प्रसारण गर्ने हो भने आफै संकलन, सम्पादन र प्रसारण गर्नु पर्छ ।  त्यसका लागि आर्थिक र बौद्धिक लगानी आवश्यक हुन्छ, त्यो गर्नु पर्छ । तर, अरु धेरै मानिसका परिश्रमको प्रतिफललाई सिन्को नभाँची आरामले कुर्सीमा बसीबसी पढेर आफ्नो आधा घण्टाको कार्यक्रमको गर्जो टार्ने अल्छी रेडियो र टेलिभिजन च्यानलहरुलाई के भन्ने ? अनि उदेक लाग्दो कुरा त के हो भने ती पत्रपत्रिका पनि मौन छन् जसका समाचार सामाग्रीहरु अरुहरुले निर्विवाध प्रयोग गरेर आफ्ना कार्यक्रम अवधि भरिरहेका छन् ।